निर्णय नं. ९३७ - पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ

निर्णय नं. ९३७ ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३१ सालको देवानी पुनरावेदन नम्बर २
फैसला भएको मिति : २०३२।६।१२ मा
पुनरावेदीका : काठमाडौं जिल्ला काठमाडौं इन्द्रचोक बस्ने मिश्री कुस्लेनी
विरुद्ध
विपक्षी : काठमाडौं जिल्ला काठमाडौं भोसीको टोल बस्ने ऐश्वर्यमान श्रेष्ठ समेत
विषय : पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ
(१) क्षेत्रीय अदालत नियमावली नियम १८ (ङ)–तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने ।
(प्रकरण नं. १६)
फैसला
न्या. वासुदेव शर्मा
१. तथ्य यसप्रकार छ : बाजे गुमान सिं कुस्लेलाई १९५५ साल चैत्र वदी २ रोज ४ का हुकूम प्रमांगी सहितका दस्खत पुर्जि बमोजिम बाजे गुमान सिंबाट नक्सा बमोजिमको घरसमेत तयार भएको घरमा बनेको पसलको बहाल लिने कुरामा गुमानसिंका नाउँमा कारवाई चलाउँदा आखिर बहाल बढाबढ गर्ने गरी १९६७।३।३ मा निर्णय हुँदा बढाबढीमा विष्णुमान समेतले कबुल सकार गरेको आखिर बाजे गुमानसिंको निवेदन पर्दा बढाबढ गर्ने विष्णुमान रत्नमानलाई दिनु पर्दैन घर बाहेक पसलको बाहाल गुमानसिंबाटै लिने गरी पसलसमेत गुमान सिंलाई नै थामी दिनु भन्ने १९६७।१९ मा हुकूम प्रमांगी मुताविक कारवाही भई १९६८।२।३० गते बाजे गुमान सिं परलोक भई छोरा पिताजी चक्रमान भन्ने कान्छाको हक भई उहाँ परलोक भई आमा जेठी जोगलक्ष्मी कान्छी कृष्णमायाँको हक भई आमाको हकमा मिश्री र दिदी कर्णमायाँलाई आमा जोगलक्ष्मीले बकसपत्र पास गरी दिई कान्छी कृष्णमायाँको हक छोरी नातिकुमारलाई बकस दिएबाट रोख पोस मिलाई ०२८।९।२२ मा लिखतसमेत गरी भोगचलन गरिआएको उक्त पसल सहितको घर बनाउन का.न.पं.मा नक्सा दर्खास्त गर्दा मेरो हक भनी विपक्षीहरूले उजूर दिनुभयो । रत्नमान विष्णुमान यो नाताको भनी उल्लेख छैन । सन्तान दरसन्तान पर्याप्त उपभोग गर्न पाउने रिपोर्ट सदर भएको र तिरो भोगसमेत चलाएको स्वेच्छाले राखिएका विपक्षीहरूले अनधिकारको रसिदबाट मेरो भनी रु.५००१। मोलिने पूर्व कुमारको घर, पश्चिम बजार सडक उत्तर मठ दक्षिण काश्मिर बजार यति ४ किल्लाको घरको पश्चिम मोहडा पसल कवल ३ र सो सँगै जोडिएको दक्षिण मोहडाका पसल कवल १ समेत म आफैलाई व्यापार गर्न विपक्षहरूलाई उठाई मेरो हक कायम गरी अड्डैबाट चलन चलाई पाउँ भन्नेसमेत ०२८।१२।१ को वादी ।
२. गुमानसिंको सन्तान दरसन्तान भित्र वा विपक्षी नपर्ने हुँदा सम्पत्तिमा घर र पसलमा हक नलाग्ने हुँदा अ.बं.८२ नं. ले नालिस नलाग्ने भई खारेज गरिदिनु पर्छ । यो वादी विवाहिता छोरी भई मूल पुर्खाको सन्तान दरसन्तानको दायरा भित्र नपर्ने हुँदा घरको हकमा हक नलाग्ने र पसलमा गुमानसिंको हकै पुग्दैन त्यस्तो घर पसलमा वादीले दावा गर्न पाउने हकै छैन गुमानसिंको हक भए बढाबढ गर्नुपर्ने अवस्था छैन वार्षिक रु.५०। सरकारमा बुझाउने गरी मेरो बाजेको नाम सो पसलमा दर्ता रही साविक बहाल बुझाई चलन गरिआएको छु । गुमानसिंको हक भए कबुलियत रहनु पर्ने बाजेको नाममा दर्ता रहने थिएन लिखतहरू देख्न सुन्न पाए नामाकरण गर्नेछु । सुरुदेखि पोता तहसिलमा बहाल बुझाई आएको कुरा विचार गरी विपक्षीको हक लाग्न नसक्ने पसलको बहाल विषयमा निर्माण सञ्चार मन्त्रालयमा लेखापढी भई ०२३।१।१९ मा निर्माण भई बहाल बुझाई रसिद लिएका छौं । विपक्षीको पसलमा कुनै अधिकार नहुँदा पसलबाट उठ्न समेत नपरी साविक बमोजिम कायम गरी झुट्टा दावा गरेमा सजाय भई फुर्सद पाउँ भन्नेसमेत भरतमानको राय ।
३. गुमानसिंको छोरी भनी विपक्षीले सकार गरेका छन् निज सन्तान दरसन्तान भित्र नपर्ने हुँदा हक नलाग्ने भई नालिस नलाग्ने घरमा हक भए पनि पसलमा गुमानसिंको हक नरहेको हुँदा खारेज गरिपाउँ गुमानसिंको हक भए श्री ५ को सरकारतर्फबाट बहालमा राखिने थिएन वार्षिक रु.५०। सरकारमा बुझाउने गरी मेरा बाजेको नाउँमा दर्ता रही सालिन्दा बहाल बुझाई पसल भोगचलन गरिआएको छु गुमानसिंको हक भोग भए बहाल कबुलियत रहनुपर्ने सरकारीया पसलमा विपक्षीको हक लाग्नै नसक्ने र लिखतहरू देख्न सुन्न पाए नामकरण गर्नेछु झुट्टा दावाबाट फुर्सद पाउँ भन्नेसमेत भरतमानको मिलान गरी ऐश्र्यमानको प्रतिउत्तर रहेछ ।
४. १९५५ चैत्र वदी २ रोज ४ का हुकूम प्रमांगी बमोजिम गुमानसिंलाई सत्तल भत्काई नक्सा बमोजिम चाँडो बनाई तयार गर्नु भन्नेसमेत भई गुमानसिंले बनाएको देखिएको घरको चाहिं केही नलाग्ने पसलको बाहाल तिरेसम्म घर पसल सन्तान दरसन्तानले चलन गरी बस्न पाउने गरी गुमानसिंका नाममा सनद गरी थामिदिनु अरूलाई दिइरहुन पर्दैन भन्नेसमेत १९६५।३।२८।७ को तोक सदर भएको र १९६४।८।२७ को कबुलियतमा विष्णुमान रत्नमान सो पसलमा बहाल तिरी बसी आएको देखिन्छ, उक्त कबुलियतसमेत गुमानसिंलाई बहाल तिरी वसिआएको भन्ने लेखिएकोबाट गुमानसिंलाई बहाल तिरी प्र.का पुर्खा रत्नमानसमेत बसी आएको भन्नुपर्ने देखिएकोछ । १९६९।१।७।५ को खड्ग निशानामा पसलको बहाल तिरेसम्म घरका हकमा हुकूम प्रमांगी मुताविक गुमानसिं कुस्लेलाई थामिदिनु भन्नेसमेत लेखिएकोबाट पसलको हकमा बहाल तिरेसम्म गुमानसिंलाई सन्तान दरसन्तान थामिदिएको कुरा प्रष्ट छ । १९६८ साल जेष्ठ ३० गतेको छेनडेल अड्डा मार्फत आएको कबुलियतबाट पनि झगडा परेको पसलसमेत गुमानसिंले बहाल कवुल गरिलिएको देखिन्छ । उक्त प्रमांगी खड्ग निशान इत्यादिहरू हेरेमा गुमानसिंले आफूले पसल राखी बहाल बुझाएमा वा अरूलाई बहालमा दिई बहाल बुझाउन लगाएमा पसलको बहाल गुमानसिंले बुझाए सरह हुने देखिएको छ । वादीको लिखतबाट प्र.हरू बहालमा बसी आएको भन्ने कुरा देखिएबाट प्रतिवादीले हाम्रो पसल भन्ने जिकिरसँग अदालत सहमत हुन सक्ने प्रतिवादीहरू उक्त पसलमा बसी आएको देखिंदा प्रतिवादीहरूले दिने पसल खिचोला गरे भन्ने कुरा मिल्न आएन अरू कुरातर्फ यसमा निर्णय दिइरहन नपर्ने देखिएकोले वादीको उक्त सपल सन्तान दरसन्तान थामी पाएको ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतबाट मिति ०३०।२।१६।३ मा भएको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन उक्त फैसला बदर गरी वादी दावाअनुसार पसल चलन चलाई पाउने गरी न्याय पाउँ भन्नेसमेत वादी मिश्री कुस्लेनीको र उक्त फैसला बदर गरी हाम्रो प्रतिवादी जिकिर अनुसार गरी विपक्षीको दावाबाट फुर्सत पाउँ भन्नेसमेत प्रतिवादीहरूको समेत पुनरावेदन ।
६. अघिका खड्ग निशाना तोक सदरहरूबाट घरको छुट्टै पसलको छुट्टै हक कायम भइरहेको देखिन नआई घरको भोग गुमानसिं र निजका सन्तानको र पसलको भोग प्रतिवादीहरूले आफ्नो मानी आएकोमा भेद ट्रिष्टी भई विवाद भए पनि खड्गनिशाना तोक सदरले एकैमा गभाइ बन्दोबस्त भएको अर्को निर्णय नभएसम्म पृथक गर्न मिल्ने देखिन नआएकोले त्यसतर्फ सुरु अदालतबाट ठहराएको मुताविक पसलबाट उठाई पाउँ भन्ने दावातर्फ पसलको बहाल अड्काउ भएको र अघि तोकी बस्नलाई प्रतिवादीको बाजेहरूलाई दिई त्यस घरमा बसी आएको भन्ने वादीले जिकिर लिन सबूत गुजार्न समेत नसकी वादीको बाजे गुमानसिंले घर पसल थामिपाउँ भन्दा अघि नै विवाद भएको पसल प्रतिवादीका बाजेका नाउँमा बहाल लागी दर्ता भइरहेको सो लगत श्रेस्ता कायम भई रही श्री ५ को सरकारमा पसलको बहाल प्र.हरूले आफ्नैतर्फबाट बुझाई भोगचलन गरिआएको देखिएकोले उक्त पसलमा श्री ५ को सरकारको चलन भोग कायम मान्नु पर्ने स्पष्ट छ । त्यस्तो पसल घरबाट वादीलाई बस्न चाहिएमात्र श्री ५ को सरकारबाट स्वीकृति लिई घर बहाल आफ्नोतर्फबाटै उठाउने व्यवस्था मिलाई प्रचलित कानूनबमोजिम दावा गर्न आएमा मात्र पसलबाट उठाउन पाउने नपाउनेतर्फ निर्णय दिन मिल्ने अन्यथा पसलबाट उठाई पाउँ भन्ने दावा मुनासिव भन्न न्यायोचित नपर्ने हुनाले पसलबाट प्रतिवादीलाई उठाई पाउँ भन्ने दावा मुनासिव भन्न मिल्दैन सुरुबाट त्यसतर्फ निर्णय दिईरहनु नपर्ने भनी फैसलामा उल्लेख गर्नु उचित भएको मानिन सकिँदैन ऐन छाडी काम भएको ठहर्छ भन्नेसमेत बा.अं.अ.बाट ०३०।९।१२।५ मा भएको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी फिराद दावाअनुसार उक्त पसल चलन चलाई पाउँ भन्नेसमेत वादी मिश्री कुस्लेनीको पुनरावेदन ।
८. उक्त बागमती अञ्चल अदालतबाट भएको इन्साफमा चित्त बुझेन वादीहरूको हकदैया नपुग्ने सम्पत्ति देखिँदा देखिँदै केही जिताई केही हराई गरिएको फैसला उल्टाई पसलमा हाम्रो कायम गरिपाउँ भन्नेसमेत ऐश्वर्यमान र भरतमान श्रेष्ठको संयुक्त पुनरावेदन ।
९. वादी दावाका पसलको बहाल बुझाएको निस्सा रसिदको सबूत प्रमाण दिएको देखिएन काठमाडौं भूमिप्रशासनबाट आएको कबुलियत र लगत हेर्दा ७५।१०।१७।५ को कबुलियतमा इन्द्रचोक बस्ने गुमानसिं कुस्लेका कबुलियत बमोजिम देहायका पसलको बहाल रु.१५७।३९ बुझाउने इन्द्रचोक बस्ने विष्णुमान श्रेष्ठ, रत्नमान श्रेष्ठ, सलिमदिन मियाँ, गुमानसिं कुस्ले भन्ने उल्लेख भएको दर्ता लगतको प्रतिलिपिमा दर्तावालाको नाम थर वतन भन्ने महलमा विष्णुमानसिं कवल १ के रु.५०। रत्नमान श्रेष्ठ कवल १ के रु.५०। महमद मियाँ रु.३३।३४ अमिर मियाँ कवल १ को रु.८। भन्ने उल्लेख देखिन्छ गुमानसिंको नाउँ देखिँदैन ।
१०. १९६९।१।७।५ को खड्गनिशाना तोकमा पसलको बहाल तिरेसम्म घरका हकमा प्रमांगी मुताविक गुमानसिं कुस्लेलाई थामी दिनु भन्ने उल्लेख भएको देखिन्छ । उल्लेखित खड्गनिशाना तोकसदरबाट पसलको बहाल बुझाएमा गुमानसिंको सन्तान दरसन्तानले चलन गर्न पाउने देखिएको गुमानसिं र गुमानसिंको छोरा बुहारीहरूसमेतले बहाल बुझाएको देखिँदैन । वादी दावाको पसलको बहाल प्रतिवादीहरूले बुझाएको देखिएको उल्लेख भएका खड्गनिशाना तोक सदरबाट वादी दावाका पसल श्री ५ को सरकारको र श्री ५ को सरकारले बहाल लिने पसल देखिएकोले १९६९।१।७।५ को खड्ग निशाना तोक सदर बमोजिम गरी गुमानसिंको सन्तानले पसलेको बहाल नबुझिएकोले गुमानसिं निजको छोरा चक्रमान कुस्लेको पसल चलन गर्ने हक नरहेकोमा पनि चक्रमानको श्रीमती जोगलक्ष्मीले शेषपछिको बकस गरी दिएकोबाट मेरो हक भएको भन्ने हकको कारण उल्लेख गरेको सन्तानैको दायराभित्र पर्ने भन्न नमिल्ने हुँदा वादी दावाको हक दावा लाग्न सक्दैन पसलबाट उठाई पाउँ भन्ने वादी दावा झुट्टा ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति ०३१।४।२७।१ को फैसला रहेछ ।
११. सन्तान दरसन्तानको परिभाषाभित्र छोरी र छोरीको छोरा आदि पर्दैन भन्ने निष्कर्ष अन्यायपूर्ण बेकानूनी छ । उल्लेखित पसलमा प्रतिवादीका पूर्खाका नाममा दर्ता रही प्रतिवादीहरूले बहाल बुझाई आएको भनी प्रमाणको एकदम प्रतिकूल निर्णय हुन गएको छ । जसले गर्दा अ.बं.१५८ नं.र १८९ नं. को प्रत्यक्ष कानूनी त्रुटि हुन गएको छ सार्वजनिक महत्वको विषयमा गम्भीर तथा प्रत्यक्ष कानूनी त्रुटिपूर्ण निर्णय गरेको हुनाले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा (५) (ख) र सर्वोच्च अदालत नियमावलीको परिच्छेद ६ अन्तर्गत उक्त निर्णय उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्नेसमेत व्यहोराको वादी मिश्री कुस्लेनीको निवेदन ।
१२. छोरी र छोरीका छोरा सन्तान भन्न मिल्छ मिल्दैन भन्ने प्रश्न यसमा उपस्थित हुन आएको छ । उक्त प्रश्नको निर्णयबाट एउटा नजिरको रुप लिने भएकोले सो सार्वजनिक महत्वको विषय देखिन आउँछ । बहाल बाँकी नरहेपछि अरूलाई बहालमा राखेको कारणबाटै हक जाने भन्ने कुरा खड्ग निशानामा उल्लेख नभएको कुराको व्याख्या गरेको र तल्लो तहको निर्णय फरक पर्ने देखिएपछि क्षेत्रीय अदालत नियमावली, २०३१ को नियम १८ को (ङ) ले डिभिजन बेञ्चबाट हेरी निर्णय गर्नुपर्ने सिंगलबेञ्चबाट निर्णय दिएकोसमेत प्रत्यक्ष गम्भीर कानूनी त्रूटि गरेको देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३१।४।२७।१ को फैसला उपर पुनरावेदन गर्न अनुमति दिइएकोछ भन्नेसमेत डिभिजन बेञ्चको ०३१।७।१९।२ को आदेश ।
१३. प्रतिवादी ऐश्वर्यमानले भोगचलन गरिआएको पसलबाट उठाई पाउँ भन्ने दावी भएको ०३१ साल फागुन २२ गतेका आदेशानुसार भूमिप्रशासन कार्यालय काठमाडौं बुझिंदा वादी मिश्री कुस्लेनीले वेनिस्साबाट आफ्नो नाउँमा दर्ता गराएको भन्ने जवाफ आएको वादी मिश्री कुस्लेनीले आफ्नो नाउँमा दर्ता गराएकोबाट श्री ५ को सरकारको स्वामित्वमा असर पर्न जाने देखिंदा छलफलमा उपस्थित हुन आउनु भनी महान्यायाधीवक्ताको कार्यालयलाई सर्वोच्च अदालत नियमावली, ०३१ को नियम ३१ (१) बमोजिम पेशीको सूचना दिई पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको मिति ०३१।१२।२४।१ को आदेश ।
१४. तारेखमा रहेको वादी पुनरावेदीका मिश्री कुस्लेनी र विपक्षी प्रतिवादीको वारेससमेतका ऐश्वर्यमान श्रेष्ठलाई रोहवरमा राखी पुनरावेदीकातर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्ष प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्माको बहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चबाट भएको फैसला मुनासिव वा गल्ती के हो ? निर्णय दिनु परेको छ ।
१५. यसमा प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको सिंगलबेञ्चबाट हेरी वादी दावीको हक दावा लाग्न सक्दैन पसलबाट उठाई पाउँ भन्ने दावा झुट्टा ठहर्छ काठमाडौं जिल्ला अदालत र बागमती अञ्चल अदालतको फैसला केही गल्ती ठहर्छ भनी मिति ०३१।४।२७।१ मा निर्णय भएको देखिन्छ ।
१६. क्षेत्रीय अदालतको सिंगलबेञ्चबाट निर्णय हुँदा तल्लो तहको अदालतको निर्णय फरक गरी सोही बमोजिम लगत दिएको देखियो । क्षेत्रीय अदालत नियमावली, ०३० को नियम १८ को (ङ) ले तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने व्यवस्था गरेको छ ।
१७. उक्त नियममा उल्लेख भएको विपक्षीलाई झिकाएको भन्ने वाक्यांशले अ.बं.२०२ नं. लाई संकेत गरेको हो ?
१८. यथार्थमा मुख्य (Substantial) कुरा तल्लो तहको अदालतको निर्णय फरक पर्ने कुरा हो विपक्षीलाई झिकाएको भन्ने वाक्यांश त्यसको परिणमाम (Consequential) हो ? मुख्य कुराबाट नै अधिकार क्षेत्रको विवेचना हुने भएकोले अरू कुरामा शङ्का लिइरहनु परेन ।
१९. तसर्थ प्रस्तुत मुद्दामा अधिकार नभएको मध्यमाञ्चल क्षेत्रीय अदालतको सिंगलबेञ्चले ०३१।४।२७।१ मा गरेको निर्णय बदर गरिदिएको छ । यस अदालतको लगत कट्टा गरी कानूनबमोजिम डिभिजन बेञ्चबाट निर्णय हुनका निमित्त तारेखमा रहेका पक्षहरूलाई तारेख तोकी तपसील बमोजिम गरी प्राप्त सुरु मिसिलहरू मध्यमाञ्चल क्षेत्रीय अदालतमा बुझाई नियमबमोजिम गरी रेकर्ड मिसिल बुझाई दिनु ।
तपसील
मध्यमाञ्चल क्षे.अ.सिंगलबेञ्चका मिति ०३१।४।२७।१ को फैसला र मिति २०३१।५।१९।४ का लगत बमोजिमको देहायको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई उक्त लगत कट्टा गर्नु भनी का.जि.अ.त.मा लगत दिनु.................... १
वादी मिश्रीलाई प्र.भरतमान र ऐश्वर्यमानबाट भराउने गरेको कोर्टफी रु.२२०।४ को कलम १ प्रतिवादी भरतमान तथा ऐश्वर्यले वा.अं.अ.मा पुनरावेदन गर्दा ०३०।३।१८ मा राखेको धरौटी रु.२२०।४ निजैहरूलाई फिर्ता दिने गरेको कलम१वादी मिश्रीलाई प्र.भरतमान तथा ऐश्वर्यमानले वा.अं.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु ३३। वादी मिश्रीलाई भराउने गरेको कलम १ वादी मिश्री कुस्लेनीके निजले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रु.३३।१ तेतीस रुपैयाँ एक पैसा निजैले फिर्ता पाउने हुँदा उक्त कोर्टफी फिर्ता पाउँ भनी ऐनको म्यादभित्र वादी मिश्रीको दरखास्त पर्न आए अड्डैको आम्दानीबाट कानूनको रीतपुर्याई फिर्ता दिनु भनी .........................२
उक्त रायमा म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३२ साल आश्विन १२ गते रोज १ शुभम् ।