निर्णय नं. ६६५६ - डाँका

निर्णय नं. ६६५६ ने.का.प. २०५६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्वत २०५२ सालको फौ.पु.नं. .... ११७८
फैसला मितिः २०५५।५।१५।२
मुद्दाः डांका।
पुनरावेदक/वादीः रामेश्वर प्रसाद यादव समेतको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला रौतहट मुडवला वडा नं. ६ सोचिन्द्र प्रसाद यादव समेत ।
§ फौज्दारी मुद्दामा जाहेरी दरखास्त आफैँमा प्रमाण होइन, प्रमाण हुन सक्दैन केवल अपराध अनुसन्धानको आधार मात्र हुन सक्छ त्यसलाई स्वतन्त्र आधार प्रमाणहरुबाट पुष्टी भएको हुनु पर्छ स्वतन्त्र र निविर्वाद सबुद प्रमाणहरुबाट आरोपित कसूरको पुष्टी हुनुपर्छ । प्रहरीमा भएको साविति बयानलाई अन्य प्रमाणहरुबाट पुष्ट्याइ भएको हुनुपर्दछ । जाहेरी दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र कसूरका ठहर गर्नू न्याय कानून समेतबाट नमिल्ने ।
(प्र.नं. २१)
पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे
प्रत्यर्थी प्रतिवादी तर्फबाटः X
अलवम्बित नजिरः X
फैसला
न्याः गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर भई पेश हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. मिति २०४६।९।१८ गतेका राती १०:३० बजेको समयमा मुखमा कालो दलि नकाव लगाएर हात हातमा रिभल्वर, छुरी, लाठी समेत हतियार लिएको अपरिचित ७।८ जना डांकाहरु आई म रामेश्वर प्रासदको विगो रु. १९,५००। को नगद धनमाल र म सियाराम प्रसादको घरबाट विगो रु. ३७८५। को नगद धनमाल समेत दुवै घरको जम्मा हुने विगो रु. २३,३८५। को नगद धनमाल र विभिन्न कपाली तमसुकहरु समेतका लिखत कागजात समेत डांका गरी लगेको हुंदा डांकाहरुको सुराक पत्ता लगाई कानून बमोजिम कारबाही गरी डांका गरी लगेको विगो समेत भराई पाउं भन्ने समेत जाहेरवाला रामेश्वर यादव समेतको संयुक्त जाहेरी दरखास्त ।
३. रामेश्वयर यादव समेतको जाहेरी परेको डांका मुद्दामा अपराधीहरुलाई पक्राउ गर्ने यस कार्यालयबाट खटि जांदा मुडवला वार्ड नं. ६ बस्ने सोचिन्द्र प्रसाद यादवलाई फेला परेको हुंदा पक्राउ गरी दाखेल गरेका छौँ, कारबाही गरी पाउं भन्ने समेत व्यहोराको प्र.ना.नि. रघु लामा समेतको प्रतिवेदन ।
४. अनुसन्धानको सिलसिलामा पक्राउ परी दाखिला हुन आएका सोचिन्द्र प्रसाद यादवले मिति २०४६।९।१८ गतेका राती हामीहरुको घरमा डकैती गरेकोमा पूर्ण सावित भै मतियारलाई समेत पोल गरी बयान गरेको हुंदा निज सोचिन्द्र समेतभै डांका गरेका हुन भन्ने समेत व्यहोराको जाहेरवाला रामेश्वर प्रसाद यादव र सियाराम प्रसाद यादवले गरी दिएको संयुक्त सनाखत कागज ।
५. म समेतले जाहेरवाला रामेश्वर प्रसाद यादव र सियाराम प्रसाद यादवको घरमा डांका गरेका हौँ अन्य ठांउमा डांका गरेको छैन भन्ने समेत व्यहोराको प्र. सोचिन्द्र प्रसाद यादवले प्रहरीमा गरेको सनाखत बयान कागज ।
६. मिति २०४६।९।१८ गतेका रात जाहेरवालाहरुको घरमा डांकाहरुले डकैती गरी जाहेरी विगो बमोजिमको धनमाल लगेको ठिक हो । सोचिन्द्र प्रसाद यादव र अन्य प्रतिवादीहरु समेत भै जाहेरवालाहरुको घरमा डांका गरेको हुन भन्ने समते व्यहोराको मिति २०४६।११।१ को सर्जमिन मुचुल्का ।
७. मिति ०४६।९।१८ गतेका रात म आफ्नो घर आगनमा भएको पानीको धारामा पानी तानी रहेको अवस्थामा डांकाहरु आई मलाई रिभल्वर, छुरा, लाठी समेतका घातक हतियार देखाई डरत्रास देखाई भ्रममा पारी घरको ढोका खोल्न लगाई जाहेरी विगो बमोजिमको धनमाल डांका गरी मलाई बोलिस कराईस भने ज्यानै मारी दिन्छौँ भनि बोल्न नदिई डरत्रासमा पारी जाहेरी बमोजिमको धनमाल डांका गरी लगेको हुन भन्ने समेत व्यहोराको रम्भाव देवीको मिति २०४५।११।१ गतेको कागज ।
८. रामेश्वर प्रसाद यादवको घरबाट बिगो रु. १९,५००। बराबरको नगद तथा जिन्सी धनमाल र सियाराम प्रासदको घरबाट बिगो रु. ३,७८५। को नगद तथा जिन्सी धनमाल समेत बिगो रु. २३,२८५। धनमाल डांका गरी लिइ गै चोरीको ६ नं. बमोजिम अपराध गरेकोले चोरीको १४(४) बमोजिम सजाय हुन र जाहेरवालाको विगो दामासाहीले प्रतिवादीहरुबाट जाहेर वालालाई भराई पाउं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. मिति २०४६।९।१८ गतेका दिन मेरो मामाको घर विदेश भारतमा पर्ने मुल्टोली गाउंमा म गई त्यहा नै बसी मिति २०४६।९।२४ गतेका दिन आफ्नो घरमा आएको हुँ । मिति २०४६।९।१८ गतेका राती म जाहेरवालाको घरमा आएको हुँ । मिति२०४६।९।१८ गतेका राती मैले जाहेरवालाको घरमा डांका गरेको पनि छैन । उक्त डांका वारदात गर्नमा म संलग्न छैन भन्ने समेत व्यहोराको प्र. सोचिन्द्र प्रसाद यादवले अदालतमा गरेको बयान ।
१०. मिति२०४६।९।१८ गतेका राती १०:३० बजेको समयमा म सितामढी पढ्ने गरेकोले म सितामढीमा आफ्नो डेरामा बसेको थिएं । उक्त मितिमा म सितामढीमा भएकोले जाहेरवालाको घरमा डांका भयो भएन मलाई थाहा छैन उक्त डांका वारदात गर्नमा म संलग्न छैन भन्ने समेत व्यहोराको प्र. सन्जीव कुमार यादवले अदालतमा गरेको बयान ।
११. मिति२०४६।९।१८ गतेका राती १०:३० बजे म आसाम विदेश भारतमा थिएं । उक्त दिन समयमा जाहेरवालाको घरमा डांका भयो भएन मलाई थाहा छैन । उक्त मितिमा समयमा म विदेश भारत आसाममा नै रहेकोले म उक्त डांका वारदात गर्नमा म संलग्न छैन भन्ने समेत व्यहोराको प्र. नथुनी महतो नुनीयाले अदालतमा गरेको बयान ।
१२. उक्त मितिमा प्र. सन्जीव कुमार सितामढी थिए । निजसंग गांउ घरमा भेटघाट छैन भन्ने समेत व्यहोराको प्र. सन्जीव कुमारको साक्षी वसगती रायको वकपत्र ।
१३. मिति ०४६।९।१८ गतेको राती मेरो घरमा डांका वारदात भएको हो । प्र. सोचिन्द्र प्रसादको चालचलन क्रियाकलाप असामाजिक व्यक्तिसंग सम्बन्ध देखिएकोले डांका गरेको होला भन्ने पूर्ण विश्वास छ भन्ने समेत व्यहोराको जाहेरवाला रामेश्वर प्रसाद यादलवले अदालतमा गरेको वकपत्र ।
१४. डांका गर्न जाने व्यक्तिले सके सम्म आफ्नो भेष बदली कसंले चिन्न नसक्ने गरी गएको हुनु स्वभाविकै देखिंदा जाहेर वालाले मौकामा चिन्न नसकेको भए पनि पक्राउ परी सनाखत गराउंदा निज प्र. सोचिन्द्र प्रसाद समेतलाई मैले मौकामा चिनेको भनि जाहेरवालाको श्रीमतिले मिति २०४६।११।१ मा प्रहरीमा सनाखत कागज गरी दिएकोमा निजले मौकामा चिनेको थिएन भनि प्र. सोचिन्द्रले तथ्य प्रमाण साथ खण्डन गर्न सकेको समेत नदेखिंदा प्रस्तुत मुद्दामा प्र. सोचिन्द्र राय यादवले प्रहरी प्रतिवेदन दावी अनुसार डांका गरेको ठहर्छ । प्र. सन्जीव कुमार र नथुनी महतोको हकमा जाहेरवालाले यि प्रतिवादीहरु उपर शंका सम्म पनि व्यक्त गर्न नसकेको अवस्थामा केवल प्र. सोचिन्द्र रायले प्रहरीमा बयान गर्दा पोल गरे सम्मकै आधारमा यि प्र. हरुलाई कसुरदार सम्झी सजाय गर्न नमिल्ने हुंदा प्रस्तुत मुद्दामा प्र. सन्जीव कुमार र नथुनी महतोले सफाई पार्ने ठहर्छ भन्ने शुरु रौतहट जिल्ला अदालतको मिति २०४९।१।१५ को फैसला ।
१५. बुझ्नु पर्ने प्रमाण नबुझि स्वतन्त्र र विवाद रहि सह अभियुक्तको तथ्ययुक्त पोललाई न्यायिक तवरले मूल्याकंन तथ लेखा जोखा नै नगरी केवल प्रतिवादीहरुको इन्कारी बयानको भरमा मात्र प्रतिवादीहरु सन्जीव कुमार यादव र नथुनी महतो नुनियालाई सफाई दिने गरी भएको रौतहट जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा सो सफाई दिएको हका जति आंशिक बदर गरि निज प्र. हरुलाई शुरु प्रहरी प्रतिवेदन अनुसार सजाय गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालतमा परेको वादी श्री ५ को सरकारको मिति २०४९।४।७ को पुनरावेदन पत्र ।
१६. प्रस्तुत मुद्दामा प्रहरीमा मलाई कुटपिट गरी अनुचित प्रभावमा पारी बयान गराएतापनि अदालतमा म अपराध गरेकोमा इन्कार रहेको छु । प्रहरीमा अनुचित प्रभावमा पारी गराएको इच्छा विपरितको स्विकारोक्तिको अलावा मेरो विरुद्धमा कुनै पनि निर्विवाद प्रमाण संकलन र प्रस्तुत गर्न सकिएको छैन । मात्र जाहेरवाला मध्ये रामेश्वरले अदालतमा वत्कपत्र गर्दा शंका सम्म गरेको आधारमा मलाई डांका गरेको आरोपमा सजाय गरिएको हुनाले मात्र शंकाको भरमा सजाय गर्न नमिल्ने, शंकाको सुविधा अभियुक्तले पाउने भनि सम्मानीत सर्वोच्च अदालतबाट अनेकौँ मुद्दामा सिद्धान्त समेत प्रतिपादन भै सकेको र एउटा सर्वमान्य न्यायिक सिद्धान्त समेत हुनाले रौतहट जिल्ला अदालतले केवल शंकाको आधारमा मलाई सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुंदा सो फैसला बदर गरी आरोपित कसूरबाट सफाई पाउं भन्ने समेत व्यहोराको पुनरावेदक (प्रतिवादी) सोचिन्द्र प्रसाद यादवको पुनरावेदन अदालतमा परेको मिति ०५०।७।१९ को पुनरावेदन पत्र ।
१७. यसमा प्र. सोचिन्द्रले प्रहरीमा भएको साविती बयान सम्मको भरमा डांका गरेको ठहर गरेको शुरु फैसला दोष शंका रहित तवरले पुष्टि हुनुपर्ने भन्ने कानूनी सिद्धान्तको सन्दर्भमा फरक पर्ने देखिंदा अ.वं. २०२ नं. अनुसार प्रत्यर्थी श्री ५ को सरकारलाई झिकाउनु र श्री ५ को सरकारको पु.वे जिकिरको हकमा छलफलका लागि सफाई पाएका प्रतिवादीहरुलाई अ.बं. २०२ नं. बमोजिम झिकाई नियमानुसार पेश गर्नु भन्ने पु.वे.अ. हेटौंडाको मिति ०५०।१२।२८ को आदेश ।
१८. प्र. सोचिन्द्र प्रसाद राय यादवको आरोपित अभियोगबाट सफाई पाउने ठहर्छ । प्रतिवादी सन्जीव कुमार यादव र प्र. नथुनी महतो नुनियाको हकका शुरु रौतहट जिल्ला अदालतले निजहरुलाई सफाई दिएको मिलेकै देखिंदा प्र. सोचिन्द्र प्र. यादवको हकमा रौतहट जि.अ.को मिति २०४९।१।१५ को इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति ०५१।९।१० को फैसला ।
१९. सम्पूर्ण प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नहुंदा उक्त फैसला बदर गरी प्रहरी प्रतिवदेन माग दावी बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।
२०. नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरेले सोचिन्द्र यादव डांका गरेमा सावित भई अरुलाई समेत पोल गरेकोले निजहरुले नै हामीहरुको घरमा डांका गरेको हुन भनी किटानी गरी दिएका छन् । त्यसमाथी पनि जाहेरी दरखास्तमा नाम नामेसी सहितको इतिवृत्त खुलेको हुनुपर्छ भन्ने छैन, सर्जमिनका अधिकांश मानिसले जाहेरवालाको घरमा वारदात भएको र डांका गर्ने प्र. सोचिन्द्र समेतका ७।८ जना रहेको कुरा किटानी साथ लेखाई दिएका छन् यस्तो अवस्थामा प्रतिवादीहरुको इन्कारीलाई सफाईको आधार बनाएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नहुंदा सो फैसला बदर गरी प्रतिवादीहरुलाई अभियोग मागदावी बमोजिम सजाय हुनुपर्दछ भनि गर्नु भएको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा, आरोपित प्रतिवादीहरुलाई सफाई दिने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२१. यस्मा प्र. मध्येका सोचिन्द्र प्र. राय यादवले प्रहरीमा बयान गर्दा पोलेको आधारमा प्र. मध्येका सन्जिव कुमार यादवले र नथुनी महतो नुनिया समेत उपर डांकाको आरोप लगाईएको देखिन्छ । प्र. मध्येका सोचिन्द्र प्र. राय यादव जाहेरवाला रामेश्वरप्रसाद यादवको सातदिने ५ पुस्ता भित्रका दैयाद पर्छन एकै ठाउंमा बसोबास छ भनि सोचिन्द्र प्र. यादवको निवेदन लेखबाट देखिन्छ । मिति ०४६।९।१८ गते राती १०:३० बजेको समयमा डांका वारदात भयो भन्ने जाहेरवालाले २०४६।९।२८ मा मात्र आएर हुलाक मार्फत जाहेरी दिएका छन् सो जाहेरीलाई जाहेरवालाले ०४६।१०।१५ मा आएर सनाखत गरेको देखिन्छ । यसरी डांका जस्तो अपराधमा पिडित व्यक्तिले मौकैमा जाहेरी नदिई हुलाक मार्फत जाहेरी दिनुको औचित्य र कारण खुलाउन सकेको पाइदैन । डांकाहरुले मुख नाकमा कालो दलि नकाव लगाएकोले पहिचान गर्न सकिन भन्ने जाहेरिमा उल्लेख छ, जाहेरीमा जाहेरवाला र निजकी पत्नी रम्भा देवीले डांकालाई देखे चिन्छु भन्न लेख्न नसकेको स्थितिमा ०४६।११।१५ मा सनाखत गर्दा चिन्हे भन्नु निजको भनाई पत्यारलायक देखिन आउंदैन । फौज्दारी मुद्दामा जाहेरी दर्खास्त आफैँमा प्रमाण होइन, प्रमाण हुन सक्दैन केवल अपराध अनुसन्धानको आधार मात्र हुन सक्छ त्यसलाई स्वतन्त्र आधार प्रमाणहरुबाट पुष्टी भएको हुनु पर्छ स्वतन्त्र र निविर्वाद सबुद प्रमाणहरुबाट आरोपित कसूरको पुष्टी हुनुपर्छ । प्रहरीमा भएको साविति बयानलाई अन्य प्रमाणहरुबाट पुष्ट्याइ भएको हुनुपर्दछ । जाहेरी दरखास्त र प्रहरीमा भएको साविती बयानको आधारमा मात्र कसूरको ठहर गर्नू न्याय कानून समेतबाट मिल्ने देखिदैन । जाहेरवाला रामेश्वरप्रसाद यादवको श्रीमती रम्भा देवी यादवले प्र. सोचिन्द्र र नथुनी समेतलाई मौकैमा चिनेको हुं भनी प्रहरीमा लेखाई दिएपनि अदालतमा आई मौकामा चिनेको हुं भनी लेखाउन सकेको देखिन आउंदैन । प्रतिवादीहरु अदालतमा पूर्ण इन्कारी छन् । प्रतिवादीहरुको प्रहरीमा भएको साविति बयान कागज स्वतन्त्र ठोस सबुत प्रमाणबाट पुष्टी हुन आएको नदेखिएको अवस्थामा प्रतिवादीहरुलाई आरोपित कसूरमा कसूरदार ठहर गर्नु न्याय कानून संगत नभएकोले निजहरुलाई सफाई दिने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. भैरवप्रसाद लम्साल
इति सम्वत २०४५ साल भाद्र १५ गते रोज २ शुभम्.......................... ।