निर्णय नं. ५८९ - लेनदेन

निर्णय नं. ५८९ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री प्रकाशबहादुर के.शी.
न्यायाधीश श्री हेरम्वराज
न्यायाधीश श्री झपट सिं रावल
सम्वत् २०२७ सालको दे.फु.नं. १२०
फैसला भएको मिति : २०२७।१०।२३।६
पुनरावेदक : त्रिभुवन विश्वविद्यालय किर्तिपुरका रजिष्ट्रार श्री डा.त्रैलोक्यनाथ उप्रेती
विरूद्ध
विपक्षी : का.जि. पुतली सडका बस्ने भू.पु.डे.से. अधिवक्ता गजेन्द्रबहादुर प्रधानाङ्ग
मुद्दा : लेनदेन
(१) प्रचलित साहु आसामीको १ नं.र ३८ नं.–मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय १ नं. अन्तर्गत नपर्ने–उक्त विषयमा ३८ नं.को हदम्याद २ वर्ष भित्र फिराद गर्नुपर्ने ।
पत्रको मिति १८।१०।१७ मा भएको यो फिरादपत्र ०२१ पौष १६।३ मा दायर भएको रहेछ । पत्रमा कर्जा लिएको भन्ने र तमसुक गरेको छु भन्ने बोली नपरी दाउराको चट्टा ३० को मोल रु.२५२०० आजका मितिले १ महिनाभित्र दिने काम हुनेछ म्यादभित्र भुक्तानी नभएमा सुदसमेत बुझाउने बोली परेको रहेछ । त्यस्तो मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय लिखत भएको बखतमा प्रचलित साहु लेनदेन आसामीको १ नं.अन्तर्गत नपर्ने हुनाले ऐ.३८ नं.को हदम्याद वर्ष २ भित्र फिराद परेको नहुँदा यो फिरादपत्र खारेज हुन्छ । दर्ता गर्न नहुने फिराद दर्ता गरेको देखिएकोले कोर्टफी धरौटीसमेत ऐनको रीतपुर्याई फिर्ता दिनु । काडमाडौं जिल्लाअदालत र बागमती अञ्चलअदालतको फैसला उल्टी हुन्छ ।
(प्रकरण नं. १०)
पुनरावेदन तर्फबाट :
विपक्षी तर्फ :
उल्लेखित मुद्दा :
फैसला
न्यायाधीश श्री हेरम्वराज
१. त्रिभुवन विश्वविद्यालय (एस.टि.सी.यू.वि.सी.) किर्तिपुरबाट ०१८।१०।१७।३ मा पत्र संख्या ११६१ को पत्रमा श्री डे.से.गजेन्द्रबहादुरले मृगेन्द्र शम्सेर ज.ब.रा. वा आफ्नो जिम्माबाट ल्याएको दाउरा चट्टा ३०।३० कमिशन र अफिसमा उजुरी साथ जिम्मा लगाएकोमा उक्त अफिसले आफू खुसी गरी काम लगाउन पाउने गरी मेरै जिम्मा फिर्ता दिएमा बिक्री नगरी त्यसै राख्दा पता बढ्ने भएको र किन्ने मानिस पनि तयार भएका छन् । तर मैले ६००००० ईंट पोल्ने काम ठेक्का लिएकोले मलाई नै दाउरा आवश्यक पर्ने हुँदा सो दाउरा एकमुष्ट खरिद गर्ने काम होस् । म पेश्कीको रूपमा बुझेको भरपाई गरिदिनेछु भन्ने गयालालको दरखास्त परेकोमा सो दाउरा यूनिभरसिटिलाई चाहिने हुँदा त्यसको मोल चट्टा १ को रु.८४० ले हुने रु.२५२०० । एक महिनाभित्र बुझाउने सो म्यादमा नबुझाए सो सयकडा १०।। दरले व्याजसमेत राखी दाउराको मोल दिनेछु भन्ने उल्लेख गरी लिखत गरिदिएकाले सो दाउरा दिईसकेपछि उक्त शर्त बमोजिमको रूपैयाँ नदिएकाले नालेस गर्न आएको छु । उक्त ०१८।१०।१७।३ को पत्रमा उल्लेख भएबमोजिम दाउराको मोल रु.२,५२,००० र खरिद भएको मिति ०१८।१०।१७।३ देखि ०२१।९।१६ तक २ वर्ष ११ महिनाको सयकडा १० का दरले हुने व्याज रु.७२५० समेत जम्मा रु.३२५५० र फैसला भएका मिति तकको व्याजसमेत त्रिभुवन विश्वविद्यालयको जेथाबाट दिलाई पाउँ भन्नेसमेत ०२१।९।१६।४ को गजेन्द्रबहादुर प्रधानाङ्गको फिरादपत्र ।
२. वादी दावी झुठ्ठा हो । ले.ज.मृगेन्द्र सम्सेर ज.ब.रा. बाट आफ्नो जिम्मा ल्याएको रूपैयाँले खरिद गरेको भन्ने भनाई भएको सो दाउराको मोलमा धनीको हैसियतले दावा गरेको गयालालले उक्त ०१८।१०।१७ को दरर्खास्तमा उल्लेखित दाउरा चट्टा ३०।३० को मोल डे.से. गजेन्द्रबहादुर प्रधानाङ्गलाई एकमुष्ट दिई पठाउने काम होस् । रुपैयाँ भरपाई गरिदिनेछु भन्ने उल्लेख भएअनुसार पेश्की भरपाई गरिदिने छु भन्ने उल्लेख भएअनुसार पेश्की भरपाई गयालालले गरिदिएको छ भनी भन्न नसकेको र १ महिना व्याज नतिरी बुझाउने भन्ने शर्त रहनु नै लेनदेन पूर्ण भई नसकेको जनाउ नै वाक्यांश हो कानूनबमोजिमको लिखत पनि छैन र लेनदेन व्यावहारको १ नं.मा कानूनबमोजिमको लिखत नभई नालिस लाग्न सक्दैन भन्ने प्रष्ट उल्लेख भएको विश्वविद्यालयको प्रत्यक्ष मन्जुर नभई व्याज तिर्ने गरी शर्त सरायत इत्यादिको लिखत गर्ने कुनै पनि अफिसरलाई अधिकृत गरिएको छैन । तसर्थ, झुठ्ठा उजुर गरे वापत वादीलाई नै सजाय गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्नेसमेत ०२१।१२।१९।५ को त्रिभुवन विश्वविद्यालयको प्रतिवादी ।
३. विश्वविद्यालयको ११६१ नं.को पत्रमा गयालालले ईट पोल्ने ठेक्का मैले लिएकाले गजेन्द्रबहादुरको जिम्माको रूपैयाँबाट खरिद भएको दाउरा खरिद गरिपाउँ भनी दरखास्त दिएकाले सो ईट पोल्ने कामलाई चाहिने दाउरा चट्टा ३०।३० आजका मितिमा खरिद भएकाले मोल चट्टा १ को रु.८४०। ले जम्मा हुन आउने रु.२५२०० एक महिनाभित्र दिने काम हुने छ सो म्यादमा भुक्तानी नभएमा सयकडा १० का दरले व्याजसमेत राखी बुझाउने काम हुनेछ भन्ने उल्लेख भएको लिखत वादीबाट पेशभएको र सो लिखतलाई इन्कार लिन नसकी कानूनी तरिकाको मात्र होइन भन्ने प्रतिउत्तर जिकिर देखिएकोले सो खरिद भएको मिति ०१८ साल माघ १७ गतेदेखि ०२३ साल अषाढ ८ गते तकको सयकडा १० का दरले हुने व्याज ११०७४। र सावाँ रु.२५२००। समेत जम्मा रु.३६२७४। वादीले प्रतिवादीबाट भरी पाउने ठर्हछ भन्नेसमेत ०२३ साल आषाढ ८ गते का.जिल्ला अदालतले गरेको फैसला ।
४. अनाधिकृत व्यक्तिले गरिदिएको भनेको वेरितको लिखतबाट दावी लाग्न र भरी भराउ हुन नसक्ने हुँदा शुरूको इन्साफमा चित्तबुझेन भन्नेसमेत०२३।५।२३।५ को प्रतिवादीको पुनरावेदन ।
५. गयालाललाई बुझ्दा त्रिभुवन विश्वविद्यालयले सो दाउरा खरिद गर्न भनी मेरो दरखास्त लिई लिखत गरी दिई मलाई जिम्मा लगाएको र पछि विश्वविद्यालयले नै जिम्मा लिएको भन्नेसमेत बयान गरेको र उक्त लिखत सक्कलै झिकाई हेर्दा लिखतमा ३ पुस्ते नलेखिए पनि लेनदेन व्यवहारको ऐन २ नं.बमोजिम रीतपुर्वककै देखिन आएकाले वेरितको लिखत हुँदा उजुरै लाग्न नसक्ने भन्ने पुनरावेदन जिकिर मुनासिव देखिन नआएकोले शुरूको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ शुरूको मुनासिव छ भन्नेसमेत ०२५।३।१९ को बाग्मती अञ्चल अदालतको फैसला ।
६. साविक मुलुकी ऐन साहु आसामीका ३८ नं.को म्याद नाघेको फिरादबाट इन्साफ भएकोले चित्त बुझेन मिसिलमा पेश भएका सबै कागज प्रमाण हेरी शुरू अञ्चलको इन्साफ बदर गरिपाउँ भन्नेसमेत ०२५।२५।१ को प्रतिवादीको पुनरावेदन ।
७. प्रस्तुत मुद्दामा त्रि.वि.का रजिष्ट्रार त्रैलोक्यनाथका वारेसलाई रोहवरमा राखी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा लेनदेन व्यवहारको १ नं.मा कानूनबमोजिमको लिखत नगरी लेनदेन व्यावहार गरेकोमा नालेस लाग्न सक्तैन भन्ने लेखिएको र प्रस्तुत मुद्दाको व्यावहार नयाँ मुलुकी ऐन लागू हुनुभन्दा अगावैको भए पनि सो नयाँ ऐन लागू भई सकेपछिमात्र भरी भराउनको लागि नालिस गरेको देखिएकोले नयाँ मुलुकी ऐन बमोजिम नै कारवाई किनारा गर्ने विषयमा कुनै पक्षको उजुर पनि नभएको हुँदा विचारै गरी लिखत हेर्दा सो लिखतमा आसामीको ३ पुस्ता पनि नखुलेको ल्याप्चे सहीछाप शिर पुछारमा पनि नपरेको लिखतबाट भरी भराउन गर्न नमिल्ने र विश्वविद्यालयको अफिसको रूपबाट लेखिएको देखिए पनि अफिसरहरूको सहीछाप पनि कुनैको दर्जा वतननै नखुलेको कुनैको दर्जा खुले पनि वतन नखुलेको यदि लेनदेन व्यावहार गरेको साँचो भए अर्को रीतपूर्वको लिखत गराउन सक्नुपर्ने सो पनि नदेखिएकोले यस्तो वेरितको लिखतबाट त्रिभुवन विश्वविद्यालयले दावीको रकम सावाँ बुझाउन पर्छ भन्न नमिल्ने हुनाले खारेज गर्नुपर्ने नालेसलाई भरी भराउनु पर्छ भनी सहयोगी साथी श्री राजा इश्वरीजङ्गबहादुर सिंहको राय सँग सहमत नभएकोले स.अ.नियमावलीबमोजिम फुल बेञ्चमा पठाई दिनु भन्ने माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको विश्वविद्यालयतर्फबाट हाकिम १ सुपरभाईजर १ खड्ग सिं समेतको स्वःहस्त लिखित त्रिभुवन विश्वविद्यालयतर्फबाट लेखिदिएको सैकडा १० व्याज दिने भन्ने पनि लेखिएको यस्तो प्रष्ट दसौद दिने विषय लेखिएपछि त्यस्तो कागजलाई लिखत होइन भन्ने पनि भन्न नमिल्ने । कागजजाँचको ५ नं.को ऐनमा रीत नपुगेको कागज गर्नेलाई २० । बीस रूपैयाँ जरिवाना गरी सो कागजबाट नालेस लिई न्याय गरी दिनपर्छ भन्ने लेखिएको श्री त्रिभुवन विश्वविद्यालयको अफिसहरूले गरी दिएको लिखतलाई वेरित भनी नभराउने गरेको सहयोगी साथीको रायमा सहमत नभएकोले शुरू अञ्चलले गरेको न्याय सदर गरी दिने राय व्यक्त गरेको छु । स.अ.नियमावलीबमोजिम इन्साफ जाँच भई फुल बेञ्चबाटसदर ठहरे पछि सदर भएको राय बमोजिम लगत कसी असुलतहसिल गर्ने हुनाले हाल केही गर्न नपर्ने भई फाईल फुल बेञ्च फाँटमा बुझाई दिनु भन्ने मा.न्या.श्री राजा ईश्वरी जङ्गबहादुर सिंहको राय भई भएको ०२७।२।२८।५ को डिभिजन बेञ्चको फैसला ।
८. दाउरा चट्टा ३०।३० को माल डे.से.गजेन्द्रबहादुर प्रधानलाई एकै मुष्ट दिई पठाउने काम हवस् भन्नेसमेत ठे.गयालाल श्रेष्ठले दरखास्त दिनु भएको भनी त्रिभुवन विश्वविद्यालयले लेखेको ०१८।१०।१७ को चिठ्ठीसम्मको आधारमा वादीको यो नालेस परेको रहेछ । त्रिभुवन विश्वविद्यालय र वादी डे.से.गजेन्द्रबहादुरको सिधा सम्बन्धमा स्थापित भई निजहरूको बीचमा कुनै शर्त कबुलियत लेखत पत्रहरू भएको देखिन आएन । तसर्थ, अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादी गजेन्द्रबहादुर प्रधानलाई रूल नियमबमोजिम गरी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने ०२७।६।६।३ को फुल बेञ्चको आदेश ।
९. वादी ०१८।१०।१७ को पत्रको मुख्य आधारमा दावी गरेको रहेछ सो पत्र बाहेक वादीले बिगो पाउने अरू प्रमाण देखाएका रहेनछ, वादीले गरेको बहसमा समावेश भएको, बढी दुई न्यायाधीशको मतभेद भएको हो भने सोही कुरामा मात्र फुल बेञ्चबाट निर्णय हुनुपर्ने हो । अरु कुरामा फुल बेञ्चको निर्णय हुनुपर्ने हैन भन्नेसमेत छ । डिभिजन बेञ्चको रायमा बिगो भराउन उक्त पत्रमा रीत नपुगेकोले प्रमाण लाग्न नसक्ने भन्ने एक रायमा पत्रलाई प्रमाण लिने भन्ने अर्को राय भएकोले दुवै रायबाट बिगो भराउन यो पत्र प्रमाण हुन सक्छ सक्दैन भनी निर्णय हुनुपर्ने देखिएको छ ।
१०. पत्रको मिति १८।१०।१७ भएको र यो फिरादपत्र ०२१ पौष १६।३ मा दायर भएको रहेछ । पत्रमा कर्जा लिएको भन्ने र तमसुक गरेको छु भन्ने बोली नपरी दाउराको चट्टा ३० को मोल रु.२५२०० आजका मितिले १ महिनाभित्र दिने काम हुनेछ म्यादभित्र भुक्तानी नभएमा सुदसमेत बुझाउने बोली परेको रहेछ । त्यस्तो मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय लिखत भएको बखतमा प्रचलित साहु लेनदेन आसामीको १ नं. अन्तर्गत नपर्ने हुनाले ऐ. ३८ नं. को हदम्याद वर्ष २ भित्र फिराद परेको नहुँदा यो फिरादपत्र खारेज हुन्छ । दर्ता गर्न नहुने फिराद दर्ता गरेको देखिएकोले कोर्टफी र धरौटीसमेत ऐनको रीतपुर्याई फिर्ता दिनु, काठमाडौं जिल्लाअदालत र बा.अं.अ.को फैसला उल्टी हुन्छ । तपसीलबमोजिम गर्नु ।
तपसिल
देहायबमोजिम धरौटी रहेको कोर्ट फि फिर्ता पाउँ भनी दरखास्त गरेमा ऐनको रीतपुर्याई फिर्ता दिनु..............१
वादी गजेन्द्रबहादुरले फिरादपत्र साथ ०२१।९।१६।३ का.श्रे.अ.तमा राखेको कोर्टफी रु. १२४७।३९ त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रर के वा.अं.अ.मा ०२३।५।२३।५ मा राखेको कोर्टफी रु. १८६।९८, ऐ ले ऐ मितिमा राखेको धरौटी रु.१२४६।५०, सर्वोच्च अदालतमा ०२५।७।५।१ मा राखेका धरौट रु.२१०, ऐ मा कोर्टफी रु.२५५।८५
काठमाडौं जिल्ला अदालतको ०२३।८।४ को फैसलाले वादीले भरी पाउने गरेको बिगो रु.३६२७४। र कोर्ट फि रु.१२४६।५० बाग्मती अञ्चल अदालतको २५।३।१९।३ को फैसलाले वादीलाई भरी पाउने गरेको बिगो रु.५११७ र कोर्टफी रु.२५५।८५ भराउनु पर्दैन, लाग्ने काटी दिनु भनी का.श्रे.अ.त मा लगत दिनु...............................२
म्यादनाघेको फिरादमा इन्साफ गरेमा निम्नलिखित व्यक्तिको रिकर्ड राख्न स.अ.जनरल विभागमा लेखी पठाउनु..२
जि.न्या.गजेन्द्रराज श्रेष्ठ १,
अञ्चल न्यायाधीश बृषबहादुर थापा१,
न्या.श्री प्रकाशबहादुर र
न्या.श्री झपटसिं रावल
उक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२७ साल माघ २३ गते रोज ६ शुभम् ।