शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६११ - काठमाडौं जिल्ला अदालतको अपहेलना गरे भन्ने

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६११       ने.का.प. २०२८

डिभिजन बेञ्च

न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत २०२६ सालको फैज्दारी विविध नम्वर १२४

फैसला भएको मिति : २०२७।११।१९।४

निवेदक      : अधिवक्ता गणेशराज शर्मा, काठमाडौं जिल्ला, डिल्लीबजार

विरूद्ध

विपक्षी : काठमाडौं जिल्ला अदालतको न्यायाधीश श्री वासुदेव शर्मा

मुद्दा : काठमाडौं जिल्ला अदालतको अपहेलना गरे भन्ने

(१)   लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएमाअदालतको अपहेलनामा कारवाई चलाउन नपर्ने ।

            तसर्थ उपरोक्त स्थितिमा विपक्षी न्यायाधीशको लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएकोसमेतबाट यसमा कारवाई गर्न नपरी मिसिल नियम बमोजिम बुझाईदिनु ।

(प्रकरण नं. ५)

निवेदक तर्फबाट :  

विपक्षी तर्फबाट      :   

उल्लेखित मुद्दा :    

आदेश

     न्या.श्री सुरेन्द्रप्रसाद सिंह समेत

      १.     मिति २६।२।३१।६ को दिन मेरो पक्ष वासुदेवचन्द्र मल्लको साथ अधिकृत वारेसको अख्तियारनामा प्रमाणित गराउन का.जि.अ.मा गई निवेदनपत्र दर्ता गराई न्या.वासुदेव शर्माको टेवुलमा दाखिल भइसक्दा पनि निजको ध्यान त्यसतर्फ नपुगेको देखेर वासुदेवचन्द्र मल्लले सम्बोधन गर्दा पनि उक्त न्यायाधीशज्यूले ध्यान दिनुभएन । मैले वासुदेवचन्द्र मल्ल ३ बजे आई बाँकी कारवाई पूरा गर्न चाहनुहुन्छ भनी विनम्र अनुरोध गर्दा न्यायाधीशज्यू क्रोधित भई अदालतसँग व्यवहार गर्न नजान्ने इत्यादि नानाप्रकार कडा बचन बोली अपमान गरी उहाँले आफ्नो अदालतको अपहेलना गर्नुभएकोले मानहानीमा कारवाई चलाई पाउँ भन्नेसमेत अधिवक्ता गणेशराजको निवेदन ।

      २.    गणेराज शर्मा कानूनी व्यवसायी वकिलको रूपमा का.जि.अ.मा ०२६।२।३१।६ मा उपस्थित हुनभएको छैन । आफ्नो परिचय दिएर मेरो सामू आउनु भएको छैन । उहाँको अपमान गर्ने उद्देश्य मेरो कहिले पनि थिएन र त्यस दिन पनि अपमान गरेको थिइन, मबाट कुनै व्यक्तिको अथवा निवेदकको कानूनी व्यवसायीको इजालासको अदालतको समेत अपहेलना भए गरेको छैन । मागअनुसार अपहेलनाको कारवाई हुनुपर्ने होइन भन्नेसमेत जि.न्या. वासुदेव, का.जि.अ.को लिखित जवाफ ।

      ३.    प्रस्तुत मुद्दामा निवेदक गणेशराजको वा.झलकबहादुर रोहवरमा रही पेश हुनआएको निर्णय तर्फ विचारगर्दा मुख्य निवेदकको जिकिरअनुसार निवेदकलाई अपमान गरी अदालतको अपहेलना गरेको हो होइन भन्ने नै निर्णय दिनुपर्ने भएको देखियो ।

      ४.    न्यायसम्पादनको महान र गहन जिम्मेवारीमा न्यायाधीश र वकिलको सम्बन्ध अत्यत्न घनिष्ट हो । तसर्थ एकले अर्काको उचित सम्मान र मर्यादाको सदैव ख्याल राख्न नितान्त आवश्यक र उचित देखिन्छ । त्रुटि भएमा न्याय सम्पादन शिथिल हुन जाने स्वभाविकै हुँदा त्यसो हुन नदिनु श्रेयस्कर देखिन्छ ।

      ५.    तसर्थ उपरोक्त स्थितिमा न्यायाधीशको लिखितजवाफमा अपहेलना भएगरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेखभएको समेतबाट यसमा कारवाई गर्न नपरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

इति सम्वत् २०२७ साल फागुन १९ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु