शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२९ - अंश

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८२९      ने.का.प. २०३१

फुल बेञ्च

सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३० सालको दे.फु.नं. १०१

फैसला भएको मिति : २०३१।५।२१।६

पुनरावेदक : जि. पर्वत नु. लिमी कुघो साहूघर बस्ने कौसिला उपाध्यायनी

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने देवकुमारी उपाध्यायनी, हुमप्रसाद उपाध्याय

मुद्दा : अंश

(१)   अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन नमिल्ने ।

            उपयुक्त कानूनी व्यवस्थाहरूले अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुका अतिरिक्त सोबमोजिम बण्डापत्र रजिष्ट्रेशन पारित नभएकोमा अंशबण्डा सदर नहुने कुरा प्रष्ट रूपमा व्यवस्थित गरेको देखिन्छ । यसप्रकार कुनै दुई वा सोभन्दा बढी अंशियारहरूका बीचमा अंशबण्डा भएको छ वा छैन भन्ने विवाद तथ्यको निर्णय गर्ने एउटा निश्चित मापदण्ड कानूनले नै निर्धारित गरेकोले त्यस्तो विवादको निरोपण गर्दा अदालतले आफ्नो विवेकको प्रयोग गर्ने कुनै ठाउँ देखिँदैन । कानूनले निर्धारित गरेको मापदण्डकै आधारमा विवादको टुड्डो लगाउन अदालत बाध्य छ । अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित नभएसम्म अंशबण्डा सदर नहुने प्रष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन मिल्दैन । यस सम्बन्धमा यस अदालतका विभिन्न फुल बेञ्चहरूबाट एकपछि अर्को परस्पर विरोधी निर्णयहरू हुन गई एउटा निश्चित नजीर कायम हुन नसकेकोमा आखिर वादी देवेन्द्रशमशेर विरुद्ध प्रतिवादी ज.लिलाशमशेरसमेत भएको दे.फु.नं. १८६ को मुद्दामा ०२९।८।२३।६ को फुल बेञ्चले कानूनी अनुरूप एउटा निश्चित सिद्धान्त कायम गर्न खोजेको देखिन्छ र सो मुद्दामा सो फुल बेञ्चले गरेको निर्णय नै आधिकारिक नजीरको ९ब्गतजयचबतबतष्खभ उचभअभमभलत० रूपमा कायम छ । उक्त मुद्दामा प्रतिवादी लिलाशमशेरले वादी देवेन्द्रशमशेरलाई अंश दिइसकेको छु भनी प्रतिवादी जिकिर लिई घरसारको बण्डापत्र पेश गरेकोमा प्रतिवादीको भनाइबमोजिमको लागि तत्काल अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं.बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन भनी वादीलाई अंश दिइसकेको भन्ने प्रतिवादीको भनाइलाई मान्यता दिन अस्वीकार गर्दै उक्त फुल बेञ्चका सातजना माननीय न्यायाधीशहरूको बहुमतले कानूनबमोजिम रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा अचल सम्पत्तिको अंशबण्डा सदर नहुने कानूनी सिद्धान्त कायम गरेको देखिन्छ ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित

उल्लिखित मुद्दा : (दे.फु.नं. १८६ वादी देवेन्द्रशमशेर वि.प्रतिवादी ज.लिलाशमशेर)

फैसला

      प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा ०३०।७।३०।२ मा डिभिजन बेञ्चबाट निर्णय हुँदा दे.फु.नं. १९०१ वादी खड्गबहादुर टण्डन प्र.टेकबहादुर टण्डनको अंश मुद्दामा ०३०।५।११।२ को डिभिजन बेञ्चबाट भएको फैसलाको रुलिङ्गसँग सहमत नभएकोले फुल बेञ्चमा पेश गर्नु भन्ने उल्लेख भई निर्णयको लागि यस बेञ्चमा पेश हुन आएको छ ।

      २.    तथ्य यसप्रकार छ : ससुरा पशुपतिका ५ भाइ छोरामध्ये अरु छोरा र निजको ब्राहृमणीसमेत अघि नै परलोक भई जेठाजु मधुसूदनकी श्रीमती जमुना पाध्यानी र मसमेत छुट्टी भिन्न हुँदा जमुना पाध्यानीले केही जग्गा र चल भाँडावर्तनसमेत जीवनवृत्तिको लागि ०१२।४।१३ गते विपक्षी देवकुमारीसमेतलाई साक्षी राखी भरपाई लेखिदिएको गत ०२२ साल मार्ग महिनामा जेठानी परलोक भई जीवनवृत्तिबाट खान लाउन नपुगी मैले पाउने अंश पूरै देउ भन्दा नदिएकोले उजूर गर्न आएको छु, ससुरा पशुपतिका पालाको र मलाई जीवनवृत्ति दिएकोसमेत बरोबर २ अंश गरी १ भाग मलाई दिलाइपाउँ भन्ने वादी ।

      ३.    वादी दावीबमोजिम हामीहरूबाट वादीले अंश पाउनु पर्ने होइन, बुढी आमा जमुनाबाट ०१२ सालमा छुट्टी भिन्न भएको जिउनी अंश बुझिसकेकी छिन् । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी ।

      ४.    ०१२ सालमा अंश खोज्ने छैन भनी जीवनवृत्ति लिएका आफ्ना भागको जग्गा ३ कलम ०१२।१३ सालमा पास गरी बिक्री भइसकेको देखिँदा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने पर्वत जिल्ला अदालतको फैसला ।

      ५.    सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ६.    अंश बुझेको भरपाई रजिष्ट्रेशनका ३ नं. ले पास नभएका कारणबाट सदर नहुने पूरा अंश दिएको भए चलअचलमा आधी मलाई दिएको प्रतिवादीले देखाउन नसकेको हुँदा पूरा अंश दिनु पर्ने नदिएको भन्ने वादी दावीबमोजिम हकबेहकको निर्णय दिन केही अंश लिएमा वादी कायम र अंश दिनु पर्ने जमुना मरिसकेकोले यस स्थितिमा अहिलेमात्र खान पुगेन पूरा अंश दिलाइपाउँ भन्ने वादी दावी अंशबण्डाको ३५ नं. ले दायर हुन नसक्ने भई खारेज हुने यस मुद्दामा निर्णय दिएको शुरूको इन्साफ बदर हुन्छ भन्ने गण्डकी अञ्चल अदालतको फैसला ।

      ७.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ८.    प्रतिवादीबाट अंश दिलाइपाउँ भन्ने वादीको दावी ०१२ सालमै वादीले घरसारमा अंश बुझिलिई ०१२ साल श्रावण १३ गते लिखत गरिदिएको हुनाले फेरि अंश गरिपाउँ भन्ने वादीले झुठ्ठा दावी गरेको भन्ने प्रतिवादीले जिकिर गरी ०१२ साल श्रावण १३ गतेको घरसारको लिखत प्रतिवादीले पेश गरेको छ । सो लिखतलाई वादीले पनि स्वीकार गरेको देखिन्छ, सो कागजमा हेर्दा तपसीलबमोजिमको चलअचल सम्पत्ति जीवनवृत्ति झिकुवा गरिदियो भन्ने लेखिएको जम्मा के कति सम्पत्तिमा के कति वादी कौशल्याले अंश पाउने थिइन् सोकुरा केही लेखिएको देखिँदैन र सो लिखत रजिष्ट्रेशनको १ नं.बमोजिम लिखत पास भएको पनि देखिँदैन । यस्तो कानूनको रीत नपुगेको लिखतबाट जीवनवृत्ति निमित्त केही सम्पत्ति दिएपाएका र सोबमोजिम जीवनवृत्तिको सम्पत्ति भोगचलन लेनदेन गरेकाबाटै वादीको रीतपूर्वक बण्डापत्र खडा गरी अंश छुट्याई लिन पाउने रजिष्ट्रेशनको १ नम्बर र अंशबण्डाको ३० नं. को कानूनी अधिकारमा आघात पुग्छ र अंशमा दावी गर्ने हक मेटिन्छ भन्न नमिल्ने हुनाले शुरूले अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन र अञ्चल अदालतबाट खारेज गर्ने गरी फैसला गरेको मिलेको देखिएन । नालिस परेको अघिल्ला मितिसम्मको बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी दुवै पक्षबाट लिई ऐनबमोजिम २ भागको १ भाग अंश वादीलाई कानूनबमोजिम रीत पुर्‍याई छुट्याइदिनु भनी दुवैथरीलाई तारेख तोकी मिसिल पर्वत जिल्ला अदालतमा पठाउने समेत ठहर्छ । वादी खड्गबहादुर टण्डन प्र.टेकबहादुर टण्डनको अंशमुद्दामा रजिष्ट्रेशन पास हुनु पर्ने नभएको १८ साल आश्विन २८ गतेको बण्डापत्र लिखतबमोजिम अंश बुझी भोगचलन लेनदेन गरेको समेत देखिएकोले लिखत पास नभए पनि पुनः बण्डा गर्नुपर्दैन भनी दे.फु.नं. १९०१ को अंश मुद्दामा ३० साल भदौ ११ गते २ मा डिभिजन बेञ्चबाट फैसला भएको देखिएकाले सो रुलिङ्गसँग यो बेञ्च सहमत नभएको हुनाले सर्वोच्च अदालत नियमावलीको नियम ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने २०३०।७।२०।२ को डिभिजन बेञ्चको फैसला ।

      ९.    यस बेञ्चसमक्ष वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले कानूनी व्यवस्था सम्बन्धमा एउटा डिभिजन बेञ्चले एउटा कुनै सिद्धान्त प्रतिपादित गरेको छ र त्यसै प्रश्नमा अर्के बेञ्चले अर्कै सिद्धान्त प्रतिपादित गर्छ भने त्यस्तोमा मात्र रुलिङ्ग बाझिएको मान्नुपर्छ यसमा त्यस्तो नभएकोले रुलिङ्ग बाझिएको भन्न मिल्ने अवस्था छैन । वादीले झिकुवा जिउनीसम्म लिएको अंश नलिएकोले रीतपूर्वक अंशबण्डा पाउनु पर्ने प्रष्ट देखिएकै छ । दावीबमोजिम अंश पाउनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री मोतिकाजी स्थापितले लिखत पास नगरी बण्डा गरेको सदर हुने नहुने कुरामा भिन्न भिन्न सिद्धान्त प्रतिपादित गरेकोले रुलिङ्ग बाझिएको देखिएकै छ । ०१२।४।१३ को लिखतमा सम्पत्तिको फाँट देखाएकै र जिउनी लिई अंशमा दावी गर्ने छैन भन्ने बोलीसमेत परेकोले सो बण्डापत्र सरहकै कागज हो, त्यसबाट अंश पाइसकेको प्रष्ट छ, सो कागजातको आधारमा दाखिल दर्ता गरी जग्गा पनि बेचेको हुनाले बण्डा लिइसकेको कायम हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      १०.    यसमा अंशबण्डाको लिखत कानूनबमोजिम रजिष्ट्रेशन पारित नभए पनि व्यवहारबाट अंशियारहरूले आफ्नो अंश छुट्याई आफ्नो भागको सम्पत्ति आफ्नोले भोगचलन गरिआएको देखिन्छ भने कानूनअनुसार सो अंशबण्डा सदर हुन्छ वा हुँदैन भन्ने प्रश्न यस मुद्दामा निर्णय गर्नुपर्ने मुख्य प्रश्न छ ।

      ११.    यस सम्बन्धमा साविक मुलुकी ऐन अंशबण्डाको महलको नं. ४९ र रजिष्ट्रेशनको महलको ३ नं.मा भएका कानूनी व्यवस्थाहरू सरोकारका देखिन्छन् । ति कानूनी व्यवस्थाहरू यसप्रकार छन् :

साविक अंशबण्डाको महलको :

४९ नं. अब उप्रात्न अंशबण्डा गर्दा १०० रूपैयाँसम्म मोलिने चलसम्पत्ति जति बण्डापत्रको कागज नगरिकन पनि साक्षी राखी ऐनबमोजिम बण्डा गरेको सदर हुन्छ । लेखिएभन्दा बढी चल धनसम्पत्ति घर जो जतिसुकै भए पनि अचल जग्गा जमीन कच्ची पक्की घर र दाखिल खारेज गर्नुपर्ने अचल जग्गा जमीन बण्डा गर्दा साक्षी राखी ऐनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिनेदिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशनका ऐनले रजिष्टरी पास गर्नुपर्ने अचल जग्गा जमीन कच्ची पक्की घर जतिको ऐनका म्यादभित्र र रजिष्ट्ररी पाससमेत गराइराख्नु पर्छ । लेखिएबमोजिम नगरी अंशबण्डा गरेको सदर हुँदैन ।

साविक रजिष्ट्रेशनको महलको :

३. नं. धर्मपुत्रको कागज र अचल अर्थात् विर्ता रैकर गैह्र जग्गा जमीन घरको देहायमा लेखिएबमोजिम कागजपत्र गर्दा गराउँदासमेत रजिष्ट्रेशन अड्डामा गई रजिष्टरी गराउनु ।

            अंशबण्डाको बण्डापत्रमध्ये दाखिल खारेज गर्नुपर्ने अचल जग्गा र पक्की घरजतिको मात्र ।

      १२.   उपयुक्त कानूनी व्यवस्थाहरूले अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुका अतिरिक्त सोबमोजिम बण्डापत्र रजिष्ट्रेशन पारित नभएकोमा अंशबण्डा सदर नहुने कुरा प्रष्ट रूपमा व्यवस्थित गरेको देखिन्छ । यसप्रकार कुनै दुई वा सोभन्दा बढी अंशियारहरूका बीचमा अंशबण्डा भएको छ वा छैन भन्ने विवाद तथ्यको निर्णय गर्ने एउटा निश्चित मापदण्ड कानूनले नै निर्धारित गरेकोले त्यस्तो विवादको निरोपण गर्दा अदालतले आफ्नो विवेकको प्रयोग गर्ने कुनै ठाउँ देखिँदैन । कानूनले निर्धारित गरेको मापदण्डकै आधारमा विवादको टुड्डो लगाउन अदालत बाध्य छ । अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित नभएसम्म अंशबण्डा सदर नहुने प्रष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन मिल्दैन । यस सम्बन्धमा यस अदालतका विभिन्न फुल बेञ्चहरूबाट एकपछि अर्को परस्पर विरोधी निर्णयहरू हुन गई एउटा निश्चित नजीर कायम हुन नसकेकोमा आखिर वादी देवेन्द्रशमशेर विरुद्ध प्रतिवादी ज.लिलाशमशेरसमेत भएको दे.फु.नं. १८६ को मुद्दामा ०२९।८।२३।६ को फुल बेञ्चले कानूनी अनुरूप एउटा निश्चित सिद्धान्त कायम गर्न खोजेको देखिन्छ र सो मुद्दामा सो फुल बेञ्चले गरेको निर्णय नै आधिकारिक नजीरको (Authoratative Precedent) रूपमा कायम छ । उक्त मुद्दामा प्रतिवादी लिलाशमशेरले वादी देवेन्द्रशमशेरलाई अंश दिइसकेको छु भनी प्रतिवादी जिकिर लिई घरसारको बण्डापत्र पेश गरेकोमा प्रतिवादीको भनाइबमोजिमको लागि तत्काल अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं.बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन भनी वादीलाई अंश दिइसकेको भन्ने प्रतिवादीको भनाइलाई मान्यता दिन अस्वीकार गर्दै उक्त फुल बेञ्चका सातजना माननीय न्यायाधीशहरूको बहुमतले कानूनबमोजिम रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा अचल सम्पत्तिको अंशबण्डा सदर नहुने कानूनी सिद्धान्त कायम गरेको देखिन्छ ।

            १३.   उपर्युक्त कुराहरूबाट प्रस्तुत मुद्दामा रजिष्ट्रेशन पारित भएको लिखतको अभावमा वादी र प्रतिवादीका बीचमा कानूनबमोजिम अंशबण्डा भइसकेको भनी ठहराउन नमिल्ने हुनाले वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहराएको ०३०।७।२०।२ को डिभिजन बेञ्चको इन्साफ मनासिव छ । मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. वासुदेव शर्मा

न्या. धनेन्द्रबहादुर सिंह

न्या. विश्वनाथ उपाध्याय

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३१ साल भाद्र २१ रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु