शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८४६ - मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८४६      ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२९ सालको दे.फु.नं. १८०

फैसला भएको मिति : २०३१।६।१।३

निवेदक : विराटनगर नगरपञ्चायत वडा नं.२ बस्ने सागर मल संथालिया

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने सत्यनारायण धनावत

मुद्दा : मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

(१)   वादीले विगो खुलाउन नसक्नेमा अदालतले बाध्य गराई अनुमानित विगो लेखी निवेदन दिएको भरमा मुद्दा हदमाथिको गराई निर्णय गर्ने प्रश्न उपस्थित नहुने ।

            नालिस दावी भई वादीले विगो खुलाउन सक्ने स्थिति छैन भने अदालतबाट विगो भरिपाउने ठहर फैसला हुनुको अभावमा पुनरावेदन दिँदा पनि वादीले विगो किटान गरी खुलाउन नसक्ने प्रष्टै छ । विगो नखुलेको मुद्दामा कोर्टफी ऐन, २०१७ को दफा ६ को खण्ड (ख) अनुसार शुरू कोर्टफी रू.१०। लाग्ने र वादीले आफ्नो पुनरावेदनमा सोअनुसार शुरूमा रू.१०। लाग्ने हुँदा त्यसको सयकडा १५ ले पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू.१।५० दाखिल गरेको छु भन्ने उल्लेख गरेको ठीकै भएकोमा कोशी अञ्चल अदालतले त्यसलाई मञ्जुर नगरी विगो खुलाउन बाध्य गराई वादीले निवेदनपत्रमा करीब रू.२,००,०००। भनी अनुमानित विगो खुलाई दिएकोलाई कायम मानी सो विगोको हिसाबबाट कोर्टफी लिएको नै कानूनअनुरूप नभएकोले प्रस्तुत मुद्दामा सो विगो खुलाई कायम मानी त्यसबाट हदमाथिको गर्न मिल्ने नमिल्ने प्रश्नै उपस्थित हुन सक्दैन । त्यसकारण यस सम्बन्धमा नजीरको रूपमा उल्लेख गरिएका विभिन्न मितिका फुल बेञ्चबाट विभिन्न मुद्दामा प्रतिपादित भएको सिद्धान्तको नजीर मोल विगो खुलाउन सक्ने अवस्थै नभएको यस मुद्दामा लाग्न सक्ने देखिँदैन ।

(प्रकरण नं. १६)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली, अधिवक्ता कृष्णकुमार वर्मा

विपक्षी तर्फबाट      : अधिवक्ता कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा :

फैसला

            प्र.न्या. रत्नबहादुर विष्ट

            १.     प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको ०२७।८।१९।६ को फैसला दोहर्‍याइपाउँ भनी वादीको निवदेन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यस प्रकार छ : सत्यनारायण धनावतले शर्त करारनामा लिखत ०१९।१२।२२।५ मा गरिदिएको सो लिखतअनुसार सत्यनारायण धनावतसँग धनावत मैच फेक्ट्री धनावत बिँडी फैक्टरीको मुनाफाको चार आना हिस्सा माग्दा आलटाल गरी नदिई वर्किङ पार्टनर मान्न इन्कार गरी ०२१ भाद्रदेखि कामबाट हटक गरेकोले वकिलमार्फत सूचना पठाएकोमा वर्किङ पार्टनर पनि होइन । चार आना हिस्साको कागज पनि गरिदिएको छैन भनी सत्यनारायण धनावतले जवाफ दिएकोले धनावत मैच फेक्टरी तथा धनावत बिँडी फैक्टरीको वर्किङ पार्टनर कायम गराई र धनावत बिँडी फैक्ट्रीको लाइसेन्स प्राप्त गरेको २० साल आषाढ महिनादेखि आजसम्मको हरहिसाव प्रतिवादी सत्यनारायणबाट खिची चारआना हिस्सासमेत दिलाई भराइपाउँ भन्ने समेत वादी ।

            ३.    धनावत बिँडी फैक्टरीमा भाइ शंकरलाल १ रतनलाल १ मोतिलाल १ र मसमेत ४ जनाको पूजिँ लगाई हिस्सेदार भएको उद्योग विभागमा रजिष्ट्री भएको छ । धनावत मैच फैक्टरी म सत्यनारायणको नाममा मात्र रजिष्टरी भएको छ वादी उक्त दुवै फैक्टरीको वर्किङ पाटनरसमेत केही छैन । वादीले जिकिर लिएको लिखत गरिदिएको होइन, छैन । सक्कल देख्न पाएका बखत नामाकरण गर्नेछु । वादी वर्किङ पार्टनर भएको भए हिस्सेदारीमा रजिष्टर गराउन सक्नु पर्ने हो । लेनदेन व्यवहारका ३७ नं. अन्तर्गत यो वादी खारेज हुनु पर्ने भन्ने समेत प्रतिवादी ।

            ४.    साझेदारी ऐन, २०२० को दफा ५ मा साझेदारी खडा भएको ६ महिनाभित्र तालुक अड्डामा लगत दर्ता गराउनुपर्छ । सोबमोजिम दर्ता नभए साझेदारीको निमित्त कानूनी मान्यता हुनेछैन भन्ने लेखिएको वादी दावीको लिखत सो ऐन जारी हुनुभन्दा अगावैको भएको हुनाले लिखत सदर हुन्छ कि भन्ने अघिको व्यवहारलाई दर्ता नगराए पनि साझेदारी कायम हुन्छ भन्ने उक्त ऐनमा लेखेको नपाइएकाले अघिको लिखत पनि कानूनी मान्यतालाई ऐन जारी भएको ६ महिनाभित्र ऐनबमोमिज दर्ता गराउनु पर्ने उजूर गरी लगत दर्ता गराउन सकेको पनि देखिएन । त्यस्तो लिखतको आधारबाट धनावत बिँडी फैक्टरीको मुनाफाको हिस्सा पाउँ भन्ने कानूनको रीत पुगेको लिखत बेगर दावा पुग्न नसक्ने हुँदा अ.बं.८२ नं.बमोजिम यो उजूर खारेज हुने ठहर्छ भन्ने समेत ०२२।६।६ को मोरंग जिल्ला अदालतको फैसला ।

            ५.    चित्त बुझेन भन्ने समेत वादी सागर मलको पुनरावेदनपत्र ।

            ६.    वादीबाट पेश भएको लिखतदेखि सागर मल मेरो वर्किङ पार्टनर हुनुहुन्न । चारआना हिस्साको कागज गरेको छैन । यो लिखत मैले गरिदिएको पनि होइन । वारेसनामा निमित्त दिएको २ लिफाहरूमध्ये एकमा पाप सोच्नुमै यो कुनीति चिताएर कीर्ते खडा गर्नुभएको भन्ने समेत प्र.सत्यनारायणको बयान ।

            ७.    ०१९।१२।२२ को लिखत प्र.सत्यनारायणले राजीखुसीसँग गरिदिएको हो भन्ने समेत वादी सागर मलको वा.हरिप्रसादको बयान ।

            ८.    सत्यनारायणले राजीखुसीले गरिदिएको कागजमा मलाई वारेस दिने झुमरमल, जगतबहादुर साक्षी बसेको हुन । लिफामा लेखेको होइन, लिखत सद्दे हो भन्ने समेत झुमरमल, जगतबहादुरको वा.हरिप्रसादको बयान ।

            ९.    ०२९।५।२२ को लिखतको व्यहोरा हेर्दा सो कागज गरी दिइसकेपछि वादीले सो चार आना हिस्सा लिने काम के के गर्नुभयो सो पनि मिसिलबाट केही देखिन आएन । त्यसरी फैक्टरीको हिस्सा लिने दिने जस्तो आफ्नो लाभको पक्का हुनु पर्ने कागज बलियो बनाउन रजिष्ट्रेशन पास गराउन पनि सक्नुहुन्थ्यो । सो पनि नदेखिएको कागजको रूप हेर्दा लिखतको आकृतिबाट लिफामा लेखेको रहेछ भन्ने देखिन आएको कीर्ते लिखतबाट वादी दावीबमोजिमको फैक्टरीको साझेदारी कायम गरी चार आना हिस्सा पाउँ भन्ने वादी नपुग्ने उक्त कागज कीर्ते खडा गरेको ठहर्छ भन्ने समेत ०२५।३।३२।२ को कोशी अञ्चल अदालतको फैसला ।

            १०.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी सागर मल संथालीयाको र झुमरमल राठीको छुट्टाछुट्टै पुनरावेदनपत्र ।

            ११.    संशोधनसहित न्यायप्रशासन (विविध व्यवस्था) ऐन, ०२१ को दफा ८ को उपदफा (२) मा उपदफा (१) बमोजिम अपील परेको मुद्दा मामिलामा मात्र अञ्चल न्यायाधीशले दिएको फैसला वा अन्तिम आदेशउपर सर्वोच्च अदालतमा अपील लाग्नेछ भन्ने र सोही उपदफा (६) मा झगडा परेको वा दावी गरेको बिषयको मोल विगो पाँच हजार रूपैयाँभन्दा बढी भएको मुद्दा मामिला वा मोल विगो नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचर वा तायदाती नआएको अंश मुद्दा भनी उल्लेख भएको पाइन्छ । उक्त ऐनले व्यवस्था गरेअनुसार सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचर वा तायदाती नआएको अंशमुद्दासमेत नभई यो विगो नखुलेको साझेदारी हिस्सा दिलाइपाउँ भन्ने फिराद परेको मुद्दा हुँदा पहिले फिराद गर्दाकै अवस्थामा विगोको अंक यकिन किटान गरी अदालतसमक्ष उपस्थित हुनु पर्ने सो भए गरेको नभई पुनरावेदन गर्दाको अवस्थामा पनि पुनरावेदनपत्रमा विगो नखुलाई शुरू मिसिल फा.नं.३७ मा पुनरावेदन र फा.नं.५८ मा कोशी अञ्चल अदालतमा निवेदन गर्दा उक्त निवेदनपत्रमा मोल विगो खुलाई निवेदन गरेकोबाट अञ्चल अदालतले निवेदनको आधारबाट कोर्टफी लिने गरी दर्ता गरेको देखिन आउँछ । फिराद तथा पुनरावेदनमा समेत मोल विगो नखुलाई निवेदनपत्रमा उल्लेख गरी खुलाएको मोल विगोको भरबाट हदमाथिको भनी कायम गर्दा विगोको भरबाट हदमाथिको भनी कायम गर्दा जुनसुकै मुद्दामा पनि हार्ने पक्षले विगो बढाई हदमाथि गराउन सक्ने अवस्था पर्न आउने र त्यस्तो हुँदा ऐनले हद कायम गरिरहेको कुरा व्यर्थ हुन जाने भई ऐनको मनसायमा आघात पर्न जाने देखिँदा फिराद गर्दाकै अवस्थामा नै मोल विगो खुलाउनु पर्ने स्थिति देखिन्छ । फिराद तथा पुनरावेदन समेत मोल विगो नखुलाई निवदेनपत्रबाट मात्र मोल विगो खुलाएको प्रस्तुत मुद्दा कानूनबाट समेत हदमाथिको हुन्छ भनी भन्न नमिल्ने देखिन आएबाट प्रस्तुत मुद्दाको पुनरावेदनहरू खारेज हुने ठहर्छ भन्ने समेत ०२७।८।१९।६ को डिभिजन बेञ्चबाट निर्णय भएको ।

            १२.   प्रस्तुत मुद्दा दोहर्‍याइदिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा कोर्टफी ऐन प्रारम्भ हुन बाँकी दफा उपदफा २१।९।१ देखि अधिराज्यभर प्रारम्भ हुने गरी तोकिदिएको प्रस्तुत मुद्दाको फिराद ०२१।८।२१ मा दर्ता भएको बखत कुनै प्रकारको कोर्टफी लिने लेख्ने अवस्थै देखिन आउँदैन । कोर्टफी राख्न सक्दिन पछि राख्ने गरिपाउँ भन्ने वादीले चढाएको निवेदनमा बक्सेको हु.प्र. बाट म्याद थामिएको र पछि सागर मलले दिएको निवेदनमा दण्डले पुग्ने जेथा वा पत्याएको उपर हुन सक्ने जमानत दिए ऐनबमोजिम गर्नु भन्ने हु.प्र.बक्स भइराखेको देखिएकोले सो हुकुम प्रमांगीकै आधारमा नै अञ्चल अदालतमा निवेदन दिँदा खुलेको विगो रू.२,००,०००। कायम गरी रू.७९०।५० कोर्टफी र हदम्याद थाम्दाको रू.४। जरिवानासमेत लिई पुनरावेदन दर्ता गरेको देखिएको । परिवम वादी निवेदक विरुद्ध हंसराम वम प्रतिवादी भएको दे.फु.नं. ७० को स.अ.फुल बेञ्चको ०२६।१०।२० को निर्णयमा पुनरावेदनमा खोलिएको विगोलाई कायम मानी इन्साफ भएको देखिएको समेतबाट अञ्चल अदालतले हु.प्र.अनुसार नै रू.२,००,०००। विगो कायम गरी कोर्टफी समेत लिई पुनरावेदन नियमित गरेको देखिएको कुरामा पुनरावेदन साथ कोर्टफी राख्न नसकेको भनी खारेज गरेको मिलेको देखिएन । दोहर्‍याउन आदेश बक्सनु पर्ने भन्ने समेत उल्लेख भएको ।

            १३.   यस बेञ्चसमक्ष निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मासमेतले पुनरावेदन दर्ता हुँदा कोर्टफी ऐन, २०१७ लागू भई पुनरावेदन गरेवापतमा लाग्ने कोर्टफी असुल गर्नालाई विगो खुलाउनु पर्ने आवश्यक परी मेरो निवेदनद्वारा विगो खुलाई कोर्टफी लिएको हो सो कोर्टफी लिएको डिभिजन बेञ्चले पनि कायमै मानेको छ । कोर्टफी लिँदा कायम मानिएको विगोलाई हदमुनि माथि छुट्याउँदा नमान्ने भन्ने कुरो मिल्ने देखिँदैन । परिवमसमेतको मुद्दामा भएको फुल बेञ्चको नजीरसमेतबाट सो विगोको हिसाबबाट हदमाथिको कायम हुनुपर्छ भन्ने समेत र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले वादीमा विगो खुलाएको छैन र प्रतिवादीबाट के कति मुनाफा भएको छ सो हिस्सा दिलाइपाउँ भन्ने दावी गरेकोमा वादीले बिगो खुलाउन सक्ने स्थिति पनि छैन । पुनरावेदन दिँदा आफ्नो स्वार्थको लागि निवेदनमा खुलाएको विगोलाई कायम मानी हदमाथिको भन्न मिल्दैन । कोर्टफी ऐनमा त्यसरी विगो खुलाउने र त्यसलाई मान्यता दिने व्यवस्था पनि छैन । त्यसकारण यो मुद्दा हदमाथिको हुनै नसक्ने हुँदा डिभिजन बेञ्चले पुनरावेदन खारेज गरेको कायमै हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

            १४.   यसमा प्रस्तुत मुद्दाको नालिस दर्ता हुँदा कोर्टफी ऐन, २०१७ लागू भइनसकेकोले कोर्टफी नलागेकोमा शुरू मोरङ जिल्ला अदालतको फैसलाउपर पुनरावेदन गर्दा कोर्टफी ऐन, ०१७ लागू भई कोर्टफी लाग्ने भएकोबाट कोर्टफीको प्रयोजनको लागि वादीले निवेदनद्वारा खुलाएको विगो अंकलाई कायम मानी कोर्टफी लिई पुनरावेदन दर्ता भएको र कोशी अञ्चल अदालतले फैसला गर्दा सोही विगोको आधारमा हदमाथिको भनी पुनरावेदनको म्याद दिई सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएकोमा ०२७।८।१९।६ को डिभिजन बेञ्चले फिरादपत्र तथा पुनरावेदनसमेतमा मोल विगो नखुलाई निवेदनपत्रबाट मात्र मोल विगो खुलाएकोबाट हदमाथिको भन्न नमिल्ने हुँदा पुनरावेदन खारेज हुने ठहर्छ भनी निर्णय गरेको रहेछ । वादीले पहिले नालिसमा विगो अंक नखुलाएकोमा पछि पुनरावेदन दिँदा खुलाएको विगो अंकलाई कायम मानी हदमाथिको गर्न मिल्ने नमिल्ने प्रश्न उपस्थित भएकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आएको छ ।

            १५.   यस प्रसंगमा वादीको नालिस दावी हेर्दा धनावत मैच फैक्टरी धनावत बिँडी फैक्टरीमा ०२० साल आषाढ महिनादेखि आजसम्म के कति मुनाफा भए गरेको छ, हरहिसाब बहिखाता प्रतिवादीबाट खिची चारआना हिस्सा दिलाइपाउँ भन्ने दावी लिएको पाइन्छ । त्यस्तो दावीमा यति बिगो भनी खुलेको हुँदैन र यस्तो मुद्दालाई वादीले नालिसमा विगो खुलाउन सक्ने स्वाभाव र प्रकृतिको भन्न मिल्दैन । जबसम्म प्रतिवादीबाट हरहिसाब बहिखाता दाखिल भई न्यायिक निर्णयबाट वादीले यो यति हिसाब दिलाई भराई पाउने भन्ने ठहर भएको हुँदैन तबसम्म यस्तो दावीको मुद्दालाई विगो नखुलेको मुद्दाको प्रकृति नै मान्नुपर्छ ।

            १६.    नालिस दावी भई वादीले विगो खुलाउन सक्ने स्थिति छैन भने अदालतबाट विगो भरिपाउने ठहर फैसला हुनुको अभावमा पुनरावेदन दिँदा पनि वादीले विगो किटान गरी खुलाउन नसक्ने प्रष्टै छ । विगो नखुलेको मुद्दामा कोर्टफी ऐन, २०१७ को दफा ६ को खण्ड (ख) अनुसार शुरू कोर्टफी रू.१०। लाग्ने र वादीले आफ्नो पुनरावेदनमा सोअनुसार शुरूमा रू.१०। लाग्ने हुँदा त्यसको सयकडा १५ ले पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू.१।५० दाखिल गरेको छु भन्ने उल्लेख गरेको ठीकै भएकोमा कोशी अञ्चल अदालतले त्यसलाई मञ्जुर नगरी विगो खुलाउन बाध्य गराई वादीले निवेदनपत्रमा करीब रू.२,००,०००। भनी अनुमानित विगो खुलाई दिएकोलाई कायम मानी सो विगोको हिसाबबाट कोर्टफी लिएको नै कानूनअनुरूप नभएकोले प्रस्तुत मुद्दामा सो विगो खुलाई कायम मानी त्यसबाट हदमाथिको गर्न मिल्ने नमिल्ने प्रश्नै उपस्थित हुन सक्दैन । त्यसकारण यस सम्बन्धमा नजीरको रूपमा उल्लेख गरिएका विभिन्न मितिका फुल बेञ्चबाट विभिन्न मुद्दामा प्रतिपादित भएको सिद्धान्तको नजीर मोल विगो खुलाउन सक्ने अवस्थै नभएको यस मुद्दामा लाग्न सक्ने देखिँदैन ।

            १७.   माथिको प्रकरणमा व्यक्त गरिएअनुसार दावीको विगो अंक वादीबाट किटान खुल्न सक्ने स्वभाव र प्रकृतिको मुद्दै नभएको झगडा परेको वा दावी गरेको बिषयको मोल विगो नखुलेको मुद्दामा तत्काल प्रचलित न्यायप्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को संशोधित दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार सामूहिक कुलो पानी, सामूहिक सन्धिसर्पन, गौचर वा तायदाती नआएको अंश मुद्दासम्ममा अञ्चल अदालतउपर सर्वोच्च अदालतमा यो त्यस किसिमको मुद्दा पनि नभएकोले कोशी अञ्चल अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने देखिँदैन । उपरोक्त कारणहरूबाट पुनरावदेन खारेज गरेको पुनरावदेन खारेज हुने हुँदा पुनरावेदन खारेज गरेको सम्म ०२७।८।१९।६ को डिभिजन बेञ्चको मनासिव ठहर्छ, अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक वादी सागर मल संथालिया के निजले अञ्चल अदालतमा पुनरावेदन गर्दा रू.१।५० मात्र कोर्टफी लाग्नेमा रू.७९०।५० कोर्टफी दाखिल गरेको देखिएको बढी दाखिल गरेको रू.७८९। फिर्ता पाउनेमा हाल मुद्दा दोहर्‍याएबापत लाग्ने कोर्टफी रू.१। आदेशानुसार मुद्दा किनारा हुँदा ठहरेबमोजिम हुने गरी कोर्टफी नरही दायर भएकोले उक्त मुद्दा दोहर्‍याएबापत लाग्ने कोर्टफी रू.१। सो फिर्ता पाउने रू.७८९। मा कट्टा गरी बाँकी रू.७८८। फिर्ता लिन आए कानूनबमोजिम फिर्ता दिनु भनी मोरंग जि.अ.मा लेखि पठाउन का.जि.अ. तहसिलमा लगत दिने ...........................१

मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. प्रकाशबहादुर के.सी.,

न्या. हेरम्वराज,

न्या. विश्वनाथ

 

इति सम्वत् २०३१ साल आश्विन १ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु