निर्णय नं. ६६५८ - लेनदेन

निर्णय नं. ६६५८ ने.का.प. २०५६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्रीअरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल
सम्वत २०५२ सालको दे.पु.नं. .... ३२९०,२७७०
फैसला मितिः २०५५।६।२८।४
मुद्दाः लेनदेन।
पुनरावेदक/प्रतिवादीः सप्तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ हाल राजविराज नगरपालिका वडा नं. ९ बस्ने अहिल्यादेवी वैश्यनी समेत ।
विरुद्ध
प्रत्यर्थी /वादीः सप्तरी जिल्ला वोरिया गा.वि.स. वडा नं. ४ बस्ने केदारप्रसाद देव समेत।
पुनरावेदक/प्रतिवादीः सप्तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ बस्ने गंगादेवी वैश्यनी
विरुद्ध
प्रत्यर्थी /वादीः ऐ. ऐ. वोरिया गा.वि.स. वडा नं. ४ बस्ने केदारप्रसाद देव समेत।
§ रजिष्ट्रेसनको ६ नं. मा रजिष्ट्रशेन गराउन पर्ने घरसारको लिखत रजिष्ट्रेशन नगराइ लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्दैन थैली परेमा सो थैली र लिखत बमोजिम ङ्गङ्को सम्पत्ती भोग गर्न नपाएकोमा भोग गर्न नपाएको जतिको कानूनबमोजिमको ब्याज समेत साहुले कपाली सरह भराई लिन पाउंछ र कपाली सरहको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र नालेश लाग्न सक्ने कानूनी व्यवस्था भएको र लेनदेन व्यवहारको ४० नं. मा सो लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएकोमा बाहेक अरुमा भए गरेको मितिले दुई वर्षभित्र नालेस नदिए लाग्न नसक्ने भन्ने व्यवस्था गरेबाट उक्त लेनदेन व्यवहारको महलको अन्य दफाहरुमा हदम्याद नलेखिएको कलममा मात्र लेनदेन व्यवहारको ४० नं. हदम्याद आकर्षित हुने र रजिष्ट्रेशन पारित गराउनु पर्ने लिखत पारीत गरी नदिएकोबाट कपाली हुन गएकोमा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुन सक्ने ।
(प्र.नं.१६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
प्रत्यर्थी वादी तर्फबाटः X
अवलम्वित नजिरः ने.का.प. २०५४, अंक ५, नि.नं. ६३८० र , ने.का.प. २०५४, अंक १०, नि.नं. ६४५३
फैसला
न्या. दिलीपकुमार पौडेलः पुनरावेदन अदालत राजविराज, सप्तरीको मिति २०५२।१।२४।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्ने आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. विपक्षीका स्वर्गिय लोग्ने, बाबू, ससुरा महाविर लाल देवले म संग मिति २०३८।१२।१६ गते रु. ६७,०००। बुझी आफ्नो नाउं दर्ताको जिल्ला सप्तरी जिल्ला विसहरिया गा.वि.स. वडा नं. ८ (क) कि.नं. १ को १.१.१५ कि.नं. १६२ को १.१२.४ जग्गाको सुक्रि बिक्री राजिनामा लिखत लेखि दिनु भएकोमा सो राजिनामा पारित नहुंदा रजिष्ट्रेशनको ६ नं. ले कपाली हुन आएको सो सांवा ब्याज निज महाविर लाल जिवित हुँदा निजसंग र निजको मृत्यु पश्चात निजको हक खाने प्रतिवादीहरुसँग माग गर्दा आज भोली गरी टार्दै आएकोले अन्यायामा परी महाविरको अपुताली हक खाने यी प्रतिवादीहरु उपर नालेश गरेको छु । सावां रु. ६७,०००। को आज मिति ०४८।१२।१३ गते सम्म ९-११-२७ को हुने ब्याज रु. ६६९४४।१७ समेत जम्मा सांवा ब्याज रु. १,३३,९४४।१७ र लागेको कोर्टफि समेत भराई पाउं भन्ने वादीको फिराद पत्र ।
३. वादीको दाता महाविरलाल र मेरो लोग्ने देवनारायण बिच रितपूर्वक बण्डापत्र मिति २०२०।४।३२ मा पास भएको हुंदा महाविर सगोलको अंशियार होइन । महाविरको अपुताली खाने निजको पत्नी गंगादेवी हुंदा हामी उपरको वादी दावी झुट्टा हो सक्कल लिखत हेरेमा एकीन बयान गर्नेछु भन्ने प्र. अहिल्या देवी र रमानन्द वैश्यको संयुक्त प्रतिउत्तर पत्र।
४. महाविर र मेरो बिच मिति २०२०।४।३२ मा वण्डापत्र भैसकेको हुँदा वण्डा पछि खाएको ऋण मैले तिर्न बुझाउनु पर्ने होइन । के कुन कागजको आधारमा नालेस दिएको हो । सक्कल लिखत हेरेमा नामाकरण गर्ने छु भन्ने प्र. देवनारायण लाल देवको प्रतिउत्तर पत्र ।
५. मेरो लोग्ने महाविर लालदेवले कसैसँग ऋण कर्जा लिएको छैन । लेखत पारित नभएको सम्बन्धमा ०३८।१२।१६ को लिखतको आधारमा ०४८।१२।१३ गते १० वर्षको म्यादमा फिराद गरेकोमा सो लेखतमा कपाली सरह नालेस गर्दा लेनदेन व्यवहारको ४० नं. को हदम्यादनमा उजुर दिनुपर्नेमा लेनदेन व्यवहारको २ नं. को म्यादमा पर्ने आएको फिराद खारेज योग्य छ । विपक्षीले के कुन कागजको आधारमा नालिस गरेको हो सक्कल लिखत हेरेमा नामाकरण गर्ने छु भन्ने प्र. गंगादेवीको प्रतिउत्तर पत्र ।
६. धनि भगवती प्रसाददेव ऋणि महाविर लाल देव भएको थैली रु. ६७०००। मिति २०३८।१२।१६ को लिखतको शिर पुछारमा भएको सहीछाप ऋणिको हो होईन भन्न सक्दीन लिखत लिफा हुन सक्छ । लिखतमा उल्लेखित रुपैंया महाविरले भनि भगवतीसँग लिएको छैन र लिखतमा उल्लेख भएको कि.नं. १६२ को जग्गा ऋणिको नाउंमा दर्ता पनि छैन भन्ने समेत प्रतिवादीको वा. श्याम नारायण देवको मिति २०५०।३।३० को बयान ।
७. प्रतिवादीले गरेको बयान झुठ्ठा हो लिखत सद्दे हो थैली पचाउन प्रतिवादीले झुठ्ठा बयान गरेको हो भन्ने समेत वादी केदारप्रसाद देवले गरेको बयान ।
८. यसमा रजिष्ट्रेशन हुने लिखत घरसारमा वा अड्डामा लेख्दा दोहोरी दिनु पर्नेमा तीन प्रति र अरुमा २ प्रति लेखि सबैमा कारणि र साक्षीको सहीछाप गराउनु पर्ने रजिष्ट्रेशनको २५ नं. मा व्यवस्था भएकोमा २ प्रति लिखत पेश हुन नसकेको एक प्रति लिखतको भरमा सांवा ब्याज दिलाई पाउं भनि आएको फिरादबाट मुद्दाको तहकिकात फैसला हुन नसकी लिखत सद्दे कीर्ते तर्फ समेत केही विचार गरी रहनु नपरी अ.बं. १८० नं. बमोजिम वादीको नालेस खारेज हुने ठहर्छ भन्ने सप्तरी जिल्ला अदालतको फैसला ।
९. मिसिल संलग्न कागज मौजुद छँदा छँदै लाग्दै नलाग्ने बुंदा प्रमाण लगाई कानून विपित भएको सप्तरी जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी दावी बमोजिम सांवाब्याज भरी पाउं भन्ने पुनरावेदकको पुनरावेदन पत्र ।
१०. यसमा एक प्रति सक्कल लिखतलाई प्रमाणमा नलिई फिराद खारेज गर्ने गरेको शुरुको खारेजी फरक पर्ने सक्ने देखिंदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीबाट भएको आदेश ।
११. रजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि एक प्रति भन्दा बढी लिखत खडा भएको हुन पर्ने हो सो कुरा रजिष्ट्रेशन पारितको अवस्थामा हुने हो नकी रुपैया लिनु दिनु गरी घरसारमा रजिष्ट्रेशन पारित गर्ने गरी कागजगर्दा सो रित पुगेको हुनुपर्ने हो । त्यसरी खडा कुनै कागज रजिष्ट्रेशन पारित हुन नसकेकोमा त्यस्तो कागज कपाली सरह हुने र कपाली सरह थैली र कानून बमोजिमका ब्याज साहुले आसामीबाट भरी पाउने कुरा मुलुकी ऐन रजिष्ट्रेसन महलको ६ नं. मा व्यवस्था भएकोमा सो अनुरुप गर्नु पर्नेमा नगरी फिराद दावी खारेज गर्ने गरी भएको शुरु सप्तरी जिल्ला अदालतको मिति २०५०।४।१७ को खारेजि फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । पुनरावेदक वादीबाट पेश भएको तमसुक रीतपूर्वकको नै देखिन आएकोले फिराद दावी अनुसार प्रत्यर्थी प्रतिवादीबाट सांवा र सयकडा दशको दरले ब्याज समेत कानून अनुरुप पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।१२।२४।१ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन । लेनदेन व्यवहारको २२ नं. अनुसार अपुताली नखानेलाई साहुले पक्रन हुँदैन । अपुताली खाएपछि तिर्दिन पनि भन्नु हुँदैन भन्ने प्रष्ट कानूनी व्यवस्था छ । ऋणि स्व. महाविर लाल देवको अपुताली खाने हकवाला हामी नभएको तथा निज स्व. महाविर लाल देवको अपुताली हामीले खाएको पनि नहुंदा र निजको अपुताली खाने पत्नी प्रतिवादी गंगादेवी जिवित छंदा छंदै हामी पुनरावेदकहरुबाट दावी बमोजिमको सांवा ब्याज भरी पाउने ठहर्याई पुनरावेदन अदालत राजविराज सप्तरीबाट भएको फैसला उल्लेखित लेनदेन व्यवहारको २२ नं विपरित भई त्रुटिपूर्ण हुंदा सो फैसला बदर गरी पाउं भन्ने मिति २०५२।१०।२३ मा परेको प्रतिवादी रमानन्द देव वैश्य समेतको पुनरावेदन पत्र तथा रजिष्ट्रेशनको ५ नं. ले ऐनको म्याद भित्र पास गराई लिनु पर्छ । ऐ को ६ नं. ले ५ नं. अनुसार पास गराइलिन सकेको रहेनछ भने कपाली सरह भराई लिन सक्ने व्यवस्था छ । ऐनको रीत पुर्याउन नसकेको अवस्थामा दावी लाग्न नसक्ने । दोश्रो कपाली सरह हुनेकुरामा हदम्यादको प्रश्नमा फूलबेन्च समेतको फैसला लेनदेन व्यवहारको ४० नं ले २ वर्षको म्याद समेत नाघी सकेको । दोश्रो लेनदेन व्यवहारको ६ नं. ले ब्याज समेत पाउन नसक्ने त्यसतर्फ विचार भएन र हदम्याद नाघी परेको उजुरीबाट भरी भराउ हुन नसक्ने हुंदा फैसला बदर गरी पाउं भन्ने समेत व्यहोराको यस अदालतमा मिति २०५२।७।३।६ मा परेको प्रतिवादी देव नारायण देव वैश्य समेतको पुनरावेदनपत्र ।
१३. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले दाता महावीरलाल देव र मेरो लोग्ने देव नारायण देव बिच रीतपूर्वकको वण्डापत्र मिति २०२०।४।३२ मा पास भएको हुदा महावीर सगोलको अंशियार होइन । महावीरको हक खाने निजको पत्नी गंगादेवी हुंदा दावी बमोजिमको सांवा ब्याज भरी पाउने होईन भन्ने बहस जिकिर प्रस्तुत गर्नु भयो । त्यस्तै अर्को पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले महावीर लाल देव र मेरो पक्ष बीच २०२०।४।३२ मा वण्डापत्र भै सकेको हुंदा वण्डा पछि खाएको ऋण तिर्नु बुझाउनु पर्ने होइन । जग्गा बिक्री गर्ने उद्देश्यले भएको लिखत पारित हुन नसकी परिणामतः कपाली हुन आएमा लेनदेन व्यवहारको ४० नं. बमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस दिनु पर्छ । तर म्यादभित्र नालेस दिनु भएको छैन । त्यसैले दावी बमोजिमको सांवाब्याज भरी पाउने होइन भन्ने बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रस्तुत बहसजिकिर समेत सुनि आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीले एक प्रति लिखतको भरमा सांवा ब्याज दिलाई पाउं भनी आएको फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको मिति २०५०।४।१० को खारेजी फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहराएको पुनरावेदन अदालत राजविराज सप्तरीको निर्णय मिले नमिलेको के हो निर्णय दिनु पर्ने हुन आयो ।
१४. प्रस्तुत मुद्दामा प्रथमतः लेनदेन व्यवहारले २ नं. को हदम्याद वा ४० नं. को हदम्याद कुन आकर्षित हुने हो ? सो बुंदाको निर्णयतर्फ विचार गर्दा विपक्षीका स्व. लोग्ने, बाबु, ससुरा, महावीर लालदेवले मसंग मिति २०३८।१२।१९ गते रु. ६७०००। बुझि आफ्नो नाउं दर्ताको जिल्ला सप्तरी, विषहरिया गा.वि.स. वडा नं. ८(क) को कि.नं. १ को १-१-१५ कि.नं. १६२ को १-१२-४ जग्गा सुकिबिक्रि राजिनामा लेखत लेखि दिनु भएको सो राजिनामा पारित नहुंदा रजिष्ट्रेशनको ६ नं. कपाली हुन आएको सो लिखतको निज महाविर लालको अपुताली खाने प्रतिवादीहरुबाट सांवा रु. ६७,०००। ब्याज रु ६६९४४।१७ समेत जम्मा सांवाब्याज रु. १,३३,९४४।१७ भराई पाउं भन्ने वादीको फिराद दावी भएकोमा वादीको दाता र हाम्रा लोग्ने, बाबु देव नारायण २०२०।४।३२ मा वण्डापास गरी छुटि सकेको हुंदा हामीले तिर्नु पर्ने होइन भन्ने प्रतिवादी अहिल्या देवी र रमानन्द देव वैश्यको प्रतिउत्तर पत्र, मिति २०२०।४।३२ मा महाविरसंग वण्डापत्र भई छुट्टिई सकेको हुदा तिर्न नपर्ने भन्ने प्रतिवादी देवनारायण देवको जिकिर छ भने प्रत्यर्थी गंगादेवीको लोग्ने महावीरले ऋण लिए खाएकै छैन । लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्र उजुर गर्न पर्नेमा लेनदेन व्यवहारको २ नं. को हदम्याद देखाई पर्ने आएको फिराद खारेज गरी पाउं भन्ने प्रतिवाद जिकिर रहेको प्रस्तुत मुद्दामा शुरु सप्तरी जिल्ला अदालतबाट फिराद दावी खारेज गर्ने गरेको फैसला उल्टी गरी फिराद दावी बमोजिम सबै प्रतिवादीहरुबाट सांवाब्याज भराउने गरेको फैसला उपर प्रतिवादीहरको यस अदालत समक्ष पुनरावेदन पर्ने आएको र गंगादेवी र देव नारायण लाल देव वैश्यको पुनरावेदनमा फुलबेन्चको फैसला समेतले लेनदेन व्यवहारको ४० नं. को हदम्याद नघाई दायर भएको फिराद हो भन्ने जिकिर रहेको देखिन्छ । यो मितिको उल्लेख भएको देखिएको छैन तापनि पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले आफ्नो बहसको क्रममा वादि केशर बहादुर राजभण्डारी प्रतिवादी पुण्य विक्रम राणा भएको दे.पु. इ.नं. ९८ को कपाली सांवाब्याज दिलाई पाउं भन्ने
मुद्दामा सर्वोच्च अदालत पूर्ण इजलासबाट मिति २०४८।११।१५ मा फैसला हुंदा राजिनामको लिखत रजिष्ट्रेशन हुन नसकी कपाली हुन आएको लिखतको सांवाब्याजमा उजुर गर्दा व्यवहारको ४० नं. को हदम्याद भित्र उजुर गर्नुपर्ने प्रतिपादित सिद्धान्त विपरित पुनरावेदन अदालत राजविराजबाट फैसला भएको छ । सो नजीरबाट प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं. को हदम्याद आकर्षित हुने हुंदा प्रस्तुत मुद्दा सो लेनदेन व्यवहारको ४० नं. को हदम्याद नाघी परेको हुंदा खरेज हुनुपर्छ भन्ने जिकिर लिनु भएको छ ।
१५. प्रस्तुत मुद्दामा वादीले लेनदेन व्यवहारको २ नं. को हदम्याद देखाई फिराद दायर गर्नु भएको हुंदा प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं. को हदम्याद आकर्षित हुने हो वा २ नं. को हदम्याद आकर्षित हुने हो । तत्सम्बन्धमा पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले इंगित गर्नु भएको वादी केशर बहादुर राजभण्डारी विरुद्ध प्रतिवादी पुण्य विक्रम भएको दे.पु.इ.नं. ९८ को मुद्दामा प्रतिपादित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन्छ हुंदैन भन्ने तर्फ हेर्दा सो मुद्दामा म्यादभित्र पास गरी दिने व्यहोरा उल्लेख गरी दृष्टिबन्धी कागज लेखि दिएकोमा म्यादभित्र पास गरी नदिएकोले लिखत पास गरी पाउं भनी फिराद दिंदा सो लिखत करकापमा गराएको भनी करकाप मुद्दा समेत परी करकाप नठहर्ने र लेखिएको सम्पत्ति विपक्षीको नदेखिएकोले लिखत पारित नहुने ठहरी सर्वोच्च अदालतबाट निर्णय भएपछि सो निर्णय भएको मितिले ३५ दिनिभत्र कपालीमा सांवाब्यजाको दावी लिई फिराद परेको यस्तो स्थितिमा लिखत भएकै मितिबाट लेनदेन व्यवहारको २ नं. बमोजिम १० वर्षको हदम्याद कायम हुन्छ भन्नु र वादीलाई हदम्याद नघाई आएको भन्नु र आफूले नालेस उजुर गर्नुपर्ने कुरामा सजग हुंदाहुंदै वादीलाई हदम्याद नघाई आएको भन्नु हदम्यादको औचित्य र अवधारणा अनुकुल समेत हुने देखिदैन । वादी दावीको लिखत पारित नहुने भई कपाली हुने गरी सर्वोच्च अदालतबाट मिति २०३९।२।२१ मा अन्तिम निर्णय भएको मितिले ३५ दिन भित्रै परेको कपालीमा सांवा ब्याजमा दावीलाई परेको फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको हुंदा हदम्यादको खिलाफको फिराद भन्न मिलेन भनि सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा स्व. महावीर लाल देव वैश्यले आफ्नो हकभोगको अचल सम्पत्ति राजिनामा लेखि दिएको म्यादभित्र पारित गरी नदिएको कारणबाट थैली कपाली भएको भनी रजिष्ट्रेशनको ६ नं. बमोजिम प्रस्तुत मुद्दाको फिरादपत्र केदार प्रसाद देवले दायर गरेको देखिंदा सर्वोच्च अदालत पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको उल्लेखित मुद्दाको तथ्य र निर्णयाधार र प्रस्तुत मुद्दाको तथ्य र निर्णयधार फरक रहेको देखिंदा उक्त नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने देखिएन ।
१६. रजिष्ट्रेसनको ६ नं. मा रजिष्ट्रशेन गराउन पर्ने घरसारको लिखत रजिष्ट्रेशन नगराइ लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्दैन थैली परेमा सो थैली र लिखत बमोजिम को सम्पत्ती भोग गर्न नपाएकोमा भोग गर्न नपाएको जतिको कानूनबमोजिमको ब्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ र कपाली सरहको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र नालेश लाग्न सक्ने कानूनी व्यवस्था भएको र लेनदेन व्यवहारको ४० नं. मा सो लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएकोमा बाहेक अरुमा भए गरेको मितिले दुई वर्षभित्र नालेस नदिए लाग्न नसक्ने भन्ने व्यवस्था गरेबाट उक्त लेनदेन व्यवहारको महलको अन्य दफाहरुमा हदम्याद नलेखिएको कलममा मात्र लेनदेन व्यवहारको ४० नं. हदम्याद आकर्षित हुने र रजिष्ट्रेशन पारित गराउनु पर्ने लिखत पारीत गरी नदिएकोबाट कपाली हुन गएकोमा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुन सक्ने देखिन्छ । लेनदेन व्यवहारको ४० नं. को हदम्याद आकर्षित हुने देखिएन ।
१७. प्रस्तुत मुद्दाको तथ्य र कानूनी प्रश्न जस्तै समान मुद्दाको तथ्य र कानूनी प्रश्न समावेश भएको पुनरावेदक प्रतिवादी दुर्गा लाल विरुद्ध प्रत्यर्थी वादी हिरालाल यादव भएको दे.पु.नं. १९०६ को लेनदेन मुद्दा (ने.का.प. २०५४ अंक ५ नि.नं. ६३८० फैसला मिति २०५३।५।४।३) र पुनरावेदक प्रतिवादी विधीचन साह कलवार विरुद्ध प्रत्यर्थी विकाउसाह कलवार समेत भएको दे.पु.नं. ३२३८ को लेनदेन मुद्दा (ने.का.प. २०५४ अंक १० पृष्ठ ५८० नि.नं. ६४५३) मा पनि यसै अदालतबाट रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत पारीत हुन नसक्ने कपाली भएको लिखतको सांवाब्याज भराई माग्ने हदम्याद लेनदेन व्यवहारको २ नं. आकर्षित हुने भन्ने प्रतिपादन भएको सिद्धान्त प्रस्तुत मुद्दामा सान्दर्भिक नै देखिन्छ । तसर्थ प्रस्तुत मुद्दामा घरसारमा खडा भएको मितिबाट राजीनामा पारीत गराई नलिएबाट कपाली हुन आएको लिखतको थैली र भोग गर्न नपाइएकोबाट थैली समेत भराई पाउं भनी परेको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको २ नं. बमोजिम लिखत भएको मितिले १० वर्षभित्रै फिराद दायर भएको देखिंदा हदम्याद नघाई दायर भएको भन्न मिल्ने देखिंदैन ।
१८. अब वादी दावीको सांवाब्याज भराई पाउने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा वादी दावीको लिखत ऋणिले गरी दिएको होईन भन्ने ऋणीको पत्नी गंगादेवीको प्रतिवाद जिकिरको आधारमा लिखत सुनाउंदा सो लिखतमा लागेको ऋणीको सहीछाप हो होइन भन्न सक्दिन भनी बयान गरेको देखिएकोले उक्त लिखतलाई कीर्ते वा जालसाज हो भनी प्रत्यर्थी प्रतिवादीले दावी लिन सकेको नदेखिएको र यस अदालत समक्ष दिएको पुनरावेदनमा विशेषज्ञ जांच गराई निर्णय हुनुपर्ने भनी जकिर लिएको भएतापनि विवादको लिखतमा भएको कारणीको सहीछाप लिखत गरी दिने महावीर लाल देव वैश्य होइन कीर्ते हो भन्ने कुराको जिकिर लिन सकेको पाइदैन । यस्तोमा सो लिखत विशेषज्ञबाट जांच गराउनु पर्ने अवस्था देखिदैन । लिखत रजिष्ट्रेशन पारीत नभई कपाली हुन आएको अवस्था छ । त्यस्तो लिखत बमोजिमको जग्गा वादीतर्फबाट भोग चलन गरिएको छ भन्ने प्रतिवादी पक्षको कुनै जिकिर छैन । यस्तो अवस्थामा वादी दावीको लिखतको थैली र भोग नगरेको अवस्थामा सो को ऐन बमोजिम हुने ब्याज समेत वादीले भरी पाउने नै देखिन्छ ।
१९. अब सबै प्रतिवादीहरुबाट भरी पाउने ठहराएको मिलेको छ छैन भन्ने सन्दर्भमा लिखत गर्ने महावीर लाल देव वैश्यसंग मिति २०२०।४।३२ मा अंशवण्डा पारित गरी छुटीसकेको हुंदा सो भन्दा पछि महाविरले खाएको छुटीसकेको हुंदा सो भन्दा पछि महाविरले खाएको ऋण तिर्न नपर्ने भन्ने प्रतिवादी अहिल्यादेवी, रमानन्द वैश्य र मिति २०२०।४।३२ मा अंशवण्डा गरी छुटिसकेको हुंदा सो पछि बाबु महावीरले खाएको ऋण मैले तिर्न नपर्ने भन्ने प्रतिवादी वेद नारायणलालदेवको जिकिर रहेको पाइन्छ । सो जिकिरको वादी पक्षबाट खण्डन गरिएको देखिंदैन । पेश भएको वण्डापत्रको कागजबाट महादेव लालदेव वैश्यसंग प्रतिवादी अहिल्या देवीका लोग्ने तथा रामानन्द देव वैश्यका बाबु देव नारायणलाल मिति २०२०।४।३२ मा अंश छुट्टिइ सकेको देखिन्छ । अर्को प्रतिवादी वेद नारायण लाल देव वैश्य आफ्नो बाबु महावीर लाल देवसंग मिति २०२०।४।३२ मा अंशवण्डा गरी छुट्टिई सकेको भन्ने कुरा वण्डापत्रको कागजबाट देखिन्छ । यसरी महावीर लालसंग वादिका अंशियार भाई देव नारायण देव र छोरा देव नारायण लाल देव मिति २०२०।४।३२ मा अंश लिई छुट्टिई सकेपछि करिब १८ वर्ष पछि आएर मिति २०३८।१२।१६ मा महावीर लाल देव वैश्यले प्रत्यर्थीवादीसंग रु. ६७,०००। लिई आफ्नो नाउंको जग्गा घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखत हुंदाको अवस्था अंशयार देव नारायण र निज महावीरका छोरा वेद नारायण देव महाविरसंग साथमा नभई अघि नै अंश लिई छुट्टी सकेको हुदा ऋण लिदाको अवस्थामा ऋण खाने महाविरकोसंग साथमा नरही १८ वर्ष अघिनै अंश लिई छुट्टीइ सकेको देव नारायण देव र निजको मृत्यु पश्चात निजका स्वास्नी छोरा र महावीरका छोरा प्रतिवादी वेद नारायण देवले महाविरले खाएको अंशका दायित्व दण्ड सजायको २६ नं. ले बेहोर्नु पर्ने अवस्था पर्दैन । त्यसैल ति प्रतिवादीहरुले वादी दावीको लिखतको थैली र ऐन बमोजिम ब्याज वादीलाई बुझाउनु पर्ने दायित्व हुंदैन । ति प्रतिवादीहरुबाट वादी दावीको लिखत थैली र ब्याज समेत दामासाहिबाट भराउने गरेको मिलेको देखिएन ।
२०. अब पुनरावेदिका गंगादेवीको हकमा विचार गर्दा प्रतिवादी गंगा देवी ऋण खाने महाविर लालको पत्नी भन्ने कुरामा विवाद छैन । वादी दावीको लिखत हुंदाको समयमा पुनरावेदकीका गंगादेवी आफ्नो लोग्नेसंग छुट्टीइ सकेको भन्ने कुनै जिकिर छैन । हाल आएर पुनरावेदनमा महावीर लाल माथि अंश मुद्दा दिई अंश पाउने ठहर भै सकेको हुदा सगोलको भन्न नहुने भन्ने सम्मको जिकिर लिएको पाइन्छ । महावीरका अंशियार दाजुभाई र आफ्नो छोरा समेत अघिनै अंश लिई छुट्टिई सकेको एवं पत्नीसाथ सगोलमा रहे बसेको अवस्थामा वादी दावीको लिखतको रकम खाएको देखिन्छ । त्यसपछि अंश मुद्दा परी अश पाउने ठहर भएको अवस्थामा पनि सगोलमा हुंदा आफ्नोलोग्नेले खाएको ऋण सो लोग्नेले खाएको ऋण सो लोग्नेको अपुतालीको २ नं. ले एकमात्र अपुताली खान पाउने स्वास्नी प्रतिवादी गंगादेवी भएकोमा कुने विवाद छैन । अपुताली खाएको छैन भन्ने भनाई बाहेक स्व. लोग्नेको अपुताली खान पाउने एक सगोलकी पत्नी पुनरावेदीका गंगा देवी भएको अवस्थामा निज महावीर लालको अपुताली यी गंगादेवी जिवित भएसम्म निजले बाहेक अरुले खान पाउने अवस्था नभएको र लेनदेन व्यवहारको २२ नं. ले अपुताली खाए पछि ऋण तिर्न पर्दैन भन्न मिल्ने अवस्था हुंदैन । तसर्थ पुनरावेदिका प्रतिवादी गंगादेवीले आफूसंग सगोलमा रहेबसेको अवस्था आफ्नो लोग्ने महावीर लालेले खाएको ऋण निजको मृत्युपश्चात अपुतालीको २ नं. र लेनदेन व्यवहारको २२ नं. ले महावीर लालको अपुताली समेत खान पाउने पुनरावेदिका प्रतिवादीले तिर्न नपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन । फिराद दाविको लिखत बमोजिम सांवा र ब्याज समेत पुनरावेदीका प्रतिवादी गंगादेवीबाट मात्र भरी पाउने ठहर्छ । अन्य प्रतिवादीहरुले समेत सो लिखतको थैली र ब्याज समेत दामासाहीबाट तिर्नु पर्ने ठहर्याएको सम्म पुनरावेदन अदालत राजविराज,सप्तरीको इन्साफ नमिलेको हुंदा सो हदसम्मको फैसला उल्टी हुन्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. अरविन्दनाथ आचार्य
इति सम्वत २०५५ साल असोज २८ गते रोज ४ शुभम् ।