निर्णय नं. ७९८ - जालसाजी
निर्णय नं. ७९८ ने.का.प. २०३१
फुल बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२८ सालको फौ.फु.नं. ३२
फैसला भएको मिति : २०३०।११।१८।६ मा
निवेदक : अं. नारायणी जि.बारा वरेवा बस्ने नारायणविक्रम शाह समेत
विरुद्ध
विपक्षी : जि. सर्लाही मलंगवा बजार बस्ने गंगादेवी राजभण्डारीसमेत
मुद्दा : जालसाजी
(१) अरुका नाउँमा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिए घर जग्गा भोग गर्नेकै हकको देखिन्छ ।
घरसारको व्यवहार भए पनि त्यसलाई मान्यता नदिई कानूनबमोजिम नै गरेको छ भनी विपक्षी पक्षका अधिवक्ताले दे.फु.नं. २० निर्णय मिति ०२०।९।१६।३ को निवेदक बबुला धुनिया जि.श्रीराम कुर्मी भएको उखडा जग्गाको पोत बुझाई दिलाइपाउँ भन्ने मुद्दामा घरायसमा इमान धर्मबाट कानून मिलाई व्यवहार गरेकै भए पनि झगडा परी अदालतको प्राङ्गणमा आए पछि त्यस इमानधर्मबाट गरेको भनी कानूनले गरेको तरिका नअपनाए पनि हुन्छ पनि भन्न नमिल्ने भनी निर्णय भएको नजीर देखाउनु भएकोलाई सो मुद्दाको उजूरी व्यहोरा र यो मुद्दाको उजूरी व्यहोरा एक मिलानको देखिन आएन । यस मुद्दामा कानूनको तरिका र व्यवहारको परीस्थिति बेगल पनि नभई आफ्ना तहविलको काम गर्ने कारिन्दाहरूका नाममा जग्गा खरीद गरी जग्गा र सो जग्गामा बनेको घरको आयस्ता आफैं भोग गरी तिरो भरो समेत आफ्नै तर्फबाट गरी भएको हुँदा अरूका नाममा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिनाले जग्गा घर वादीकै हकको देखिन आएको छ ।
(प्रकरण नं. २०)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
उल्लिखित मुद्दा :
फैसला
न्या. जयदेव भट्ट
१. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने वादीको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याइनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : सुब्बा जितेन्द्रराज र रामचन्द्रसमेत हामीहरूको बाबु बाजेका पालादेखि कारिन्दा भई आएको भन्सारको काम मोटर सर्भिसको काम जितेन्द्रराज मुख्य भई गरेको राणाजी साहेबज्यूहरूले हुकूम नभई जग्गा खरीद गर्न नहुने हुनाले ग्यारेज बनाउन विराटनगर अड्डादेखि दक्षिणपट्टि जग्गा कठ्ठा ।४ नौं १९९१ साल फागुन चैतमा सु. जितेन्द्रराजको नाममा खरीद गरी ग्यारेज बनाई मोटर सर्भिसको स्याहामा खर्च लेखी १४ सालसम्मको पोत बुझाई भोगी आएको मोटर सर्भिसको ठेक्का लिने समसुल हकसमेतले ग्यारेज हामीबाट बहालमा लिई कागज गरिदिएको छ । उक्त जग्गा आजसम्म मेरै नाममा छ । आफ्नो गराई लिनुस् भनी सु.जितेन्द्रराजले श्री ५ मुमा सीता महारानीलाई लेखेको चिठ्ठी हामीसँग छ । उक्त जग्गा दर्तावालाको नाताले हामीले थाहा नपाउने गरी १६ सालको पोत जितेन्द्रराजले तिरी रसिद लिई आफ्नो स्वास्नी गंगादेवीलाई दाइजो पेवाको रूपैयाँबाट पटक–पटक गरी बुझी लिए भनी बोली पारी थैली कं.रू.१९०००। राखी १७ साल जेठ १० गते घरसारको लिखत गरी जग्गा ।४ र सो जग्गामा बनेको घरगोदामसमेत राजीनामा गरिदिएको छु भनी पास गरी लिएदिए छन् । उक्त गोदाम घर भाडामा लिने जगन्नाथउपर घर भाडा दिलाइपाउँ भनी गंगादेवीले १७।१२।५ मा नालिस गरेपछि हामीलाई थाहा भयो श्री ५ मुमा महारानी स्वर्गवास हुनु भई हामीहरूको हक हुन आएकोले बुझ्दा हामीहरूको जग्गा जालसाज गरी राजीनामा गरी लिएदिएको बुझिएको आफ्नो हक पक्का पर्न जितेन्द्रराजकै मेलबाट प्र.मध्येको रामचन्द्र राज, मदनराज समेतले हाम्रो हक लाग्ने स्वास्नीलाई बिक्री गरे, बदर होस् भनी ई.अ.देवानीमा नालिस गरेको छ । उक्त घर जग्गा ग्यारेज प्रतिवादीहरूको भए निजहरूको ९५ सालमा बण्डा हुनुपर्ने नभएकोबाट समेत प्रतिवादीहरूले मिली जालसाजी गरेको लिखत बदर गरी गोदाम घर मोटर ग्यारेज भएको उक्त ।४ कठ्ठा जग्गा हाम्रो नाममा नामसारी गरिपाउँ भन्ने समेत नारायणविक्रम शाहसमेतको फिरादपत्र ।
३. हामीहरूले जालसाजी गरेको होइन । गंगादेवीको छोरी यहाँ स्कुलमा पढिरहेकोले गंगादेवीले कहीँ आई डेरा गरी बस्ने गरी आएकोमा गंगादेवीको दाइजो पेवाको रूपैयाँबाट खरीद बिक्री भएको हो भन्ने समेत प्रतिवादी हेमबहादुर, कृष्ण देवलाल, हिरण्यमानसमेतको प्रतिवादी ।
४. हामीले जालसाज गरेको होइन । दाजु जितेन्द्रराजले हाम्रोसमेत अंश हक लाग्ने अबण्डा रहेको घर जग्गा खरीद बिक्री गरेकोले बदर गरिपाउँ भनी ई.अ.काठमाडौंमा नालिस गरेको छु भन्ने समेत मदनराज रामचन्द्रराजको प्रतिउत्तर पत्र ।
५. जग्गा दर्ताको प्रमाण र तिरो तिरेको रसिद बेगर वादीहरूको जग्गामा भोग छ भन्न सबूत प्रमाण र श्रेस्ताले नमिल्ने ०१४ सालसम्मको पोत हामीले तिरेका छौं भन्छ तापनि के कारणले एउटै जग्गाको दुईटा रसिद दिएलिएका छन् प्रमाण पेश गरे उसैबखत उजूर गर्नेछु राणा साहेवज्यूहरूले बेनामी राखेका जग्गा इस्तिहार र दस्तखतका म्याद ६ महिनाभित्र आफ्ना नाममा दाखिल दर्ता गराउनुपर्छ नगराएमा उजूर लाग्नेछैन भन्ने ९८ सालमा २ छाप इस्तिहार र २००० सालमा बण्डापत्र भएको हुँदा जितेन्द्रराजका नाममा खरीद गरी भोगी आएको भए उक्त म्यादभित्र आफ्ना नाममा दर्ता गराउनुपर्ने सोबमोजिम नगरे हक दावी गर्न नपाउने घर गोदाम बारे मेरो लोग्ने सु.जितेन्द्रराजले सीता महारानीलाई चिठ्ठी लेखेको छ भन्ने हकमा मेरो लोग्नेले कुनैप्रकार चिठ्ठी लेखेको मलाई थाहा छैन छुट्टी सकेका देवरलाई हात लिई देवर मदनराज समेतलाई उचाली हक सफा र हर हिसाबको मुद्दा दायर गरेकी छन् । लेखिएको जग्गा मेरो लोग्नेले खरीद गरी आउनु भएको दाइजो पेवाको रूपैयाँबाट रजिष्ट्रेशन पास गराई तिरो तिरी भोग गरी आएको हुँ । यसमा लिखतलाई जालसाजी भन्न कीर्ते कागजको ३ नं. ले नमिल्ने अ.बं. १० नं. बमोजिम वादीले उजूर गर्न नपाउने खारेज हुनुपर्छ भन्ने समेत गंगादेवीको प्रतिउत्तर पत्र ।
६. रू.१००। भन्दा बढी मोलिने घर जग्गा रजिष्ट्रेशन पास भएको लिखत बेगर चिठ्ठीको आधारले दर्तावालाको हक छुटाई अर्काको हक गर्न रजिष्ट्रेशनको अघिको ४ नं.र हालको १।२ नं. ले मिल्दैन एकाको हकको जग्गा बीचबीचैमा अर्काले कबुलियत लिखत बनाएको प्रमाणित मान्न नमिल्ने पोत तिरेको रसिदको हकमा सो प्रेमराजले हस्तेवारीबाट तिरेको देखियो । आफूले बुझाउन अनुकूल नमिल्ने आफ्ना मानिसद्वारा तिर्न सक्ने हुनाले हस्तेवारी रसिदको भरले दर्तावालाको हक टुट्न सक्दैन त्यसकारण जग्गा घरमा वादीको हक पुग्न सक्दैन भन्ने समेत सर्लाही जिल्ला अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदनपत्र ।
८. वादीले पेश गरेको मोटर सर्भिसको स्याहा नक्कल सो जग्गा र त्यसमा बनेको ग्यारेजसमेतको लागि चाहिने खर्च रामराज मोहनविक्रम शाहको तहविलबाट खर्च भएको देखिँदा जग्गा वादीहरूको तर्फबाट खरीद भएको देखिन आउँछ । भोगको कुरा तिरोको रसिदबाट प्रमाणित हुने हुँदा तिरो कस्ले तिरेको रहेछ भन्ने कुरालाई वादीहरूले तिरेको भन्न स्वीकार गर्दै वादीलाई दोहरो रसिद दिएको भन्ने प्रतिवादीको भनाई छ । दोहरो रसिद दिएको भए प्रतिवादीहरूसँग पनि रसिद हुनुपर्ने मिसिल हेर्दा प्रतिवादीले १९ सालको मात्र रसिद पेश गरेको देखिनाले सो रसिद पनि यो मुद्दा १७ सालमा दायर भइसकेपछिको हुँदा प्रमाणलायक नदेखिनाले प्रतिवादीको भोग प्रमाणित हुन नसक्ने वादीबाट पेश भएको भनेको रसिदबाट जग्गा सु.जितेन्द्रराजका नाममा भए पनि भोग वादीहरूकै देखिन आउँछ । यस्तो अवस्थामा सु.जितेन्द्रराजको नाममा दर्ता भएपछि भोग वास्तवमा वादीहरूको प्रमाणित हुन आएको देखिनाले सम्पत्ति वादीहरूकै भई सु.जितेन्द्रराजकै नाममा भइरहेको सिद्ध हुन आउँछ । जग्गा वादीहरूकै भोगको हो भन्ने कुरा जितेन्द्रराजले सीता महारानीलाई लेखेको पत्रको नक्कलबाट स्वीकार गरेको देखिन्छ । सो पत्र जितेन्द्रराजले लेखेको मलाई थाहा छैन भन्नेसम्म प्र.गंगादेवीको भनाई भई जालसाजी भन्न सकेको छैन । सो जग्गामा घर बनाउन नगरपालिकाबाट सु.प्रेमराजको दर्खास्त परी कारवाई भएकोमा जितेन्द्रराजको उजूर परेको नदेखिएको यही जग्गाको गोदाम घरको भाडा सु.प्रेमराजले इश्वरीचन्द्रबाट भरी पाउने ठहरी धरान जिल्ला अदालतबाट अन्तिम फैसला भएको देखिएकोले वादीकै हकभोगको भन्ने प्रमाणित भइरहेको झगडा परेको घर जग्गा वादीहरूको हक भोगको ठहर्छ । जितेन्द्रराजले आफ्नो हक नपुग्ने जग्गा घर जालसाजबाट गंगादेवीलाई राजीनामा गरिदिएको देखिँदा राजीनामा बदर हुनेसमेत ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत गंगादेवीको पुनरावेदनपत्र ।
१०. सु.जितेन्द्रराजको चिठ्ठीको हकमा पनि सु.जितेन्द्रराजको हस्ताक्षरको होइन । कीर्ते खडा गरी पेश गरेको हो । प्रेमराज मास्के हस्ते पोत बुझाउन पठाउने गरेको थियो । प्रेमराजसँग सो रसिदहरू जिम्मा रहेको निजबाट लिई पेश गरेको हो जग्गा मेरै श्रीमानको हो र पोत पनि उहाँले नै बुझाउनु भएको हो भन्ने समेत गंगादेवीको बयान ।
११. पेश गरेको सक्कल चिठ्ठी कागज कीर्ते होइन । जग्गा लिनाखाना निमित्त कीर्ते भनेको हो भन्ने सध्य वादी मनमोहनविक्रम हरिविक्रमको वा. इन्द्रकुमारको बयान ।
१२. जितेन्द्रराजको नाममा खरीद भएको र निजकै नामबाट तिरो भरो चलेको जमीनलाई वादीको हक ठहराउन दर्तावाला जितेन्द्रराजले रजिष्ट्रेशन ऐनको रीत पुर्याई लिखत गरेको छ भन्न नसकेको ऐनको रीत बेगरको लिखतले एकाको हक अर्कामा सर्छ भनी ठहर गर्न भएन । आफ्ना कारिन्दाका नाममा खरीद गरेको र स्याहामा निजले बुझेको खर्च लेखेको प्रमाणबाट आफ्ना मानिसका नाममा खरीद दर्ता गरेको हो भनी प्रमाण देखाउँछ, तापनि विराटनगर नगरपालिकाको पूर्जि र नक्सा प्रेमराज मास्केको नामबाट ग्यारेजहरू बनाएको भई वादीतर्फबाट दखल चलन गरेको भए आफ्नै नामबाट त्यस्तो पूर्जि लिनुपर्ने थियो र उसैबखत दर्ता गराउनु पर्ने थियो । जमीनमा आफ्नो हक गराउन सकेको नदेखिएकोले उक्त झगडा परेको ।४ कट्टा जग्गा दर्ता गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । आफ्नो दर्ताको भनी गंगादेवीलाई सु. जितेन्द्रराजले राजीनामा गरेको जालसाजी हो भनी ठहर गर्नलाई कीर्ते कागजको ३ नं.बमोजिम कागज खडा गरेको भएमात्र उजूर पुग्ने थियो । हक नपुग्नेले लिखत गर्यो भन्ने मुद्दामा हक बेहकको निर्णय हुने र झुठ्ठा काम गरेर अर्काको हक मेट्ने भएमात्र जालसाज मुद्दा हुने हो । लिनेदिने दुवै थरले व्यवहार साँचो गरेको हो भनी भनेकोमा जवाफदेही आफु आफुले बकेको कुरामा बीचको अर्को मानिसको उजूरबाट व्यवहार व्यहोर्नै नपर्नेले गरेको उजूरी लिनुदिनु गरेको नै होइन भनी ठहर गर्न मिल्ने देखिएन । त्यसकारण जालसाजीतर्फ यो मुद्दा चल्न सक्दैन । राजीनामा बदर हुने र वादीहरूकै नाममा दर्ता गर्ने ठहराएको अञ्चल अदालतको इन्साफ केही गल्ती हुन्छ भन्ने समेत २०२७।५।२५।५ को डिभिजन बेञ्चको फैसला ।
१३. मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिशमा तिरोको रसिद वादीतर्फबाट पेश भएको छ प्रतिवादी आफूले तिरो तिरेको रसिद पेश गर्न सकेको छैन । जुन जग्गामा ग्यारेज घर बनेको छ । वादीको कारिन्दा सु.प्रेमराजले नक्सा पास पूर्जि पाई बनेको देखिन्छ । त्यसबाट भोग वादीको भन्ने प्रमाणित हुन्छ । सु.जितेन्द्रराजले मेरो नाममा खरीद भएको जग्गा हजुरको नाममा दाखिल दर्ता गरिबक्से हुुन्थ्यो भनी लेखेको चिठ्ठी हक छोडेको लिखतसरह पास गराउनुपर्छ भन्न मिल्दैन । पास नभए पनि प्रमाण लिनुपर्छ । ९२ सालको स्याहामा मोटर सर्भिसको कामको ग्यारेज बनाउन निमित्त जग्गा खरीद रजिष्ट्रेशन खर्चसमेत सुब्बा जितेन्द्रराज कं.रू.३६७। भनी खर्च लेखेको देखिएको कुरा प्रतिवादीले भन्न नसकेकोबाट पनि वादीतर्फको भोग भन्ने देखिने सो गोदाम वादीतर्फबाट बहालमा दिई भोग गरेको बंसिलालसमेतले श्री ५ सीता महारानीलाई गरिदिएको कबुलियतबाट देखिएको सो कबुलियतमा प्रतिवादीले विरोध गर्न नसकेकोबाट झगडा परेको घर जग्गा वादीको हकभोग भन्ने देखिने गोदाम ग्यारेज भाडामा दिई भोग गर्दा उजूर गरी हराएको भन्ने प्रमाण दिन सकेको छैन । त्यसकिसिमबाट भोगचलन गर्दा पनि उजूर बाजूर नगरी चित्त बुझाई बसेकोले तत्कालिन मुलुकी ऐन घर बनाउनेको २१ नं. ले वादीको हकभोग पक्का भइसकेको छ । सो जग्गामा बनेको घरको भाडा दिलाइपाउँ भनी सु.प्रेमराजले उजूर गरेको मुद्दामा पाउने गरी फैसला भएको देखिएको वादीको भए त्यसरी हार्नु जित्नु गर्दा उजूरी गरी बदर गराउन सक्नु पर्ने नसकेकोबाट समेत झगडा परेको घर गोदाम वादीहरूकै हकभोग देखिन आएको जग्गा पजनीको २ क.नं. को बनौटले पनि हकभोग गरिरहेको जग्गा जहिलेसुकै पनि दर्ता गर्न सक्ने व्यवस्था भएको पनि देखियो । राजीनामा जालसाजी हो, होइन भन्नेतर्फ हेर्दा दाइजो पेवाको रूपैयाँलाई कर्जा लियाँ भन्ने लेखिएको कताबाट कस्ले के कति दाइजो पेवा दिएको हो सो प्रतिवादीले लेख्न नसकेको आफ्नो सगोलको स्वास्नीलाई राजीनामा दिएको व्यवहार देखाउनु खाली आफ्नो भोग नभएको जग्गा कब्जा गर्न जालजुक्ति गरेको देखिन्छ । कीर्ते कागजको ३ नं.मा यो व्यवहार दुरुस्त मिल्न आउने हुँदा जालसाजीमा मुद्दा चल्न सक्दैन भनी ठहराएको मिल्दो कुरा नदेखिएकोले राजीनामा गरिदिएको व्यवहार जालसाजी देखिँदा दोहर्याउन आदेश बक्सनु पर्ने भन्ने समेत उल्लेख भएको रहेछ ।
१४. निवेदक तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरेले आफ्नो बहसमा ग्यारेज मेरा नाममा र जग्गा जितेन्द्रराजको नाममा भए पनि सो घर जग्गा निवेदककै हो भन्ने सर्भेमा सु.प्रेमराजले कागज गरेको र सो जग्गा खरीद गर्नके भनी जितेन्द्रराजकै स्वहस्ताले सबै खर्च लेखी स्याहा भएको पनि छ गंगादेवीलाई लिखत गर्नु अघिसम्मको तिरो बुझाएको रसिद पनि निवेदकसँग छ । सो जग्गा वादीको हो, जितेन्द्रराजको भाग बण्डा भएको बण्डामा सो जग्गा उल्लेख भएको नहुनाले समेत आफ्नो कारिन्दा जितेन्द्रराजको गरिराखेको निवेदककै हकभोगको सम्पत्ति हो भन्ने उक्त सबूत प्रमाणबाट देखिएकै हुँदा आफ्नो हकै नपुगेको जग्गा जितेन्द्रराजले गंगादेवीलाई बिक्री गरिदिएको लिखत जालसाजी हो भन्ने सिद्धै हुनाले डिभिजन बेञ्चको इन्साफ मिलेको छैन । सो जालसाजी लिखत बदर भई निवेदकको हकभोग कायम हुनुपर्छ भन्ने समेत र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्टले ९२ सालमा गैरकानूनी काम गरेको भनी मुद्दा परी हराएको कारिन्दा जितेन्द्रराजको नाममा निवेदकले जग्गा खरीद गरिराखेको होला भन्ने पत्यारलायक नहुने जितेन्द्रराजको नाममा जग्गा खरीद गरिराखेको नै यदि भए २००० सालमा भएका सनदबमोजिम निवेदकले आफ्नो नाममा दर्ता गर्न सक्नु पर्ने नसकेको ०१७ सालमा यो मुद्दा दायर भइसकेपछि १९ सालमा घर जग्गा निवेदककै हो भनी सु.प्रेमराजले कागज गरेको भनेको प्रमाण लाग्न नसक्ने निवेदकले खरीद गरेको जितेन्द्रराजको नाममा राखेको देखिने भएको घरसारको कागजहरू प्रमाण लाग्न नसक्ने भएकोले जितेन्द्रराजको नाममा दर्ता तिरो हकभोग भएको जग्गामा निवेदकको हकदैया नै नपुग्ने हुनाले वादी दावा नै नपुग्ने र जालसाजी लिखत बदर गरिपाउँ भन्ने र हकभोग कायम गरिपाउँ भन्ने २ बिषय भएको फिराद तत्कालिन मुलुकी ऐन अ.बं. ९८ नं. ले लाग्न नसक्नेसमेत हुनाले डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१५. यसमा हाम्रो हकको जग्गा र सो जग्गामा बनेको घर गोदामलाई मेरो हकको भनी सुब्बा जितेन्द्रराजले आफ्नो एकाघरको स्वास्नीलाई राजीनामा दिई जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादी दावा पुग्न सक्ने नसक्ने के हो यसकुराको निर्णय दिनु पर्ने रहेछ ।
१६. जितेन्द्रराजले गंगादेवीलाई राजीनामा गरिदिएको जग्गा जितेन्द्रराजकै नामबाट खरीद भई निजकै नाममा दर्ता भएको भन्ने कुरामा वादीको पनि विवाद नभएको र जितेन्द्रराजका नाममा दर्ता भएको जग्गालाई रजिष्ट्रेशनका ऐनको रीत पुर्याई लिखत गरेको छ भन्न वादीले नसकेकाले ऐनको रीतबेगरको लिखतले एकाको हक अर्कोमा सर्छ भनी अदालतबाट ठहर गर्न भएन भनी डिभिजन बेञ्चबाट छिनेको देखियो । जितेन्द्रराज हाम्रा तहबिलको काम गर्ने कारिन्दा हुनाले जग्गा निजका नाउँमा खरीद भए पनि हाम्रो तहविलकै रूपैयाँले खरीद भएको भन्ने र घर जग्गा हाम्रो भोगमा रहेको भन्ने वादी दावी हुँदा मूल प्रश्न पहिले यसैमा विचार गर्नुपर्ने हुन आयो ।
१७. जितेन्द्रराज फिरादीका बुबा मुमाका तहविलको काम गर्ने कारिन्दा हैन भन्ने कुरामा गंगादेवीको विरोध छैन झगडा पर्न आएको जग्गा ९१ सालमा जितेन्द्रराजका नाममा राजीनामा हुँदा जग्गा खरीद गर्ने र ग्यारेज बनाउने खर्च रामराजा मोहनविक्रम शाहका तहविलबाट जितेन्द्रराज हस्ते खर्च लेखिएको स्याहा नक्कल पेश हुन आएको त्यसतर्फ पनि प्र.गंगादेवीको विरोध छैन । जितेन्द्रराजकै आँगनबाट खरीद भएको जमीन भई निजकै हक चलनको भए जितेन्द्रराजका भाइहरूको अंशबण्डा हुँदा यो जमीनलाई पनि देखाई बण्डा गर्न पर्ने सो पनि भएको देखिँदैन घर जग्गाको भोगको सबूत तिरोभरो गरेको रसिद हो । रसिद फिरादीतर्फबाट पेश हुन आएका छन् । तहविलको काम गर्नेमा पहिलेको जितेन्द्रराज पछिको प्रेमराज भन्ने देखिन्छ र यो जग्गामा घर ग्यारेज बनाउन सुब्बा प्रेमराजले मोरंग विराटनगर नगरपालिकामा दर्खास्त दिई जनाउ लिएको सबूत आएको छ । जग्गा ग्यारेज सीता महारानीकै हो म र जितेन्द्रराज तहबिलको काम गर्ने मानिस हुँ भनी सो ग्यारेज घरमा आफ्नो कुनै हक नभई सीता महारानीकै हो भनी प्रेमराजले लेखेको छ । यसो नभई खुद जितेन्द्रराजकै आर्जनबाट किनेको निजकै हकभोगको जग्गा नभए त्यसमा प्रेमराजले दर्खास्त दिई ग्यारेज बनाउने पूर्जि पाउँदा त्यसउपर जितेन्द्रराजले उजूर गरी बदर गराउन पर्ने सो गर्न र आफ्ना नाममा खरीद भएको जग्गामा प्रेमराजले घर ग्यारेज बनाउन नगरापालिकामा दर्खास्त दिनु पर्ने अरू कारण देखाउन पनि प्रतिवादीले नसकेकोले फिराद दावीबमोजिम तहविलको काम गर्ने कारिन्दा भएका नातालेसम्म तहविलका मानिसहरूका अरौटबमोजिम कसैका नामबाट जग्गा खरीद हुने कसैका नामबाट घर ग्यारेज बनाउने दर्खास्त दिने गरेको रहेछ भन्ने देखिएको यतिमात्र नभई कुनै ग्यारेज गोदामहरूमा भाडामा बस्नेहरूले पनि सीता महारानीकै भनी हस्ते सुब्बा प्रेमराज भनी जनाई कबुलियत गरेका लिखतहरू भनी पेश हुन आएका भाडाकै बारेमा र इन्स्योरेन्स बारेमा मुद्दा पर्दा सुब्बा प्रेमराजले सीता महारानीलाई बुझाएको भाडासमेत सु.प्रेमराजले प्र.इश्वरजंग ठाहेवासँग भरिपाउने ठहरी तत्कालिन धरान जिल्ला अदालत र वर्तमान कोशी अञ्चल अदालतबाट ०२०।३।९।१ मा मुद्दा निर्णय भएको र यसै घर जग्गाका बारे नारायणविक्रम हरिविक्रमसमेतले खिचोला गर्यो भनी यस मुद्दाको प्र.गंगादेवीले उजूर गर्दा दोहरा उजूर गरेको भनी २०।७।२७।४ मा मोरंग विराटनगर इलाका अदालतबाट निर्णय भएको सो इन्साफ अन्तिम भइरहेको प्रमाणको मिसिलबाट देखिन्छ । खुद सुब्बा जितेन्द्रराजले सीता महारानीलाई १५।१०।५।६ मा लेखेको चिठ्ठीमा गोदाम र मोटर ग्यारेज भनिरहेको जग्गा नै आजसम्म मेरै नाममा छ । भविष्य मेरो शेषपछि झमेला नहुने गरी हजुरका नाममा वा जसकोमा हुन्छ नामसारी गराई राखिबक्से हजुरलाई राम्रो होला भन्ने उल्लेख भएकोले समेत तहविलमा काम गर्ने कारिन्दा यसका नाताले सो जग्गा खरीद हुँदा जितेन्द्रराजका नाममा लिखत भई दर्तामा पनि निजकै नाम भएका कारणले मात्र यो जमीन र ग्यारेजको स्वामित्व नै जितेन्द्रराजको भन्न ठहराउन नमिल्ने हुँदा यस किसिमको दर्ताका आधारबाट ऐनबमोजिमको लिखत बेगर एकको हक अर्कामा सर्छ भन्न भएन भनी जग्गा ग्यारेजको हक स्वामित्व नै जितेन्द्रराजको कायम गरेको डिभिजन बेञ्चको निर्णय मिलेको देखिन आएन ।
१८. सो घर जग्गालाई मेरो हकको भनी जितेन्द्रराजले गंगादेवीलाई गरिदिएको राजीनामा जालसाजी हो भन्ने दावातर्फ व्यवहार बोक्न नपर्नेले गरेका उजूरीबाट लिनुदिनु नै गरेको होइन भनी ठहर गर्न मिल्ने देखिएन । जालसाजतर्फ उजूर भन्न सक्दैन भन्ने डिभिजन बेञ्चको ठहरलाई यो घर जग्गा फिरादीहरूका हकभोगको देखिन आएको कुरा माथिकै प्रकरणमा उल्लेख गरिसकेकाले फिरादीहरूको घर जग्गालाई मेरो हो भनी झुठ्ठा कुरा लेखी निजहरूको हक मेटिने गरी मिलेमतोबाट गरेको व्यवहार कीर्ते कागजका महलको ३ नं. अन्तर्गत परी जालसाजी ठहर्ने हुँदा सो कुरामा उजूर गरी बदर गराउन पाउने फिरादी सरोकारवाला नै व्यक्ति देखिन आउनु भएकोले त्यस्तोले गर्नुभएको उजूरीलाई व्यवहार बेहोर्न नपर्ने अर्थ गरी जालसाजीतर्फ मुद्दा चल्न सक्दैन भनी डिभिजन बेञ्चले दिएको निर्णय पनि मिलेको देखिएन । फिरादीहरूका हकभोगको जग्गालाई मेरो हकको भनी झुठ्ठा कुरा लेखी गरेको व्यवहार जालसाजी ठहर्ने ।
१९. जितेन्द्रराजले सीता महारानीलाई लेखेको चिठ्ठी रजिष्ट्रेशन पास नभएको सो चिठ्ठी प्रमाण नलाग्ने भन्नेतर्फलाई ऐनले रजिष्ट्रेशन पास गर्न पर्ने लिखत पास नभए पनि त्यसमा भएका अरू बोलीहरू मुद्दाको रूपरेखा बुझ्नाको लागि प्रमाणमा लिन केही कानूनी बाधा नदेखिएको भनी तुगलवति लालवती राजपुतिनी निवेदक विरुद्धले कसिवबहादुर बस्नेत भएको जिमिदारी मुद्दामा दे.फु.नं. ५३ मिति १८।१२।२१ मा फुल बेञ्चबाट निर्णय भइरहेको पनि देखिन्छ । यसमा त त्यसो पनि नभई उक्त चिठ्ठी ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने बाध्यता भएको पनि देखिएन । उक्त चिठ्ठी कीर्ते हो भनी प्र.गंगादेवीले बयान गरेकोमा कीर्ते हो भन्न ठहराउन मिल्ने सबूत गुजार्न निजले नसकेकाले सबूतको अभावमा उजूरी दावी प्रमाणित नभएका कुरामा कसूर कायम गर्न मिल्दैन ।
२०. घरसारको व्यवहार भए पनि त्यसलाई मान्यता नदिई कानूनबमोजिम नै गरेको छ भनी विपक्षी पक्षका अधिवक्ताले दे.फु.नं. २० निर्णय मिति ०२०।९।१६।३ को निवेदक बबुला धुनिया जि.श्रीराम कुर्मी भएको उखडा जग्गाको पोत बुझाई दिलाइपाउँ भन्ने मुद्दामा घरायसमा इमान धर्मबाट कानून मिलाई व्यवहार गरेकै भए पनि झगडा परी अदालतको प्राङ्गणमा आए पछि त्यस इमानधर्मबाट गरेको भनी कानूनले गरेको तरिका नअपनाए पनि हुन्छ पनि भन्न नमिल्ने भनी निर्णय भएको नजीर देखाउनु भएकोलाई सो मुद्दाको उजूरी व्यहोरा र यो मुद्दाको उजूरी व्यहोरा एक मिलानको देखिन आएन । यस मुद्दामा कानूनको तरिका र व्यवहारको परीस्थिति बेगल पनि नभई आफ्ना तहविलको काम गर्ने कारिन्दाहरूका नाममा जग्गा खरीद गरी जग्गा र सो जग्गामा बनेको घरको आयस्ता आफैं भोग गरी तिरो भरो समेत आफ्नै तर्फबाट गरी भएको हुँदा अरूका नाममा लिखत गरी जग्गा आफैंले भोग गरेको कबुलियत लिखत रसिद प्रमाणसमेतबाट देखिनाले जग्गा घर वादीकै हकको देखिन आएको छ ।
२१. अतः फिरादीहरूका हकभोगको जग्गालाई मेरो हकभोगको भनी झुठ्ठा व्यहोरा पारी जितेन्द्रराजले आफ्नो एकाघरको स्वास्नी गंगादेवीका नाममा गराएको राजीनामा जालसाजी ठहर्ने हुँदा सो लिखत बदर गरी जालसाज गरेमा सजाय गर्ने र जग्गा गोदाम ग्यारेज फिरादीहरूको कायम गरी छिनेको इन्साफ जनकपुर अञ्चल अदालतको मनासिव छ । सो इन्साफ उल्टाई छिनेको ०२७।५।२५।५ को डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । जितेन्द्रराजले सीता महारानीलाई लेखेको चिठ्ठी कीर्ते हो भनी बयान गर्ने प्र.गंगादेवीको जिकिर पुग्न सक्दैन । तपसीलबमोजिम गरी मिसिल बुझाइदिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले डिभिजन बेञ्चको ०२७।५।२५।५ को फैसलाले गर्ने गरेको देहायको कलममा देहायमा लेखिएबमोजिम गर्नु भनी कानूनबमोजिम लगत दिने ........................१
वादी देहायका मानिसके डिभिजन बेञ्चको फैसलाले लाग्ने गरेको देहायको जरिवाना मुद्दा दोहर्याउँदा स.अ.ल.न.विभागमा ०२८।७।२६ मा बुझाएको देखिएको र हाल सो जरिवाना नलाग्ने भएकोले कानूनको रीत पुर्याई देहायको वादीलाई देहायबमोजिम फिर्ता दिने १,
नारायणविक्रम शाह के.रू.१।, हरिविक्रम शाहके रू.१।, मनमोहन विक्रम शाहके रू.१।
इ.अ.सर्लाहीको ०२१।३।१३ को फैसलाले वादीलाई गर्ने गरेको जरिवाना रू.१५। नलाग्ने गरेको जनकपुर अञ्चल अदालतको ०२४।७।२४।३ को फैसलाबमोजिम लगत कट्टा गर्नुपर्दैन । ई.अ.सर्लाहीको फैसलाबमोजिम गर्ने डिभिजन बेञ्चले गरेकोमा हाल सोबमोजिम गर्नुपर्देन डिभजिनबेञ्चको फैसलाको लगत काटिदिने र जनकपुर अं.अ.को लगत कायम राख्ने भनी सर्लाही जि.अ.मा लेखी पठाउने.....................२
प्रतिवादी गंगादेवी के देहायको कलममा देहायबमोजिम गर्नु भनी सर्लाही जि.अ.मा लेखिपठाउने...................... ३
अञ्चल अदालतले गर्ने गरेको जरिवाना रू.११८७।५० धनुषा जि.अ.मा ०२४।१०।१८।५ मा बुझाएकी सो नलाग्ने जरिवाना रू.११८७।५० फिर्ता दिने गरेको डिभिजन बेञ्चको फैसला लगतबमोजिम गर्न परेन सो लगात काटी अञ्चल अदालतको लगत कायम गर्ने १
चिठी कीर्ते भनी दावी लिएको झुठ्ठा ठहरेकोले विगो नखोलिएको हुँदा दण्डसजायको १८ नं. ले रू.१। जरिवाना हुन्छ । वारेस भई बेरुजु हुँदा कानूनबमोजिम असूल गर्ने २
देहायको प्रतिवादीलाई जालसाजीतर्फ लाग्ने गरेको जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता र नभए लगत काटी डिभिजबेञ्चको फैसलाले गरेकोमा सोबमोजिम गर्नुपर्दैन सो लगत काटिदिने......................४
हिरण्यमान मास्के रू.१०।, हेमबहादुर के.सी.रू.१०।, कृष्णदेवलाल के.रू.१०।
जनकपुर अं.अ.को ०२४।७।२४।३ को फैसलाले वादी दावीको जग्गा वादीको नाममा नामसारी दाखिल दर्ता गरिदिनु भन्ने लगत कट्टा गर्ने डिभिजन बेञ्चको फैसलाले गरेकोमा हाल सोबमोजिम गर्नुपर्दैन सो लगत काटी अञ्चल अदालतको लगत कायम राख्नु भनी सर्लाही जिल्ला अदालतमा लेखिपठाउने....................५
डिभिजन बेञ्चको फैसलाले केही इन्साफ उल्टीमा अञ्चल न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तवको रेकर्ड राख्ने गरेकोमा हाल सोबमोजिम गर्नुपरेन भनी स.अ.जनरल विभागमा सूचना गर्ने २
हामीहरूको सहमती छ ।
न्या. प्रकाशबादुर के.सी.
न्या. ब्रम्हदत्त तिवारी
इति सम्वत् २०३० साल फागुन १८ गते रोज ६ शुभम् ।