निर्णय नं. ८३० - जग्गा बाली

निर्णय नं. ८३० ने.का.प. २०३१
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३० सालको दे.फु.नं. १५२
फैसला भएको मिति : २०३१।५।७।६
निवेदक : मोरङ विराटनगर न.पं.वडा नं.१ तीनपैनी पोखरीया बस्ने अम्बरलाल थारुसमेत
विरुद्ध
विपक्षी : ऐ. बनिगामा गा.पं. प्रमानगढ सेता बजार बस्ने बनिगामा पञ्चायतको प्र.पं.ठिठरलाल खां थारु समेत
मुद्दा : जग्गा बाली
(१) लुटपिटको वारदात कायम हुन अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनु पर्ने ।
लुटपिटको १ नं.बमोजिम लुटपिटको वारदात कायम हुनालाई त्यसमा उल्लेख भएको परिबन्दसँग अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनुपर्छ अनिमात्र लुटपिटको वारदात कायम हुन सक्ने हो । प्रस्तुत नालिसमा त्यस किसिमसँग हात हाली जबरजस्तीसँग खोसी लगेको भन्ने नभई खमारमा रहेको बाली हाम्रो बटैदारसमेतलाई मिलाई निजहरूको भाग छुट्याई हाम्रो बाली आफू खुसी गरिलिएको भन्ने वादी दावीको वारदात हो । जिम्मा लगाएको बाली जिम्मा लिनेसमेतले आफू खुसी गरी लिए खाएको भनी सबैका हकमा एकैकिसिमको दावी लिई वादीहरूले नालिस गरेको यस्तो कुरामा वादी दावीसमेतको अभावमा अम्बरलाल बाहेक अरू वादीको हकमा लुटपिटको वारदात कायम हुने भनी ०२९।१।६।३ को डिभिजन बेञ्चले तर्क गरेको मिलेको देखिएन । वादी दावी कायम हुने नहुनेसमेत कुरा इन्साफ हुँदा ठहरेबमोजिम हुने हो । नालिसको हकमा वादीहरूको लेख दावीबाट सबैका हकमा देवानी बिषयकै एउटै कुरो देखिन आएको हुँदा अ.बं.७२ नं. ले एउटै नालिस लाग्न सक्ने प्रष्ट छ ।
(प्रकरण नं. १३)
(२) जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ । यस्तो एउटै झगडाको बिषयको कुरामा अ.बं. ७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर एउटै नालिस लाग्न सक्ने ।
वादीहरू ४ जनाको आफ्नो–आफ्नो भाग छुट्याई बण्डापत्र पास भइसकेकोले भिन्न भिन्न मानिसको अलग अलग हकमा अ.बं.७२ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने हकमा उक्त अ.बं.७२ नं.मा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाको बिषयको कुरा लेखी ल्याएको भए पनि लिई सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत विवादमा झगडाको बिषय एउटै छ, छैन त्यसतर्फ हेर्दा अम्बरलालसँगको झगडाको मुद्दाकै मूल कारणबाट अम्बरलालको साथै अरू वादीको समेत एकै खमारमा रहेको बाली जिम्मा लगाएकोमा सो बाली जिम्मा लिनेसमेतले एकैपटक आफू खुसी गरिलिएको भन्ने वादी लेखाइबाट देखिन आएको छ, जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ, यस्तो एउटै झगडाको बिषयको कुरामा उक्त अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने नै हुँदा वादीहरू ४ जनाको हकमा एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने तर्कसँग सहमत हुन मिलेन ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१.प्रस्तुत मुद्दा ०२९।१।६।३ को डिभिजन बेञ्चबाट छिनिएको दोहर्यावइपाउँ भन्ने वादीहरूको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याकइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।
२.तथ्य यसप्रकार छ : कालीराम मेरो झगडिया हुँदा अघि परेको मुद्दाको रीसले मेरो झगडिया आसामीसमेत मिली अम्बरलाल जाली फटाहा मुद्दावाज हो भनी दोष लगाई मेरो खमारका मतमा रहेको धानमा आगो लगाउने, बन्दुक खोसाउने प्रयास गरेकोले सुरक्षार्थ मो.वि.गो.र श्री ५ महाराजाधिराजमा जाहेर गरेको र वेइज्जतीतर्फ नालिस गरेको थाहा पाई झन् रिसाई मेरो झगडियाले तेजुबाट उजूर लिई खमारका मतको धान रोक्का गरेकोले सुरक्षार्थ डि.एस.पी.मा उजूर गर्दा सुरक्षाको लागि कर्मचारी जाँदा पञ्चायतबाट रोक्का पूर्जि खमारमा टाँसेको प्रहरीले फेला पारी पञ्चायतबाट रोक्का भएको बाली नदिए अदालतमा उजूर गर्नु भनी मो.वि.गो.बाट ०२०।११।२२ मा पर्चा भएको थाहा पाई रोक्का गरेको बाली ०२०।१२।६ का दिन प्रतिवादीहरूले लगेकोले म अम्वरलालको रू.१२५६९।२० म अमृतियाको रू.१०१९८।४० म असराको रू.१०५२२।६० म नाफालालको रू.१८८५।६० समेत जम्मा रू.३५१७५।८० विगो भराई सजाय गरिपाउँ भन्ने वादी ।
३.वादी अम्वरलालले अनेकौं मुद्दा लगाई हिँड्ने गाउँघरमा अशान्ति मच्चाउने गरेकोले विजाँई विदुतमा श्री ५ महाराजाधिराजको सवारीमा उजूर दिएका छौं । वादीको धान रोक्का पूर्जी टाँसेको देखे सुनेको छैनौं । तेजुको उजूरीबमोजिमको जग्गासम्बन्धी मुद्दाको निर्णय नभएसम्म हिनामिना नगर्नु भन्ने सूचना टाँसेको सुनेका थियौं । अम्बरलालले २०।११।१० गते प्रहरी बोलाई निजले झगडिया जग्गाको समेत बाली थन्काइसकेपछि प्रहरीहरू गएको देखेका छौं । बखारु धुनाई गतिलालसमेतले जिम्मा लिएको पनि थाहा छैन । अम्बरलालले प्रहरी ल्याई सबै धन लगेको हो ०२० साल चैत्र ९ गतेसम्म विमार थिएन । उजूरी झुठ्ठा हो भन्ने समेत प्रतिवादी ।
४.सरजमिनको भनाइबमोजिम पञ्चायतबाट रोक्का रहेको बाली अमरलालले लगेको भन्ने सिद्ध भएको हुँदा प्रतिवादीहरूले बाली लगेको भन्न मिलेन । पञ्चायतको सूचना अम्बरलालको मात्र रोक्का रहेको देखियो । असरा, अमृतिया नाफालालको बाली रोक्का नै रहेको नदेखिएकोले खारेज हुने र अम्बरलालको हकमा झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने मोरङ जिल्ला अदालतको ०२६।३।२६।५ को फैसला ।
५.सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६.रोक्का गर्न नहुने बाली रोक्का गरेको भन्ने वादी दावी समर्थित हुन आएकोले सो बाली २० साल चैत ६ गतेदेखि प्रतिवादीहरूले लगी खाएको भन्नेतर्फ मोही रतिलाल, फतुलाल, दसना मकुलाई मोही लगाई उब्जाएको बालीमा शर्तबमोमिज जग्गाधनीलाई बुझाउन पर्ने बाली नबुझाएका भए मोहीउपर कानूनबमोजिम उजूर गरिलिनु पर्ने सो गरेको नदेखिएको र मोहीको भाग जति खमारमै पर सारी धनी फाँटसम्म मोहीसमेतका सहयोगबाट प्रतिवादीहरूले लगे खाएको भन्ने सबूत नआएकोले वादी दावी शंकाजनक देखियो । वादीको साक्षीहरुको भनाई पनि परस्पर मेल नखाएको मोहीको भागजति खमारमै छोडेको धनी फाँटसम्म मोही समेतका सहयोगबाट प्रतिवादीहरूले लगे खाएको भन्ने सबूत नआएकोले वादी दावी शंकाजनक देखियो । वादीका साक्षीहरूको भनाई पनि परस्पर मेल नखाएको मोहीको भागजति खमारमै छोडेको धनी फाँटसम्म मोहीसमेत भई लगेको भन्न कुनै साक्षीले नसकेको हुँदा प्रतिवादीहरूको मोहीबोटी छोडी धनीबोटी मात्र लिए खाएको भन्ने वादी दावा प्रमाणित हुन आएन । अमृतिया असरा, नाफालालका हकमा खारेज र अम्बरलालका हकमा प्रतिवादीहरूले बाली खायो भन्ने दावा पुग्न नसक्ने ठहराई छिनेको मोरङ जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने कोशी अञ्चल अदालतको ०२६।९।१८।६ को फैसला।
७.सोउपर चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन ।
८.वनिगामा गाउँपञ्चायतबाट भएको पत्रमा अम्बरलालको नाममा रोक्का पुर्जि जग्गा मिच्नेको १० नं. को आधार लिएर भएको भन्ने देखिन्छ । अम्बरलालबाहेक अन्य वादीहरूको हकमा भने रोक्का पुर्जि भएको देखिँदैन । रोक्का पुर्जि नभएको अथवा वादीहरूको हकमा निजहरूको बालीमा कसैले हात हाली बाली लगिदिएको भए लुटपीटका १ नं.बमोजिम सो वारदात हुन आएकोले अ.बं.९ नं. ले फौजदारी बिषय हुन आउँछ र त्यसको कारवाई लुटपीटको महलको म्यादभित्र लुटपिटमा नालिस गरेमा मात्र कारवाई किनारा हुन सक्ने देखिन्छ । अम्बरलालको हकमा जग्गा मिच्नेको १० नं. को आधारमा रोक्का गरेको देखिन आएकोले सो बाली रोक्का गर्नेले हिनामिना नोक्सान गरेको भए जग्गा मिच्नेका ऐनबमोजिम बालीको बिगो मुद्दा अ.बं.९ नं. ले देवानी हुन आउँछ । यसप्रकार देवानी बिषय र फौजदारी बिषय समावेश भएको एउटै नालिस फिरादपत्रबाट कारवाई किनारा गर्न अ.बं.७२ नं. ले नमिल्ने छुट्टाछुट्टै गर्नुपर्नेमा सोबमोजिम नगरी देवानी फौजदारी दुई बिषयमा एउटै नालिसबाट कारवाई किनारा गरेको कानूनसंगत नहुने हुनाले र वादीहरू चारजनाको बण्डापत्र खास आफ्नो–आफ्नो भाग छुट्याई बण्डापत्र पास भइरहेको देखिएकोले वादीहरू छुट्टाछुट्टै हकवाला हुने भइराखेको र जिन्सी तयार भएपछि आफ्नो–आफ्नो अंश भागको छुट्टाछुट्टै हकवाला हुने भइराखेको र जिन्सी तयार भएपछि आफ्नो–आफ्नो अंश भागको छुट्टाछुट्टै लैजाने व्यहोरा वादी लेखबाटै देखिएकोले भिन्न भिन्न मानिसको अलग अलग हकमा एउटै नालिस परेको त्यस्तो नालिसबाट पनि उक्त ऐनले इन्साफ गर्न नमिल्ने भई शुरू र अञ्चल अदालतले अम्बरलालको हकमा झुठ्ठा उजूर गरेको र अरू वादीको हकमा दावी खारेज गर्ने गरेको समेत कानूनसंगत देखिएन । वादी खारेज हुने ठहर्छ भन्ने ०२९।१।६।३ को डिभिजन बेञ्चको फैसला ।
९.प्रस्तुत मुद्दा दोहर्या१उनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा शुरू नालिस गर्दा कोर्टफी ऐन लागू नभएको भए पनि पछि कोर्टफी समेत दाखिल भई कारवाई भएको मुद्दा हुनाले र साथै फिरादपत्रमा समेत जग्गा मिच्नेको १८ नं. को आधारमा नालिस गरेको भन्दै बाली विगो पाउँ भन्ने दावी भएको मुद्दा भएकोले प्रस्तुत मुद्दा देवानी नै हो भन्ने प्रष्ट छ । कोर्टफी लागि दायर भएको र बाली बिगो पाउँ भन्ने दावी भएकोले फौजदारी हुन सक्ने कुनै प्रसंग नै देखिँदैन । जग्गा मिच्नेको १८ नं. अनुसार म्यादभित्रकै देवानी मुद्दा देखिन आएकोले कानूनबमोजिम निर्णय फैसला हुनु नपर्ने देखिन्छ । पक्षले लुटपिटको दावी लिएको छैन भने त्यस्तो दावी लिनुपथ्र्यो भनी सो दावी नै नलिएको बिषय समावेश भएको मानी देवानी फौजदारी मिश्रित दावी भनेर खारेज गर्नु विलकुलै युक्तियुक्त तर्क विपरीत हुन्छ । वादी पक्षले यस्तो दावी लिनुपथ्र्यो भनी मार्ग प्रदर्शन गर्ने काम अदालतको होइन । प्रस्तुत मुद्दा एउटै बालीको झगडाको बिषयको कुरा लेखी ल्याएको देखिएकोले अ.बं.७२ नं.मा उल्लेख भएबमोजिम फिरादपत्रको व्यहोरा मिल्न आएकोले इन्साफ हुनु पर्ने स्पष्ट देखिन आउँछ । यी भिन्नै बिषयको उजूर नै हो भन्ने लागेमा पनि समुच्चै मुद्दा खारेज गर्न मिल्ने होइन । डिभिजन बेञ्चले सम्पूर्ण वादी दावी खारेज हुने निर्णय गरेको विलकुल कानून विपरीत देखिन्छ भन्ने समेत उल्लेख भएको।
१०.यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले बालीको विगो भराइपाउँ भनी जग्गा मिच्नेको १८ नं. अन्तर्गत दावी लिई कोर्टफीसमेत राखी गरेको शुद्ध देवानी बिषयको नालिसलाई लुटपीट मुद्दा भनी फौजदारी कायम गरी खारेज गर्न मिल्ने होइन किनकि लुटपिटमा मेरो पक्षले नालिस दावी लिएको छैन वादीहरू एकै परिवारको खमारमा रहेको बाली खाएको झगडाको बिषय एउटै भएको यस्तो कुरालाई छुट्टाछुट्टै बिषय र छुट्टाछुट्टै नालिस दिनु पर्ने भन्ने डिभिजन बेञ्चको तर्क पनि मिलेको छैन । दावीबमोजिम इन्साफ हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले पञ्चायतले रोक्का राख्यो भन्ने वादीको लेख छ । वादीहरूले पञ्चायतलाई के कति जिम्मा लगाएर त्यसको निस्सा के लिए प्रमाण पेश गर्न सकेका छैनन् । रोक्का रहेको प्रमाण नै पेश गर्दैनन् भने रोक्का राखेको बाली खाइदिए भन्ने नालिसै लाग्न सक्दैन । वादी दावा लुटपिटको रूपमा मिल्ने किसिमको छ । आखिर दावामा जे भने पनि ऐनले खुदै लुटपीट कायम हुने देखिन्छ भने लुटपिटकै ऐनको हदम्यादभित्र नपरेको नालिसबाट कारवाई गर्नसमेत मिल्दैन । वादी र बाली खाई दिएको भनेको जग्गासमेत फरक फरक छ भने झगडाको बिषय एउटै हुँदैन । अ.बं.७३ नं. अनुसार छुट्टाछुट्टै नालिस दिनुपर्छ । त्यसकारण डिभिजनेबञ्चले खारेज गरेको कायम रहनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
११.यसमा ०२९।१।६।३ को डिभिजन बेञ्चबाट निर्णय हुँदा वादी अम्वरलालको हकमा जग्गा मिच्नेको १० नं. अनुसार रोक्का गरेको बाली रोक्का गर्नेले हिनामिना नोक्सान गरे भन्ने कुरा अ.बं.९ नं. ले देवानी हुने र रोक्का पुर्जि नभएको अन्य वादीहरूको हकमा निजहरूको बाली कसैले हात हाली लगिदिएको भए लुटपिटको १ नं.बमोजिमको वारदात हुने भई अ.बं.९ ले फौजदारी हुने त्यस्तो देवानी फौजदारी दुई बिषयमा अ.बं.७२ नं. ले एउटै नालिस लाग्न नसक्ने भन्ने र छुट्टी भिन्न भई बण्डापत्र पास भइसकेका वादीहरू ४ जनाको अलग अलग हकको बालीमा सोही अ.बं.७२ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने यी दुई कुराको मुख्य आधारमा वादीहरूको दावी खारेज हुने ठहराएको रहेछ । अहिले यस बेञ्चबाट डिभिजन बेञ्चले उठाएको उपरोक्त प्रारम्भिक प्रश्नहरूउपर नै मुख्य रूपले विचार गर्नुपर्ने हुन आएको छ ।
१२.जहाँसम्म वादी अम्बरलालको हकमा रोक्का भएको र अरू वादीहरूको हकमा रोक्का नरहेको बाली भनी डिभिजन बेञ्चको फैसलामा उल्लेख छ, त्यसको सम्बन्धमा वादीहरूको नालिस हेर्दा पञ्चायतलाई अधिकारै नभएको हाम्रो झगडिया तेजुमलद्वारा झुठ्ठा कुराको उजूर लिई गर्न नहुने बाली रोक्का गरी खमारमा रहेको धान र कामतमा रहेको सनबाली समेत ०२० साल फागुन बेगतेको पुर्जिले रोक्का राखी तेजुदासले गरेको पञ्चायतको उजूरीको टुङ्गो नलागेसम्म अम्वरलालको धान गाउँघर बोल खमारको सन, धानसमेतको जिन्सी रोक्का हुन्छ भनी रोक्का पुर्जि टाँसी रोक्का गर्दा ०२०।३।२७।२ का बण्डापत्रले हामी अमृतिया, नाफालाल असरासमेतका अंशभागको खमारमा रहेको बाली रोक्का गरी गाउँको माथवर मानिस भनी विपक्षी बखारु छुवाई गनीलाल गछवार जिम्मा दिइराखेको बाली जिम्मा लिने समेतका विपक्षीहरू बाली बटैदारहरूको भाग छुट्याई हाम्रो भागको बाली आफूखुशी गरिलिएकाले विगो भराई सजाय गरिपाउँ भनी वादीहरूले नालिस दावी गरेको पाइन्छ ।
१३.लुटपिटको १ नं.बमोजिम लुटपिटको वारदात कायम हुनालाई त्यसमा उल्लेख भएको परिबन्दसँग अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनुपर्छ अनिमात्र लुटपिटको वारदात कायम हुन सक्ने हो । प्रस्तुत नालिसमा त्यस किसिमसँग हात हाली जबरजस्तीसँग खोसी लगेको भन्ने नभई खमारमा रहेको बाली हाम्रो बटैदारसमेतलाई मिलाई निजहरूको भाग छुट्याई हाम्रो बाली आफू खुसी गरिलिएको भन्ने वादी दावीको वारदात हो । जिम्मा लगाएको बाली जिम्मा लिनेसमेतले आफू खुसी गरी लिए खाएको भनी सबैका हकमा एकैकिसिमको दावी लिई वादीहरूले नालिस गरेको यस्तो कुरामा वादी दावीसमेतको अभावमा अम्बरलाल बाहेक अरू वादीको हकमा लुटपिटको वारदात कायम हुने भनी ०२९।१।६।३ को डिभिजन बेञ्चले तर्क गरेको मिलेको देखिएन । वादी दावी कायम हुने नहुनेसमेत कुरा इन्साफ हुँदा ठहरेबमोजिम हुने हो । नालिसको हकमा वादीहरूको लेख दावीबाट सबैका हकमा देवानी बिषयकै एउटै कुरो देखिन आएको हुँदा अ.बं.७२ नं. ले एउटै नालिस लाग्न सक्ने प्रष्ट छ ।
१४.वादीहरू ४ जनाको आफ्नो–आफ्नो भाग छुट्याई बण्डापत्र पास भइसकेकोले भिन्न भिन्न मानिसको अलग अलग हकमा अ.बं.७२ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने हकमा उक्त अ.बं.७२ नं.मा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाको बिषयको कुरा लेखी ल्याएको भए पनि लिई सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत विवादमा झगडाको बिषय एउटै छ, छैन त्यसतर्फ हेर्दा अम्बरलालसँगको झगडाको मुद्दाकै मूल कारणबाट अम्बरलालको साथै अरू वादीको समेत एकै खमारमा रहेको बाली जिम्मा लगाएकोमा सो बाली जिम्मा लिनेसमेतले एकैपटक आफू खुसी गरिलिएको भन्ने वादी लेखाइबाट देखिन आएको छ, जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ, यस्तो एउटै झगडाको बिषयको कुरामा उक्त अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने नै हुँदा वादीहरू ४ जनाको हकमा एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने तर्कसँग सहमत हुन मिलेन ।
१५.तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट ०२९।१।६।२ को डिभिजन बेञ्चले वादी दावी नै खारेज गर्ने गरेको मिलेको देखिएन । वादीहरूको पुनरावेदनमा कानूनबमोजिम इन्साफ ठहर गरिदिनालाई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा २७ अनुसार यो मुद्दाको मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा सारी पठाइदिनु अरू तपसीलबमोजिम गर्नु ।
तपसील
वादीहरूले शुरूमा राखेको कोर्टफी रू.१३२४।२७ र अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१९८।६५ सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१९८।६५ समेत जम्मा रू.१६२१।५७ मा पुनरावेदन दस्तुर रू.१। कट्टा गरी बाँकी फिर्ता दिनु भनी ०२९।१।६।३ को डिभिजन बेञ्चका फैसलाबमोजिम लगत दिएकोमा सोअनुसार गर्नुपर्दैन, फिर्ता दिने गरेको डिभिजन बेञ्चको फैसलाको लगत काटिदिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु.......................१
वादी अम्वरलाल थारुलाई मोरङ जि.अ.को ०२६।३।२६।५ को फैसलाले गर्ने गरेको जरिवाना रू.१२५६।९२ फिर्ता लगत कट्टा गरिदिनु भनी डिभिजन बेञ्चको ०२९।१।६।३ को फैसलाबमोजिम लगत दिएकोमा सोअनुसार गर्नुपर्दैन डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत काटिदिनु भनी ऐ.ऐ..........................२
वादी अम्बरलाल थारु, अमृता थरुनी, असरा थारु, नाफालाल थारुहरूले मुद्दा दोहर्या।उँदा ०३०।३।१७।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.१३२।५३ देहायका प्रतिवादीहरूबाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी ऐ........................३
प्र.पं.ठीठरलाल खां थारु के ४।९१, लोभी सर्दार थारु के ४।९१, सनतलाल चौधरी थारु के ४।९१, खुबीलाल दास थारु के ४।९१, अलाइन मण्ड थारु ४।९१, जीतनारायण थारु के ४।९१, अनुप सरदार थारु के ४।९१, गनिलाल गछवार थारु के ४।९१, सोमेत थारु के ४।९१, दसना थारु के ४।९१, रविलाल थारु के ४।९१, तेजुदास थारु के ४।९१, अछालाल थारु के ४।९१, घुमैचौधरी थारु के ४।९१, मुसहरू माझी थारु के ४।९१, वरहुमाझी थारु के ४।९१, मुटाई सरदार थारु के ४।९१, मन्नु माझी थारु के ४।९१, वैरीलाल थारु के ४।९१, फतुलाल थारु के ४।९१, कालीराम खवास के ४।९१, बखान चौधरी थारु के ४।९१, लादुमोदी थारु के ४।९१, घुरन थारुके ४।९०, बन्नु कचिया के ४।९०, जगुलाल माझी थारु के ४।९०
हामीहरूको सहमती छ ।
न्या. धनेन्द्रबहादुर सिंह,
न्या. हेरम्वराज
इति सम्वत् २०३१ साल भाद्र ७ गते रोज ६ शुभम् ।