निर्णय नं. ६६५४ - चितुवाको छाला चोरी निकासी
निर्णय नं. ६६५४ ने.का.प. २०५६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
सम्वत २०५३ सालको फौ.पु.नं. .... १५६४
आदेश मितिः २०५५।१०।२८।५
मुद्दाः चितुवाको छाला चोरी निकासी।
पुनरावेदक/निवेदकः जिल्ला चिनवन भरतपुर नगरपालिका वडा नं. भोजाड ११ बस्ने मनबहादुर गुरुङ
विरुद्ध
प्रत्यर्थी/वादीः श्री ५ को सरकार।
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) हेरिएमा शुरु अदालत निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनि पुनरावेदन अदालते गरेको निर्णयमा तात्वीक भिन्नता भएको मुद्दामा मात्र पुनरावेदन लाग्न सक्ने कानूनी स्थिती देखिन्छ । यस व्यवस्था बमोजिम पुनरावेदक पुनरावेदन तहमा नआएर दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउं भनी आउनु पर्ने थियो । त्यसमा पनि पुनरावेदकलाई शुरु फैसलाले भन्दा घटी जरिवाना भएको स्थितिमा सोबाट स्वयं पुनरावेदकलाई लाभ भएको देखिन्छ । साथै पुनरावेदक प्रतिवादी ज्ञान बहादुर राई समेत वि. दिल बहादुर राई भएको अंश मुद्दामा प्रतिपादीत सिद्धान्त (ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४ पृष्ठ १८५) कायम भै रहेको देखिंदा पुनरावेदन अदालतले गरेको फैसला उपर पुनरावेदन नलाग्नेमा पुनरावेदन परेको देखिन आएको र पुनरावेदन अदालतबाट जरिवाना कम गरिएकोलाई तात्वीक भिन्नता भएको मान्न सकिने विवेकसंगत तर्क केही नहुंदा पुनरावेदनको औचित्य तर्फ विचार गरी रहनु नपर्ने ।
(प्र.नं. २६)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद तिवारी
विपक्षी तर्फबाटः
अवलम्बित नजिरः ने.का.प. २०५२ अंक ३, नि.नं. ५०६४ पृष्ठ १८५
फैसला
न्या. गोविन्द बहादुर श्रेष्ठः मुद्दाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छ ।
२. मिति २०५०।५।१८ गतेका दिन भ.न.पा. ११ भोजाड बस्ने शेरमान श्रेष्ठले चितुवाको छाला बिक्री व्यवसाय गर्न लागी रहेको छ भन्ने प्राप्त सुरकार अनुसार पिछा गर्दै जांदा निज शेरमान श्रेष्ठ तथा ऐ. ऐ. बस्ने मन बहादुर गुरुङले वनका गस्ती कर्मचारीहरु आएको थाहा पाई निजहरु उक्त छाला लिएर नोरगे हुंदै भ.न.पा. १० बस्ने हिरालाल श्रेष्ठको घरमा लुकाई सकेपछि व्यापारी गएको बेला छाला देखाई मोल भाउ गर्न लाग्दा कर्मचारी आएको शंकामा निज शेरमान श्रेष्ठले छाला झोला भित्र हाली आफन्त पर्ने भैरव श्रेष्ठको घरमा छाला लुकाई भागेर निजको साथमा रहेको मन बहादुर गुरुङ्गले हिरालाल श्रेष्ठको घरको खाटमुनी लुके । त्यसपछि हामी वन कर्मचारीहरु गएर दुवै घर पट्टिहरु संग सोधपुछ गर्दा मानिस तथा छालाबारे थाहा नभएको भनी पूर्ण इन्कारी छ ईन्कार गरेको तर पछि मन बहादुर गुरुङ, हिरालला श्रेष्ठको घरबाट छाला भएको झोला भैरव श्रेष्ठको घरबाट बरामद भएकोले पक्राउमा परेका अभियुक्तहरुलाई टिकोलीमा सुरक्षित राखी फरार रहेका प्रतिवादीहरुलाई समेत वन्यजन्तु ऐन, अनुसार कारबाही गरी पाउन बरामदको छालाको विवरण तपसिलमा उल्लेख गरी प्रस्तुत गरेका भनि ई.व.स. रामानन्दप्रसाद कुर्मि समेतले नारायणघाट पु.ब.का. मा पेश गरेको प्रतिवेदन रहेछ ।
सि.नं. जात छालाको नाम विवरण कैफियत
१ चितुवा पुच्छर देखि अगाडीको छाला
टाउकोसम्म दुवैखुट्टाको थान १
लम्बाई ११६ नंग्रा भएको,
पछाडी दुवै
खुट्टाको गरा
७ वटा नंग्रा
चौडाई ३१ भएको
३. आजभन्दा ६।७ दिन पहिला शेरमान श्रेष्ठले बाघको छाला ल्याई मलाई देखायो । सो छाला मलाई राखी दिन भन्यो र बेचेपछि रु. १०००। दिन्छु भनेको थियो उक्त छाला निजले जुगेडीका चेपाङ सित ल्याएका हुन् । छाला खरिद गर्ने ग्राहकले शेरमानको निर्देशनमा उक्त छाला हिरालाल श्रेष्ठको घरबाट च्याई हेरेको हुं । अरु सबै कुरा शेरमान श्रेष्ठलाई थाहा होला भनि प्र. मनबहादुर गुरुङले मिति ०५०।५।१८ मा ना.ई.व.का. मा गरेका शुरु बयान रहेछ ।
४. मिति ०५०।५।१८ मा भ.न.पा. ११ बस्ने शेरमान श्रेष्ठ समेतका मानिसहरुले बाघको छाला बिक्रि गर्न खोज्दै छन भन्ने सुराक पाई वन कर्मचारीहरु पिछा गर्दै जांदा उक्ता छाला भ.न.पा. १० मा लगी बेच बिखन गर्न खोज्दा वन गस्ती टोली आएको सुईको पाई हाल भएको झोला भैरव श्रेष्ठको घरमा छाडी शेरमान श्रेष्ठ भागी गएका र वन कर्मचारीहरुले छाला भैरव श्रेष्ठको घरबाट बरामद गरी ल्याएको र मन बहादुर गुरुङ्गलाई भ.न.पा. १० बस्ने हिरालाल श्रेष्ठको घरको खाट मुनीलुकी रहेको अवस्थामा पक्राउ गरी ल्याएको ठीक सांचो हो भनि भ.न.पा. १० बस्ने कमल अधिकारी समेतले गरी दिएको मिति ०५२।५।१८ को बरामदी मुचुल्का रहेछ ।
५. मन बहादुर गुरुङ यस्तो काम गर्ने मानिस होईन । हालसम्म गरेको पनि थिएन । यस मुद्दामा निज मन बहादुर पक्राउ परे पनि निर्दोष मुख्य मान्छे शेरमान श्रेष्ठ हो सो बरामदी छाला शेरमान श्रेष्ठले कहाँबाट ल्याई कसलाई बेच्न लागेका थिए निज शेरमान श्रेष्ठलाई नै थाहा होला भनि जिल्ला चितवन भ.न.पा. ११ बस्ने ईश्वरी दाहाल समेतले गरी दिएको सर्जमीन मुचुल्का रहेछ ।
६. शेरमान र मन बहादुर गुरुङले अवैध रुपमा चितुवाको छाला बेच बिखन गर्न लागेको अवस्थामा छाला बरामद भएको हुंदा निजहरुलाई वन्य जन्तु संरक्षण ऐन अनुसार कारबाही गरी पाउन र बेच बिखन कार्यमा सहयोग पुर्याउने हिरालाल श्रेष्ठ र भैरव श्रेष्ठ समेतलाई कारबाही हुनु पर्ने देखिन्छ भनि इ.व.स. ईश्वर वाग्लेले पेश गरेको जांचबुझ प्रतिवेदन रहेछ ।
७. मन बहादुर गुरुङलाई मैले चिन्दिन । मेरो नातापनि पर्दैन उक्त दिन म नारायणी मा.वि. मा पढाउन गएको थिए । मेरो श्रीमती पनि भरतपुर गा.वि.स. मा पढाउन गएको थिईन । घरमा केटाकेटी मात्र थिए । अन्यत्रैबाट भागी आउंदा गस्ती कर्मचारीहरुको डरले घर कम्पाउन्ड भित्र लुक्यो होला म र मेरो परिवारको कुनै संलग्नता छैन । शेरमान श्रेष्ठ मेरो छुट भिन्न भएको जेठो दाजु बन्नु हुन्छ भनि हिरालाल श्रेष्ठले गरेको शुरु बयान रहेछ ।
८. मिति २०५०।५।१८ गतेका दिन दिउसोमा अफिस गएका थिए । मेरो परिवार पनि घरमा नभएको बेलाको कसले ल्याई फाली छोडे मलाई थाहा भएन । मन बहादुर गुरुङलाई मैले चिन्दिन । शेरमान श्रेष्ठ मेरो ठुलो मामा हो । म घरमा नभएको बेलामा उक्त चितुवाको छाला कसले ल्याए मलाई थाहा छैन भनि प्रतिवादी भैरव श्रेष्ठले इ.व.स. ईश्वर वाग्ले समक्ष गरेको बयान रहेछ ।
९. यसमा अनुसन्धान तथा तहकिकात गर्दा प्रतिवादी मन बहादुर गुरुङ र हिरालाल श्रेष्ठको घरमा पसी लुकी बसेको र शेरमान श्रेष्ठले छाला भएको झोला भैरव श्रेष्ठको घर कम्पाउन्डमा फ्याकेर भागेको हो भन्ने कुरा टोल, छिमेक र हिरालाल श्रेष्ठ र भैरव श्रेष्ठको उक्त कार्यमा मिलोमतो नरहेको जस्तो देखिन्छ तसर्थ पक्राउ परेका मन बहादुर गुरुङ र शेरमान श्रेष्ठ माथि वन्य जन्तु संरक्षण नियमानुसार कारबाही गरी पाउं भनि इ.व.स. ईश्वर वाग्लेले पेश गरेको जांचबुझ प्रतिवेदन रहेछ ।
१०. यस्मा जांचबुझ प्रतिवेदन प्रतिवादीको बयान समेत अध्ययन गर्दा प्रतिवादी शेरमान श्रेष्ठले चितुवाको छाला बेच बिखन कार्यमा लागि रा.नि. तथा वन्यजन्तु संरक्षण ऐनको दफा १९ तथा २६(१) को कसूर गरेको देखिंदा निजलाई सोही ऐनको संशोधन सहित २०५० को दफा २६(१) अनुसार संजाय हुन तथा प्रतिवादी मध्येका मान बहादुर गुरुङलाई सर्जमीन मानिसहरुले निर्दोष हो भनेता पनि निजले अवैध कार्यमा सहयोग तथा मद्दत पुर्याउनेको साथै प्रतिवादी हिरालाल श्रेष्ठले पहिले देखि आफ्नो घरमा छाला लुकाई राखेको देखिंदा निज दुई जनालाई ऐजन को दफा २ को कसूरमा सोही बमोजिम संजाय हुन र भैरव श्रेष्ठको हकमा सो कार्यमा मुद्दा चलाउन न्यायोचित नहुने देखि मुद्दा नचलाउने निर्णय गरियो । दसि स्वरुप आएको बाघको छाला ऐ.ऐ. को दफा २८ बमोजिम हुन र पक्राउ परेका प्रतिवादी मान बहादुर गुरुङ तथा हिरालाल श्रेष्ठ सहित मुद्दा दायर गर्न जिल्ला वन कार्यालय चितवनमा पेश गर्न र नाम, थर वतन नखुलेका चेपाङ (प्रजा) जातीको हकमा ताहांबाट खुलाउन लगाई तथा फरार रहेका अभयुक्त शेरमान श्रेष्ठलाई सम्बन्धित अदालतबाटै म्याद जारी गरी पाउन समेत निर्णय गरियो भनि जिल्ला सरकारी वकिल कार्यालय चितवनबाट निर्णय भएको रहेछ ।
११. प्र. मान बहादुर गुरुङको बयान, हिरालाल श्रेष्ठ र भैरव श्रेष्ठको बयान सरजमीन मुचुल्का र जांचबुझ प्रतिवेदन समेतबाट फरार रहेका प्र. शेरमान श्रेष्ठले रा.नि. तथा व.ज. संरक्षण ऐनको दफा २९ तथा २६(१) को कसूर गरेको देखिएको हुंदा निजलाई सोही ऐनको संशोधन सहित २०५० को दफा २६(१) अनुसारको माग दावी लिएको हुंदा सम्मानित अदालतबाटै म्याद जारी गरी र. १००,०००। जरिवाना रु. १५ वर्ष कैदको सजाय गरी पाउं ।
१२. प्रतिवादी मान बहादुरको हकमा ऐनको दफा २७ को कसूर गरेको देखिएको हुंदा रा.नि. तथा व.ज. संरक्षण ऐन, २०२९ को मुल ऐनको दफा २६(१) (संशोधन सहित) अनुसार रु. ५०,०००। जरिवाना र ५ वर्ष सम्म कैदको संजाय गरी पाउं । हिरालाल श्रेष्ठ र भैरव श्रेष्ठको हकमा जांचबुझ तथा सरजमीन र निजहरुको बयान समेतबाट मुद्दा चलाउन त्यति मनासिव नदेखिएको हुंदा निजहरुलाई सोधपुछका लागि यसै फिराद प्रतिवेदन साथ सम्मानित अदालतमा पेश गरेको छु । बरामद भएको छाला ऐ.ऐ. ऐनको दफा २८ अनुसार जफत गरी पाउं भनि इलाका वन सहायक श्री इश्वरप्रसाद वाग्लेले मिति ०५० साल आश्विण १२ गते जिल्ला वन कार्यालय चितवनमा पेश गरेको फिराद प्रतिवेदन रहेछ ।
१३. ठुलो बाबु शेरमान श्रेष्ठले झोला छोरालाई राख्न दिएका हुन तर बाघको छाला भएको थाहा भएन । झोला खोलेर पनि हेरिएको रहेनछ । केहि समयपछि नै झोला लिएर गएका रहेछन् । सोही कुरा सुनेको छु । म शिक्षण गर्न ना.मा.वि. मा जाने र सोही कार्यमा व्यस्त हुने भएकोले सो दिन स्कुलमा उपस्थित भएको प्रमाण पेश गर्न सक्छु र साक्षीको हकमा भ.न.पा. १० बस्ने हरि आचार्य १, ऐ.ऐ. बस्ने पुष्पराज शर्मा र ऐ. ऐ. वडा नं. १२ बस्ने रण बहादुर रानालाई बुझे थाहा पाइन्छ भनि हिरालाल श्रेष्ठले जिल्ला वन कार्यालय चितवनमा गरेको बयान रहेछ ।
१४. बाघको छाला खोज्न हिंडेका भन्ने कुरा मलाई पहिला थाहा थिएन । पछि घरमा गएर माल देखाउंदा मात्र बाघको छाला हेर्न आएका रहेछन् भन्ने कुरा थाहा भयो म बाघको छाला किनबेचमा संलग्न छैन शेरमान श्रेष्ठको घर देखाउन जांदा म पक्राउ परेको हुं । शेरमान श्रेष्ठले छाला खरिद बिक्रि गर्ने मानिस रहेछ भन्ने कुरा पछि थाहा भयो भनि प्र. मान बहादुर गूरुङको जिल्ला वन कार्यालय चितवनमा गरेको बयान रहेछ ।
१५. बाघको छाला चोरी निकासीमा मान बहादुर गुरुङको संलग्नता छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । त्यतिबेला सर्जमीन गर्दा मलाई पढि सुनाइएन । सहि गर भनि मलाई भनेको हुंदा सहि गरेको हुं मेरो वास्तविक भनाई आज गरेको वकपत्र अनुसार नै हो । शेरमान श्रेष्ठको हकमा मैले केहि भन्न सक्दीन भनि सरजमीनका व्यक्ति विरध्वज गुरुङले मिति २०५२।३।२९ मा गरेको वकपत्र रहेछ ।
१६. मन बहादुर गुरुङले बाघको छाला चोरी निकासी गरे भन्ने कुरामा मलाई विश्वास लाग्दैन शेरमान श्रेष्ठ र हिरालाल श्रेष्ठको बारेमा मैले केहि भन्न सक्दीन भनि सर्जमीनका मानिस प्रेम बहादुर गुरुङले गरेको वकपत्र रहेछ ।
१७. मन बहादुर गुरुङले बाघको छाला खरिद बिक्रि गरे जस्तो मलाई लाग्दैन मन बहादुर त्यस्तो व्यक्ति होइन । मन बहादुर कुखुरा पालन कार्यमा व्यस्त भएको हुंदा निज निर्दोष हुन भनि सरजमीनका मानिस जंगध्वज गुरुङले गरेको वकपत्र रहेछ ।
१८. मैले बाघको छाला चोरी निकासी गरेको होइन । उक्त विषयमा मलाई केही थाहा छैन । कसले त्यस्तो काम गर्यो मलाई थाहा छैन । मान बहादुर गुरुङ समेतका मानिहरुले गरेको हो होइन मलाई थाहा छैन भनि प्र. शेरमान श्रेष्ठले मिति ०५२।५।६ मा जिल्ला वन कार्यालय चितवनमा गरेको बयान रहेछ ।
१९. प्रतिवादीहरुले वादी दावी र जिल्ला सरकारी वकिलको राय अनुसार यस केशमा संलग्नता देखिंदा राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण (चौथो संशोधन) ऐन, २०४९ को दफा २६(१) अनुसार कसूर गरेकोले सोही ऐनको सोही दफा अनुसार कसूर हुने मतियार मन बहादुर गुरुङको हकमा सोही ऐनको दफा २६(१) अनुसारको कसूर र सोही ऐनको दफा २७ अनुसारको सजाय हुन्छ भन्ने समेत व्यहोराको शुरु कार्यालयको निर्णय ।
२०. शुरु चितवन जिल्ला वन कार्यालयले सबुत प्रमाणको मूल्यांकन नगरी मलाई रु. ५०,०००। जरिवाना हुने गरी गरेको फैसला अन्याय पूर्ण भएकोले उक्त फैसला उल्टाई मलाई सफाई दिने जमानी रहेको जेथा समेत फुकुवा हुने गरी न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
२१. यसमा तथ्यपूर्ण ठोस सबुत प्रमाणको अभावमा शंकाको भरमा पु.वे. प्रतिवादीलाई दोषी ठहर गरी जरिवाना गरेको शुरुको इन्साफ फरक पर्ने देखिंदा छलफलमा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति ०५३ साल आषाढ ९ मा पु.वे.अ. हेटौंडाबाट भएको झगडिया झिकाउने आदेश ।
२२. राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन, (संशोधन सहित) २०५० को दफा २७ ले मतियारलाई कसुरदारलाई हुन सजायको आधा सजाय हुने छ भन्ने व्यवस्था गरेको देखिनाले मुख्य अभियुक्त प्र. शेरमानलाई रु. ५,०००। हजारर जरिवाना गरेको अवस्थामा यी पुनरावेदक प्रतिवादीलाई सो को आधा रु. ३२५००। मात्र जरिवाना गर्नु पर्नेमा रु. ५०००००।(पचास हजारर) जरिवाना गरेको सम्म मिलेको नदेखिनाले सो हदसम्म शुरु जिल्ला वन कार्यालय चितवनको फैसला केहि उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको मिति ०५३।५।५ को फैसला ।
२३. पुनरावेदन अदालत हेटौंडाको इन्साफमा चित्त बुझेन । उक्त फैसला प्रमाण ऐन २०३१ को दफा ३,१८ र मुलुकी ऐन अ.बं. १८५ नं. समेतको विपरित हुंदा उक्त फैसला बदर गरी मलाई पूर्ण सफाई दिलाई न्याय पाउं भन्ने समेत व्यहोराको यस अदालतमा पर्ने आएको पुनरावेदन पत्र ।
२४. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद तिवारीले मेरो पक्ष पुनरावेदकलाई खाटमा लुकेको भन्ने आधार लिएर कसूरदार ठहर्याएको छ, जबकी खाटमा लुकेको पनि हैन लुक्न अटाउने मिल्ने अवस्थाको शरीर पनि मेरो पक्षको छैन, सर्जमीनका व्यक्ति प्रेम बहादुर गुरुङ समेतका व्यक्तिको वकपत्रबाट मेरो पक्षको निर्दोषिता प्रमाणित भै रहेको छ तसर्थ मेरो पक्ष निर्दोषिता हुंदा हुंदै पु.वे.अ. हेटौंडाबाट शुरुले रु. ५००००। जरिवाना गर्ने गरेको उल्टि गरी रु. ३२५००। जरिवाना गरेको मिलेको नहुंदा उल्टी गरी सफाई पाउनु पर्छ भनि गर्नु भएको बहस जिकिर समेत सुनि निर्णय तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२५. सो तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी मान बहादुर गुरुङलाई जिल्ला वन कार्यालय चितवनको मिति २०५२।१०।८ को फैसलाले मतियार ठहराई रु. ५००००। जरिवना गरे उपर निजको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परी पुनरावेदन अदालतको मिति ०५३।५।५ को फैसलाले जिल्ला वन कार्यालयले रु. ५००००। जरिवाना गरेको केही उल्टी गरी रु. ३२,५००। जरिवाना गरेको फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखिन्छ । पुनरावेदन अदालतको फैसलाले पुनरावेदकलाई लागेको अभियोग थपघट नगरी सदर गरेको देखिन्छ भने जरिवानाको हकमा मात्र केही कम गरी फैसला आंशिक उल्टी गरेको देखिन्छ ।
२६. न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) हेरिएमा शुरु अदालत निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनि पुनरावेदन अदालतले गरेको निर्णयमा तात्वीक भिन्नता भएको मुद्दामा मात्र पुनरावेदन लाग्न सक्ने कानूनी स्थिती देखिन्छ । यस व्यवस्था बमोजिम पुनरावेदक पुनरावेदन तहमा नआएर दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउं भनी आउनु पर्ने थियो । त्यसमा पनि पुनरावेदकलाई शुरु फैसलाले भन्दा घटी जरिवाना भएको स्थितिमा सोबाट स्वयं पुनरावेदकलाई लाभ भएको देखिन्छ । साथै पुनरावेदक प्रतिवादी ज्ञान बहादुर राई समेत वि. दिल बहादुर राई भएको अंश मुद्दामा प्रतिपादीत सिद्धान्त (ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४ पृष्ठ १८५) कायम भै रहेको देखिंदा पुनरावेदन अदालतले गरेको फैसला उपर पुनरावेदन नलाग्नेमा पुनरावेदन परेको देखिन आएको पुनरावेदन अदालतबाट जरिवाना कम गरिएकोलाई तात्वीक भिन्नता भएको मान्न सकिने विवेकसंगत तर्क केही नहुंदा पुनरावेदनको औचित्य तर्फ विचार गरी रहनु नपर्ने । प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसरा गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ आचार्य
इति सम्वत् २०५५ साल माघ २८ गते रोज ५ शुमभ्............... ।