शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०९ - साझेदारी जग्गाबाली

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६०९                  ने.का.प. २०२८

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री झपट सिंह रावल

न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत २०३७ सालको दे.फु.नं. १०२

फैसला भएको मिति : २०२८।३।४।६

निवेदक : जि.घ.प्र.को मौजे जनकपुर विसहरा सहोद्रा पट्टि बस्ने भगवतीप्रसाद उपाध्याय

विरूद्ध

विपक्षी : ल.पु.ई.जावलाखेल घर भई हाल जि.घ.प्र.को मौजे जनकपुर विसहा सहद्रा पट्टि बस्ने डाक्टर वसन्तबहादुर राजभण्डारी

मुद्दा : साझेदारी जग्गाबाली

(१)   जग्गा ठेकामासम्म कवूल गरी पाउने ठेकेदारले आफू खुशी वीचमा अर्को मानिससँग साझेदारी खडा गरी हक छाडी दिन नहुने ।

            प्रतिवादी डा.वसन्तबहादुरले कुन स्थितिमा सो जग्गा पाउनु भएको रहेछ भन्नेतर्फ हेर्दा मिसिल सामेल पेश भइराखेको निज डा.वसन्तबहादुरको ०१५।६।२९।४ को कवुलियत नक्कलसमेतबाट जनकपुर मेनेजरी तालुक श्री रामचन्द्र गुठीको जग्गा साल वसाल मनखप ठेक बुझाउने कवुल गरी ठेकामासम्म पाएको देखिन आउँछ । यस किसिम ठेक्का कबुल गर्ने ठेकदारको कवुलबमोजिम मनखप ठेक बुझाई खान पाउनेसम्म हक हुने हो, जग्गाको स्वामित्वको हकमा जनकपुर मेनेजरीकै कायमरहने कुरा प्रष्टैछ । यस्तो जग्गा ठेकमासम्म कबुल गरी पाउने, ठेकदारले आफू खुशी बीचमा अर्को मानिस साझेदार खडागरी हक छाडी दिन र त्यसरी पाउनेको हक कायम हुन नसक्नेसमेत हुनाले प्रतिवादीले गरी दिएको ०१५।७।१।६ को साझेदारीको शर्त लिखतबमोजिम ४ भागको १ भाग जग्गा छुट्टा्याइपाउँ भन्नेसमेत जग्गाको स्वामित्व नै आफ्नो कायम गर्ने किसिमको दावी लाग्न सक्ने प्रश्नै आउँदैन ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट      : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लेखित मुद्दा :    

फैसला

            प्रधान न्यायाधीश श्री रत्नबहादुर

            १.     विपक्षी र म २ जनाले साझामा जनकपुर मेनेजरी मटिहानी अस्थान मातहतको जि.प्र.म.मौजे गोनोरपुर भमरपुरा उश्राही विर्ताको जग्गा बिगाहा ११७ र प्र.को मौजे जनकपुर विसहरा सहोद्रा पट्टिको जिरायत जग्गा बिगाहा ८३ समेत जग्गा मनखप जनकपुर मेनेजरीमा बुझाई सधैंको लागि खान पाउने गरी श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकाले जम्मा जग्गामा बाह्र आना विपक्षी डाक्टर साहेब र चार आना मैले खाने व्यवस्था पहिलेकै लिखत सल्लाहअनुसार सो व्यहोरा डाक्टर साहेबले श्री ५ मा बिन्ती गरी बक्स भएको जग्गा कबुलियतसमेत भई गोनरपुरा भमरापुरा उश्राही विर्ता पट्टिको साझेदारबाट बाँडफाँट गरी आफ्नु भोगचलन भैसकेको र जनकपुर विसहरा सहोद्रा पट्टिको जिरायततर्फ डाक्टर साहेबले मेनेजरी अड्डामा कबुलियत गरी ०१५ साल कार्तिक १ गतेमा गरीदिनु भएको साझेदार लिखतबमोजिम जग्गाको आयस्ता राम मन्दिर दाखेल गर्नसमेत डाक्टर साहेबले लिई मेरो फाँट चारआना हिस्साको फाँट १७ सालसम्मको जो आएको दिई भरपाई लिंदै गुर्नुभएको थियो । ०१८ सालको बाली श्रीचं साहुको उजूरीले रोक्का रहेको ०१९ साल देखि नदिई एकलौटी लिई जग्गाको हकबाटै मलाई बन्चित गर्न नचाहिंदो अवैध कुरापट्टि लागी झै झगडा गर्न लाग्नु भयो । जग्गा घर समेतको कित्ता १ र अन्यत्रको जग्गामध्येबाट कृषि फाराम नहर विभाग वन विभागको घर अफिस कम्पाउण्डलाई गएको जग्गा बाहेक बाँकी रहेको जग्गामा हाल आसु भदै बाली र धान बाली लागेकोछ । भदैया पाक्न लागेकोले यो मुद्दा निर्णय नभएसम्म बाली रोक्का गरी उक्त जग्गा ८३ बिगाहामध्ये माथि उल्लेख भएको सरकारी अड्डाखानामा भए परेको जग्गाको लगत लिई सो कट्टा गरी बाँकी रहेको तपसीलको जग्गा करीव २० विगाहा पर्न आउँदा नाप जाँचबाट जो ठहर्छ, त्यसको लगत लिई त्यसबाट चार आना हिस्सा मेरो भागमा पर्ने विगाहा ५ साझेदारी लेखतबमोजिम जग्गा छुट्याई मलाई दिलाई चलनसमेत चलाई पाउँ । ०१९।०२० सालको बाली विपक्षी डाक्टर साहेबले मलाई नदिई एकलौटी लिएको जग्गा रु.३५२०। मलाई दिलाई भराई पाउँ भन्नेसमेत वादी ।

            २.    पाएको जिरायत बिगाहा ८३।। मध्ये श्री ५ को सरकारबाट खटिइ सर्भे नापी भएकोमा जग्गा विगहा ८द्र३।।२ बाटो पोखरीमा परी अवाद लायक जग्गा ६०।।२ मध्ये कायम भएको सोमध्ये पनि सर्भे नापीमा राम्रो असल जग्गा आफ्नोतर्फ पारी छुट्याई लिईसक्नु भएपछि सो जग्गामध्ये श्री ५ को सरकारतर्फबाट कब्जा गरीलिई भवनहरू निर्माण गरेको भई बाँकी १।।।१।।। मात्र कायम रहेको र अरू रैतानी बन्दोबस्त भैरहेको समेत जग्गाको ०१८।०१९।०२० सालको बाली नबुझाई बाँकी नै राख्नु भएको र निजलाई निष्काशन गरी बालीको बिगो पाउँ भन्नेसमेत निज विपक्षीउपर मैले यसै अदालतमा दिएको नालेसबाट सबै विदित हुने नै छ । सोही जग्गाको सो मेरो दावीमध्यकै ०१९ साल समेतको बालीको दावीको यो मुद्दा अ.बं.का ८९ नं.ले दोहरो उजुर लाग्न र चलन नसक्ने भईपछि परेको यो मुद्दा खारेजै हुनपर्ने, लेनदेन व्यवहार गरको समेत कुरा नभएको भई लेनदेन व्यवहारको ३७ नं.पनि यस प्रयोजनमा आउनै नसक्ने, पास नभएको लेखत त्यसै पनि काँचो ठहर्ने, माथि उल्लेख गरेअनुसार म तर्फको जग्गामध्ये जिन्सी लाग्ने जग्गा बिगाहा १४।२।१ र नगदी लाग्ने बिगहा ५।।।.।।।२ को ०१७ सालको बालीमा निज विपक्षीले मेरातर्फबाट आवाद गर्ने कवुल गरी लिई भोग गरी मलाई बुझाउनु पर्ने बाली नदिएको बारेमा विपक्षीउपर मैले यसै अदालतमा नालेस दिएको समेत हुनाले मेरो दावीबाट बचुँला भनी अनेक झुठ्ठा जाल परिपञ्च रची ऐनले लाग्नै नसक्ने वादी दायर गरेको वादीका जाल परिपञ्चबाट छुटाई पाउँ भन्नेसमेत प्रतिवादी ।

            ३.    यिनै वादीउपर यिनै प्रतिवादीले यही जनकपुर मेनेजरी तालुकको जग्गा ठेक सम्बन्धको बाली बाँकी राखेको ०१८ साल देखि २० सालसम्मको बाली दिलाई जग्गाबाट निष्काशन गरिपाउँ भनी यो फेराद भन्दा पहिले नै बसन्तबहादुरले यी वादी भगवतीप्रसादउपर दावी गरेको देखिएको सो मुद्दा आजै किनारा भएको र उसै सम्बन्धको सोही ०१९।०२० सालको बाली दिलाई जग्गा छुट्याई पाउँ भनी एकै विषयमा यो फेराद दायर भएको देखिएकोले अ.बं.८९ नं.बमोजिम यो मुद्दा तैकात गर्न नमिल्ने हुँदा लेखिएका परिवबन्धबाट दोहरो नालेस हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्नेसमेत धनुषा जिल्ला अदालतको फैसला ।

            ३.    सो फैसलाउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            ४.    शुरूले फैसलामा उल्लेख गरेको बाली दिलाई मोहीबाट निष्काशन गरिपाउँ भन्ने मुद्दाको मिसिलबाट समेत अ.बं.८९ नं.को अवस्था भए परेको देखिन नआएको हुँदा वादी प्रतिवादीको दावी जिकिरमा कानूनबमोजिम जो बुझ्नु पर्ने बुझी ठहर इन्साफ गर्नुपर्नेमा वादी दावी नै खारेज हुने ठहराएको इन्साफ शुरू धनुषा जि.अ.को गल्ती ठहर्छ । यसै मुद्दाबाट जो बुझ्नुपर्ने बुझी ठहर फैसला गर्नु भनी मिसिल शुरू धनुषा जि.अ.मा पठाईदिने भन्नेसमेत जनकपुर अञ्चल अदालतको फैसला ।

            ५.    सो फैसलाउपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ६.    प्रमाण निमित्त आएको दावी डाक्टर वसन्तबहादुर प्रतिवादी भगवतीप्रसाद भएको बाली दिलाइ मोहियानीबाट निष्काशन गरिपाउँ भन्ने मुद्दाको वादी वसन्तबहादुरको फेरादपत्रमा जनकपुर विसहरा सहोद्रापट्टिको जग्गा बिगहा ८३।। तोकिएको शर्तमा मैले पाई जनकपुर मेनेजरीमा मनपख बाली बुझाउने कबुलियत समेत गरिसकेको केही जग्गा मलाई जोत्न र खान दिनुस भनेकोले ४ खण्डको १ खण्ड निजलाई दिने गरी कागज गरी दिएको ०१८।१९।२० सालको बाली नबुझाई बाँकी नै राख्नु भयो । बिगो दिलाई निष्काशन गरिपाउँ भन्नेसमेत उल्लेख गरी ०२१।२।१२ मा फेराद दर्ता गरेको र त्यसमा प्रतिवादीले प्रतिवाद गर्दा सो जग्गाको १० कर्म गरेको हिस्सा मात्र मैले पाएको भई अरूमा ४ आनाको हिस्सा मात्र मेरो भएकोमा ठेकदारी हिस्सा मलाई दिंदा पनि दिनु नभई सोह्रैआनाको मेरोउपर दावी गर्नु न्यायोचित भएन भन्नेसमेत उल्लेख गरेको देखिन्छ । प्रस्तुत मुद्दाको वादीको दावा र उक्त प्रमाण निमित्त आएको वादी वसन्तबहादुरले प्रस्तुत मुद्दाको वादी भगवतीप्रसादको नाममा दिएको उक्त मुद्दाको फेराद लेखाइबाट सो दुवै मुद्दा एकै जग्गाको एउटै विषयको उजुरी देखिएबाट यसरी दोहरो नालेस परेकोमा कानूनी व्यवस्था के छ भनी प्रचलित मुलुकी ऐन अ.बं.८९ नं.मा हेर्दा एकै मुद्दामा एक जनाले एका अड्डामा वादी र अर्को चाहिले उसै मुद्दामा अर्को ठाउँमा वादी दिएछ वा एकै जनाले एकै मुद्दामा दुवै अड्डामा वादी दिएछ भने अघि जहाँ जसको वादी परेको छ, सो सदर हुन्छ पछिको वातिल गरी मुद्दा छिन्नु पर्छ भन्नेसमेत उल्लेख भएको देखिएबाट उक्त कानूनी व्यवस्थाअनुसार दुवै मुद्दा चल्न नसकी अघि जसको नालेस परेको हो सो मुद्दा मात्र चल्न सक्ने व्यवस्था भएको पाइयो । अब वादी भगवतीप्रसाद भएको प्रस्तुत मुद्दाको फेराद अघि परेको हो वा डाक्टर बसन्तबहादुर वादी भएको मुद्दाको फेराद अघि परेको के हो भनी हेर्दा प्रस्तुत मुद्दाको वादी भगवतीप्रसादले दिएको फिरादपत्र ०२१।६।१५ मा दर्ता भएको र उक्त प्रमाणको निमित्त आएको वादी डाक्टर वसन्तबहादुरले दिएको फेरापत्र ०२१।२।१२ मा दर्ता भएको देखिएबाट प्रस्तुत मुद्दाको फेराद दर्ता हुनुभन्दा अघि डाक्टर वसन्तबहादुरको फेरादपत्र अघि दर्ता भएको देखिएकोले उक्त कानूनी व्यवस्थाअनुसार प्रस्तुत मुद्दा चल्न सक्ने भएन र उक्त डा.बसन्तबहादुरले नालेस गरेकै मुद्दाबाट वादी प्रतिवादीको जिकिर हेरी उचित निर्णय हुने नै देखिन्छ । अतः यसरी कानूनले प्रष्ट व्यवस्था गरेको छँदाछँदै पनि अञ्चल अदालतले यसै मुद्दाबाट जो बुझ्नु पर्ने बुझी ठहर फैसला गर्नु भनी मिसिल धनुषा जि.अ.मा पठाउने भनी गरेको इन्साफ मिलेको देखिएन । वादी दावी खारेज हुने ठहराएको इन्साफ शुरू धनुषा जि.अ.को मनासिव छ भन्ने ०२६।५।२९।५ को डिभिजन बेञ्चको फैसला ।

            ७.    डिभिजन बेञ्चको उक्त निर्णय दोहर्‍याई पाउँ भन्ने वादी भगवतीप्रसादको निवेदन न्यायिक समितिबाट यसमा अ.ब. ८९ नं.मा एकै मुद्दामा एक जनाको एका अड्डामा वादी र अर्को चाहिले उसै मुद्दामा अर्को ठाउँमा वादी दिएछ भने अघि जहाँ जसको वादी परेको छ, सो सदर हुन्छ, पछिको वातिल गरी मुद्दा छिन्नुपर्छ भन्ने उल्लेख भएको सो कुराबाट बाली मुद्दा र प्रस्तुत साझेदारी जग्गा मुद्दाको विषय एउटै हो वा बेग्लै के हो भन्ने र मूल मुद्दा कुन हो भन्ने कुराकै समाधान गर्नुपर्ने मुख्य प्रश्न उपस्थित हुन आएकोछ । विपक्षी डाक्टर वसन्तबहादुरले नालेस दिएको बाली मुद्दामा बाली भराई मोही निष्काशन गरिपाउँ भनी प्रतिवादी भगवतीप्रसादलाई जोताहा मोही कायम गरी उजुर गरेको देखिएको र निवेदक भगवतीप्रसाद वादी भएको प्रस्तुत मुद्दाको वादीको दावीमा प्र.को मौजे जनकपुर विसहरा सहोद्रा पट्टिको जिरायत जग्गा बिगाहा ८३ जनकपुर मेनेजरीमा मनपख बुझाई सबैको निमित्त खान पाउने गरी श्री ५ महाराजाधिराबाट बक्सेको सो जग्गामध्ये बाह्र आना विपक्षले र चार आना मेले खाने गरी २०१५।७।१।६ मा विपक्षी डा.वसन्तबहादुरले साझेदारीको लिखत गरीदिनु भएबमोजिम खाएको ०१९ साल देखिको बाली आफूले खाने गरेकोले सो जग्गा ८३ विगाहा मध्ये सरकारी अड्डाखानमा परेको जग्गाको लगत लिई सो कट्टा गरी करिव २० विगाहा पर्न आउने त्यसबाट चार आना हिस्सा मेरो भागमा विगाहा ५ साझेदारी लेखतबमोजिम जग्गा छुट्याई दिलाई १९।२० सालको बाली एकलैटी खाएकोले भराई पाउँ भन्नेसमेत उल्लेख गरेको देखिएकोले सो मुद्दाको र विपक्षी डाक्टर बसन्तबहादुर वादी भएको बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने मुद्दाको मूल विगाहा नै विलकुलै फरक परेको र प्रस्तुत मुद्दा पछि परेको भए पनि प्रस्तुत मुद्दाबाट साझेदारी हो होइन भन्ने कुराको निर्णय गरेपछि जग्गा एउटै वा बेगल के हो त्यसको समेत मिर्णय गर्नुपर्ने देखिंदा पहिले प्रस्तुत मुद्दा नै निर्णय दिनुपर्ने देखिएकोले एकै मुद्दामा दोहोरो उजुर परेकोले पछि परेको प्रस्तुत मुद्दा खारेज हुन्छ भनी सर्वोच्चअदालतबाट गरेको निर्णय मिलेको नदेखिएकोले दोहोर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ मौसुफका प्रमुख निजी सचिवालय राजदरवारबाट लेखि आएको ०२७।४।९।६ को हुकुम प्रमांगी ।

            ८.    बक्स भई आएका हुकम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ पन्ध्र र निवेदकलाई दिन ७ सातको म्याद दिई झिकाई फुल बेञ्चमा पेश भई र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

            ९.    यसमा तारेखमा रहेको पक्षहरू रोहवरमा रही ०२८।२।२५।३ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले र विपक्षी प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमीरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी डा.वसन्तबहादुरले जनकपुर मेनेजरी स्थान मातहतको मनपख बुझाई खान पाउने गरी पाएको मध्ये जनकपुर विसहरा सहोदरा पट्टिको जिरायत जग्गा बिगहा २० मा ०१५।७।१।६ मा निज प्रतिवादीले मलाई गरिदिएको साझेदारीको शर्त लेखतबमोजिम मेरो फाँट ४ आनामा पर्ने बिगाहा ५ को १९।२० सालको बाली मलाई नदिई जग्गाबाट बन्चित गर्ने कुरा पट्टि लागेकोले मेरो भाग जग्गा छुट्याई बाली बिगो रु.३५२०।। दिलाई भराई पाउँ भन्ने वादीको नालेसमा मुख्य दावी भएको पाइन्छ । वादीको उक्त नालेस दावी लाग्न सक्ने नसक्ने हो भन्ने सम्बन्धमा यस्तो मेनेजरी तालुक गुठीको जग्गामा अरूको स्वामित्व कायम हुन सक्तैन । यो नालेस ऐनको म्यादभित्र परेको पनि छैन भन्नेसमेत प्रतिवादीतर्फका विद्वान अधिवक्ताले प्रारम्भिक आपत्ति उठाउनु भएको समेत हुँदा सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने भएको छ ।

            १०.    प्रतिवादी डा.वसन्तबहादुरले कुन स्थितिमा सो जग्गा पाउनुभएको रहेछ भन्नेतर्फ हेर्दा मिसिल सामेल पेश भई राखेको निज डा.वसन्तबहादुरको ०१५।६।२९।४ को कवुलियत नक्कल समेतबाट जनकपुर मेनेजरी तालुक श्री रामचन्द्र गुठीको जग्गा सालबसाल मनखप ठेक बुझाउने कबुल गरी ठेक्कासम्म पाएको देखिनआउँछ । यसकिसिम ठेक्कामा काम गर्ने ठेकेदारको कवुलबमोजिम मनखप ठेक बुझाई खान पाउनेसम्म हक हुने हो । जग्गाको स्वामित्वको हकमा जनकपुर मेनेजरीकै कायम रहने कुरा प्रष्टै छ । यस्तो जग्गा ठेकमा सम्म कबुल गरिपाउने ठेकेदारले आफूखुशी बीचमा अर्को मानिस साझेदार खडा गरी हक छाडी दिन र त्यसरी पाउनेको हक कायम हुन नसक्ने समेत हुनाले प्रतिवादीले गरिदिएको ०१५।७।१।६ को साझेदारीको शर्त लिखतबमोजिम ४ भागको १ भागको जग्गा छुट्याई पाउँ भन्नेसमेत जग्गाको स्वामित्व नै आफ्नो कायम गर्ने किसिमको दावी लाग्न सक्ने प्रश्नै आउँदैन ।

            ११.    प्रतिवादी डा.वसन्तबहादुरले मनपख ठेक बुझाई खान पाउने गरी पाए सरह उपभोग गर्न पाउने गरी निजले गरी दिएका साझेदारीको शर्त लिखतबमोजिम ४ आना हिस्सा वादीलाई छुट्याई दिनुपर्ने हो कि भन्ने प्रश्न उठ्न सक्छ । तर सो गुठीको जग्गा २०१६ सालमा नापी हुँदा केही कित्ताहरूमा वादीले यो रामचन्द्र गुठीको जमिन कोठे वसन्तबहादुरसँग ४ आना हिस्सेदार भएकोले सालको धान मन १२।६ ले बुझाई खाई पाएको कित्ता कित्तामा कैफियत जनाई मोही र जग्गा कमाउनेको महलमा आफ्नो नाम लेखाई बिगाहा ११।।।३ जग्गा आफ्नो नाममा जग्गा छुट्याइसकेको नापी खेस्राबाट देखिन आएको समेत हुँदा उक्त प्रश्नको विवेचना गरीरहनु निरर्थक देखिन्छ र वादीले फिराद गर्दा सो कुरा लुकाएको पनि देखिन्छ ।

            १२.   दावीअनुसार जग्गा छुट्याई लिन पाउनेनै अवस्थामा पनि मैनेजरीबाट ठेक्का पजनीमा पाउने डा.बसन्तबहादुरबाट शर्त लिखतबमोजिम पाएको जग्गा छुट्याई दिएन, छुट्याई पाउँ भन्ने कुरामा तत्काल प्रचलित जग्गा पजनीको २१ नं.को म्याद २ वर्षभित्र नालेस परेको भएमात्र त्यस्तो नालेसबाट इन्साफ तहकिकात हुनसक्ने कुरा हो । ०१५।७।१।६ को साझेदारीको शर्त लिखतबमोजिम जग्गा छुटाइपाउँ भन्ने दावीको यो नालेस उक्त जग्गा पजनीको २१ नं.को म्याद २ वर्ष नाघि सकेपछि ०२१।६।१५।४ मा मात्र दर्ता भएको देखिएको समेत हुँदा यस्तो भएको हदम्याद नाघि परेको नालिसबाट इन्साफ तहकिकात हुन सक्दैन ।

            १३.   तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट वादीको यो नालिस लाग्न नसक्ने देखिएकोले डिभिजन बेञ्च लगायत विवेचना हुँदै आएको समेत अन्य तर्कहरूउपर विचार गरी रहनुनै परेन । वादीको यो नालिस खारेजै हुने हुँदा खारेज गर्ने गरेको सम्म शुरूको सदर गरी ०२६।५।१९।५ को डिभिजन बेञ्चले छिनेको मुनासिवै ठर्हछ । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसिल

प्रतिवादी डा.वसन्तबहादुर राजभण्डारी के ०१६।५।१९।५ को डिभिजन बेञ्चका फैसलाबमोजिम निजलाई वादी भगवतीप्रसाद उपाध्यायबाट भराई दिने गरेको कोर्टफी रु.६०।१२ असुल भई ०२७।८।७।१ म.का.श्रे.त.मा धरौटीमा आम्दानी बाध्न पठाएको देखिएकोले उक्त डिभिजन बेञ्चका फैसला र लगतबमोजिम सो रु.भराइ पाउँ भन्ने निज प्रतिवादीको दरखास्त परेमा उक्त धरौट रहेकोबाट भराई दिनु भनी कानूनबमोजिम लगत दिनु.....................१

वादी भगवतीप्रसाद पाध्या के कोर्टफी राखेको हुँदा मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु पर्दैन.........................२

नियमबमोजिम मिसिल बुझाई दिनु........................३

 

न्यायाधीश श्री झपट सिं रावल

 

उपरोक्त ठहरमा मेरो सहमत छ ।

 

न्यायाधीश श्री विश्वनाथ उपाध्याय

            १.     यसमा वादी भगवतीप्रसादले प्रतिवादी डाक्टर वसन्तबहादुरकाउपर २०२१।६।१५ मा दिएको नालेस र डाक्टर वसन्तबहादुरले भगवतीप्रसादकाउपर २०२१।२।१२ मा दिएको नालेस एउटै विषयको हो वा होइन भन्ने मुल प्रश्न उपस्थित भएको र सोही प्रश्नमा न्यायिक समितिको सिफारिसमा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याउने हुकुम बकस भई यस बेञ्चका समक्ष पस्तुत हुन आएको छ ।

            २.    धनुषा जिल्ला अदालत र यस अदालतको डिभिजन बेञ्चले एकै विषयको दोहोरो उजुरी परेको भन्ने आधारमा वादी भगवतीप्रसादको फिराद खारेज गर्ने ठहर गरेकोमा डाक्टर बसन्तबहादुरले दिएको मोहियानी विषयको र मैले साझेदारीको सम्झौता मुताविक चार आना हिस्सा दिलाइपाउँ भनी दिएको मुद्दा एकै विषयका मुद्दा होइनन् । जग्गा विगाहा १।।।१।।। बाट मोही निवकाशन गरिपाउँ भन्ने डाक्टर बसन्तबहादुरले दिएको नालिसबाट मेरो दावीबमोजिम मैले पाउनु पर्ने जग्गा विगाहा ५ र बालीको बिगो रु.३५२०। को निर्णय हुन सक्ने अवस्थै छैन भन्ने वादी भगवतीप्रसादको जिकिर छ यस सम्बन्धमा मिसिलको अध्ययन गर्दा डाक्टर बसन्तबहादुरको ०२१।२।१२ को फिरादपत्रमा कि.नं.८।१३।१५ को जग्गा विगाहा १।।।१।।। को मेनेजरीमा बुझाउनु पर्ने ०१८।०१९।०२० सालको बाली नबुझाइ बाँकी राखेकोले भगवतीप्रसादलाई सो जग्गाको मोहियानीबाट निष्काशन गरिपाउँ भन्ने दावी लिइएको छ । यता भगतवीप्रसादको ०२१।६।१५ को फिरादपत्रमा ०१९ सालको बालीदेखि डाक्टर बसन्तबहादुरले मेरो चार आना हिस्साको बाली नदिइ एकलौटी खाइ जग्गाको हकबाट समेत बञ्चित गर्न लागेकोले २०१९।०२० सालको बाली वापत रु.३५२०। दिलाइ भराई २० बिगाहामध्ये मेरो चार आना हिस्साको ५ विगाहा जग्गा समेत छुटाइ पाउँ भन्ने दावी लिएको देखिन्छ । यसबाट डा.बसन्तबहादुरको वादी दावी कि.नं.८।१३।१।१५ को जग्गा विगाहा १।।।१।।। बाट मोहियानी निष्काशन गरी बालीसमेत भराई पाउँ भन्ने भएको देखिनाले दुई जनाको वादी दावीहरूको मूल विषयहरूनै भिन्नभिन्न भएको प्रष्ट छ । दुवै जनाको वादी दावीहरूमा परेको केही जग्गा एउटै हो भनेपनि डाक्टर बसन्तबहादुरले दिएको फिरादपत्रबाट भगवतीप्रसादको वादी दावी बमोजिमको पाँचौं बिगाहा जग्गा र रु.३५२० को बिगोको निर्णय हुन नसक्नेहुनाले एकै विषयमा दोहरो नालिस उजुर परेको परेको भन्ने आधारमा धनुष जिल्ला अदालतले मिति ०२२।१०।२१।५ मा र यस अदालतको डिभिजन बेञ्चले २०२६।५।१९।५ मा वादी भगवतीप्रसादको फिरादपत्र खारेज गर्ने गरी गरेको ठहर मिलेको देखिएन।

            ३.    अब जग्गा ठेक्कामासम्म कबुल गरी पाउने ठेकदारले आफू खुशी बीचमा अर्को मानिस साझेदार खडा गरी हक छाडी दिन र शर्तअनुसार भगवतीले चार आना हिस्साको जग्गा छुट्याइ लिन पाउने वा नपाउने के हो भन्नेतर्फ हेर्दा माथि लेखिएबमोजिम वादी भगवतीप्रसादको फिराद खारेज गर्न नमिल्ने भएबाट सो कुरामा जे जस्तो ठहर्छ शुरू अदालतबाट निर्णय हुनु पर्ने हो, जग्गाको स्वामित्व गुठी संस्थानमा रही डा.बसन्तबहादुरले ठेकामासम्म जग्गा कमाउन पाएकोमा गुठी संस्थानबाट आफूले पाएबमोजिमको ठेक्काको हक अधिकारमासम्म चार आना हिस्सा भगवतीप्रसादलाई दिने गरी साझेदारी शर्तनामा गर्न वा सोबमोजिम गरी संस्थान प्रति आफ्नो जवाफदेही कायम राखी आफ्नो हक अधिकार अरूलाई दिन कानूनले मिल्ने वा नमिल्ने के हो ? २०१५ सालको साझेदारीको शर्तनामाबाट डा.बसन्तबहादुर भगवतीप्रसादको परस्पर।मा के कस्तो हक अधिकार हुन्छ वा हुँदैन ? भगवतीप्रसादको फिरादपत्रको सम्पूर्ण व्यहोराबाट निजले जग्गाको स्वामित्व मै दावा गरेको हो अथवा साझेदारी ठेकको चार आना हिस्साको ५ विगाहा जग्गा छुट्याइ पाउँ भन्नेसम्म दावी गरेको हो ? भगवतीप्रसादले स्वामित्व नै दावी गरेको सम्झी सो दावी माग्न नसक्ने भन्नेमानेको खण्डमा पनि बालीको बिगोसम्बन्धी कुरामा यसै मुद्दाबाट निर्णय हुन पर्ने हो वा होइन ? इत्यादि सबै प्रश्नहरू सबुद प्रमाणका आधारमा कानूनबमोजिम शुरू अदालतबाटै निर्णय हुन पर्दछ ।

            ४.    २०१६ सालको नापीमा आफ्नो जग्गा किक्ता कित्ता गरी भगवतीप्रसादले मोहीयानी लेखाइ छुट्याइ लिइसकेको भन्ने विद्वान सहयोगीहरूको तर्क पनि म सहमत छैन । मुद्दाको सम्पूर्ण विस्तार वा औचित्यमा प्रवेश गरी निर्णयका लागि यो मुद्दा यो बेञ्चमा प्रस्तुत भएको होइन । के कति जग्गा ककसले आफ।आफ्नो नाममा दर्ता गराएको छ भन्ने कुरा सबूद प्रमाणहरू सबै बुझी शुरू तहबाटै इन्साफ हुनु पर्ने विषय हो ।

            ५.    अब वादी भगवतीप्रसादका फिराद हदम्यादको आधारमा खारेज हुनुपर्ने हो कि भन्नलाई २०२८ सालको बाली श्रीचनको उजुरीबाट रोक्का नरहेको र २०१९ सालको बाली देखि मेरो चार आना हिस्साको बाली नदिएकोले दिलाइ साझेदारीको मेरो फाँटको जग्गा विगाहा ५ छुट्याइ पाउँ भन्ने वादी दावी भएको र २०१९ सालको बाली नदिएबाट त्यस बखत मुद्दा गर्नुपर्ने कारण उपस्थित भएको भन्ने वादीको जिकिर भएकोले जग्गा पजनी जग्गा मिच्ने वा साहु आसामीमध्ये मुलुकी ऐनको जुनसुकै महल अन्तर्गतको हदम्याद कायम भए पनि वादीले आफ्नो फिरादपत्र हदम्याद भित्रकै देखाउन खोजेको छ । वादीको उक्त जिकिर ठीक वा वेठीक के हो भन्ने कुरा बाली लिए दिएको र जग्गाको भोग चलनको सबूद प्रमाण बुझि सो आधारमा निर्णय हुनुपर्ने कुरा भएकोले यस बेञ्चले एकाएक सोझै त्यस कुरामा निर्णय गर्नु कानून र न्याय सङ्गत हुँदैन । यर्थाथमा त्यस सम्बन्धमा वादीले सबुद प्रमाण पेश गरी आफ्नो दाबी हदम्याद भित्रको छ भन्ने देखाउने मौकै नपाएकोले पनि एकाएक सोकुरामा यो बेञ्चले निर्णय गर्नु प्राकृतिक न्यायको सिद्धान्तको विपरित पनि हो ।

            ६.    तसर्थ हदम्यादसम्बन्धी विषय लगायत निर्णय गर्नुपर्ने हक वेहकसम्बन्धी अन्य सबै कुराहरू जिल्ला अदालतबाट निर्णय भई सोउपर पुनरावेदन पर्दै आएको खण्डमा मात्र त्यस सम्बन्धमा यस अदालतले आफ्नो निर्णय दिनुपर्ने कुरामा अहिले नै यसबेञ्चबाट निर्णय दिन नमिल्ने हुँदा एक विषयको दोहरो नालिस हो वा होइन भन्ने प्रस्तुत विवादको मुख्य प्रश्नमासम्म यस बेञ्चबाट निर्णय हुनु पर्दछ । त्यस सम्बन्धमा मैले माथि उल्लेख गरेबमोजिम यस अदालतको डिभिजन बेञ्चले वादी भगवतीप्रसाद फिराद खारेज गर्ने गरी गरेको निर्णय नमिलेको र जनकपुर अञ्चलअदालतको ठहर मनासिव देखिएकोले सो बमोजिम प्रस्तुत मुद्दा कारवाई र किनारा गर्नका लागि धनुषा जिल्ला अदालतमा पठाइ दिनु पर्दछ भन्ने मेरो राय छ ।

 

 

इति सम्वत् २०२८ साल आषाढ ४ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु