शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१६६ - जीउ मास्ने बेच्ने

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१६६        २०६६ असोज              अङ्क ६

           

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

संवत् २०५८ सालको फौ.पु.नं. ३१०७

फैसला मितिः २०६६।१।२९।३

 

मुद्दाः जीउ मास्ने बेच्ने ।

 

पुनरावेदक वादीः पाँचथर जिल्ला नवमीडाँडा गा.वि.स. वडा  नं. ९ बस्ने कमलादेवी चौलागाईको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः पाँचथर जिल्ला फिदिम गा.वि.स. वडा नं. १ बस्ने खेमराज पाण्डे समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री मेघनाथ भट्टराई

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री केशरमान पति

मा.न्या.श्री हरिप्रसाद घिमिरे

 

§  मौकामा जिल्ला न्यायाधीशसमक्ष प्रमाणित वयानमा उल्लेख गरेको कुरालाई मिसिलबाट देखिएको परिस्थिति र प्रमाणबाट समर्थित भएको खण्डमा महत्त्वहीन र निष्प्रभावीरुपमा लिन नमिल्ने ।

§  अदालतमा पीडितको भनाई प्रमाणित भएपछि निजले अदालतमा वकपत्र गर्दा अन्यथा भन्नुले खास असर पार्ने हुँदैन । मौकामा प्रमाणित भएको त्यस्तो भनाईलाई मिसिलबाट देखिएको परिस्थिति र अन्य प्रमाणबाट समर्थित भएको खण्डमा प्रमाणमा लिनुपर्ने ।

§  मिसिल संलग्न प्रमाण एवम् मिसिल संलग्न तथ्यले देखाएको परिस्थितिले प्रतिवादी उपरको अभियोग पुष्टि हुने अवस्था निःसन्देहात्मक रुपमा देखापर्दछ भने अदालतमा प्रमाणको रुपमा पेश गरिएको व्यक्तिले प्रतिकूल भनाई राखे पनि फौजदारी न्यायको उद्देश्यलाई अनदेखा गरी निर्णय गरिन नहुने ।

(प्रकरण नं.६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३, ८(१), (२), (४), ६(२), ८(५)

§  अ.वं. १९०

फैसला

न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम पुनरावेदन अदालत इलामको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्नबमोजिम छः

मिति २०५३।५।२९ गते घरबाट छोरी चन्द्रकला चम्लागाई र गंगादेवी चम्लागाई फिदिम बजार आएका रहेछन् । घर फर्की नगई हराई वेपत्ता भएका हुँदा खोजतलासको लागि हुलिया परिपत्र गरिपाऊँ भन्ने समेत व्यहोराको २०५३।६।१० को टंकप्रसाद चौंलागाइले दिएको निवेदन ।

मिति २०५३।५।२९ गते घरबाट फिदिम बजारमा लाग्ने शनिवारे हटियामा किनमेल गर्न गएका छोरी वर्ष १८ की चन्द्रकला चम्लागाई र वर्ष ८ की गंगादेवी चम्लागाई घर फर्की नआई हराई वेपत्ता भएका हुँदा खोजतलासको लागि हुलिया निवेदन समेत गरी खोजतलास गर्दै रहेका अवस्थामा भारतको बम्बईबाट शंकर थापा नाम गरेको मानिसले छोरीहरू बम्बईमा नराम्रो ठाउँमा फसेका छन् भनी श्रीमान्को नाममा २ वटा पत्र पठाएपछि छोरीहरू बम्बईमा भएका कुरा थाहा भयो । के कसरी बम्बईमा पुगे भनी बुझ्दा फिदिम बजारस्थित पाण्डे भिडियो हल मालिकको छोरा खेमराज पाण्डेले छोरी चन्द्रकला र गंगादेवीलाई फिदिमबाट गाडी चढाई लगी भारतको बम्बई पुर्‍याई वेश्यालयमा विक्री गरी आएको छ भन्ने वुझिएको हुँदा भाइ निमप्रसाद रिमालले ओमनाथ वजगाईलाई साथ लिई भारतको बम्बईमा गई पुलिससँग सम्पर्क गरी छोरीहरूको खोजतलास गर्दा वर्ष ८ की गंगादेवीलाई फेला पारी छोरी चन्द्रकला तत्काल फेला नपरेकी हुँदा गंगादेवीलाई लिई आएका हुँदा छोरी गंगादेवीसँग बुझ्दा पनि फिदिम शनिवारे बजारको भन्दा मुनी घरमा फिल्म देखाउने पाण्डेको छोरा र कालो चश्मा लगाउने उसको साथी समेतले दिदी र मलाई गाडी चढाई लगेको भनेकी हुँदा छोरीहरूलाई बम्बई पुर्‍याई विक्री गरेको रहेछ भन्ने स्पष्ट भएकोले पाण्डे भिडियो हल मालिकको छोरा निज खेमराज पाण्डेलाई पक्राउ गरी को को भई के कुन प्रकारले भारतको बम्बई पुर्‍याई विक्री गरेका हुन्, निजबाटै खुलाई कानूनबमोजिम कारवाही गरी पाउन बम्बईबाट आएका चिठ्ठीहरू र पीडित समेतलाई दाखेल गरेको छु भन्ने समेत व्यहोराको कमला देवी चौंलागाईको २०५३।९।१६ को जाहेरी दरखास्त ।

मिति २०५३।५।२९ गते घरबाट दिदी र म फिदिम शनिवारे हटियामा गएका थियौँ । हटिया पुगी सीता राईको दोकानमा झोला राखी दिदी र सीता राईले बजारबाट काँक्रो लिई आएकाले काक्रो खाई बजार घुम्दै थियौं, पाण्डेको छोराले फिलिम हेर्न जाऔं भन्दै दिदी र मलाई उसको भिडियो हलमा लगी फिल्म देखाउने ठाउँमा पसायो र बाहिरबाट ढोका थुनी दियो । झोला लिन जान पनि दिएन । त्यतिकै बस्दा बस्दै रात पर्‍यो । रातभर त्यही बस्यौं, म दिदीको काखमा निदाएँ, त्यसपछिं केही थाहा भएन । भोलिपल्ट विहान गाडीमा जानु पर्छ भन्दै पाण्डेको छोरा र उसको साथी गाडी चोकतिर लागे, दिदी र म शनिवारे हटिया छेउ पुगेका थियौं, गाडी आयो, गाडी रोकेर कान्छी दोकानसम्म पुर्‍याई दिने आउ भनेर बोलाई गाडी चढ्न लगायो । साम्दीन छेउमा पुग्दा पाण्डेको छोराले दिदीलाई चक्लेट जस्तो मिठाई खान लगायो । त्यसपछि दिदी बोल्न छाड्नु भयो । बहुलाए जस्तो हुनु भयो । साम्दीन मास्तिर पुग्दा बुबा आउँदै हुनुहुन्थ्यो, मैले बुबालाई बोलाउँ भनेपछि पाण्डेको छोराले मेरो मुख थुनी दियो । त्यहाँ भन्दा माथि जंगलमा पुगेपछि पाण्डेको छोराले आफ्नो झोलाबाट दिदीको झोला निकाली गाडीबाटै फाली दियो, गाडी कहीं रोकिएन । घाम नअस्ताउँदै गाडीबाट ओराल्यो । कुन ठाउँ हो थाहा भएन । त्यस दिन त्यहीं बस्यौं । भोलिपल्ट विहान पाण्डेको छोरा उसको साथी, दिदी र म अर्को गाडीमा चढी गयौं, विर्तामोड भन्थे, गाडीबाट ओर्लदा दिदी माते जस्तो भई लड्ने हुरिने भएको थिईन ।  त्यहाँबाट पाण्डेको छोरा र उसको साथीले अर्क गाडीमा जानु पर्छ भन्दै एउटा घरको कोठामा राखे। सबै जना एउटै कोठामा बस्यौं । भोलिपल्ट गाडी चढाई लगे २, ३ ठाउँमा चढ्दै ओर्लदै गयौं, कहाँ पुग्यो थाहा भएन । एकै पटक बम्बई आई पुग्यौं, ओर्लनु पर्छ भन्दा मात्र बम्बई पुगिएछ भन्ने थाहा भयो । गाडीबाट ओर्ली एकछिन हिड्दै गयौं ।बाटोमा उभिदै गर भन्दै दिदीलाई मात्र लगे, केहीवेर पछि पाण्डेको छोराको साथी आई मलाई एउटा घरमा पुर्‍याई छाडी गयो । दिदी कता जानु भयो थाहा भएन । एक पटक मात्र भेट्न लगि दिए । बोल्न दिदैनथे, कुटिहाल्थे । मलाई घर बढार्ने, चुलो लिप्ने, पोत्ने, थाल बटुका माझ्ने काम लगाउथे, दिदी र म बसेको ठाउँ रण्डी वेश्या बसेको ठाउँ अरे भन्थे, पछि मामाहरू गएर मलाई ल्याउनु भएको हो भन्ने समेत व्यहोराको पीडित गंगादेवी चम्लागाईको अदालतबाट प्रमाणित भएको बयान ।

मिति २०५३।५।२९ गते चन्द्रकला चम्लागाई र उसको बहिनी गंगादेवी बजार आएका थिए। मेरो घरमा आई झोला राखी काक्रो खाई बजार घुम्न गएका हुन् । त्यसपछि कहाँ गए थाहा भएन, झोला लिन आएको कुरा थाहा भएन । कसले लग्यो झोला थिएन । भोलिपल्ट २०५३।५।३० गते विहान शनिवारे हटिया छेउ मेची राजमार्गको डिलमा माटो खन्न जाँदा चन्द्रकला र उनकी बहिनी बाँसझाङ छेउ राजमार्गबाटोमा उभिइरहेका थिए । कान्छी दोकानसम्म गाडीमा जाने, त्यहाँबाट हिंड्ने भनिन् ।  हप्ता दिन पछि चन्द्रकलाको बाबु छोरीहरू हराए भन्दै खोज्न आउँदा मात्र हराएको कुरा थाहाभयो । २०५३ साल मंसिर महिनामा चन्द्रकला र गंगादेवी बम्बई पुगेका छ्न अरे, बम्बईबाट चिठ्ठि आएको छ अरे भन्ने सुनेको हुँ । बम्बईबाट चिठ्ठी आएपछि निजका अविभावकहरू गई गंगादेवीलाई फेला पारी ल्याएछन् । त्यसपछि निजले पाण्डेको छोरा खेमराज पाण्डे र उसको साथीले हामीलाई बम्बई पुर्‍याई बेचेका हुन् भनी बयान गर्दा मात्र खेमराज पाण्डे समेतले बेचेको रहेछ भन्ने थाहा भयो । पीडित चन्द्रकलासँग खेमराज पाण्डेको पूर्व चिनजान भएको हुनुपर्छ भन्ने समेत व्यहोराको सीता राईको प्रहरीमा भएको कागज।

२०५१ साल माघ महिना देखि चन्द्रकला चम्लागाईसँग मेरो चिनजान भएको थियो । मिति २०५३।५।२९ गते निज चन्द्रकला र उनको बहिनी गंगादेवी फिदिम बजार आएका  रहेछन्। बजारमा भेट भयो । फिल्म हेर्न जाऔं भनी फिलिम चली रहेकै अवस्था फिल्म हलमा ल्याई फिल्म देखाई त्यही फिल्म छुटेपछि हलमा थुनी राखी राति ७ बजे देखि ९ बजेसम्मको फिल्म सकिएपछि त्यहीं हलमा राखी खाना खाएर आई निदाएकी बहिनीलाई वेन्चमा सुताई निज चन्द्रकलासँग यौन सम्पर्क गरें । रातभर सँगै सुत्यौं । विहानीपख चन्द्रकला आफू गर्भिणी हुन्छु होला, म तपाईलाई छाड्दिन विवाह गर्नुपर्छ भनिन्, सम्झाउँदा मानिनन् । मैले विवाह गर्ने उद्देश्यले यौन सम्पर्क राखेको होइन । त्यसकारण मैले हाम्रो भिडियो हलमा फिल्मको रिल लिई आउने इलाम पशुपतीनगर फाटक डेरा गरी बस्ने अनूप योञ्जन तामाङलाई राति एउटा केटी राखेको, छाड्दिन भन्छिन् के गरौ भनी सुनाएँ । निजले म ठीक गरी दिउँला भनी शवासन  दिए । निजले बुबालाई सुनाएछन् । त्यसपछि बुबाले मलाई गाली गर्दै अनूप योञ्जनलाई जसरी भएपनि केटीलाई छोराबाट छुटाई दिनु पर्‍यो भन्नुभयो । अनूप योञ्जनले मसँग मात्र केटी मान्दिन, छोरालाई साथ दिई विर्तामोडसम्म पुर्‍याई दिनुहोस्, बम्बई पुर्‍याई वेची दिन्छु, पैसा पनि हुन्छ, समस्या पनि समाधान हुन्छ भनी भन्नुभयो । बुबाले पनि अनूप अङ्कलसँग केटी लिई जाने र बिक्री गराई आउने भनी बुबा वद्रीप्रसाद पाण्डे, अनूप योञ्जन र म समेतले केटीहरू बिक्री गर्ने योजना बनाई २०५३।५।३० गते विहान फिदिमबाट इलाम सडक अफिसको गाडी चढाई इलाम विर्तामोडसम्म जाने म तिमीलाई विवाह नै गर्छु भनी फकाई केटीहरूलाई गाडी चढाए पछि साम्दिन छेउमा पुग्दा अनूप योञ्जनले एउटा चकलेट खान दिनुहोस् भनी दिए, मैले  चन्द्रकलालाई खाउ खाउ भन्दै खान लगाएँ । साम्दिन मास्तीर पुग्दा चन्द्रकलाको बाबु आउँदै रहेछन् । गंगादेवीले बुबा भनी कराईन्, मैले मुख थुनी दिएँ, गाडी सरासर गयो, इलाम पुगी ओर्लियौं र एउटा लजमा बस्यौं । राति अनूप योञ्जन र मैले पालैपालो चन्द्रकलासँग यौन सम्पर्क राख्यौं । भोलिपल्ट इलामबाट विर्तामोड गई वस्यौं । सो रात पनि चन्द्रकलालाई अनूप र मैले पालैपालो यौन सम्पर्क गर्‍यौं । त्यसको भोलिपल्ट अनूप योञ्जनलाई बम्बई लगी बेची आउनु, हिसाव किताव पछि गरौंला भनी काकडभिट्टातर्फ पठाई म विर्तामोडबाट फर्किए । योजना बनाई पीडित चन्द्रकला र गंगादेवीलाई भारतको बम्बई पुर्‍याई बेचेको हो भन्ने समेत व्यहोराको पक्राउ परेको अभियुक्त खेमराज पाण्डेको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान ।

भारतको बम्बईमा शंकर थापा नाम गरेको मानिसले टंकप्रसाद चम्लागाईलाई तपाईका छोरीहरू यहाँ नराम्रो ठाउँमा फसेका छन् भनी चिठ्ठी लेखी पठाएका रहेछन्, चिठ्ठीको ठेगानामा गई छोरीहरूको खोजतलास गरी फेला परे ल्याईदिनु भनी जाहेरबालीले भन्दा हामीहरू वम्बई गई चिठ्ठी लेख्ने शंकर थापालाई भेटी निजले त्यहाँको पुलिस समेतको सहयोग लिई खोजतलास गर्दा जाहेरवालाका छोरीहरूमध्ये गंगादेवीलाई फेला पारी त्यहाँको पुलिसले हामीहरूलाई जिम्मा दिए । चन्द्रकलाको पनि हुलिया विवरण दिएका छौं । शायद फेला पर्छिन होला । गंगादेवीलाई भारतको बम्बईबाट लिई आएका हौं । निजले पाण्डेको छोरा र उसको साथी कालो चश्मा लगाउने मानिस समेतले दिदी र मलाई बम्बई पुर्‍याई बेचेका हुन् भनेको र पक्राउ परेको अभियुक्त खेमराज पाण्डेले पनि आफ्नो बाबु वद्री प्रसाद पाण्डे र निजकै भिडियो हलमा फिल्म ल्याउने अनूप योञ्जन समेतले केटीहरू बिक्री गर्ने योजना बनाई चन्द्रकला र निजको बहिनीलाई भारतको बम्बईमा लगी बेचेको हो भनी साविती बयान समेत गरेका हुँदा निजहरूले नै पीडित चन्द्रकला र गंगादेवीलाई बिक्री गरेका हुन् भन्ने समेत ब्यहोराको निमप्रसाद रिमाल र ओमनाथ बजगाईको प्रहरीमा भएको कागज ।

मिति २०५३।५।२९ गते घरबाट फिदिम बजार आएका छोरी चन्द्रकला र गंगादेवी हराई वेपत्ता भएका हुँदा खोजतलासको लागि हुलिया निवेदन गरी खोजतलास गर्दै रहेको अवस्थामा भारतको बम्बईबाट  शंकर थापा नाम गरेको मानिसले छोरीहरू बम्बईमा नराम्रो ठाउँमा फसेका छन् भनी चिठ्ठी लेखी पठाएपछि साला निमप्रसाद रिमाल र ओमनाथ बजगाई समेतलाई बम्बई पठाई छोरीहरूको खोज तलास गराउँदा छोरी गंगादेवीलाई फेला पारी ल्याईदिए, चन्द्रकला पनि छिट्टै आउँछिन भन्दै आएका छन् । गंगादेवीले पाण्डेको छोरा र उसैको साथीले दिदी र मलाई बम्बई लगी बेचेका हुन् भनी भनेको र पक्राउ परेको अभियुक्तले बाबु वद्रीप्रसाद पाण्डे अनूप योञ्जन र म समेतले बिक्री गर्ने योजना बनाई बम्बई पुर्‍याई बेचेका हौं भनी साविती समेत भइसकेको हुँदा निजहरूले छोरी चन्द्रकला र गंगादेवीलाई बेचेका हुन् । बिक्री गर्नुपर्ने कारण थाहा भएन भन्ने समेत ब्यहोराको टंकप्रसाद चम्लागाईको प्रहरीमा भएको कागज ।

मिति २०५३।५।२९ गते पूर्वाञ्चल डिभिजन सडक कार्यालय इलामको वा.अ.झ. २५८६ नं. को गाडी फिदिम आई फर्कदा शनिवार हटिया छेउबाट फिदिम बजार स्थित पाण्डे भिडियो हल मालिक वद्रीप्रसाद पाण्डेको छोरा खेमराज पाण्डे र उसको साथी गाडी चढे । त्यहाँबाट केही पर बन कार्यालय मुनीडाँडामा पुग्दा खेमराज पाण्डेले चिनेका वहिनीहरू हुन्, इलाम बस्छन् लगी दिऔं भनी गाडी रोकी मागेर एउटा ठूली अर्को सानी २ केटीहरू हामीहरू चढी गएको गाडीमा इलामसम्म चढी गएका हुन् । कहाँ गए के भए थाहा भएन भन्ने समेत ब्यहोराको महेश्वरलाल श्रेष्ठ, हितबहादुर कार्की, गोपाल प्रकाश ओझा र गोबिनदप्रसाद दाहाल समेतले गरी दिएको करिव एकै मिलानको कागज ।

मिति २०५३।५।२९ गते चन्द्रकला चम्लागाई र उनको बहिनी गंगादेवी चम्लागाई फिदिम बजारमा लाग्ने शनिवार हटियामा आएका रहेछन् भेट भयो, सँगै घर फर्कने कुरा गरी बजारमा किनमेल गर्न लागे । किनमेल सकि घर फर्कन लाग्दा चन्द्रकला र गंगादेवी पाण्डे भिडियो हल मालिकको छोरा खेमराज पाण्डेसँग भिडियो हल तिर जाँदै थिए । म घर गएँ । उनीहरू हराएको कुरा १५/१६ दिन पछि मात्र थाहा पाएँ । खोजतलास भइरहेको अवस्थामा बम्बईबाट शंकर थापा नाम गरेको मानिसले चिठ्ठी लेखी पठाएपछि चन्द्रकलाका मामाहरू गई खोजतलास गर्दा गंगादेवीलाई फेला पारी ल्याएका र निज गंगादेवीले पाण्डेको छोरा खेमराज पाण्डे र उसको साथी कालो चश्मा लगाउने मानिसले दिदी र मलाई बम्बई लगी वेचेका हुन् भनेकी र पक्राउ परेको अभियुक्त खेमराज पाण्डेले बाबु वद्रीप्रसाद पाण्डे, अनूप योञ्जन र म समेतले बिक्री गर्ने योजना बनाई चन्द्रकला र गंगादेवीलाई बम्बई पुर्‍याई बेचेको हो भनी साविती भइसकेको हुँदा निजहरूले नै बेचेका रहेछन् भन्ने समेत व्यहोराको चित्रकला पाण्डेको कागज ।

अभियुक्त खेमराज पाण्डेको साविती बयान, पीडित गंगादेवीको कागज, जाहेरी दरखास्त, बम्बईबाट प्राप्त भएका चिठ्ठीहरू तथा मिसिल संलग्न फोटो र अनुसन्धानको क्रममा वुझिएका व्यक्तिहरूको भनाई समेतको आधार प्रमाणहरूबाट पीडित चन्द्रकला र गंगादेवीलाई भारतको बम्बई लगी वेची अभियुक्तमध्ये अनूप योञ्जन र खेमराज पाण्डेले जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ विपरीतको अपराध कसूर गरेको प्रष्ट हुन आएकोले निज अनूप योञ्जन र खेमराज पाण्डेलाई सोही ऐनको दफा ८(१) अनुसार हदैसम्मको सजाय तथा कारवाही हुन र प्रतिवादीमध्येका वद्रीप्रसाद पाण्डेले पीडितहरूलाई विक्री गर्न लैजानमा प्रतिवादी अनूप योञ्जन र खेमराज पाण्डेलाई प्रोत्साहन दिई परिपञ्च मिलाई सहयोग गरेको प्रष्ट भएकोले निज प्रतिवादी वद्रीप्रसाद पाण्डेलाई सोही ऐनको दफा ८(४) अनुसारको सजाय तथा कारवाही हुन माग दावी लिंदै अभियुक्त खेमराज पाण्डे सक्कल मिसिल यसै साथ प्रस्तुत गरिएको, फरार रहेका अनूप योञ्जन र वद्रीप्रसाद पाण्डेलाई सम्मानित अदालतबाट कानूनबमोजिम हुन र पीडित मध्येको चन्द्रकला चौंलागाई फिर्ता भै आएमा उसै बखत सम्मानित अदालतबाट बुझि पाउन समेत सादर अनुरोध छ भन्ने मिति २०५३।१०।१३ को अभियोग माग दावी ।

पीडित भनिएकी चन्द्रकला चम्लागाई र गंगादेवी चम्लागाईसँग मेरो चिनजान छैन, उक्त मिति २०५३।५।२९ गतेका दिन आफ्नो घर फिदिम मै थिएँ । सो दिन पीडित चन्द्रकला समेतसँग मेरो भेटघाट भएन । पीडित चन्द्रकला समेतलाई म समेत भै भारतको बम्बईमा लगी बिक्री गरेको होइन । पीडितहरूलाई अनूप योञ्जनले बम्बईमा लगी बिक्री गरेका हुन् । मिति २०५३।५।३० गतेका दिन म आफ्नो कामले फिदिमबाट सडक विभागको गाडीमा चढी इलाम तर्फ गएको हुँ । सडक विभागको डि.ई. साहेव र अनूप योञ्जन, पीडित चन्द्रकला र गंगादेवी पनि सोही गाडीमा थिए । जम्मा सो गाडिमा ९/१० जना जति   थियौँ । २०५३।५।३० गते फिदिमबाट इलाम पुगी बसे । सोको भोलिपल्ट २०५३।५।३१ गते इलामबाट विर्तामोड पुगी बसें । विर्तामोडबाट ३ दिन पछि मात्र घर फर्की आएको हुँ । इलामबाट विर्तामोड जाँदा म एक्लै गएको हुँ । अरु कोही पनि थिएनन् । मैले शनिवारे हटियाबाट पीडित चन्द्रकला र गंगादेवीलाई घरमा लगी भिडियो देखाएको पनि होइन, रातभर घरमा राखेको पनि होइन । मैले अभियोग माग दावी अनुसार पीडित चन्द्रकला समेतलाई भिडियो देखाएको र बम्बईमा लगी विक्री गरी कसूर गरेको होइन । प्रहरीमा भएको मेरो बयान व्यहोरा मैले भनेर लेखाएको होइन । प्रहरीमा मैले नभनेको कुरा आफैंले लेखी मलाई पढी वाँची नसुनाई जबरजस्ती सहिछाप गर्न लगाएका मात्र हुन् । म निर्दष हुँदा मलाई अभियोग माग दावी अनुसार सजाय हुनुपर्ने   होइन । म निर्दोष छु । साक्षी बुझी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी खेमराज पाण्डेले अदालतमा गरेको बयान ।

चन्द्रकला चौलागाईलाई प्रहरी प्रधान कार्यालयमार्फत् बम्बईबाट २०५४।१।४ मा नेपाल आई प्रहरी प्रधान कार्यालयले बुझाएको हुँदा उपस्थित गराएको छु भन्ने जाहेरवाला कमलादेवीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको निवेदन ।

मिति २०५३।५।२९ गतेका दिन घर नवमीडाँडाबाट तिजको लागि सामान किन्न भनी म र मेरो बहिनी वर्ष ८ की गंगादेवी चम्लागाई फिदिम बजारमा आएका हौं । बजारमा सीता राईसँग भेट भएर सीता राई मेरो साथी र राम्रो चिनजानको हुँदा निजको घरमा बहिनी र म गयौं । सीता राईको घरमा जाँदा फिदिम गा.वि.स. वडा नं. १ बस्ने खेमराज पाण्डे, निजको काका विजय पाण्डे र मैले नचिनेका एकजना मानिस गरी जम्मा ३ जनासँग सीता राईको घरमा भेट भएको हो । त्यस पछि सीता राईले काँक्रो काटिन, सवैले खायौं । त्यसपछि मैले वहिनीहरू समेतलाई घरमा चाहिने सामान बजारमा किनेर घर जान लाग्दा खेमराज पाण्डेलेबाटो छेकी आज मेरै घरमा बस्नु पर्दछ, भिडियो हेर्नु पर्दछ भनेर भन्दा भिडियो हेर्न र राति भई घर जान नसक्ने अवस्था भएमा साथी सीता राईको घरमा वास वस्ने र भोलिपल्ट घर जाने उद्देश्यले भिडियो हलमा गयौं । भिडियो हलसम्म सीता राई पनि गएकी थिईन् । हलमा पुगेपछि मलाई टाउको दुखेको छ तिमीहरू हेर,  म हेर्दिन भनी सीताराई घर फर्किन र त्यसपछि म, बहिनी गंगा लगायत धेरै मानिसहरूले भिडियो हेरेर भिडियो छुट्दा साँझ परी सकेको र हलबाट सबै मानिसहरू निस्की आआफ्नो घर तिर गए, म र बहिनी गंगालाई खेमराज पाण्डेले हल भित्र ढोका बन्द गरी बाहिर निस्कन नदिंदा सो रात खेमराज पाण्डेकै भिडियो हल भित्रै वास बसेको हो र बास वसेको ठाउँमा राति बहिनी गंगा निदाएपछि निज खेमराज पाण्डेले म तिमीलाई सधैंको लागि विवाह गर्दछु भन्दै अनुचित कार्य समेत गर्‍यो । भोलिपल्ट विहान अं. ४ बजेको समय तिर खेमराज पाण्डेले अव हामी श्रीमान श्रीमती भइसकेका छौं, केही दिन झापा तिर जाउँ, त्यसपछि फिदिम आउनु पर्छ, वहिनीलाई पनि साथमै लानुपर्छ भनेर भन्यो र खेमराज पाण्डेको बाबु वद्री पाण्डेले पनि चन्द्रकला तिमी अब मेरो बुहारी भै सक्यो, मेरो छोरो खेमराजसँग केही दिनको लागि झापा डुल्न जाओ, के कति खर्च लाग्छ म दिन्छु, मेरो छोरो र मेरो सबै सल्लाह भै सकेको छ । झापाबाट आएपछि विवाहको भोज पार्टी पनि खुवाउनु छ, अहिले तिमीहरू झापासम्म डुल्न जाओ भन्यो र त्यसै समयमा बुहारी यो खर्च, तिमीलाई भन्दै वद्री पाण्डेको श्रीमती खेम पाण्डेको आमा र खेमराज पाण्डेको काका वसन्त पाण्डेको श्रीमतीले मलाई १००।दरले रु. २०० दिएका थिए । त्यसपछि अं. ४:३० बजेको समयमा खेमराज पाण्डेले गाडीमा चढेर जानु पर्छ भनी कोठाबाट निस्किएर गयौं । शनिवारे बजार लाग्नेदेखि पर जंगलमा पुगेर बस्यौं र खेमराज पाण्डेले तिमीहरू यहीं वस, म ठीक परेर आउँछु भन्दै घरमा आयो । हामी दिदी बहिनी मात्र रोड नजिक जंगलमा बस्यौं । त्यसको केही वेर पछि सानो गाडी आई रोकियो र खेमराज पाण्डेले बहिनी गंगादेवीलाई वोकेर लग्यो र म हिंडेर गएँ । गाडीमा मैले नचिनेका ३/४ जना अरु मानिसहरू पनि थिए । हामी बसेकै सिटमा १ जना मैले नचिनेको कालो चश्मा लगाउने मानिस पनि थियो । त्यो कालो चश्मा लगाउने मानिस र खेमराज पाण्डे एक आपसमा कुराकानी गर्दै थिए, त्यसपछि हामीहरू गाडीमा वसेर गएका हौं । गाडी केही अगाडि मात्र बढेको थियो, बहिनीलाई टाउको दुख्छ वान्ता आउँछ होला, यो दवाई खान दिउँ भनी गाडीमा बसेको कालो चश्मा लगाउने मानिसले खेमराज पाण्डेलाई दियो र खेमराज पाण्डेले मलाई त्यो सेतो गोली खाउ भनेर दियो । मैले खान्न पनि भने तर खेम पाण्डेले खाउ कि खाउ भन्दा र गाडीमा चढ्दा वान्ता आउने भएकोले त्यो दवाई मैले खाएँ । दवाई खाएको केही वेरपछि साम्दानीसम्म पुगेको मलाई थाहा भयो, त्यहाँ देखि म वेहोस जस्तो भएछु । मलाई कुनै चेत भएन । कति दिनमा कसरी म भारतको बम्बईमा पुगें, मलाई थाहा भएन । भारतको बम्बई पुगेपछि एक्कासी वान्ता भई मलाई होस आयो । त्यसरी  होस आएपछि बुझ्दा म भारतको बम्बईमा आइपुगेको रहेछु भन्ने कुराको जानकारी भयो । खेमराज पाण्डे र कालो चश्मा लगाउने खेमराजको साथी मैले नचिनेका १ जना मानिस समेत भै म र बहिनी गंगादेवीलाई लिई गएका हुँदा निजहरूले नै भारतको बम्बैमा लगी के कतिमा बिक्री गरेका हुन्, थाहा भएन । मलाई बिक्री गरेको ठाउँ बम्बईस्थित वेश्यालय रहेछ । सो ठाउँको मालिक्नीले मलाई वेश्यावृत्ति गर्नुपर्छ भनी दवाव दिईन् । त्यस अवस्थामा एक जना नेपाली महिलालाई मेरो वृतान्त वताएपछि निजले भारतका प्रहरीहरू ७ जना ल्याई मलाई त्यो कोठी वेश्यालयबाट निकाली लगेपछि मलाई टाउको दुख्ने वान्ता आउने विमार लाग्यो, त्यसपछि प्रहरीले नै कस्तुरवाला भन्ने अस्पताल भर्ना गरी निजहरूकै संरक्षणमा उपचार गराएका हुन् । त्यसपछि बहिनी गंगालाई नेपाल ल्याएका रहेछन, पछि मात्र थाहा भयो । हामी बेचिएको स्थान भारतको बम्बईबाट मेरो बहिनी गंगादेवी नेपाल आउन सफल भएपछि बहिनीको बयान अनुसार आमा कमलादेवी चम्लागाईको जाहेरीअनुसार जीउ मास्ने बेच्ने मुद्दा चलेको, सोही मुद्दाको सिलसिलामा मेरो अभिभावक र नेपाल प्रहरी समेत भै भारतीय प्रहरीसँग सम्पर्क राखी भारतीय र नेपाली गरी ५ जना प्रहरीले मलाई नेपालको काठमाडौंसम्म ल्याएका र प्रहरी प्रधान कार्यालय, काठमाडौंबाट मिति २०५४।१।४ गते मेरा अभिभावकलाई जिम्मा लगाई दिएको हुँदा आजै म जाहेरबाली आमा कमला चम्लागाईको साथमा उपस्थित हुन आएको हुँ भनी निज पीडित चन्द्रकला चम्लागाईले मिति २०५४ साल वैशाख ९ गते प्रहरीमा गरेको बयान र सोही बयानमा लेखिएको ब्यहोरा ठीक छ भनी निज पीडित चन्द्रकला चम्लागाईले पाँचथर जिल्ला अदालतमा मिति २०५४।१।९ गते सहिछाप गरी दिई पाँचथर जिल्ला अदालतबाट प्रमाणित भएको बयान जिल्ला सरकारी वकिल कार्यालय पाँचथर मार्फत् २०५४।१।१० मा प्राप्त भै मिसिल सामेल रहेको ।

म २०५३।५।२९ र मिति २०५३।५।३० गते मेरो घरमा छैन । मिति २०५३।५।२७ गते नै एकाघरको श्रीमती टीकादेवी पाण्डे र मेरो औषधी उपचारको लागि जिल्ला झापा अनारमनी गा.वि.स. वडा नं. ५ गरामुनीमा मेरो आफ्नो ठूलोबुबा भानु पाण्डेको छोरा अग्नी पाण्डेकोमा बास बसी गरामुनी स्वास्य केन्द्रमा मिति २०५३।५।२८ गतेदेखि ऐ ३० गतेसम्म मेरो पेट सम्बन्धी पथरिया रोगको उपचार गराई बसेको   छु । सोरोग उपचार हुन सक्दैन, ठूलो अस्पतामा लानुपर्छ भनी मलाई सल्लाह दिए अनुसार भारतको वागडुकुरा मेडिकल कलेजमा मिति १९९६।९।१६ देखि ऐ. १८ गते सम्म सो मेडिकल कलेजमा उपचार गराई आज मिति २०५४।१।२९ गते घरमा आउँदा म्याद तामेल भएको थाहा पाएकोले सो म्यादमा हाजिर भएको हुँ । पिडिता चन्द्रकला चम्लागाई र गंगादेवी चम्लागाईलाई मेरो सल्लाहअनुसार पूर्वाञ्चल डिभिजन सडक कार्यालय १ नं. को गाडी चढाई भारतको बम्बईमा लगी बिक्री गर्न सल्लाह दिएको समेत होइन । म मिति २०५३।५।२७ गते देखि २०५४।१।२८ गते सम्म घरमा नभएको र मिति २०५३।५।२९ र ३० गतेको घटनाक्रमको कुरा मलाई केही थाहा छैन । मैले कुनै किसिमको सल्लाह दिएको छैन । २०५३।५।२९ र ३० गतेका दिन अनूप योञ्जनलाई भेटेको र चिनेको समेत छैन । पीडित चन्द्रकलालाई मेरो भिडियो हलमा ल्याई फिल्म छुटे पछि एउटा काम छ भनी अलमल्याई मेरो छोराले यौन सम्पर्क समेत राखेको थाहा छैन । निज प्रतिवादी खेमराज पाण्डेलाई प्रहरीसमक्ष किन त्यस्तो वयान गराए, निजले मलाई पोल गरेको पनि छैन र म त्यो समयमा घरमा पनि छैन । म घरमा नभएको हुनाले मलाई केही थाहा छैन । मेरो कुनै सहमति छैन । अभियोग माग दावीबमोजिम सजाय नभै सफाइ पाऊँ भन्ने समेत व्यहोराको वद्रीप्रसाद पाण्डेले जारी भएको म्यादमा हाजिर भै पाँचथर जिल्ला अदालतमा २०५४।१।२९ गते गरेको इन्कारी बयान ।

प्रतिवादी अनूप योञ्जनका नाममा जारी भई सार्वजनिक स्थलमा टाँस तामेल भएको ७० दिने म्यादी पुर्जीमा निज प्रतिवादी उपस्थित नभई गुजारी बसेको ।

मलाई र मेरी दिदी चन्द्रकला चम्लागाईलाई प्रतिवादीहरू खेमराज पाण्डे समेतका व्यक्तिहरूले भारतको बम्बईमा लगी बिक्री गरेको होइन भन्ने व्यहोराको पीडित भनिएकी गंगादेवी चम्लागाईले गरेको वकपत्र ।

मलाई प्रतिवादी खेमप्रसाद पाण्डे, वद्रीप्रसाद पाण्डे, अनूप योञ्जन समेतका व्यक्तिहरूले  भारतको बम्बईमा विक्री गर्ने उद्देश्यले लगेको होइन र म गएकी पनि होइन र म माईती घरमा वसेकी थिए भन्ने पीडित भनिएकी चन्द्रकला चम्लागाईले गरेको वकपत्र ।

२०५३।५।३० गते खेमराज पाण्डेलाई दिनको १ बजे भेटी त्यस दिनको राति मेरै घरमा वास वसेका हुन् । २०५३।५।३० गते देखि २०५३।६।२ गतेसम्म प्रतिवादी खेम पाण्डेसँग साथै हुँदा चन्द्रकला र गंगादेवी चम्लागाईलाई निज समेतले भारतको बम्बईमा लगी बिक्री गरेको होइन भन्ने व्यहोराको प्रतिवादी खेमराज पाण्डेको साक्षी निरोज खड्गीको वकपत्र ।

२०५३।५।२७ गते प्रतिवादी वद्रीप्रसाद पाण्डे फिदिम देखि मेरो घरमा आएका थिए । उक्त २७ गते बेलुका विरामी भै आएकोले राति १० बजे निजलाई लिएर अनारमुनी स्वास्थ्य चौकीमा गएका थियौँ । निको नभएको हुनाले भोलिपल्ट २८ गते सोही ठाउँमा भर्ना गरी ३० गतेसम्म उपचार गराई त्यहाँ उपचार हुन नसकेर ऐ. ३१ गते भारतको मेडिकल कलेज वागडुग्रामा उपचार गराउन लगियो । २०५३।६।२ गते डिस्चार्ज गरी दवाई समेत किनिदिएर हामी ओमप्रसाद र म आफ्नो घरतर्फ लाग्यौं । प्रतिवादी वद्री पाण्डे कता गए थाहा भएन । निज समेतले पीडिताहरूलाई विक्री गरेको होइन भन्ने व्यहोराको प्रतिवादी वद्रीप्रसाद पाण्डेका साक्षी अग्नीप्रसाद पाण्डेले गरेको वकपत्र ।

२०५३।५।३१ गतेका दिन अग्नी पाण्डेको घरमा जाँदा प्रतिवादी वद्रीप्रसाद पाण्डे निजैको घरमा विरामी भै बस्नु भएको रहेछ । अग्नी पाण्डेले २०५३।५।२७ गते देखि ३० गते सम्म मेरो घरमा बसेका र भारतको बागडुकुरा मेडिकल कलेजमा लानु पर्ने भयो, लैजाऊँ भनी म र अग्नी पाण्डे समेत भै वद्रीप्रसाद पाण्डेलाई २०५३।५।३१ गते बेलुका ३/४ बजे उक्त अस्पतालमा भर्ना गराएका हौं । निजलाई २०५३।६।२ गतेसम्म उपचार गराई विर्तामोडमा ल्याएका हौं र वहाँलाई त्यही छाडी हामी आफ्नो घरमा गएका हौं । निज समेत भै पीडितहरूलाई विक्री गरेको होइन भन्ने प्रतिवादी वद्रीप्रसाद पाण्डेका साक्षी ओम प्रसार्इंले गरेको वकपत्र ।

२०५३।५।३१ गते मैले निरोज खड्गी र प्रतिवादी खेम पाण्डेलाई भेटेर मेरो घर शनिश्चरे तर्फ लगें । भोलिपल्ट विर्तामोड आई ४ वटा हिन्दी भिडियो क्यासेट किनी निजहरूलाई मेरै घरमा लगी २०५३।६।२ गते निजहरू इलाम जान्छौ भनी दुवै जना जानुभयो । २०५३।५।३१ देखि २ गतेसम्म प्रतिवादी खेमराज पाण्डे मेरो सँगसाथमा रहेकोले निजले जीउ मास्ने वेच्ने काम गरेको छैन भन्ने व्यहोराको प्रतिवादी खेमराज पाण्डेको साक्षी वेद प्रसाईले गरेको वकपत्र ।

२०५३।९।२ मा म आफ्नो विद्यालयमा रही अध्यापन कार्य गरी रहेको साथै पीडिता गंगादेवीलाई पुर्‍याएको मिति २०५३।९।१५ मा पनि कहीं गएको छैन । २०५३।९।२ देखि २०५३।९।१५ सम्म आफ्नै विद्यालयमा रहेको छु । म बम्बई गई निमप्रसाद रिमाल समेत भै पीडित गंगादेवीलाई हवाई जहाजबाट काठमाडौं हुँदै ल्याएको होइन भन्ने अ.वं. १३९ नं. बमोजिम वुझिएका ओमनाथ वजगाईले गरेको बयान ।

२०५३।५।२९ गते प्रतिवादी खेम पाण्डे र वद्री पाण्डेले मेरो छोरी चन्द्रकला र गंगादेवी चौलागाईलाई बम्बईमा लगी विक्री गरेका हुन् । अरुको सहमति छ, छैन मलाई थाहा छैन । जाहेरी व्यहोरा मैले भने बमोजिम लेखिएको हो । मेरी सानी छोरी गंगादेवीलाई बम्बईबाट काठमाडौंसम्म दीपक प्रकाश वास्कोटाले ल्याएका हुन् । काठमाडौँ देखि निमप्रसाद रिमाल र होमप्रसाद वजगाईं समेत भै मेरी छोरीलाई फिदिममा ल्याई जि.प्र. का पाँचथरमा जिम्मा दिएको हो । चन्द्रकलालाई बम्बईबाट २०५४ साल वैशाख ४ गते यादव उप्रेती नाम गरेका प्रहरी कर्मचारीले ल्याइदिएका हुन् । २०५४।१।५ गते म समेत भै छोरी चन्द्रकलालाई फिदिममा २०५४।१।६ गते ल्याई जि.प्र.का. पाँचथरमा जिम्मा दिएका हौं । ल्याउनेमा म समेतका ५ जना थियौँ । खेमराज पाण्डेको वद्रीप्रसाद पाण्डेको बयान झुठ्ठा हो । मेरा छोरीहरूले गरको वकपत्र झूठा हो । ओमनाथको वकपत्र झुठ्ठा हो । निज ओमनाथ काठमाडौंसम्म मात्र गएका हुन् । काठमाडौंसम्म मेरो छोरीलाई दीपक वास्कोटाले इन्टरपोलको सहयोगमा ल्याई दिएका हुन् । मैले दिएको जाहेरीको व्यहोरा र पीडितहरूले प्रहरी समक्ष गरेको कागजको व्यहोरा ठीकै छ भन्ने व्यहोराको जाहेरवाला कमला देवी चम्लागाईले गरेको बकपत्र ।

पीडित चन्द्रकला चौलागाइ नावालिका गंगादेवीले आफ्नो बुबा जाहेरवाला कमला देवीको पति टंकप्रसाद चौलागार्इंको रोहवरमा यी प्रतिवादीहरूले कसूर गरेको र आफू समेत बेचिएको कुरा पूर्ण रुपले इन्कार गरी वकपत्र गरी दिएबाट प्रतिवादीहरू उपरको अभियोग दावी पुग्न नसक्ने हुँदा प्रतिवादी खेमराज पाण्डे र वद्रीप्रसाद पाण्डेले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी अनूप योञ्जन फरार रहेको हुँदा निजको हकमा अ.वं. १९० बमोजिम मुल्तवी राखी दिने ठहर्छ भन्ने समेत पाँचथर जिल्ला अदालतबाट २०५६।८।१९ मा भएको फैसला ।

प्रतिवादी खेमराज पाण्डेले आफ्नो भिडियो हलमा पीडिता चन्द्रकला र गंगादेवीलाई लगी रातभरी राखी चन्द्रकलालाई करणी गरी विवाह गर्नुहोस् भन्दा प्रतिवादी खेमराज पाण्डे, वद्रीप्रसाद पाण्डे र अनूप योञ्जनले आपसमा सल्लाह गरी वद्रीप्रसाद पाण्डेले प्रतिवादी खेमराज र अनूप योञ्जनको साथ लगाई चन्द्रकला र गंगादेवीलाई भारतमा बिक्री गर्न पठाएको र विक्री गरेको देखिँदा देखिंदै सो तथ्यलाई प्रमाणमा नलिई प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाइ दिने ठहराई भएको पाँचथर जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट पुनरावेदन अदालत इलाममा पर्न आएको पुनरावेदन पत्र ।

चन्द्रकला र गंगा चम्लागाईसँग विर्तामोडसम्म आफू साथै गएको भनी प्रतिवादी खेमराज पाण्डेले अदालतमा गरेको बयान तथा निज चन्द्रकला र गंगा चम्लागाईको जीउ मास्ने वेच्ने (नियन्त्रण) ऐन, २०३३ को दफा ६ बमोजिमको प्रमाणित बयान समेतलाई मूल्याङ्कन नै नगरी प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको पाँचथर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलका लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत इलामबाट मिति २०५७।१।२० मा भएको आदेश ।

प्रतिवादीमध्येका खेमराज पाण्डेले पीडित चन्द्रकला र गंगादेवीलाई बिक्री गर्ने उद्देश्यले प्रतिवादीमध्येका अनूप योञ्जन साथ लागी भारततर्फ लैजान इलाम विर्तामोडसम्म गएको भन्ने पुष्टि भएको र बेचविखन गर्ने उद्देश्यले लगेको होइन भन्ने कुराको प्रमाण यी प्रतिवादीले पुर्‍याउन सकेको देखिन नआएकोले निज खेमराज पाण्डेले पीडितहरूलाई बेचविखन गर्ने उद्देश्यले विदेश लैजाने कार्य गरी जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को देहाय (ख) बमोजिम कसूर गरेको देखिँदा निजलाई सोही ऐनको दफा ८(२) बमोजिम पाँच वर्ष कैद हुने ठहर्छ। निजलाई सफाइ दिने गरेको शुरु पाँचथर जिल्ला अदालतको फैसला उल्टी हुन्छ । प्रतिवादी वद्रीप्रसाद पाण्डेका सम्बन्धमा शुरुले लिएको आधार प्रमाण समेतबाट निजलाई सफाइ दिने गरी पाँचथर जिल्ला अदालतले गरेको फैसला सदर नै कायम रहने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको २०५८।७।२२ को फैसला ।

प्रतिवादी खेमराज पाण्डेले पीडित मध्येकी चन्द्रकलासँग यौन सम्पर्क गरेपछि निज चन्द्रकलाले तपाईंलाई छाड्दिन भने पछि यी पीडितहरूलाई नवेची भएन भनी अनूप योञ्जनसँग सोही रात छलफल भई आफ्नो बाबु वद्रीप्रसाद पाण्डेसँग समेत सरसल्लाह सहमति भई वेच्न लगी भारतमा बिक्री गरेको देखिँदा यी प्रतिवादी खेमराज पाण्डेलाई दावी भन्दा कम सजाय गरेको फैसला मिलेको छैन । प्रतिवादी वद्रीप्रसाद पाण्डे लामो समय पछि उपस्थित भई कसूरमा इन्कारी हुनुले मात्र प्रमाणको रुप धारण गर्दैन । पाँचथरबाट झापा आई विर्तामोड स्थित ठूला नर्सिङ्ग होमहरू, मेची अञ्चल अस्पताल जस्ता साधन सम्पन्न अस्पताल हुँदाहुँदै स्वास्थ्य चौकीमा उपचार गराएको भनी लिएको जिकीर र पेश गरेका किर्ते प्रमाणहरू अपराधबाट उम्कनको लागि तयार गरेका हुन् भन्ने प्रष्टै छ । पीडितहरूको मौकाको प्रमाणित बयानमा प्रतिवादी वद्रीप्रसादले बुहारी भयौं, झापा घुमेर आउनु, के कति खर्च लाग्छ म दिन्छु, झापाबाट आएपछि विवाहको भोज पार्टी पनि गर्नु छ भनी रु. २००।दिन लगाई पीडितलाई भारतको बम्बईसम्म पुर्‍याई विक्री गर्ने गराउने कार्यमा परिपञ्च पुर्‍याएको, प्रतिवादीहरू खेमराज र अनूपलाई दुरुत्साहन गरेको प्रष्ट रुपमा देखिएको अवस्थामा यी प्रतिवादीलाई शुरु दावीबमोजिम सजाय हुनु पर्नेमा सो बमोजिम सजाय नगरी प्रत्यक्ष रुपमा परिपञ्च मिलाएको र प्रोत्साहन दिएको नदेखिएको भनी काल्पनिक आधार ग्रहण गरी भएको फैसला कानून तथा न्यायको रोहबाट मिलेको नहुँदा पुनरावेदन अदालत इलामले प्रतिवादी खेमराज पाण्डेलाई माग दावी भन्दा घटी सजाय हुने गरी र प्रतिवादी वद्रीप्रसाद पाण्डेलाई पूर्ण सफाइ दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट २०५८।१२।२८ मा यस अदालतमा दर्ता भएको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी खेमराज पाण्डेले अदालतसमक्ष बयान गर्दा स.ज. ८ मा पीडित चन्द्रकला चौलागाईलाई र गंगादेवी चौलागाईलाई चिन्दिन भनी बयान गरेको देखिन्छ । तर  अदालतकै सोही बयानको स.ज. ९, १०, १३ र १६ लगायतका सम्पूर्ण बयान व्यहोराबाट एक आपसमा पूरा चिनजान भएको देखिन्छ । प्रतिवादी खेमराजले पीडितद्वयलाई चिनजान नभएको भए एउटै गाडिमा गएको र ओलिएको र अनूप योञ्जन भन्ने व्यक्तिले विक्री गरेको भनी दोषारोपण गर्ने अवस्था देखिदैन । यसका साथै जाहेरबाली कमला देवीको वकपत्र तथा अदालतमा पीडितद्वयको प्रमाणित बयान समेतबाट प्रतिवादीहरूको कसूर प्रमाणित भएको देखिएको स्थितिमा पुनरावेदन अदालत इलामले प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरेको इन्साफ फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६४।१।१६ को आदेश ।

प्रतिवादी खेमराज पाण्डे र वद्री पाण्डे भन्ने वलबहादुर पाण्डेका नाममा जारी भएको म्याद वेपत्ते तामेल भै गोरखापत्रमा सूचना प्रकाशित हुँदा समेत निज प्रतिवादीहरू उपस्थित हुन नआएको ।

नियमबमोजिम पेशी सुचीमा चढी आज यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीर सहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान उपन्यायाधिवक्ता योगराज बरालले प्रतिवादीहरूले पीडितहरूलाई विक्री गरेको भन्ने निजहरूको अदालतमा भएको प्रमाणित बयान, जाहेरवालाको बकपत्र तथा प्रतिवादी खेमराजको मौकाको बयानबाट पुष्टि भएको छ, प्रमाणित बयान अन्यथा भनी प्रतिवादीले पुष्टि गर्न सकेको अवस्था छैन, प्रतिवादी सम्पन्न व्यक्ति भै गरिब परिवारका पीडितलाई प्रलोभनमा पारी वकपत्र गर्न लगाएको भन्ने सहजै अनुमान लगाउन सकिन्छ, प्रतिवादी खेमराजउपर पुनरावेदन अदालतको फैसलाले ५ वर्ष कैद हुने ठहराए उपर पुनरावेदन नगरी बसेबाट सो कुरा पुष्टि हुँदा प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

२.  उपर्युक्त वहस जिकीर एवं मिसिलबाट देखिएको तथ्य समेतलाई मध्यनजर राखी इन्साफ तर्फ विचार गर्दा, प्रतिवादीहरू खेमराज पाण्डे र अनूप योञ्जनले पीडित चन्द्रकला र गंगादेवीलाई भारतको बम्बई लगी बेची जीउ मस्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ विपरीतको अपराध कसूर गरेको प्रष्ट हुन आएकोले निज अनूप योञ्जन र खेमराज पाण्डेलाई सोही ऐनको दफा ८(१) अनुसार हदैसम्मको सजाय तथा कारवाही हुन र प्रतिवादीमध्येका वद्रीप्रसाद पाण्डेले पीडितहरूलाई बिक्री गर्न लैजानमा प्रतिवादी अनूप योञ्जन र खेमराज पाण्डेलाई प्रोत्साहन दिई परिपञ्च मिलाई सहयोग गरेको प्रष्ट भएकोले निज प्रतिवादी वद्रीप्रसाद पाण्डेलाई सोही ऐनको दफा ८(४) अनुसारको सजाय तथा कारवाही हुन माग दावी लिई अभियोगपत्र दायर भएको देखिन्छ । शुरु जिल्ला अदालतले फरार रहेका प्रतिवादी गोपाल योञ्जनको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी राखी यी प्रतिवादीहरू खेमराज पाण्डे र वद्रीप्रसाद पाण्डेलाई अभियोग माग दावीबाट सफाइ दिएकोमा पुनरावेदन अदालतले प्रतिवादी खेमराज पाण्डेले जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को देहाय (ख) बमोजिम कसूर गरेको भनी सोही ऐनको दफा ८(२) बमोजिम पाँच वर्ष कैद हुने ठहराई प्रतिवादी वद्रीप्रसाद पाण्डेको हकमा शुरुले सफाइ दिने ठहराएको फैसलालाई सदर राखेको अवस्था छ । पुनरावेदन अदालतले प्रतिवादीमध्येका खेमराज पाण्डेलाई ५ वर्ष कैद गरे उपर निजको पुनरावेदन परेको नपाईदा पीडितहरूलाई बेचविखन गर्ने कार्यमा निज प्रतिवादीको संलग्नता भएको भन्ने सम्बन्धमा थप विवेचना गरिरहनु परेन ।

३.  प्रतिवादी खेमराज पाण्डेलाई अभियोग दावीबमोजिम सजाय नगरी कम सजाय गरेको भन्ने पुनरावेदनमा लिएको जिकीर सम्बन्धमा प्रतिवादीलाई लगाईएको अभियोग र तत्सम्बन्धी कानूनी व्यवस्थालाई हेर्दा, जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ मा कसैले जीउ मास्ने बेच्ने कार्य गर्नु हुँदैनभन्ने उल्लेख भई दफा ४ मा के कस्तो कार्य गरेमा जीउ मास्ने बेच्ने कार्य हुन्छ भनी उल्लेख भएको देखिन्छ । जसअनुसार दफा ४ को देहायमा

 

(क)     कुनै पनि उद्देश्यले मानिस वेच विखन गर्न,

(ख) वेच विखन गर्ने उद्देश्यले कुनै मानिसलाई विदेशमा लैजान,

(ग) कुनै स्वास्नी मानिसलाई ललाई फकाई वा कुनै प्रलोभन दिई वा झुक्याई वा डर, त्रास वा दवावमा पारी वा अन्य कुनै तरिकाले वेश्यावृत्तिमा लगाउन,

(घ) माथि खण्डहरूमा लेखिएका कुनै कार्य गर्नको लागि परिपञ्च मिलाउने वा त्यस्तो कार्य गर्नमा सहयोग पुर्‍याउने वा त्यस्तो कार्यमा लाग्न कसैलाई दुरुत्साहन गर्ने वा त्यस्तो कार्य गर्ने उद्योग गर्ने ।

 

    ४.  पुनरावेदन अदालतले प्रतिवादी खेमराज पाण्डेले उपरोक्त देहाय (ख) को कसूर कायम गरेको देखिँदा सो सम्बन्धमा विचार गर्नु पर्ने देखियो । पीडितमध्येकी गंगादेवी चौलागाईको अदालतबाट प्रमाणित भएको बयानमा दिदी चन्द्रकला र आफलाई फिदिम शनिवारे बजारको मन्दीरमुनी पाण्डेको छोराले फिलिम हेर्न जाऔं भनी उसको घरमा ल्याई फिलिम हेर्न पसाई बाहिरबाट ढोका थुनी दिएको, राति त्यहीं दिदीको काखमा आफू निदाएको, भोलिपल्ट गाडीमा जानुपर्छ भन्दै पाण्डेको छोरा र उसको साथी गाडी चोकतिर लागेको, शनिवारे बजार छेउमा गाडी रोकेर कान्छी दोकानसम्म पुर्‍याई दिने आउ भन्दै पाण्डेको छोराले बोलाई गाडी चढ्न लगाएको, साम्दीन छेउमा पुग्दा पाण्डेको छोराले दिदीलाई चकलेट जस्तो मिठाई जबरजस्ती खान दिएको, मिठाई जस्तो खाए पछि दिदी बोल्न छाडि बौलाही जस्ती भएकी, घाम नअस्ताउँदै थाहा नभएको ठाउँमा गाडीबाट ओराली त्यस दिन त्यही बसेको, भोलिपल्ट विहान अर्को गाडीमा चढेर विर्तामोड भन्ने ठाउँमा पुगी सबै एउटा कोठामा बसेको, भोलिपल्ट गाडी चढाई लगे, /३ ठाउँमा गाडी ओर्लदै चढ्दै गयौं, कहाँ पुग्यो थाहा भएन । एकै पटक बम्बै आईपुग्यो, ओर्लनु पर्छ भन्दै पाण्डेको छोराको साथीले भनेपछि गाडीबाट ओर्ली एक छिन हिड्दै गयौं, मलाई बाटोमा तँ उभिदै गर भन्दै दिदीलाई मात्र लगे, म उभिइरहे, त्यसको केही वेर पछि मलाई लिन पाण्डेको छोराको साथी आयो, मलाई एउटा घरमा पुर्‍याई छाडि त्यो मानिस कता गयो थाहा भएन, दिदी कता जानु भयो थाहा भएन, धेरै दिनसम्म भेट भएन, १ पटक मात्र भेट्न लगि दिए भन्ने समेत उल्लेख गरेको पाइयो ।

५.  त्यस्तै अर्की पीडित भनिएकी चन्द्रकला चम्लागाईले पनि तिजको लागि सामान किन्न भनी आफू र बहिनी फिदिम बजार आएका, सामान किनमेल गरी घर जान खोज्दा खेमराज पाण्डेलेबाटो छेक्दै आज मेरै घरमा बस्नु पर्छ, भिडियो हेर्नु पर्छ भनी भिडियो हेरेको, भिडियो छुट्दा म र बहिनीलाई खेमराज पाण्डेले हल भित्रै ढोका बन्द गरी वाहिर निस्कन नदिंदा सो रात भिडियो हलभित्रै बास बसेको, राति बहिनी गंगा निदाए पछि खेमराज पाण्डेले आफूलाई सधैंको लागि विवाह गर्छु भनी अनुचित कार्य समेत गरेको, भोलिपल्ट झापा तिर डुलेर आउनु पर्छ भनी सानो गाडीमा चढाई लगेको, गाडी केही अगाडि बढ्दा बहिनीलाई टाउको दुख्छ, बान्ता आउँछ होला, यो दवाई खान देउ भनी गाडीमा बसेको कालो चश्मा लगाउने मानिसले खेमराज पाण्डेलाई दिएको र खेमराज पाण्डेले खाउ कि खाउ भनेको र गाडीमा चढ्दा वान्ता आउने गरेकोले त्यो दवाई आफूले खाएको, केहीवेर पछि साम्दीनसम्म पुगेको थाहा भएको, त्यहाँ देखि बेहोस जस्ती भएछु, कुनै चेत भएन, कति दिनमा कसरी म भारतको बम्बईमा पुगें केही थाहा भएन, भारतको बम्बैमा पुगे पछि एक्कासी वान्ता भई होस आएको, वद्री पाण्डेको छोरा खेमराज पाण्डे र कालो चश्मा लगाउने खेमराज पाण्डेकै साथी नचिनेको एकजना मानिस समेत भई म र बहिनी गंगालाई लिई गएका हुँदा निजहरूले नै भारतको बम्बईमा लगी बिक्री गरेका हुन् भनी जिल्ला सरकारी अधिवक्ताका समक्ष भएको बयानमा उल्लेख गरी सो बयान ठीक छ भनी सनाखत गरेको कारण जिल्ला न्यायाधीशबाट प्रमाणित भएको देखियो पीडितहरूको मौकाको भनाईमा सिलसिलेवाररुपमा वारदात घटनाको क्रमलाई उल्लेख गरेको अवस्था देखिन्छ ।

६.  प्रतिवादी खेमराज पाण्डेले जिल्ला सरकारी अधिवक्ता समक्ष गरेको बयानमा पीडित चन्द्रकला र गंगादेवीलाई फिदिमबाट लगी भारतको बम्बईमा पुर्‍याई बेचेको भन्ने उल्लेख गरेको देखिन्छ । २०५३।६।१० मा टंकप्रसाद चम्लागाईले पाँचथर जिल्ला प्रहरी कार्यालयमा साँहिली छोरी वर्ष १८ कि चन्द्रकला चम्लागाई र ठूली कान्छी वर्ष ८ की गंगादेवी चम्लागाई २०५३।५।२९ गते शनिवारे बजार फिदिममा जाने र बेलुका आउने भनी विहान हिडेका छोरीहरू हराएको भनी हुलिया जाहेरी दिएको देखिएको छ भने पीडितमध्ये गंगादेवीलाई भारतबाट २०५३।९।१६ मा ल्याएको भनी जाहेरवालाले जाहेरी साथ उपस्थित गराएको देखिन्छ । त्यस्तै पीडित मध्येकी चन्द्रकलालाई प्रहरी प्रधान कार्यालयले बुझाएको भनी २०५४।१।४ मा उपस्थित गराएको पाइन्छ । अदालतबाट प्रमाणित भएको पीडितहरूको बयानमा आफूहरू बेचिएको भनी निज पीडितहरूले उल्लेख गरेको र निजहरू हराएको भनिएको समयदेखि लामो समय पश्चात् भारतबाट ल्याएको भनी निजहरूकै आमा जाहेरवालाले उपस्थित गराएको देखिएको र सो कुरालाई जिल्ला न्यायाधीश समक्ष वयान प्रमाणित गराउने सिलसिलामा पीडिताहरूले अन्यथा भन्न सकेको देखिएन । यद्यपी पीडिताहरूले वकपत्रमा आफूहरू नबेचिएको भनी अन्यथा उल्लेख गरे पनि मौकामा जिल्ला न्यायाधीश समक्ष प्रमाणित वयानमा उल्लेख गरेको कुरालाई मिसिलबाट देखिएको परिस्थिति र प्रमाणबाट समर्थित भएको खण्डमा महत्वहिन र निष्प्रभावीरुपमा लिन मिल्ने देखिंदैन । पीडितहरू मौकामा उपस्थित भएमा अदालतमा लगि वयान प्रमाणित गराउने व्यवस्थाले खास महत्व बोकेको हुन्छ । जीउ मास्ने बेच्ने मुद्दामा अक्सर निम्न परिवारका अशिक्षित महिला तथा बालबालिकाहरू नै बढी पीडित हुने गरेको देखिएको छ । निम्न आर्थिक अवस्थाका व्यक्तिहरू सजिलै प्रलोभनमा परी प्रतिवादीलाई मद्दत पुग्ने अभिप्रायले अदालतमा वकपत्र गर्ने, कतिपय अवस्थामा पीडितहरू फेला पर्न नसक्ने वा विवाह गरी अन्यत्रै जाने, गम्भीर यौनजन्य रोग लागि पीडितको मृत्युसम्म हुने जस्ता खास अवस्थाहरूले गर्दा फेला परेका पीडितहरूको मौकामा नै वयान गराई अदालतमा लगि उक्त वयान जिल्ला न्यायाधीशले नै  पढी बाँची सुनाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ को उपदफा (२) बमोजिम प्रमाणित गराउने विधायिकी मनसाय हो । अदालतमा वयान प्रमाणित गराउनुको मतलव पीडितको आफ्नो भनाईको अदालतमा पुष्ट्याँई हो। अदालतमा पीडितको भनाई प्रमाणित भएपछि निजले अदालतमा वकपत्र गर्दा अन्यथा भन्नुले खास असर पार्ने हुँदैन । मौकामा प्रमाणित भएको त्यस्तो भनाईलाई मिसिलबाट देखिएको परिस्थिति र अन्य प्रमाणबाट समर्थित भएको खण्डमा प्रमाणमा लिनु पर्ने हुन्छ । मिसिल संलग्न प्रमाण एवम् मिसिल संलग्न तथ्यले देखाएको परिस्थितिले प्रतिवादी उपरको अभियोग पुष्टि हुने अवस्था निःसन्देहात्मक रुपमा देखापर्दछ भने अदालतमा प्रमाणको रुपमा पेश गरिएको व्यक्तिले प्रतिकूल भनाई राखे पनि फौजदारी न्यायको उद्देश्यलाई अन्देखा गरी निर्णय गरिनुहुँदैन।  

७.  प्रस्तुत मुद्दामा मिसिल संलग्न तथ्यले देखाएको परिस्थितिले तथा प्रमाणले पीडिताहरूलाई विदेश भारतमा लगि बिक्री गरेको र लामो समय पछि पीडित मध्ये गंगादेवीलाई ४ महिना पछि र चन्द्रकलालाई ८ महिना पछि भारतस्थित वेश्यालयबाट उद्धार गरी ल्याएको भन्ने जाहेरीबाट तथा पीडिताहरूको वयानबाट देखिएको अवस्थामा प्रतिवादीले पीडितहरूलाई बिक्री गर्ने उद्देश्यले विदेश भारतसम्म मात्र लगेको भन्न नमिल्ने हुँदा प्रतिवादी खेमराज पाण्डेलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ख) को कसूर (वेच विखन गर्ने उद्देश्यले कुनै मानिसलाई विदेशमा लैजाने) कायम गरी सो कसूरमा तोकिएको सोही ऐनको दफा ८(२) बमोजिम ५ वर्ष कैद हुने ठहराएको इन्साफ मिलेको देखिएन । प्रतिवादी खेमराज पाण्डेले पीडिताहरूलाई विदेश भारतमा लगि बिक्री गरी जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ३ को कसूर गरेको ठहर्छ । पीडिताहरूलाई वेश्यालयबाट उद्दार गरेको अवस्था रहेको छ । निज प्रतिवादी खेमराज पाण्डेलाई सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम तोकिएको न्यूनतम हदको कैद गर्दा ऐनको उद्देश्य समेत पूरा हुने देखिँदा कैद वर्ष १० (दश) हुन्छ । मिसिलबाट विगो खुलेको नदेखिँदा सोही ऐनको दफा ८ को उपदफा ५ बमोजिम विगोबमोजिम जरीवाना गर्नुपर्ने अवस्था रहेन ।   

८.  अव प्रत्यर्थी प्रतिवादी वद्रीप्रसाद पाण्डेको हकमा विचार गर्दा, निज प्रतिवादीले पीडिताहरूलाई बिक्री गर्न लैजान प्रोत्साहन दिई परिपञ्च मिलाई सहयोग गरेको भन्ने कसूरमा जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(४) बमोजिम सजायको माग गरेको देखिन्छ । यी प्रतिवादी उपर जाहेरी परेको नदेखिनुका साथै पीडितमध्येकी गंगादेवीको बयानबाट समेत निज प्रतिवादीको संलग्नता रहेको भन्ने खुल्दैन । अभियोग दावीबमोजिम कसूर गरेमा प्रतिवादी इन्कार रहेको समेत देखिन्छ । पीडितमध्येकी चन्द्रकलाको अदालतमा प्रमाणित बयानमा वद्री पाण्डेले पनि चन्द्रकला तिमी अव मेरो वुहारी भैसक्यौ, झापासम्म डुल्न जाओ भनी निजकी श्रीमती र खेम पाण्डेको काकीले १००/१०० दिएको भन्नेसम्म उल्लेख गरेको अवस्थामा कसूर पुष्टि हुने अन्य प्रमाणको अभावमा सो कुराकै आधारमा यी प्रतिवादीले कसूर गरेको पुष्टि भएको भन्न मिल्ने देखिन आउँदैन । साथै यी प्रतिवादीले पीडितहरूलाई विक्री गर्न यो यसप्रकारको परिपञ्च मिलाएको र प्रोत्साहन दिएको भन्ने मिसिलबाट नदेखिएको अवस्थामा प्रतिवादी वद्रीप्रसाद पाण्डेलाई आरोपित कसूरबाट सफाइ दिएको फैसलालाई अन्यथा भन्ने अवस्था रहेन ।

९.  अतः माथि विवेचना गरिएबमोजिम प्रतिवादी खेमराज पाण्डेले पीडितहरूलाई बिक्री गरेको भन्ने देखिन आएबाट निज प्रतिवादीले जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ विपरीत कसूर अपराध गरेको देखिँदा निजलाई सफाइ दिने ठहराएको शुरु पाँचथर जिल्ला अदालतको २०५६।८।१९ को फैसला उल्टी गरी सोही ऐनको दफा ४(ख) को कसूर अपराध गरेको ठहर्‍याई उक्त ऐनको दफा ८(२) बमोजिम ५ वर्ष कैद गर्ने ठहराएको पुनरावेदन अदालत इलामको २०५८।७।२२ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भै निज प्रतिवादी खेमराज पाण्डलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम १० (दश) वर्ष कैद हुने ठहर्छ । प्रतिवादी वद्रीप्रसाद पाण्डेलाई कसूरबाट सफाइ दिने ठहराएको शुरु पाँचथर जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिँदा सदर हुन्छ । निज प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । पुनरावेदन अदालतको फैसला बमोजिम प्रतिवादी खेमराज पाण्डेलाई ५ वर्ष कैद असूल उपर गर्न लगत कस्न पठाएको लगत संशोधन गरी कैद वर्ष १० को लगत कसी निज थुनामा परेको अविध कट्टा गरी बाँकी कैद असूल उपर गर्नु भनी शुरु पाँचथर जिल्ला अदालत, तहसिल शाखामा लेखी पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिन

 

 

 

उक्त रायमा सहमत छु ।

 

न्या.गिरीशचन्द्र लाल

 

इति संवत् २०६६ वैशाख २९ गते रोज ३ शुभम् ..

 

इजलास अधिकृतः दीपककुमार दाहाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु