निर्णय नं. ५९२ - अपुताली

निर्णय नं. ५९२ ने.का.प २०२८
फुल बेञ्च
प्रधान न्यायधीश श्री रत्नबहादुर विष्ट
न्यायधीश श्री नयनबहादुर खत्री
न्यायधीश श्री झपट सिं रावल
सम्वत २०२६ सालको देवानी फुल नम्बर ९३
फैसला भएको मिती : २०२७।११।२८।६
निवेदक : जि. पर्शा सिद्धमास मौजे मनियारी बस्ने देवराज राउत अहिर
विरूद्ध
विपक्षी : ऐ ऐ बस्ने सत्यदेव राउत अहिर सामदेव राउत अहिर
मुद्दा : अपुताली
(१) दाखेल दर्ता गराई हक छुट्टाई लिनेले नै तिरोभरो भोगचलन गरी आउनाका साथै निजकै नाममा नापी दर्ताको पुर्जीसमेत पाईसकेमा–हकछाडी दिनेको मृत्युपछि उक्त जग्गा अपुताली परेको भन्न नमिल्ने ।
त्यसरी ०१३ सालमै सम्मतीयाले हक छाडी सामदेव सतदेवका नाउँमा दाखेल दर्ता गराई दिई तिरो भरो भोग चलन गरी आएको र ०८ सालको नापीले निजै सामदेव सतदेवका नाममा नापी दर्ता गरी पुर्जासमेत दिइसकेको त्यस्तो जग्गालाई ०२१ सालमा सम्मतीया मरेपछि निजको अपुताली परेको भन्न नमिल्ने भएकोले सो जग्गामा हकवाला हुँ भन्नेको हकदैया लाग्न नसक्ने हुँदा त्यसतर्फ प्रतिवादी सतदेव सामदेवकै हक कायम हुने ठहर्याएको इन्साफ ०२५।२।२१।१ को डिभिजन बेञ्चको मुनासिवै छ ।
(प्रकरण नं. १६)
(२) मानो जोडी बसेको कानूनी लिखत सवूदको अभावमा–मानोजोडी बसेको भन्ने कुरालाई मान्यता दिन नमिल्ने ।
तर निज सतदेव सामदेव सम्मतीयासँग कुन मितिमा मानो जोडी बसेका हुन त्यस कुराको कानूनी लिखत सबूद नभएकोले सगोलमा बसी आएको भनी उल्लेख गरेको कुरालाई मान्यता दिन मिलेन ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट
विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
उल्लेखित मुद्दा :
फैसला
न्या. श्री झपट सिंह रावल
१. जिजुवा अर्जुनका वाल कुवँर १ करझिगन १ ढोडाही १ बाबुराम १ समेत ४ छोरा हुन् । करझिगनको छोरा प्रताप र प्रतापको छोरा म देवराज हुँ ढोडाईको छोरा रामलगन र राम लगनको छोरा लक्षन र लक्ष्मी २ भाइमा लक्षनको छोरा सामदेव लक्ष्मीको छोरा सत्यदेव हो, त्यसो हुँदा सामदेव सत्यदेव मेरा भतिजा हुन । कान्छा बाबुरामको छोरा महावीर, महावीर परलोक हुनु भएको वहाँको छोरा थिएनन् । जाहान सम्मतीया ०२१।७।४ गते परलोक हुनुभएकाले काका महावीरको अपुताली पर्न आएकोले सबै भन्दा नजिकको हकदार म भएकोले मैले स्याहार सम्भार समेत गरेको अपुतालीमा मेरो हक हुन आएको, सत्यदेव र सामदेवले खिचोला गर्न आएकोले साविक मुलुकी ऐन रजिष्ट्रेशनको १,२,३।४ नं.बमोजिम कुनै लिखत प्रमाण छ भन्न नसकेको हुँदा ऐ ७ नं.ले दावी नपुग्ने र सम्मतीया मरी मेरो हक हुन आएको रु. ५३४०। मोल जाने घर जग्गामा सामदेव, सत्यदेवले खिचोला गर्न आएकोले ऐनबमोजिम सजाय गरी तपसीलको घर जग्गामा मेरो हक कायम गरी खिचोला मेटाई पाउँ भन्नेसमेत २१।८।२९।२ को देवराज राउत अहिरको फिराद ।
२. मर्ने बजे सम्मतीया हामीहरूकै सगोलमा रही हामीले प्रतिपालन गरी परलोक हुँदा समेत दागवती क्रिया आदि हामीलेनै गरेको हुनाले वादी उजुरी झुठ्ठा हो । हामीले अन्याय गरेको भए अरू नातेदारले समेत उजुर गर्नुपर्ने वंशावलीतर्फ वादीले वाल कुवँरको सन्ताननै नदेखाएको बाल गोविन्दको ५ छोरा थिए । त्यसमध्ये विजनको छोराहरू गोविन्द र चौधुरको स्वास्नी औं म सतदेव सामदेवलाई झगडिया बनाए पनि हामीहरूको भाइ पुनदेव, राजदेव, जयनाथ समेत जिवित रहेकोमा सत्य कुरा गुम गर्नु भएको, सच्चा पुस्तावली मुल पुर्खा अर्जुन क्रमशः बाल कुवँर करझिगन ढोडाइ, बाबुराम ४ छोरा भएको, बाल कुवँरको सखल, भुटेनि परमेश्वर दुवरी विर्जन ५ छोरा भई अरू सबै मरेका विजनको हर गोविन्द अझै छन् । करझिगनको प्रताप र रघु चौधुर, जदुनन्दन ४ छोरामध्ये प्रतिवादीको छोरा वादी हुन । अरू मरीसके ढोडाइको छोरा रामलगन र रामलगनको छोरा लक्ष्मीलक्षण भई लक्ष्मीको छोरा म सतदेव औं पुनदेवी लक्षनको छोरा सामदेव, सतदेव, जयनाथ भई बाजे बाबुरामको छोरा महावीरमात्र जन्मेको र निजको छोरा नभई छोरी शिवझारिवा मात्र भएको निज विदेश भारत चम्पापुरमा रहीआएकी छन् । बजै सम्मतिया हाम्रो सगोलमै रही आउनुभएको र हामीहरूको सगोलमा परलोक हुनुभएको हो । हामीहरूको सेवाबाट बजै खुशी भई म सामदेवलाई मौजे मनियारी कटाको जग्गा बिगाहा ३।३०१ र सतदेवलाई मनियारी मालको ४।।२।।१ चार बिगाहा वाह्र कठ्ठा ११ धुर जग्गा दिनु भएको र दिनेको मञ्जुरी अनुसार दर्तागरी १३ सालदेखि तिरो भोग चलनगरी हालको सर्भेमा समेत आफ्नै नाममा नापी गराएको वादीले अघि कुनै उजुर प्रतिवाद गर्न नसकेको हुँदा जग्गा मिच्नेको १८ नं. ले म्यादसमेत नाघीसकेको यो उजुर खारेज हुनुपर्ने वादी कुन हाँगाको जरियाले अपुताली पाउने अधिकारी हुनु भएको हो, सो वादीले दर्शाउन सक्नुभएको छैन । लेखिए अनुसार वादी हामीहरूको काका पर्ने भए पनि २००६।९।११ मा वादीले हाम्रा बाबु तथा काका लक्षनलाई रु. २००१ मा आफ्नो जग्गा बिगाहा ।।।ऽ।।१ बिक्री गरिदिनु भएकोले दर्ता पाई भोगसमेत गरी आएको र पछि ऋण कर्जा लिंदै आउनुभएको छ । बजै सम्मतियाको अपुतालीमा निजको कुनै हकदैया लाग्न नसक्ने हुँदा झुठ्ठा दावीबाट फुर्सत गराई पाउँ भन्नेसमेत सतदेव सामदेव राउतको एउटै प्रतिउत्तर ।
३. आमा सम्मतियाले सामदेव सत्यदेवलाई ३।३ बिगाहा जमिन लेखिदिई दर्ता गराई बिगाहा २ जति बाँकी राखेकी छिन् भन्ने सुनेको हुँ । यकिन थाहा छैन । बाँकी जग्गा शेषपछि खानु भनी आमाले सामदेव सत्यदेवलाई लिखत गरिदिएको र सामदेवको बाबुले क्रिया गरेको सामदेव सत्यदेवसमेतले खर्च लगाएको हुँदा अपुताली उनीहरूलेनै खानु भनेकी हुँदा म खोजी गर्दिन । सामदेव सत्यदेव आमाको एकै घरमा बसी हेरविचार गरेका हुन् भन्नेसमेत शिवझरियाको बयान ।
४. म महावीर अपुताली पाउने हकदार हैन । नजिकका सगोलको सम्मतियाको हकदार लक्ष्मीलक्षन र छोरा सामदेव सतदेवहरू हुन् र अपुताली पाउने हकदार यिनीहरू हुन् भन्नेसमेत हरेगोविन्दको बयान ।
५. सम्मतियाको नजिकको हकदार म हुँ । म भन्दा नजिकको अरु कोही छैन । ३ पुस्ता भित्रको देवर महावीरको स्वास्नी सम्मतिया हो । निज वादी प्रतिवादी कोहीसँग थिइनन् । सम्मतिया अलग्गै बसेकी हुन् । पहिलेनै अंश भई बसेका थिए । सम्मतियाको अपुताली जग्गा मैले पाउनुपर्ने हुँदा मलाई दिलाई पाउँ वादी दावीको जग्गा बाँचुञ्जेल सम्मतियाले खाएकीले सो सबै मैले पाउनुपर्ने हो भन्नेसमेत पेटबोलीबाट बुझिएकी भरिवा (चौधुरकी स्वास्नी) को बयान ।
६. सम्मतिया एकै घर हामीसँग रहेकी र हामीले हेरि पालन गरी आएकोले आफ्नो ८ बिगाहा जमिन दाजु लक्ष्मीको छोरा सतदेव मेरो छोरा सामदेवलाई ०१३ सालमै दर्ता गरिदिई बाँकी २ बिगाहा जमिन पनि शेषपछि तिमीहरूलेनै खानु भनी सम्मतियाले लेखिदिएको हुँदा सोअनुसार ८ बिगाहा जमिन र बाँकी पनि बुढी मरेपछि काजकृया गरी छोरा भतिजा र हामी समेतले भोग गरी आएका छौं । अपुताली हामीले पाउने हो वादीले पाउने होइन भन्नेसमेत लक्षनको बयान ।
७. सम्मतियाले लक्ष्मीको छोरा सतदेवलाई बिगाहा ४।।२ लक्षनको छोरा सामदेवलाई बिगाहा ३।३ऽ१ जग्गा ०१३ सालदेखि नै दर्ता गरिदिई बाँकी २ बिगाहा शेषपछि खानु भनी जिमिदारी कचहरी ०१३ सालदेखिनै कागज गरिदिएकीले २ बिगाहा पनि काजकृया गरी उनैले खाएका छन् । म कुनै दावी गर्दिन भन्नेसमेत पुनदेवको बयान ।
८. मर्ने सम्मतिया सगोलकी भन्ने वादी प्रतिवादी दुवैले लेखेको तर घर छुट्टै देखिएको हाम्रो आँगन एउटै हुँदा हामीले हेरचाह गरेको छौं भन्ने पनि प्रतिवादीमा लेखिएको आफ्नै प्रतिवादीले आँगन घर देखाएको हुँदा मर्ने सम्मतिया वादी प्रतिवादी दुवैसँग एकाघरको देखिंदैन । अपुतालीमा दावा गर्ने वादीप्रतिवादीहरूतर्फ प्रतिवादी सामदेव, सत्यदेव भन्दा नजिक चौधुरको स्वास्नी र वादी देखिएको अपुताली चौधुरको स्वास्नी र वादीलाई दिलाई दिनुपर्ने हो कि भन्न सम्मतियालाई छोरी र वादीहरूले हेरविचार गरेको नदेखिई चौधुरकै स्वास्नीको लेखाईबाट समेत प्र. बाट हेरविचार गरी आएको देखिनाले अपुतालीका ११ नं.बमोजिम आधी प्रतिवादीले र आधीमा आधी चौधुरको स्वास्नीले पाउने आधी चौथाई वादीले पाउने ठहर्छ । दर्ता गराएको जेथा आधा प्रतिवादी आधा वादी र चौधुरको स्वास्नीले पाउनेसमेत ठहर्छ भन्नेसमेत पर्सा जिल्ला अदालतको ०२२।११।१४।४ को फैसला ।
९. सोउपर चित्तबुझेन भन्ने प्र.सामदेव, सतदेव र झलया औ वादी देवराजसमेतको पुनरावेदन ।
१०. मर्ने सम्मतियाले प्र.हरूलाई गरिदिएकी ०१३।८।१५।५ को लिखतमा समेत स्याहार सम्भार प्रतिवादीहरूले गरिआएको भन्ने उल्लेख नभएको सम्मतिया जिवीत छँदा सम्भार स्याहार गर्नुपर्ने अवस्था परी अरूले नगर्दा प्रतिवादीलेनै गरिआएको भन्ने ठहराउन न्यायोचित नपर्ने, सगोलमा प्र. हरू रहेबसेको भन्ने पनि देखिन आएन । मर्ने सम्मतियाको ३ पुस्ताभित्रको हकवाला चौधुरको स्वास्नी झरीया भएको अपुतालीका २ नं.बमोजिम झरीयाले अपुतालीमा दावा गरी रहेकीसमेत देखिनाले अपुतालीको ऐनबमोजिम चौधुरको स्वास्नी झरियाले पाउने र प्र. साम देव सत्यदेवले पाउन नसक्ने ठहर्छ भन्नेसमेत ना.अं. अदालतको ०२३।६।२।३ को फैसला ।
११. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी सतदेव, सामदेवहरूको पुनरावेदन ।
१२. पेटवोलीबाट बुझिएकी प्रतिवादी झरियाको बयानमा मर्ने सम्मतियाको हेरचाह कोही बखत लक्षनको स्वास्नीले गथ्र्यो भनी स्वयं लेखिदिएकी निज लक्षनको स्वास्नीले हेर विचार गरेको रहेछ भन्ने कुरा देखिएको र हकदारमध्येको हरगोविन्दले पनि सामदेव, सतदेव, हुनाले वादी देवराजले अपुताली पाउने होइन भन्ने बयान गरेको निजको भनाइ र अपुताली सम्मतियाले गरिदिएको भनेको १३।८।१५ को कागज रजिष्ट्रेशन पास नभएपनि सो व्यहोरा मिल्न आएकोले प्रतिवादी सामदेव सतदेवहरूले लेखे अनुसारको जग्गा ०१३ साल देखिनै पाइ दर्तासमेत गरी भोग तिरोसमेत निजैहरूबाट चलाई आएको पनि देखियो । उक्त जग्गा ०१३ साल मै प्रतिवादीहरूका नाउँमा दाखिल खारेज भएको कुरामा केवल अपुतालीको आधार लिई उजुर परेकोबाट समेत प्रतिवादीको कुरालाई झुठ्ठा भन्न न्यायोचित नपर्ने र अर्को कुरा ०१३।८।१५ को मञ्जुरी कागजमा प्रतिवादी सामदेव, सतदेवलाई सगोलमा भन्ने लेखिएको प्रतिवादीका साक्षी र पेटवोलीबाट बुझिएका अरू हकवालामध्ये हरगोविन्द पुनदेव समेतले पनि सगोलकै भनेको हुँदा जो सगोलमा बसेको छ, उसैले निज सम्मतियालाई हेरिविचार गरेको पूर्णरूपले गरेको हुन आउने यस स्थितिमा बुझिएकी झरियाले पनि पहिले आफू वादी भई उक्त कुरामा उजुर दावी गर्नसमेत आएकी नदेखिएको केवल पेटवोलीबाट बुझेको भरले मात्र म नजिक हकदार हुँ भन्दैमा माथिका तथ्य कुरालाई दिलचस्पी नदिइ पर्सा जिल्ला अदालतले वादी समेतलाई अपुताली दिलाउने गरेको वादीले अपुताली नपाउने गरी नारायणी अञ्चल अदालतबाट फैसला भएपछि उक्त अपुताली आफूले पाउने तथ्य व्यहोरा खुलाइ पुनरावेदन दिन सक्नुपर्ने सोसमेत भए गरेको नभई वादीले स्वयं चित्त बुझाई बसेको देखिंदा उपरोक्त प्रमाण परिबन्धबाट प्रतिवादी सामदेव, सतदेवले सगोल रही हेरचाह गरी सम्मतियासँग निज जिवित छँदै ०१३।८।१५ को मञ्जुरनामाबाट जग्गाको हक प्राप्त गरी सो जग्गाको उसै बखत प्र.सामदेव, सतदेवका नाउँमा नामसारी दाखिल खारेजसमेत भएको व्यहोरा जिमिदार तथा पटवारीले पेश गरेको ०२२।२।४।२ को प्रतिवेदनबाट समेत देखिएको उसै बखत ०१३ सालमा आफू जिवित अवस्थामानै मञ्जुरनामाले निज सतदेव सामदेवका नाउँमा जग्गा दिई सकेको कुरालाई सोही अवस्थामा केही उजुर नगरी हाल निज सम्मतियाको मृत्युपछि मात्र वादी ८।९ वर्ष पश्चात् यो उजुरी दिन आएको देखिएकोले सम्मतियाको हेरचार गरी प्र.सामदेव, सतदेवनै रहे बसेको रहेछन् भन्ने कुरा प्रष्ट देखिन आएको र निजहरूबाट पेश भएको उल्लेखित जग्गाको तिरोको रसिद नक्कलसमेत मिसिल संलग्न रहे भएको हुँदा मर्ने सम्मतियाको अपुताली खान बेहोर्ने पाउने प्र.सामदेव सतदेवको नै कानूनी पूरा हक अधिकार भएको देखिएबाट वादीसमेतले अपुताली पाउने गरी पर्सा जिल्ला अदालत र उजुर विना, बुझिएकी झरियाले समेत अपुताली पाउने गरेको इन्साफ नारायणी अञ्चल अदालतको समेत गल्ती ठहर्छ भन्नेसमेत ०२५।२।२०।१ को डिभिजन बेञ्चको फैसला ।
१३. सो इन्साफमा चित्त बुझेन एक पटक दोहर्याई हेरीपाउँ भन्ने वादी देवराज राउत अहिरले चढाएको बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहोराई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरीविभाग राजदरवारबाट लेखिआएको ०२६।८।१७।३को हुकुमप्रमांगी ।
१४. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाइ दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने तत्कालीन माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२६।८।२०।६ को आदेश ।
१५. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२६।११।१८।३ मा पेश भई निवेदक वादी देवराजतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा डिभिजन बेञ्चको इन्साफ दोहर्याई पाउँ भनी निवेदन गर्ने वादी देवराजको हकमा नारायणी अञ्चल अदालतले आफूलाई हराई फैसला गरे उपर निजले पुनरावेदन नगरी चित्त बुझाई बसेको भए पनि झरिया मरी निजको हकमा वादी देवराजले नै मुद्दा सकार गरेको देखिएकोले निजको निवेदनपत्रमा बक्स भएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहर्याई हेर्नुपर्ने हुन आयो ।
१६. वादी दावी मध्ये मनियारी कट्टिको जग्गा बिगाहा ३।३ऽ१ सगोलको भतिजा लक्षनको छोरा सामदेवका नाउँमा र मनिगारी मालको जग्गा बिगाहा ४।।२।।१सगोलको भतिजा लक्ष्मी राउतको छोरा सतदेवका नाउँमा ०१३ सालका बालीदेखि नम्बरी दर्ता गरिपाउँ भनी साविक दर्तावाला महावीर राउतकी स्वास्नी सम्मतियाले जिमिदारी कचहरीमा ०१३।८।१५।६ मा मञ्जुरनामाको कागज लेखिदिई सो जग्गाहरू निज सामदेव, सतदेवका नाउँमा दाखिल दर्ता भई जिमिदारी कचहरीबाट ०१३।८।१५।६ मा चलानी पुर्जी पाई०१३ सालदेखि निजहरूले तिरो भरो भोग गरिआएको र ०१८ सालको नापीमा सो जग्गाहरू निज सामदेव सतदेवका नाउँमा नापी दर्ता भई पुर्जा पाएकोसमेत देखिन आयो । त्यसरी ०१३ सालमै सम्मतीयाले हक छाडी सामदेव सतदेवका नाउँमा दाखिल दर्ता गराई दिई तिरोभरो भोगचलन गरी आएको र ०८ सालको नापीले निजै सामदेव सतदेवका नाममा नापी दर्ता गरी पुर्जासमेत दिइसकेको त्यस्तो जग्गालाई ०२१ सालमा सम्मतीया मरेपछि निजको अपुताली परेको भन्न नमिल्ने भएकाले सो जग्गामा हकवाला हुँ भन्नेको हकदैया लाग्न नसक्ने हुँदा त्यसतर्फ प्रतिवादी सतदेव सामदेवकै हक कायम हुने ठहराएको इन्साफ ०२५।२।२१।१ को डिभिजन बेञ्चको मुनासिवै छ ।
१७. लोग्ने महावीरको नामबाट सम्मतियाले ०१३ सालमा आफ्नो नाममा दाखिल दर्ता गराएकी मौजे मतियारी कट्टिको जग्गा बिगाहा ४ऽ२।। मध्ये बिगाहा २ अर्को कलम घरबारीसमेत सम्मतिया मरेपछि अपुताली परेको सम्पत्ति मान्नु पर्ने हुँदा सो सम्पत्ति कसको हक लाग्ने हो भन्ने हकमा हामीहरू बज्यै सम्मतियासँग सगोलमै रहेको भन्ने प्र.सामदेव, सतदेवको भनाई भएको र सम्मतियाले पनि निजहरूका नाममा १३ सालमा जग्गा दाखिल दर्ता गराउँदा सगोल भनी उल्लेख गरेको देखिन्छ । तर निज सतदेव सम्मतियासँग कुन मितिमा मानो जोडी बसेका हुन, त्यस कुराको कानूनी लिखत सबूद नभएकोले सगोलमा बसी आएको भनी उल्लेख गरेको कुरालाई मान्यता दिनमिलेन । सो अपुतालीको सम्पत्ति नगिचको हकदारको हक हुनेमा मर्ने सम्मतियाको वादी प्रतिवादी भन्दा नगिचको हकदार चौधुरको स्वास्नी झरिया भएकी र निज पेटबोलीबाट बुझिएकोमा म नगिचकी हकदार हुनाले सो अपुताली मैले पाउनु पर्ने भनी बयान गरेकी देखिन आउँछ । निज सम्मतियाको विवाह भइसकेको छोरी शिवझरिया भएकी देखिएको भए पनि निज बुझिएकीमा म दावी खोजी गर्दिन भनी हक छाडी बयान गरेकी र वादी देवराजको हकमा आफूभन्दा नगिचका हकदार झरीयासमेत भएको कुरा नदेखिएकोले साँचो कुरा लिई अदालतसमक्ष आएको नदेखिएकोसमेत हुँदा अपुतालीको २ नं.बमोजिम नगिचको हकदार झरीयाको हक पुग्ने ठहर्छ । प्र.सतदेव सामदेवहरूको हक पुग्ने ठहराएको २५।२।१०।१ का डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसिल
झरिवा अहिरनीले शुरू उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३५।४ नारायणी अञ्चल अदालतको ०२३ ।६।२५।३ को फैसलाले प्रतिवादी सतदेव सामदेवबाट भराई दिने गरेको भई निज सतदेव, सामदेवले पुनरावेदन गर्दा ०२३।९।२९।६ मा उक्त नारायणी अञ्चल अदालतमा धरौट दाखिल गरेको र डिभिजन बेञ्चको ०२५।२।२०।१ को फैसलाले सो धरौट रु.३५।४ प्रतिवादी सतदेव सामदेवलाईनै फिर्ता दिने गरेकोमा सो अनुसार गर्नुपर्दैन । सो धरौट रु.३५।४ मध्ये वादीमा खुलाए बमोजिम जग्गा बिगाहा २ को रु.४०। र घरबारीको रु.२००० समेत मोल बिगो रु.२०४०। को शुरूमा लाग्ने कोर्टफी रु.१०१।६० को पुनरावेदन गरे वापत सयकडा १५ ले लाग्ने रु.१५।२४ सम्म निज झरीयाले कोर्टफी ऐन, २०१७ को दफा १८(४) बमोजिम प्रतिवादी सामदेव सतदेवबाट भरी पाउने हुँदा सो रु.१५।२४ भराई पाउँ भनी झरिवा मरी मुद्दा सकार गर्ने वादी देवराजले कार्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिइ भराई दिनु बाँकी रु.१९।८ को हकमा प्रतिवादी सामदेव सतदेवदले सोही ऐनको दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता माग्न आएमा कानूनबमोजिम फिर्ता दिनु भनी नारायणी अञ्चल अदालतलाई लेखी पठाउन कानूनबमोजिम लगत दिनु...........१
प्र.सामदेव, सतदेवले पुनरावेदनगर्दा ना.अं.अ.मा ०२३।९।२९।६ मा दाखिल गरेको रु.७०।८ डि.बे.को ०२५।२।१०।१ को फैसलाले वादीबाट भराई दिने गरेकोमा सो अनुसार गर्नुपर्दैन । सो रु.७०।८ मध्ये रू. ३५।४ माथि १ दफा कै हिसाबमा परेको बाँकी रु.३५।४ मध्ये १९।८० सम्म वादी देवराजबाट निज प्रतिवादी सामदेव सतदेवले कोर्टफी ऐन, २०१७ को दफा १८(४) बमोजिम भरी पाउने हुँदा भराई पाउँ भनी सोही ऐनको संशोधितदफा १५(११) बमोजिम ३ वर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानूनबमोजिम लगत दिनु...............२
प्रतिवादी देहायका मानिस के निजहरूलाई पर्शा जि अ.को ०२२ ।११।१४।६ को फैसलाले रु.५। दरले गर्ने गरेको जरिवाना रु.१०। डिभिजन बेञ्चको २५।२।२०।१ को फैसलाले नलाग्ने फिर्ता दिने गरेकोमा निजहरूको प्रतिवादी जिकिर बमोजिम पुरै निजहरूको हक कायम नभएकोले सो जरिवाना लाग्नेनै हुँदा डिभिजन बेञ्चको उक्त फैसलाबमोजिम गर्नु पर्दैन । सो जरिवानको लगत कायमै राख्नु भनीइ पर्शा जि.अ.मा लेखि पठाउनु ऐ............३
सतदेव राउत अहिर १, सामदेव राउत अहिर १
प्रतिवादी सतदेव राउत अहिर १ सामदेव राउत अहिर १ जना २ के निजहरूले शुरू उपर पुनरावेदन गर्दा ०२२ ।१२।१६।३ पर्शा जि.अ.मा दाखिल गरेको कोर्ट फी रू १९।४ मध्ये रु.१९।८० निजहरूलाई नलाग्ने हुँदा कोर्ट फि ऐन२०१७ को संशोधित दफा १५६(११)बमोजिम ३ वर्षभित्र वादी देवराजबाट भराई पाउँ भनी दरखास्त दिएमा दस्तुर केही नलिई बराबर दरले भराई दिनु भनी ऐ.........................४
झरियाको मुद्दा सकार गर्ने निवेदक वादी देवराज राउत अहिर के निजले मुद्दा दोहर्याउँदा ०२६ ।१०।१४।३ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्ट फी रु.२३।३९ मध्ये रु.१०।६ प्रतिवादी सामदेव राउत अहिर सतदेव राउत अहिर जना २ बाट भरी पाउने हुँदा सो भराईपाउँ भनी कोर्टफी ऐन,२०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्रदरखास्त दिएमा दस्तुर केहीनलिई बराबरदरले भराईदिनु भनी कानूनबमोजिम लगतदिनु...................५
नियमबमोजिम मिसल बुझाई दिनु...........................६
प्र.न्या.श्री रत्नबहादुर विष्ट
उपरोक्त ठहरमा मेरो सहमत छ ।
न्यायाधीश श्री नयनबहादुर खत्रीको राय
१. यसमा सम्मतियाको मञ्जुरनामा कागज बमोजिम १३ सालमै सतदेव, सामदेवको नाममा दाखिल दर्ता भई भोग तिरो गरी आएको जग्गा निजहरूकै हक कायम हुने ठहराएतर्फ उपरोक्त रायमा म सहमत छु । लोग्ने महावीरको नामबाट सम्मतियाले आफ्नो नाममा दाखिल दर्ता गराएकी मौजे मनियारी कट्टिको जग्गा बिगाहा ४द्र।। मध्ये बिगाहा २ र वादी दावीको अर्को कलम घरबारी समेतको हकमा सम्मतिया मरेपछि कसको हक लाग्ने हो भन्नेतर्फ सतदेव, सामदेवहरूको प्रतिवादीमा जग्गा दर्ता फुटाए पनि अरू व्यवहार सगोलै भई बज्यै सम्मतियासँग सगोल भई रही हामीहरूकै सगोलमा बज्यै परलोक हुनुभएको हो भन्ने जिकिर लिएका र सम्मतियाले पनि निज सतदेव सामदेवका नाउँमा जग्गा दर्ता गराउन ०१३।८।१५।६ मा गरिदिएकी मञ्जुरी कागजमा निजहरूलाई सगोलकै भनी उल्लेख गरेको पाइन्छ । पछि बुझिएका सम्मतिया कि छोरी शिवझरिवा र वादी सरहकै हकवाला हरगोविन्दसमेतले पनि सतदेव सामदेव सम्मतियासँग सगोल मै बसी आएको भन्ने कुरालाई समर्थन गरी बयान गरेको देखिन आयो । निजहरू भिन्न भई अलग–अलग बसेका भन्ने कुराको कानूनबमोजिम रीतपूर्वक बण्डापत्र लिखत सबूदको अभावमा मानो जोडी सँगै बसेका कानूनबमोजिम लिखित नभएको भन्ने तर्क गर्नु उपयुक्त नहुने यस स्थितिमा प्रतिवादी सामदेव सतदेव सम्मतियासँग सगोलमा बसी आएका होइन भन्न मिल्ने देखिदैन । झरियाले बयान गर्दा आफूले सम्मतियाको हेरचाह गरिआएको भन्न नसकी कोही बखत लक्षनकी स्वास्नी अर्थात प्रतिवादी सामदेवकी आमाले गरिआएकी भन्ने उल्लेख गरेकी समेतबाट सगोलमा रहेका हकवाला सतदेव सामदेव छँदै सम्मतियाको अपुतालीमा झरियाको दावी पुग्न नसक्ने र उसमा पनि कानूनबमोजिम कोर्टफी राखी आफूले दिलाइ भराई पाउँ भन्ने दावी लिई नालेस गरेकी हुनु वेगर अ.बं. १३९ नं.बमोजिम पेटवोलीबाट बुझीइ प्रतिवादी सरह कारणी हुन आएकीलाई त्यस्तो बयानमा दावी गरेको भरले वादी सरह गरी सम्पत्ति दिलाउन कानूनले नमिल्नेसमेत हुनाले प्रतिवादी सतदेव सामदेव कै हक हुने ठहराएको ०२५।२।२१।१ को डिभिजन बेञ्चको इन्साफ मुनासिवै छ । यस कलममा झरियाको हक पुग्ने ठहराएको यस बेञ्चका सहयोगीहरूको रायसँग म सहमत नहुँदा आफ्नो राय छुट्टै व्यक्त गरेको छु ।
इति सम्वत् २०२७ साल फाल्गुण २८ गते रोज ६ शुभम् ।