शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४५ - ज्यान

भाग: १७ साल: २०३२ महिना: बैशाख अंक:

निर्णय नं. ९४५                 ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको फौज्दारी पुनरावेदन नम्बर ९२

फैसला भएको मिति : २०३२।१०।१८।५

पुनरावेदक : (हेमबहादुर गौतमको जाहेरीले) वादी श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. ८ बस्ने मोहनचन्द्र अधिकारी समेत

मुद्दा : ज्यान

(१)   अ.बं.१८६ नं.का व्यवस्थाअनुसार मृत्युदण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका व्यक्तिका हकमा मात्र साधक जाहेर हुने नभई पुरै मुद्दाको साधक जाहेर हुने कानूनी व्यवस्था देखिने, त्यस्तो सजाय नभएका व्यक्तिका हकमा साधक तहबाट सजाय घटाउन नमिल्ने भन्ने जिकिर मुनासिव नदेखिने ।

(प्र.नं. २४)

पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल

फैसला

            न्या.वासुदेव शर्मा

            १.     हेमबहादुर गौतमको जाहेरी परेको कर्णबहादुर मरेको ज्यान मुद्दामा विशेष अदालत मुकाम मेची अं.इलामबाट २०३०।११।२३।४ मा जाहेरी फैसला भए उपर वादी श्री ५ को सरकारको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ ।

            २.    सगोलको मेरा दाजु कर्णबहादुर गौतम ०२८।२।३ गते पञ्चायततर्फ जानु भएको रात अं.८ बजेको समयमा दाइकै हली आई ज्यामीरगडीदेखि धुलाबारी जाने मूलबाटोमा मालिक कर्णबहादुरलाई कसले खुन गरी मारेछ भन्न आएकोले गई हेर्दा प्र.पं.समेत धेरै मानिसहरू बसेको रहेछन् । दाजुलाई कसले काटी मारेको अपराधी पक्राउ गरी सजाय गरिपाउँ भन्ने ०२८।२।४।३ को हेमबहादुरको जाहेरी र मेरा पिताले मसँग मलाई प्र.पं.बलबहादुर कुजो राजबंशी खोका राजबंशी, विरेन्द्र राजबंशी, झम्कु राजबंशी, लोकबहादुर समेतका मानिसले खुन खान्छौं भन्दैछन् मार्छन् क्यार पञ्चायतमा जाँदा खबरै भए नोकरलाई लिन पठाउनु भनी अहर्‍याई राख्नु भएको थियो सो बमोजिम गरेको थिएँ । ०२८।२।३ गते साँझ ६ बजेसम्म नआउँदा नोकर ललितबहादुरलाई लिन पठाएको अं.२ घण्टापछि मालिकलाई कसले मारेछ भन्न आएकोले गई हेर्दा लास देखें कर्तव्यबाटै मरेको हुँदा लेखिएका व्यक्तिहरू र विसु राजबंशी उपर शङ्का लाग्छ भन्नेसमेत मर्नेकी श्रीमती पुष्पा कुमारी गौतमको ०२८।३।२।४ को कागज ।     

            ३.    गए जेष्ठ ३ गते मालिक आइपुग्नु भएन लिन जाउ भनी जेठा मालिक्नीले अह्राएकोले साँझ ६ बजे पञ्चायततर्फ जाँदा लास देखि अं.१० कदम उत्तर प्र.पं.बलबहादुर घुमनाथ आउँदै रहेछन् को भन्नु भएपछि कर्णबहादुरको गोठालो भन्दा ए हामी भन्दा अगाडि नै गए भन्नु भो घरमा पुग्नु भएको छैन भन्दा सिमल छेउमा रक्सी खाएको मानिस होकि को लडेको छ । बोलाँउदा बोलेन उज्यालो नहुँदा राम्रो चिनिएन भन्नु भएबाट गई उज्यालो बाली हेर्दा मारिरहेको देखियो निजैहरूको कर्तव्यबाट मारेको जस्तो लाग्छ भन्ने समेत ललितबहादुरको कागज ।

            ४.    चुपीको दाप खोकाको हो खोका लालबहादुर समेत भई मारेको शड्ढा लाग्छ भन्ने समेत लालबहादुर शङ्करप्रसाद समेतको र प्र.पं.बलबहादुरले बोलाएकोबाट जाँदा कर्णबहादुर मरेको रहेछ को कस्ले मारे मलाई थाहा छैन भन्ने समेत मेघराजको कागज ।

            ५.    २०२८।२।३ गते स्कूल बनाउने मिटिङ् भनी पञ्चायतमा गएको ६ बजे आज भएन भोलि भनी प्र.पं.ले भनेबाट हिड्यौं कर्णबहादुर धनियाँको दोकानमा थिए शंकर मेघराज कर्णबहादुरतर्फ जान हिंडे म र लोकबहादुर चिया खाई नून र मट्टितेल लिई घर गयौं तारणीको घरमा गाँजा खाई लोकबहादुर घर हिंडे कर्णबहादुरको नोकरले कर्णबहादुर कर्तव्य गरी मरे भन्ने हल्ला भएको थाहा पाए मैले कर्णबहादुरलाई कर्तव्य गरी मारेको छैन चुपीको दाप पनि मेरो होइन भन्नेसमेत प्रहरीमा र लालबहादुरको भनाई झुट्टा हो भन्ने समेत भई कर्णबहादुरलाई मारेको होइन भन्नेसमेत अदालतमा खोकाले गरेको कागज बयान ।

            ६.    ०२८।२।३ गते धुलाबारी बजार गइ ५ बजे घर आएछन् घरमै छु प्र.पं.समेतका कसैसँग भेटघाट भएन कर्णबहादुरलाई मारे भन्ने कुरा भोलिपल्ट गाउँमा सुनी हेर्न जाँदा कर्तव्य परी मरेको रहेछ कस्ले कर्तव्य गरी मारे थाहा छैन चुपीको दाप कसको हो थाहा छैन भन्नेसमेत प्रहरीमा र म उपर किन पोल गरे थाहा छैन म समेत भई कर्णबहादुरलाई कर्तव्य गरी मारेको होइन भन्नेसमेत अदालतमा झंकुले गरेको कागज बयान ।

            ७.    लालबहादुरको बयान बमोजिम मैले भनेको छैन कुखुरा कहिले काटे मलाई थाहा छैन कर्णबहादुर मरेको हल्ला भोलिपल्ट सुनें भन्नेसमेत प्रहरीमा र सोही मिलान अदालतमा लोकबहादुर अधिकारीले गरेको कागज बयान ।

            ८.    ०२८।२।३ गते कर्णबहादुर प्रधानपञ्च खोका, लोकबहादुरलाई पञ्चायतमा भेटेको हुँ कुञ्जो, विरेन्द्र झंकु विसुसँग भेटघाट भएन कर्णबहादुरलाई को के भई कर्तव्य गरे मलाई थाहा छैन भन्नेसमेत प्रहरीमा र मैले अपराध गरेको छैन प्र.पं.इवीबाट मलाईसमेत मुछी झुट्टा पोल गरेका हुन् भन्नेसमेत अदालतमा घुमनाथले गरेको बयान ।

            ९.    ०२८।२।३ गते साँझ पञ्चायतबाट आउँदा कर्णबहादुर बजार मै थिए म घोडामा घुमनाथ पैदल जाँदा लास भएको ठाउँ सेतो देखियो क्या हो भनी घुमनाथलाई सोध्दा रक्सी खाएको मानिस लडेको होला भने । हामी अगाडि बढ्यौं । १०।१२ कदम उत्तरतर्फ जाँदा लाइट बालेको मानिस देखी को भन्दा म मालिकलाई लिन आएको भनी भन्यो कर्णबहादुर अघि गइसकेको छ भन्दा गएको छैन भनी भनेबाट सेतो देखेको ठाउँमा गइ हेर्दा कर्णबहादुर मरिरहेको देखेको हौं । स्कुल अगाडि नचिनेको ३ जना मानिस कर्णबहादुरलाई उछिनी जाँदै थियो भनी मेघराजले भनेकोले निजहरूले कर्णबहादुरलाई मारेको होला भन्ने शंका लाग्छ मसमेतले मारे मराएको होइन भन्नेसमेत प्र.पं बलबहादुरको प्रहरीमा कर्णबहादुरलाई को कस्ले मारे मलाई थाहा छैन मसमेत भई मारेको होइन भन्नेसमेत अदालतमा गरेको कागज बयान ।

            १०.    कर्णबहादुलाई मैले मारेको छैन धान चोरी मुद्दामा कर्णबहादुरले पक्री कैदको समेत सजाय पाएको छु भन्नेसमेत साहेबलालको कागज ।

            ११.    विरेन्द्र सिं विसुलाई ज्यान सम्बन्धीको १३(३) र खोकालाई ज्यान सम्बन्धीको १७(१) बलबहादुरको लोकबहादुर घुमनाथ कुञ्जो झम्कुलाई ज्यान सम्बन्धीको १७(३) बमोजिम सजायको माग गरी प्रहरी प्रतिवेदन दावी भएको ।

            १२.   झुट्टा पोल गरेका हुन कर्णबहादुरलाई हामीले मारेको होइन भन्नेसमेत विसु राजबंशी र मलाई टि.वि.को रोग हुँदा जेष्ठ ४ गते खर्साङ गई औषधी गराउँदै रहेको कार्तिक १०।१२ गते घर आएँ र कर्णबहादुर मरेको थाहा पाएं मैले कर्तव्य गरी मारेको होइन मलाई थाहा छैन भन्नेसमेत विरेन्द्र सिं राजबंशीको बयान ।

            १३.   मोहनचन्द्र राजेनलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम र रामप्रसाद नेत्रप्रसाद मरिसकेकोले केही गर्न नपर्ने राधाकृष्ण, चन्द्रप्रसाद, शिवप्रसादलाई ज्यान सम्बन्धीको १६ ले र भोगेन राजबंशीलाई १७(१) बमोजिम सजाय हुने भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            १४.   ०२८।२।३ का दिन विरेन्द्र सिंको घरमा थिएँ आज हाम्रो दुष्मन मार्नुपर्छ भनी मलाई लिएर गए । बाटामा कर्णबहादुर यही हो भनी चिनाई दिएं सो बखत मसँग राजेन रामनाथ थियो । कर्णबहादुरलाई मार्नु भनी विरेन्द्र घरतर्फ गए हामी तीनै जनाले कर्णबहादुरलाई उछिनी बाटो छेक्यौं मैले चुपीले भूँडिमा प्रहार गरेपछि कर्णबहादुरले छाताले हाने त्यसै बखत राजेनले चुपीले पिठ्यूँमा र रामनाथले छुरीले कर्णबहादुरको गर्धनमा रेटी हामी तीनै जनाले छुरी चुपी प्रहार गरी मारेका हौं पछि म भारततर्फ गई बसेको थिएं भन्नेसमेत मोहनचन्द्रले गरेको बयान ।

      १५.   कर्णबहादुरलाई मारे मराएकोसमेत र मार्ने षड्यन्त्रमा बसेकोसमेत छैन । विरेन्द्रसिं रामनाथले किन पोल गरे थाहा छैन, भन्नेसमेत राधाकृष्णको र म र विरेन्द्र सिं बाटो छेक्ने राजेन र मोहनचन्द्रले खुकुरी चुपीले कर्णबहादुरलाई प्रहार गरी मारेको हो भन्नेसमेत धर्मप्रसाद समेतको मरेको ज्यान डाँका मुद्दामा रामनाथले गरेको कागज प्रतिलिपि रहेछ ।

      १६.    माओत्सेतुङ विचारधारा अनुसार हत्याहरू भएको हो मारिने मानिस सामन्ती हुन् हत्या गर्न म गएको र अरू पठाएको छैन भन्नेसमेत वीरेन्द्र सिंहले धर्मप्रसादसमेत मरेको ज्यान डाँका मुद्दामा गरेको कागज प्रतिलिपि ।

      १७.   माओत्सेतुङ विचारधारा समर्थन कम्यूनिष्ट पार्टी गठन भएको थाहा पाई वीरेन्द्रसँग भेटी गुरिल्ला ट्रेनिङ दिई आएको थिए । वीरेन्द्रले कर्णबहादुरलाई मार्न पर्छ भनेबाट सबैले समर्थन गर्‍यौं । धुलाबारी जाने सडकमा कर्णबहादुर गइरहेको अवस्था राजेन र मैले नचिनेको मानिस ३।४ जना भेला भई हामी सबैले चुपी खुकुरीले हानी लडाई हामी रखवारीमा बस्यौं भन्नेसमेत प्रहरीमा र प्रहरीले नसुनाई कागजमा सही गराएको हो मैले कर्णबहादुरलाई मारेको र मार्ने षड्यन्त्रमासमेत पसेको छैन भन्नेसमेत भोगेन भन्ने खुजेनले गरेको कागज बयान ।

      १८.   हाम्रो सिद्धान्तअनुसार संगठन गर्दै आएको थियौं सामन्ती शोषक कर्णबहादुरले थाहा भई पुंजिपतीहरूलाई खबर गरेको शंका लागी वीरेन्द्रले कर्णबहादुरलाई मार्ने योजना बनाई हामीलाई खबर गरेकोले कर्णबहादुर हाटबाट निजको घर जान लागेको अं.बेलुका ७ बजे बाटामा हामी सबैले चारैतिरबाट घेरी पहिले मैले चुपीले भूँडीमा हानें त्यसपछि मोहनचन्द्रले कोखामा चुपीले हानेपछि सबैले आफूले बोकेको खुकुरी चुपीले भकाभक हानेपछि कर्णबहादुर गौतम मरेका हुन् भन्नेसमेत राजेन राजबंशीले (वादी श्री ५ को सरकार प्रतिवादी निजै भएको रहजनी चोरी उद्योग मुद्दामा) प्रहरीमा गरेको कागज प्रतिलिपि र कर्णबहादुरको हत्या हुँदा म घटनास्थल मै थिएं तर मैले कुनै चोटपटक छाडेको होइन धर्मप्रसाद समेतको खुन भएको हो हाम्रो सिद्धान्तअनुसार नै झापामा हत्याकाण्ड भएको हुँदा मेरो समर्थन र सम्मिलित छु । जिल्लाको शोषक सामन्तीहरू खतम गरी निजहरूसँग भएको हतियार कब्जा गर्ने र जनताकै संघर्ष हुँदा जनताबाटै हतियार सङ्कलन गरी सरकारको विरुद्ध हतियार उठाई संघर्ष गरी किसानराज स्थापना गर्ने हाम्रो लक्ष्य हो सो कुरा कानून विरुद्ध छ भन्ने कुरा थाहा छ प्रहरीमा प्रहरीले कुटपिट गरी गराएका कागज हो कर्णबहादुरलाई मोहनचन्द्र रामनाथ विरेन्द्र सिं मसमेतले बाटोमा घेरी मोहनचन्द्रले चुपीले भुँडीमा हानेपछि मैले पनि चुपीले पछाडी पिठ््यूँमा रोपेको र पछि रामनाथले गला सेरेपछि निज मरेको हुन् भन्नेसमेत (धर्मप्रसाद ढकाल मरेको ज्यान मुद्दामा) अदालतमा गरेको बयानको प्रतिलिपिसमेत रहेछ ।

      १९.    कर्णबहादुरलाई मार्नुभन्दा ३।४ दिन अगाडि राधाकृष्णको घरमा विरेन्द्र सिं मसमेत ३।४ जना बसी कर्णबहादुरलाई मार्ने सल्लाह गरी धुलाबारी जाने सडकमा गइरहेको कर्णबहादुरलाई राजेन, म र नचिनेका ३।४ जना भई नचिनेका मानिसले चुपी खुकुरीले हाने । हामी रखबार भई बस्यौ भन्नेसमेत ०३०।१।६ मा भोगेन भन्ने खुजेन राजबंशीले प्रहरीमा र मैलेसमेत कर्णबहादुरलाई मारेको र मार्ने षड्यन्त्रमा पसेकोसमेत छैन भन्ने प्रहरीमा गरेको कागज प्रहरीले मलाई नसुनाई सहीछाप गराएको हो भन्नेसमेत अदालतमा इन्कार भई बयान गरेको रहेछ ।

      २०.   प्र.विसुराज राजबंशीलाई ज्यानसम्बन्धीको १३(३) प्र.खोका राजबंशीलाई ज्यान सम्बन्धीको १७ (१) र प्र.घुमनाथ, प्र.बलबहादुर, प्र.लोकबहादुर, प्र.कुन्जो र प्र.झंकु राजबंशीलाई ज्यान सम्बन्धीको १७(३) बमोजिम सजाय होस् भन्ने दावी पुग्न सक्तैन निजहरूले सफाई पाउने ठहर्छ । मोहनचन्द्र अधिकारीलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद र भोगेन भन्ने खुजेन राजबंशीलाई ज्यान मार्न निमित्त वारदात गरिरहेको ठाउँमा हतियार साथमा लिई महजुद गरेको ठहरेकोले ज्यान सम्बन्धीको १७(१) बमोजिम १० वर्ष कैद हुन्छ राधाकृष्णलाई कर्णबहादुरको हत्या काण्डमा अरू किसिमको मतलबी ठहरेकोले ज्यान सम्बन्धीको १७(३) बमोजिम ३ वर्ष कैद हुन्छ भन्ने तत्काल विशेष अदालत मुकाम मेची अञ्चल इलाम का अं.न्या.श्री त्रिलोकप्रताप राणाले ०३०।११।२३।४ मा गरेको जाहेरी फैसला ।

      २१.   मोहनचन्द्रलाई ज्यान सम्बन्धीको १३(१) ले सर्वस्वसहित जन्मकैद र विसुराज राजबंशीलाई सफाई राधाकृष्ण मैनालीलाई ज्यान सम्बन्धीको १७(३) ले कैद वर्ष ३ बलबहादुरसमेत जना ६ लाई रिहाई दिएको विशेष अदालतको सदर भोगेन भन्ने खुजेनलाई ज्यान सम्बन्धीको १७(१) ले कैद वर्ष १० गर्ने गरेको मिलेको नहुँदो ऐ.१७(२) ले कैद वर्ष ५ हुन्छ भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३१।५।२७ को जाहेरी फैसला ।

      २२.   उक्त इन्साफमा चित्त बुझेन खुजेन राजबंशी वारदातमा उपस्थित रहेको कुरा निर्विवाद छ १० वर्ष कैदको सजाय उपर पुनरावेदन छैन ज्यानसम्बन्धीको १७(१) को अभियोग लागेको व्यक्तिलाई भएको सजाय साधक तवरबाट जाँच्ने ऐनमा व्यवस्था देखिँदैन भन्नेसमेत वादी श्री ५ को सरकारतर्फको पुनरावेदन ।

      २३.   वादी श्री ५ को सरकारको पुनरावेदन परी आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिनु भएका विद्धान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको वहससमेत सुनी बुझ्दा श्री ५ को सरकारको पुनरावेदन जिकिर मनासिव वा क्षेत्रीय अदालतको २०३१।५।२७ को फैसला मनासिव के हो ? निर्णय दिनु परेको छ ।

      २४.   यसमा मुलुकी ऐन अदालती बन्दोबस्तको १८६ नं.मा देहायमा लेखिएका मुद्दामा जाहेर गरी अधिकार प्राप्त अड्डाबाट साधक सदर भएबमोजिम भन्ने शिर व्यहोरामा उल्लेख भई देहाएमा मृत्युदण्ड सर्वस्वसहित जन्मकैद हुने ठहराएको मुद्दा भन्ने लेखिएको पाइन्छ । उक्त व्यवस्थाअनुसार मृत्युदण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका व्यक्तिका हकमा मात्र साधक जाहेर हुने नभई पुरै मुद्दाको साधक जाहेर हुने कानूनी व्यवस्था भएको प्रष्ट देखिन्छ । यस स्थितिमा त्यस्तो सजाय नभएका व्यक्तिका हकमा साधक तहबाट सजाय घटाउन नमिल्ने भन्ने वादी पक्षका श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन जिकिर मनासिव देखिएन । तसर्थ उक्त पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट भएको मिति २०३१।५।२७ का फैसलामा लेखिएका बुँदा प्रमाणसमेत बाट इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको मनासिव ठहर्छ । वादी श्री ५ को सरकार तर्फको पुनरावेदन हुँदा केही गर्न परेन नियमबमोजिम गरी मिसल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल मार्ग १८ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु