निर्णय नं. ८०४ - अंश दाइजो

निर्णय नं. ८०४ ने.का.प. २०३१
फूल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १८५
फैसला भएको मिति : २०३०।९।१०।३
पुनरावेदक : का.जि. ज्ञानेश्वर बस्ने यावनिधि तिवारी
विरुद्ध
विपक्षी : ऐ. घर भई ऐ. नरदेवी नेटपाचो डेरा गरी बस्ने हिरण्य गर्भकुमारी तिवारी
मुद्दा : अंश दाइजो
(१) दाइजो पाउने स्वास्नी मरी स्त्री अंश धनको ५ नं. अनुसार मर्नेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजो सम्पत्तिमा अरू अंशियारको अंश लाग्ने नदेखिने, त्यस्तो लोग्ने पनि मरी अर्की स्वास्नी जीवित छँदै अरू अंशियारको भाग लाग्छ भन्नु स्त्री अंशधनको ५ नं. को मनसायको विपरीत हुने ।
उक्त प्रश्नको निराकरणको लागि हेर्दा पैत्रिक सम्पत्तिमा सगोलको अंशियारले अरू कुनै किसिमबाट आर्जन गरेको अंशबण्डाको १८ नं.बमोजिम सबै अंशियारलाई अंश लाग्ने भए किसिमको सम्पत्ति सबै अंशियारलाई अंश भाग लाग्न सक्ने हो । यो त्यस किसिमको सम्पत्ति नभई दाइजो पाउने स्वास्नी मरी स्त्री अंशधनको ५ नं. अनुसार भनेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले र खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजोको सम्पत्तिमा अरू अंशियारको पनि अंश भाग लाग्न सक्ने देखिँदैन किनकी दाइजो पाउने मरेपछि सगोलको अंशियार सबैले खान पाउने भएमा यो यो नाताकाले खान पाउने भनी स्त्री अंशधनको ५ नं.मा नाताको क्रमले खान पाउने विशेष व्यवस्था हुनु पर्ने नै थिएन । उक्त स्त्री अंशधनको ५ नं. को व्यवस्थाबाटै लोग्नेले खान पाउने भई स्वास्नीको हक लोग्नेमा सरी लोग्नेले उपभोग गरी आएको यस्तो दाइजोको सम्पत्ति त्यस्तो हक हुने लोग्ने मरेपछि अपुतालीको २ नं. अनुसार लोग्नेको अपुतालीमा हक हुने अर्को स्वास्नी वादी जीवित छँदै अरू अंशियारसमेतको अंश भाग लाग्छ भन्नु उक्त स्त्री अंशधनको ५ नं. को मनसाय विपरीत हुन जानेसमेत हुँदा अपुतालीको २ नं.बमोजिम अपुतालीको नाताले पोषणनिधिकी स्वास्नी वादीको मात्र एकलौटी हक लाग्ने प्रष्ट छ ।
(प्रकरण नं. १७)
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा ०२८।२।४।३ को डिभिजन बेञ्चबाट छिनेउपर दोहर्याइपाउँ भन्ने यावनिधिको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : जेठाज्यू यावनिधि तिवारीबाट मैले पाउने अंश र सौताको माइतीबाट पाएको दाइजो पेवा ७९।२।३ को खड्गनिसाना फैसलाले पाएको ९८।४।१०।६ मा तायदाती भई जेठाज्यूले बेचबिखन गर्न नपाउने गरी रोक्का राखी खाना खर्च र घर भाडासमेत दिने गरी पाएकोले प्रधान न्यायाधीशज्यूको आदेशले बर्षको रू.१,०००। मैले पाउने भई रहेको उमेर पुगी अंश लिन पाउने भएकाले जेठाज्यू विपक्षी र मेरो खसम पोसनिधिको २ अंश लाग्ने हुँदा पैत्रिक सम्पत्तिको हकमा बराबर र सौताको दाइजो पेवातर्फको ज्ञानेश्वरको घरसमेत तायदातीमा लेखिएको एकलौटी र रोक्का रहेको साल मितिको जग्गा घरको बहाल बालीमध्ये मैले खाना खर्च पाएको कटाई बाँकी हिसाब गरिदिए जिन्सी नदिए नगदी भराई चलनसमेत चलाइदिनु भन्ने आदेश गरिपाउँ भन्ने हिरण्य गर्भकुमारीको निवेदनपत्रका खड्गनिसाना पर्चा कागजसमेत हेरी बुझी अंश दिलाई दिनेतर्फ ऐनबमोजिम चाँडो कारवाई गर्नु गर्न लगाउनु भन्ने ०१९।३।४ गतेको तत्कालिन माननीय प्रधान न्यायाधीशको आदेश ।
३. मैले पाउने ७९।२।३ को खड्गनिसानाबमोजिम तराई लक्ष्मीपुरको विगाहा २६।।३ बिक्री भइसकेकोले सोबाहेक महोत्तरीको जग्गा विगाहा २३।.।।। काठमाडौंको रोपनी १८।२।।।३ र सौता तेजकुमारीको ज्ञानेश्वरको घर जग्गा एकलौटी समेत मेरो हक कायम गरी चलन चलाइपाउँ अंशको हकमा ९८।४।१० को मुचुल्काबमोजिम तायदातीमा लेखिएको पहाडको रैकर गुठी विर्ता र तराइको जो भएको समेत छुट्याई दिलाइपाउँ भन्ने हिरण्य गर्भकुमारीको बयान ।
४. वादी ९५ साल वैशाख ८ गते घर छाडी मानु छुट्टी गए तापनि आधि अंश पाउने बज्यै भद्रकुमारी र आधा ३ भागको २ भाग अंश पाउने आमा दिलकुमारी र मसमेत एकासगोल भई रहिआएको हुनाले बज्यै भद्रकुमारी आमा दिलकुमारी समेतले पाउने आ–आफ्नो अंश भाग ०११।३।३१।५ मा आफ्नो नाति पनाति टंकनिधि इन्द्रनिधीलाई शेषपछिको बकसपत्र रजिष्ट्रेशन पास गरिदिएपछि बज्यै भद्रकुमारी आमा दिलकुमारी परलोक हुनुभएकोले उहाँहरूको भाग अंश पाउनेहरूले चलन गरिआएको हुँदा ६ खण्डको १ खण्ड निज वादीलाई दिनमा मञ्जुर छु भन्ने समेत यावनिधिको बयान ।
५. बज्यै भद्रकुमारीको जम्मा सम्पत्तिमा आधा हक लाग्ने हो उहाँको हक मलाई शेषपछिको बकसपत्र पास गरिदिनु भएकोमा उहाँ परलोक हुनुभएकोले आधा सम्पत्ति मेरो हक हुन आउने हो भन्ने टंकनिधिको बयान ।
६. इन्द्रनिधिले म्याद गुजारी हाजिरै नभएको ।
७. रोक्का रहेको चिजवस्तु वादीलाई थाहा खबरै नदिई अंशियार यावनिधिकै छोरा टंकनिधि, इन्द्रनिधिले एकासगोलकी बज्यै भद्रकुमारी, दिलकुमारीहरूबाट बीचबीचमा बकसपत्र लेखाई लिएकै नाताले वादीले ६ खण्डको १ खण्डमात्र अंश पाउने भन्न नमिल्ने एकाघर सगोलमा रहेका बखत कमाएको धन लाएको ऋण सबै अंशियारले बण्डा पाउने साविक अंशबण्डाको ३७, हालको अंशबण्डाको १८ नं.मा समेत उल्लेख भइरहेकोबाट सौताको दाइजो पेवा एकलौटी पाउँ भन्ने वादी दावी मुनासव देखिन आएन । वादीको उमेर पुगिसकेकोले अंश पाउने नै देखिन आएको बेचबिखन गर्न नपाउने गरी तायदाती भई रोक्का रहेको सोही तायदातीमा लेखी चढेको जग्गा जमीनसमेत लिन खान पाउने गरी दान बकस गरेको इत्यादि व्यवहार सदर मान्न नहुने यस मुद्दामा अहिले तायदाती लिई बण्डा छुट्टिने नभई अघि नै तायदाती दाखिल हुन आइरहेको अहिले सो तायदातीमा चढेको श्रीसम्पत्ति अंश छुट्याई दिनु पर्ने अंशियार वादी र प्रतिवादीमात्र देखिन आएकोले २ बण्डा गरी १ बण्डा वादीले अंश छुट्याई लिन खान पाउने ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला ।
८. सोउपर चित्त बुझेन भन्ने वादी र प्रतिवादी यावनिधि टंकनिधिसमेतको पुनरावेदन।
९. टंकनिधिले तारिख गुजारेकोले निजको पुनरावदेन डिसमिस हुन्छ भन्ने बा.अं.अ.का ०२५।१०।२० को डिसमिसि फैसला ।
१०. वादी प्रतिवादी बाहेक अरू अंशियार नदेखिनाले पैत्रिक सम्पत्ति वादी प्रतिवादी २ जनाको आधा–आधा अंश हक हुने ठहराएको सुरूको मनासिव र दाइजो पेवाको हकमा स्त्री अंशधनको ४।५ नं. ले भाइ बण्डा गर्न नमिल्ने दाइजो पेवावालाको शेषपछि निजको सन्तानले पाउनेमा निजको सन्तान नदेखिनाले वादीको एकलौटी हक लाग्ने हुँदा दाइजो पेवा बण्डा लाग्ने ठहराएको शुरू इन्साफ गल्ती ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२३।१२।१९ को फैसला ।
११. सोउपर चित्त बुझेन भन्ने प्र.यावनिधिको पुनरावेदन ।
१२. २ भागको १ भाग अंश वादीलाई दिलाइदिने गरेको शुरू जिल्ला अदालतको इन्साफउपर भद्रकुमारीको भाग बकस पाउने भनेको टंकनिधिले बा.अं.अ.मा पुनरावेदन दिई डिसमिस गराएको र दिलकुमारीको भाग बकस पाउने भनेको इन्द्रनिधिले शुरू म्याद गुजारी बसेकोले त्यसतर्फ विचार गर्नु नपरी वादी र प्रतिवादीको २ भाग आधा–आधा अंश पाउने गरी बा.अं.अ.ले गरेको इन्साफ मनासिव छ दाइजो पेवाको हकमा स्त्री अंशधनको ५ नं. अनुसार दाइजो पाउने तेजकुमारीको छोराछोरी कुनै सन्तान नदेखिएकोले लोग्ने पोषनिधि परलोक भइसकेकोले हकवालाले नै खान पाउने हुन आयो लोग्ने पोषनिधिले स्वास्नी तेजकुमारीको दाइजोको सम्पत्ति निज मरेपछि खान पाउनेमा लोग्ने पोषणनिधि परलोक भइसकेकाले स्वास्नी लोग्ने समान स्तरमा रहने हुनाले अपुतालीको २ नं. को व्यवस्थाअनुसार लोग्नेको अपुताली स्वास्नीले खान पाउने देखिँदा तेजकुमारीको दाइजो पेवाको सम्पत्ति खाने हकवाला वादी देखिन्छ । वादीले एकलौटी खान पाउने ठहराएको बा.अं.अ.को मनासिव ठहर्छ भन्ने मा.न्या.श्री हेरम्बराजको राय र ।
१३. खड्गनिसाना फैसलाबाट परलोक हुने तेजकुमारीको दाइजो पेवाको श्रीसम्पत्तिमा प्रतिवादीको हक नलाग्ने मर्नेको लोग्नेको मात्र हक लाग्ने भएको र अपुतालीको २ नं.मा उल्लेख भएबमोजिम लोग्नेको अपुताली स्वास्नीले खान पाउने व्यवस्थासमेत भएको देखिन्छ । तेजकुमारी मरी निजको दाइजो पेवाको श्रीसम्पत्तिमा मर्ने पोषणनिधि तिवारीकी श्रीमती जीवित छँदाछँदै अरू अंशियारको हक लाग्न नसक्ने देखिनाले सो दाइजो पेवाको श्रीसम्पत्ति वादी हिरयण्कुमारीले मात्र पाउन सक्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा वादी दावीबमोजिम वादी हिरण्य गर्भकुमारीले आधा अंश पाउने र सौता तेजकुमारी मरी लोग्ने पोषणनिधि तिवारीको एकलौटी हक हुन आएको दाइजो पेवाको श्रीसम्पत्ति वादीले मात्र खान पाउने ठहराई बा.अं.अ.ले गरेको इन्साफ मनासिव ठहरिने हुँदा सहयोगी मा.न्या.हेरम्बराजज्यूको तर्कसँग पूरा सहमती नभए पनि उक्त लेखिएको आधारमा इन्साफ बागमती अञ्चल अदालतको मनासिव ठहराएको निष्कर्षसँग मेरो सहमती छ भन्ने मा.न्या. श्री सुरेन्द्रप्रसाद सिंहको राय भएको ०२८।२।४।३ को डिभिजन बेञ्चको फैसला ।
१४. प्रस्तुत मुद्दा दोहर्याई दिनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा मा.न्या.श्री सुरेन्द्रप्रसाद सिंहले मा.न्या.हेरम्बराजज्यूको रायको तर्कसँग पूरा सहमती नभए पनि भन्ने उल्लेख गरी रायमा भिन्नता प्रकट गर्नुभएपछि त्यस्तो राय नमिलेको मुद्दा सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ को व्यवस्थाअुनसार फुल बेञ्चमा पेश हुनु पर्ने सोबमोजिम गर्ने निर्णय भएको देखिँदैन । दाइजोको हकमा सो दाइजो पाउने तेजकुमारी मर्नासाथ निजको दाइजोमा यो मुद्दा उठेको भए उसबखतको दान दातव्यको ४क, नं.र हालको स्त्री अंश धनको ५ नं. को व्यवस्था लागू हुने व्यवस्था पर्न आउँथ्यो । यसमा त्यसो नभई दाइजो पाउने तेजकुमारी मरेपछि निजको हक ७९।२।३ का फैसलाले लोग्ने पोषणनिधिमा शर्त गई दाइजोको प्रकृति सगोलको आर्जनमा परिणत भइसकेको देखिएकोले त्यस्तो सगोल छँदाको आर्जन साविक अंशबण्डाको ३८ हालको १८ नं. अनुसार सगोलका सबै अंशियारले बाँडी लिन पाउने देखिन्छ । स्त्री अंश धनको ५ नं.अपुतालीको २ नं., हरू प्रयोग गरेर अरू अंशियारको हक नलाग्ने भन्न मिल्ने देखिँदैन । तेजकुमारी परलोक हुनु भएको अवस्था नै निजको दाइजो कस्को हक लाग्ने भन्ने प्रश्न उठेर निजको लोग्ने पोषणनिधिले पाउने भई टुंगो लागिसकेको छ । पोषणनिधिको आर्जनमा परिणत भएपछि स्त्री अंश धनको ५ नं. को प्रसंग बाँकी रहँदैन । सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको।
१५. यसमा वादी दावीअनुसार वादीले आधा अंश पाउने या प्रतिवादी जिकिरअनुसार ६ खण्डको १ खण्डमात्र अंश पाउने के हो भन्ने विवादको हकमा जम्मा सम्पत्तिमा आधा अंश पाउने बज्यै भद्रकुमारी र आधामा ३ भागको २ भागको अंश पाउने आमा दिलकुमारी भनी प्रतिवादीले देखाएकोमा दावीबमोजिम आधा अंश पाउने ठहराई शुरू का.जि.अ.ले फैसला गरेउपर भद्रकुमारीको अंश बकस पाउने भनेको टंकनिधिले बागमती अञ्चल अदालतमा पुनरावेदन गरे पनि आखिर पैरवीमा नरही डिसमिस गराएको र दिलकुमारीको भाग बकस पाउने भनेको इन्द्रनिधिको हकमा इतलायनामाको म्यादमा हाजिर नभई म्याद गुजारेको समेत हुँदा त्यसतर्फ अरू विचार गरिरहनु परेन ।
१६. सौता तेजकुमारीको दाइजो सौता मरी लोग्नेको हक भएको लोग्ने पनि मरेकाले मेरो एकलौटी हक हुने भन्ने वादी र सबैको अंश हक लाग्ने भन्ने प्रतिवादीको जिकिर भएको यो कलमका हकमा कानूनी व्यवस्था हेर्दा स्त्री अंशधनको ५ नं.मा दाइजो पाउने मरेपछि यस्तो दाइजो कस्ले पाउने हो भन्नेकुरामा यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतबमोजिम र त्यस्तो लिखत रहेनछ भने यो यस्तो नाताले पाउँछन् भनी नाताको क्रमले त्यस्तो दाइजो पेवामा हक पुग्नेको व्यवस्था गरेको पाइन्छ, सोअनुसार सँगबसेका या छुट्टी भिन्न भएका छोरा नभएको कारणले दाइजो पाउने मरेपछि सो दाइजोको सम्पत्तिमा ७९।१।३।३ को फैसला समेतबाट लोग्ने पोषणनिधिको हक कायम भएको कुरामा कुनै विवाद छैन । दाइजो पाउने स्वास्नी मरी स्त्री अंशधनको ५ नं. अनुसार लोग्नेको हक हुन आएको सम्पत्ति सबै अंशियारलाई अंश लाग्ने या लोग्नेको शेषपछि दाइजो पाउनेको सौता वादीले एकलौटी खान पाउने के हो सो प्रश्नको यो मुद्दाबाट निर्णय दिनुपरेको छ ।
१७. उक्त प्रश्नको निराकरणको लागि हेर्दा पैत्रिक सम्पत्तिमा सगोलको अंशियारले अरू कुनै किसिमबाट आर्जन गरेको अंशबण्डाको १८ नं.बमोजिम सबै अंशियारलाई अंश लाग्ने भए किसिमको सम्पत्ति सबै अंशियारलाई अंश भाग लाग्न सक्ने हो । यो त्यस किसिमको सम्पत्ति नभई दाइजो पाउने स्वास्नी मरी स्त्री अंशधनको ५ नं. अनुसार भनेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले र खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजोको सम्पत्तिमा अरू अंशियारको पनि अंश भाग लाग्न सक्ने देखिँदैन किनकी दाइजो पाउने मरेपछि सगोलको अंशियार सबैले खान पाउने भएमा यो यो नाताकाले खान पाउने भनी स्त्री अंशधनको ५ नं.मा नाताको क्रमले खान पाउने विशेष व्यवस्था हुनु पर्ने नै थिएन । उक्त स्त्री अंशधनको ५ नं. को व्यवस्थाबाटै लोग्नेले खान पाउने भई स्वास्नीको हक लोग्नेमा सरी लोग्नेले उपभोग गरी आएको यस्तो दाइजोको सम्पत्ति त्यस्तो हक हुने लोग्ने मरेपछि अपुतालीको २ नं. अनुसार लोग्नेको अपुतालीमा हक हुने अर्को स्वास्नी वादी जीवित छँदै अरू अंशियारसमेतको अंश भाग लाग्छ भन्नु उक्त स्त्री अंशधनको ५ नं. को मनसाय विपरीत हुन जानेसमेत हुँदा अपुतालीको २ नं.बमोजिम अपुतालीको नाताले पोषणनिधिकी स्वास्नी वादीको मात्र एकलौटी हक लाग्ने प्रष्ट छ ।
१८. तसर्थ उपरोक्त उल्लिखित कारणहरू समेतबाट अरू सम्पत्तिमा वादी दावीअनुसार वादीले आधा अंश भाग पाउने र सौता तेजकुमारीको दाइजोको सम्पत्तिमा वादीको मात्र एकलौटी खान पाउने ठहराई ०२८।२।४।३ को डिभिजन बेञ्चमा मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
हामीहरूको सहमती छ ।
न्या. वाशुदेव शर्मा,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल पुस १० गते रोज ३ शुभम् ।