निर्णय नं. ६६७६ - जवरजस्ती करणी

निर्णय नं. ६६७६ ने.का.प. २०५६ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
संम्वत २०५३ सालको फौ.पु.नं.. १५०६,१५३२
फैसला मितिः २०५५।२।४।२
मुद्दाः जवरजस्ती करणी
पुनरावेदक/वादीः अनुराधा मुखियाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी /प्रतिवादीः इलाम जिल्ला, इलाम न.पा. वडा नं. ९ बस्ने कुमार वहादुर अधिकारी समेत ।
पुनरावेदक/प्रतिवादीः इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ९ घर भई कारगार शाखा इलाममा थुनामा रहेको कुमार वहादुर अधिकारी
विरुद्ध
विपक्षी/वादीः अनुराधा मुखियाको जाहेरीले श्री ५ को सरकार
§ पिडित अनुराधाको चिकित्सकद्वारा गरिएको जाँच र निजको किटानी जाहेरीको साथै अदालतमा वकपत्र गर्दा कसूर गरेको प्रष्ट हुँदाहुँदै अन्यथा गरेको पुनरावेदन अदालतको निर्णय प्रत्यक्ष प्रमाणको प्रतिकुल भएको देखिन्छ । तसर्थ शुरु इलाम जिल्ला अदालतले प्र. कुमार वहादुर अधिकारीलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको ३ नं. बमोजिमको ४ वर्ष कैद र ऐ.को १० नं. बमोजिम निजको आधा अंश पिडित पक्ष अनुराधालाई दिलाई दिएको सदर गर्नु पर्नेमा जवरजस्ती करणीको उद्योग गरेको मात्र ठहराएको पुनरावेदन अदालत इलामको निर्णय मिलेको नदेखिँदा केही उल्टी हुने ।
(प्र. नं. २१)
§ अर्का प्रतिवादी गोविन्द थापा वादी दावी बमोजिम घटना स्थलमा मौजुद रही जाहेरवालीलाई प्र.कुमार वहादुरले जवरजस्ती करणी गर्दाको अवस्थामा वचाउनको लागि केही नगरी चुप लागि हेरी रहेको कार्यले प्र.कुमार वहादुरलाई मद्दत गरेका भनि जवरजस्ती करणीका ४ नं. बमोजिमको सजायको मागदावी लिएको देखिएतापनि निज गोविन्द थापाले प्र. कुमारबहादुरलाई सकृयतापूर्वक अपराधिक कार्यमा सहयोग पुर्याएको देखिदैन । घटनास्थलमा चुप लागि हेरी रहेको अवस्थामा अपराधीक कार्यको सहयोग पुर्याएको संज्ञा दिन मिल्दैन र जवरजस्ती करणीको ४ को नं. को परिधी भित्र पर्ने समेत नदेखिँदा पुनरावेदन अदालत इलामले प्र. गोविन्द थापालाई सफाई दिन ठहर्याएको हदसम्म इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. २१)
पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाटः विद्वान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ
विपक्षी तर्फवाटः X
अवलम्वित नजीरःX
फैसला
न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत इलामको मिति २०५२।९।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एबं ठहर यस प्रकार छः
२. मिति ०५१।३।८ गतेको दिन सम्झना अधिकारी, गोविन्द थापा र म समेत इलाम बजारमा ओम शान्तीको प्रवचन सुन्न आई फर्कि जाँदा प्रेम कुमार प्रधानको होटलमा गई जाँड र भटमास खाजा खादै गर्दा कुमार वहादुर अधिकारीले संझनालाई तैले विक्रि गर्न लान लागेको होस तं रण्डी होस भनि भनेका वेलुका ८:३० बजे हामी तिनै जना विजुली अफिस नजिक बाटोमा पुगेपछि कुमार वहादुरले बाटो छेकी तलाई पक्राउ गरी प्रहरी कार्यलय लान्छु भनि डर धाक देखाई लछार पछार पारी जवरजस्ती करणी गरे । संझनाले मलाई ज.क. गरेको देखि छुटाउन लाग्दा निजलाई कुटपिट गरे केहि पर बाटोमा आई पुगेपछि कुमार वहादुरले पूनः मलाई जवरजस्ती करणी गरी रहेको अवस्थामा सुष्मा, पार्वती आई सुष्माले मलाई छुटाई दिइन । मलाई जवरजस्ती करणी गर्दा गोविन्द थापासँग सहयोग माग्दा निजले सहयोगनदिई हेरी रहे । मैले दुई पटक भाउजु भाउजु भनि चिच्यांए । गोविन्द थापा र कुमार वहादुरले जवरजस्ती करणीको महल बमोजिम अपराध गरेकोले कारवाही गरी सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. घटना स्थलमा एक दुई वटा वुट्टावुट्टि माडिएको देखिएको सो झारको टुप्पाहरु समेत चुंडिएको देखिएको भन्ने समेत घटनास्थलको प्रकृति मुचुल्का ।
४. अनुराधा मुखियालाई जाँच परिक्षण गर्दा करणी गरेको कीटान गर्न सकिदैन भन्ने स्वास्थ्य् कार्यलय इलामको पत्र।
५. २०५१।३।८ गते वेलुकी प्रेम कुमारको होटेलमा जाँड र भटमास खाएको हुं । भित्रवाट अनुराधा, गोविन्द थापा, सम्झना जांड खाई वाहिर निस्केको देखि छिटो घर जा भनि गोविन्दलाई हप्काइ अनुराधासंग सोधपुछ गर्दा कहिले भारत ग्यान्टोक घर बताएकिले साथमा संम्झना अधिकारी भएकोले अवैध कारोवार गर्ने मानिस हुन् कि भनि शंका गरी प्रहरीलाई फोन गरु भनेर भन्दा निजहरु भागेको र संझनालाई सोध्दा म आफै आएकी हुँ भनेकीले निजहरु मुल बाटो हिडे म सिधा बाटो गई छेकी केही छिनमा सुष्मा, पार्वती आई पुगेका हुन् । जाहेरीमा लेखिएको अन्य कुराहरु ठिकै हो अनुराधालाई करणी गरेको भन्ने कुरा झुठा हो । गोविन्द थापाले किन त्यस प्रकार भनि लेखिएको थाहा छैन भन्ने समेत प्र.कुमारवहादुर अधिकारीले जि.प्र.का. मा गरेको कागज ।
६. २०५१।३।८ गतेका दिन संझना अधिकारी अुनराधा मुखिया र म समेतको प्रवचन सुनी घर तर्फ फर्किदा प्रेम कुमारको होटेलमा जांड र भटमास खायौं । कुमार वहादुरपनि कहाँबाट आई जाड मागी खान थाले । हामी निक्की जान लाग्दा तिमीहरु को हौ भनी जाऔं भनि हप्काए र विजुली अफिस छेउ पुग्दा कुमारले अनुराधालाई समाती लछार पछार गर्न थाले त्यसपछि करणी गर्न थाले । अनुराधाले बचाउ भनि भाउजु भाउजु भनि तिन चोटी कराई संझनाले कुमार दाई आन्टीलाई के गरेको भनि छुटाउन जाँदा कुमारले संझनालाई कुटे । संझना रुदै घरतर्फ गइन । सो ठाउँबाट उठी तल झारे र तल लडाई जवरजस्ती करणी गरे । अनुराधाले करणी गर्न नदिई मलाई सअयोग गर भनिन् । मैले सहयोग दिइन । सो ठाउँबाट निक्की बाटो मै जवरजस्ती करणी गरी राखेका थिए । सुष्मा, पार्वती आई हेरी राखीन् । सुष्माले कुमार दाई के गरेको भनी छुटाउन लाग्दा कुमारले करणी गर्न छाडी सुष्मालाई हातमा समाती त बढ्ता नहो भनी ताने । सुष्माले हात झड्काल्दा तल तल डिल मुनी झरी कुदिन । कुमार सुष्मालाई लखेटदै गए । सो अवस्था अनुराधा उठी भागिन् भन्ने समेत व्यहोरा गोविन्द थापाको बयान कागज ।
७. अभियुक्त मध्येका कुमार अधिकारीको हकमा निजले जवरजस्ती करणी १ नं. विपरित कार्य गरेकाले निजलाई सोह ज.क. को महलको ३ नं. मा उल्लेखित संजाय गरी ऐ. महल को १० नं. बमोजिम पिडित व्यक्तिलाई आधा अंश दिलाई पाउन तथा अभियुक्त गोविन्द थापाको हकमा निजले जवरजस्ती करणीको महलको ४ नं. बमोजिम जवरजस्ती करणी गरेको थाहा पाई हेरी रहेकोले पिडित व्यक्तिलाई मद्दत नलिई ज.क. जस्तो जधन्य अपराध वारदात हुन मद्दत गरेको स्पष्ट देखिएकोले सोही ४ नं. मा उल्लेखित सजाय गरी पाउँ भनने समेत अभियोग पत्र ।
८. २०५१।३।८ गते वेलुका ७ बजेको समयमा म अनुराधा मुखिया, संझना अधिकारी समेत प्रवचन सुनी घर फर्किदा कुमार प्रधानको होटेलमा आई अनुराधाले भटमास जाड खाई रहेको अवस्था कुमार वहादुर त्यसै होटलमा आई तिमीहरु जाऔँ भनी हामीलाई भने पछि हामीहरु हिडंयौ । १०,१५ मिनेटको वातमा फेरी हामी त्यसै होटेलमा आई तपाई कहाँको अफिसर हो । हामीलाई जाऔँ भन्ने अनि अनुराधाले सोधपछि कुमार वहादुर र अनुराधाको वाद विवाद हुँदा कुमारले सानो केटी लिएर रात विचमा कहाँ हिडेको । तैले वम्वै विक्रि गर्न लान आटिस कि क्या हो भन्दा अनुराधा भागीन् म पनि पख्नुहोस् भन्दै गएं विजुली अफिस छेउमा पुग्दा कुमारले बाटो छेकी पुलिस अफिस हिड भन्दा मेरो संरक्षक छ । मलाई नछुन होस् भन्दा संझना घर गई एकछिन पछि सुष्मा अधिकारी, पार्वती कटुवाल आएपछि अनुराधा उठेर भागीन् कुमार वहादुरले अनुराधालाई जवरजस्ती करणी गरेको होइन । प्रहरीले मलाई कुटपिट गरेकोले मैले नभएको कुरा प्रहरीमा लेखाई दिएको हु भन्ने समेत प्र. गोविन्द थापाले अदालत समक्ष गरेको बयान ।
९. घटनास्थलमा म थिइन । मेरो आँखाले पनि देखिन । गोविन्द थापा र २ जना केटी आई जाड भटमास खादै गरेको अवस्था ७।३० वजेतिर कुमार अधिकारी आई वाहिर टेवुलमा वसि जाड मागी खादै थिए । गोविन्द थापाहरु पनि वाहिर निस्की कुमार वसेको ठाउँमा वसि फेरी जांड मागी खादै परिचय गर्न थाले त्यसपछि केटीहरु र गोविन्द गएपछि त्यसको ४ पाइला पछाडी म पनि जान्छु भनि कुमार दाई पनि जानु भयो । जि.प्र.का. मा गरेको कागज पढी नसुनाउँदा मैले भने बमोजिम लेखिएको समेत होइन भन्ने समेत अदालतबाट बुझिएका जि.प्र.का. मा कागज गर्ने चन्द्रकला प्रधानले गरेको वकपत्र । घटनास्थलमा अनुराधा कराई रहेकी थिइन । कुमारले करणी गर्दै थिए भन्ने समेत शुष्माको वकपत्र ।
१०. ओम शान्तिबाट घर फर्किदा अनुराधा गोविन्द थापा म मात्र थियौं । विजुली अफिस छेउमा पुग्दा कुमार अधिकारीले अनुराधा माथि घोडा चढ्दै कुर्था सुरुवाल च्यातिएको थिए । प्र. गोविन्द थापा नजिकै उभिरहेको थिए । मेरो अन्टीलाई नचला भन्दा कुमारले मलाई २ झापड हिर्कायो म कुद्दै घरमा गै आमालाई पार्वती र सुष्मा दिदीलाई र भोगेन्द्र समेतलाई सुनाएको हुँ भन्ने समेत अदालतबाट वुझिएकी जि.प्र.का. मा कागज गर्ने संझना अधिकारीले गरेको वकपत्र ।
११ . संझना अधिकारी, गोविन्द थापा र म समेत घर फर्किदै गर्दा दोकानमा बसि जांड र रक्सी खाई सकेपछि हामी ३ नै जना घर जानु विजुली अफिसको उत्तरपट्टि पुग्नु अघि अपरिचित मान्छेले म माथि करणी गर्न लागे । मैले कराए । संझना अधिकारीले रुदै छाड्नुहोस् भन्दा २ झापड दियो । गोविन्द हेरी रह्यो । संझना रुदै घर तर्फ लागे त्यसपछि उसको दीदि पार्वती र सुष्मा अधिकारी समेत आई त्यसवेला मलाई अपरिचित मान्छेले मलाई सडकमा ल्याई फेरी करणी गर्न थाल्यो । सुष्मा आई पुग्दा म उम्केर भागे मेरो कुर्था सुरुवालको इजार चुडी फाटेको मेरो ज्यूमा त्यसको विर्य लागेको थियो । जि.प्र.का. मा मैले दिएको जाहेरीमा उल्लेखित व्यहोरा र सहिछाप मेरै नै हो भन्ने समेत व्यहोराको जाहेरवाला अनुराधा मुखियाले अदालतमा गरेको वकपत्र ।
१२. पिडितको जाहेरी तथा वकपत्र र प्रत्यर्थीको कागज तथा वकपत्र घटनास्थल प्रकृति मुचुल्का समेतको तत्थ्ययुक्त प्रमाणबाट प्र. कुमार अधिकारीले अभियोग माग दावी बमोजिम कसूर गरेको प्रमाणीत हुँदा निजलाई ४ वर्ष कैद हुने र जवरजस्ती करणीको १० नं. बमोजिम निज कुमार अधिकारीको आधा अंश सर्वश्व गरी जाहेरवाली अनुराधा मुखियालाई दिलाई दिने समेत ठहर्छ । प्र. गोविन्द थापाको हकमा निजको अधिकार प्राप्त अधिकारी समक्षको बयानमा प्र.कुमारले करणी गरिरहेको वेला म केही नवोली हेरी वसको भनि बयान गरेको र प्रत्यक्षदर्शी पार्वती कटुवाल र संझना अधिकारीको वकपत्र समेतबाट वारदाता प्र. गोविन्द थापा रहे भएको र निजले पिडितलाई मद्दत गरी ज.क. को वारदात हुन मद्दत गरेको पुष्टि हुन आएकोले निजलाई अभियोग माग दावी अनुसार जवरजस्ती करणीको ४ नं. बमोजिम ७ महिना कैद हुने ठहर्छ भन्ने ०५२।१।२० को इलाम जिल्ला अदालतको फैसला ।
१३. जाहेरवालीले जाहेरी साथ पेश गरेको दशी सवुद कुर्ता सुरुवाल भित्री ग्याटको कपडा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट परिक्षण हुँदा विर्य देख्न पत्ता लाग्न सकेन भनि प्रतिवेदन आएको छ । त्यस प्रतिवेदनले जाहेरवालीलाई करणी नभएको भन्ने निर्विवाद प्रष्ट छ । जाहेरीमा र जाहेरवालीको अदालतको वकपत्रमा प्रतिवादीले करणी गर्दा आफ्नो शरीरमा लुगामा वीर्य लागेको भनि दावि लिएकी छन् । सोही अनुसार ०५१।३।९ मा जाहेरवालीको शरीर इलाम अस्पतालबाट परिक्षण गरिएको परिक्षण प्रतिवेदनमा जनेन्द्रीय क्षेत्रमा कुनै घाउ चोट नभएको सुक्रकिट पनि नभएको करणी गरे नगरेको केही भन्न नसकिने भनी लेखिएकोबाट जाहेरवालीले निराधार झुठा पैरवीको आरोप लगाएको रहेछ भन्ने पुष्टि हुन्छ । त्यस्तो झुठा उजूरीलाई मलाई कसुरदार ठहराएको शुरु त्रुटीपूर्ण फैसला वदर गरी अभियोग दावीबाट फुर्सद दिलाई पाउं भन्ने प्र. कुमार अधिकारीको पुनरावेदन ।
१४. म पुनरावेदक प्र. कुमार अधिकारीको साथ लागी गएको पनि होइन । जाहेरीवालीलाई कुनै छेक्ने समाउने कार्य पनि गरेको छैन । सो कुरा जाहेरवाली तथा वादी तर्फको कुनै साक्षी सरजमीन समेतले व्यक्त गर्न सकेको छैनन । बरु जाहेरवालीले आफ्नो जाहेरी तथा अदालतमा वकपत्र गर्दा समेत वारदात भनिएको दिन दिउसै देखि वेलुका सम्म म पुनरावेदक जाहेरवालीकै साथमा रहेको कुरा उल्लेख गरेबाट पनि मैले ज.क.को ४ नं. बमोजिम कसूर नगरेको कुरा प्रष्ट हुन्छ यस्तो अवस्थामा मलाई उक्त ४ नं. बमोजिम सजाय गर्ने गरिएको शुरु फैसला त्रुटिपुर्ण हुँदा वदर गरी अभीयोग माग दावीबाट फुर्सद गराई पाउँ भन्ने प्र. गोविन्द थापाको पुनरावदेन ।
१५. राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट भएको परिक्षणको प्रतिवेदन र जिल्ला स्वास्थ्य कार्यालय इलामको ०५१।३।९ को प्रतिवेदन समेतबाट शुरु इन्साफ विचारणिय देखिएकोले छलफलको लागि अ.व. २०२ नं. बमोजिम वादी श्री ५ को सरकारलाई जानकारी दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत इलामको आदेश ।
१६. मिसिल संलग्न प्रमाणहरुको मूल्याकंनको आधारमा घटनाक्रमको विश्लेषण गरी हेर्दा जाहेरवालीसित प्रतिवादी कुमार अधिकारीले हातपात गर्नुका साथै जवरजस्ती करणी गर्ने उद्योग सम्म गरेकोलाई जाहेरवालीले जवरजस्ती करणी गरेको ठानी वा जवरजस्ती करणीको संज्ञा दिई जाहेरी गरेकी देखिन आउँछ । साथै अनुसन्धान पक्षले पनि आरोपको प्रकृति र उपलव्ध साक्षीहरुको सुक्ष्मतापूर्वक अध्ययन र विश्लेषण नगरी जवरजस्ती करणी गरेको भनी प्रतिवादी कुमार अधिकारी उपर जवरजस्ती करणीको ३ नं. अनुसार संजायको माग दावी गरिएको देखिन्छ । निज कुमार अधिकारीले आरोपित कसूरको उद्योग गरेको ज.क. को ५ नं. अन्तर्गत कसूर गरेको प्रमाणित भइरहेकोले निजलाई २ वर्ष ६ महिना कैद संजाय हुने ठहर्छ र प्र. गोविन्द थापाले कुमार अधिकारीको सशक्त प्रतिरोध वा जाहेरवाली अनुराधाको प्रभावकारी ढंगले प्रतिरक्षा गर्न नसकेकोलाई अपराधिक कार्यमा सहयोग पुर्याएको संझन मिल्दैन । त्यसकारण प्र. गोविन्द थापाले आरोपित कसूर गरेको नदेखिदा निजले सफाई पाउने ठहर्छ । दुवै प्रतिवादीहरुले आरोपित कसूर गरेको ठहर्याई इलाम जिल्ला अदालतले गरेको फैसला नमिलेको उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत इलामको मिति २०५२।९।२५।३ को फैसला
१७. घटनास्थलको प्रकृति मुचुल्कामा झारको वुट्टावुट्टी माडिएको र झारका टुप्पाहरु चुडिएको भन्ने उल्लेख भएको र वरामदी मुचुल्कामा जाहेरवालीले लगाएको कपडा च्यातिएको, उघ्रिएको भन्ने उल्लेख भएको । घटनाको प्रत्यक्षदर्शीहरु सुष्मा अधिकारी, पार्वती कटुवाल र संझना अधिकारीले प्रहरी समक्ष बयान गर्दा जवरजस्ती करणी भएको आफैले देखेको भनी कीटानी साथ लेखाएका छन् । यो भनाईलाई तथ्यगत रुपमा प्र. कुमार अधिकारीले खण्डन गर्न सकेको छैनन् । वारदात हुनुभन्दा अगाडी कुमार अधिकारीले जाड रक्सी सेवन गरेको हुँदा त्यसको उत्तेजनाबाट अनुराधालाई जवरजस्ती करणी निजले गरेको मिसिलबाट देखिन्छ । यस्तो अवस्थालाई उद्योग ठहर्याई माग दावी भन्दा भिन्न अभियोगमा सजाय गरेको त्रुटिपूर्ण फैसला वदरभागी छ । त्यस्तै प्रतिवादी गोविन्द थापाले वारदातको समयमा घटना स्थल भै भएको कुरालाई स्वीकार गरेका छन् । जवरजस्ती करणी गरी रहदा पिडीत अनुराधाले सहायता माग्दा समेत रमिते वनेर हेरि रहनुले कुमार वहादुर अधिकारीलाई जवरजस्ती करणी गर्नमा निजले सहयोग पुर्याएको प्रष्ट देखि रहेका अवस्थामा निजलाई सफाई दिने गरी गरिएको फैसला त्रुटिपूर्ण छ । तसर्थ प्र. कुमार वहादुर अधिकारीले जवरजस्ती करणीको १ नं. विपरित कसूर गरेकोले ऐ. को ३ नं. बमोजिम सजाय गरी ऐ. को. १० नं. बमोजिम पिडित व्यक्तिलाई आधा अंश दिलाई पाउन र अर्का प्रतिवादी गोविन्द थापाले ४ नं. को कसूर गरेको देखिदा अभियोग माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत मिति २०५३।१।२७ को श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१८. पुनरावेदन अदालत इलामबाट जवरजस्ती करणीको कसूर नै ठहर हुन नसकेपछि जवरजस्ती करणी गर्ने उद्योग ठहर्याउने मिल्ने होइन । किनभने जाहेरवालीले जवरजस्ती करणी गर्ने उद्योग गर्यो भन्ने कुनै भनाई प्रसंग चर्चा सम्म केही छैन । फेरी अभियोग पत्रमा जवरजस्ती करणीको उद्योगको कसूरमा सजायको माग दावी लिइएको पनी छैन । माग दावी नै नलिएको कसूर तथा सजायको सम्बन्धमा स्वयं अदालतले कसूर कायम गरी सजाय समेत तोक्दा मलाई ज्यादै अन्याय परेको छ । जाहेरवालीले साथमा वारदात भएको भनिएको दिनमा दिउँसो देखि सह अभियुक्त गोविन्द थापा र वर्ष ११ की संझना अधिकारी भएको समेत पुनरावेदन अदालतको फैसलाले स्वीकारेको छ । एक महिला जस्को साथमा वयश्क पुरुष गोविन्द थापा र अर्की वालिकाको सामुहिक जमात गई रहेको अवस्थामा म एक्लो व्यक्तिले यौन इच्छा पुरा गर्न जवरजस्ती करणी गर्ने प्रयास गर्ने कुरा आउँदैन । यसरी जाहेरवालीको काल्पनीक जाहेरी, विवादस्पद रुपमा अदालतमा गरेको वकपत्र जसलाई अन्य प्रमाणले निराधार सावित गरेको छ, सो आधारमा गरिएको फैसलाले म निर्दोष व्यक्तिलाई चारित्रिक रुपमा गंभीर असर पर्न गएको छ । तसर्थ मलाई आंशीक हराई जवरजस्ती करणी गर्ने उद्योगको कसूरमा २ वर्ष ६ महिना कैद गर्ने भनी गरिएको फैसला वदर गरी अभियोग माग दावीबाट पुरै सफाई दिलाई पाउँ भन्ने समेत प्र. कुमार अधिकारीको मिति २०५३।१२।११ मा कारागार शाखा इलाम मार्फत प्राप्त भएको पुनरावेदन पत्र ।
१९. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा भारत दार्जिलिङ घर भई इलाम वस्ने दाजु भोगेन्द्र मुखियाको घरमा आएकी जाहेरवाली अनुराधा मुखिया मिति २०५१।३।८ मा इलाम बजारमा ओमशान्तिको प्रवचन सुन्न जाँदा भोगेन्द्रका छिमेकी संझना अधिकारी र गोविन्द थापाका साथमा गै प्रवचन सुनी वसेकी ७ बजेतिर फर्कदा कर कार्यलय नजिकको प्रेम कुमार प्रधानको होटेलमा भटमास, जाड, मटर खाएर हिड्न लाग्दा तत्काल अपरिचित हाल थाहा भएका कर कार्यलय इलामका टाइपिष्ट ना.सु. कुमार वहादुर अधिकारी समेत सो होटेलमा जांड आदि खाइरहेको र एक्कासि नचिनेको व्यक्तिले त यहाँबाट जा भनि जाहेरवालीलाई भन्दा नचिनेको मानिसले किन त्यसो भने भनि गोविन्द थापासँग प्रश्न गर्दा निजले मेरो दाजु कुमार अफिसर हुनुहून्छ भनि चिनाएकोले अध्यारो भई सकेकोले हामी घर तर्फ हिडयौं विजुली अफिस भन्दा केही तल पुग्दा कुमार वहादुर अधिकारी उभिई रहेको र निजले एक्कासी मलाई गाली गरी लछार पछार गर्दै चिया वगान तर्फ लगे । गोविन्दले केही सहयोग नगरी हेरी रहेका थिए । संझनाले छुट्याउने प्रयास गर्दा कुमारले संझनालाई २ थप्पड लगाई दिए । उनी भागीन् । म असक्त हुँदा प्रतिकार गर्न सकिन । मेरो शरीरको लुगा फुकाली भुँइमा लडाई प्र. कुमारले जवरजस्ती करणी गरी सकेर उठेपछि म उम्केर बाटोमा पुगेको थिए । पूनः कुमार आई मलाई झम्टी दाश्रो पटक करणी गर्दा कै अवस्थामा संझनाको दिदी शुष्मा र पार्वती भन्ने कलेज पढ्ने केटी आई पुगे। सुष्माले छुटाउन खोज्दा निजलाई समेत मकै वारीमा लडाई खेद्न थाले । सोही मौका पारी म बासघारी तर्फ लुकी बसें । पछि दाजु र निजका छिमेकी समेतले घर लगेको हुँदा कुमार अधिकारी र गोविन्द थापालाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने तथ्य जाहेरवालीले दरखास्तमा व्यक्त गरेको पाइन्छ । जवरजस्ती करणी गर्दाको अवस्थामा जोरजुलुम गर्दा अनुराधाको च्यातिएको कुर्था, कच्छि र करणी गर्दा दाग लागको सुरुवाल समेत जाहेरी साथ वरामद भएको । करणी गरिएको स्थानको भारवुट्टा वुट्टीहरु माडिएको । घटनाको प्रत्यक्षदर्शी वर्ष ११ वर्ष की संझना अधिकारीको बयान, वुझिएका सुष्मा, पार्वतीको कागजबाट समेत जाहेरीमा उल्लेखित मिति र समयमा कुमार अधिकारीले अनुराधालाई जवरजस्ती करणी गरेको कुरा छर्लङ हुन्छ । गोविन्द थापाले प्र.कुमार अधिकारीले अनुराधालाई जवरजस्ती करणी गरि रहेको देख्दादेख्दै छुट्याउने, वचाउने केही नगरी हेरी सहयोग गरेको देखिन आउँछ । अतएवं अभियुक्त कुमार वहादुर अधिकारीको हकमा निजले जवरजस्ती करणीको महलको १ नं. विपरित कसूर गरेकोले निजलाई सोही महलका ३ नं. बमोजिमको सजाय गरी ऐ. महलको १० नं. बमोजिम पिडीत व्यक्तिलाई आधा अंश दिलाई पाउन तथा अभियुक्त गोविन्द थापाको हकमा निजले जबरजस्ती करणीको महलको ४ नं. बमोजिम जवरजस्ती करणी भै रहेको थाहापाई हेरी रही पिडित व्यक्तिलाई मद्दत नदिई जवरजस्ती करणी जस्ता जधन्य अपराधको वारदात हुन मद्दत गरेकोले सोही महलतको ४ नं. वमोजिमको सजाय गरी पाउ भन्ने मुख्य अभियोग पत्र तथा अनुराधाको घर सोधपुछ गर्दा कहिले भारत कहिले ग्यान्टोक घर वताएकी र साथमा संझना अधिकारी भएकोले केटी वेच्ने अवैध कारोवार गर्ने मानिस हुन की भनि शंका गरी प्रहरीलाई फोन गरु भनेको सम्म हुँ । लछार पछार गरी करणी गरेको होइन भनी प्र.कुमार वहादुर अधिकारीले अदालतमा बयान गरेको देखिन्छ । त्यस्तै अर्का प्रतिवादी गोविन्द थापाले अदालत समक्ष बयान गर्दा कुमार अधिकारीले अनुराधाको वाटो छेकी पुलिस अफिसमा हिंड भन्दा अनुराधा आत्तिइन र रोडमा वसेर रुन लागिन । कुमारले अनुराधाको हात समातेका हुन । जवरजस्ती करणी गरेका होइनन् भन्ने उल्लेख गरेकोमा पुनरावेदक (वादी) श्री ५ को सरकारको तर्फवाट उपस्थिति विद्धान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठले पिडित अनुराधाको बयान अनुसार विर्य लागेको सुरुवाल, कुर्ता र सेतो कपडा जाँच गर्दा कुनै किसिमको विर्य लागेको रहे भएको नदेखिएको भनि रिर्पोट दिएको र पिडितको योनी जाँच भएकोमा जवरजस्ती करणीको संघर्षको अवस्था नदेखिएता पनि देख्ने साक्षीहरुले किटानी साथ र पिडीत महिलाले पनि किटानी साथ प्रहरी तथा अदालत समक्ष बयान गरेको अवस्था रहेको देखिदा जवरजस्ती करणीको वाददात भएको प्रष्ट छ । अर्का प्र. गोविन्द थापाले जवरजस्ती करणी भै रहेको अवस्थामा पिडीतलाई वचावटको लागि सहयोग नगरी मुक दर्शक भई वसेकोले निजको समेत संलग्नता रहेको हो की भन्न सक्ने अवस्था रहेकोले पुनरावेदन अदालतबाट प्र. कुमारवहादुर अधिकारीलाई माग दावी भन्दा कम सजाय गरी प्र. गोविन्द थापालाई सफाई दिने गरी गरेको निर्णय नमिलेकोले वदर गरी प्रतिवेदन माग दावी बोमोजिम हुनु पर्छ भन्ने वहस जिकिर प्रस्तुत गर्नु भएको प्रस्तुत मुद्दामा शुरु इलाम जिल्ला अदालतले प्र. मध्येको कुमार वहादुर अधिकारीले जवरजस्ती करणी गरेको ठहराई निजलाई जवरजस्ती करणीको ३ नं. बमोजिमको सजाय गरी ऐ. को १० नं. बमोजिम पिडित व्यक्तिलाई निजको आधा अंश दिलाउने ४ नं. बमोजिम ७ महिना कैद गर्ने ठहर्याएकोमा पुनरावेदन अदालत इलामले शुरु फैसला उल्टी गरी प्र. कुमार वहादुर अधिकारीले जवरजस्ती करणीको उद्योग सम्म गरेको देखिएकोले निजलाई जवरजस्ती करणी महलको ५ नं. बमोजिम सजाय र प्र. गोविन्द थापालाई आरोपित कसूरबाट सफाई दिने ठहर्याएको फैसला मिले नमिलेको के रहेछ ? त्यस सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२०. अब निर्णय तर्फ विचार गर्दा यसमा जाहेरवाली अनुराधा मुखियाले आफ्नो जाहेरीमा “प्र. कुमार वहादुर अधिकारीले एक्कासी मेरो हात समाई बाटो मुनि लछार पछार गर्दै लगी लडाई जवरजस्ती करणी गरे” भनि प्रष्ट किटानी जाहेरी गरेकी छिन् । सोही जाहेरीलाई पुष्टि गर्दै अदालत समक्ष पनि वकपत्र गरेकी छिन् । मौकामा भएको घटना स्थलको प्रकृति मुचुल्कामा झारहरु तथा वुट्टावुट्टी माडिएको र झारका टुप्पाहरु चुडिएको भन्ने देखिन्छ । त्यस्तै वरामदी मुचुल्कामा जाहेरवालीले लगाएको कपडा च्यातिएको उघ्रिएको भन्ने उल्लेख भई रहेका पाइन्छ । जिल्ला स्वास्थ्य कार्यालय इलामको प.सं. ०५०।५१ च.नं ०७४२ मिति २०५१।३।९ को जाँच परिक्षण प्रतिवेदनबाट पिडितको पिठ्युमा (Abrasion on her back and seapular resion) भन्ने अर्थात पिंठ्युमा छाला खुइलिएको लगाएको कपडाको पछाडी तिर हिलो लागेको निजले लगाएको कुर्ता झन्डै २ फिट जति च्यातिएको पिडीत व्यक्ति बच्चाको आमा भै सकेकोले Hymen rupture नहुने भनि भन्ने उल्लेख भएबाट जवरजस्ती करणीको घटना घटेको कुरालाई पुष्टि गरी रहेको देखिन आउँछ । प्रत्यक्षदर्शी सुस्मा अधिकारी, पार्वती कटुवाल, संझना अधिकारी तथा प्र. मध्येकै गोविन्द थापा समेतले अधिकार प्राप्त अधिकारी तथा अदालत समेतले अधिकार प्राप्त अधिकारी तथा अदालत समक्ष देखाई दिएका कथनहरु समेतका आधार प्रमाणले जवरजस्ती करणी भए गरेको कुराको थप प्रमाणित गरेको देखिन्छ । सुष्मा अधिकारी ले प्र. कुमारले करणी गरेको २।३ हात परबाट देखेकी भनी भनेकी छन् र करणीको अवस्थामा अनुराधा रोइरहेकी थिइन भनि उल्लेख गरेको देखिन्छ । अर्की प्रत्यक्षदर्शी पार्वती कटुवालले अनुराधा माथि प्र. कुमार चढेको ४।५ हात टाडाबाट देखिको भनी लेखाएकी छन् । प्रत्यक्षिदर्शी मध्येकी संझना अधिकारीले कुमार अधिकारी अनुराधा मुखिया माथि घोडा चढे भनेकी छन् । अभियुक्त मध्येको गोविन्द थापाको अधिकार प्राप्त अधिकारी समक्षको बयान व्यहोरा प्राप्त अधिकारी समक्षको बयान व्यहोरा हेर्दा कुमार वहादुरले अनुराधाको सुरुवाल खोली जवरजस्ती करणी गर्न लागे भनि लेखाएको कथन समेतका प्रमाणहरुबाट जाहेरवाली अनुराधा मुखियालाई प्र. कुमार वहादुर अधिकारीले जवरजस्ती करणी गरेको पुष्टि भै रहेको प्रष्ट हुन्छ । साधारणतः जवरजस्ती करणी गर्दा गोप्यरुपमा कसूर गरिने हुादा चश्मदिद साक्षी रहदैन । तर प्रस्तुत मुद्दामा सो कसूर हुँदाको अवस्थामा पिडित पक्षको साथमा जाने सुष्मा, संझना र पार्वती समेत रहेको देखिन्छ ।
२१. प्रस्तुत मुद्दामा पिडित अनुराधाको चिकित्सकद्वारा गरिएको जाँच र निजको कसूर गरेको प्रष्ट हुँदाहुदै अन्यथा गरेका पनुरावेदन अदालतको निर्णय प्रत्यक्ष प्रमाणको प्रतिकूल भएको देखिन्छ । तसर्थ शुरु इलाम जिल्ला अदालतको प्र. कुमार अधिकारीलाई मुलुकी ऐन जवरजस्ती करणीकोमहलको ३ नं. बमोजिम निजको आधा अंश पिडित पक्ष अनुराधालाई दिलाई दिएको सदर गर्नु पर्नेमा जवरजस्ती करणीको उद्योग गरेको मात्र ठहराएको पुनरावेदन अदालत इलामको निर्णय मिलेको नदेखिँदा केही उल्टी हुन्छ । पुनरावेदक प्र. कुमार वहादुर अधिकारीले पुनरावेदन जिकिर पुग्न सक्दैन । अर्का प्रतिवादी गोविन्द थापा वादी दावी बमोजिम घटना स्थल मौजुद रही जाहेरवालीलाई प्र. कुमार वहादुरले जवरजस्ती करणी गर्दाका अवस्थामा बचाउको लागि केही नगरी चुप लागि हेरी रहेको कार्यले प्र. कुमार वहादुरलाई मद्दत गरेको भनी जवरजस्ती करणीको ४ नं. बमोजिमको सजायको मागदावी लिएको देखिएता पनि निज गोविन्द थापाले प्र. कुमार वहादुरलाई सक्रियतापुर्वक अपराधिक कार्यमा सहयोग पुर्याएको देखिदैन । घटनास्थलमा चुप लागी हेरी रहेको अवस्थामा अपराधीक कार्यको सहयोग पुर्याएको संज्ञा पदिन मिल्दैन र जवरजस्ती करणीको ४ नं. को परिधि भित्र पर्ने समेत नदेखिँदा पुनरावेदन अदालत इलामले प्र. गोविन्द थापालाई सफाई दिने ठहर्याएको हदसम्म इन्साफ मानसिव ठहर्छ । सो हदसम्म वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदन (प्रतिवादी) कुमार वहादुर अधिकारी के, माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत इलामको मिति २०५२।९।२५ को फैसला केही उल्टी भै जवरजस्ती करणीको ५ नं. अनुसार कैद वर्ष २।६ महिना गर्ने गरेको इन्साफ केही उल्टी भै निजलाई जवरजस्ती करणीको ३ नं. अनुसार कैद वर्ष ४ (चार) हुने ठहरेकोले निजबाट असूल हुन वाँकी कैद लगत कसी असुल गर्नु भनी शूरु इलाम जि. अ. मा लेखि पठाउनु ............ १
जाहेरवाली अनुराधा मुखिया के, माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई प्र. कुमार वहादुर अधिकारीले जवरजस्ती करणी गरेको ठहरेकोले मुलुकी ऐन जवरजस्ती करणीको १० नं. अनुसार प्र. कुमार वहादुर अधिकारीको अंशवाट आधा अंश दिलाई पाउँ भनी निजको कानूनका म्याद भित्र दरखास्त परेमा कानूनको रित पुर्याई आधा अंश दिलाई दिन लगत कस्नु भनि शुरु इलाम जिल्ला अदालतमा लेखि पठाउनु ...................२
मिसिल नियमानुसार गरी वुझाई दिनु ....................३
उक्त रायमा म सहमत छु ।
न्या. भैरवप्रसाद लम्साल
इति संवत् २०५५ साल जेष्ठ ४ गते रोज २ शुभम् .......।