निर्णय नं. ९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ९३९ ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
सम्वत् २०३१ सालको रिट नम्बर ९५७
आदेश भएको मिति : ०३२।६।६।५ मा
निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं.९ किलागल बस्ने गजेन्द्रभक्त माथेमा
विरुद्ध
विपक्षी : श्री म्यानेजर, यातायात संस्थान, नारायणी अञ्चल शाखा समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को नियम ६(२) मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा समितिले कारण जनाई राखी त्यसो गर्न सक्नेछ भन्ने लेखिएकोमा अस्थायी कर्मचारी भएको र माथि लेखिएअनुसारको कुरा रेकर्डबाट समेत प्रमाणित भईरहेको भन्दै निजसँग स्पष्टिकरण माग्न तथा सफाइको मौका दिन आवश्यक नसम्झी नियम ६(२) को प्रतिबन्धात्मक वाक्यांशको अधिकार प्रयोग गरी गरेको निर्णय उक्त विनियम विपरीतको निर्णय भन्न मिल्ने नदेखिने ।
(प्र.नं. ८)
निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया
आदेश
न्या. धनेन्द्रबहादुर सिंह
१. निवेदकलाई हटाउने विपक्षीको मिति ०३०।१।२१ र ०३०।११।३२ का पत्रमा उल्लिखित निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।
२. तथ्य यसप्रकार छ : नेपाल यातायात संस्थान नारायणी अञ्चल शाखा नेपाल रेलवेको ०३०।१।२१ को पत्रमा एकाउन्टेण्ट श्री गजेन्द्रभक्त माथेमाले नेशनल ट्रेडिङ्ग लिमिटेडको सेवामा रहँदा त्यस संस्थानको सम्पत्ति मासी आएको अभियोगमा ने.ट्रे.लि.कर्मचारी नियमावली बमोजिम विभागीय कारवाई भई ०२५।५।१७ को मितिदेखि त्यस संस्थानको सेवाबाट निज अलगिनु भएको र निजले संस्थाको सम्पत्ति हिनामिना गरेको विषयमा श्री ५ को सरकार विशेष प्रहरी विभागबाट अद्यापी कारवाई चलिरहेको व्यहोरा थाहा हुन आएकोले उक्त कारवाईको टुड्डो नलागेसम्म निजलाई यस संस्थानको सेवाबाट हटाइएको सूचना निजलाई दिन हुन आदेशानुसार जानकारी दिएको छु भनी केन्दीय कार्यालयको प.सं.प.४ सि.३१९९ मिति ०३०।१।२० को पत्र प्राप्त हुन आएको हुँदा तपाईं जिम्मा भएको नगदी जिन्सी कागजजात इत्यादिहरू बुझाउन सूचित गरिन्छ भन्ने र नेपाल यातायात संस्थान केन्द्रीय कार्यालय टेकुको ०३०।११।१२ को पत्रमा गजेन्द्रभक्त माथेमालाई नेशनल टेडिङ्गमा सम्पत्ति हिनामिना गरेको अभियोगमा सेवाबाट हटाउनुको साथै निज माथि विशेष प्रहरी विभागबाट समेत कारवाही चलाई राखेको बुझिएको एवं निजले यस संस्थानमा पनि जनकपुर रेलवेको तत्कालिन एकाउन्टेण्ट पदमा रहँदा लेखा परीक्षकको रिपोर्टअनुसार संस्थानको हित विपरीत काम गरेको देखिएकोले निजको काम प्रति विलकुलै कुनै विश्वासनीय आधार पनि नभएको साथै निज लोकसेवा आयोगबाट तथा सञ्चालक समितिबाट समेत नियमानुसार स्थायी भई नसकेको कर्मचारी भएकोले आर्थिक तथा प्रशासनीय दृष्टिकोणबाट निजको सेवाको आवश्यकता पनि नपरेको हुँदा निजलाई संस्थानको सेवाबाट हटाई खारेज गर्ने र सोही व्यहोरा सूचनासमेत दिने गरी सञ्चालक समितिबाट निर्णय भएकोले सो अनुसार आवश्यक कारवाहीको लागि सूचना गरिएको छ भन्नेसमेत उल्लेख भएको रहेछ ।
३. निवेदकलाई हटाउने विपक्षीको मिति ०३०।१।२१ र ०३०।११।२२ को पत्रमा उल्लिखित निर्णय बदर गरिपाउँ भनी पर्न आएको यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यसप्रकार छन् : सेवाबाट हटाउने सजाय गर्दा निवेदकलाई सफाई दिने मौका दिनुपर्ने विनिमयको परिच्छेद ६ को दफा ६(१) मा बाध्यात्मक व्यवस्था छ । सफाई दिने मौका नदिई हटाइएको छ पुनरावेदन सुन्ने विपक्षी समितिले नै पुनरावेदन दायर छँदै तत्सम्बन्धमा कुनै निर्णय नै नदिई त्यसको कुनै वास्ता नै नराखी यसरी आफैले हटाई खारेज गर्ने निर्णय गर्नुबाट पुनरावेदनको उपचारलाई निरर्थक र निष्क्रिय तुल्याउनु मात्र होइन कि अवलाई प्राकृतिक न्यायको मान्य सिद्धान्तअनुसार पूर्वाग्रह (वापस्द्र) भइसकेको विपक्षी सञ्चालकसमितिले निवेदकको पुनरावेदनका निर्णय नै दिन नपाउने हुन गएको छ ।
४. विपक्षी प्रमुख प्रशासन शाखा ने.या.सं.को लिखित जवाफमा निवेदकको कुनै कानूनी वा मौलिक हकसमेत हनन गरिएको वा भएको छैन भन्नेसमेत उल्लेख भएको रहेछ ।
५. विपक्षी नेपाल यातायात संस्थानको सञ्चालक समितितर्फको लिखित जवाफमा नियम ६ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा कारण जनाई राखी त्यस्तो गर्न सक्नेछ भन्ने उल्लेख भएको अधिकार प्राप्त अधिकारबाट हटाउने निर्णय भएको निवेदकले दिएको पुनरावेदन तथा निजैले पछि दिएको निवेदनसमेत माथि समितिमा छलफल भई निज सम्बन्धी सबै रेकर्ड माथि पूर्ण विचार भई विनियम अनुसार नै पुनरावेदन निर्णय भएको भन्नेसमेत उल्लेख भएको रहेछ । विपक्षी मैनेजर नारायणी अञ्चल शाखा ने.या.सं.वीरगञ्जको जवाफमा निवेदकको कुनै कानूनी तथा मौलिक हकसमेत हनन गरिएको वा भएको छैन भन्नेसमेत उल्लेख भएको रहेछ ।
६. निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
७. निवेदक तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले सेवाबाट हटाउने सजाय गर्दा सफाई दिने मौका दिनुपर्ने विनिमयको परिच्छेद ६ को दफा ६(१) मा बाध्यात्मक व्यवस्था भएको त्यसको बर्खिलाप सफाई दिने मौका नदिई हटाइएको पुनरावेदन सुन्ने सञ्चालक समितिले पुनरावेदन दायर छँदै तत्सम्बन्धमा कुनै निर्णय नै नदिई त्यसको कुनै वास्ता नै नराखी आफैले हटाई खारेज गर्ने निर्णय गर्नुबाट पुनरावेदनको उपचारलाई निरर्थक र निष्क्रिय तुल्याएको छ भनी र विपक्षीतर्फको विद्वान अधिवक्ता श्री रतनलाल कनौडियाले विनियम परिच्छेद ६ को नियम ६ मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा कारण जनाई राखी यस्तो गर्न सक्नेछ भन्ने उल्लेख भएको र अधिकार प्राप्त अधिकारीबाट हटाउने निर्णय भएको हो निवेदकले दिएको पुनरावेदन तथा निजैले पछि दिएको निवेदनसमेत माथि छलफल भई पुनरावेदन निर्णय भएको छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ ।
८. सेवाबाट हटाउने सजाय गर्दा सफाई दिने मौका दिनुपर्ने विनियमको परिच्छेद ६ को दफा ६(१) मा बाध्यात्मक व्यवस्था छ सफाई दिने मौका नदिई हटाइएको छ भन्ने निवेदन जिकिरतर्फ विपक्षी यातायात संस्थानको सञ्चालक समितितर्फको लिखित जवाफमा नियम ६ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा कारण जनाई राखी त्यस्तो गर्न सक्नेछ भन्ने उल्लेख भएको र अधिकारप्राप्त अधिकारीबाट हटाउने निर्णय भएको भन्ने उल्लेख भएको देखिन्छ । विपक्षीतर्फका विद्वान अधिवक्ताले बेञ्चसमक्ष देखाउनु भएको फाइलसाथ रहेको नेपाल यातायात संस्थान विनियम, ०२२ को परिच्छेद ६ को नियम ६(२) मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा समितिले कारण जनाई राखी त्यसो गर्न सक्नेछ भन्ने लेखिएको र मिति ०३०।१।२० को निर्णयमा अस्थायी कर्मचारी भएको र माथि लेखिएअनुसारको कुरा रेकर्डबाट समेत प्रमाणित भइरहेको देखिएको भन्दै निजसँग स्पष्टिकरण माग्न तथा सफाईको मौका दिन आवश्यक नसम्झी नियम ६(२) को प्रतिबन्धात्मक वाक्यांशको अधिकार प्रयोग गरी यो निर्णय गरिएको छ भन्ने समेत उल्लेख भएको देखिएबाट कारण देखाउदै स्पष्टिकरण माग्न तथा सफाईको मौका दिन आवश्यक नसम्झेको भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उक्त विनियमको विपरीत निर्णय गर्यो भन्न मिल्ने देखिँदैन ।
९. पुनरावेदन सुन्ने विपक्षी सञ्चालक समितिले पुनरावेदन दायर छँदै तत्सम्बन्धमा कुनै निर्णय नै नदिई बसेको कुनै वास्ता नै नराखी यसरी आफैले हटाई खारेज गर्ने निर्णय गर्नुबाट पुनरावेदनको उपचारलाई निरर्थक र निष्क्रिय तुल्याउनुमात्र होइन कि अबलाई सञ्चालक समितिले निवेदकको पुनरावेदनको निर्णय नै दिन नपाउने हुनगएको छ भन्ने निवेदन जिकिरतर्फ उक्त विद्वान अधिवक्ताले बेञ्चसमक्ष देखाउनु भएको फाइल साथ रहेको यातायात संस्थान सञ्चालक समितिको बैठकबाट भएको निर्णय नक्कलमा गजेन्द्रभक्त माथेमाको निवेदनको साथै निजले दिनुभएको पुनरावेदनसमेत सञ्चालक समितिमा पेश भई छलफल गरिएको भन्नेसमेत उल्लेख भएको देखिएबाट निवेदकको उक्त जिकिर तथ्ययुक्त देखिन आएन ।
१०. अतः उपरोक्त कारणबाट निवेदकको माग बमोजिम आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् ०३२ साल कार्तिक ६ गते रोज ५ शुभम् ।