शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १७ साल: २०३२ महिना: बैशाख अंक:

निर्णय नं. ९४४                 ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३१ सालको रि.फु.नं. ३०

आदेश भएको मिति  : २०३२।१०।२।६

निवेदक      : ल.पु.जि. गोदामचौर गा.पं. वार्ड नं. १ बस्ने खड्गबहादुर महत क्षेत्री

विरुद्ध

विपक्षी : भूमि प्र. कार्यालय ललितपुरका भूमिप्रशासक गजेन्द्रबहादुर सिंह समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   बिनाकारण ज्यादै ढिलो गरी निवेदन गर्न आउनु निवेदकको आचरणमा लापरवाही देखिने, त्यस्तो निवेदकलाई उपचार प्रदान गरेको खण्डमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसार मोही मानिने अवस्थाको प्रत्यर्थीको हकहितमा असर पर्न जाने ।

(प्र.नं. ९)

उल्लेखित मुद्दा : १. रि.फु.नं. ३२, निवेदक प्रमानन्दप्रसाद सिंह वि.श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालय उत्प्रेषण २. रि.फु.नं. २० केतारादेवी कुर्मिनी वि.भू.सु.का. कपिलबस्तु उत्प्रेषण

आदेश

            प्र.न्या. रत्नबहादुर बिष्ट

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    तथ्य यस प्रकार छ : भूमिसुधार लागू हुनभन्दा अगाडिदेखि कमाई आएको जग्गाधनी कृष्णप्रसादको जग्गाको रोपनी २।०।२ को जो.अ.नि.नपाएको हुँदा पाउँ भन्ने पद्ममबहादुरको र मैले कमाई आएको हुँदा मेरो नाउँमा जो.अ.नि.पाउँ भन्ने खड्गबहादुरको निवेदन परेकोमा मेरो जग्गा कमाउने मोही पद्मबहादुर हो भन्ने जग्गाधनी कृष्णप्रसादको बयान भएको समेत उल्लेख गरी भू.सु.ऐन, ०२१ को संशोधनसहितको दफा २६ को उपदफा (१) बमोजिम पद्मबहादुर महतलाई मोही हक प्राप्त हुने भएकोले निजैलाई जो.अ.नि.दिई दर्ता किताबमा समेत सच्याई दिनु भन्ने विपक्षी भूमिप्रशासकले निर्णय गरेको रहेछ ।

            ३     उक्त निर्णय बदर गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनमा मलाई मोही कायम गरी अदालतमा परेको मुद्दामा गरेको मिलापत्र अकाट्य प्रमाण भएको वास्ता नगरी फैसला गरेको अनाधिकार तथा प्रत्यक्ष कानूनी त्रुटिपूर्ण भएकोले उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत जिकिर लिएको ।

            ४     भूमिप्रशासन कार्यालय ललितपुरको भूमिप्रशासकको ०२९।३।९ को निर्णय बदर गरिपाउँ भन्ने निवेदकको मुख्य दावी देखिएको प्रस्तुत रिट निवेदन ०३०।२।१९ मा दर्ता भएको देखिएको भूमिप्रशासकले निर्णय गरेको मितिबाट ११ महिनापछि निवेदन गरेको देखिन आएको विलम्व गरी आउँनाको कारण केही उल्लेख नगरेको भूमिप्रशासकको निर्णयले निवेदकको कुनै हकमा आघात परेको भए हक प्रचलन गराउनेतर्फ समयमै जागरुकता देखाउन पर्नेमा वास्ता नगरी लापरवाही साथ विलम्ब गरी रिट निवेदन गरेकोसमेत हुँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्नेसमेत ०३०।३।८।६ को डिभिजन बेञ्चको आदेश ।

            ५     प्रस्तुत मुद्दा दोहर्‍याउने बारे बक्स भएको हुकूम प्रमांगी साथको न्यायिक समितिको पर्चामा सिर्फ रिट निवेदन दिन आएको समयको गणना गरेर मात्र बिलम्बको सिद्धान्त प्रयोग गरेको पाइन्छ । चार महिनादेखि लिएर तीन वर्ष तीन महिना सम्मको अवधिलाई अनुचित बिलम्बको घेरा भित्र पारिएको छ । उत्तिकै समयको रिट निवेदन कुनैमा बिलम्ब गरिआएको भनी रिट खारेज गर्ने कुनैमा रिट जारी गर्ने गरेको कुनै अवधि उचित मानिने हो र कुन अवधि नाघेपछि अनुचित बिलम्ब गरेको हुन जान्छ भन्ने प्रष्ट हुन नसकी भ्रमपूर्ण अवस्थाको श्रृजना हुन जाने समेत हुँदा समयको गणनाको आधारमात्र विलम्बको सिद्धान्त प्रयोग गरेको मिलेको नदेखिएको भन्ने समेत उल्लेख भएको ।

            ६     यसमा प्रस्तुत रिट निवेदनमा ०३०।३।८।६ को डिभिजिनबेञ्चबाट निर्णय हुँदा प्रत्यर्थी भू.प्र.का.ललितपुरको ०२९।३।९ को निर्णय बदर गरिपाउँ भनी उक्त निर्णय भएको मितिले ११ महिनापछि ०३०।३।१९ मा मात्र यो रिट निवेदन अनुचित बिलम्ब गरी पर्न आएको प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भनी खारेज गरेको रहेछ । उक्त निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदकको निवेदनपत्र परेकोमा न्यायिक समितिको सिफारिसमा दोहर्‍याई दिने हुकूम प्रमांगी बक्स भएकोसमेत हुँदा उक्त डिभिजन बेञ्चको निर्णयमा आधार लिइएको अनुचित बिलम्बको प्रश्न उपरनै सर्बप्रथम विचार गर्नु पर्ने हुन आएको छ ।

            ७.    प्रत्यर्थी भूमि प्रशासन कार्यालयले विवाद ग्रस्त जग्गाको मोही साविकमा पद्मबहादुर, खडगबहादुरकी आमा भैरव कुमारीको मोहियानी हक कायम भएकोमा निज ०२५ सालमा परलोक भएपछि वादी पद्मबहादुरले कमाई आएको र निजलाई जग्गावालाले पत्याई मोही मानेको भन्नेसमेत आधारमा पदमहादुरलाई मोही कायम गरी निजैलाई जो.अ.नि.दिने समेत ०२९।३।९।५ मा निर्णय गरेकोमा ११ महिनापछि ०३०।२।१९ मा मात्र प्रस्तुत रिट निवेदन गर्न आउनुको बिलम्बको कारण रिट निवेदनपत्रमा कुनै उल्लेख गर्न सकेको पाइएन ।

            ८.    अनुचित विलम्वको विषयमा रि.फु.नं. ३२ निवेदक परमानन्दप्रसाद सिंह विरुद्ध श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालय समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०३०।२।२५।६ को फुल बेञ्चबाट निर्णय हुँदा बिलम्बको सिद्धान्त लाग्न सक्ने अवस्था छ वा छैन भन्ने निष्कर्षमा पुग्नको लागि अदालतले मुद्दाको प्रकृृति सम्बन्धित पक्षको आचरण निजले अदालतमा आउन लगाएको समय र निजलाई उपचार प्रदान गरेको खण्डमा त्यसबाट अरूको हक वा हितमा वा पर्न सक्ने असर इत्यादि सबै कुरालाई समष्टिगत रुपमा विचार गर्नुपर्ने सिद्धान्त प्रतिपादीत भएको छ ।

            ९     प्रत्यर्थी भूमिप्रशासकको निर्णयले आफ्नो कुनै हकमा आघात परेको भए सो हकको प्रचलन गराई माग्नको लागि रिटको छिटो छरितो व्यवस्थाको अनुरुप जागरुकताको साथ जहाँसम्म चाँडो निवेदन गर्न आउनु पर्नेमा बिना कारण ज्यादै ढिला गरी ११ महिना पछि मात्र निवेदन गर्न आउनु निवेदकको आचरणमा लापरवाही देखिएको त छँदैछ । प्रत्यर्थी पद्मबहादुरले प्रत्यर्थी भूमिप्रशासकको निर्णय बमोजिम आफ्नो मोहियानी हक कायम भई मुख्य वार्षिक उब्जनी बालीको एक बाली लगाई खाइसकेको पनि ५।६ महिना पछिमात्र यो रिटनिवेदन गर्न आएको हुँदा निवेदकलाई उपचार प्रदान गरेको खण्डमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ (२) अनुसार कानूनबमोजिम पाई मुख्य वार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले कमाएकोमा समेत सो जग्गाको मोही मानिनेसमेत अवस्थाको प्रत्यर्थी पद्मबहादुरको हक वा हितमा असर पर्न जाने कुरा पनि प्रष्टै देखिएको छ ।

            १०    यस्तै किसिमको प्रश्न उठेको रि.फु.नं. २० निवेदक केतारादेवी कुर्मिनी विरुद्ध भू.सु.का.कपिलवस्तुको उत्प्रेषणको केशमा ०३१।६।२५।६ को फुल बेञ्चबाट निर्णय हुँदा भू.सु.अधिकारीले निर्णय गरी मोही कायम गरी दिएकोमा मुखे वार्षिक उब्जनीको एक बाली लगाउने समय व्यतीत भएपछि प्रतिपक्षीले पाले धोवीको हक स्थापित हुन जाने स्थितिमा समयमै आफ्नो हकको खोजी नगरी प्रतिपक्षी पाले धोवीको मोही हक स्थापित भई मुखे वार्षिक बाली लगाउने समय व्यतीत भएको ३ महिनापछि मात्र आफ्नो हकको खोजी गर्न आएकोले यसरी अनुचित विलम्व गरी आउने निवेदकलाई अदालतले मद्दत गर्न नसक्ने हुँदा रिट निवेदन खारेज हुनेसमेत ठहर भएको उक्त फुल बेञ्चको फैसलाको नजिरसँग सहमत हुनुपर्ने कारण कुनै देखिन आएन ।

            ११.    तसर्थ उपर्युक्त कारणहरूबाट बिनाकारण अनुचित विलम्व गरी रिट निवेदन गर्न आउने निवेदकलाई यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत कुनै मद्दत गर्न नमिल्नेसमेत हुँदा अरू कुरा विचार गरी रहनु परेन । प्रस्तुत रिट निवेदन खारेज गर्ने गरी ०३०।३।८।६ को डिभिजन बेञ्चले छिनेको मुनासिव ठहर्छ, नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा,

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३२ साल माघ २ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु