निर्णय नं. ९४० - उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. ९४० ने.का.प. २०३२
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् ०३१ सालको रिट नम्बर १२१९
आदेश भएको मिति : २०३२।९।१०।५ मा
निवेदक : तनहुँ जि.सेमघर हटिया गा.पं.वार्ड नं.८ बस्ने सिरुमायाँ न्यौपानेसमेत
विरुद्ध
विपक्षी : भूमिप्रशासन कार्यालय नवलपरासी समेत
विषय : उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ ले मोहियानी हकको राजीनामा हुनै नसक्नेमा राजीनामा गराएको छु भन्ने निवेदकको भनाई बमोजिम हक प्रचलन गराउँन नमिल्ने ।
(प्र.नं. ८)
आदेश
न्या. हेरम्बराज
१. विपक्षी भूमिप्रशासन कार्यालयको ०३१।६।१६ को तामेली निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।
२. तथ्य यसप्रकार छ : मैले प्राप्त गरेको जग्गाधनी प्रमाण पुर्जामा मोहीको महलमा विष्णुदेवको नाम रहन गएको छ त्यसमा मोहीको महलमा नाम लेखिएको बाहेक विष्णुदेव पाध्याको कुनै अस्तित्त्व छैन आफ्नो हक राजीनामा हुँदाकै बखत छोडी सक्नुभएको छ । त्यसकारण उक्त पुर्जाको मोहियानी महलबाट निज विष्णुदेव उपाध्यायको नाम कट्टा गरिपाउँ भन्ने निवेदन र जग्गा आफैले कमाई खानुहोला भनेकोले नाता सम्बन्धले सहीछाप बसी दिएको मात्र हो मोहियानी छाड्ने विचारले होइन भन्ने विष्णुदेवको व्यहोरा भएकोमा मोहीले मोहियानी छोड्न चाहेको भई छाडेकोमा दफा २६ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश अनुसारको रीत पुगी कार्यालयबाटसमेत छानबिन भई मोहीको दर्ता किताबसमेत सच्चाइएको नदेखिएकोले विपक्ष विष्णुदेव उपाध्याय उल्लेखित उक्त जग्गाको मोही कायम नै रहेको देखिन आएकोले पक्षको दावी कानूनी देखिएन तसर्थ यो मिसिल तामेलीमा राखी दिने ठहर्छ भनी भूमिप्रशासकको निर्णय रहेछ।
३. उक्त निर्णय बदर गरिपाउँ भनी यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यसप्रकार छन् : जग्गाधनी र मोहीको सम्बन्ध करारीय सम्बन्ध हो र यस प्रकारको पृथक व्यक्तित्व भएका सगोलको व्यक्तिमा हुन सक्दैन र मोही सम्बन्धमा गरिएको व्यवस्था आफै जग्गाधनी आफै मोही हुनेलाई लागू हुँदैन यसप्रकार जग्गाको हस्तान्तरण पश्चात् विपक्षी विष्णुदेव पाध्या कहिले मोहीको हैसियतमा रहनुभएको छैन नत भूमिसम्बन्धी ऐनको दफा ३४(१) अनुसार निवेदकसँग कबुलियत नै भएको छ न २४(२) अनुसार कूत बुझाएको भरपाई नै छ जसको अभावमा मोहीको हैसियत रहन्न । वस्तुतः उक्त राजीनामाको रजिष्ट्रेशन पासको फलस्वरुप विपक्षीको उक्त जग्गामा सबै प्रकारको दावा समाप्त भएको छ ।
४. विपक्षी भूमिप्रशासकको लिखित जवाफमा निज मोही विष्णुदेवले मोहियानी हक छाड्न मञ्जुर छ भनी साक्षी बसेपछि निवेदक धनीहरूले मौकैमा भू.सु.ऐन, ०२१ को संशोधन सहितको दफा २६ (१) (क) मा व्यवस्था भएको प्रतिबन्धात्मक वाक्यांश पुरा भए गरेको हुनुपर्दछ । त्यसपछि मात्र मोहीले छाडेको मानिने छ भन्नेसमेत र विपक्षी विष्णुदेवको लिखित जवाफमा विपक्षले जग्गा किनेपछि मात्र म मोही भएको नभई पहिले देखि नै मोही भएकोले विपक्षीसँग कबुलियत गराई दिने कुनै आवश्यक भएन जग्गा मैले नै कमाई रहेको र कूत बुझाई आएको सम्बन्धमा भूमिप्रशासन कार्यालयमा प्रमाण पेश गरेकै छु भन्नेसमेत उल्लेख भएको रहेछ ।
५. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को अभावमा मोही कायम गर्ने गरेको निर्णय कानूसंगत छैन भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
६. विपक्षी भूमिप्रशासन कार्यालय नवलपरासीकोतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ अन्तर्गतको प्रकृया पुरा नभएसम्म मोहियानी छोडपत्र गरेको भन्न नमिल्ने भन्ने विपक्षी विष्णुदेवकोतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले निवेदकले जग्गा खरिद गर्नुभन्दा पहिलेदेखि नै मेरो पक्ष मोही भई कमाई आएकोले मोही कायम गर्ने गरेको निर्णय कानूनसंगत नै छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
७. निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. सिरुमायाँले विष्णुदेवकी आमा भेषकुमारीबाट राजीनामा लिएकोमा मोहियानी हक छोरा विष्णुदेवले समेत राजीनामा गरेको कारणले विष्णुदेवको मोहियानीबाट नाम कटाई पाउँ भनी सिरुमायाँले चढाएको मुद्दामा निजको नाउँ काट्न नमिल्ने भनी भूमिप्रशासन कार्यालय नवलपरासीले ०३१।६।६।४ मा गरेको फैसलालाई बदर गराउन प्रस्तुत रिटको निवेदनपत्र परेको, जग्गामा धनी भेषकुमारीको एकाघरको छोरा विष्णुदेवको मोहियानी हक हुनै सक्दैन जग्गाधनी र मोही एउटै व्यक्ति हुन हुँदैन भन्ने इत्यादि तर्क निवेदकतर्फ बाट पेश भएकोमा जब निवेदकले नै त्यस्तोतर्फ व्यवहार नगरी विष्णुदेवबाट मोहियानी हक राजीनामा लिएकोले निजको मोहियानी हक सकार गरेको प्रष्टै हुन्छ भने अब भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ ले मोहियानी हकको राजीनामा हुनै नसक्नेमा राजीनामा गराएको छु भनी गैरकानूनी तरिकाबाट अधिकार प्राप्त भएको भन्ने निवेदकको भनाई बमोजिम हक प्रचलन गराउन मिल्दैन । प्रस्तुत रिट निवेदन पत्र खारेज हुने ठहर्छ । नियमबमोजिम मिसिल बुझाई दिनु ।
म सहमत छु ।
न्या. प्रकाशबहादुर के.सी.
इति सम्वत् २०३२ साल पौष १० गते रोज ५ शुभम् ।