शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९९ - अंश

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ७९९            ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर १४५

फैसला भएको मिति : २०२८।१०।२४।६ मा

पुनरावेदक : वाग्लुङ भीम पोखरा कुथुर्के बस्ने खडानन्द कँडेल

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने रामचन्द्र कँडेल

मुद्दा : अंश

(१)   आफू आफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन समेत पास भइराखेको स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखित नभएको भन्ने मात्र कुराले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था नदेखिने ।

            ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखित बेगर बण्डा भइसकेको कायम मान्न नमिल्ने भन्ने डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्तले तर्क उठाउनु भएको हकमा दुवै भाइको मञ्जुरीले बण्डा गरी आफ्नो भाग बण्डा आफूआफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन पाससमेत भई राखेको यस स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखत नभएको भन्ने मात्र कुराले फेरि अंशबण्डा गर्दा अघि बण्डा लिएदिएको सम्पत्तिमा घटीबढी हुन गई अन्याय पर्न पनि जाने हुनाले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था देखिँदैन ।

(प्रकरण नं. १०)

पुनरावेदक तर्फबाट :

विपक्षी तर्फबाट :

उल्लिखित मुद्दा : (१) इन्द्रगोपाल श्रेष्ठ वि.कैलास श्रेष्ठ, अंश,

                        (२) दे.फु.न. ९२ अकलबहादुर खड्का विरुद्ध गणेशबहादुर खड्का, अंश

                        (३) दे.फु.नं. ८९ नारायणप्रसाद पाण्डेविरुद्ध महालक्ष्मी पाँडेनी, अंश

                        (४) दे.फु.नं. ८०, देवेन्द्रशमशेर वि.लिलाशम्शेर, अंश

फैसला

     प्र.न्या. रत्नबहादुर विष्ट

      १.     २००० सालमा बाबु र २००७ सालमा आमा परलोक भएपछि श्रीसम्पत्ति स्याहारी भाइ रामचन्द्र बसेको र म भारततर्फ नोकरीमा रहेकोमा २००९ सालमा आई अंशबण्डा गरौं भन्दा बाबुको पालामा केही जग्गा बन्धकी गएको र मैले पनि केही बन्धकी लिएको राजीनामा भएपछि ऋणधन बाँडौंला अहिले भाउजुलाई जीवन वृत्तिसम्मको लागि तिरो ।५० को दरले तिरो रु.।६६।२ को कुथुर्के भन्ने पाखो १ तिरो रू.।१३ को ठाउँको पाटो १ तिरो रू.१।३७ को कुथुर्के खेत ।३ तिरो रू.२। को मरुवा खेत मुरी ।५ सम्म जीवनवृत्ति दिएको लिई २००९।११।१ देखि मानो छुट्टी बसेको त्यसपछि फेरि भारत गई बसे पनि १,२ बर्ष बिराई छुट्टीमा आउने गरेकोमा आखिर २०२० साल फागुणदेखि घर आई बसेको त्यसपछि रीतपूर्वकको अंश देउ भन्दा नदिई २००९।११।१ मा नै बण्डा भइसकेको भनी रू. ७००००। को जेथामा रू.१५,०००। को मात्र दिने नियत गरेको अंशबण्डाको लिखत पास नभएसम्म बण्डा भएको मान्न नसकिने हुँदा उक्त २००९।११।१ सम्मको तायदाती लिई आधि भाग दिलाइपाउँ भन्ने समेत व्यहोराको ०२१।५।१० को खडानन्दको वादी ।

      २.    बाबु आमाका शेषपछि २००८ सालमा चल अचल जेथाको वादीसँग मेरा अंशबण्डा भएको सो कागज वादीसँगै छ । वादीसँग आँठा साँधमा झगडा परी सो रिसले आगो लगाई दिन्छु मार्छु पिट्छु भन्ने आदि कुरा गरे भनी बा.गो.मा निवेदन दिएको र पछि आशय करणी मुद्दा दिई मिलापत्र भएपछि फेरि मेरो अंशको जग्गामा वादीसमेतले बाली लुटेमा उजूर दिएको र सो लुटेको बाली खाउँला भन्ने नियतले फेरि मलाई कुटपिट मुद्दा र यो अंशमुद्दा दिएको हो छुट्टी भिन्न भएदेखि वादीको अंश भागको जग्गा उनैले र मेरो भागको मैले नै भोग गरी तिरो तिरी आएको छु बाबु आमाको जिउनी जग्गा काजक्रिया गर्दा रू.१०००। मा बन्धकी राखेको पछि दाजुले मलाई रू.५००। को तमसुक गरिलिएकोमा सो रूपैयाँ बुझाई फट्टा पनि लिएको छु । अंश भएपछि साँहिली आमा खुतिको बन्धकी र निजको छोरा भविलालबाट राजीनामा गरिलिएको जग्गा र अंशबाट मेरो हकभोग दर्ताको मरुवा भन्ने खेत मुरी ।१० वरपतिलाई भोगबन्धकी पास गरी दिएको सो लिखतमा पश्चिम षडानन्दको अंश पाखो भन्ने किल्ला रहेको र निजै दाजु सो लिखतमा सही बसेको पुछार खण्ड खेत मुरी ।५।३ तिमी रामचन्द्रले हक पक्का गरी खानु भनी २०१३।११।१५ मा कागज लेखिदिएको अनाज मुरी ३।१७ बुझाउने गरी वादी षडानन्दले २०११।२।११ मा ठेक कबूलको कागज गरिदिएको आफ्नाफ्ना जग्गा पायक मिलाई २०२०।११।३०।६ मा सट्टी पट्टिको लिखत इत्यादि व्यवहारका कागजबाट अंशबण्डा भएको कुरा यिनै वादीको लिखतहरूबाट देखिन्छ । वादी लेखाई झुठ्ठा हो भन्ने रामचन्द्रको प्रतिवादी ।

      ३.    जग्गाहरू आफ्नाफ्ना नाउँमा दर्ता दान भइसकेको बण्डापत्र पास भएको छ भनी भन्न नसकेको पेश भएका लिखतहरू पनि घरसारको मात्र भएको बण्डा भएको जग्गा अरूलाई सुक्री विक्री भएको भनी भन्न पनि नसकेको प्रतिवादीका साक्षीहरू कसैले पनि बण्डापत्र भइसकेको छ भनी भन्न नसकेको वादी प्रतिवादीका दोहरा साक्षीले जीवन वृत्तिमात्र लिएको भनी किटानीसाथ बकेको अंशबण्डाको लिखत ऐनबमोजिम खडा गरी पाससमेत हुनुपर्नेमा सो नभएको बण्डापत्र सदर नहुने हुँदा घरायसी कागजहरूको आधारमा मात्र बण्डा गर्न नपर्ने भनी भन्न मनासिव नपर्ने अघि बण्डा भइसकेको भए पनि सदर नहुने भएकाले मानो छुट्टिएको मिति २००९।३।२४ सम्मको तायदातीबाट २ अंशबण्डा गर्नुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरू वाग्लुङ जिल्ला अदालतको फैसला ।

      ४.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.रामचन्द्र कँडेलको पुनरावेदन ।

      ५.    सद्दे ठहर्न आएको कपाली तमसुक र अरू वादीले नै सद्दे भनी सकारेका लिखतहरूमा तिम्रो अंश भोग तिरोको खडानन्दको अंश पाखो मलाई माझखण्डको ।३।१३।२ अंश भागमा परेको हामी २ का नाउँका हकको सबै जग्गा आधिआधि गराई भोगचलन गरी आएको र बाबाका पालाको रू.१०००। मध्ये रू.५००। तिमीले हक पाउने बण्डा आधिमध्ये भन्ने समेत व्यहोराहरूबाट यिनी पुनरावेदक प्रतिवादी र वादी विपक्षीको बीच अघि आफ्नोफ्नो भाग मिलाई भएको खेत, पाखो सबै जग्गाहरू आधिआधि बाँडी भोगचलन गरी अपायक परेजति पछि फेरि लिखतसमेत गरी सट्टीपट्टी गरेको प्रतिवादी पुनरावेदक विदेश जाँदा आफूले ठेकमा लिई कमाएको प्रतिवादीले आफ्नो हक भएको जग्गा पाससमेत गरी वादी विपक्षीलाई समेत साक्षी राखी भोगबन्धक दिएको र यिनै वादी विपक्षीले पनि भाइ रामचन्द्रका नाममा दर्ता भई भिन्न हुँदा मेरो अंश भागमा परी मेरो हक भएको भन्ने समेत व्यहोरा पारी उत्तर किल्लामा रामचन्द्रको खेत भन्ने समेत किल्ला हाली मरुवा भन्ने खेत मुरी ।५ रू.९००। मा वरपतिलाई २०१३ साल माघ १७ गते मालबाट पाससमेत गराई भोगबन्धकी दिई आफ्नो व्यवहार समेत चलाई आइसकेको स्पष्ट देखिन आउँदछ । सुरूबाट बुझिएका साक्षीहरूमध्ये वादीको साक्षी १ जनालेसम्म जीवनवृत्ति लिएको भने पनि पछि जिरहमा म समेत बसी बण्डा गरी दिएको भनी सकार गरेको तर दोहरो साक्षी १ जना वादीको साक्षी १ जना र अरू प्रतिवादीका वर्गसम्मका सबै साक्षीरुले पनि अघि नै बण्डा भइसकेको र तालुकदारले पाखाको तिरो आधिआधि लिइने गरेको छु भनी लेखाई दिएको समेत कारणहरूबाट वादीले २००९ साल फागुनमा जीवनवृत्तिसम्म लिई छुट्टी बसेको हुँदा अंश पाउनु पर्ने वादीको दावी झुठ्ठा देखिएको हुँदा सुरूले अंश दिलाउने गरी बण्डा गरेको गल्ती ठहर्छ भन्ने समेत धवलागिरी अञ्चल अदालतको फैसला ।

      ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत षडानन्द कँडेलको पुनरावेदन ।

      ७.    वादी दावीबमोजिम २००९।११।१ देखि केही जग्गा वादीको श्रीमतीलाई जीवनवृत्तिको निमित्त दिई मानोसम्म छुट्टिएको भन्ने जिकिर भएकोमा प्रतिवादीको भनाई अंशबण्डा भइसकेको र आफ्नोफ्नो भागको जग्गा आफूआफूले तिरो भोग गरिआएको भन्ने भएकोमा त्यसतर्फ के कसो हो भनी हेरेमा वरपतिलाई मरुवा खेत भोगबन्धकी पास गरिदिँदा किल्लामा पश्चिम षडानन्दको अंश पाखो भन्ने किल्ला रहेको सो मा साक्षीसमेत बसेको र २०११।२।११ मा वादीले नै प्रतिवादीलाई ठेक कबूलको कागज गरिदिएको ०२०।११।३० मा आफ्नोफ्नो भागको अपायक जग्गा सट्टिपट्टि पनि भएको कागज र जिउनी रू.१०००। मा रू.५००। तिमीले पाउने बण्डा आधि भन्ने समेत लिखतहरू देखिन आएपछि वादी प्रतिवादीका बीच आफूले पाउनेजति आपसमा विभाजन भई आफ्नोफ्नो व्यवहार गरिआएको भन्ने कुरा प्रष्ट देखिन आउँदछ । घरसारमा अंशबण्डा भई अंशबण्डाको लिखत रजिष्ट्रेशन पास नभए पनि घरसारमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहारसमेत गरिसकेकोमा बण्डा गरिदिनु पर्ने भन्न मिल्ने देखिँदैन भन्ने समेत म समेतको फुल बेञ्चमा निवेदक प्रतिवादी गणेशबहादुर वादी अकलबहादुर क्षेत्री भएको ०२७ साल चैत ३ गते फैसला भएको अंश मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको देखिनाले प्रस्तुत मुद्दामा पनि बिक्री व्यवहार गर्दा पश्चिम षडानन्दको अंश पाखो भन्ने बोलीबाट अंश भाग छुट्टिसकेको भन्ने कुराको सहमती वादीबाटै भएको आफ्नोफ्नो भागमा परेको जग्गाहरूमा अपायक परेजति सट्टापट्टा भएको र साथै यिनै वादीले नै प्रतिवादीलाई ठेक कबूलको कागज गरिदिएको समेत कारणबाट आफ्नो भोगको जग्गा आफ्नो नाउँमा दर्ता नभएको भए तापनि उपरोक्त प्रतिपादित सिद्धान्तअनुसार भोग, बिक्री व्यवहार गरिसकेको हुँदा दर्ता नभएका कारणले मात्र अंशबण्डा गरिदिनु पर्ने ठहराउँदा आफ्नोफ्नो व्यवहार खलल पर्न जाने हुँदा अंश गराइदिनु पर्ने नठहराई वादी दावी झुठ्ठा ठहराएको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिव छ भन्ने माननीय न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंहको राय र वादीले दावा गरेअनुसार अंश छुट्याई दिनु पर्ने हो होइन भन्ने प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने बिषय छ । अघि नै बण्डा भइसकेकोले अब बण्डा गर्नु नपर्ने भनी प्रतिवादीले जिकिर लिनु भएको भए पनि बण्डापत्र लिखत पेश गर्न नसक्नु भएको वादीले जग्गा सट्टापट्टा गरेको लिखत र भोगबन्धकी दिई निखनेको लिखतहरूबाट अंशबण्डा भइसकेको देखिन्छ भनी प्रतिवादीले मुख्य सबूत दिनु भएको भए पनि मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.र तत्कालिन मुलुकी ऐन अंशबण्डाको ४९ नं.र वर्तमान मुलुकी ऐन अंशबण्डाको ३० नं. ले अंशबण्डा गर्दा अंशबण्डा गरी बण्डापत्रको लिखत खडा गरी रजिष्ट्रेशन पास समेत गर्नुपर्ने सोबमोजिम नगरी बण्डा गरेको सदर नहुने व्यवस्था गरेको देखिएकाले घरसारमा भएको कुनै जग्गाको सट्टापट्टा गरेको लिखतको र बन्धकी दिएको घरसारको लिखतको आधारमा बण्डा छुट्टिएको कायम गर्न उल्लिखित रजिष्ट्रेशनको १ नं. अंशबण्डाको तत्कालिन ४९ नं. र वर्तमान ३० नं. ले मिल्ने देखिएन, अंशबण्डाको सम्बन्धमा सर्वोच्च अदालत फुल बेञ्चबाट वादी इन्द्रगोपाल श्रेष्ठ प्रतिवादी कैलाश श्रेष्ठसमेतको २०१६ साल कार्तिक १८ गतेमा फैसला भएको नेपाल कानून पत्रिका पृष्ठ ३१० निर्णय नं. ६३ को अंश मुद्दामा र वादी देवकुमारी प्रतिवादी द्रोणबहादुर भएको अंशमुद्दा नेपाल कानून पत्रिका २०२० साल निर्णय नं. २१२ पृष्ठ १६१ मा प्रकाशित भएको अंशमुद्दामा र निवेदक प्रतिवादी गणेशबहादुर खड्का क्षेत्री वादी अकलबहादुर भएको २०२७ साल चैत ३ गतेमा फैसला भएको अंश मुद्दामा समेत घरसारमा बण्डा गरी नाउँसारी दर्तासमेत आफ्नोफ्नो नाउँमा गराई दर्ता प्रमाणबाटै हक पुगेकोमा बण्डापत्र रजिष्ट्रेशन पास नभए पनि पुनः अंश गरिदिन नमिल्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ । प्रस्तुत मुद्दामा दर्ता आफ्नो नाममा गराएको देखिँदैन । अंशबण्डा भएको रजिष्ट्रेशन पास भएको बण्डापत्रको लिखत सबूत बेगर अंश भइसकेको बण्डा गरिदिनु नपर्ने भन्न मिल्ने देखिएन शुरू वाग्लुङ जिल्ला अदालतको अंश छुट्याइदिने गरेको फैसला मनासिव देखियो । धवलागिरी अञ्चल अदालतले अघि नै अंश भइसकेको अब अंश गरिदिनु नपर्ने ठहराएको मिलेको देखिएन । धवलागिरी अञ्चल अदालतका इन्साफ सदर भएको श्री माननीय न्यायाधीश राजा ईश्वरी जंगबहादुर सिंहबाट भएको फैसलामा म सहमत हुन नसकी राय लेखेको छु । सर्वोच्च अदालत नियमावलीको दफा ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारीको राय भएको ०२७।१२।५।५ को डिभिजन बेञ्चको फैसला ।

      ८.    यसमा तारिखमा रहेका पुनरावेदकको वा.शेषनाथ रोहवरमा रही ०२८।८।२१।३ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा ०२७।१२।५।५ को डिभिजन बेञ्चमा मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहले अघि नै अंशबण्डा भई भोग बिक्री व्यवहार गरिसकेको हुँदा पुनः अंशबण्डा गरिदिनु नपर्ने भन्ने र मा.न्या.श्री ब्रम्हदत्त तिवारीले रजिष्ट्रेशन पास भएको बण्डापत्रको लिखत सबूत बेगर अंशबण्डा भइसकेको कायम मान्न नमिल्ने हुँदा अंशबण्डा गरिदिनु पर्ने भन्ने राय व्यक्त गर्नुभई उक्त डिभिजन बेञ्चमा मतैक्य हुन नसकेबाट निर्णयार्थ यसबेञ्चमा पेश हुन आएको रहेछ उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकेको उपरोक्त बिषयमा यस बेञ्चबाट निर्णय दिनु पर्ने देखिन्छ ।

      ९.    वादी प्रतिवादी २ भाइको अघि बण्डा भए नभएको के रहेछ भन्ने सम्बन्धमा ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखत पेश हुन नआए पनि यिनै वादी प्रतिवादी २ भाइले सबै जग्गा आधिआधि गराई भोगचलन गरिआएकोमा केही जग्गा अपायक परेको भनी पायक मिलाई २०।११।३०।६ मा घरायसमा सट्टापट्टाको लिखत भएगरेको नक्कल पेश भएको प्रतिवादी रामचन्द्र कँडेलले नरपति कँडेललाई ०१३।१०।१९।६ मा रजिष्ट्रेशन पास गरिदिएको भोगबन्धकी लिखतमा पश्चिम षडानन्दको अंशको पाखो भनी किल्ला लेखिएकोलाई स्वीकारै गरी वादी षडानन्द आफूसमेत साक्षी बसेको वादी षडानन्द आफैंले नरपति कँडेललाई मेरा भाइ रामचन्द्रका नाममा दर्ता भई भाइ भिन्न हुँदा मेरो अंश भागमा परी मेरो हक भएको भनी प्रतिवादी रामचन्द्रसमेतलाई साक्षी राखी १ कित्ता खेत ०१३।१०।१९।६ मा भोगबन्धकी पास गरिदिएको तिरो तिरेको रसिद पनि २ भाइको छुट्टाछुट्टै भएको समेत प्रमाणबाट वादी प्रतिवादीहरूले पहिले नै छुट्टी भिन्न भई अंशबण्डा गरी आफ्नोफ्नो भाग आफूआफूले तिरोभरो भोगचलन गरी बन्धक व्यवहारसमेत गर्दै आएको प्रष्ट हुन्छ ।

      १०.    ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखित बेगर बण्डा भइसकेको कायम मान्न नमिल्ने भन्ने डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्तले तर्क उठाउनु भएको हकमा दुवै भाइको मञ्जुरीले बण्डा गरी आफ्नो भाग बण्डा आफूआफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन पाससमेत भई राखेको यस स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखत नभएको भन्ने मात्र कुराले फेरि अंशबण्डा गर्दा अघि बण्डा लिएदिएको सम्पत्तिमा घटीबढी हुन गई अन्याय पर्न पनि जाने हुनाले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था देखिँदैन ।

      ११.    यस्ता ऐनबमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखत नभएका वादी इन्द्रगोपाल श्रेष्ठ विरुद्ध कैलास श्रेष्ठसमेतको अंश मुद्दामा ०१०।११।२७।४ को प्रधान न्यायालय फुल बेञ्चबाट दे.फु.नं. ९२ वादी अकलबहादुर खड्का प्रतिवादी गणेशबहादुर खड्काको अंश मुद्दामा ०२७।१२।३।३ को फुल बेञ्चबाट दे.फु.नं. ८९ वादी नारायणप्रसाद पाण्डे प्रतिवादी महालक्ष्मी पँडेनीसमेतको अंश मुद्दामा ०२८।१।७।३ को फुबलेञ्चबाट दे.फु.नं. ८० वादी देवेन्द्रशमशेर प्रतिवादी लिलाशमशेरको अंश मुद्दामा ०२८।८।१४।३ को फुल बेञ्चबाट दे.फु.नं. ८० वादी देवेन्द्रशमशेरले प्रतिवादी लिलाशम्शेरको अंश मुद्दामा ०२८।८।१४।३ को फुल बेञ्चबाट रजिष्ट्रेशन पास भएको बण्डापत्र लिखत नभए पनि मञ्जुरीले बण्डा गरी आफ्नो भाग बण्डा लिई दर्ता भोग तिरो बिक्री व्यवहारसमेत गरिसकेकोमा पहिले भएगरेको बण्डा बदर गरी पुनः बण्डा गरिदिन नमिल्ने भन्ने समेत ठहर निर्णय भइराखेको पाइन्छ ।

      १२.   तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट पास भएको बण्डापत्र लिखत नभएको भन्नेसम्म कारणले पहिले बण्डा गरी आफ्नो भागबण्डा लिई भोग तिरो गरी केही जग्गा भोगबन्धकी दिनुलिनु समेत गरिसकेको अघिको व्यवहारमा असर पुग्न जाने गरी पुनः बण्डा गरिदिनु पर्ने भन्न न्यायसंगत नहुँदा अंशबण्डा गरिपाउँ भने वादी दावी पुग्न नसक्ने ठहराएको समेत धवलागिरी अञ्चल अदालतको सदर गरी ०२७।१२।५।५ को डिभिजन बेञ्चमा मा.न्या.श्री राजा इश्वरीजंगबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा पुनरावेदन गरेबापत वादीलाई अरू सजाय गर्नु परेन । प्रतिवादी रामचन्द्र कँडेलले शुरू वाग्लुङ जिल्ला अदालतउपर पुनरावेदन गर्दा राखेको कोर्टफी रू.९७।५० वादीले पुनरावेदन गर्दा धवलागिरी अञ्चल अदालतमा ०२५।११।२१।३ मा धरौट दाखिल गरेको उक्त कोर्टफी वादीबाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधिन दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तूर केही नलिई सोही धरौट रहेको रूपैयाँबाट भराइदिनु भनी धवलागिरी अञ्चल अदालतलाई लेखिपठाउन कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

न्या. झपटसिंह रावल

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०२८ साल मार्ग २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु