निर्णय नं. ६६८३ - अंश चलन ।

निर्णय नं. ६६८३ ने.का.प. २०५६ अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५५ सालको दे.पु.इ.नं. .......१०८
२०५५ सालको दे.पु.इ.न. .......१०९
फैसला मितिः २०५५।५।४।५
मुद्दाः अंश चलन ।
पुनरावेदक/प्रतिवादीः का.जि.का.न.पा वडा नं. १४ कलंकीस्थान वस्ने कान्छी खत्री क्षेत्री समेत ३ ।
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ वस्ने बलवहादुर भट्टराई क्षेत्री
पुनरावेदक/वादीः का.जि.न.पा. वडा नं. १४ कलंकीस्थान वस्ने ५४ वल वहादुर भट्टराई
विरुद्ध
प्रतिवादीः बद्री बहादुरकी पत्नी ऐ.ऐ. बस्ने अं. वर्ष ३५ की कान्छी खत्री क्षेत्री समेत २ ।
§ वादी प्रतिवादी बीच, पुस्तावारी मानो छुट्टीएको मिति कायम गरे सम्वन्धमा विवाद छैन । सो कि.नं १७५ को जग्गा प्रतिवादी वद्री बहादुर भट्टराईले जग्गाधनी तीर्थ वहादुर शाक्य समेतवाट छोडपत्र गराई लिई सो मध्येको जग्गा मिति ०४५।५।३१ मा अंजु पौडेल, लीला देवी देवकोटा, रामकृष्ण खनाललाई हक छाडी दिँदा कित्ताकाट भई निज बद्री वहादुरको हकमा कि.नं. ६८२ को ०.७.० रोपनी जग्गा मात्र बाकी रहेको मिसिल प्रमाणबाट देखिन आउँछ । निजले ०४५।५।३० मा छाडपत्र गराई लिँदा रु ६७५०० वुझाई कि.नं. १७५ को जग्गामा हक प्राप्त गरेको पाइनछ । सो लिखतबाट मोहीको हैसियतले मात्र सो जग्गा प्राप्त गरेको नभई मूल्य तिरी प्राप्त गरेको देखिन्छ । भूमि सम्बन्धी ऐन २०२१ को दफा २ को खण्ड (ख) ले मोहीको परिभाषा गर्दा मोही भन्नाले अरु जग्गावालको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भनी उल्लेख भएको देखिँदा अरुको जग्गा कमाउने मोही भइ आफ्नो जग्गा कमाउनेको मोही हक जग्गाको स्वामित्व भै समाहित हुने हुँदा सो अवस्थामा छुट्टै मोही हकको अस्तित्व कायम रहने अवस्था देखिन आउदैन । यसबाट कि.नं. १७५ किताकाट भई कायम रहेको कि.नं. ६८२ को जग्गाको स्वामित्व र मोही हक समेत छुट्टा छुट्टै कायम नरही प्रतिवादी बद्री वहादुरको नाउँमा जग्गाधनीको हैसियत मात्र कायम रहने स्थिति देखिन आयो । सो जग्गा निज प्रतिवादीले २०४५।९।२० मा मानो छुट्टिएको मिति कायम हुनु भन्दा अघि नै संगोलमै रहेको अवस्थामा मूल्य तिरी प्राप्त गरेको देखिँदा वण्डा गर्न नपर्ने भन्ने माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको रायसंग सहमत हुन नसकिने ।
(प्र.नं. १८)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री वालकृष्ण न्यौपाने, श्री माधव वास्कोटा
पुनरावेदक प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता द्वय श्रीहरी अर्याल, श्री वसन्तराम भण्डारी
अवलम्वित नजिरः X
फैसला
न्या. उदयराज उपाध्यायः पुनरावेदन अदातल, पाटनको मिति २०५१।९।२९।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बामोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) बमोजिम पेश हुन आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको व्यहोरा यसप्रकार छः
२. विपक्षी बद्री वहादुरको र म फिरादीको बाजे एमानको २ छोरामा जेठा हामीहरुका पिता टेक वहादुर, कान्छो टेकध्वज भएकोमा टेकध्वज अघिनै छुटिनु भएको, जेठा टेक वहादुरको छोरा, जेठा म कान्छा विपक्षी बद्री वहादुर भएकोमा ३५ सालमा पिता टेक वहादुर परलोक हुनुभयो । आमा मान कुमारी सिधा साधा भएको र जग्गा जमिन मोहियानी हकको पिताज्यूका नाउँमा मोहियानी लगतमा दर्ता भएको जग्गा हुँदा हामी दुवैको सहयोगले बनेको पक्की घरमा आधा आधा गरी अलग भान्सा गरी मानो छुट्टिई वेगल खाई आएको थियौं, मेरो नोकरी हुँदा विपक्षी भाई बद्री बहादुरले सवै व्यवहार गरी आएको थिए । आमा २०३९ सालमा परलोक हुनु भयो, पिता टेक वहादुरका नाउँमा मोही कायम भएकै जग्गामा पक्की घर वनी सोही घरमा आधा आधा गरी वसेकोमा हामीहरुको वैमनस्यता बढ्दै गएको हुदा अंशवण्डा गरिदिनु पर्यो भन्दा विपक्षी भाई बद्री वहादुर र भाई वुहारी कान्छी समेतले के केो अंश भनी जवाफ दिएबाट पिता टेक वहादुरको नाउँमा मोही दर्ता भएको पक्की घर बनेको जग्गा र सो जग्गा साथको समेत जग्गा कान्छो इश्वर वहादुरले भाई बद्री बहादुर समेतको सहयोगबाट मेरा हक जाने कुनै कार्य गरेको भए देख्न सुन्न पाएको अवस्थामा नामाकरण गर्नेछु । विपक्षी ३ जनाबाट तायदाती समेत लिई वादी दर्ता मिति मानो छुट्टिएको मिति कायम गरी मेरो अंश छुट्याई अड्डाबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. मोहियानी तर्फको हैसियत तथा आइमाई केटाकेटीको आर्जन पेवा जस्मा कानूनले नै विपक्षीको हक लाग्ने तथा पुग्ने होइन । ०३५।३।५ मा पिताजी परलोक भएपछि मानो छुट्टी वसेको हो दुवैको सहयोगले घर वनेको भन्ने वादी दावी विल्कुल झुट्टा हो । मेरो छोरा राजकुमार भन्ने इश्वरनाथ क्षत्रीलाई ०३७ साल भाद्रमा आंखा चिठाको पहिलो पुरस्कार परेको गो.प.मा प्रकाशित छ । मोहियानी जग्गा र त्यस मध्येका जग्गामा तहसीललाई झिकाई र निजी प्रयास आर्जनबाट कानूनी प्रक्रियाअनुसार आफ्नो गराइएको मोहियानी हैसियतको सम्पत्तिलाई इगिंत गर्न खोजी यो नालेश दिएको छ भु.सु. ऐन २०२१ को दफा २६(क) को पूर्व अवस्था छ भनी दावी लिन सकेको पनि छैन । पिताजीको मृत्यु पश्चात तलसिलले जस्लाई रोज्यो उसलाई मोही हक प्राप्त हुने व्यवस्था हुँदा मलाई रोजिएकोमा विपक्षीलाई हक प्राप्त कुनै हालतमा हुने होइन । यस्तोमा विपक्षीलाई अ. वं. ८२ नं. को हकदैया पुग्ने होइन भन्ने समेत व्यहोराको वद्री वहादुर खत्री क्षेत्रीको प्रतिउत्तर ।
४ . विपक्षीलाई अंशवण्डा गरिदिनु पर्ने पैतृक सम्पत्ति हामीसँग केही छैन । कानूनले नै दावी नलाग्ने मोहीयानी पट्टिको र हामी आइमाई केटाकेटीको चिठ्ठा निजी आर्जन तथा दाईजोको सम्पत्ति हो जो कि कानूनले नै विपक्षीको हक लाग्ने तथा पुग्ने होइन भन्ने समेत व्यहोराको इश्वर नाथ खत्री क्षेत्री १, र कान्छी खत्री १ समेत जना २ को संयुक्त प्रतिउत्तर ।
५. वादी प्रतिवादी अंशियार भएको कुरामा मुख मिलेकै देखिदा वादीले मिति ०४६।८।५ मा पेश गरेको तायदातीमा उल्लेख भएको सम्पुर्ण सम्पत्ति मध्येको आधा भाग वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४८।१०।२९ को फैसला ।
६. काठमाडौ जिल्ला अदालतबाट हामी प्रतिवादीको एबं आर्जनको सम्पति र मोहीयानी समेतमा वादीले अंश पाउने गरी गरेको फैसला कानून एबं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित हुँदा वदर गरी प्रतिउत्तर जिकीर अनुसार अंश दिन नपर्ने गरी पाउँ भन्ने समेत व्यहोराको कान्छी खत्री क्षेत्री राजकुमार भन्ने इश्वर नाथ खत्री क्षेत्री, वद्री वहादुर भट्टराई खत्री क्षत्री समेत जना ३ को पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
७. मोहियानी हकभोगको जग्गा पनि अंशवण्डा गर्ने गरेको काठमाडौ जिल्ला अदालतको फैसला फरक पर्ने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिती ०५०।६।२५ को आदेश ।
८. यस्मा कि.नं २२२,२६५,२२३ र २३५ का जग्गा स्वआर्जनको नदेखिंदा वण्डा नलाग्ने ठहर्याउन उचित देखिएन सो जग्गा वण्डा लगाउने गरेको मिलेकै हुँदा प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन , कि.नं. १७५ को मोहियानी वापत छोडपत्र गरी लिएको देखिँदा छोडपत्रबाट प्राप्त गरेको जग्गा समेतबाट वादीले अंश पाउने ठहर्याएको हदसम्म मिलेको नदेखिदा सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति ०४१।९।२९।६ को फैसला ।
९. पुनरावेदन अदालत पाटनबाट हामीहरुलाई आंशिक हराई गरेको फैसलामा चित्त नवुझेकोले पुनरावेदन गर्न आएका छौ । कि.नं. २२२, २६५,२२३ र २३५ समेतका जग्गाहरु पैतृक हक स्वामित्वका होइनन् । निजी ज्ञानशीप तथा चिठ्ठाबाट खरिद गरी लिएको हुँदा समेत पुनरावेदन अदालत पाटनको फैसला आंशिक उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कान्छी खत्री क्षेत्री राजकुमार भन्ने इश्वरनाथ खत्री क्षेत्री र वद्रीवहादुर भट्टराई खत्री क्षेत्री समेतको यस अदालतमा परेको पुनरावेदन ।
१०. पुनरावेदन अदालत, पाटनले केही हराई गरेको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गरेको छु , कि.नं. १७५ को जग्गा पूर्णत अंश लाग्ने हुँदा कि.नं १७५ वण्डा नलाग्नेसम्म भएको फैसला सो हदसम्म वदर गरी वाकी फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादी वल बहादुरको यस अदालतमा परेको पुनरावेदन ।
११. पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर। तर्फ हेर्दा मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा मानो नुछुट्टिई संग वसेका अंशियार छन् भने जुनसुकै अंशियारले संगोलको सम्पत्तिबाट वा संगोलको खेती, उद्योग व्यापार व्यवसायबाट बढे बढाएको संगोलको आर्जन लेनदेन व्यवहारमो महलको संगोल आर्जन लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने व्यवस्था गरेको पाइन्छ । मिति ०४५।९।२० लाई सानो छुट्टिएको मानो छुट्टिएको मिति कायम गरी पाउँ भन्ने भनाई वादीको रहेकोमा प्रतिवादलिे २०३५।३।२४ देखि मानो छुट्टिएको भन्ने जिकिर लिएतापनि मानो छुट्टिएको रीतपुर्वकको प्रमाण प्रतिवादीले गुजार्न सकेको नदेखिँदा ०४५।९।२० लाई मिति कायम गरेको लाई अन्यथा भन्नु पर्ने अवस्था छैन । कि.नं. २२२, २६५, २२३ र २३५ समेतका जग्गाहरु निजी ज्ञानशिपबाट चिठ्ठा खरिद गरी लिएको वण्डा नलाग्ने निजी आर्जनको मान्ने भनाई छ, सो सम्बन्धमा उक्त जग्गाहरु मानो छुट्टिएपछि खरिद गरेको दाइजो पेवाबाट वा जिनी ज्ञानशिपबाट प्रतिवादीहरुका नाउँमा प्राप्त हुन आएको भन्ने ठोस प्रमाणको अभावमा वण्डा नलाग्ने भन्न मिलेन । तसर्थ कि.नं. २२२, २३५, २२३ र २६५ का जग्गाहरु वण्डा लाग्ने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा अन्यथा गर्नु पर्ने अवस्था देखिन आएन । पुनरावेदन प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
१२. कि.नं. १७५ को जग्गा समेत वण्डा लाग्नु पर्ने भन्ने वादीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा विवादीत कि.नं. १७५ को जग्गाको साविक मोही यी वादी प्रतिवादीका वावु टेक वहादुर भएकोमा निजको नाउंको मोही हक छोडी यी प्रतिवादी वद्री वहादुरलाई जग्गाधनीले पत्याएको भए पनि सो मोही सम्बन्धी प्रश्न वेग्लै हो । छोडपत्रको कैफियत महलबाट मोहीलाई जग्गाधनीले क्षतिपुर्ति वापत छोडपत्र गरेको देखिन्छ । वादी प्रतिवादीको बीच मानो छुट्टिएको मिति ०४५।९।२० कायम भएको हूँदा र उक्त जग्गा ०४५।५।३० को छोडपत्रबाट प्राप्त गरेको देखिदा उक्त जग्गा संगोलमै मिश्रीत भएको मान्नु पर्ने हुन्छ । उक्त जग्गा दान वक्सबाट प्राप्त गरेको, निजी ज्ञानशिपबाट आर्जन गरेको भन्ने पनि देखिदैन । मानु छुटिनु अघीको आर्जनको देखिदा सगोलको ठहर्छ । संगोलकै सम्पत्ति हुँदा वादी दावी बमोजिम कि.नं. १७५ वण्डा लाग्ने ठहराउनु पर्नेमा नलाग्ने ठहराएको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुन्छ । कि.नं. १७५ मा समेत वादी दावी बमोजिम वण्डा लाग्ने ठहर्छ । कि.नं. १७५ को सम्बन्धमा माननीय न्यायाधीश श्री केदारनाथ आचार्यसंग मतैक्य हुन नसकी राय नमिलेको हुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय ।
१३. कि.नं २२२, २६५, २२३ र २३५ को जग्गा संगोलको ठहर्याई शुरु सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको रायसंग सहमत छु ।
१४. जहाँसम्म वादीको कि.नं १७५ समेत वण्डा लाग्नु पर्ने भन्ने तर्फ विचार गर्दा २०३५ सालदेखि जग्गा कमाई भोगी जग्गाधनीलाई खुसीपारी जग्गाधनीको आफ्नो नामको जग्गा मोही बद्री वहादुर भट्टराईका नाममा छोडपत्र गरेको देखियो । त्यसरी भएको छोडपत्र उपर कसैको उजूर परी वदर हुन सकेको देखिदैन । वद्री वहादुरकै नाममा मोठ श्रेष्ता कायम गरेको अवस्था समेत देखिन आएको छ । २०३५ सालदेखि नै उक्त जग्गा कमाई जग्गाधनीलाई खुसीपारी जग्गाधनीबाट छोडपत्रद्धारा पाएको उक्त काठमाडौ कलंकीको कि.नं १७५ को जग्गालाई मोहीको निजी प्रयासबाट प्राप्त भएको मान्नु पर्ने देखिन आएकोले उक्त जग्गा वण्डा नलाग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मनासिवै देखिदा सदर हुने ठहर्छ । पुनरोदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । उक्त कि.नं. १७५ को जग्गा समेत वण्डा लाग्ने ठहर्याएको सम्ममा माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको रायसंग सहमत हुन नसकेको हुँदा राय नमिलेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सहमतिको यस अदालत संयुक्त इजलासको मिति ०५४।२।२० को फैसला ।
१५. नियमानुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट विद्वान अधिवक्ताव्दय श्री वालकृष्ण नौपानै र श्री माधव वास्कोटाले कि.नं. १७५ को जग्गा सम्बन्धमा मात्र निर्णय गर्न वाकी रहेको, उक्त कि.नं. १७५ वण्डा लाग्ने हो होइन भन्ने नै विवाद वाँकी रहेको छ । अंशवण्डाको १८ नं. को व्यवस्थाले छोडपत्रबाट प्राप्त अचल सम्पत्ति वण्डा नलाग्ने भन्ने दखिदैन । संगोलमै रहेको अवस्थामा छोडपत्रबाट प्राप्त अचल सम्पत्ति वण्डा लाग्ने हो होइन भन्ने नै विवाद बाँकी रहेको छ । अंशवण्डाको १८ नं. को व्यवस्थाले छाडपत्रबाट प्राप्त अचल सम्पत्ति वण्डा नलाग्ने भन्ने देखिदैन । संगोलमै रहेको अवथामा छोडपत्रबाट उक्त जग्गा प्रतिवादीले प्राप्त गरेको हो, संगोलबाटै छोडपत्रको लागी रकम व्यहोरिएको हो । निजी तवरबाट रकम व्यहोरिएको भनी प्रतिवादीले भन्न सकेको छैनन् । उक्त कि.नं. को सबै जग्गा मोही वापत पाएको होइन, वण्डा लाग्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय मिलेकै हुँदा सदर हुन पर्दछ भन्ने समेत व्यहोराको मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । पुनरावेदक प्रत्यर्थी प्रतिवादीको तर्फबाट रहनु भएको विद्वान अधिवक्ताव्दय श्रीहरी अर्याल र श्री वसन्तराम भण्डारीले कि.नं. १७५ को अस्तित्व अंश मुद्दा पक्ष कायम छैन कि.नं. १७५ को १–११–० जग्गाबाट कित्ताकाट हुदै मोही प्रतिवादी बद्री वहादुरका नाउँमा कि.नं. ६८२ ज. रो. ०-७-० जग्गा मात्र बाँकी छ । अरु जग्गा कित्ताकाट गरि विभिन्न व्यक्तिहरुलाई लिखत गरी हक हस्तान्तरण गरी सकिएको छ, ती लिखतहरु उपर दावी छैन, सो जग्गा बद्री बहादुरले मोहियानी वापत प्राप्त गरेको हो । मोहियानी वापत प्राप्त सम्पत्तिमा वण्डा लाग्ने स्थिति छैन । कि.नं. १७५ प्रतिवादीको साथमा रहेको नहुँदा प्रतिवादीबाट वादीले वण्डा गरी लिन पाउने भन्ने अवस्था छैन । कि.नं. १७५ को हकमा वण्डा नलाग्ने ठहर गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
१६. उपर्युक्त वहस जिकिर समेत सुनि मिसिल कागजात हेर्दा यी वादी प्रतिवादी अंशियार रहेको, निजहरुका बीच रीतपूर्वकको अंशवण्डा भएको अवस्था नभएकोले फिराद दावी बमोजिम आधा सम्पत्ति वण्डा गरी लिन पाउने ठहर गरी शुरु काठमाडौ जिल्ला अदालतले गरेको फैसला केही उल्टी हुने ठहराई कि.नं. १७५ को जग्गा वण्डा नलाग्ने गरी पुनरावेदन अदालत पाटनबाट फैसला भएको र सो फैसला उपर वादी प्रतिवादी दुवै थरको यस अदालतमा पुनरावेदन परेकोमा प्रतिवादीको पुनरावेदन जिकिर नपुग्ने सम्बन्धमा संयुक्त इजलासको माननीय न्यायाधीशहरु बीच मतैक्य भएको तर कि.नं. १७५ को सम्बन्धमा मतैक्य हुन नसकी मुद्दा पूर्ण इजलास समक्ष पेश हुन आएको देखिन्छ ।
१७. निर्णयतर्फ विचार गर्दा प्रतिवादीले कि.नं. २२२, २६५, २२३, २३५ का जग्गाहरु निजी आर्जनका हुन, चिठ्ठा परेको रुपयौवाट खरिद गरेको हुँदा वण्डा लाग्नु पर्ने होइन भनी जिकिर लिई पुनरावेदन गरे तर्फ ती जग्गाहरु संगोलको रहेकोले वादीले प्रतिवादीबाट आधा अंश पाउने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सो हदसम्म सदर गरेको पुनरावेदन अदालतको इन्साफ सदर गरे तर्फ संयुक्त इजालासका माननीय न्यायाधीशहरु बीच राय बाझी नभई मतैक्य रहेको देखिँदा त्यसतर्फ विचार गर्नु पर्ने अवस्था छैन ।
१८. संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच प्रतिवादी वद्री बहादुरको नाउँमा २०४५।५।३० मा पारित छोडपत्रको आधारमा प्राप्त राय वाझी भएको देखिदा सो हदसम्ममा निर्णय दिनु पर्ने देखिन आएको छ । सो सम्बन्धमा विचार गर्दा वादी प्रतिवादी बीच, पुस्तावारी र मानो छुट्टिएको मिति कायम गरेको सम्बन्धमा विवाद छैन । सो कि.नं. १७५ को जग्गा प्रतिवादी बद्री वहादुर भट्टराईले जग्गाधनी तीर्थ वहादुर शाक्य समेतवाट छाडपत्र गराई लिई सो मध्येको जग्गा मिति ०४५।५।३१ मा अंजु पौडेल, लीला देवी देवकोटा, रामकृष्ण खनाललाई हक छाडी दिँदा कित्ताकाँट भई निज बद्री वहादुरको हकमा कि.नं. ६८२ को ०–७–० रोपनी जग्गा मात्र बाकी रहेको मिसिल प्रमाणवाट देखिन आउँछ । निजले ०४५।५।३० मा छोडपत्र गराई लिँदा रु ६७५००।- वुझाई कि.नं. ११७५ को जग्गामा हक प्राप्त गरेको पाइन्छ सो लिखतबाट मोहीको हैसियतले मात्र सो जग्गा प्राप्त गरेको नभई मूल्य तिरी प्राप्त गरेको देखिन्छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २ को खण्डा (ख) ले मोहीको परिभाषा गर्दा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भनी उल्लेख भएको देखिंदा अरुको जग्गा कमाउने मोही भई आफ्नो जग्गा कमाउनेको मोही हक जग्गाको स्वामित्व मै समाहित हुने हुँदा सो अवस्थामा छुट्टै मोही हकको आस्तित्व कायम रहने अवस्था देखिन आउदैन । यसबाट कि.नं. १७५ कित्ताकाट भई कायम रहेको कि.नं. ६८२ को जग्गाको स्वामित्व र मोही हक समेत छुट्टै कायम नरही प्रतिवादी बद्री वहादुरको नाउँमा जग्गाधनीको हैसियतमात्र कायम रहने स्थिति देखिन आयो । सो जग्गा निज प्रतिवादीले २०४५।९।२० मा मानो छुट्टिएको मिति कायम हुनु भन्दा अघि नै संगोलमै रहेको अवस्थामा मूल्य तिरी प्राप्त गरेको देखिँदा वण्डा गर्न नपर्ने भन्ने माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसंग सहमत हुन सकिएन । कि.नं. १७५ वाट कित्ताकाट भई प्रतिवादी बद्री वहादुरका नाउँमा बाँकी रहेको कि.नं. ६८२ को ०.७.० रोपनी जग्गामा वादीले प्रतिवादीबाट आधी अंश पाउने हुँदा सो बाट समेत आधा अंश वादीलाई दिलाउने ठहर गरेको माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय मिलेको देखिँदा मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक वादी बल वहादुर भट्टराईके माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादी बद्री वहादुरका नाउँको कित्ताकाट भै साविक १७५ को बाँकी रहेको कि.नं. ६८२ को ज.रो. ०.७.० बाट आधी जग्गा वण्डा गरी लिन पाउने ठहर भएकोले पुनरावेदन अदालतको फैसलाको तपसीलको देहाय (१) बमोजिम गर्नु परेन । कि.नं. १७५ को हकमा यसै बमोजिम र वाकी शुरु फैसला बमोजिम वण्डा गरी दिनु भनी शुरु काठमाडौ जिल्ला अदालत तहसील शाखामा लेखि पठाई दिनु ............ १
पुनरावेदक वादी वल वहादुर भट्टराई के माथि इन्साफ खण्डमा लेखिए वमोजिम साविक कि.नं. १७५ को हाल कि.नं. ६८२ को वाकी ज.रो ०.७.० वाट आधी दावी बमोजिम वादीले वण्डा गरी लिन पाउने ठहरेकाले सो को हुने शुरु कोर्ट फि रु ५२४। को पुनरावेदन गर्दा लाग्ने कोर्ट फि रु ७८। मात्र प्रतिवादीबाट भराई लिन पाउने हुँदा प्रतिवादीहरुबाट भराई पाउँ भनी कानूनका म्याद भित्र वादीको दरखास्त परे प्रतिवादीहरुबाट म्याद भित्र वादीको दरखास्त परे प्रतिवादीहरुबाट वादीलाई भराई दिनु भनी शुरु काठमाडौ जिल्ला अदालतमा तहसिल शाखामा लेखि पठाई दिनु .................. २
पुनरावेदक प्रतिवादी बद्री वहादुर भट्टराई समेत के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले पुनरावेदन अदालत पाटन र शुरु अदालतको फैसला बमोजिम निजहरुबाट जरिवाना सरह असुल गर्ने गरेको कोर्ट फि. रु ६१४५।- यस अदालतको मिति ०५२।५।२ को पत्रानुसार धरौटीमा राखेको देखिँदा उक्त रकम सदर स्याहा गर्नु र उल्लेखित दुवै अदालतका लगतहरु कट्टा गरिदिनु भनी शुरु काठमाडौ जिल्ला अदालत तपसिल शाखामा लेखि पठाई दिनु ।
उक्त रायमा हामी सहमत छौ ।
न्या. केदारनाथ उपाध्याय
न्या. कृष्णजंग रायमाझी
इति सम्वत् २०५५ साल भाद्र ४ गते रोज ५ शुभम् ............।