शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१९ - जग्गा जालसाजी

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६१९            ने.का.प. २०२८

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री बृषबहादुर थापा

सम्वत २०२६ सालको फै.फु.नं. २७

फैसला भएको मिति :      २०२७।१२।२७।६

निवेदक : अछाम पन्द्र बीस खालसैन गाउँ बस्ने लालवीर बुडथापा समेत

विरूद्ध

विपक्षी : ऐ.गैरा खालसैन बस्ने टेकबहादुर बुड थापा समेत

मुद्दा : जग्गा जालसाजी

(१)   अदालती बन्दोवस्तको ८५ नं.:एक भन्दा बढी थरीको नाउँमा एकै पटक ऐनको म्यादभित्र नालेस गरेमा ठहरेबमोजिम हुने भएमाती मध्ये एक थरी उपर गरेको नालेस खारेज भए पनि ती एक भन्दा बढी थरी उपर अर्को नालेस लाग्न सक्ने ।

            वादीहरूले पहिले एकपटक नालेस गरेको खारेज भएपछि अ.बं. ८५ नं.सोही मुद्दामा उसै झगडीयाका नाउँको यो फिरादपत्र लिई सुन्न नहुने हुँदा मुद्दै खोरेज हुनपर्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले तर्क उठाउनु भएको हकमा विवादग्रस्त कुरामा पक्ष विपक्षले दिएको सबुद प्रमाणको मूल्याड्ढन गरी न्यायिक मन लगाई विवादको टुंगो लाग्ने किसिमले पक्ष विपक्षको हार जित हुने गरी निर्णय भए गरेकोलाई फैसला मान्नु पर्ने र मुद्दा परी त्यसरी फैसला भएपछि सो फैसलाउपर ऐनबमोजिमको अपील नभई सोही मुद्दामा उस झगडीयाका नाउँको फिरादपत्र लिई सुन्न नहुने अ.बं.८५ नं.को व्यवस्था हो । यी वादीहरूले पहिले दिएको मुद्दामा त्यस किसिमले फैसला भएको नभई बिक्री गर्नेहरू उपर मात्र नालेस गरेको, खरिद गर्ने साहुहरूउपर नालेस नगरेकोले जालसाज गर्ने गराउने दुबै थरीका नाउँमा एकैपटक ऐनको म्यादभित्र नालेस पर्नआएमा उसैबाट उसैबखत ठहरे बमोजिम हुने हुँदा यो मुद्दा खारेज हुन्छ । बेरितको नालेस दर्ता गरेमा स्रेस्तेदारको रिकर्ड राख्नेसमेत भनी पछि अर्को नालेस दिनपाउने गरी तत्कालिन इलाकाअदालत अछामबाट दरपीठ किसिमको खारेजी भए गरेको यस्तोमा उक्त अ.बं.८५ नं.बमोजिम अर्को नालेस लाग्न नसक्ने भन्न नमिल्ने हुँदा विद्वान अधिवक्ताको उपरोक्त तर्कसँग सहमत हुन मिलेन ।

(प्रकरण नं. १२)

(२)   नालेस नगर्नेको हकमा हक वेहकको ठहर हुन नसक्ने ।

            फैसलामा १२६ जनाको हक लाग्नेभन्ने अनावश्यक वाक्यांश उल्लेख हुन गएको भन्ने जिकिरतर्फ वादी दावीको पाखा दर्तामा गैराखाल सैनगाउँ र कालापातल गाउँ २ मौजाको गैर रैतीको साझा भन्ने उल्लेख भएकोले सो २ मौजामा कति घर रैती रहेछन्, तालुकदार बाट नाम खुलाउने भन्ने शुरूबाट आदेश भई तालुकदारहरूले नाम खुलाई प्रतिवेदन दिएको आधारमा सेती अञ्चलअदालतको फैसलामा १२६ जनाको हक लाग्नेभन्ने उल्लेख भएको रहेछ । प्रमाणको रूपमा बुझ्नु पर्ने देखिएका कुराहरू अदालतले कानून बमोजिम बुझ्नसक्ने भए पनि हक वेहकको ठहर हक खोजी नालेस गर्न आउनेका हकमा सम्म गर्न मिल्ने कुरा हो । प्रस्तुत मुद्दामा टेकबहादुर, सेते, रूदे ३ जनाको हकमासम्म उक्त सजिया जग्गामध्ये निजहरूको हकमा पर्ने पाखा जग्गाको ४ किल्ला समेत अ.बं.१३३ नं.बमोजिम मुनासिव माफिक खुलाउनु पर्ने खुलाई कागज गराई बुझ्नु पर्ने प्रमाण बुझी ऐनबमोजिम किनारा फैसला गर्नु भनी शुरूमा पठाउने गरेकोमा उक्त वादी ३ जना वाहेक नालेस नगर्ने अरूका हकमा यस मुद्दाबाट हक बेहकको ठहर हुन नसक्ने हुनाले सेती अं. अदालतको ०२३।८।१६।५ को फैसलामा १२६ जनाको हक लाग्नेभन्ने ठहर किसिमका वाक्यांशले उल्लेख गरेको मिलेको देखिएन ।

 (प्रकरण नं. १३)

निवेदक तर्फबाट : अधिवक्ता श्री वेदप्रसाद धिताल

विपक्षी तर्फबाट      :    

उल्लेखित मुद्दा :    

फैसला

     न्यायाधीश श्री नयनबहादुर

      १.     एक मोहीका नाउँमा दर्ता भएको जग्गालाई अरू अंशियार पाखुरे समेतले दामासाही तिरो दर्तावाला मोहीलाई बुझाई मोहीबाट रसिद लिने दिने हाम्रा गाउँमा चलन छैंन अछाम पन्द्र बीस दरा मौजे खालसैन समेतको निम्न लेखिएबमोजिमको किल्लाको खेत पाखोमध्ये पाखो कित्ता ४ साझा अन्याय कै लालवीरका नाउँमा दर्तामा र जितेसमेतका नाउँमा दर्ता भएको उक्त लेखिएबमोजिम तिरो तिरी सबैले सजिया बराबरले भोगी आएका समेत ५ कित्ता खेत र ४ कित्ता पाखो समेत कित्ता ९ लाई के गरी हो पाखा कित्ता ४ को मोल रु.४७००।समेत जम्मा रु.२५६००।को जग्गालाई आफ्ना गठ गुमस्ती मानिसहरू प्र.मध्येका मीनदत्तसमेतका मानिस लेखक वसत साक्षी भई अन्याय लालवीरले र कर्णे समेतले ०१९।२।२५ गतेमा अछाम पन्द्रबीस कालापातल गाउँ बस्ने धर्मे बोहरालाई भा.रु.७५९२ मा र ऐ.बस्ने राम पाध्यालाई भा.रु.६०० मा राजिनामा गरी दिई सो कागज ०१९।८।३।१ मा अछाम मालमा पास समेत गरी लिए दिएकामा मन्तेका छोरा रिते र तितेका छोरा म धर्मे बाजे मन्तेको सहोदर नाती म छँदाछंदै अन्यायका कर्णेल नपरेको अपुताली परेको भनी अनाधिकार मुखियाले बिक्री गर्न नपाउने गर्जे खेत र उक्तबमोजिम मेरो हकको मोही जिते नायक दर्ता भएको उक्त हर्खे खेत समेत जग्गालाई निज कर्णे समेतले पास गराएका सो कुरा हामीलाई थाहा थिएन । हामीहरूको हक लाग्ने हक भोगको खेत पाखो प्र.लालवीर कर्णेले राजिनामा गरेको भन्ने सुनेकाले अछाम मालमा गई ०१९।१२।२७ मा लिखत सारी लिंदा उपरोक्त बमोजिम एकलौटी आफ्नो हक देखाई जालसाजी गरी लिखत गरिदिएको कुरा थाहा पाई निज लालवीर कर्णेउपर हाम्रो फिराद परी कसैको हक नभएको हामी लालवीर कर्णेको हककोमात्र भन्ने कागजमा बोली परेको र साईचे दर्ताको जग्गा साईचे अन्तै वसंै गर्दा उकास खालमा परेको जग्गा आफैले हक गरी बिक्री गरेमा साविती भई प्रतिवादी दिएकोमा लिने दिनेसमेतउपर उजुर नभएको भनी ०२० साल चैत्र २६ गते खारेजी फैसला भएकोले लिने दिनेसमेतउपर फिराद गरेका छौं । हाम्रो समेतको हक भोगको जग्गालाई हाम्रो मन्जुरी वेगर बीच बीचमा जालसाजी लिखत खडा गरी लिनु दिनु गरेकाले सो जग्गा जालसाजबाट गरे गराएको लिखत बदर गरी लिने दिने र साक्षीहरू समेतलाई ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी ।

      २.    जग्गा लिनेकाउपर नालेस नपरेको भनी अघि यसै अदालतबाट मुद्दा खारेज भएको छ । वादीको दाबीबमोजिम वादीको हक लाग्ने जग्गा जालसाज गरी लिन दिनु गरी जालसाज गरी बिक्री गरेको नभई आफ्ना नाउँमा दर्ता भएको र आफ्नो हक भोगको खेत पाखो जग्गा बिक्री गरिलिएको हो वादीका हकको जग्गा होइन हामीले जालसाज गरेको छैन भन्नेसमेत प्र. लालवीर समेतको प्रतिउत्तर ।

      ३.    वादीहरूका नाउँको दर्ता भएको जग्गा खरिद बिक्री भएको र हामी साक्षी बसेको समेत छैनौं, दर्तावालाले आफ्नो जग्गा बिक्री गरी लिनु दिनु गरेको लिखतमा साक्षी बसेको हुँ, जालसाज गरेको छैनौं भन्ने हरिलाल समेतको प्रतिउत्तर ।

      ४.    गैराखालसैन कालापातल २ मौजाका तालुकदार बुझदा यी वादी प्रतिवादीहरू समेतका १२२ जवान देखिएको १२२ जवानको हक लाग्ने जग्गा हाल ६ जनाको मात्र उजुर पर्न आई अरूको उजुर नपरेको त्यस्तो १२२ जनाको हक लाग्ने जग्गामा ६ जनाको उजुरीबाट लिखत सदर वा बदर गरी निर्णय गर्दा अरूको हकमा बाधा पुग्न जाने र ६ जनाका हकमा मात्र निर्णय गरी दिनु पर्ने हो कि भन्नलाई १२२ जनाको हक भएको जग्गा मध्ये यो वो कित्तामा यति यति हक लाग्ने हुँदा बदर गरिपाउँ भन्ने उजुर दावी नभई सबै जग्गाको लिखत बदर गरिपाउँ भन्ने दावी भएको र खेततर्फ पनि यस यस कित्तामा हाम्रो यति यति हक लाग्ने भनी दावी गर्न नसकेकोले यस्तो नालेसबाट लिखत सदर वा बदर गरी हारजितको निर्णय गर्न ऐनले नमिल्ने हुँदा सो जग्गा खान पाउने व्यक्ति सबैको उजुर पर्न आएमा आफ्नो अक छुट्याई दावी लिई उजुर गरेमा उसैबाट उसै बखत ठहरेबमोजिम हुने नै हुँदा हाल यसबाट निर्णय गरिरहन नपरी वादी उजुर खारेज हुन्छ भन्ने अछाम जि.अ.को २०२२।२।२६।३ को फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत मु.टेकबहादुर समेतको पुनरावेदन ।

      ६.    खेत ५ कित्ताको हकमा वादी धर्म सिं नायक धर्मे नायक सेटे, रूद्रे, टेकबहादुरको समुचै वादी दावी नै नपुग्ने हुँदा खारेज गर्ने गरेको र पाखोतर्फ धर्म सिं, हर्के, धर्मे नायकहरूको दावीसम्म खारेज गर्ने गरेको इन्साफ अछाम जि.अ.को मुनासिव छ । वादी दावीमध्ये पाखोतर्फ लेखिएबमोजिम १२६ जवानको हक लाग्नेमध्ये टेकबहादुर सेटे, रूद्रे, बुड थापा ३ जवानका हकमा पटकपटक नालेस परेपछि उक्त सजिया जग्गामध्ये निजहरूको हकमा पर्ने पाखो जग्गाको ४ किल्ला समेत अ.बं.१३३ नं.बमोजिम मुनासिव माफिक खुलाउनु पर्ने कुरा खुलाइ कागज गराई बुझनु पर्ने प्रमाण बुझी ऐनबमोजिम किनारा फैसला चाँडो गर्नु भनी मिसिलै अछाम जि.अ.मा पठाउने समेत ठर्हछ भन्नेसमेत ०२३।८।१६।५ को सेती अञ्चल अदालतको फैसला ।

      ७.    हाम्रो उजुर नलाग्ने भनी फैसला गरेको चित्त बुझेन भन्नेसमेत वादीहरूको र लिखत सदर गरी पाउनु पर्ने भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन ।

      ८.    खेत र पाखा राजिनामा गरेतर्फ वादी धर्म सिं नायक, धर्मे नानक, सेते, रूद्रे, टेकबहादुरको दावी नपुग्ने ठहराएकोमा टेकबहादुर समेतको पुनरावेदन दर्ता भए पनि टेकबहादुर बाहेक अरूले तारेख छोडेकोले निजहरूको हकमा विचार हुन नसक्ने र पाखाको हकमा जो खुलाउन पर्ने खुलाइ किनारा गर्न अछाम जि.अ.मा पठाउने गरेकोमा निजहरूको पुनरावेदन लाग्ने कलममा ऐनले जो रीतपुर्‍याउन पर्ने पुर्‍याई इन्साफ हुने हुनाले ऐनबमोजिम कारवाई गर्न शुरू अदालतमा पठाउने गरेको मनासिव छ । जिल्ला अदालतमा कारवाई गर्न पठाउने गरेकोमा चित्त बुझेन भन्नेसमेत लालवीर समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । रूद्रे समेतको पुनरावेदन जिकिर मुनासिव देखिएन अञ्चल अदालतको इन्साफ मुनासिव छ भन्ने डिभिजन बेञ्चको २०२५।३।२९।६ को फैसला ।

      ९.    उक्त फैसला दोहर्‍याई पाउँ भन्ने मु.लालवीर बुढ थापा समेतको निवेदन गर्न आएको, न्यायीक समितिबाट यसमा शुरूले दर्तावाला सबैको उजुर परेका बखत ठहरेबमोजिम हुने गरेकोमा अञ्चल अदालतले टेकबहादुर, सेते, रूद्रेको हकमा पर्ने पाखो जग्गाको ४ किल्ला समेत खुलाउनु पर्ने खुलाई यसै मुद्दाबाट निर्णय गर्नुपर्ने ठहराएकोमा सर्वोच्च अदालतले पुनरावेदन लाग्ने कलममा ऐनले जो रीतपुर्‍याउन पर्ने पुर्‍याई इन्साफ हुने हुनाले ऐनबमोजिम कारवाई गर्न शुरू अदालतमा पठाउने गरेको मुनासिव छ भन्ने जुन वाक्यांश प्रयोग गरेको छ, त्यसबाट शुरूउपर पुनरावेदन लाग्ने कुरालाई लिएको हो वा अञ्चलउपर पुनरावेदन लाग्ने कुरालाई लिई त्यसो भनेको हो सो कुरा फैसलामा प्रष्ट नखुलेको, शुरूउपर वादी सबैको पुनरावेदन परेको र अञ्चलउपर ५ जनाको मात्र पुनरावेदन परेको देखिएको र उक्त उल्लेखित ठहरबाट वादी ६ जनामध्ये ३ जनाको हकमा सम्म इन्साफ गर्ने विषय हुन आएकोमा अनावश्यक १२६ जनाको हकको जग्गा देखियो भन्ने वाक्यांश प्रयोग गरेको समेतबाट शुरू अदालतलाई कारवाई गर्न दोविधा पर्न जाने देखिन आएको समेत प्रमाण परिवन्धबाट सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिाजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बकसेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२६।५।३।३ को हुकुम प्रमांगी ।

      १०.    बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाइ दुबै पक्षलाई फुल बेञ्चमा पेश गर्नु र त्यसको अंतिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल बिभाग मार्फत पठाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीश भगवतीप्रसाद सिंहबाट भएको २०२६।५।४।४ को आदेश ।

      ११.    यसमा तारेखमा रहेको निवेदन प्रतिवादी लालवीर वुड थापा धर्मे वोहराको वारेस प्रेमप्रसाद पाध्या रोहवरमा रही पेश भई निजहरूतर्फबाट विद्वान अधिवक्ता श्री वेदप्रसाद धितालले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी टेकबहादुर सेते रूद्रेका हकमा ऐनबमोजिम कारवाई गर्न शुरूमा पठाउने गरेको मुनासिव बेमुनासिव के हो भन्नेसम्म कुराको यस बेञ्चबाट निर्णय दिनुपर्ने देखिएकोछ ।

      १२.   वादीहरूले पहिले एकपटक नालेस गरेको खारेज भएपछि अ.बं.८५ नं.ले सोही मुद्दामा उसै झगडीयाका नाउँको यो फिरदपत्र लिई सुन्न नहुने हुँदा मुद्दै खारेज हुनु पर्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले तर्क उठाउनु भएको हकमा विवादग्रस्त कुरामा पक्ष विपक्षले दिएको सबूद प्रमाणको मूल्यांकन गरी न्यायिक मन लगाई विवादको टुंगो लाग्ने किसिमले पक्ष विपक्षको हारजित हुने गरी निर्णय भए गरेकोलाई फैसला मान्नुपर्ने र मुद्दा परी त्यसरी फैसला भएपछि सो फैसलाउपर ऐनबमोजिमको अपिल नभए सोही मुद्दामा उस झगडीयाका नाउँको फिरादपत्र लिई सुन्न नहुने अ.बं.८५ नं.को व्यवस्था हो । यी वादीहरूले पहिले दिएको मुद्दामा त्यस किसिमले फैसला भएका नभई बिक्री गर्नेहरूउपर मात्र नालेस गरेका खरिद गर्ने साहुहरूउपर नालेस नगरेकोले जालसाज गर्ने गराउने दुबै थरीका नाउँमा एकैपटक ऐनको म्याद भित्र नालेस पर्न आएमा उसैबाट उसै बखत ठहरेबमोजिम हुने हुँदा यो मुद्दा खारेज हुन्छ । बेरीतको नालेस दर्ता गरेमा श्रेस्तेदारको रिकर्ड राख्नेसमेत भनी पछि अर्को नालेस दिन पाउने गरी तत्कालीन इलाका अदालत अछामबाट दरपिठ किसिमको खारेजी भए गरेको यस्तोमा उक्त अ.बं. ८५ नं.बमोजिमको नालेस लाग्न नसक्ने भन्न नमिल्ने हुँदा विद्वान अधिवक्ताको उपरोक्त तर्कसँग सहमत हुन मिलेन ।

      १३.   फैसलामा १२६ जनाको हक लाग्नेभन्ने अनावश्यक वाक्यांश उल्लेख हुन गएको भन्ने जिकिरतर्फ वादी दावीको पाखा दर्तामा गैराखाल सैनगाउँ र कालापातल गाउँ २ मौजाको गैर रैतीको साझा भन्ने उल्लेख भएकाले सो २ मौजामा कति घर रैती रहेछन् तालुकदारबाट नाम खुलाउने भन्ने शुरूबाट आदेश भई तालुकदादहरूले नाम खुलाई प्रतिवेदन दिएको आधारमा सेती अञ्चल अदालतको फैसलामा १२६ जनाको हक लाग्नेभन्ने उल्लेख भएको रहेछ । प्रमाणको रूपमा बुझ्नु पर्ने देखिएका कुराहरू अदालतले कानूनबमोजिम बुझ्न सक्ने भए पनि हक बेहकको ठहर हक खोजी नालेस गर्न आउनेका हकमासम्म गर्न मिल्ने कुरा हो । प्रस्तुत मुद्दामा टेकबहादुर सेते रूद्रे ३ जनाको हकमासम्म उक्त सजिया जग्गामध्ये निजहरूको हकमा पर्ने पाखा जग्गाको ४ किल्ला समेत अ.बं.१३३ नं.बमोजिम मुनासिव माफिक खुलाउनु पर्ने खुलाई कागज गराई बुझ्नु पर्ने प्रमाण बुझी ऐनबमोजिम किनारा फैसला गर्नु भनी शुरूमा पठाउने गरेकोमा उक्त वादी ३ जना बाहेक नालेस नगर्ने अरूका हकमा यस मुद्दाबाट हक वेहकको ठहर हुन नसक्ने हुनाले सेती अञ्चल अदालतको ०२३।८।१६।५ को फैसलामा १२६ जनाको हक लाग्नेभन्ने ठहर किसिमका वाक्यांश उल्लेख गरेको मिलेको देखिएन ।

      १४.   तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट सेती अञ्चल अदालतको ०२३।८।१६।५ को फैसलामा १२६ जनाको हक लाग्नेभन्ने वाक्यांश उल्लेख गरेको सम्म नमिलेको र टेकबहादुर सेते रूद्रे ३ जनाको हकमा ऐनबमोजिम कारवाई किनारा गर्न शुरूमा पठाउने गरेको सेती अञ्चल अदालतको सदर गरी ०२५।३।२९।६ को डिभिजन बेञ्चले छिनेको मुनासिवै ठहर्छ । डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले दोहर्‍याए वापत निवेदकहरूलाई केही गर्नु पर्दैन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

प्र.न्या.श्री रत्नबहादुर विष्ट तथा

न्या.श्री बृषबहादुर

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२७ साल चैत्र २७ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु