शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४१ - जोत बदर

भाग: १७ साल: २०३२ महिना: बैशाख अंक:

निर्णय नं. ९४१            ने.का.प. २०३२

फुल बेञ्च

सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको दे.फु.नं. ८९

निवेदक      : भक्तपुर जिल्ला सरस्वतीखेल बस्ने कृष्णबहादुर थापा क्षेत्री

विरुद्ध

विपक्षी : ऐ.ऐ. ७ नं.नुवाकोट बस्ने किर्तिमान प्रधान

मुद्दा : जोत बदर

(१)   परस्पर अमिल्दो किसिमले बकेको कुराहरू प्रमाण योग्य मान्न नमिल्ने ।

(प्र.नं. ९)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट      : अधिवक्ता कृष्णप्रसाद घिमिरे

फैसला

     प्र.न्या. रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : मेरी श्रीमती भिमकुमारीका नाममा दर्ता भ.पु.१७ नं.मौजे गाखुको साविक कि.नं.९२२ ख को रोपनी ४।। र मेरो दर्ता कि.नं.९२२ क को रोपनी १।।। समेत म आफैले जोत कमोत गरिआएको ०२१ सालको गहुँ बाली लुटेमा मेरो नालिस परिराखेको छ सो जग्गा हालको सर्भे नापीमा कि.नं.४२ ग भएको छ खुद म आफैले कमाएको जग्गालाई म जोताहा भनी विपक्षीले आफ्नो नाम लेखी अस्थायी पुर्जा लिएको सो जग्गाको लगत प्रकाशन भएकोबाट थाहा भएकोले प्रकाशन भएको मितिले ३५ दिनभित्र उजूर दिन आएको छु । विपक्षीका नाउँमा लेखाएको जोत बदर गरी मेरो नाममा कायम गरिपाउँ भन्नेसमेत वादी ।

      ३.    सो जग्गा वादीले कमाएको छैन वास्तविक जग्गा कमाउने मेरो नाउँमा जोताहा कायम भई फिल्ड बुकमा दर्ता भएको हो भन्नेसमेत प्रतिवादी ।

      ४.    २०२१ सालको बाली लुटपिटमा दुबै पक्षले दिएको मुद्दामा जोत प्रतिवादीको कायम भएको र फिल्डबुकमा जोताहा प्रतिवादी कायम भएको देखिएको समेत हुनाले दावी झुट्टा ठहर्छ भन्ने भ.पु.जि.अ.को फैसला ।     सो उपर चिक्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने वादीको निवेदन परेकोमा प्रधान न्यायाधीशले निवेदनको व्यहोरा हेरी अन्याय परेको देखिन्छ भने रुल नियमबमोजिम मिसिल झिकी हेरी हेर्न लगाई निर्णय गर्नु भनी तहाँ पठाई दिनु भन्ने हुकूम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरबारबाट ०२६।२।२१।३ मा लेखी आई तत्कालिन श्री प्रधान न्यायाधीशबाट इन्साफ जाँच गर्ने निस्सा भएको ।

      ५.    बाली लुटे भनी किर्तिमानले चलाएको लूटपीट मुद्दामा बाली लुटेको ठहरी बा.अं.अ.बाट ०३०।२।१९ मा फैसला भई अन्तिम भएकोबाट प्रतिवादी किर्तिमान जोताहा मोही भन्ने प्रमाणित हुन आएको छ अधिकांश सरजमिनले पनि ०२१ सालदेखि जग्गा प्रतिवादीले कमोद गरेको भनेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) मा १ वर्ष जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने व्यवस्था गरेको समेतबाट जोताहा मोही प्रतिवादी रहेनछ भन्ने मिलेन कूत बुझाएको रसिद दिएन दिलाई पाउँ भनी किर्तिमानले दिएको मुद्दामा तारिख गुजारी ०१६।९।५।१ मा डिसमिस भएको ०१६ सालको नापीमा किर्तिमानले मोही लेखाएकोमा कृष्णबहादुरको सर्भेमा उजूरी परी किर्तिमानलाई बुझ्दा कृष्णबहादुरकै मोही हुन् भनी कागज गरी दिएको भन्ने हकमा भू.सं.ऐन,०२१ को दफा २५(२) ले १ वर्ष जोत कमोद गरे पनि सोही कायम हुने व्यवस्था गरेको सरजमिनले ०२१ सालदेखि जग्गा किर्तिमानले जोत कमोद गरेको भनेको देखिनाले त्यसभन्दा पहिलेको प्रमाणले ०२१ सालदेखिको जोत कमोदलाई बदर गर्न नमिल्नेसमेत हुँदा इन्साफ सुरुको मनासिव छ भन्ने समेत ०३०।८।१३।४ को डिभिजन बेञ्चको फैसला ।

      ६.    प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमाड्डी साथको न्यायिक समितिको पर्चामा खुद प्रतिवादीले नै म मोही होइन कृष्णबहादुर नै मोही हो भनी ०१७ सालमा कागज गरेको छ भने ०१७ सालभन्दा अघि देखिकै मोही किर्तिमान हो भनी बकपत्र गर्न सरजमिनको व्यहोरा मिथ्या हो भन्ने देखिएको छ केहि सरजमिनले ०२१ सालदेखि जोत कमोद प्रतिवादीको देखाएको भए पनि वादी पक्षका सरजमिन र सँधियारहरूले वादीको जोत कमोद भनी बकपत्र गरेको भूमिसम्बन्धी ऐनको दफा ३४(१) अनुसारको कबुलियत रसिद प्रतिवादीबाट पेश दाखिल नभएको यस्तो स्थितिमा प्रतिवादीलाई जोताहा मोही कायम मान्न उक्त ऐनको विपरीत हुनेसमेत हुनाले डिभिजन बेञ्चको निर्णय ठाडै कानुनको प्रतिकूल देखिएको भन्ने समेत उल्लेख भएको ।

      ७.    यस वेञ्च समक्ष निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले रसिद दिलाइ पाउँ भन्ने मुद्दा दिई ०१६ सालमा डिसमिस गराएको पहिलेको सर्भे नापीमा किर्तिमानले मोही लेखाएकोमा उजूर पर्दा म मोही होइन वादी नै मोही हो भनी कागज गरेको हाल बुझिएका सरजमिनमा बस्ने सँधियारहरूको भनाई समेतबाट खुदै मेरो पक्ष आफैले जग्गा जोतेको प्रमाणित भएको छ प्रतिवादीले जोताहा लेखाएको बदर हुनुपर्छ भन्नेसमेत प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले अधिकांश सरजमिनको भनाइबाट जग्गा मेरो पक्षले जोतेको हो भन्ने कुरा प्रष्ट देखिएको छ । ०२१ सालभन्दा अगाडिको हकमा मोही कायम हुनलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ अनुसार कबुलियत रसिदको आवश्यकता पर्दैन डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

      ८.    यसमा झगडा परेको जग्गा म आफैले कमाएकोलाई प्रतिवादी किर्तिमानले जोताहामा नाम लेखाएको बदर गरिपाउँ भन्ने जग्गाधनी वादी कृष्णबहादुरको दावी र वास्तविक जग्गा कमाउने मेरो नाउँमा जोत कायम भएका भन्ने प्रतिवादी किर्तिमानको प्रतिवादी जिकिर भएकोमा ०३०।८।१३।४ को डिभिजन बेञ्चबाट प्रतिवादी किर्तिमानको जोत कायम गरी फैसला भएको रहेछ दुबै पक्षको दावी जिकिर उक्त डिभिजन बेञ्चको फैसला र दुबै पक्षका विद्वान अधिवक्ताहरूको बहस जिकिरसमेतलाई ध्यानमा राखी हेर्दा झगडा परेको जग्गाको जोताहा हक वादी या प्रतिवादी कसको कायम हुने हो ? सो कुराको निर्णय दिनुपर्ने देखिन्छ ।

      ९.    उक्त जग्गाको मोहियानीमा पहिले पनि विवाद उठाई ०१६ सालको गहुँ बालीको भरपाई दिएन दिलाई पाउँ भनी यो मुद्दाको प्रतिवादी किर्तिमानले वादी कृष्णबहादुर उपर २०१६ सालमा नालिस दिएको मुद्दामा मैले प्रतिवादीलाई सावित गराउन नसक्ने हुँदा कायलनामा लेखिदिएको छु भनी कायलनामा दर्खास्त दिएको आखिर सो मुद्दाको वादी निज किर्तिमानले तारेख गुजारी २०१६।९।५।१ मा भक्तपुर अदालतबाट डिसमिस फैसला भएको प्रमाणमा आइराखेको उक्त मिसिलबाट देखिन आएको र ०१५ सालको सर्भे नापीमा प्रतिवादी किर्तिमानले मोहीयामा आफ्नो नाम लेखाएकोमा झगडा परी आखिरी भूलबाट झुठ्ठा माही लेखाएको भनी निज किर्तिमानले कागज गरी निजलाई जरिवानासमेत भई सर्भेबाट ०१७।११।२१ मा पर्चा भएको भन्ने कुरालाई हाल बहससमेतमा प्रतिवादी किर्तिमानतर्फ बाट खण्डन गर्न नसकेकोले हाल यो मुद्दामा बुझिएका निज प्रतिवादी किर्तिमानको पक्षमा रहने सरजमिन कसैले १२।१३ वर्षदेखि कसैले १५।१६ वर्षदेखि कसैले आफूले थाहा पाएदेखि कसैले ०३ सालदेखि किर्तिमानले कमाएको भनी विभिन्नरुपमा परस्पर अमिल्दो किसिमले बकेका कुराहरू प्रमाणयोग्य मान्न मिलेन ।

      १०.    खास गरी पहिलेदेखि नै प्रतिवादी किर्तिमानले मोहियानीमा कचिंगल उठाई आखिर आफ्नो दावी झुट्टा हो भन्ने कुरा स्वीकार गरी दावी छाड्दै आएको कुरा माथिको प्रकरणमा व्यक्त गरिएको भक्तपुर अदालतबाट डिसमिस भएको रसिद दिलाई पाउँ भन्ने मुद्दामा दिएको कायलनामा दर्खास्त र सर्भेको ०१७।११।२१ को पर्चासमेतबाट प्रष्ट हुन आएको छ । जग्गा यसले कमाएको भन्ने कुरा अरूलाई भन्दा जग्गाको सँधियारहरूलाई बढी जानकारी हुनेमा यो मुद्दामा सरजमिन बुझिँदा झगडीयाको जग्गाको चैतर्फी सँधियार विष्णुबहादुर कार्की, चन्द्रप्यारी कवर्नी, विष्णुकुमारी बुढा, सिताराम खड्का, टंकबहादुर खड्का समेतले जग्गा वादीले नै जोतेको भनी लेखिदिएको पाइन्छ अर्को धर्मप्रसाद प्रधान, न्हुछेमान सुवाल २ जना सँधियारले किर्तिमानले कमाएको भनी बकेको भए पनि बहुसंख्यक सँधियारको बकाई वादी पक्षमै भएकोसमेतबाट जग्गा प्रतिवादी किर्तिमानले जोती आएको रहेछ भन्न मिलेन ।

      ११.    तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट झगडा परेको जग्गा मुख्य २१ सालको बाली समेतमा जग्गाधनी वादी कृष्णबहादुरले नै जोतेको प्रमाण हुन आएकोसमेत हुँदा वादीको दावीअनुसार प्रतिवादी किर्तिमानले जोताहा लेखाएको बदर हुने ठहर्छ प्रतिवादी किर्तिमानको जोत कायम गरेको ०३०।८।१३।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी किर्तिमान प्रधान के झुट्टा विवरण लगत दिएमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५८ बमोजिम रु.५। जरिवाना हुन्छ रुजू हुँदा असूल गरी का.जि.अ.तहसिलमा लगत दिनु ..................१

वादी कृष्णबहादुर थापा के निजले मुद्दा दोहर्‍याउँदा ०३१।८।९।१ मा दाखिल गरेको कोर्टफी रु.१। प्रतिवादी किर्तिमानबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ....................२

नियमबमोजिम मिसिल बुझाई दिनु .......................३

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा,

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल माघ ९ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु