शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१६७ - कर्तव्य ज्यान

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१६७        २०६६ असोज     अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

मुद्दा नं. २०६५.CR.००२९, ०१६८

फैसला मितिः २०६६।१।३०।४

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला गर्पा गा.वि.स.वडा नं. २ च्यान टाकुरा घर भै कारागार सल्यानमा थुनामा रहेको जितबहादुर बुढाथोकी

विरुद्ध

प्रत्यर्थी वादीः कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार

 

प्रत्यर्थी वादीः कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार

विरुद्ध

पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला गर्पा गा.वि.स. वडा नं. २ बस्ने जितबहादुर    बुढाथोकी

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री महमद जुनैद आजाद

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्र राज पन्त

मा.न्या.श्री तेजबहादुर के.सी

 

§  आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत भै सो कार्यतर्फ लक्षित रहेको अवस्थामा दुर्भाग्यबश मानिसको मृत्यु भएमा त्यो भवितब्य हुने कानूनी मनसाय देखिँदा भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा लिइन्छ । संगोगवश मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रुपमा हेरिदैन र मनसाय तत्वको अभावको कारण यस्तो वारदातलाई अपराधिक गाम्भीर्यता घटाउने परिस्थितिको रुपमा लिइन्छ । मनसाय तत्वको अभावका साथै भवितव्यको घटनामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिन्छ । आवेशपूर्ण स्थितिमा पीडित (मृतक) उपर कर्ता आक्रमक अवस्थामा रहन्छ, जुन भवितव्यमा नहुने ।

(प्रकरण नं.४)

§  फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नु पर्ने खास उद्देश्य (Motive) भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए पनि सवै परिस्थितिमा सवै मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था पनि रहदैन् । तथापि प्रतिवादीमा आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निस्कन्छ भन्ने ज्ञान भई त्यो परिणामको पूर्वानुमान लगाएको साथै त्यो परिणाम निस्कियोस् भन्ने इच्छा राखेको हुन्छ । तर कानूनले आत्मरक्षा वा प्रतिरक्षाको परिस्थितिको व्यवस्था गरेको छ, जसलाई वैध प्रतिरक्षाको उपस्थिति Presence of valid defense मानिन्छ, त्यो अवस्थामा केही गर्दा जुल्मीको मृत्यु भएमा त्यो मनसायप्रेरित हत्याको अपवाद स्वरुप देखा पर्ने ।

(प्रकरण नं.८)

§  मारौ भन्ने मनसायसहित प्रतिवादीले मृतकलाई कुटपीट गरेको पुष्टि हुने प्रमाण मिसिलमा मौजुद नदेखिएको अवस्थामा प्रतिवादीले मृतकलाई ज्यान मारौँ भन्ने मनसायले नै कुटपीट गरेको र मृतकको मृत्यु भएको ठहराउनु न्यायसंगत नहुने ।

(प्रकरण नं.११)

§  आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आँफैलाई नियन्त्रण गर्न नसकी उत्तेजित भै आफ्नो कर्तव्यबाट हुने परिणामको ख्यालै नगरी पीडित उपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । तथापि प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने ।

§  पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिकरुपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्ने ।

§  आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितीय हिसावमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय सम्वेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन प्रतिवादीले आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (Self-induce Provocation) गरेको भन्ने हुन नहुनुका साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling Off Blood) अवस्थाले पनि आवेशको स्थितिलाई वर्जित गर्ने ।

(प्रकरण नं.१२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद अयाल र गोविन्द गौतम

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १, , , , १०, १३, १३(३) र १४

 

फैसला

न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम पुनरावेदन अदालत तुलसीपुर दाङको २०६४।११।५। को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्न बमोजिम छः

जितबहादुरले अगाडि पटक पटक झगडा गरी जयमतिलाई मार पिट गर्थ्यो । गर्ज र खड्गबहादुरको घरमा भेडा काटिरहेको बखत २०६३ माघ १ गते विहान जयमतिले रक्सी खाई जितबहादुरसँग झगडा गर्दा अरुले छुट्याई दिएका । जयमति घर जान लागेकीमाबाटोमा जितबहादुरले कुटे छ । जयमति घर गै सुतेको भोलिपल्ट विहान उठ्दिन भनी जितबहादुरले गर्पा २ बस्ने रुद्रबहादुर रोक्काको घरमा गई वोलाएकोले ग हेर्दा जयमति मरिसकेको देखि अरुलाई खवर गरी हेर्दा जयमतिको शरीरमा र भित्री भागमा परेको चोटले जयमति मरेको निश्चय भएकोले लास बोकी कपुरकोट चौकीमा राखी जाहेर गरेको छु । पक्राउ गरी ज्यान सम्बन्धीको १३ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने कृष्णबहादुर खत्रीको २०६३।१०।४ मा दर्ता भएको जाहेरी दर्खास्त।

जितबहादुर बुढाथोकीको एकतले फुसले छाएको एकतले घरमा रहेको २ वटा कोठाहरू मध्ये पूर्वतर्फको कोठामा निज जितबहादुरले आफ्नै श्रीमती जयमति बुढाथोकीलाई २०६३।१०।२ गते विहान ८.०० बजेको समयमा कुटपीट गरी मारेको घटना स्थल विवरण ठीक साँचो हो भन्ने घटनास्थल मुचुल्का ।

शरीरको विभिन्न भागमा चोटपटक तथा निलडाम रहेको, निधारमा सानो घाउ रहेको, दाहिने कान मुनि चोट रहेको, दुवै छातीमा निलडाम, दुवै कम्मरको साइडमा तछारिएको घाउ, चिउँडो मुनि र दुवै ओठमा सानो घाउ, मलद्वारबाट थोरै दिशा निस्किएको, योनीको वाँया भागमा सानो चोट र सुन्निएको भन्ने लाश जाँच मुचुल्का ।

२०६३।१०।१ गते माघे सक्रान्तीको दिन विहान ११.०० बजे खड्गबहादुर रानाको घरमा भेडा मरेको हुँनाले भेडाको मासु लिन म र मेरो भान्जा पर्ने रुद्रबहादुर रोक्का भई दुवै जना गई भेडाको मासु काटकुट गरी भेडाको मासु लिई रुद्रबहादुर रोक्काको घरमा आएका थियौं र जाँडरक्सी खाईरहेका थियौँ । त्यस्तै साँझ अन्दाजी ५ बजेको समयमा मेरो श्रीमती जयमति बुढाथोकी रुद्रबहादुरको घरमा आइन, निजले मादक पदार्थ सेबन गरेकी थिईन । सो समयमा मैले पनि मादक पदार्थ सेबन गरेको थिएँ । मलाई जाँडरक्सीको मात बढी लागेको थियो । मैले श्रीमतीलाई आइमाईले जाँडरक्सी खान हुँदैन, खाएको पनि सुहाउँदैन भनी रिसले निजको छातीमा, योनीमा, अनुहारमा तथा शरीरका विभिन्न भागहरूमा लगातार अन्दाजी ६,७ पटक जति लात्ती मुड्कीले कुटपीट गरेको हुँ । रुद्रबहादुर रोक्काले कुटपीट गर्न रोकेका थिए । केही समय रुद्रबहादुर रोक्काको घरमा श्रीमतीलाई सुताई मैले फेरी जाँडरक्सी खाएँ । अन्दाजी ६.३० बजे तिर रुद्रबहादुरको छोरा श्याम रोकाले मेरी श्रीमती जयमतिलाई वर्किले बोकी मेरो घरतर्फ जाने क्रममा मैले मासु बोकेको थिएँ । दुवै भाइ घरतर्फ जाने क्रममा बाटोमा मैले निज जयमतिलाई विसाएको वेलामा पुनः लात्तीले निजको पुट्ठामा हानेको थिएँ । घरमा म र श्री मतीलाई पुर्‍याएर श्याम रोक्का आफ्नो घरतर्फ फर्किए । राति श्रीमतीले खाना खाइनन् । भोलिपल्ट विहान अन्दाजी ७.३० बजे तिर रुद्र बहादुरलाई मैले नै बोलाउन गएं । जाहेरवाला कृष्णबहादुर खत्रीलाई मेरी बहिनी रामसरी पुनलाई वोलाउन पठाएकोमा निजहरू मेरो घर आइपुग्दा श्रीमती जयमति बुढाथोकीको शरीर चिसो भइसकेको थियो । सोही दिन विहान अन्दाजी ८ बजे तिर कुटपीटको कारणले मेरी श्रीमतीको मेरै घरको भुइ तलामा मृत्यु भएको हो । मैले श्रीमतीलाई कुटपीट गरेको रुद्रबहादुर रोक्का, श्याम रोक्का र रुद्रबहादुरको छिमेकी एकजना महिलाले देखेका थिए । हामी बीच पटक पटक झगडा भै रहन्थ्यो । श्रीमतीले र मैले दुवैले जाडँ रक्सी सेबन गर्ने गर्दथ्यौ । मेरी श्रीमती जयमति बुढाथोकीले जाँडरक्सी खाने गरेको कारण निजलाई कुटपीट गरी मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी जितबहादुर बुढाथोकीले जिल्ला सरकारी वकील कार्यालय सल्यानका का.मु. जिल्ला न्यायाधिवक्ता समक्ष गरेको वयान ।

२०६३।१०।२ गते मेरी श्रीमतीलाई सन्चो छैन, मेरो घरमा जाउँ भान्जा भनी मामा प्रतिवादी जितबहादुर बुढाथोकीले भनेको हुँदा निजको घरमा गई हेर्दा मृतक जयमतिको अलि अलि सास मात्र थियो । विहान ८.०० बजेको समय तिर जयमति बुढाथोकीको मृत्यु भएको हो । २०६३ साल माघे सक्रान्तीको दिन १ बजे तिर खडकबहादुर रानाको घरमा भेडा मरेको हुनाले भेडाको मासु लिनको लागि गएको थिएँ । जितबहादुर बुढाथोकी विहान ११.०० बजे तिरै गएका रहेछन् । हामी दुवै जनाले भेडा काटकुट गरी मासु लिई २ बजे तिर मेरो घरमा आई जाडँपानी, खाना पनि खायौँ। केही समय पछि जयमति मेरो घरमा आएकी  थिइन् । दुवै जना श्रीमान श्रीमती बीच माइती जाने विषयमा बादविवाद हुँदा जितबहादुर बुढाथोकीले जयमति बुढाथोकीलाई शरीरको विभिन्न भागमा कुटपीट गरेका हुँदा झगडा गर्न नदिई कुटपीट रोकेको थिएँ । जयमतिलाई मेरो घरको कोठामा सुताए पछि जितबहादुरले पुनः रक्सी सेबन गरेका थिए । साँझ ६.०० बजे तिर मेरो छोरा श्याम र जीतबहादुरले जयमतिलाई उठाई बर्कीले बोकी दुवै जना निजको घरतर्फ गएका हुन् । भोलिपल्ट विहान निजको घर गई हेर्दा जयमतिको शरीरको विभिन्न भागमा चोटपटक देखिएको थियो । जितबहादुरले कुटपीट गरेको कारण जयमतिको मृत्यु भएको हो भन्ने रुद्रबहादुर रोक्काले अनुसन्धान अधिकृत समक्ष गरेको कागज ।

२०६३।१०।१ गते बुबा रुद्रबहादुर रोका र प्रतिवादी जितबहादुर बुढाथोकीले हाम्रै छिमेकी खडकबहादुर रानाको घरमा गई मरेको भेडा काटकुट गरी मासु ल्याइ जाँडरक्सी खाएका रहेछन्। जयमति पनि २, ३ बजे तिर आएकी थिएन् रे । हाम्रै घरमा जीतबहादुर र जयमति बीच माइती जाने विषयमा वाद विवाद तथा झै झगडा हुँदा जीतबहादुर बुढाथोकीले निजकी श्रीमतीलाई शरीरको विभिन्न भागमा कुटपीट गरेका रहेछन् । निजहरूको झैं झगडा तथा कुटपीट हुँदा बुवा रुद्रबहादुर रोकाले छुट्याई दिनु भएको रहेछ । साँझ ६ बजे तिर म घरमा आए पछि म र प्रतिवादी जितबहादुर बुढाथोकीले पालै पालो जयमतिलाई वर्कोले बोकी निजको घरतर्फ ल्याउने क्रममाबाटोमा विसाएको वेलामा पनि लात्ती मुड्कीले जितबहादुरले जयमतिलाई प्रहार गरेका थिए। त्यसवेला मैले प्रहार गर्न रोकेको थिएँ । जयमतिलाई घर पुर्‍याई साँझ ८.०० बजे तिर घरमा फर्किएको थिएँ । भोलिपल्ट विहान १० बजे जयमतिको मृत्यु भएको गाउँलेहरूबाट थाहा पाएको हुँ। जितबहादुर बुढाथोकीको कुटपीटको कारण जयमतिको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने श्याम रोक्काले अनुसन्धान अधिकृत समक्ष गरेको कागज ।

Cause Of death consistent with multiple injuries भन्ने मृत्युको कारण खुलेको शव परीक्षण प्रतिवेदन ।

जित बहादुर बुढाथोकीको कुटपीट कर्तव्यबाट जयमति बुढाथोकीको मृत्यु भएको विश्वास लाग्छ भन्ने समेत व्यहोराको ज्ञानबहादुर वली समेत ५ जनाले लेखाई दिएको घटना विवरण कागज ।

प्रतिवादी जितबहादुरले श्रीमती जयमतिलाई लात्ती मुड्कीले निजको शरीरको संवेदनशील भाग छाती, योनी लगायत शरीरको विभिन्न भागमा जोडसँग लगातार निर्मम प्रहार गर्नुको साथै घटनास्थलबाट घरतर्फ जाँदाबाटामा समेत कुटपीट गरेको देखिन आएकोमा लास जाँच प्रकृति विवरण मुचुल्का तथा शव परीक्षण प्रतिवेदनबाट समेत मृतक शरीरमा प्रशस्त घा खत, निलडाम देखिन आएकोले प्रतिवादी जितबहादुरले मलुकी ऐन ज्यानसम्बन्धी महलको १ तथा १३(३) बमोजिमको कसूर गरेको हुँदा निजलाई सोही ऐनको दफा १३(३) बमोजिम सजाय हुन माग दावी लिइएको भन्ने २०६३।१०।२४ मा सल्यान जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र ।

२०६३ साल माघ १ गते खड्गबहादुर रानाको घरमा भेडा मरेको हुनाले सो भेडाको मासु लिन म र भान्जा नाता पर्ने रुद्रबहादुर रोका खड्गबहादुरको घरमा गई चार धार्नी मासु रुद्रबहादुरको घरमा लग्यौं । मामा भान्जाले रक्सी मासु खायौं । सोही खाँदै गरेको अवस्था मेरी श्रीमती जयमति बुढाथोकी रुद्रबहादुरको घरमा गएकी थिइन् । श्रीमतीले पहिले नै रक्सी खाई नसा लागेको थियो । आईमाई मान्छेले रक्सी खानु हुँदैन भनी ३/४ पटक जति गालामा हातले हानो । नहान भनी रुद्रबहादुर र निजको श्रीमतीले छुट्याई भित्र लगी सुताएका थिए । पछि म हेर्न जाँदा सुतेको पलङबाट श्रीमती भुइमा खसेकी थिईन । धेरै रक्सी लागेछ भनी २ जग पानी श्रीमती जयमतिको शरीरमा पोखी दिएँ, त्यसपछि श्रीमतीलाई घरमा लैजानु पर्‍यो भनी आफैंले वोकी रुद्रबहादुरको घर देखि माथिसम्म ल्याएँ । साथमा मासु र बच्चा भएकोले मैले बोकी ल्याउन सकिन, रुद्रबहादुरको छोरा श्याम रोका भेट भएकोले निजले श्रीमतीलाई नवोक्दै एक पटक मृतक श्रीमतीलाई लात्तले हानेको हुँ । श्रीमती वेहोस जस्तै भएकी थिइन् । पछि श्याम रोकाले बोकी घरमा ल्याई पुर्‍याए पछि विस्तारा लगाई सुताई दिएको हुँ । उस वखत मरेको थिइनन् । अलि अलि सास फेर्ने गरेकी थिईन् । भोलिपल्ट विहान ४ बजे तिर उठी मृतक श्रीमतीलाई वोलाई हातले हल्लाएँ, वोलिन । अलि अलि  सा फेर्ने गरेको थियो । विहानको ६ बजे तिर भुत देउता केही लागेको छ की भनी रुद्रबहादुरको घरमा गई निजलाई वोलाई  ल्याएँ । अक्षता हेराउँदा रिङने भुत लागेको छ भनी भन्नु भयो, सो भूतलाई मनाउनको लागि सर सामान बनाई फालफुल गरिसकेपछि पनि श्रीमती उठ्न सकिन । सोही विहानको ८ बजे श्रीमतीको मृत्यु भयो । मृतक श्रीमतीलाई मार्छु भन्ने नियत राखी हानी मारेको होइन । श्रीमतीले रक्सी खाएको हुनाले आईमाई जातिले रक्सी खानु हुँदैन भनी चेताबनी दिनको लागि मैले निजलाई हातले लात्तीले हानेको हुँ । सोही कुटाइको चोट पिरले मृतक श्रीमती जयमतिको मृत्यु भएको हो । अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयान मेरो स्वैच्छाले गरेको हुँ भन्ने व्यहोराको प्रतिवादी जितबहादुर बुढाथोकीले सल्यान जिल्ला अदालतमा गरेको वयान ।

मौकामा गरेको व्यहोराको कागजमा लेखिएको सहिछाप मेरो हो । ज्वाँई बस्ने ठाउँ च्यान डाँडामा सालीलाई मारे भन्ने खवर सुनेर ज्यांईको घर आयौं । वहिनीको मृत्यु भै सकेको थियो । ज्वांईलाई के कसरी मृत्यु भयो भनी सोध्दा मैले २ पटक हानेको चोटको कारणले मृत्यु भयो भनेका थिए । जयमतिको मृत्यु ज्वाँई जितबहादुर बुढाथोकीको कुटाइबाट भएको हो भन्ने भद्रवीर खत्रीको वकपत्र ।

मौकामा गरेको व्यहोराको कागजमा लेखिएको सहिछाप मेरो हो । मृतक जयमतिको मृत्यु दुई जनाको झगडाको कारणले भएको हो, मृतकको लासमा के कस्तो चोटपटक लागेको थियो, मैले देखिन भन्ने रामसरी पुनको वकपत्र ।

२०६३ साल माघ १ गते जितबहादुरसँग खड्कबहादुर रानाको घरमा भेट भएको हो । भेडाको मासु लिएर मेरो घरमा आई मासु पकाई जाँड पानी खाएर बसेका थियौँ । अं. २ बजे तिर बहिनी जयमति आइन् र माइत जाने विषयमा वादविवाद चलेको थियो । त्यसै वखत कुटपीट भयो । कुटपीट पछि मैले छुट्याई वहिनीलाई कोठामा लगेर सुताई राख्यौँ । साँझ ५ बजे मामा आउनु भयो र ६ बजे तिर मेरो छोरा श्याम रोकासँग बोकेर घरमा लानु भयो । श्याम रोकासँग बोकेर लिँदै घरमा जाने वेलामा बाटामा कुटपीट गरेका हुन् भन्ने सुनेको हुँ । लोग्ने जितबहादुर बुढाथोकीको अघिल्लो दिनको कुटपीटको कारण मृत्यु भएको हो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने तथा प्रतिवादीका साक्षी रुद्रबहादुर रोकाको वकपत्र ।

मौकामा गरेको कागजमा भएको व्यहोरा र सहि छाप मेरो हो । मृतकलाई आफ्नै लोग्ने जितबहादुर बुढाथोकीले कुटपीट गरी सोही कुटपीटको चोटले मृत्यु भएको कुरा स्थानीय गाउँलेद्वारा सुनि थाहा पाएको हुँ । निजले किन कुटपीट गरी मारे थाहा भएन भन्ने मौकामा कागज गर्ने भुपबहादुर हमालले गरेको वकपत्र ।

मौकामा गरेको कागजमा भएको व्यहोरा र सहिछाप मेरो हो । घटनाको विवरण प्रत्यक्ष मलाई थाहा छैन । प्रतिवादीले मृतकलाई कुटपीट गरेपछि रुद्रबहादुरको छोरा श्याम रोकाले आधाबाटोसम्म वोकी मृतकलाई लगेको कुरा गाउँका मानिसबाट सुनी थाहापाऊँ । जीतबहादुरलाई सोध्दा मैले कुटेको हुँ भनी भोलिपल्ट भन्दा थाहा पाएको हुँ भन्ने मौकामा कागज गर्ने ज्ञानबहादुर वलीको बकपत्र ।

जाहेरीमा लेखिएको व्यहोरा मैले भने बमोजिम लेखिएको हो । २०६३ साल माघ १ गते प्रतिवादी जितबहादुर बुढाथोकी रुद्रबहादुरको घरमा गएका रहेछन् । निज रुद्रबहादुरकै घरमा अन्दाजी १.३० बजे तिर बहिनी जयमति पनि सोही घरमा गएकी रहेछिन् । निजहरू जयमति र जितबहादुर बीच पहिले देखि नै सामान्य झैं झगडा हुन्थ्यो । त्यस दिन प्रतिवादीले मादक पदार्थ खाएका  रहेछन् । यसै बीच वोलावोल भएको र त्यसपछि प्रतिवादी जितबहादुरले कुटपीट गरेकोले सोही कुटाइको चोटपटकबाट मृतक जयमतिको मृत्यु भएको हो । मृतकलाई रुद्रबहादुरको घरमा र त्यहाँबाट वोकाई घरतर्फ लग्दाबाटामा र घरमा समेत लात मुक्काले शरीरको विभिन्न भागमा कुटपीट गरेका हुन् ।बाटोमा २/४ पटक मात्र हानेको चोटले मात्र मान्छे मर्दैन । घरमा लगी कुटपीट गरेको हुनुपर्छ भन्ने जाहेरवाला कृष्णबहादुर खत्रीको वकत्रप 

जयमतिको मृत्यु जितबहादुर बुढाथोकीको कर्तव्यबाट भएको भन्ने सुनेको हुँ । मृतकलाई के हतियार प्रयोग गरी मारिएको हो, मलाई थाहा  छैन । लोग्ने स्वास्नीको झगडा के थियो, मलाई थाहा छैन । लोग्नेको कुटाईबाट चोट लागेको कुरा सुनेको हुँ भन्ने प्रतिवादीका साक्षी चित्रबहादुर रानाको वकपत्र ।

पूर्व रिशइवि वा अरु मार्नुपर्ने थप कारण नरहेकोले विवेकसम्मत रुपबाट हेर्दा मनसाय पनि नभएको, पूर्व इवि लाग नरहेको, जोखिमी हतियार पनि प्रयोगमा नआएको तर उच्च रुपमै होस नपुर्‍याई लात मुक्काले प्रहार गरी सोही चोटबाट मृतकको मृत्यु भएकोले त्यत्रो प्रहार गर्दा आवेश नै थिएन भन्न सकिने आधार नभएकोले प्रतिवादी जितबहादुर बुढाथोकीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १/१४ नं. बमोजिमको कसूर गरेबाट निजलाई सोही महलको १४ नं. बमोजिमको कैद वर्ष १० हुने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतबाट २०६४।२।६ मा भएको फैसला ।

मृतकको शरीरमा संवेदनशील अंगहरूमा धेरै चोटपटक भएको पाइन्छ । पहिले देखि नै श्रीमान श्रीमती बीच झगडा भईरहने बुझिएका मानिस ज्ञानबहादुर वली समेतले लेखाई दिएको अवस्थामा निजले तत्काल उठेको आवेशबाट कुटपीट नगरी मार्ने मनसायले कुटपीट मरणासन्न अवस्थामा पुर्‍याए पछि त्यहाँ उपस्थित मानिसहरूले छुट्याएको कारण मृत्यु हुन नसकेको अवस्थामा श्याम रोकाले बोकेर घर लैजाँदाबाटामा प्रतिवादीले जयमतिलाई पुनः लात्तीले हानी मार्ने मनसायले नै कुटपीट गरेकोले निजको मृत्यु भएको कुरा प्रतिवादीले स्वीकार गरेको अवस्थामा आवेश प्रतिरत थियो भनी १४ नं. को गलत व्याख्या गरी प्रतिवादीलाई राहत दिने मनसायबाट प्रेरित भई फैसला गरेको देखिँदा सल्यान जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा २०६४।३।२६ मा दर्ता भएको पुनरावेदन पत्र ।

मृतक जयमतिले पहिले देखि रक्सी खाई मात्तिएको कारणले मैले रुद्रबहादुरको घरमा हातले हानेको कुरासम्म उल्लेख गरेको कुराले आरोपित कसूर र ज्यानसम्बन्धीको १४ नं. को कसूर प्रमाणित हुन सक्दैन । अदालतमा घटनाको वास्तविकता उजागर गरी मृतक जयमतिलाई निजले रक्सी खाएको कारण ३/४ पटक गालामा हिर्काएको, बोकी घरमा ल्याई सुताएको उल्लेख गरेको कुराले मैले कर्तव्य गरी मारेको कुराको साविति भन्न नमिली मैले रक्सी खाएको .राम्रोे होइन भन्ने शिक्षा दिने नियतबाट सामान्य ३/४ पटक हानेको, जिउमा २ जग पानी पोखी दिएको, सोको भोलिपल्ट मृत्यु भएको कुरा तथ्यले पुष्टि गरी रहेकोमा ज्यानसम्बन्धी महलको ५ नं. बमोजिमको अवस्था र १४ नं. बमोजिमको अवस्था फरक फरक अवस्था भएकोमा सोको विवेचना नगरी ज्यानसम्बन्धीको १४ नं. बमोजिमको कसूर ठहर्‍याएको शुरु सल्यान जिल्ला अदालतको फैसला प्रतिपादित नजिर सिद्धान्त तथा प्रमाण ऐन, २०३१ को दफा २५, ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रतिकूल हुँदा उल्टी गरी अभियोग दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत तुलसीपुरमा २०६४।५।७ मा दर्ता भएको पुनरावेदन पत्र ।

प्रतिवादी जितबहादुर बुढाथोकीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १४ नं. को कसूरमा ऐ.को १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्‍याई सल्यान जिल्ला अदालतबाट मिति २०६४ साल जेठ ६ गतेमा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुलसीपुर दाङ्गको २०६४।११।५ को फैसला ।

मैले श्रीमतीलाई मार्छु भन्ने नियत राखी हानी मारेको होइन । निजले रक्सी खाएको हुनाले आइमाई जातिले रक्सी खानु हुँदैन भनी चेताबनी दिनको लागी कुटपीट गरेको हुँ भनी घटनाको वास्तविक सत्य तथ्य उल्लेख गरी मैले वयान गरेकोमा सो वयान मुद्दाको सत्य तथ्य यथार्थ हो । सो तथ्यलाई विस्थापित गर्ने कुनै प्रमाण मिसिलमा छैन । मेरो र श्रीमती बीच पटक पटक झगडा हुने गर्दथ्यो भन्ने जाहेरीमा उल्लिखित कथन पुष्टि हुने कुनै आधार छैन । अदालतमा वयान गर्दा घटनाको वास्तविकता उजागर गरी श्रीमती मृतक जयमतिलाई निजले रक्सी खाएको कारण ३/४ पटक गालामा हिर्काएको बोकी घरमा ल्याई सुताएको उल्लेख गरेको कुराले मैले कर्तव्य गरी मारेको कुराको साविती भन्न नमिल्ने, मेरो वयानको डिग्री, मात्रा र अवस्थाको विवेचना नगरी मैले आफ्नी श्रीमतीलाई मार्नु पर्ने कारणको सिर्जना नै नभएको कुनै पूर्व र तत्काल रिसइवी आवेश समेत नभएको, मैले आफ्नो जीबन संगिनीलाई मार्नुपर्ने मनसाय, इविलाग, योजना, षडयन्त्र भएको भनी कसैले देखाउन नसकेको अवस्थामा रक्सी छुटाउने उद्देश्यले सामान्य ३/४ पटक हानेको, जीउमा २ जग पानी पोखी दिएको सोको भोलिपल्ट निजको मृत्यु भएको कुरा तथ्यले पृष्टि गरी ज्यानसम्बन्धी महलको ५, ६ नं. बमोजिमको अवस्था देखिइरहेको र वादी पक्षले अभियोग दावी प्रमाणित गर्न नसकेकोमा शुरु सल्यान जिल्ला अदालतको फैसला बदर उल्टी गर्नुपर्नेमा सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला प्रतिपादित नजीर सिद्धान्त तथा प्रमाण ऐन, २०३१ को दफा २५, ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रतिकूल हुँदा बदर उल्टी गरी अभियोग दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा २०६५।४।२३ मा दर्ता भएको पुनरावेदन पत्र ।

मृतकको लाश प्रकृति विवरण, तथा शव परीक्षण प्रतिवेदन हेर्दा निधारमा घाउ, दुवै आँखामा निलडाम, दाहिने कान मुनि चोट, दुवै छातिमा निलडाम, वाँया कुममा घाउ, चिउँडो ओठमा घाउ, योनीको बाँया भागमा चोट रहेको र सुन्निएको र संघर्षका चिन्हहरू रहेको भन्ने उल्लेख भएबाट मृतकको शरीरमा विभिन्न भागमा चोट लागेको अवस्था देखिएको छ । प्रतिवादी आफ्नी श्रीमतीलाई कुटपीट गरेको कुरामा अदालतमा समेत सावित छन् । वयान गर्दा निजले श्रीमतीलाई रुद्रबहादुरको घरमा कुटेकोमा रुद्रबहादुर र निजको श्रीमतीले छुट्याई दिएको, रुद्रबहादुरको घरबाट आफ्नो घरमा ल्याउँदा श्याम रोक्काले बोक्नु भन्दा पहिले लातले हानेको भनेका छन् । धेरै पटक चोट छोडेको र शरीरको अन्य भागमा नीलडामहरू समेतका चोट देखिएको हुँदा प्रतिवादी आवेशमा आई प्रहार गरेको भनी ज्यान सम्बन्धीको १४ नं.आकर्षित हुने अवस्था नदेखिने भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त (नि.नं. ७११८, नेकाप २०५९ पृ ५०१) को रोहमा पुनरावेदन अदालतबाट जिल्ला अदालतबाट भएको फैसला सदर गरेको हदसम्म त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग मागदावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा २०६५।७।१७ मा दर्ता भएको पुनरावेदन  पत्र ।

नियम बमोजिम पेसी सूचीमा चढी आज यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकीर सहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट सहन्यायाधिवक्ता किरण पौडेलले मृतकलाई कुटपीट गरेकोमा प्रतिवादी मौकामा र अदालतमा सावित छन्, मृतकको शरीरको विभिन्न भागमा चोटपटक देखिएको र संघर्षको लक्षण देखिएको छ, तत्काल उठेको रिसमा कुटेको नभै घर आउँदाबाटामा समेत कुटपीट गरेको अवस्था हुँदा मृतकलाई प्रतिवादीले आवेशमा आई कुटेको भन्न मिल्दैन, अभियोग दावीबमोजिम सजाय गर्नुपर्नेमा आवेश प्रेरित हत्याको कसूर कायम गरी सजाय गरेको फैसला मिलेको छैन भनी र पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ता रामप्रसाद अर्याल र गोबिनद गौतमले प्रतिवादीले मृतकलाई आइमाईले रक्सी खानु हुँदैन भनी हप्काई २/४ थप्पड हानेको र आफू समेत भै बोकी घरमा लगि सुताएको छ, पत्निले रक्सी खाई आएको अवस्था  रक्षा शिक्षा गर्नेले २/४ थप्पड हान्नुलाई मार्ने नियतले हानेको भन्न मिल्दैन, मृतकलाई मार्नुपर्ने रिसइवि पनि छैन, घरमा लगेपछि धामी समेत लगाएको अवस्था हुँदा रक्षा शिक्षा गर्नेले २/४ थप्पड हान्दा कुठाउँमा लाग्न गएको अवस्थालाई आवेश प्रेरित वा मनसाय प्रेरित भनी व्याख्या गरीनु हुँदैन, वारदात पूर्णरुपमा भवितव्य भन्ने देखिँदा आवेश प्रेरित हत्याको कसूर ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी गर्नु भएको बहस समेत सुनियो ।

२.  पक्ष विपक्षका तर्फबाट प्रस्तुत भएको उपयुक्र्त बहस जिकीर एवम् मिसिलबाट देखिएको तथ्य समेतलाई मध्यजनर राखी इन्साफतर्फ विचार गर्दा, प्रतिवादी जितबहादुर बुढाथोकीले श्रीमती जयमतिलाई कुटपीट गरेको कारणबाट निजको मृत्यु भएको पुष्टि भएको भन्ने आधारमा ज्यानसम्बन्धी महलको १ नं. तथा १३ नं. बमोजिमको कसूरमा सोही महलको १३(३) नं. बमोजिम सजायको माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । शुरु जिल्ला अदालतले प्रतिवादी जितबहादुरले ज्यानसम्बन्धी महलको १/१४नं. विपरीतको कसूर गरेको ठहर्‍याई सोही महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर गरेकोमा पुनरावेदन अदालतले शुरु जिल्ला अदालतको इन्साफलाई सदर हुने ठहर्‍याएको देखिन्छ ।

३.  प्रतिवादीले आफूले पत्निलाई मार्नुपर्ने कारण नभएको, तत्काल रिस आवेश समेत नभएको हुँदा रक्सी छुटाउने उद्देश्यले सामान्य ३/४ पटक मात्र हानेको ज्यानसम्बन्धीको ५/६ नं. को अवस्था देखिएको भनी पुनरावेदनमा जिकीर लिएको देखिन्छ । त्यस्तै वादी नेपाल सरकारले प्रतिवादीले धेरै पटक चोट छाडेको हुँदा ज्यानसम्बन्धीको १४ नं. आकर्षित हुन नसक्ने भनी अभियोग दावीबमोजिम अर्थात् ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम नै सजाय हुनुपर्छ भनी पुनरावेदन गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले मृतक जयमतिलाई (कुटपीट गरेको तथा कुटपीटको कारण मृतकको मृत्यु भएको भन्ने कुरा प्रतिवादीले मौकामा तथा अदालतमा समेत स्वीकार गरेको अवस्था हुँदा मृतकको मृत्युको कारण प्रतिवादीको कुटपीट रहेको भन्ने तथ्यमा प्रस्तुत पुनरावेदनको रोहमा थप विवेचना गरिरहनु पर्ने देखिन आएन । तथापी प्रतिवादीले मृतकको मृत्युलाई भवितव्य भनेको, वादीले मनसायपूर्वक कुटपीट गरी हत्या गरेको भनेको र शुरु तथा पुनरावेदन अदालतले आवेश प्रेरित हत्या भनेको अवस्था छ ।

४.  अब प्रतिवादीको पुनरावेदन जिकीर अनुरूप मृतकको मृत्यु भवितव्य थियो वा थिएन भन्ने सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. को कानूनी व्यवस्था हेर्दा, ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्य मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्धारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने उल्लेख भएको  पाइन्छ । उपरोक्त कानूनी व्यवस्था विश्लेषण गरी हेर्दा मानिस मार्ने मनसाय नभएको, मार्नु पर्ने ईवि लाग समेत नभएको र आफूले गर्ने कामले मानिस मर्ला जस्तो पनि नदेखिएको अवस्थालाई इंगित गरेको देखिन्छ । आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत भै सो कार्यतर्फ लक्षित रहेको अवस्थामा दुर्भाग्यबश मानिसको मृत्यु भएमा त्यो भवितब्य हुने कानूनी मनसाय देखिँदा भवितव्य हत्यालाई सांयोगीक घटनाको रुपमा लिईन्छ । संगोगवश मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रुपमा हेरिदैन र मनसाय तत्वको अभावको कारण यस्तो वारदातलाई अपराधिक गाम्भीर्यता घटाउने परिस्थितिको रुपमा लिइन्छ । मनसाय तत्वको अभावका साथै भवितव्यको घटनामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिन्छ । आवेशपूर्ण स्थितिमा पीडित        (मृतक) उपरकर्ता आक्रमक अवस्थामा रहन्छ, जुन भवितव्यमा हुँदैन ।

५.  प्रतिवादीको कार्यलाई विचार गर्दा, प्रतिवादी जितबहादुरले मृतक जयमतिलाई रुद्रबहादुर रोक्काको घरमा निज मादक पदार्थ सेबन गरी आएकीले आईमाईले जाँडरक्सी खाएको सुहाउँदैन भनी रिसले निजको छाती, अनुहार, योनी तथा शरीरका विभिन्न भागमा लात्ती मुड्कीले कुटपीट गर्दा रुद्रबहादुरले छुट्याई निजले आफ्नो घरमा लगी सुताएको, साँझमा रुद्रबहादुरको छोरा श्याम रोक्काले बोकी घरतर्फ जाने क्रममा बाटोमा विसाएको वेला पुट्ठामा लात्तले हानेको, राति श्रीमतीले खाना नखाएको र भोलिपल्ट अन्दाजी ८ बजे तिर कुटपीटकै कारणले निजको मृत्यु भएको भनी प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारी समक्ष वयान गरेको र अदालतमा समेत उक्त वयानलाई स्वीकार गरी वयान गरेको पाइन्छ । प्रत्यक्षदर्शी अर्थात् झगडा छु्ट्याउने रुद्रबहादुर रोक्काले मौकामा कागज गर्दा निजको घरमा प्रतिवादी जितबहादुर र निजकी श्रीमती बीच माइत जाने विषयमा वादविवाद हुँदा जितबहादुर बुढाथोकीले जयमति बुढाथोकीलाई शरीरको विभिन्न भागमा कुटपीट गरेको हुँदा झगडा गर्न नदिई आफूले रोकेको र जयमतिलाई आफ्नो घरको कोठामा सुताई साँझमा छोरा श्याम र जितबहादुरले बोकी लगेको भन्ने उल्लेख गरेको र अदालतमा समेत सोही व्यहोरालाई स्वीकार गरी वकपत्र गरेको अवस्था छ ।

६.  यसरी प्रतिवादीको वयानबाट पत्निले मादक पदार्थ सेबन गरेको कारणबाट निजलाई कुटपीट गरेको भन्ने देखिएको तथा प्रत्यक्षदर्शी रुद्रबहादुरको भनाईमा माइत जाने विषयमा वादविवाद हुँदा प्रतिवादीले मृतकलाई कुटपीट गरेको भन्ने उल्लेख भएको अवस्था भएपनि प्रतिवादीले मृतकलाई कुटपीट गरेको तथ्य निर्विवाद स्थापित छ । लासजाँच मुचुल्काबाट मृतकको शरीरका विभिन्न भागमा चोट पटक तथा निलडामहरू रहेको भन्ने देखिन्छ भने पोष्ट मार्टम रिपोर्टबाट पनि मृतकको शरीरमा ठाउँ ठाउँमा चोट पटक तथा संघर्षका चिन्हहरू रहेको भन्ने देखिई मृत्युको कारण पनि Multiple Injuries अर्थात् धेरै चोटपटक रहेको नै देखिन्छ । मृतकलाई प्रतिवादीले मार्ने नियत राखेको भन्ने मिसिलबाट नदेखिए पनि मृतकसँग विवाद भएको अवस्था कुटपीट गर्ने नियतले नै शरीरका विभिन्न भागमा जथाभावी हानी मृतक हिडडुल गर्नै नसक्ने गरी निर्घात कुटपीट गरेको देखिन्छ र कुटपीट गरेको भोलिपल्ट मृतकको मृत्यु भएको पाइन्छ । मृतकलाई रुद्रबहादुरले नछुट्याउन्जेल प्रतिवादीले लगातार जथाभावी लात्ती र मुड्कीले कुटपीट गरेको भन्ने प्रतिवादी स्वयंमले स्वीकार गरी रहेको देखिँदा प्रतिवादीले पुनरावेदनमा जिकीर लिए अनुरूप मर्नेको हितको निम्ती २/४ थप्पड हानेको र भवितव्य पर्न गएको भन्ने देखिन आएन । 

७.  वादी नेपाल सरकारको पुनरावेदन जिकीरअनुरूप प्रतिवादीको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. अनुरूप पर्ने नपर्ने सम्बन्धमा विचार गर्दा ज्यानसम्बन्धी महलको १ नं. मा कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्नु हुँदैनभन्ने र १३(३) मा लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एक जना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यान मारा  ठहर्छ । त्यस्तालाई सर्वश्वसहित जन्मकैद गर्नुपर्छ... भन्ने उल्लेख भएको देखिन्छ ।

८.  उपरोक्त १ नं. विपरीतको कसूरमा १३(३) नं. अनुरूपको सजाय हुन ज्यान मार्ने र मर्ने कुरा गरेको हुनुपर्ने भन्ने देखिँदा प्रतिवादी मानसिक रुपमै ज्यान मार्ने नियतले अग्रसर भएको हुनुपर्ने कुरालाई इंगित गरेको देखिँदा मनसाय तत्वलाई प्रमुख स्थान दिएको देखियो । तथापी हाम्रो कानूनी व्यवस्थाले मनसायपूर्वक गरिने हत्याको सन्दर्भमा स्पष्टरुपमा परिभाषा नगरे पनि कानूनले मनाही गरेको मानिस मार्ने कार्य गर्न नहुने भनी निषेधात्मक दुष्टिकोण अपनाएको पाइन्छ । फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नु पर्ने खास उद्देश्य (Motive) भई त्यसको लागी तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए पनि सवै परिस्थितिमा सवै मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था पनि रहनन् । तथापी प्रतिवादीमा आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निस्कन्छ भन्ने ज्ञान भई त्यो परिणामको पूर्वानुमान लगाएको साथै त्यो परिणाम निस्कियोस् भन्ने इच्छा राखेको हुन्छ । तर कानूनले आत्मरक्षा वा प्रतिरक्षाको परिस्थितिको व्यवस्था गरेको छ, जसलाई वैध प्रतिरक्षाको उपस्थिति (Presence of valid defence) मानिन्छ, त्यो अवस्थामा केही गर्दा जुल्मीको मृत्यु भएमा त्यो मनसायप्रेरित हत्याको अपवाद स्वरुप देखापर्दछ ।

९.  मनसायप्रेरित हत्यामा मार्नेसम्मको क्रिया गरी गम्भीर घाइते बनाएको र त्यसैको पीडाले मृत्यु भएको अवस्था समेतलाई समेट्ने कुरा फौजदारी न्याय प्रणालीमा स्वीकार गरिंदै आएको छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको ८ नं. लाई हेर्दा उक्त महलको ५ नं. ले भवितव्य ठहर्ने बाहेक कुनै अंग भाच्ने छिन्ने गरी हाने कुटेमा त्यो थला परी निको नभए जतिसुकै समय पछि मरे पनि ज्यान माराको वात लाग्छ भन्ने उल्लेख भएको पाइन्छ भने सोही महलको ९ नं. मा ज्यान मार्नाका लागी कुनै अंग भाँच्ने छिन्ने गरी हाने कुटेमा बाहेक मारौं भनी गैह्र मर्ने कुरा गर्दा उसै वखत ज्यान नमरी त्यही मारौं भनी गरेका चोट पीरले उठ्न नसकी थला परी एक्काइस दिन भित्र, अरु सास्ती सासना जोरजुलुम गरेमा तीन दिन भित्र र विष गैह्र खुवाएमा सात दिन भित्र मर्‍यो भने ज्यान मारा ठहर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । उक्त महलको १० नं. को व्यवस्था हेर्दा सोही महलको ५ नं. ले भवितव्य ठहर्ने बाहेक सन्धी कुठाउँमा हातले हान्दा त्यसै पीरले उठ्न नसकी थला परी सात दिन भित्र मर्‍यो वा पीडा पर्ने गरी बाँधछाँद गर्दा त्यसै पीडाले उठ्न नसकी थला परी पाँच दिन भित्र मर्‍यो वा जेसुकै कुरा गर्दा सोही चोट पीरको घाउ डाम पाकी त्यसै पीरले उठ्न नसकी थला परी एक्काइस दिनभित्र मर्‍यो भने त्यसैको कर्तव्यले ज्यान मरेको ठहर्छ । सो म्याद नाघी मरेमा कुटपीटको महल बमोजिम हुन्छभन्ने उल्लेख भएको देखिन्छ ।

१०.  उपरोक्त कानूनी व्यवस्था अनुरूपको समयभित्र पीडितको मृत्यु भएमा त्यसको दायित्व पीडक उपर नै रहने निर्विवाद छ । तथापी माथि उल्लिखित ८, ९ नं. र १० नं.ले गरेको व्यवस्था भवितव्य बाहेक मनसाय प्रेरित हत्या र आवेशप्रेरित हत्या दुवैमा आकर्षित हुने विधायिकी मनसाय देखिन्छ ।

११.  प्रस्तुत वारदातमा प्रतिवादी र मृतक बीच वारदात भन्दा अगाडि कटुतापूर्ण व्यवहार भै मृतकलाई मार्नुपर्नेसम्मको इवि लाग वा मनसाय रहेभएको भन्ने मिसिलबाट देखिएको छैन । रुद्रबहादुरको घरमा मृतक आएपछि प्रतिवादीसँग वादविवाद झगडा गर्दा प्रतिवादीले मृतकको क्रियाकलापको कारणबाट तत्काल उठेको रिसले आवेगमा आई मृतकलाई कुटपीट गरेको भन्ने मिसिलबाट देखिएको र त्यसको परिणाम स्वरुप भोलिपल्ट मृतक मरेको स्थिति छ । मारौं भन्ने मनसायसहित प्रतिवादीले मृतकलाई कुटपीट गरेको पुष्टि हुने प्रमाण मिसिलमा मौजुद नदेखिएको अवस्थामा प्रतिवादीले मृतकलाई ज्यान मारौँ भन्ने मनसायले नै कुटपीट गरेको र मृतकको मृत्यु भएको ठहराउनु न्यायसंगत हुँदैन 

१२.  शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालतले प्रस्तुत घटना वारदातलाई आवेशप्रेरित हत्याको कसूर ठहर्‍याएको अवस्था छ । आवेशको अवस्था (Provocational Situation) पनि Homicide मा अपराधको गाम्भीर्यता घटाउने परिस्थिति Mitigating Circumstance भएको कारण यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रुपमा हेरिंदैन । तथापी प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने मनसाय भने तत्काल जागृत भएको हुन्छ । आवेश भनेको उत्तेजना (Impulse) हो र यस्तो अवस्थामा आफूले आफैंलाई नियन्त्रण गर्न नसकी परिणामको ख्यालै नगरी कुनै कार्य गर्न कर्ता उत्प्रेरित हुन्छ । यो अवस्थालाई Hot Blood अर्थात् गरम रक्त प्रवाहको अवस्था मानिन्छ । आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आफैंलाई नियन्त्रण गर्न नसकी उत्तेजित भै आफ्नो कर्तव्यबाट हुने परिणामको ख्यालै नगरी पीडित उपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । तथापी प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्दछ । पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिकरुपमा (Temporarily) आत्मनियन्त्रण गुमाएको हुनुपर्छ । आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन भन्ने कुरा गणितिय हिसावमा आंकलन गर्न नसकिए पनि यो कुनै घटना, परिस्थिति तथा मानवीय सम्वेदनशीलता जस्ता कुरामा भरपर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन प्रतिवादीले आफैंले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य (self-Induce Provocation ) गरेको भन्ने हुनु  हुँदैन । साथै पीडितको क्रियाकलापबाट उत्तेजित भए पनि त्यो उत्तेजना शान्त भएको (Cooling off Blood) अवस्थाले पनि आवेशको स्थितिलाई वर्जित गर्दछ । त्यसैले ज्यानसम्बन्धी मुद्दाहरूमा आवेशप्रेरित हत्याको सम्बन्धमा विवेचना गर्नुपर्ने अवस्था आएमा प्रतिवादीले मृतकलाई आवेशप्रेरित अवस्थामा आक्रमण गरी मृतकको मृत्यु भएको हो, होइन भन्ने सन्दर्भमा निम्न कुराहरूलाई विश्लेषण गरेर हेर्नु पर्दछः

(क) प्रतिवादीलाई पीडितले स्वस्फुर्तरुपमा उत्तेजित पार्ने कार्य गरेको थियो थिएन ?

(ख) पीडितले गरेको क्रियाकलाप यति गम्भीर थियो थिएन, जसबाट सामान्य सुझबुझ भएको मानिस समेत उत्तेजित हुन सक्थ्यो सक्दैनथ्यो ?

(ग) पीडितबाट सिर्जित उत्तेजना नियन्त्रण गर्न सकिने अवस्थाको थियो थिएन ?

(घ) प्रतिवादीले पीडितलाई आक्रमण गर्दा प्रतिवादीको आवेशको अवस्था समाप्त भएको (Cooling Off Blood) थियो, थिएन ?

१३.  आवेशप्रेरित हत्या सम्बन्धमा हाम्रो कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ् उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुँगा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छभन्ने उल्लेख भएको देखिन्छ । तथापी आवेशपूर्ण स्थिति भए पनि हाम्रो कानूनले विषको प्रयोग वा जोखिमी हतियारको प्रयोगलाई वर्जित गरेको पाइन्छ । विषको प्रयोग वा जोखिमी हतियारको प्रयोगले मानिस मर्न सक्ने अवस्थालाई महसूस गरी मनसायप्रेरित हत्या हुने विद्यायिकी मनसाय देखिन्छ ।

१४. प्रतिवादी जितबहादुरले मृतक जयमतिलाई मार्ने मनसाय लिएको भन्ने नदेखिई निजसँग विवाद भै तत्काल उठेको रिसले तत्कालै मृतकलाई लात मुक्काले कुटेको भन्ने प्रतिवादी स्वयमले स्वीकार गरेको पाइन्छ । मृतकलाई मार्ने मनसाय नभै मार्नुपर्ने कारण समेत नरहेको अवस्थामा तत्काल उठेको रिस थाम्न नसकी लात मुक्काले प्रतिवादी जितबहादुरले मृतक जयमतिलाई कुटपीट गर्दा रुद्रबहादुरले छुट्याई दिएको अवस्था समेत रहेको भएपनि सोही कुटपीटबाट थला परी ज्यानसम्बन्धीको १० नं. अनुरूपको म्यादभित्रै अर्थात् भोलिपल्टै निज जयमतिको मृत्यु भएको देखिँदा प्रतिवादीको उक्त कर्तव्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतकै देखिन आयो । अतः प्रतिवादी जितबहादुर बुढाथोकीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ तथा १४ नं. विपरीत कसूर गरेको ठहर्‍याई सोही महलको १४ नं. बमोजिम कैद वर्ष १० हुने ठहर्‍याएको सल्यान जिल्ला अदलातको २०६४।२।६ को फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत तुलसीपुर दाङको २०६४।११।५ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम बुझाईदिनू।

 

उक्त रायमा मेरो सहमति छ 

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति संवत् २०६६ साल वैशाख ३० गते रोज ४ शुभम्

 

इजलास अधिकृतःदीपककुमार दाहाल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु