निर्णय नं. ५९१ - जग्गा बाली

निर्णय नं. ५९१ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री प्रकाशबहादुर के.शी.
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत २०२६ सालको देवानी फु.नं. १०५
फैसला भएको मिति : ०२७।११।२१।६
निवेदक : जि.मो.विजयपुर धरानबस्ने कुलप्रसाद आचार्य पर्लोक भई मु.स.गर्ने पशुपति आचार्य
विरूद्ध
विपक्षी : ऐ.बस्ने जयप्रसाद थपलिया, रूपनारायण प्रसाई समेत
मुद्दा : जग्गा बाली
(१) राजिनामा गरिदिने व्यक्तिको नठहर्ने गरी अन्तिमरूपमा फैसला भइरहेको देखिएमा–राजिनामा गरी लिनेको हक नपुग्ने ।
त्यसरी पहिले मुद्दा परी वादीहरूको दाता सु.भैरवप्रसादसमेतले हारी जयप्रसादको कि.नं. ३६८।३७२।३८३ को कायम भई जिति सके । उसै जग्गामा सो पछि उनै सु.भैरवप्रसाद समेतले गरिदिएको राजिनामाको नाताबाट वादीहरूको हक पुग्न नसक्ने ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
उल्लेखित मुद्दा :
फैसला
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
१. सुव्वा भैरवप्रसाद र निजको पत्नी देवकुमारीसमेतबाट राजिनामा गराई लिएको जग्गा मध्ये ६२ नं.को जग्गा ४।।४।। मध्ये आधा २।२। को जग्गा विपक्षीले खाई १४५ नं.को मध्ये आधा दुई बिगाहा हाकिमलाई खुवाई राखेको सो १४५ नं.मा मुद्दा गरी विपक्षीले जिति पाएकोले राजिनाको ६२ नं को मध्ये २।२। जग्गा हामीलाई छाडी दिनुपर्ने नदिएकाले २ वर्षको बिगो रु.२६१६ दिलाई जग्गा चलन चलाई पाउँ भन्नेसमेत वादी ।
२. वादी दावीबमोजिम खाएको छैन । वादीले ६२ नं.भनेको जग्गा मेरो नं.२६८।३७२।३८३ घर बारीको जग्गा हो वादीसँग सट्टापट्टा गरी खाएको होइन भन्नेसमेत प्रतिवादी।
३. प्रतिवादीले ३६८।३७२।३८३ नं.भनेको जग्गा वादीको ६२ नं.को जग्गा ठहर्छ । बाली बिगो २६१६ भराई दिने भन्नेसमेत ०१५।४।२६ को मो.वि.अमिनीको फैसला ।
४. मेरो साक्षी प्रमाण कागज केही नवुझी अन्याय गरी हराई बिगो रु.२६१६ । तिर्नुपर्ने गरेकाले चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
५. वादीले दावी गरेको जग्गा वादीको हक दावी पुग्न नसक्ने हुनाले शुरूले गल्ती ईन्साफ गरेको ठहर्छ भन्नेसमेत ०१५।११।२२ को मोरङ विराटनगर अपीलको फैसला
६. अघि सर्वोच्चअदालतबाट भएको फैसलामा ६२ नं.को जग्गा भैरवप्रसादबाट आएको ठहर्ने यो जग्गा नठहर्ने भन्ने उल्लेख भएको यसमा ६२ नं.को जग्गा पनि नपाउने ठहरफैसला भएकोसमेत हुँदा मो.वि.अपीलको इन्साफमा चित्तबुझेन भन्नेसमेत वादीहरूको पुनरावेदन ।
७. झगडा परेको र झगडा नपरेको वादीले ६२.नं.भनेको जग्गासमेत नापीबाट जम्मा जग्गा बिगाहा ४।४ देखिन आएकाले प्रतिवादीको जग्गा त्यस ठाउँमा छ भन्न नमिल्ने देखिएकोले समेत प्रतिवादीले घरवास गरेको घर र त्यो घरको बाटो निकासको जग्गा बाहेक अरू जग्गा ६२ नं.को जग्गा कायम हुन आई वादीको हक ठहराएको समेत शुरूको इन्साफ मुनासिव, न्याय प्रशासन ऐन, ०१६ ले अपील नलाग्ने भन्नेसमेत ०१८।६।२० को पूर्वाञ्चल उच्च अदालत सिंगलबेञ्चको फैसला ।
८. सो फैसलाउपर सर्वोच्च अदालतमा अपील गर्ने निस्सा आदेश गरिपाउँ भन्ने प्रतिवादी ना.सु. कुलप्रसादको हकमा पशुपति अचार्जले दिएको निवेदनपत्रमा ऐनबमोजिमको पुनरावेदन दिए लिई अपील किनारा गर्न मिसिल सहित सर्वोच्च अदालतमा पठाई दिनु भनी पूर्वाञ्चल उच्च अदालतबाट ०१८।७।२१।२ मा आदेश भएको ।
९. एकपटक मुद्दा परी मो.वि.इ.अ.बाट ०५ सालमा फैसला भएको सो फैसला अन्तिम भएको विपक्षीका दाताले नै हाम्रो हक भोगमा चित्त बुझाई वसेकोमा विपक्षीहरूको उजुर लाग्न नसक्नेसमेत वास्तै नगरी हराई दिएको हुँदा चित्त बुझ्ने भन्ने प्रतिवादीको पुनरावेदन ।
१०. प्रतिवादी कुलप्रसादको घरवास भएको हाल झगडा परेको जग्गा पनि वादीको ६२ नं.कित्ता मध्येकै ठहराई पूर्वाञ्चल उच्च अदालतले छिनेको इन्साफमा सहमत हुनालाई सो जग्गा हालसम्म प्रतिवादी कुलप्रसाद कै भोग चलनमा रहिआएको कुर वादीकै फिरादपत्र लेखाइबाटै देखिएकोछ । यो यति आयस्ता बाली तिरो लिने दिने गरी हँंदा बटैवासमेतको शर्तमा यो साल मितिदेखि दिएको हो लिखत सबुद यो छ भन्न पेश गर्न वादीले सकेको छैन । वादीले आफ्नो दाता सु.भैरवप्रसाद समेतसँग ०६।३।१ मा घरायसमा र ऐ १३ गते रजिष्ट्रेशन पास गरी घर जग्गा राजिनामा गराई लिएको त्यस भन्दा आगावै वादीका दाता भैरवप्रसादसमेत उपर अंशको जग्गा दिलाई पाउँ भनी कुलप्रसादले नालेस गरेको मुद्दामा ०४ साल पौष ४ गते नक्सा हुँदा प्रतिवादी कुलप्रसादको घरवास भएको कित्ता जग्गा ३६८।३७२।३८३ नम्बरको भन्ने जनिइ वादी प्रतिवादी दुवै थरको सहीछाप परेको र सो नं.३६८।३७२।३८३ को जग्गा कुलप्रसादकै ठहरी ०५ साल पौष १९ गते विराटनगर अमिनीबाट फैसला भएकोमा त्यसउपर कुनै पक्षले पनि अपील नगरी अन्तिम निर्णय कायम भई सकेपछि मात्र वादीले भैरवप्रसाद देवकुमारीबाट राजिनामा गराई दिएको देखिएकोले वादीका दाता भैरवप्रसादसँग परेका मुद्दाबाटै अर्कै नम्वरको ठहरी अदालतबाट फैसला भई सकेको जग्गालाई त्यसपछि लिने वादीको ६२ नं.मध्येको भनी दावी लिएको कुरा साँचो नहुने । नं.१४५ को जग्गासँग सट्टापट्टा गरेको लिखत सबूद दिन पनि वादीले नसकेको र प्रमाणका मिसिलहरूबाट नं.१४५ को जग्गा अर्कौ ठाउँको ठहरी पटक–पटक फैसला भइसकेको देखिएकोले समेत झगडा परेको प्रतिवादीको घरवास भएको कित्ता जग्गा ३६८।३७२।३८३ को प्रतीवादीको हकको ठहर्छ । वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ मो. वि. अपीलको मुनासिव हुँदा शुरू विराटनगर अमिनी पूर्वाञ्चल उच्च अदालतको फैसला बदर हुन्छ भन्नेसमेत डिभिजन बेञ्चको ०१९।१०।५।६ को फैसला ।
११. सो इन्साफमा चित्त बुझेन दोहोराई पाउँ भन्ने वादी जयप्रसाद रूपनारनको निवेदनपत्रमा यो निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजको हजुरमा जाहेर हुँदा एकपटक फुल बेञ्चबाट दोहर्याई हेरी ऐन बमोजिम निर्णय गरीदिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०२०।२।२१।३ मा लेखिआएको हुकुम प्रमांगी ।
१२. पूर्वाञ्चल उच्च अदालतको फैसलाउपर सर्वोच्च अदालतमा अपील गर्न पाउने गरी पूर्वाञ्चल उच्च अदालतबाट दिइएको निस्सा आदेश नै न्याय प्रशासन ऐन, २०१६ को दफा १९ (४) को अनुरूप नभएको भन्ने निवेदकतर्फका विद्वान वकिलले बहसमा मुख्य जिकिर लिन भएकोले सर्वप्रथम त्यसतर्फनै हेर्नुपर्ने हुन आएको छ । न्याय प्रशासन ऐन, २०१६ हेरेमा सो ऐनको दफा १९ (४) मा कुनै मुद्दा मामिलामा उच्च अदालतले दिएको फैसला वा अन्तिम आदेशउपर देहायबमोजिमको मुद्दा मामिलामा मात्र सर्वोच्च अदालतमा अपील लाग्ने छ भन्ने र देहाय खण्ड (क) मा संविधानको व्याख्या जस्तो कुनै जटिल कानूनी प्रश्न समावेश भएको भनी उच्च अदालतले निस्सा गरिदिएको मुद्दा मामिला वा भन्ने उल्लेख भएको सोअनुसार प्रस्तुत केशमा पूर्वाञ्चल उच्च अदालतले सर्वोच्च अदालतमा अपील गर्न पाउने गरिदिएको ०१८।७।२१।२ को निस्सा आदेशमा संविधानको व्याख्या जस्तो यो कुराको जटिल कानूनी प्रश्न समावेश भएको भन्ने उल्लेख नगरी ऐन बमोजिमको अपील दिए लिई अपील किनारा गर्न मिसिल सहित सर्वोच्च अदालतमा पठाई दिनु भन्नेसम्म उल्लेख गरेको देखियो । पूर्वाञ्चल उच्च अदालतबाट यस्तै निस्सा आदेश गरी दिएको निवेदक प्रतीवादी सावित्री देवी पाध्यानी र वादी मखन महत्तोको दे.फु.नं.२८६ को हाल आवादी मुद्दामा न्यायप्रशान ऐन २०१६ को दफा १९(४) को खण्ड (क)अनुसार सर्वोच्च अदालतमा अपील गर्न पाउने गरी उच्च अदालतहरूबाट दिइने निस्सा आदेशमा यो कुराको जटिल कानूनी प्रश्न समावेश भएको भनी खुलाउनै पर्ने उक्त ऐनको व्याख्या भई ०२२।९।२०।३ मा फुल बेञ्चबाट फैसला भई राखेकोसमेत देखिनाले यो कुराको जटिल कानूनी प्रश्न समावेश भएको भन्ने उल्लेख नगरिएको पूर्वाञ्चल उच्च अदालतको आदेशलाई उक्त ऐनको अनुरूप भन्न मिल्ने देखिएन । तसर्थःउपरोक्त उल्लेख भएबमोजिम पूर्वाञ्चल उच्च अदालतबाट गरिदिएको ०१८।७।२१।२ को निस्सा आदेश नै ऐनको अुनरूप नभएकोले प्रस्तुत केशमा अरू कुराको विचार गरी रहने नपरी पूर्वाञ्चल उच्च अदालतको फैसलाउपर प्रतिवादी कुलप्रसादको हकमा पशुपति आचार्यले दिएको पुनरावेदन खारेज हुने ठहर्छ भन्नेसमेत ०२२।११।२५।३ को फुल बेञ्चको फैसला ।
१३. सोउपर चित्त बुझेन दोहर्याई हेरी पाउँ भनी पशुपति आचार्यले चढाएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए फुल बेञ्चबाट हेरी उच्च अदालतले फैसला गरेको इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेकोछ भन्ने मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट वकस भई आएको ०२६।८।१७।३ को हुकुम प्रमांगी ।
१४. बक्स भएका हु.प्र.बमोजिम गर्न निमित्त नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने तत्कालीन माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२६।८।२०।६ को आदेश ।
१५. यसमा बक्स भएका हुकुम प्रमांगी बमोजिम पूर्वाञ्चल उच्च अदालतले गरेको इन्साफ जाँचको लागि तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२७।८।१६।३ मा पेश भई प्रतिवादी कुलप्रसाद मरी मुद्दा सकार गर्ने पशुपति आचार्यतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादीहरूतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको न. नं.२५ को जग्गा सु.भैरवप्रसाद र निजकी पत्नी देवकुमारीसमेतबाट ०६।३।१ मा घरायसमा र ऐ १३ गते रजिष्टेशन पास गराई लिएको कि.नं.६२ भित्रको हाम्रो हकको भन्ने वादी हरूको मुख्य दावी भएको पाइन्छ । सो झगडा परेको न.नं.२५ को जग्गामा टिनको घर समेत भएको सो घर प्र.कुलप्रसादकै भोगचलनमा रहिआएको भन्ने कुरामा वादी हरूले कुनै विरोध नगरेका र वादीहरूले राजिनामा लिनुभन्दा अगावै निजहरूको दाता सु.भैरव प्रसाद समेतउपर यी मुद्दाका प्र.कुलप्रसादले अंश जग्गा दिलाइपाउँ भनी नालेस गरेको मुद्दा मा नक्सासमेत भई हालको न.नं २५ कै कुलप्रसादको घरसमेत भएको जग्गा लाई उस बखत पनि कि.नं.३६८।३७२।३४३ को झगडा परेको भनी नक्सामा जनिएकोमा नं.३६८। ३७२।३८३ को उस मुद्दाको वादी कुलप्रसादकै हकको ठहरी विराटनगर अमिनीबाट ०५।९।१९।१ मा फैसला भएको सो फैसलाउपर कसैको पुनरावेदन नपरी अन्तिमरूपमा रहेकोसमेत देखियो । त्यसरी पहिले नै मुद्दा परी वादीहरूको दाता सु.भैरवप्रसादसमेतले हारी जयप्रसादको कि.नं. ३६८।३७२।३८३ को कायम भई जितिसकेको उसै जग्गामा सो पछि उनै सु.भैरवप्रसादसमेतले गरिदिएको राजिनामको नाताबाट वादीहरूको हक पुग्न नसक्नेसमेत हुँदा झगडा परेको न.नं. २५ को जग्गा हाम्रो कि.नं.६२ भित्रको भन्ने वादीहरूको दावी पुग्नसक्दैन । सोजग्गा प्रतिवादी कुलप्रसादको ठहराई ०१५।११।२२।५मा मोरङ विराटनगर अपीलले छिनेको इन्साफ मुनासिव ठहर्छ । वादीको ठहराएको शुरू मो.वि. अमिनीको सदर गरी पूर्वाञ्चल उच्च अदालतबाट ०१८।६।२० मा छिनेको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।
तपसिल
देहायका कलममा देहायबमोजिम गर्नु भनी हालको मो.जि.अ.मा लेखीपठाउन कानूनबमोजिम लगत दिनु...........१
देहायका मानिस के मो वि.अपीलको ०१५।११।२२।५ को फैसलाले लाग्ने गरेको दण्ड भा.रू ७४।।.।। को सोही दरले हुने ने.रू ११९।२५ पूर्वाञ्चल उच्च अदालतको ०१८।६।२०।६ को फैसलाले लगत काटिदिने गरेको कायम राख्नु भनी फुल बेञ्चको ०२२।११।२५।३ को फैसलाबमोजिम ०२२।१२।१५।२ मा लगत दिएकोमो सोअनुसार गर्नु पर्दैन पूर्वाञ्चल उच्च अदालतको फैसलाले लगत काटी मो.वि अपीलको फैसलाबमोजिम लगत कायम राख्नु भनी लेखी पठाउने कलम १ जयप्रसाद थपलिया १ रूपनायारण प्रसाई १
प्रतिवादी कुलप्रसाद आचार्य के मो.वि.अमिनीको फैसलाले गर्ने गरेको दण्ड भा.रू ४४५।।.।। मा लाग्ने सलामी रु.१
कटाई बाँकी रु.४४४।।.।। को सटही दरले हुने रु.७११।२५ मो.वि. अपीलको ०१५।११।२२।५ को फैसलाले नलाग्ने लगत कट्टा गरी लगत दिएकोमो सो मो.वि.अपीलको फैसलाबमोजिमको लगत काटी शुरू फैसलाबमोजिम गर्नु भनी पूर्वाञ्चल उच्च अदालतको ०१८।६।२०।६ को फैसलाबमोजिम लगत दिएअनुसार शुरू मो.वि.अमिनीको फैसलाले लगत कायमै राख्नु भनी २२।११।२५।३ को फुल बेञ्चका फैसलाबमोजिम २२।१२।१५।२ मा लगत दिएकोमा उक्त फुल बेञ्चको फैसला र पूर्वाञ्चल उच्च अदालतको फैसला लगतबमोजिम गर्नु पदैन मो.वि.अपीलको फैसलाबमोजिम लगत कायम राख्नु भनी ऐ..........................२
वादी जयप्रसाद थपलिया रूपनारायण प्रसाई के.मो.वि.अमिनीको १५।४।२६ को फैसलाले लिने गरेको सलामी रु.२ र निजहरूलाई प्रतिवादीबाट भराई दिने गरेको बिगो भा.रू. २६१६ समेत मो.वि. अपीलको १५।११।२२।५ को फैसलाले फिर्ता लगत कट्टा गरिदिने गरी लगत दिएकोमा पूर्वाञ्चल उच्चअदालतको ०२८।६।२०।६ को फैसलाले मो.वि.अपीलको फैसलाबमोजिम लगत काटी शुरू फैसलाबमोजिम लगत कायमै राख्नु भनी लगत दिएको कायम राख्ने गरी फुल बेञ्चको २२।११।२५।३ को फैसलाबमोजिम २२।१२।१५।२ मा लगत दिएकोमा सोअनुसार गर्नुृपर्दैन । मो.वि.अपिलकोउपरोक्त फैसलाबमोजिमको लगत कायम राख्नु भनी ऐ..........................३
मो.वि.अमिनीको देहायका मानिस के मो.वि.अपीलको ०१५।११।२२।५ को फैसलाले गर्ने गरेको जरिवाना रु.१ पूर्वाञ्चल उच्च अदालतको ०१८।६।२०।६ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेको लगत कायम राख्नु भनी २२।११।२५।३ को फुल बेञ्चको फैसलाबमोजिम २२।१२।१५।२ मा लगत दिएकोमा सोअनुसार गर्नु पर्दैन मो.वि.अपीलको उपरोक्त फैसलाबमोजिम लगत कायमै राख्नु भनी ऐ.................................४
हाकिम ख.नित्यानन्द जोशी १ ख.खगेन्द्रनाथ उप्रेती १ वि.गोविन्दप्रसाद पाध्य १
निवेदक प्रतिवादी पशुपति आचार्यले मुद्दा दोहर्याई ०२६।१२।३०।२ मा दाखिल गरेको कोर्टफी ३२।४७ कोर्टफी ऐन, २०१७ को दफा २९ (३) र ऐ १८(४)बमोजिम वादी जयप्रसाद थपलिया, रूपनारायण प्रसाईबाट भरी पाउने हुँदा सोही ऐनको दफा १५(११)बमोजिम ३ वर्ष भित्र निज वादीहरूबाट भराई पाउँ भनी दरखास्त गरेमा दस्तुर केही नलीइ भराई दिनु भनी कानूनबमोजिम लगत दिनु........................५
नियमबमोजिम मिसिल बुझाई दिनु...................६
न्या.श्रीप्रकाशबहादुर र
न्या.श्री चन्द्रप्रसाद
उपरोक्त ठहरमा हामिहरूको सहमत छ ।
इति सम्वत् २०२७ साल फाल्गुण २१ गते रोज ६ शुभम् ।