निर्णय नं. ६६६१ - कर्तव्य ज्यान

निर्णय नं. ६६६१ ने.का.प. २०५६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५१ सालको फौ.पु.नं. .... १०९९
फैसला मितिः २०५५।८।२८।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः रामसवरिया देवि चमैनको जाहेरिले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी /प्रतिवादीः जि. पर्सा हरपुर गा.वि.स. वडा नं. २ बस्ने, शंकरदास थारु समेत जम्मा २६ जवान ।
§ इन्कारी जबसम्म शंकारहित प्रमाणबाट पुष्टि हुँदैन तबसम्म सो इन्कारीले मात्रै विश्वासिलो प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन भने अर्कोतर्फ शंकरदास थारुले लाठीले मृतक पन्नालाललाई हिर्काएको भनी जाहेरवालीले किटानीसाथ लेखि दिएकी, वारदातका चश्मदिद व्यक्ति जिउतरामले मृतकलाई प्रतिवादी शंकरदासले टाउकोमा हिर्काएको भनी किटानीसाथ लेखाइ दिएको र लाश जाँच रिपोर्टमा Head injury को कारणबाट मृत्यु भएको देखिने भनि उल्लेख भएबाट जाहेरवालीको भनाई र जीउतराम समेतका व्यक्तिको भनाईलाई उक्त लाश जाँच रिपोर्ट र लाश प्रकृति मुचुल्काबाट समर्थित हुन आउँछ । यस्तो स्थितिमा प्रतिवादी शंकरदास थारुले केबल अदालतमा गरेको इन्कारी बयानलाई आधार लिई निजले कसूर गरेको होइन भन्न मिल्ने अवस्था नदेखिने ।
(प्र.नं. ४६)
पुनरावेदक वादी तर्पबाट विद्वान अधिवक्ता श्री नन्दबहादुर सुवेदी
विपक्षी प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई
अवलम्बित नजीरः X
फैसला
न्या. इन्द्रराज पाण्डेः पुनरावेदन अदालत हेटौँडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्ने आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः
२. पंचायतको चुनावमा प्रधान पंचको उम्मेदवार रामचन्द्र साहतेलीले मेरो छोरालाई प्रचार प्रसरा गर्न राखेकोमा अर्को पक्ष छविकान्त दासले मेरो प्रचार गर भनेकोमा छोराले नमानेको हुदा रिसाई मैले चुनाव हारेँ भने तलाई मार्छु भन्दै आएका थिए, चुनावमा छविकान्तको हार भयो र निजको भाई विश्व महोन ०४४।३।२ गतेको बिहान ८ बजे आफ्नो पक्षका मानिस तथा लाठी भाला लिई प्र.पं. रामचन्द्रको पक्षका मानिसहरुलाई कुट्ने भन्दै बाटोमा पर्ने जिउत रामको घर देखि यो पनि विपक्षीको घर हो भत्काइ देउ भनी भत्काउन लागेको तथा सोरसुनी के भयो भनी मर मेरो छोरा पन्नालाल खेत तर्फ गएका थियौँ, विपक्षीहरुले हामीलाई देख्ने बित्तिकै हरपुर वा.नं. ३ बस्ने शंकरदास थारुले पुरानो दुश्मन यहि हो, मारौँ भन्दै वचन दिई आफू आई हातमा लिएको बाँसको लाठिले प्रहार एकाएक छोरालाई निजको जिउमा हानेको देखि विश्वमोहन दास थारुले पनि बासकै लठ्ठीले प्रहार गरे अन्य ९ जनाले छोरालाई चारै तर्फबाट घेरी प्रहार गरेकोमा मरे भनी कराएपछि गाउंको मानिस आउँदा विपक्षीहरु भागि बेपत्ता भए, गाउंकैल सहयोगबाट छोरालाई उपचारको लागि विरगंज अस्पतालमा लगेकोमा डाक्टरले मृत्यु भैसकेको छ भनेको हुंदा जाहेर गर्न आएको छु । पोष्ट मार्टमको कार्य गरी लास सदगत गर्न जिम्मा पाउं र निजहरुलाई सजाय गरी पाउं भन्ने
समेत जाहेरी दरखास्त ।
३. नारायणी अन्चल अस्पताल अगाडी बाटो पश्चिम दुई तले घर उत्तर वरण्डा दक्षिण बाटो घर यति चार किल्ला भित्र पूर्व खुट्टा पश्चिम टाउको भै मृतकलास पुरानो लुंगीले छोपेको हटाई हेर्दा नाकबाट र्याल सिंगान आई गालामा लागि भूंइसम्म जमेको मुखबाट रगत मिश्रित र्याल निस्केको बाँया हातको नाडी माथि हत्केला देखि कुइनासम्म रगत लागि सुकेको लासले सेतो गन्जी र निलो कट्टु लगाएको कपडा खोली हेर्दा लिंग सुखा मलद्वारबाट मल निस्केको लासलाई पल्टाई हेर्दा बायांपट्टि पिंठ्युमा केहि सुन्निएको, बायाँ पट्टी टाउको, गाला सुन्निएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. ०४४।३।२ गतेको घटनामा म गाउं घरमा छैन, असार १ गते विरगंज नेपाल बैंक लि. बाट रु. ५५००। झिकी घर गै २ गते बिहान ६ बजे मोजिया नि.मा.वि. मा गै शिक्षकलाई तलब बाडेँ र १२ बजे घरमा आउन लाग्दा गाउंकै बटोर राउत, वागर राउत, अहिर हृदयनारायण समेत गाउं देखि उत्तर भागी रहेको देखेँ तेतीबेला म संग कुनै कुराकानी भएन, गाउं पुग्दा धेरै मानिसहरुको जमघट थियो, ८, ९ बजेको समयमा उल्लेखित मानिसहरुले पन्नालाललाई कुटपिट गर्दा बचाउन निमित्त हरपुर वा.नं. १ मा बस्ने कोलेश्वर राउत हरिचन्द्र महतो, हेमन दास बन्हु दास, राम औतार राउन समेत छुट्याउन जांदा निजहरुलाई समेत कूटपिट गरी गाउंबाट भागी गएका हुन भन्ने सुनेको हुं झगडा किन भयो थाहा भएन । पन्नालालको मृत्यु अस्पतालमा भएको भन्ने समेत व्यहोराको प्र. छविकान्त दास थारुको प्रहरीमा भएको बयान ।
५. ०४४।३।२ गते म गोरुलाई खाना खुवाई रहेको बेला हल्ला भएको सुनी हेर्न जांदा मृतक पन्नालालको कार्कीले शंकर, विश्वमोहन, बिन्दा मध्ये शंकरले अर्डर दिई लाठीले पन्नालालाई प्रहार गर्दा विन्दा विश्व मोहनले पनि कुटपिट गरे, पन्नालाल लडिसकेपछि राजेन्द्र देखारु, नथुनी, उमाकान्त जोखु समेतले कुटपिट गरे भनी निज चिल्लाएकोमा मैले सुनेको हुं मैले पन्नालाललाई कुटेको छैन, घटनामा मुख्य छविकान्तको षडयन्त्र छ भन्ने समेत व्यहोराको प्र. जगरनाथ राउत अहिरको प्रहरीमा भएको बयान ।
६. म स्कूलबाट फर्कि आउन लाग्दा बाटोमा गाउंले मानिसहरुले पन्नालाललाई मारौं भनी भनेकोले बुझ्दा इन्दुदास समेतले हिर्काएकोमा उपचारको लागि विरगंज लगी निजको मृत्यु भयो भन्ने सुनेको हुं मैले मारेको होइन,रिसईवीले मलाई पोल गरेका हुन् भन्ने समेत व्यहोराको विश्वनाथ साह तेलीको प्रहरीमा भएको बयान ।
७. ०४४।३।२ गते म आफ्नो घरमा बसी रहेको अवस्था हल्ला सुनें, पन्नालाल कुटपिटमा घाइते भएको छ भन्ने थाहा पाई शंकर समेतले दिएको आदेशबाट अन्य मानिसहरुले कुटपिट गरे भन्ने मृतकको आमाले भनेबाट थाहा पाएको मुख्य छविकान्तको हातछ भनी भनेको थिएन । मैले कुटपिट गरेको होइन भन्ने समेत व्यहोराको प्र. हृदय नारायणप्रसाद तेलीको प्रहरीमा भएको बयान ।
८. जाहेरीमा उल्लेखित व्यक्तिहरुले जिउत रामको घरको छानामा लठ्ठीले जथाभावी तोडफोड गर्दा पन्नालाले सम्झाउन जांदा निजलाई नै कुटपिट गरेको देखेको भन्ने ७ जना र विश्वनाथ सहितको रामचन्द्र पक्षका व्यक्तिले कुटपिट गरको देखेको भन्ने ६ जनाको सर्जमिनख मुचुल्का ।
९. ०४४।३।२ गते बिहान ७ बजे म स्कूल गै करिब ११ बजे तिर घर फर्कि आउँदा गाउँमा मारपिट भै पन्नालाल सख्त घाइते अवस्थामा छ भन्ने थाहा पाएपछि सोहि दिन २ बजे तिर पन्नालालको मृत्यु भयो भन्ने पनि सुनेँ भन्ने समेत व्यहोराको उमाकान्तप्रसादको प्रहरीमा भएको बयान ।
१०. ०४४।३।२ गते भन्दा पहिले बिहान ८:३० बजे चुनावको रिसइवीको कारणले विश्वमोहन दास समेत भै हात हातमा लठ्ठीले मेरो घर ढोका तोडफोड गर्न लाग्दा डरले हल्ला गर्दै भागें र पन्नालाललाई दुश्मन हो भनी शंकरले पहिलो लाठी टाउकोमा हिर्काउंदा अन्य विपक्षीहरुले पनि हिर्काएबाट पन्नालाल घाइते भै बेहोस भएबाट अस्पतालमा ल्याउंदा ल्याउंदै मृत्यु भएको हो भन्ने समेतको जिउत राम चमारको प्रहरीमा भएको बयान ।
११. प्रतिवादीहरु मध्ये शंकरदास थारुले मुख्य भै ज्यान मार्न वचन दिएको र आफूले पनि कुटपिट गरेको र अन्य प्रतिवादी छविकान्त लगायतका प्रतिवादीहरुले प्रतिवादी महलमा उल्लेखित २६ जना मिली कुटपिट गरेको र यसैको प्रहारले पन्नालालको मृत्यु भयो भन्ने नखुलेकोले निज सम्पूर्ण प्रतिवादीहरुलाई मु. ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम कार्यबाहि भै सजाय हुन सादर अनुरोध छ र निज हृदयनारायण, जगरनाथ, विश्वनाथ, उमाकान्त उपर मुद्दा नचलाई यसै जि.प्र.का. बाट पछि अदालतबाट खोजी भएको बखत उपस्थित गराउने गरी हाजिर जमानीमा छाडि दिएको र उल्लेखित छविकान्त दास थारु बाहेक अन्य व्यक्तिलाई सम्मानित अदालतबाट वारेण्ट जारी हुन पक्राउ परेको छविकान्त र सम्बन्धित मिसिल कागजात यसै प्रतिवेदन साथ प्रस्तुत गरिएको छ भन्ने संयुक्त प्रहरी प्रतिवेदन माग दावि ।
१२. वारदात मितिको बिहान ८।९ बजेको समयमा म गाउं घरमा नभै २ गते बिहान ६:१५ बजे स्कूलमा गै ११:३० बजे सम्म तलब बाँडी ११:४५ बजे हिडिँ गाउं नजीकको पुग्दा १५।१६ जना लठ्ठी लिई रहेको देखेँ जगरनाथ राउत समेतले पन्नालाललाई कुटेको विश्वास लाग्छ म उपरको जाहेरी व्यहोरा झुठ्ठा हो प्रहरीमा भएको बयान मैले गरि दिएको ठीक साँचो हो भन्ने समेत व्यहोराको छविकान्त दास थारुले अदालतमा गरेको बयान ।
१३. दावि अभियोग अनुसार म समेत भै मृतक पन्नालाललाई कूटपिट गरी मारेको होइन । ०४४।३।२ गतेको दिन म आफ्नो गाउं घर रमगढवामा छु मृतकलाई कस्ले मारेको हो मलाई थाहा छैन, छविकान्तले रिसबाट पोल गरेका हुन म निर्दोष हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्र. राजेश्वर दुवै ब्राम्हणको अदालतमा भएको बयान ।
१४. दावि अभियोग अनुसार म समेत भै मृतक पन्नालाललाई कुटपिट गरी मारे मराएको होइन, सो दिन रात जि. पर्सा चोर्नि वा.नं. ४ मा बस्ने वृक्षा महतो धानुक कहाँ छु जेष्ठ ३१ गते गई ऐ. आषाढ ६ गते आफ्नो गाउं घरमा आएको हुंदा पन्नालाललाई कस्ले मारेका हुन मलाई थाहा छैन रिसइवीले मलाई झुठ्ठा पोल गरेका हुन म निर्दोष हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्र. चतुरी महतोको अदालतमा भएको बयान ।
१५. अभियोग दावि अनुसार मैले मृतक पन्नालाललाई कुटपिट गरी मारेको होइन, म ०४४।३।२ गते दिन रात महादेवपट्टी वा.नं. ५ मा गणशे राउत कहां छु जेष्ठ ३० गते गै ऐ आषाढ १६ गते सम्म रहि १७ गते त्यहाँबाट फर्कि अफिसमा आएको छु चुनाव हार्ने छविकान्त र जित्ने रामचन्द्र साहका ग्रुप बीच कुटपिट हुंदा सम्म सुनेको हुं रिसइवीले झुठ्ठा पोल गरेको हुन अभियोगबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. रामआश्रे राम चमारको अदालतमा भएको बयान ।
१६. दावि अनुसार जाहेरवालाको छोरालाई मैले कुटपिट गरी मारेको होइन उक्त दिन म गाउं घरमा छैन बगहीमा छु बहिनी बिरामी भएकोले बहिनीलाई हेर्न गएको थिएं शंकर समेत ८।९ जनाले छोरालाई मारेको भनी मृतकको आमाले भन्दा सुनेको हुं, चुनावको रिसले झुठ्ठा पोल गरेका हुन सफाई पाउं भन्ने समेत व्यहोराको प्र. भरत महतो धानुकले अदालतमा गरेको बयान ।
१७. दावी अनुसार पन्नालाललाई कुटपिट गरी मैले मेरको हवइन २०४४।३।२ गते साविक घर औराहामा गई ऐ. आषाढ १ गते गै ५ गते हरपुर गाउंमा आएको हुं, कस्ले पन्नालाललाई मारे मलाई थाहा छैन, गाउं आउंदा देखारु राम समेतले मारेको भनी निजको आमाले भनी सुनेको हुं । मलाई झुठ्ठा पोल गरेकाले सफाई पाउं भन्ने समेत व्यहोराको प्र. बटोर राउत अहिरले अदालतमा गरेको बयान ।
१८. दावि अनुसार कुटपिट गरी पन्नालाललाई मारे मराएको होइन, २०४४।३।२ गतेका दिन बिहान म आफ्नो खेतमा छु । १२।१ बजे दिउंसो समयमा घरमा आउंदा हृदय नारायण समेतले मृतकलाई मारेका हुन भन्ने सुनेको हुँ चुनावको रिसइवीले झुठ्ठा पोल गरेका हुन् सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जोखु दास थारुले अदालतमा गरेको बयान ।
१९. दावि अनुसार मैले पन्नालाललाई मारे मराएको होइन । २०४४।३।२ गते भारत मोतिहारीमा छु म १ महिना अघि देखि नै अध्ययन गरी रहेको छु ऐ. आषाढ १० गते खर्च पुर्याउन गएको काकासंग चतुरी महतो समेतले मृतकलाई मारेका हुन भनेबाट थाहा पाएको हुं चुनावको इवीबाट झुठ्ठा पोल गरेका हुन सफाई पाउं भन्ने समेत व्यहोराको प्र. विन्दादास थारुले अदालतमा गरेको बयान ।
२०. अभियोग दावि अनुसार म समेत भई पन्नालाललाई कुटपिट गरी ज्यान मारे मराएको होइन । २०४४।३।२ गते गाउंघरमा नभई भारत मुर्गियाटोल ससुरालीमा छु जेष्ठमा गै १ महिना त्यहि बसि त्यसपछि आफ्नो घर आएको हुं राजेश्वर दुवे समेतले कुटपिट गरी मृतकलाई मारी दिएको हुन भनी गाउं घरमा सुनेको हुं पार्टी पोलिसीले झुठ्ठा उजुर गरेका हुन सफाई पाउं भन्ने समेत व्यहोराको प्र. श्यामलाल महरा चमारको अदालतमा गरेको बयान ।
२१. म समते भै अभियोग दावि अनुसार मृतक पन्नालाललाई कुटपिट गरी ज्यान मारे मराएको होइन । २०४४।३।२ गते बिहान ८ बजे नथुनी राम समेतले लठ्ठिबाट कुटपिट गरेको म आफ्नो द्वाराबाट हेरेको छु म डरले छुटाउन गइन, कुटपीट किन भएको हो म भन्न सक्दिन । चुनावको इविले मलाई झुठ्ठा पोल गरेका हुन सफाई पाउं भन्ने समेत व्यहोराको प्र. भुखल राम चमारले अदालतमा गरेको बयान ।
२२. मैले दावि अनुसार कुटपिट गरी ज्यान मारे मराएको होइन । उक्त दिन गाउं घरमा नभै जिगना गाउंमा गै ससुरालीमा बसी ०४४।३।३ गते फर्कि आएकोले मृतक पन्नालाललाई मृत्यु भएको र कुटपिट विषयमा म जान्दिन चुनावको इवीबाट मलाई झुठ्ठा पोल गरेका हुन भन्ने समेत व्यहोराको प्र. सुखल राम चमारले अदालतमा गरेको बयान ।
२३. अभियोग दावि अनुसार म समेत भई पन्नालाललाई कुटपिट गरी ज्यान मारे मराएको होइन । २०४४।३।२ गते बिहान ७ बजे देखि दिउंसो १२ बजे सम्म खेतमा हलो चलाई रहेको थिएं १२ बजे पछि घर आउंदा देखारु चमार समेत भै पन्नालाललाई मारेका हुन भन्ने सम्म सुनेको हुं चुनावको इवीले मलाई झुठ्ठा पोल गरेका हुन् सफाई पाउं भन्ने समेत व्यहोराको प्र. मंगल राउत अहिरले अदालतमा गरेको बयान ।
२४. अभियोग दावि अनुसार म समेत भई पन्नालाललाई कुटपिट गरी कर्तव्य गरि मारे मराएको होइन म उपरको अभियोग दावि झुठ्ठा हो म सो वारदातका दिन आफ्नो गाउं घरमा नभै विरगंज रानी घाटमा रामदेवरायको घरमा डेरामा छु, पार्टी पोलिसीको रिसले झुठ्ठा पोल गरेका हुनाले अभियोगबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. इन्दु दास थारुले अदालतमा गरेको बयान ।
२५. अभियोग दावि अनुसार म समेत भई मृतक पन्नालाललाई कुटपिट गरी मारे मराएको होइन म उपरको अभियोग दावि झुठ्ठा हो २०४४।३।२ गते औराहा गाउंमा बहिनी बसेकोले बिरामी भएको हुदा हेर्न भनी ऐ २।३० गते त्यहाँ गै ऐ. आषाढ ४ गते घर फर्केको हुं भरत महतो धानुक समेतले पन्नालाललाई मारेका हुन भनी सुनेको हुं मैले वचन दिएको र कुटपिट गरेको होइन पार्टि पोलिसीको आधारले झुठ्ठा पोल जाहेरी दिएका हुन सफाई पाउं भन्ने समेत व्यहोराको प्र. शंकर दास थारुले अदालतमा गरेको बयान ।
२६. अभियोग दावि अनुसार म समेत भई मृतक पन्नालाललाई कुटपिट गरी मारे मराएको होइन ०४४।३।२ गते दिन रात कल्याणपुरमा छु, सासु बिरामी परेकोले ऐ. जेष्ठ २९ गते गै ८ दिन बसी ९ दिन मात्र घर फर्कि आएको हुं राजेश्वर दुवे समेतले पन्नालाललाई मारेका हुन भन्ने सम्म सुनेको हुं चुनावको इविबाट म उपर झुठ्ठा उजुर गरेकाले म निर्दोष हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्र. नथुनी रामचमारले अदालतमा गरेको बयान ।
२७. मृतक पन्नालाललाई म समेत भई कर्तव्य गरी मारे मराएको होइन, म उपरको अभियोग दावि झुठ्ठा हो २०४४।३।२ गते रुपन्देही जिल्लामा पर्ने विर्ता गाउंमा जयनारायण चौधरी कहां छु त्यहाँ जेष्ठ २५ गते गै ऐ. आषाढ १० गते घर फर्कि आएं, राजेश्वर दुवे समेतले मारेकाले निज मरेको हो भन्ने सुनेको सम्म हुं । चुनावको इविले म उपर यस्तो पोल गरेको हुनाले सफाई पाउं भन्ने समेत व्यहोराको प्र. राजेन्द्र महतो थारुले अदालतमा गरेको बयान ।
२८. अभियोग दावि अनुसार मृतक पन्नालाललाई कर्तव्य गरी मारे मराएको होइन, म उपरको अभियोग दावि झुठ्ठा हो २०४४।३।२ गते मामा जयनारायण चौधरी कहां रुपन्देही बिर्ता गाउंमा छु । जेष्ठ २५ गते गै ऐ. आषाढ २५ गते घर फर्कि आएको हुं राजेश्वर समेतले पन्नालाललाई मारेको हुन भन्ने सुनेको हुं पार्टिको इविले म उपर झुठ्ठा पोल उजुर गरेको हुनाले सफाई पाउं भन्ने समेत व्यहोराको प्र. रामकिसुन दास थारुले अदालतमा गरेको बयान । र म समेत भै मृतकलाई मारे मराएको होइन, छैन । म उपरको दावि झुठ्ठा हो, वारदातका दिन पर्सा अपानीमा छु, १० दिन पछि आफ्नो घरमा फर्कि आउँदा राजेश्वर समेत मिली मारेका हुन भनी सुनेको हुं । मलाई रिसइवीले पोल उजुर गरेको हुनाले झुठ्ठा अभियोग दाविबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. जयगोविन्द महरा चमारले अदालतमा गरेको बयान ।
२९. म समेत भै मृतकलाई कर्तव्य गरी मारे मराएको होइन, २०४४।३।२ गते पर्सा केहुनिमा थिए, त्यहां जेष्ठ महिना २।४ दिन बाँकी हुदा नै गएको र ८।१० दिन बसी घर फर्कि आएको, सुखल चमार समेतले निज पन्नालाललाई मारेको हुन भन्ने कुरा सुनेको सम्म हुं , रिसइवीले झुठ्ठा पोल गरेको हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्र. खेदारु राम चमारले अदालतमा गरेको बयान ।
३०. ०४४।३।२ गते म गाउं घरमा नभै सिसै बहुअरीमा छु, त्यहां ०४४।३।१ गते गै ऐ. ५ गते हरपुरमा आएको हुं, दावि अनुसार मृतक पन्नालाललाई मारे मराएको होइन, म उपरको अभियोग दावि झुठ्ठा हो, शंकरदास समेतले मारेका हुन भन्न् मृतकको आमाले भनेबाट थाहा पाएको हुं, मलाई झुठ्ठा पोल गरेको हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको वागर राउत अहिरले अदालतमा गरेको बयान ।
३१. अभियोग दावि अनुसार म समेत भई पन्नालाललाई कुटपिट गरी मारे मराएको होइन म उपरको अभियोग दावि झुठ्ठा हो २०४४।३।२ गते आफ्नो गाउं घरमा नभई ससुराली पोखरियामा छु, ऐ. आषाढ १ गते गै ऐ. ६ गते मात्र घर फर्कि आउंदा छविकान्त समेतले मारि दिए भन्ने कुरा सुनि थाहा पाएं, म उपरको झुठ्ठा पोल गरेको हुनाले सफाई पाउं भन्ने समेत व्यहोराको प्र. रामपूत राम चमारले अदालतमा गरेको बयान ।
३२. वारदात भनिएको मिति ०४४।३।२ गते म गाउं घरमा नभै ऐ. १ गते नै ससुराली जगरनाथपुरमा छु । त्यहाँबाट ५ गते फर्कि आएपछि मृतक पन्नालाललाई राम किसुन दास समेतले मिली मारि दिए भनी जाहेरवालाले भनेका हुंदा सुनेका सम्म हुं, छविकान्त समेतले मलाई झुठ्ठा पोल गरेकाले सफाई पाउं भन्ने समेत व्यहोराको प्र. लक्ष्मी साह तेलीले अदालतमा गरेको बयान ।
३३. प्रतिवादी विन्दादास थारु प्र. राधा साह तेली, नारायण राम चमार समेत जना ३ को नाउंको जारी भएको ७० दिने म्याद ०४४।५।२२ मा र ०५५।८।४ मा वेपत्ते तामेल भै आएको ।
३४. जाहेरवाली रामसवारीय देवी चमैनको वकपत्र मिसिल सामेल रहेको ।
३५. प्रहरी प्रतिवेदनमा वतन खोली दावि लिएका र पछि खुल्न आएका बखतका आधारमा जारी भएको म्याद समेत बेपत्ते तामेल भएका अभियुक्त विन्दादास राधा साह नारायण चमार समेतको एकिन वतन वादि पक्षबाट खुल्न आएको नदेखिंदा निजहरुका हकमा दायर भएको प्रहरी प्रतिवेदन खारेज हुन्छ ।
३६. प्र. मध्ये बटोरु राउत, राम आश्रेराम चमार, मंगल राउत, विन्दादास थारु, सुखल महरा चमार, वागट राउत, अहिर,भरत महतो धानुक, प्र. रामपृत राम चमार, प्र. जोखुदास थारु, प्र. श्यामलाल महरा चमार प्र. लक्ष्मी साह तेली, प्र. चतुरी महतो, प्र. राजेश्वरी दुवे, प्र. भुलल महरा चमार, प्र. जय गोविन्द महाराचमारले अभियोग दाविबाट सफाई पाउने ठहर्छ र प्र. छविकान्त दास थारु, प्र. शंकरदास थारु, विश्वमोहन दास थारु, प्र. इन्दुदास, राम किसुन दास, राजेन्द्र महतो, देखारु राम, नथुनी महरा समेतका अभियुक्तहरुलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम कैद वर्ष १० को दरले जनही कैद हुने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति ०४६।५।२।६ को फैसला ।
३७. केहि अभियुक्तहरुलाई मात्र १० वर्ष कैद हुने ठहर्याई गरिएको शुरु अदालतको इन्साफ कानून विपरित त्रुटिपूर्ण हुंदा सो फैसला बदर गरी प्रहरी प्रतिवेदन मागदावि बमोजिम नै सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादि श्री ५ को सरकारको तर्फबाट तत्कालिन नारायणी अन्चल अदालतमा परेको पुनरावेदन पत्र ।
३८. मृतकलाई मार्ने हाम्रो कुनै रिसइवी नभएको र हामी इन्कार रहेको हामीले अपराध गरेको भन्ने तथ्य सबूद प्रमाण वादि पक्षले गुजार्न नसकेको हाम्रो साक्षिले हामीलाई सफाई दिई वकपत्र गरको समेत आधार प्रमाणबाट हामीलाई सफाई दिनु पर्ने स्थिति विद्यमान छंदाछंदै प्रमाण ऐन, २०३१ को दफा २५ विपरित सबूद प्रमाणको समेत उचित मूल्यांकन नै नगरी गरिएको शुरुको फैसला बदर गरी सफाई पाउं भन्ने समेत व्यहोराको छविकान्त दास थारुले समेत ८ को तत्कालिन नारायणी अन्चल अदालतमा परेको पुनरावेदन पत्र ।
३९. शुरुको फैसला विचारणीय हुंदा दुवै पुनरावेदकको विपक्षीहरुलाई अ.बं. २०२ नं. बमोजिम झिकाई घाइते र घा खत प्रमाण बुझि नियमानुसार पेश गर्नु भन्ने तत्कालिन ना.अं.अ. को ०४७।८।४ को आदेश ।
४०. मृतकलाई शंकर दास थारुले टाउकोमा प्रहार गरेको र यसै कारणबाट मृतकको मृत्यु भएको कुरा शव परीक्षण प्रतिवेदनबाट समेत पुष्टि हुन आएको देखिंदा सबै प्रतिवादीहरुलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन पर्ने भन्ने तर्फ सहमत हुन सकिएन । शुरुले ज्यान सम्बन्धीको १४ नं. बमोजिम जाहेरीमा उल्लेख भै प्रहरी प्रतिवेदनमा ठेगाना ठहर नगरेका बाहेकका अन्य प्रतिवादी ८ जनालाई जनही १० वर्ष कैद गरी गरेको सजायमा विचार गर्दा प्रतिवादी मध्येका शंकरदास थारु बाहेकका अन्य प्रतिवादीहरुले निज मृतकलाई मारेको हो भनी निश्चित रुपमा भन्न सकिने प्रमाणहरुको अभावमा प्रतिवादी शंकरदास बाहेक अरुलाई सजाय गर्ने गरी भएको शुरु इन्साफ नमिलेको हुंदा प्रतिवादीहरु विश्वमोहन दास थारु, इन्दुदास थारु, छविकान्त दास थारु, राम किसुन दास थारु, राजेन्द्र महतो थारु, खेदार राय चमार, नथुनी राम चमारले आरोपित कसूरबाट सफाई पाउने ठहरी सो हदसम्म शुरु इन्साफ उल्टी हुने र प्रतिवादीहरु मध्येका शंकरदास थारुले ज्यान सम्बन्धीको १४ नं को कसूर गरेको ठहरी १० वर्ष कैद हुने ठहराएको शुरु फैसला मनासिवै देखिंदा निजको पुनरावेदन जिकिर पुग्न सक्दैन र वादि श्री ५ को सरकारको पुनरावेदन जिकिर समेत पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०५१।१।२५।१ मा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।
४१. मृतक पन्नालालको मृत्यु विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरुको कुटाईबाट भएको स्पष्ट भएबाट वादि दावी बमोजिम प्रतिवादीहरुलाई सजाय हुनु पर्दछ भनी श्री ५ को सरकारको तर्फबाट प्रस्तुत भएको पुनरावेदन जिकिर पुग्न नसक्ने भनी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला त्रुटीपूर्ण हुंदा प्रतिवादी विन्दादास, राधा साह, नारायण राम चमारको हकमा शुरु अभियोग दावी खारेजको फैसला सदर गरेको उल्टी गरी निजहरुको हकमा मुलतवी राखि पाउन र अन्य प्रतिवादीहरुको हकमा शुरु अभियोग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
४२. यसमा जाहेरवालीको किटानी जाहेरी व्यहोरा तथा वकपत्र,बुझिएका सर्जमिनका अधिकांश वारदात स्थलमा उपस्थित भै देख्ने जयपति चमार, नन्दुसाह शंकरराम, शिउ गोविन्द, रामदेवमहरा, सोनालाल यादवको बकपत्र तथा वारदातको प्रत्यक्षदर्शि जसको घर समेत तोडफोड भएको छ, निज जिउत राम समेतका बकपत्रबाट प्रतिवादीहरु शंकरदास थारु, विश्वमोहन थारु, इन्दुदास थारु रामकिसुनदास थारु, छविकान्तदास थारु, राजेन्द्रमहतो थारु देखारु राम चमार र नथुनिराम चमार समेतको कुटपिट प्रहारबाट मृतक पन्नालालको मृत्यु भएको देखिन आएको । चुनावको रिसइवीबाट कुटपिट भएको र कुटपिटकै चोटबाट मृतकको मृत्यु भएको अवस्थामा तत्काल उठेको रिसको आवेश थाम्न नसकि कुटपिट भै मृतकको मृत्यु भएको भन्ने देखिएन । तसर्थ ज्यान सम्बन्धी महलको १४ नं. को कसूर ठहर्याई शंकरदासलाई मात्र ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ फरक पर्ने देखिंदा उल्लेखित प्रतिवादीहरुलाई अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०४९ बमोजिम छलफलको लागि झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने ०५३।१२।२६।३ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
४३. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता । नन्दबहादुर सुवेदीले मृतक पन्नालालको आमा जाहेरवाली राम सवरियादेवीले ९ जनाले मारेका हुन भनी किटानी जाहेरी दिएकी र सो कुरालाई जिल्ला अदालतमा वकपत्र गर्दा समर्थन गरेकी छन् जीउतराम समेतका व्यक्तिले वकपत्र गर्दा पनि सोही जाहेरीलाई समर्थन गरी वकपत्र गरेका छन् । मृतकको स्पष्ट रुपमा टाउकोमा चोट लागेको र सोहि कारणबाट मृत्यु भएको देखिएको छ, चुनावको रिस इवीको कारणले झगडा भएको र चुनावको रिसइवि साध्न विपक्षीहरु एक हुल भई मृतकको घरमा आक्रमण गर्न आएकोले तत्काल उठेको रिस थाम्न नसकी केहि गर्दा मृत्यु भएको भन्न मिल्दैन । त्यसैले पुनरावेदन अदालतबाट ज्यान सम्बन्धीको १४ नं. को त्रुटी गरी फैसला भएको छ । अतः धेरै जनाको आक्रमणबाट मृतक पन्नालालको मृत्यु भएको देखिंदा ज्यान सम्बन्धीको १३(३) नं. अनुसार प्रतिवादीहरुलाई सजाय हुनुपर्छ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नु भयो । विपक्षी छविकान्त दास समेत ३ जनाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराईले एक पक्षको मामिलाले मानिस मरेका कारण अर्को पक्षलाई फसाउने नियत लिएको देखिन्छ । निर्वाचन ०४३ सालको जेष्ठमा भएको छ, झगडा ०४४ सालको असारमा भएबाट निर्वाचनको कारण भन्नु पनि सरासर गलत छ । चुनावमा हारजित हुने पक्ष यहा देखिदैननन् । मेरो पक्ष छविकान्तले मृतकलाई उपचार गराउन ट्याक्टरमा राखि लिएर गएको छ, मार्न खोजिएको व्यक्तिलाई औषधोपचार गराउन कसैले लैजादैन । छविकान्त समेतको मेरो पक्षले यस ठाउंमा मृतकलाई हानी मृत्यु भएको भन्ने जाहेरीमा उल्लेख छैन । जाहेरीमा शैकरदासले वचन दिएको भनेकोमा अदालतमा वकपत्र गर्दा कसैले वचन दिएन भनेको छ भने वकपत्रको स.ज. ३७ मा मृतक र प्रतिवादी बीच कुने रिसइवि छैन भनेको छ । मेरो पक्ष ३ जनालाई फलाने यस्तो हतियारले यहांनिर हाने भन्ने कहि कतै खुल्दैन । यो जबसम्म खुल्दैन, तवसम्म शंकाको सुविधा मेरो पक्षले पाउंछ, छविकान्त प्रहरी र अदालतमा इन्कार छन् यसैले यि प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भयो ।
४४. दुवैपक्षका विद्वान अधिवक्ताहरुको बहस जिकिर समेत सुनी मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? निर्णय दिनु पर्ने हुन आयो ।
४५. यसमा प्रतिवादीहरु मध्ये शंकरदास मुख्य भई वचन दिने शंकरदास समेतका सबै प्रतिवादीहरु मिली कुटपिट गरी मृतक पन्नालालको मृत्यु भएकोले सबै प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुन माग दावि गरिएको प्रतिवेदन रहेछ । म्याद बेपत्ते तामेल भएका अभियुक्त विन्दादास, राधा शाह नारायण चमारको वादी पक्षबाट एकिन वतन खुल्न नआएकोले निजहरुको हकमा दायर रहेको प्रहरी प्रतिवेदन खारेज हुने । प्र. छविकान्त, शंकरदास थारु, प्र. विश्वमोहन दास थारु, प्र. इन्दुदास, प्र. राम किसुन दास, प्र. राजेन्द्र महतो, प्र. देखारु राम, प्र. नथुनी समेतका अभियुक्तहरुलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम जनही १० वर्ष कैद हुने र अन्य प्रतिवादीहरुले अभियोग दाविबाट सफाई पाउने ठहर्याई शुरु पर्सा जिल्ला अदालतबाट फैसला भएको र अन्य प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने भई सो हदसम्म उल्टी हुने र प्र. मध्येका शंकरदास थारुले ज्यान सम्बन्धीको १४ न् को कसूर गरेको ठहरी १० वर्ष कैद गर्ने गरेको शुरुको फैसला मनासिव ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्ने आएको रहेछ ।
४६. यसमा लास प्रकृति मुचुल्कामा मृतक पन्नालालको नाकबाट र्याल सिंगान आएको मुखबाट रगत मिश्रित र्याल निस्केको बायाँ हातको नारी देखि माथि हत्केला देखि कुइनो सम्म रगत लागी सुकेको दायापट्टि पिठ्युंमा केही सुन्निएको, गाला सुन्निएको टाउको केहि सुनिएको भन्ने देखिन्छ । लाश जांच रिपोर्ट हेर्दा The Death Seems to be due to head injury भनी उल्लेख छ भने जाहेरवालाले प्रतिवादीहरको लाठाको प्रहारबाट मृतकको मृत्यु भएको भनी उल्लेख गरेको प्रतिवादीहरु छविकान्त दास, शंकरदास समेतले अदालतमा आई बयान गर्दा आफूहरु कसूरमा इन्कार रहेपनि निजको मृत्यु कुटपिटको कारणबाट भएको हो भनी बयान गरेबाट समेत मृतक पन्नालालको मृत्यु कर्तव्यबाट भएको देखिन आयो ।
४७. अब को कसको कर्तव्यबाट मृतक पन्नालालको मृत्यु भएको रहेछ भन्ने सम्बन्धमा विचार गर्दा रामचन्द्र पक्षका मानिसलाई कुट्ने भन्दै जान लागेका र बाटोमा पर्ने जिउतरामको घर भत्काउन लागेको स्वर सुनि हेर्न जांदा म र मेरो छोरा (मृतक) पन्नालाललाई देख्ने बित्तिकै शंकरदास थारुले पुरानो दुश्मन यही हो मारौं भन्ने वचन दिई आफू समेत आई हातमा लिएको बांसको लाठीले निजको जीउमा हानेपछि अन्य प्रतिवादीले पनि हाने भन्ने समेत व्यहोराको जाहेरी दरखास्त देखिन्छ भने सो कुरालाई अदालतमा आई वकपत्र गर्दा पनि पुष्टि गरेको पाइन्छ । शंकरदास थारुले पहिले लाठीले २ पटक हिर्काएपछि अरुले हानेका हुन भन्ने वारदात स्थल संगै घर भएका विश्वनाथ प्र. नेपालीको भनाई देखिन्छ भने प्र. शंकरदास थारुले पहिले लाठीले टाउकोमा हिर्काए त्यसपछि अरुले हानेको हुनु भनी खपडाको घर भत्काइएको भनिएका चश्मदिद व्यक्ति जिउतराम चमारले कागज गरेका र सो कुरालाई अदालतमा आई वकपत्र गर्दा समेत समर्थन गरेको पाइन्छ । प्रतिवादी शंकरदास थारुले अदालतमा आई बयान गर्दा आफू वारदात हुंदा घटनास्थलमा नरहेको भनी बयान गरेता पनि निजको बयानलाई समर्थीत हुने अन्य विश्वासप्रद प्रमाण गुजार्न सकेको पाइदैन । इन्कारी जबसम्म शंकारहित प्रमाणबाट पुष्टि हुँदैन तबसम्म सो इन्कारीले मात्रै विश्वासिलो प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन भने अर्कोतर्फ शंकरदास थारुले लाठीले मृतक पन्नालाललाई हिर्काएको भनी जाहेरवालीले किटानीसाथ लेखि दिएकी, वारदातका चश्मदिद व्यक्ति जिउतरामले मृतकलाई प्रतिवादी शंकरदासले टाउकोमा हिर्काएको भनी किटानीसाथ लेखाइ दिएको र लाश जाँच रिपोर्टमा Head injury को कारणबाट मृत्यु भएको देखिने भनि उल्लेख भएबाट जाहेरवालीको भनाई र जीउतराम समेतका व्यक्तिको भनाईलाई उक्त लाश जाँच रिपोर्ट र लाश प्रकृति मुचुल्काबाट समर्थित हुन आउँछ । यस्तो स्थितिमा प्रतिवादी शंकरदास थारुले केबल अदालतमा गरेको इन्कारी बयानलाई आधार लिई निजले कसूर गरेको होइन भन्न मिल्ने अवस्था देखिएन । अतः प्रतिवादी शंकरदास थारुले टाउको जस्तो संवेदनशील अंगमा हिर्काएको कारणबाट पन्नालालको मृत्यु हुन गएको देखिन आयो । मृतक पन्नालालाई मार्ने नियतले खोज्दै गएको नभई एक्कासी मृतकलाई देखि उसैबेला उठेको रिस थाम्न नसकि साधारण लाठाले मृतकलाई कुटपिट गरेको कारणबाट निजको मृत्यु भएको देखिन आएकोले निज प्र. शंकरदास थारुलाई ज्यान समब्न्धी १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको र प्रतिवादी मध्येका बटोर राउत , राम आश्रेराम चमार, मंगल राउत, विन्दादास थारु, सुखला महरा चमार, वागड राउत अहिर, भरत महतो धानुक, रामपृत राम चमार, जोखुन दास थारु, श्यामलाल महरा चमार, लक्ष्मी शाह तेली, चतुरी महतो, राजेश्वर दुवे, भुखल महरा चमार, जय गोविन्द महरा चमारले तथ्य सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट सफाई पाउने गरेको समेत शुरुको सदर गरको पुनरावेदन अदालतको इन्साफ मुनासिवै देखियो । शंकर दास थारु बाहेकका अन्य प्रतिवादीहरु विश्वमोहन थारु, इन्दुदास थारु, छविकान्त दास थारु, राम किसुनराम चमार राजेन्द्र महतो थारु, खेदारु राम चमार, नथुनी राम चमारले यो यसले मृतकलाई यो यस्तो ठाउंमा प्रहार गरी सोहि कारणबाट मृत्यु भएको भन्न सकिने आधार प्रमाण मिसिल संलग्न कागजातबाट देखिन नआएकोले निज प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी ठहर्याएको हदसम्म शुरुले इन्साफ उल्टी गरी निजहरुले समेत दावीको अभियोगबाट सफाई पाउने ठहर्याएको समेत पुनरावेदन अदालत हेटौंडाको मिति ०५१।१।२५ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत् २०५५ साल मार्ग २८ गर्त रोज २ शुभम्.................................... ।