निर्णय नं. ६१२ - डाँका
निर्णय नं. ६१२ ने.का.प. २०२८
डिभिजन बेञ्च
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
न्यायाधीश श्री ब्रह्मदत्त तिवारी
सम्वत २०२४ सालको फैज्दारी पुनरावेदन नम्बर ५७०
फैसला भएको मिति : २०२७।१२।८।१
पुनरावेदक : तप्पे ढोलीया मौजे रमवापुर घरभई कपिलवस्तु कारागारमा थुनिएको हिरा पासी
विरूद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : डाँका
(१) कुनै अभियुक्तले अन्य व्यक्तिउपर समेत पोल गरी गरेको साविति बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा–निज पोलिएको व्यक्ति विरूद्ध प्रमाण लगाउन न्यायोचित नहुने ।
कुनै मुद्दामा कुनै अभियुक्तले अन्य व्यक्तिहरूका उपरसमेत पोल गरी गरेको साविती बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएसम्म ती पोलिएका व्यक्तिहरूका विरूद्ध प्रमाण लगाउन न्यायोचित हुँदैन ।
(प्रकरण नं. १२)
(२) मुद्दाको कुनै पक्षले अर्को पक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र र विश्वसनीय प्रमाण मान्न नसकिने ।
वादी वा उजूरवालाको रूपमा मुद्दा चलाउने प्रहरीले आफ्नो हिरासतमा रहेका अभियुक्तसँग गराएको साविती कागजलाई स्वतन्त्र प्रमाणको रूपमा मान्यता दिन वा सो कागजले अर्को अभियुक्तद्वारा निज उजुर गरिएको पोल पुष्टि गरेको सम्झन न्याय विवेक र तर्क कुनै पनि दृष्टिकोणबाट मिल्दैन । मुद्दाका कुनै एकपक्षले अर्कोपक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र वा विश्वसनीय प्रमाण मान्न सकिन्न । यससम्बन्धमा विद्वान सरकारी अधिवक्ताले आपत्ति प्रकट गर्नुहुँदैन । उक्त कुराहरूको खण्डन गर्न खोज्नु भएको छ । मुद्दामा प्रहरीको आफ्नो व्यक्तिगत कुनै स्वार्थ हुँदैन गरे विराएको नभई प्रहरीले त्यसै कसैलाई साविती कागज गराउने आवश्यकता वा प्रयोजन नै हुँदैन । त्यसैले प्रस्तुत मुद्दामा प्रहरीले हिराद पासीसँग गराएको ठाडो कागजलाई निर्णायक प्रमाणको रूपमा मान्यता नदिने हो भने पनि यासिनको साविती बयानमा हिरा पासीका विरूद्ध उल्लेखित कुराहरूको पुष्टि गर्ने समर्थक प्रमाणको रूपमा त्यसलाई मान्यता दिइनु पर्दछ भन्ने विद्वान सरकारी अधिवक्ताको मुख्य बहस जिकिर छ । तर मुद्दामा प्रहरीको कुनै स्वार्थ हुन्छ वा हुँदैन भन्ने कुरा यससम्बन्धमा महत्त्वपूर्ण देखिंदैन निजै प्रहरीले यस्ता मुद्दामा वादी वा उजूरवालाको प्रतिनिधित्व गर्दछ । यसरी एउटापक्षको प्रतिनिधित्व गर्ने प्रहरीले अर्कोपक्ष अभियुक्तलाई आफ्नो हिरासतमा राखी गराएको ठाडो साविती कागजलाई प्रमाणको रूपमा कुनै पनि महत्त्व दिनु न्यायको दृष्टिकोणबाट उचित हुन्छ वा हुँदैन भन्ने कुरा नै यससम्बधमा मुख्यरूपमा विचार गर्नुपर्ने हुन्छ । प्रहरीले प्रत्यक्षरुपमा अभियुक्तलाई कुनैप्रकारको डर, त्रास वा करकापमा पारेको प्रमाणित नभए पनि प्रहरी हिरासतमा छँदा अभियुक्तउपर गर्नसक्ने त्रास र अन्यप्रकारको अनुचित प्रभावको सम्भावनाको विचारबाटै पनि प्रहरीद्वारा यस्ता अभियुक्तबाट गराएको साविती कागज अदालतले स्वतन्त्र प्रमाणको रूपमा मान्यता दिने र त्यसमा भर परी अभियुक्तलाई कसूरदार ठहराउन न्यायोचित हुँदैन ।
(प्रकरण नं. १३)
पुनरावेदक तर्फबाट :
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनील
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री विश्वनाथ उपाध्याय
१. २०२१ साल माघ १६ गते राती नचिनेका २०।२५ जना डाँकाहरू आई डाँका गरे, डाकुको फयरबाट महादेव मगरेलाई गोली लागेको छ, धनमालको बिगो रु.१५६३।७० भराई सजाय गरिपाउँ भन्नेसमेत सुन्दर कुर्मी समेतको दरखास्त ।
२. आशिन राम नारायण जैराम समेतलाई चिनेकोले अरू को–को ल्याई डाँका गरेको हुन भन्नेसमेत ०२१।१२।४।४ को सर्जमिन मुचुल्का ।
३. आशिन मुसलमान समेतलाई पक्राउ गर्न पठाउन पहिलेकै केशहरूमा फरार भई बसेकोले अरू को–को कहाँका डाँकाहरू थिए भन्ने कुरा ठेगान लाग्न सकेन । निज आशिनसमेतउपर तथा पक्राउ भई निजहरूबाट खुल्न आएका डाँकाहरूउपर डकैती गरेमा चोरीको १४ (४) बमोजिम गरी माग्छौ भन्नेसमेत अ.प.प्र.र प्रहरीको संयुक्त प्रतिवेदन ।
४. यही गएको माघ महिना हो, छोटक भन्ने जैरामले सल्लाह दिई आउ भनेकोले म समेत गई सुन्दर कुर्मी समेतको घर डाँका गर्यौं र मलाई रु.२० दिए, यो भन्दा अघि प्रियाको डकैती मुद्दा चली रहेको छ भन्नेसमेत हिरा पासीको प्रहरीमा भएको ठाडो कागज ।
५. माघ १६ गते आफ्नो घरमा नबसेको हुँदा डाँका गर्न गएको र भाग वण्डा खाएको समेत छैन भन्नेसमेत हिरा पासीको अदालतमा बयान भएको ।
६. डाँका गर्न गएको होइन भन्ने पक्का सबुद प्रमाण गुजार्न नसकेकोले अधिकार प्राप्त अधिकारीको समक्ष प्रहरीमा सावित भई कागज गरेको देखिन आएकोले समेत डाँका गरेको ठहर्छ भन्नेसमेत कपिलवस्तु जिल्ला अदालतको ०२४।२।२६।६ को फैसला ।
७. हिरापासिलाई चिनेको छु भनी सर्जमिनमा कसैले पनि लेख्न भन्न नसकेकोमा सर्जमिनले किटानी गरेको भन्ने झुठ्ठो जिकिर सबुद लेखी हराएकोले शुरूले गरेको इन्साफ चित्त बुझेन भन्नेसमेत प्रतिवादी हिरा पासीको पुनरावेदन ।
८. प्रहरीमा गरेको साविती कागजअनुसार हिरा पासीले डाँका गरेको ठहराएको शुरूको इन्साफ मुनासिव छ भन्नेसमेत लुम्विनी अञ्चल अदालतको ०२४।८।२५।२ को फैसला ।
९. मेरो इच्छा विरूद्ध प्रहरीमा गराएको कागजको आधार लिई मलाई हराएकोले लुम्बिनी अञ्चलअदालतको फैसला बदर गरी निष्पक्ष न्यायपाउँ भन्नेसमेत हिरा पासीको पुनरावेदन ।
१०. पुनरावेदक हिरा पासीको प्रहरी सावित कागज भएको देखिन्छ तापनि निजलाई देख्यौ चिन्यौ भनी जाहेरवाला र सर्जमिनसमेत कसैले भन्न नसकेको निज हिरा पासी वारदातमा गएको थियो भन्ने अन्य सबुद प्रमाण पनि नभएको, सो रात घरैमा थियो भनी साक्षी मोलहुँ अहिरले बकेको समेतबाट पुनरावेदकले गरेको साविती कागजलाई अन्य प्रमाणबाट समर्थित हुन नआएको, सो कागज र यासिन मुसलमानले पोल गरेको घरबाट कसूरदार ठहराउन प्रमाण पुग्ने नदेखिएकोले वादीसमेत राखी छलफल गर्नुपर्ने भएकोले अ.बं.२०२ नं.र स.अ. नियमावलीबमोजिम छलफलमा सरकारी अधिवक्ता खटाई पठाइदिनु भनी महान्यायाधीबक्ताको कार्यालयलाई लेखि पठाई नियमबमोजिम गरी पेशगर्नु भन्ने डि.बे.को ०२६।५।२३।२ को आदेश ।
११. प्रस्तुत मुद्दामा प्रहरी प्रतिवेदन जिल्ला अदालत र अञ्चल अदालतका फैसलाहरू र विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले यस बेञ्चका समक्ष गर्नुभएको बहसमा विचार गर्दा यसमा पुनरावेदक हिरा पासीलाई डाँकाको अभियोगमा कसूरदार ठहराउन मुख्यतः दुई कुराहरूको आधार लिएको देखिन्छ । (१) आसिन भन्ने यासिनको सावित बयान र (२) प्रहरी हिरासतमा रहेको अवस्थामा हिरा पासीले कसूरमा साविती भई गरेको ठाडो कागज सो बाहेक हिरा पासीका विरूद्धमा अरू कुनै प्रमाण देखिदैंन । यस अवस्थामा प्रस्तुत मुद्दामा उक्त दुई कुराहरूका आधारमा मात्र हिरा पासीलाई डाँकाको अपराधको कसूरदार ठहराउन न्यायोचित हो वा होइन (?) अथवा ती कुराहरू निजलाई कसूरदार ठहराउन पर्याप्त छ वा छैनन् (?) भन्ने कुरानै प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने मुख्य विषय हुन गएको छ ।
१२. त्यस सम्बन्धमा विचार गर्दा उक्त बयान र ठाडो कागजको के कस्तो प्रमाणिक महत्त्व हुन सक्तछ (?) अथवा प्रमाणको रूपमा तिनको के कस्तो मूल्याड्ढन हुनुपर्दछ (?) भन्ने आधारभूत प्रश्नहरू उपस्थित हुन आउँदछन् । प्रस्तुत मुद्दामा हिरा पासीका विरूद्ध भएको कारवाई आसिन भन्ने यासिनको पोलबाट प्रारम्भ भएकोले यस सम्बन्धमा सर्वप्रथम त निजको साविती बयानको प्रमाणिक मूल्यका सम्बन्धमा विचार हुनु आवश्यक छ र जहाँसम्म सो साविती बयानको प्रमाणिक मूल्यको प्रश्न छ, यस बेञ्चको रायमा त्यसलाई हिरा पासी लगायत अन्य कुनै पनि अभियुक्तका विरूद्ध भरपर्दो प्रमाण मान्न सकिन्न । कुनै मुद्दामा कुनै अभियुक्तले अन्य व्यक्तिहरूका उपरसमेत पोल गरी गरेको साविती बयान अन्य कुनै स्वतन्त्र र विश्वासनीय प्रमाणबाट समर्थित नभएसम्म ती पोलिएका व्यक्तिहरूका विरूद्ध प्रमाण लगाउन न्यायोचित हुँदैन । खास गरी यासिन जस्ता पटके अपराधीको बयानमा मात्र भर गरेर र अन्य कुनै व्यक्तिलाई कसूरदार ठहराउने परम्परा अपनाउने हो भने फौज्दारी न्यायको प्रशासन नै विकृत हुने सम्भावना हुन्छ । त्यस अवस्थामा कठोर अपराधीहरूसँग रिसइवी परेको निर्दोष व्यक्तिहरू गलत र त्रुटीपूर्ण परम्पराको शिकार भई नाहकमा अपराधी कायम हुन जाने सम्भावना हुन्छ र फौज्दारी न्यायमा त्यस्तो विकृती आएको खण्डमा न्याय प्रशासनको आवश्कता एवं औचित्य नै हराउँछ । त्यसले कुनै मुद्दामा कुनै अभियुक्तले गरेको साविती बयानको पुष्टि अन्य विश्वासनीय र स्वतन्त्र प्रमाणबाट नभएसम्म त्यसलाई अन्य अभियुक्तका विरूद्धमा प्रमाण लगाउन हुँदैन भन्ने कुरा फौज्दारी न्यायको एउटा आधारभूत सिद्धान्तको रूपमा सर्वत्र मानिआएको छ । यस सिद्धान्तको पृष्ठभूमिमा पनि अरू कतिपय तर्कसङ्गत कारणहरू छन् । अभियुक्तको बयान लिंदा निजलाई धर्म भकाइदैन, निजले पोलेको अन्य अभियुक्तहरूको उपस्थितिमा पनि हुँदैन र सबैभन्दा महत्त्वपूर्ण कुरा निजसँग जिरह गरेर बयानको यथार्थताको जाँच गर्ने मौका पनि प्राप्त हुँदैन । साथै अभियुक्तले कुनै व्यक्तिउपर झुठ्ठा पोल गरे पनि निजले झुठ्ठा पोल गर्ने उजुरवाला वा झुठ्ठा बक्ने साक्षी सरह सजायको भागी पनि हुनुपर्दैन । त्यसैले प्रमाणको रूपमा त्यस्तो बयानको खास महत्त्व हुँदैन, भए पनि विल्कुलै नगण्य हुन्छ । बरू मुद्दामा बुझिएको एउटा साधारण साक्षीको बकपत्रको प्रमाणिक मूल्य त्यस्तो बयान भन्दा बढी हुन्छ । तसर्थ अभियुक्तको साविती बयानलाई अन्य प्रमाणहरूको समर्थन वा पुष्टिका लागि केही हदसम्म उपयोग गर्न सकिन्छ तापनि त्यसलाई अन्य अभियुक्तको कसूर प्रमाणित गर्ने निर्णय वा भरपर्दो प्रमाणको रूपमा मान्यता दिन सकिन्न । त्यस्तो बयानको सारभूत कुराहरूको पुष्टि अन्य विश्वासनीय एवं स्वतन्त्र प्रमाणबाट हुँदैन भन्ने अदालतले सो बयानलाई अन्य अभियुक्तका विरूद्ध प्रमाण लगाउन मिल्दैन ।
१३. अब प्रस्तुत मुद्दामा आसिन भन्ने यासिनको बयानमा उल्लेखित हिरा पासीउपरको पोलसम्बन्धी कुराहरूलाई समर्थन गर्ने अर्को प्रमाण छ वा छ्रैन भन्ने कुराका हकमा माथि उल्लेख भएअनुसार हिरा पासीका विरूद्ध उक्त बयान बाहेक अर्को एक मात्र प्रमाण छ र त्यो हो निजले प्रहरी हिरासतमा छँदा गरेको ठाडो कागज । तर यो कागजको प्रमाणिक मूल्य उक्त बयान भन्दा पनि कम हुने हुनाले त्यसले यो बयानको पुष्टि गर्छ वा गर्दैन भन्ने कुरा विशेष महत्त्वको हुँदैन, वादी वा उजुरवालाको रूपमा मुद्दा चलाउने प्रहरीले आफ्नो हिरासतमा रहेका अभियुक्तसँग गराएको साविती कागजलाई स्वतन्त्र प्रमाणको रूपमामान्यता दिन वा सो कागजले अर्को अभियुक्तद्वारा निज उजुर गरिएको पोल पुष्टि गरेको सम्झन न्याय विवेक र तर्क कुनै पनि दृष्टिकोणबाट मिल्दैन । मुद्दाका कुनै एक पक्षले अर्को पक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र वा विश्वसनीय प्रमाणमान्न सकिन्न । यस सम्बन्धमा विद्वान सरकारी अधिवक्ताले आपत्ति प्रकट गर्नुहुँदैन । उक्त कुराहरूको खण्डन गर्न खोज्नु भएकोछ, मुद्दामा प्रहरीको आफ्नो व्यक्तिगत कुनै स्वार्थ हुँदैन, गरे बिराएको नभई प्रहरीले त्यसै कसैलाई साविती कागज गराउने आवश्यकता वा प्रयोजन नै हुँदैन । त्यसैले प्रस्तुत मुद्दामा प्रहरीले हिरा पासीसँग गराएको ठाडो कागजलाई निर्णायक प्रमाणको रूपमा मान्यता नदिने हो भन्ने पनि यासिनको साविती बयानमा हिरा पासीका विरूद्ध उल्लेखित कुराहरूको पुष्टि गर्ने समर्थक प्रमाणको रूपमा त्यसलाई मान्यता दिइनु पर्दछ भन्ने विद्वान सरकारी अधिवक्ताको मुख्य बहस जिकिर छ । तर मुद्दामा प्रहरीको कुनै स्वार्थ हुन्छ वा हुँदैन भन्ने कुरा यस सम्बन्धमा महत्त्वपूर्ण देखिदैन । निजै प्रहरीले यस्ता मुद्दामा वादी वा उजुरवालाको प्रतिनिधित्व गर्दछ । यसरी एउटा पक्षको प्रतिनिधित्व गर्ने प्रहरीले अर्को पक्ष अभियुक्तलाई आफ्नो हिरासतमा राखी गराएको ठाडो साविती कागजलाई प्रमाणको रुपमा कुनै पनि महत्त्व दिनु न्यायको दृष्टिकोणबाट उचित हुन्छ वा हुँदैन भन्ने कुरा नै यस सम्बन्धमा मुख्य रूपमा विचार गर्नुपर्ने हुन्छ । प्रहरीले प्रत्यक्ष रूपमा अभियुक्तलाई कुनै प्रकारको डर त्रास वा करकापमा पारेको प्रमाणित नभए पनि प्रहरी हिरासतमा छँदा अभियुक्तउपर पर्नसक्ने त्रास र अन्य प्रकारको अनुचित प्रभावको सम्भावनाको विचारबाटै पनि प्रहरीद्वारा त्यस्ता अभियुक्तबाट गराएको साविती कागज अदालतले स्वतन्त्र प्रमाणको रूपमा मान्यता दिने र त्यसमा भरपरी अभियुक्तलाई कसूरदार ठहराउन न्यायोचित हुँदैन ।
१४. उपरोक्त कुराहरूबाट पुनरावेदक हिरा पासीको कसूर प्रमाणित गर्ने कुनै भरपर्दो प्रमाण नभएको र साविती कसूरदार आसिन भन्ने यासिनको बयान वा प्रहरीले हिरापसिसँगै गराएको ठाडो कागजको आधारमा मात्र निजलाई कसूरदार ठहराउन फौज्दारी न्यायको सिद्धान्तको प्रतिकूल हुने हुनाले जिल्ला अदालत र अञ्चल अदालतले निजलाई डाँकाको अपराधको कसूरदार ठहराई गरेको फैसला मनासिव देखिएन । उक्त फैसलाहरूमा निज कसूरदार ठहराई गरेको निर्णय बदर हुने ठहर्छ । तपसीलको कुरामा तपसी लबमोजिम गर्नु ।
तपसिल
तप्पे ढोलिया मौजे रमवापुर घर भई कपिलवस्तु कारागारमा बन्दी भई बस्ने प्रतिवादी हिरा पासी के कपिलवस्तु जिल्ला कदालतका ०२४।२।२३।६ का फैसलाले गर्ने गरेको देहायबमोजिमको जरिवाना र कैद माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भई नलाग्ने भएकोले व्यहोरा जनाइ लगत काटिदिनु भनी कपिलवस्तु जिल्ला अदालतलाई पुर्जी गर्न लगत दिनु ........................२
जरिवाना रु.तेइससय पैतालिस रुपैया पचपन्न पैसा २३४।५६ कैद वर्ष ६ ऐ बस्ने के पुनरावेदन गरेमा भनी लुम्विनी अं.अ.का ०२४।८।२५।२ का फैसलाले लिने गरेको देहायबमोजिम जरिवाना र कैद माथि इन्साफ खण्डमा लेखिएबमोजिम भई नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटि दिनु भनी लुम्बिनी अञ्चल अदालतलाई पुर्जि गर्ने.....३
जरिवाना रु. दुई सय चौतिस रूपैयाँ छपन्न पैसा २३४।५६, कैद वर्ष सात महिना छ दिन ।७।६
इन्साफ उल्टीमा क. जि. अ. का. जि. न्या. डिल्लीबहादुर कार्कीको रेकर्ड राख्न जनरल विभागमा लेखि पठाईदिनु..........................४
न्या.श्री ब्रह्मदत्त तेवारी
उक्त रायमा म सहमत छु
इति सम्वत् २०२७ साल चैत्र ८ गते रोज १ शुभम् ।