शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६८३ - भ्रष्टाचार

भाग: ५३ साल: २०६८ महिना: पौस अंक:

ने.का.प. २०६८,           अङ्क ९

निर्णय नं. ८६८३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

२०६३CR००३५, ०६२ र ००८०

फैसला मितिः २०६८।२।२।२

मुद्दा :भ्रष्टाचार 

पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं. २ बस्ने चक्रबहादुर            कार्की

विरुद्ध

प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं ५ बस्ने मोतीलालभक्त         खवास

विरुद्ध

प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. १ बस्ने रामचन्द्र गड्तौला

विरुद्ध

प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री भूपध्वज अधिकारी

मा.न्या. श्री कोमलनाथ शर्मा

मा.न्या. श्री चोलेन्द्र शम्शेर ज.ब.रा.

 

§  प्रचलित कानून तथा बैंकले तयार गरेको निर्देशिकाबमोजिम धितोस्वरुप पेश गरेको जग्गा सम्बन्धित व्यक्तिको नाउँमा दर्ता छ, छैन ? जुन उद्योगको नाममा ऋण माग गरेको हो सो उद्योग दर्ता छ, छैन ? बुझी जग्गा दर्ता र उद्योग दर्ता भएको देखिए धितो दिएको जग्गा रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयमा पठाई मालपोत कार्यालयबाट रोक्का गराई जग्गाको स्थलगत मूल्याङ्कन समेत गरी जग्गाको प्रकृति समेत हेरी जाँची जग्गाधनी प्रमाणपूर्जा, चारकिल्ला प्रमाणित, नक्सालगायतका ऋण माग गर्दा भर्नु पर्ने फाराम, पुर्‍याउनु पर्ने प्रक्रिया पूरा गरेपछि लगानी गरेको ऋण असूल हुने भएपछि मात्र ऋण लगानी गर्नुपर्ने 

(प्रकरण नं.६)

§  आफू बैंकको प्रबन्धक भएको अवस्थामा ऋण लगानी गर्दा बैंकको निर्देशन पालना नगरी, पेश भएको धितोको बारेमा छानबीन नगरी, प्रचलित कानूनी व्यवस्थाको विपरीत हुने गरी लापरवाही गरी नक्कली कागज र काल्पनिक ऋणीका नामबाट ऋण प्रवाह गरी आफूलाई फाइदा बैंकलाई नोक्सान पुर्‍याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर देखिने 

(प्रकरण नं.७)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू प्रकाश राउत, माधव वास्कोटा, विनोद शर्मा, नरेन्द्रकुमार श्रेष्ठ, राजु आचार्य, अर्जुन खनाल, जगतबहादुर कार्की

वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोजप्रसाद गौतम

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, २२

 

फैसला

न्या.रामकुमार प्रसाद शाहः विशेष अदालत काठमाडौंको मिति २०६३।३।१२ गतेका फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

यस बैंकको शाखा कार्यालय खाँदबारीबाट कर्जा कारोबार गर्ने तपसीलमा उल्लिखित ऋणी र बैंकका कर्मचारीहरू परस्परमा मिलेमतो गरी बद्‌नियतपूर्वक कर्जा लिनुदिनु गरी भ्रष्टाचारपूर्ण कसूर गरेकोले कर्जा शीर्षक उद्योग, कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्म र कर्जा नं. ३८/१४ र ३९/०१ का निम्न ऋणीहरू र निजहरूको तर्फबाट आएका चक्रबहादुर कार्की, प्रबन्धक मोतीलालभक्त खवास, व.स. रामचन्द्र गड्तौला र छानवीनको सिलसिलामा अन्य व्यक्तिहरूको समेत मिलेमतो देखिन आएमा ती व्यक्तिहरूलाई समेत पक्राउ गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाही गरी बैंकलाई हानि नोक्सानी भएको सावाँ रु. ३३ लाख र सोको बैंक नियमअनुसारको ब्याज समेत निजहरूबाट भराई हदैसम्मको सजाय गरिपाऊँ भन्ने राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय, मानव संशाधन विभागको उजूरी निवेदन दर्ता नं. ३५४२/११९९४ मिति २०६१।३।१५ मा आयोगमा दर्ता हुन आएको 

 

            कर्जा नं.                 ऋणीको नाम

            ३८/६२                   मानबहादुर बस्नेत

            ३८/६५                   सीतादेवी बस्नेत

            ३८/६८                   देवी दाहाल

            ३८/७१                   गजबहादुर कार्की

            ३८/७४                  मीरा कार्की

            ३८/७७                  बीणा श्रेष्ठ

            ३८/८०                   गोविन्द कार्की

            ३९/०१                   दीपक लुइटेल

            ३८/६३                   कल्पना बस्नेत

            ३८/६६                   शम्भुकुमार कटुवाल

            ३८/६९                   टेकबहादुर खड्का

            ३८/७२                   सुवन खत्री

            ३८/७५                  तोरणबहादुर खत्री

            ३८/७८                   श्रीमती चण्डिका कटुवाल

            ३८/८१                   खेमकुमारी बस्नेत

            ३८/६४                   यशोदा बस्नेत

            ३८/६७                   प्रकाश के.सी.

            ३८/७०                   रोहित भट्टराई

            ३८/७३                   चित्रबहादुर बस्नेत

      ३८/७६                   शारदा भट्टराई

            ३८/७९                   काजीकुमार खत्री

            ३८/१४                   तुलसी ओझा

 

            मैले राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, खाँदबारीमा कार्यरत् रहँदा ऋण नं. ३८/६२, ३८/६३, ३८/६४, ३८/६५ ३८/६६, ३८/६७, ३८/६८, ३८/६९, ३८/७०, ३८/७१, ३८/७२, ३८/७३, ३८/७४, ३८/७५, ३८/७६, ३८/७७, ३८/७८, ३८/७९, ३८/८०, ३८/८१, ३८/१४ र ३९/०१ मा लगानी गर्दा व्यावसायिक प्रमाणपत्र नभए पनि ऋणीका नाउँमा भएको धितो जग्गाको रोक्का पत्रको आधारमा गरेको अफिसियल प्याड र कागजातमा छाप नभए तापनि नापी नक्सा नियमानुसार सक्कल पेश हुन पर्नेमा फोटोकपीमा कित्ता नं. नभिडेतापनि लगानी गरेको हुँ । उद्योग कर्जाअन्तर्गत परियोजना नभएको, सञ्चालन नभएको उद्योगलाई ऋण दिएको निरीक्षण गर्दा देखियो । उक्त ऋणीहरूको धितो जग्गाहरूको मूल्याङ्कन फाराममा ब.स. रामचन्द्र गड्तौला र मेरो दस्तखतबाट मूल्याङ्कन फाराम भरेको हो । उक्त जग्गाहरू नाप नक्सा नहेरी लगानी गरेको हुँ । ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको लगानी विराटनगर वडा नं. ६ निवासी चक्रबहादुर कार्कीमार्फत् सम्बन्धित ऋणीहरूको अख्तियारी बिना निज चक्रबहादुर कार्कीलाई रकम भुक्तानी दिएको हो । ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको भुक्तानी चक्रबहादुरले लगेको हो निजलाई ताकेता गर्दा ऋण चुक्ता गर्दछु भनिरहेको र हालसम्म सम्पर्कमा रहेको 

ऋण नं. ३८/१४ का ऋणी हाल विराटनगर बस्ने तुलसी ओझालाई लगानी गरेको र ऋण नं. ३९/०१ हाल राष्ट्रिय वाणिज्य बैंक खाँदबारीमा कार्यरत् सहायक ख लक्ष्मणप्रसाद पोखरेल सम्बन्धित भै उक्त ऋण दिँदा पनि त्रुटिपूर्ण कार्य भएको हो । खर्च भौचरमा कर्जा इन्चार्ज, सहायक प्रबन्धक र प्रबन्धकले दस्तखत गर्नुपर्छ । ऋणी तुलसी ओझाको रु. १,५०,०००।को खर्च भौचरमा ब.स. रामचन्द्र गड्तौला, सहायक प्रबन्धक ओमप्रकाश दंगाल र म मोतीलालभक्तले दस्तखत गरेको हो । अन्य ऋणीहरू दीपक लुईटेल, मानबहादुर बस्नेत, कल्पना बस्नेत, गोविन्द कार्की, खेमकुमारी बस्नेत, चण्डिका कटुवाल, काजीकुमार खत्री, यशोदा बस्नेत, शारदा भट्टराई, शम्भुकुमार कटुवाल, सीतादेवी बस्नेत, देवी दाहाल, प्रकाश के.सी., टेकबहादुर खड्का, रोहित भट्टराई, सुबन खत्री, गजबहादुर कार्की, चित्रबहादुर बस्नेत, मीरा कार्की, तोरणबहादुर खत्री, विणा श्रेष्ठको भौचरमा म मोतीलालभक्त र व.स. रामचन्द्र गड्तौलाले मात्र दस्तखत गरेको । एकाउण्टेण्टको दस्तखत निजले पछि सही गर्दछु भनी भनेकाले भुक्तानी भएको हो । ऋण नं. ३९/०१ ऋणी दीपक लुइटेलको हकमा बसोबास गर्नेलाई व्यवसाय गर्छु भनेकाले नियमले नमिले तापनि ऋण दिएको हुँ । ऋण नं. ३८।६२ देखि ३८।८१ सम्मका ऋणीले भर्नु पर्ने फारामहरू निवेदन, तमसुक पत्र लगायतका ल्याप्चे सही र दस्तखत गरेका फारामहरू ऋण लगानी भन्दा पहिले नै भरेको र केही फारामहरू लेख्न छूट भएको पछि सहायक ख लक्ष्मण पोखरेलबाट भरेको हो 

मिति २०६०।३।२० मा लगानी गरेको ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको लगानी गर्दा रु. ३०,००,०००।चक्र कार्की ऋणी नभए पनि मेरो आदेशबाट गणक जितेन्द्र राईले मेरै अगाडि चक्र कार्कीलाई दिएको हो । मिति २०५९ असोज १३ र १८ मा लगानी भएको ऋणीहरूका नाममा रहेको ऋण रकमप्रति ऋणी रकम रु. ३०,०००।लिई चक्र कार्कीमार्फत् ऋण चुक्ता गरी मिति २०६०।३।२० मा पुरानो रोक्का कागज, चारकिल्ला प्रमाणित कागजातहरू पुरानो फाइलबाट नयाँ फाइलमा समावेश गरी ऋण भुक्तानी जनाएपछि मात्र पहिलेको ऋण पछाडिको लगानीबाट चुक्ता भुक्तानी भएको हो भन्ने समेत प्रतिवादी मोतीलालभक्त खवासले अनुसन्धानको क्रममा गरेको बयान 

ऋण नं. ३८/६२, ३८/६३, ३८/६४, ३८/६५ ३८/६६, ३८/६७, ३८/६८, ३८/६९, ३८/७०, ३८/७१, ३८/७२, ३८/७३, ३८/७४, ३८/७५, ३८/७६, ३८/७७, ३८/७८, ३८/७९, ३८/८०, ३८/८१, ३८/१४ र ३९/०१ को लागी दिइएको धितो जग्गाहरू प्राथमिक क्षेत्र कर्जाको लागि नेपाल राज्यभित्रको घरजग्गा धितो राख्न मिल्ने प्रावधान रहेकोले धितो लिइएको र उक्त धितो मूल्याङ्कन समेतको कागजातहरू बैंक प्रबन्धक मोतीलालभक्त र सहायक लक्ष्मण पोखरेलको आपसी सल्लाहअनुसार सहायक लक्ष्मण पोखरेलबाट धितो मूल्याङ्कन समेतको कागजात तयार गरी निज लक्ष्मण पोखरेललाई सही गराउने भनी प्रबन्धकले मलाई सही गराएको हो । उद्योग दर्ता नै नभई लगानी भएको सम्बन्धमा रु.१,५०,०००।सम्मको कर्जाको लागि उद्योग दर्ता आवश्यक नपर्ने भन्ने मनसायमा उद्योग दर्ता नै नभएको उद्योगलाई लगानी भएको हो । म आफूले कागज तयार नगरेको धितो रहेको जग्गाको नापी नक्सा, धनीपूर्जाको प्रमाणित प्रतिलिपिमा कार्यालयको छाप भएकोले कर्जा लगानी भएको छ । म आफूले कागजात तयार नगरेको र सही मात्र गरेकोमा त्रुटिवश रुपमा कर्जा लगानी भएको हो, जानी जानी यस्तो कार्य गरेको होइन 

मालपोत कार्यालय, मोरङ्गको रोक्का पत्र किर्ते भै आएकोमा म माथि बद्‌नियतपूर्वक कागजातहरूमा सही गराइएको रहेछ । शाखा प्रबन्धक र कागजात तयार गर्ने कर्मचारीको विश्वासमा मैले उक्त कागजातमा सही गरी कर्जा सिफारिशमा स्वीकृतिको लागी सही भयो । स्वीकृत गर्ने नगर्ने अधिकार कार्यालय प्रमुखको हुने हुँदा म माथि बद्‌नियत राखी काम गराएको हो । मैले उल्लेख गरेअनुसार उक्त कर्जाका ऋणीहरूले गरिलिए दिएको कागजातहरू सबैमा मैले ठीक सम्झेर आफ्नो तर्फबाट सही गरी प्रबन्धक समक्ष पेश गरेको हुँ । मैले जाने बुझेसम्म प्रबन्धकले निज सहायक लक्ष्मण पोखरेललाई अह्राई खटाई पठाएको बुझेको र निजहरू दुबै जनाको घर उतै तराईमा भएको बुझिएको हुँदा सम्पूर्ण कुरा मलाई भन्दा निजहरूलाई नै थाहा होला । मैले विश्वासको भरमा अन्जानमा गरेको कार्यप्रति म ठूलो क्षमायाचना गर्दछु । शाखाबाट हुने कर्जा कमिटीको सदस्यहरू समय समयमा फेरबदल हुने गरेको हुँदा म आँफू मात्रबाट जानाजान उक्त कार्य नभएकोले शाखा प्रबन्धक ज्यू नै बढी जवाफदेही हुनुपर्ने हो । यसमा मेरो बद्‌नियत नभएकोले मेरो भन्नु अरु नभएको भनी प्रतिवादी रामचन्द्र गड्तौलाले अनुसन्धानको क्रममा गरेको बयान 

दीपक लुइटेल समेत बिभिन्न २२ (बाईस) जनालाई लगानी गर्दाको फाइल तथा भौचरहरू प्रबन्धकले लाए अह्राएबमोजिम मैले तयार गरेको हुँ । उक्त कर्जा माग गर्नेहरूको निवेदन, घर ठेगाना, हस्ताक्षर, कर्जा इन्चार्जले गराएको हो । उक्त दिन निजले नभ्याई प्रबन्धकले मलाई भौचर बनाउन लगाएको र कर्जाको फाइल भर्न भन्दा मैले यो सहिछाप गराउने कार्य नगरेकाले फाइल भर्दिन भन्दा २०, २५ दिनसम्म फाइल नभरी रहेको प्रबन्धकज्यूबाट निकै आग्रह भएपछि मैले फाइल भर्ने काम पुरानो लगानी भएको ३५ वटा फाइलका विवरण, धनीपूर्जा र नागरिकताको आधारमा फाइल तयार गरेको हुँ । प्रक्रिया पुरा छ छैन हेर्नु पर्ने हो सो कार्य मबाट नभएको हो । पहिले ३५ वटा फायलहरूमा लगानी हुँदा म आधिकारिक रुपमा उक्त शाखामा सरुवा नभएकोले मलाई मूल्याङ्कन गर्ने अधिकार नभएको बेला मैले मूल्याङ्कन गरेको होइन । तयार भएको भौचर तथा तमसुकमा म कर्जा कमिटीमा नभएकोले र कर्जा कमिटीमा ३ जनाको सही अनिवार्य भए तापनि कर्जा लिने व्यक्तिहरू नदेखिएको र आफ्नो अगाडि सहिछाप नगराएकोले मैले सही गर्न नमानेको हुँ । २०६० असारमा लगानी भएका कर्जा अधिकांश रु. ३० हजारको दरले ३५ वटा फायलबाट लगानी भएकै मध्येबाट चुक्ता गरी पुनः लगानी भएको हो । पहिले लगानी गर्दा नै मूल्याङ्कन गरेबमोजिम मूल्याङ्कन फाराम भरिएको हो । मूल्याङ्कन गर्न पहिले र पछिल्लोमा पनि मलाई नखटाएकोले मैले मूल्याङ्कन गरेको होइन फाराम मात्र भरेको हुँ 

मानबहादुर बस्नेत, कल्पना बस्नेत, यशोदा बस्नेत, सीतादेवी बस्नेत, शम्भुकुमार कटुवाल, प्रकाश के.सी., देवी दहाल, टेकबहादुर खड्का, रोहित भट्टराई, गजबहादुर कार्की, सुवन खत्री, चित्रबहादुर बस्नेत, मीरा कार्की, तोरणबहादुर खत्री, शारदा भट्टराई, विणा श्रेष्ठ, श्रीमती चण्डिका कटुवाल, काजीकुमार खत्री, गोविन्द कार्की, खेमकुमारी बस्नेत समेतको फाइलहरू प्रबन्धकले कर्जा लिएको २०२५ दिन पछि मलाई आग्रह गरेकोले ऋणीको नामको ल्याप्चे सहिछाप लगाएका फारामहरू पुरानो लगानीको फाइल हेरी मैले भरेको हुँ । तुलसी ओझा आँफै उपस्थित भै निजले भनेअनुसार मैले फारामहरू भरिदिएको र दीपक लुईँटेलको मैले भरेको होइन । अन्य २० वटा फाइलहरू पुरानो कर्जा लगानी भएका ३५ वटा फाइलहरूबाट जग्गा धनीपूर्जा तथा नागरिकताको आधारमा भरेको हुँ । दीपक लुइँटेलको कर्जा फायल भर्दा कर्जा आवेदन नागरिकता प्रमाणपत्र, मालपोत तिरेको रसीद, जग्गा धनीपूर्जा उक्त फायल भर्दा संलग्न रहेको तत्पश्चात् फायलहरू प्रबन्धक वा सहायक प्रबन्धकको जिम्मा रहने हुँदा कसले कागजात झिके थाहा नभएको । मेनेजर मोतीलालभक्तले निजले ऋण रकम मैले लिएको भनेको कुरा असत्य हुन मैले रकम बुझेको बुझाएको आधार नभएकोले आरोप मिथ्या हो 

निज दीपक लुईटेललाई धितो मेनेजरको मितेरी साइनो पर्ने तुलसी ओझाले दिएको भन्ने फाइलबाट नै देखिन्छ । दीपक लुइटेलको नाममा दर्ता भएको मोरङ ववियाविर्ता वडा नं. ६(ख) को कित्ता नं. ४७४ को क्षेत्रफल ०० को जग्गा रोक्का कार्यालय प्रमुखज्यूले सही गरी निमित्त सहायक प्रबन्धकमा सही मैले गरेको हुँ । सो रोक्का राख्न पठाएको धितो मालपोतको पत्रानुसार ठीकै होला । कर्जा लगानीको लागी प्राप्त हुनुपर्ने कागजात हेर्ने काम कमिटीभित्रका सबैले हेर्नु पर्ने र सबभन्दा बढी दायित्व कर्जा इन्चार्जको हुन्छ । दीपक लुईटेलको कर्जा फाइलमा रहेको कर्जा आवेदन पत्र, तमसुक पत्र, जग्गा जमिनको मूल्याङ्कन फाराम, कर्जा कमिटीको निर्णय फाराम मैले भरेको होइन । मेरो रोहबरमा दीपक लुइटेलको कर्जा आवेदन पत्र तमसुक पत्रमा ल्याप्चे लगाउने कार्य गरेको होइन सोसम्बन्धी मलाई थाहा छैन 

ऋणी दीपक लुईटेलको ऋण नं. ३९/०१ को रकम रु. १,५०,०००।मैले बुझीलिएको हुँ । उक्त रकम बुझ्न तमसुक, निवेदन, खर्च भौचरमा दीपक लुइटेलको नाममा आँफैले ल्याप्चे सही र लेखात्मक सही मैले गरेको हुँ । उक्त कागजमा रहेको सही मेरो हो । कुन कुन औंलाले गरे भन्ने अहिले याद छैन । रिपोर्टबाट आएअनुसार नै होला । ऋणलिँदा रोक्का रहेको बवियाबिर्ता मोरङ्गको जग्गा सम्बन्धमा जग्गा पारीत गरिदिने तुलसी ओझाले मेरो नामको जग्गा दीपक लुईँटेललाई पास गरिदिएको छु । उक्त फाइलबाट तपाईले रकम लिनु भनेकाले रकम झिकेको हुँ । त्यसरी झिक्न हुँदैनथ्यो गल्ती भयो । मैले पहिला आयोगमा बयान गर्दा लेखिदिएका ऋणीहरू कोही कोहीलाई चिन्दछु । चक्रबहादुर कार्कीलाई एउटै वडाको भएकोले चिन्दछु । ऋण रु. ३०,००,०००।मिति २०६०।३।२० मा भुक्तानी हुँदा निज खाँदबारीमा थियो । निजलाई खाँदबारीमै गणक जितेन्द्र राई, सहायक प्रबन्धक ओमप्रकाश दंगाल, वरिष्ठ सहायक सन्तोष लम्साल समेतले बुझाएको भन्ने सुनेको हुँ । दीपक लुइँटेललाई म चिन्दिन । यहाँ बयान गरेर गएपछि निजको बारेमा पत्ता लगाउँदा निज इण्डियाको आसाम भन्ने ठाउँमा छन् भन्ने थाहा भयो । मैले गल्ती स्वीकारेकाले नियमानुसार कारवाही गर्नुपर्ने भए तापनि उक्त रकमको जम्मा चुक्ता गराउँदा एक पटकका लागि कारवाही नहुन अनुरोध गर्दछु भन्ने प्रतिवादी लक्ष्मणकुमार पोखरेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान 

कटहरी गा.वि.स. को सचिवको हैसियतले पंजीकरण विकास निर्माण, मुद्दा मामिलासम्बन्धी चारकिल्ला सिफारिश गर्ने कार्य गर्दछु । गा.वि.स. कार्यालय कटहरीबाट चलानी नं. २७, २४, २६, ४९, ४०, ३७, ३९, २३, २१, ४३, ४२, २२, ३६, ४४, ४७, २०, ३८, ४१, २८, ४५ बाट चारकिल्ला प्रमाणित गरेको नभई ती पत्रहरूबाट विद्युत मिटर जडान, पसल व्यवसाय गर्न, मोरङ्ग जिल्ला अदालतमा सहभागी पठाएको र रकम दाखिला गरेको सम्बन्धी पत्राचार गरेको चलानी किताबबाट देखिने हुँदा सो चलानी किताबको पाना पेश गरेको छु । उक्त चलानी नम्बर र आयोगले सोधेका व्यक्तिहरू सुवन खत्री, तोरणबहादुर खत्री, शारदा भट्टराई, विणा श्रेष्ठ, चण्डिका कटुवाल, गोविन्द कार्की, खेमकुमारी बस्नेत, मानबहादुर बस्नेत, रोहित भट्टराई, प्रकाश के.सी., चित्रबहादुर बस्नेत, सीतादेवी बस्नेत, यशोदा बस्नेत, मीरा कार्की, गजबहादुर कार्की, टेकबहादुर खड्का, देवी दहाल, शम्भुकुमार कटुवाल, कल्पना बस्नेत, काजीबहादुर खत्रीको नामको कित्ता नं. र क्षेत्रफल समेत रहेकोले चारकिल्ला प्रमाणित म गा.वि.स. सचिवबाट भएको होइन । देखाइएको उक्त चलानी नं. को पत्रहरूमा कार्यालयको छापमा समेत छापको अन्तिममा हुने २०४७अंकित छैन हालसम्म चालु रहेको गा.वि.स. को छापमा २०४७ अंकित छ । कटहरी गा.वि.स.का भनी देखाइएको मालपोत रसीद नं. हरूमा पनि माथि उल्लेख भएबमोजिम गा.वि.स. को छापमा २०४७ नभएको, रसीद काट्ने कर्मचारीको सही नमिलेको, उक्त रकम गा.वि.स. बाट आम्दानी बाधेको छ, छैन एकीन भन्न समस्या रहेको छ भनी गा.वि.स. सचिव श्रीप्रसाद सेढाईले अनुसन्धानको क्रममा गरेको बयान 

मिति २०६०।३।२० का दिन कार्यालयमा कार्यरत् रहँदा मेनेजरको भनाइअनुसार केही कर्जा लगानी भई आउँदैछ केही समय पर्खिनु नगद भुक्तानी दिनुपर्दछ भनी कार्यालय समय सकिने समयमा जानकारी हुन आएको । उक्त दिन कार्यालय समय अन्तिममा मेनेजरको आदेशानुसार नगद छुट्याई सो नगद कार्यालयको समय पछि चक्र भन्ने व्यक्तिलाई एकमुष्ट दिएको हो । सो व्यक्ति मेनेजर स्वयंले चिन्ने भएकोले अरु सम्पूर्ण जानकारी मेनेजरलाई नै थाहा होला । उक्त दिन म स्वयंले ऋणीहरूलाई नदेखेको । यस्तो काम पहिला पनि भएको हो । उक्त रकम रु.३०,००,०००।मेनेजरले बुझेको हो । दीपक लुईटेल भन्नेलाई म चिन्दिन 

२०६०।३।२० का दिन निजलाई कर्जा लगानी गरेको थाहा पाएं । अक्षेररुपी तीस लाख मेनेजरले दिएको आदेशानुसार निजकै रोहवरमा चक्र कार्कीलाई दिएको हो । निज व्यक्ति उपस्थित नभएको भए मेनेजरबाट नगद दिनु भन्ने आदेशमा कसरी सही गरियो । निजको दस्तखत नियमानुसार गराइएको छ । पछि भुक्तानी लिने बेलामा काउण्टरमा लक्ष्मण पोखरेल र दीपक लुइटेल दुबै उपस्थित भएको मलाई थाहा भएको छ, उपस्थित भएका व्यक्ति नै दीपक लुइटेल भनेर मैले चिन्न सकिन । भौचरमा उक्त व्यक्तिलाई नै सही गराई बुझाएको हुँदा दीपक लुईटेलको फाँटमा फायल भौचर बनाउँदादेखि दीपक लुईटेल भन्ने व्यक्ति निज नभई अरु कुनै व्यक्ति दीपक भई काम गरेको भए निज लक्ष्मण र मेनेजरको मिलेमतोमा यो कार्य भएको हुनुपर्दछ । यस सम्बन्धमा मैले आफ्नो कार्यालय प्रमुखको आदेश पालना गरेको हुँ । सम्बन्धित ऋणीहरूलाई भौचरको पीठमा सही पहिला नै गराएको र मैले पुनः सही गराएको छैन यो साँचो हो । भौचरमा एकाउण्टेन्टको सही भई नआएको सम्बन्धमा कर्जा कमिटिका (दुई) जनाको सही भएकोले मैले सहायक प्रबन्धकको सही ख्याल नगरी काम भएको हो भनी राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, खाँदबारीका गणक जितेन्द्र राईले अनुसन्धानको क्रममा गरेको बयान 

मिति २०६०।३।२० मा खाँदवारी शाखाबाट लगानी गर्दा खर्च भौचरको रकम जे जति छ मेरो गणकले रकम छुट्याएर बाँकी रहेको रकम कलमको हिसाव बुझाएपछि मैले बुझेको हुँ । उक्त दिनमा ऋण रकम बुझ्न कोही पनि गएको थिएन । रकम छुट्याएर मेरो गणकले राखिदिएको रकम प्रबन्धकले बुझेको हो । अनुमतिपत्र र मतदाता प्रमाणपत्र देखाएको फोटोमा देखिएको व्यक्ति चक्रबहादुर कार्की सो ऋण खर्च लेख्ने बेलामा प्रबन्धकको साथी भनी गेष्ट रुममा बस्थ्यो र खाँदवारी पुगेको थियो । ऋणीहरूको भुक्तानी प्रबन्धकले नै लगेको र मेरो मातहतको कर्मचारी जितेन्द्र राईले दिएको हुँदा मलाई कारवाही हुनु नपर्ने भनी शिवप्रसाद घिमिरेले अनुसन्धानको क्रममा गरेको बयान 

यी ऋणीहरूको लगानी बारे मलाई थाहा नभएकोले यी ऋणीहरूको कर्जा फाइलमा मेरो दस्तखत छैन । सो ऋणीहरूको फायल मेरो टेबुलमा नआई लगानी भएको हो । असोज २०५९ को विभिन्न मितिमा भएको लगानीमा सहायक प्रबन्धकको हैसियतले मेरो दस्तखत भएको हो । सहायक प्रबन्धकको रुपमा मैले दस्तखत गरी कर्जा कमिटिका अन्य सदस्यहरूको पनि दस्तखत थियो । उक्त लगानी गर्दा धितो जग्गा कटहरी गा.वि.स.मोरङ्ग अन्तर्गतको हो । प्रबन्धकले जग्गा रोक्काको लागी बैंकबाट पत्र मालपोत कार्यालयमा पठाएको भनेको र फायलमा ऋणीहरूको जग्गा रोक्का रहेको मालपोतको पत्र रहेको थियो । तत्काल कस्तो जग्गा धितो राखेको, रोक्का कस्तो हो सो मलाई थाहा भएन 

साना कर्जाको लागी सामान्य तथा उद्योग दर्ता नगरी गरेको पाइन्छ । मेनेजर र फाँटवालाले उद्योग दर्ता नभए पनि हुन्छ भनेकाले उद्योग दर्ता नभई लगानी भएको हो । ऋणीमध्ये तुलसी ओझालाई चिन्दछु । अन्यलाई चिन्दिन । ऋणीहरू सबैलाई मैले बैंकमा देखिन । चक्रबहादुर कार्कीलाई खाँदवारीमा भएको देखेको हो । निजलाई प्रबन्धकसँग बैंकमा आई कुराकानी गर्दा चिनेको हुँ । ऋण नं. ३८/१४ को तमसुकमा चक्र कार्कीको साक्षीमा सही रहेको छ । लामो समयदेखि बैंकमा कार्यरत् प्रबन्धक र फाँटवालाले क्षेत्र बाहिरको व्यक्तिलाई कर्जा उपलब्ध गराउन सकिन्छ भनेकाले सही गरेको हुँ । ऋण कमिटीमा पेश हुनुपर्ने धितो मूल्याङ्कन प्रतिवेदन नभई उक्त कर्जा नं. ३८/१४ मोरङ्ग जिल्ला बबिया बिर्ताको जग्गा राष्ट्रिय वाणिज्य बैंक खाँदवारीको क्षेत्र भन्दा बाहिरको क्षेत्रमा लगानी भएको हो । सो कार्यमा मेरो सही रहेछ । हालको ऋण लगानीको रोक्का पत्र एउटै हो भनी सनाखत गरिदिए । मैले लगानी गर्दा ऋणीको नाममा नै जग्गाधनी पूर्जा, मालपोत कार्यालय मोरङ्ग विराटनगरको रोक्का पत्र रहेको हुँदा जग्गा र रोक्का पत्र सही हो कि गलत छुट्याउन नसकेको लगानीमा म समेतको कमिटिबाट लगानी भएको हो । मलाई कर्जा लगानीसम्बन्धी राम्रो ज्ञान नभएकोले अज्ञानतावस त्यस्तो कर्जामा सही गरेको र उक्त कर्जाहरू चुक्ता भै पुनः लगानी भएको छ । पछिल्लोमा मैले सही नगरेको फाँटवाला र प्रबन्धकको दस्तखतबाट लगानी भएको हो । यस्तो कारवाहीको बारेमा जानकारी दिइन । मलाई कहिँ पनि तैले जानकारी दिइस् भने राम्रो हुने छैन भनी बारम्बार फोनमार्फत् धम्की आउने गरेकोले खाँदवारीमा बसेर मैले जानकारी गराउन सक्ने अवस्था थिएन । दीपक लुईटेलको उद्योग लगानीमा म विदामा घर गएकोले यसमा सही नगरेको हो । तुलसी ओझाको कर्जा चुक्ता गराउने प्रयास गर्दछु । अनुसन्धानबाट गल्ती भएको ठहर भएमा कारवाहीको भागीदार हुने छु । मिति २०६०।३।२० र २०६०।४।२ मा लगानी हुँदा मेरो दस्तखत छैन भनी ओमप्रकाश दंगालले अनुसन्धानको क्रममा गरेको बयान 

म सशस्त्र प्रहरी बल मनकामना गण भानु,  तनहुँमा कार्यरत् छु । म खाँदवारी भन्ने ठाउँमा गएको छैन । मिति २०६०।३।२० गते को मितिमा म स.प्र.बल विन्ध्यवासिनी गणमा कार्यरत् थिएँ र सहायक प्रहरी बल चण्डिका गणमा तालिमरत छु र सो तालिममा बाहिर निस्किन नपाईने हुँदा उक्त अवधिको प्रमाणपत्र पेश गरेको छु । फाइलमा रहेको नागरिकताको प्रमाणपत्र मेरो हो । तर मैले निवेदन दिएका छैन । मेरो सही होइन । मेरो नागरिकताको प्रमाणपत्र हराएको थियो । मेरो बुबाको मामाको छोरा चक्रबहादुर कार्कीको घरमा बस्दा निजले मेरो झोलाबाट निकालेर चोरी राखेको हुनु पर्दछ । पहिले पनि मलाई मेरो जग्गा धेरै छ तेरो नाममा भएपछि मलाई सजिलो हुन्छ भनी मेरो नाममा पनि गरायो । त्यो बेलादेखि म उसको घरमा बस्थे । हराएको नागरिकता गा.वि.स. बाट सिफारिश गरेर प्रतिलिपि बनाएको छु । जग्गा कहाँको हो कति क्षेत्रफल हो मलाई थाहा भएन । त्यसकारण मेरो तीनपुस्तेको कागज पेश गरेको छु । ऋण झिक्ने काम चक्रबहादुरले मेरो नागरिकता निकालेकोले उस्ले नै गरेको हो । यसमा मेरो संलग्नता छैन । चक्रबहादुरले म मात्रलाई नभई अरुलाई पनि फँसाएको हुनु पर्दछ । म जस्तो गरीब जनतालाई फँसाउनेलाई कारवाही होस् भनी सुवन खत्रीले अनुसन्धानको क्रममा गरेको बयान 

म शाही नेपाली सेनामा २०५९ सालमा भर्ना भई अमलेखगञ्जमा नै तालिम गरी हाल त्यही कार्यरत् छु । मिति २०६०।३।२० मा शाही नेपाली सेना अमलेखगञ्जमा कार्यरत् रहेकोछु । राष्ट्रिय वाणिज्य बैंक खाँदवारी मैले देखेको पनि छैन । मैले आफ्नो नागरिकताको प्रमाणसाथ निवेदन दिएको होइन । म खाँदवारी वडा नं. ३ मा बसोबास गर्दिन । मेरो बसोबास ओखलढुङ्गा सेर्नामा छ । मेरो नागरिकताको फोटोकपी दाइ रमेश भट्टराईलाई क्लब दर्ता गर्न माग्नु भएकोले दिएको थिएँ । अरु कसैलाई दिएको छैन । क्लबको नाम आदर्श जन कल्याण क्लब कटहरी हो । निज ओखलढुङ्गा सेर्नामा टिचिङ्ग गर्दछ । मेरो मोरङ्ग जिल्ला कटहरी गा.वि.स.मा जग्गा नै छैन कसरी धितो राख्दथे । देखाएको फाइल हेर्दा सब नक्कली देखें । नागरिकताको फोटोकपी मैले राखेको छैन सही पनि मेरो होइन, मैले गरेको छैन । मेरो नामबाट ककसले निवेदन दियो । तमसुक लेखी कसले ऋण झिक्यो त्यो मलाई केही थाहा भएन । शाही नेपाली सेनामा जागिर भएकोले उद्योग खोल्न नपाइने र मैले कुनै पनि जिल्लामा उद्योग खोलेको पनि छैन । देखाएको फाइलमा मेरो बाजेको नाम नमिलेको, मेरो सही नमिलेको, मोरङ्ग जिल्लामा मेरो जग्गा र उद्योग नभएकोले यी सब झूठा हो भनी प्रकाश के.सी.ले अनुसन्धानको क्रममा गरेको बयान 

म २०५९साल माघ २५ गतेदेखि प्रहरीमा जागिर खाएको र हाल युनिफाइड कमाण्ड तनहुँको शमरसुर गुल्ममा कार्यरत् छु । ऋण नं. ३८/७० को फाइलमा रहेको नागरिकताको फोटोकपी मेरो हो । उक्त मितिमा मैले बैंकबाट पैसा झिकेको होइन र यस विषयमा मलाई थाहा छैन । मेरो नामबाट कसैले झिकेको हुनु पर्दछ । म संखुवासभा जिल्लामा नै गएको छैन । मेरो नागरिकताको फोटोकपी मेरो दाजु रमेश भट्टराईसँग निज २०५९ सालमा विरामी परी उपचार गर्न मोरङ्ग आएको बखत चक्र कार्कीले लगेको हुनसक्छ । उसले क्लब खोल्ने भनी मागी लगेको हुनसक्छ । चक्र कार्की मेरो दाजुको साथी हो मैले कुनै ठाउँमा सही गरेको छैन । मेरो नागरिकताको प्रमाणपत्रको फोटोकपीमा मिलाएर कुनै ठाउँको जग्गा धितो राखेर रकम झिकेको हुनसक्छ । यसमा मेरो कुनै संलग्नता छैन भनी रोहीत भट्टराईले अनुसन्धानको क्रममा गरेको बयान 

म २०५३ सालदेखि विराटनगर स्थित रविन्द्र होजियारी एण्ड गारमेण्ट इण्डष्ट्रिजमा काम गरेको र हाल इटहरीमा दाजुको अडिट फर्ममा काम गर्छु । मलाई देखाइएको नागरिकताको प्रमाणपत्रको फोटोकपी मेरो हो । आफ्नो नागरिकताको प्रमाणपत्रको फोटोकपी राखी कुनै निवेदन नदिएको । राष्ट्रिय वाणिज्य बैंक खाँदवारीबाट ऋण नलिएको र हालसम्म पनि खाँदवारी नदेखेको हुँदा धितोसम्बन्धी केही थाहा नभएको । मेरो नाममा कुनै उद्योग नै छैन । मेरो नागरिकताको प्रमाणपत्रको फोटोकपी कसरी गयो थाहा भएन । २०५३ सालदेखि विराटनगरमा नोकरी गरी बसेकी दिदी भिनाजु समेत विराटनगरमा बस्ने र उहाँहरूको घर चक्रबहादुरको बहिनीको घरसँगै र आउने जाने क्रममा चिनेको हुँ । मैले नभएको उद्योग र जग्गा धितो राखी ऋण नलिएको हुँदा मउपर कारवाही हुन नपर्ने भनी शम्भुकुमार कटुवालले अनुसन्धानको क्रममा गरेको बयान 

म २०५९ र २०६० मा ओखलढुङ्गा वडा नंं. ८ सेर्नामा बस्थे । मेरो पेशा कृषि हो । मैले मिति २०६०।३।२० मा रू.१,५०,०००।ऋण लिएको पनि छैन र धितो दिएको पनि छैन । मैले उद्योग देखेको पनि छैन । सञ्चालन गरेको पनि छैन । ऋण निवेदनमा सही गरेको पनि होइन । कसरी भयो मलाई थाहा भएन । नागरिकता दिएको पनि छैन कसरी भेटे मलाई थाहा छैन । म निर्दोष छु भनी देवी दाहालले अनुसन्धानको क्रममा गरेको बयान 

म साधारण बोर्डिङ्गमा पढाउँछु । म संखुवासभा खाँदवारीमा ०५९।६० मा बस्दिनथे । ऋण लिएको सम्बन्धमा मलाई केही पनि थाहा छैन । फाइलमा रहेको नागरिकताको फोटोकपी मेरो हो । मैले मेरो नागरिकताको सक्कल कपी रमेश भट्टराईलाई लाईब्रेरी खोल्न भनी दिएको र भोलिपल्ट फिर्ता प्राप्त भएको हो । मेरो नाममा कहिँ पनि जग्गा नै छैन । त्यसैले मैले धितो दिइन । मैले ऋण लिएको छैन । उद्योग दर्ता भन्ने थाहा नभएको र कसरी ऋण पाइन्छ थाहा छैन । कहिँ ऋण झिक्न गएको छैन र सही पनि गरेको छैन । चक्रबहादुर कार्की मेरो मामा हो । मोतीलालभक्तलाई चिन्दिन नाता पनि पर्दैन । मैले थाहा नभएको कुरामा दुःख पाएँ मेरो कुनै दोष छैन । त्यसैले न्याय पाऊँ भनी कल्पना बस्नेतले अनुसन्धानको क्रममा गरेको बयान 

म सानोतिनो किराना पसल गर्दछु । म मिति २०५९, २०६० मा मात्र होइन मैले खाँदवारी देखेको पनि छैन । मैले उक्त बैंकबाट कुनै पनि ऋण लिएको छैन । देखाइएको नागरिकताको प्रमाणपत्र मेरै हो । मैले नागरिकता कसैलाई दिएको छैन । यो कसरी भयो मलाई थाहा छैन । मेरो नाममा जग्गा पनि छैन । मैले कुनै बैंकमा धितो राखेर ऋण लिएको पनि छैन । मैले कुनै पनि तमसुकमा सही गरेको छैन । मोतीलालभक्तलाई चिन्दिन । विराटनगर सरस्वती टोल बस्ने चक्रबहादुर कार्कीलाई चिन्दछु । निज मेरो श्रीमानको काकाको छोरा (जेठाजु पर्ने) हो । मेरो कुनै दोष छैन भनी मिरा कार्कीले अनुसन्धानको क्रममा गरेको बयान 

मेरो पेशा खेतीपाती हो । मलाई संखुवासभा जिल्ला कहाँ पर्दछ थाहा छैन । म मिति २०५९।६० म त्यहाँ गएको पनि छैन । बसोवास गर्दिन मेरो नागरिकताको प्रमाणपत्रको फोटोकपी हो । राष्ट्रिय वाणिज्य बैंक खाँदवारीबाट मैले ऋण लिएको छैन । म खोलुखुम्बु जस्तो विकट ठाउँमा जन्मिएको हुँ । मेरो मामाको छोरा चक्रबहादुर कार्कीलाई केही हेरविचार गरी काम लगाई दिनुस् भनी २०५५ सालमा नागरिकताको प्रमाणपत्रको फोटोकपी दिएको थिएँ । मेरो अहिलेसम्म तराई कटहरी भन्ने ठाउँमा मेरो नाममा जग्गा छैन । कटहरी कहाँ पर्छ त्यो पनि म जान्दिन । मेरो बुबा गणेशबहादुरको नाममा मात्र सोलुखुम्बु सल्यानफेदी वडा नं ८ मा जग्गा छ । बुबाले अहिलेसम्म अंश नछुट्याएकोले हाम्रो नाउँमा कहिँ पनि जग्गा छैन । मेरो नागरिकता प्रमाणपत्रले ऋण कसरी निकाल्यो त्यही मेरो मामाको छोरा चक्रबहादुर कार्की जान्नु हुन्छ । मैले जागिरको लागी मात्र दिएको फोटोकपीबाट ऋण कसरी झिकियो थाहा छैन । मैले ऋण झिक्न निवेदन दिएको पनि छैन । तमसुक गरेको पनि छैन भनी चित्रबहादुर बस्नेतले अनुसन्धानको क्रममा गरेको बयान 

म विद्यार्थी हुँ । म कहिँ पनि काम गर्दिन । मैले संखुवासभा देखेको पनि छैन । नाम चाहिँ सुनेको हो । मेरो घर खोटाङ्ग ४ वडहरे हो । संखुवासभामा बसोबास गरेको थिइन । ऋण फाइलमा रहेको नागरिकताको प्रमाणपत्रको फोटोकपी मेरो हो । तर यो ऋण रू.१,५०,०००।चाहिँ मैले लिएको होइन । मेरो नागरिकताको फोटोकपी संखुवासभामा पुग्नुको कारण कटहरी १ मोरङ्ग बस्ने रमेश भट्टराईले लाइब्रेरी खोल्नको लागी भनेर दिएको थिएँ । त्यसको ३, ४ दिन पछि मेरो ओरिजिनल नागरिकता फिर्ता पाऊँ । अरु कसैलाई दिएको थिइन । निजसँग मेरो साइनो पर्दैन छिमेकी हो । चक्रबहादुर कार्की मेरो मामा पर्नुहुन्छ । धितो जग्गा मेरो नामको जग्गा नै होइन मेरो कटहरी १ मा कुनै जग्गा जमिन नै छैन । मैले तमसुकमा सही गरेको छैन । बैंक भौचरमा सही गरेको छैन । त्यसैले मलाई थाहा छैन र संलग्न पनि छैन । मोतीलालभक्तलाई चिन्दिन भनी यशोदा बस्नेतले अनुसन्धानको क्रममा गरेको बयान 

मेरो पेशा खेतीपाती हो । मैले खाँदवारीको नामै मात्र सुनेको हुँ, २०५९, २०६० मा म त्यहा बस्दिन । मैले खाँदवारी शाखाबाट ऋण लिएको छैन । ऋण लिँदा पेश भएका नागरिकताको प्रमाणपत्र मेरो हो भनी सनाखत गरिदिएँ । २०५२ सालतिर जग्गा खरीद गर्न कामको लागी मेरो दाजुलाई मात्र आफ्नो नागरिकताको प्रमाणपत्र दिएको थिएँ । त्यसपछि कसैलाई दिएको छैन । मैले खाँदवारीबाट ऋण नै लिएको छैन । धितो कहाँबाट राख्नु ? मैले ऋण नै नलिएकोले उद्योगसम्बन्धी केही थाहा छैन । मैले राष्ट्रिय वाणिज्य बैंक खाँदवारीमा ऋण झिक्न निवेदन दिएको पनि छैन । ऋण झिकेको पनि छैन । निवेदनमा रकम बुझेको भौचर र तमसुकमा रहेको सही मेरो होइन । मेरो दाइको नाम चक्र कार्की हो । मैले जग्गा किन्न भनी फोटोसहित नागरिकता निजलाई दिएको हुँ । मिति २०५१।५२ तिर दिएको जस्तो लाग्छ । यो जग्गा कटहरी गा.वि.स. २ मा पर्छ । जग्गा दुई कित्ता छ । कित्ता नं. थाहा भएन भनी चण्डिका कटुवालले अनुसन्धानमा गरेको बयान 

मैले खाँदवारीको नामै मात्र सुनेको हुँ । २०५९, २०६० मा म त्यहा बस्दिन । मैले खाँदवारी शाखाबाट ऋण लिएको छैन । नागरिकताको प्रमाणपत्र मेरो हो । २०५३/५४ सालतिर जग्गा खरीद गर्ने कामको लागी चक्र कार्कीलाई नागरिकताको प्रमाणपत्र दिएको थिएँ । त्यसपछि कसैलाई दिएको छैन । मैले खाँदवारीबाट ऋण नै लिएको छैन । धितो कहाँबाट राख्नु ? मैले ऋण नै नलिएकोले उद्योग सम्बन्धी केही थाहा छैन । मैले राष्ट्रिय वाणिज्य बैंक खाँदवारीमा ऋण झिक्न निवेदन दिएको पनि छैन । ऋण झिकेको पनि छैन भनी सीता बस्नेतले अनुसन्धानको क्रममा गरेको बयान 

मिति २०६१ साल माघ २१ गतेको गोरखापत्रमा प्रकाशित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचनामा मेरी श्रीमती देवी दहाल साथै भाइ रोहित भट्टराई, मेरी सहोदर बहिनी श्रीमती शारदा भट्टराईको नाममा भ्रष्टाचार गरेको भन्ने उक्त पत्रिका अध्ययनबाट के कस्तो भएको भनी आफ्नो मानिस उपस्थित गराउन आएको हु । मेरो भाइ रोहित भट्टराई, बहिनी शारदा भट्टराई, मेरो काकाको छोरा गाउँले छिमेकी प्रकाश के.सी., विराटनगरमा महेन्द्र मोरङ्ग क्याम्पसमा बस्दथे र उनीहरूको नागरिकता मेरो मोरङ्ग कटहरी १ मा रहेको घरमा थियो । चक्रबहादुर कार्कीले एउटा क्लब खोल्ने भनी मसँग कुरा गरेकोले राम्रो काम होला भनी निजकी भान्जीहरू कल्पना वस्नेत र यशोदा वस्नेत समेतको नागरिकताको प्रमाणपत्रको फोटोकपी दिएको हो । उक्त कार्य गरे नगरेको मलाई थाहा भएन म आफ्नो विदा सकाई ओखलढुङ्गा तिर लागे । उक्त नागरिकताको प्रमाणपत्रको फोटोकपी फिर्ता लिन होस भएन । मेरो भाइ बहिनी र श्रीमती समेतले राष्ट्रिय वाणिज्य बैंक खाँदवारीबाट ऋण लिएको छैन भनी रमेशकुमार भट्टराईले अनुसन्धानको क्रममा गरेको बयान 

म साधारण व्यापार गर्छु । विराटनगरमा हार्डवेयरको पसल रोडसेष चोक वि. १४ मा छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयबाट खाँदवारीबाट ऋण लिएको थिएँ । राडीपाखी घरेलु उद्योग सञ्चालनको लागी रू. १,५०,०००।ऋण लिएको थिएँ । उक्त ऋण लिँदा साक्षी बसेका चक्रबहादुर कार्कीसँग नाता पर्दैन । साधारण चिनजान छ । साक्षी बसेको बारे मलाई जानकारी छैन । मैले लिएको ऋणमा म आफू स्वयंले सहिछाप गरेको हुँ । अन्य कार्य साथै साक्षी राख्ने काम बैंक स्टाफहरूको हो । मैले गरेको तमसुक हेर्दा निजले साक्षीका रुपमा सही गरेको देखियो । मेरो नाममा घरेलु तथा साना उद्योग विकास समिति खाँदवारीमा राडीपाखी उद्योग, धिघिङ्ग गा.वि.स. वडा नं. २ मा खोलेको, शुरुवात मात्र गरेको थिए । कच्चा पदार्थ र उन खरीद गर्न कठिनाई भएकोले उद्योग बन्द गरेकोले निरन्तरता दिन नसकेको हो । सो कुरा निवेदन मार्फत राष्ट्रिय वाणिज्य बैंक खाँदवारीलाई जानकारी गराएको हो । सोको प्रतिलिपि नभएको हुँदा पेश गर्न सक्दिन । व्यवसायबाट घाटा भएकोले हालसम्म व्याज बुझाउन ढिला भएको हो । कर्जाको लागी दिएको सुरक्षणबापतको जमिन मोरङ्ग ववियाविर्ता गा.वि.स. वडा नं. ६ख को ०५ आफ्नो नाममा दर्ता रहेको जग्गा हो । स्कीममा मैले कति रकम उल्लेख गरे सम्झना छैन । स्कीम सम्बन्धमा बैंकले नमागेकोले दिएको छैन । मैले दीपक लुइटेललाई धितो दिएको जग्गा रामहरि दाई भन्ने जग्गामा काम गर्ने व्यक्तिमार्फत् दिएको हुँ । मैले घरेलुमा दर्ता भएकै आधारमा मात्र राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिएको होइन । मैले मेरो नाममा दर्ता रहेको जमिन सुरक्षणमार्फत् राष्ट्रिय वाणिज्य बैंकबाट रोक्का रहेकोले मैले बैंकलाई हानि नोक्सानी गर्ने कार्य नगरेको हुँदा आयोगबाट गरेको कारवाहीको कदर गर्ने छु भनी तुलसी ओझाले अनुसन्धानको क्रममा गरेको बयान 

म खेती किसान र गाईपालन कार्य गर्दछु । त्यसको अलावा सानोतिनो ठेक्काको काम गर्दछु । म कामको सिलसिलामा अन्य जिल्ला गएको छैन । तुलसी ओझासँग मेरो कुनै कामकाज, विवाद छैन । परिचय छ । मैले राष्ट्रिय वाणिज्य बैंक कर्सिया शाखाबाट मोतीलालभक्त भन्ने मेनेजर हुँदा ऋण लिएको छु । मैले कुनै साथीको साक्षी भनी बसेको छैन । कुनैबेला बैंक जाँदा कर्सिया शाखामा कसैको नाममा गरेको भए मलाई थाहा छैन । म तुलसी ओझाको साक्षी बसेको छैन र मेरो सही होइन कसैले मेरो नामको सही गरिदिएको भए थाहा छैन । मोतीलालभक्तसँग नाता पर्दैन चिनजान छ । मोतीलालभक्त मेनेजरेले ३८/६२ देखि ३८/८१ सम्म म मार्फत लगानी गरेको भन्नु भएकोमा म एउटा सामान्य मानिस भएकोले सो कुरा झूठा हो । त्यहाँका बैंकका अरु कर्मचारी बुझिदा हुन्छ । ओमप्रकाशसँग मेरो सम्बन्ध भनेको उहाँको घर विराटनगर भएकोले चिनजान छ । शिवहरि र जितेन्द्र राईसँग विराटनगर आउँदा मोतीलालभक्त मेनेजरले मसँग चिनजान गराएका हुन् । गणक जितेन्द्र राईले मोतीलालभक्तको अगाडि मलाई दिनु भएको होइन 

जितेन्द्र राईले तीसलाख रूपैया त्यस दिनको पेमेन्ट मलाई दिएको भए म त्यो दिन सो बैंकमा गएको हुनुपर्छ तर म सो दिन बैंक गएको छ्रैन । त्यो दिन बैंकमै उपस्थित नभएकोले ल्याप्चे सही भएको थिएन । सो कुरा बैंकको ओमप्रकाश, लक्ष्मण पोखरेल तथा त्यो दिन हाजिर भएका कर्मचारीलाई सोधी पाऊँ । लोन म उपस्थित नभएको मान्छेलाई कसरी दिए यो कुरा सबै कर्मचारीलाई बुझी पाऊँ । त्यो सबै कुरा मेनेजर र अरु कर्मचारी जान्दछन् । मैले रुपैयाँ बुझेको होइन । मलाई बैंक भौचर र अरु ऋणको कागजातमा २०५९ सालको तिहारको टाइममा मेनेजरले बैंकका विभिन्न कागजमा सही ल्याप्चे गराएका थिए । तिनै कागज भौचरमा मेरो सही, ल्याप्चेछाप भएको भए त्यही मेनेजरले नै बेमानी गरेको र पैसा मेनेजरले नै के कसलाई बाँडफाँड कति गरे मलाई थाहा भएन । मेनेजरलाई थाहा होला । जितेन्द्र राईले तीसलाख भनेकोमा मेनेजरकै रोहबरमा भनेको होइन । आठ लाख सन्तोष भन्ने बैंक कर्मचारीलाई मेनेजरले भनेअनुसार दिएको मलाई मेनेजरले दुई पटक गरी तीन लाख पचासी हजार तपाईलाई भयो भनेका हुन् र अरु कुरा मेनेजरलाई नै थाहा होला 

मैले मोतीलालभक्त मेनेजरले २०५९ सालमा रातो खाली भौचर, अन्य कागजातमा सहिछाप गराएका थिए कुन ऋण हो थाहा छैन त्यो मितिमा बैंक गएका हैन । त्यो भौचर विराटनगरमा लिएर खाली भौचर र अन्य कागजमा सही गराएका छन् । मैले राष्ट्रिय वाणिज्य बैंकमा कुनै धितो जग्गा कागजातहरू पेश नगरेको, मैले उनीहरूको नाम उल्लिखित कुनै भौचरमा सहिछाप गरेको छैन खाली भौचरमा मोतीलालभक्त मेनेजरले गराएको थियो र तिनै भौचरमा लेखी पेश गरेको भए थाहा छैन भन्ने समेत प्रतिवादी चक्र बहादुर कार्कीले अनुसन्धानको क्रममा गरेको बयान 

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खाँदवारीबाट ऋण नं. ३८/६२ देखि ३८/८१ सम्म निम्न व्यक्तिहरूको नाममा निम्न उद्योग सञ्चालन/विस्तार गर्न भनी कटहरी गा.वि.स. को निजहरूको नाममा रहेको निम्न जग्गा भनी धितो लिई प्रत्येक ऋण नम्बरमा रू. १,५०,०००।का दरले हुने रू. ३०,००,०००।मिति २०६०।३।२० मा ऋण प्रदान गरेको 

 

कर्जा नं.        ऋणीको नाम     उद्योग  धितो जग्गा   क्षेत्रफल

३८/६२ मानबहादुर बस्नेत कटहरी १(क)कि.नं.३५४,                           

३८/६३ कल्पना बस्नेत,ढाका उद्योग विस्तार,कटहरी ३(घ) कि.नं.१२६,    

३८/६४ यशोदा बस्नेत, राडीपाखीउद्योग विस्तार, कटहरी १(क)कि.नं.३२१,      

३८/६५सीतादेवी बस्नेत, विस्तार गर्ने, कटहरी २(क)कि.नं५४०,               

३८/६६, शम्भुकुमार कटुवाल, विस्तार गर्ने, कटहरी २(क)कि.नं.५४३      

३८/६७, प्रकाश के.सी., विस्तार गर्ने, कटहरी२(क)कि.नं.६१९,            

३८/६८, देवी दहाल, विस्तार गर्ने, कटहरी ३(घ)कि.नं.४४५,                

३८/६९, टेकबहादुर खड्का, कटहरी २(क)कि.नं.२५४  ,                            

३८/७०, रोहित भट्टराई, ढाका उद्योड विस्तार,कटहरी ३(घ)कि.नं.४४१,         

३८/७१, गजबहादुर कार्की, विस्तार गर्ने, कटहरी ३(घ)कि.नं.१३०         

३८/७२, सुबन खत्री   —, कटहरी १(क)कि.नं.१८९,                                

३८/७३, चित्रबहादुर बस्नेत, विस्तार गर्ने, कटहरी २(क)कि.नं.१९२,          

३८/७४, मीरा कार्की   विस्तार गर्ने, कटहरी ३(घ)कि.नं.१२५,                       

३८/७५, तोरणबहादुर खत्री, विस्तार गर्ने, कटहरी १(क)कि.नं.३४८,          

३८/७६, शारदा भट्टराई, ढाका उद्योग व्यवसाय, कटहरी ३(घ)कि.नं.४५४,     

३८/७७, विणा श्रेष्ठ ढाका र राडीपाखी उद्योग,कटहरी ३(घ)कि.नं.४४७,         

३८/७८ चण्डिका कटुवाल, मुढा बनाउने, कटहरी १(क)कि.नं.१८६,         

३८/७९, काजीकुमार खत्री, ढाका र राडीपाखीकटहरी २(क)कि.नं.५६५,           

३८/८०, गोविन्द खत्री, मुढा बनाउने, कटहरी १(क) कि.न३९६,                        

३८/८१, खेमकुमार बस्नेत, राडीपाखी उद्योग, कटहरी १(क) कि.७०९       

 

प्रतिवादी मोतीलाल भक्त खवासले प्रबन्धकको हैसियतले बैंकको सम्पत्तिको संरक्षण गर्ने र बैंकलाई फाइदा हुने कुरामा ऋण प्रवाह गर्ने समेतको मुख्य दायित्व प्रबन्धकको रहेकोमा निज स्वयंले चक्रबहादुर कार्कीसँग मिलेमतो गरी उद्योग ऋणको लागी आवश्यक पर्ने उद्योग दर्ता प्रमाणपत्र बेगर धितो दिने, जग्गाको नक्कली लालपूर्जा, नक्कली चारकिल्ला प्रमाणित, नक्कली नापी नक्साको फोटोकपी, नक्कली तिरो तिरेको रसीद राखी असम्बन्धित व्यक्ति चक्रबहादुर कार्कीबाट निवेदनमा सही गरी गराई तोक लगाई कर्जा कमिटीको अध्यक्षको हैसियतले हुदै नभएको जग्गा मूल्याङ्कन गरी गराई धितो स्वीकार गरी ऋण स्वीकृत गरी असम्बन्धित व्यक्तिबाट तमसुकमा खर्च भौचरमा सही गरी गराई उद्योग कर्जा नंं ३८/६२ देखि ३८/८१ सम्मको कर्जा प्रवाह गरेको देखाई बैंकको रू.३०,००,०००।रकम निकाली आफू र अन्य व्यक्ति समेत भई खाई मासी बैंकलाई गैरकानूनी हानि नोक्सानी र आफू समेतलाई गैरकानूनी लाभ हुने कार्य गरेको देखिएबाट निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको हुनाले निजलाई उक्त दफामा उल्लेख भए अनुसार हदैसम्मको सजाय गरी बैंकलाई हानि नोक्सानी पुर्‍याएको रकम र सो बिगोको भरिभराउ हुने दिन सम्मको व्याज समेत असूलउपर गरिपाऊँ 

साथै प्रतिवादी रामचन्द्र गड्तौलाले कर्जा शाखाको प्रमुखको हैसियताले कार्य गर्दा उद्योग ऋणको लागी कर्जा कमिटीको सदस्यको हैसियतले निजले स्थापना नै नभएको उद्योग परियोजना अध्ययन प्रतिवेदन फाराममा व्यापार सञ्चालन भैरहेको भनी प्रमाणित गरी, ऋणीका नाममा नै नहेको जग्गा मूल्याङ्कन गरी गराई ऋण स्वीकृति गरी कृत्रिम ऋणीको तमसुकमा बैंकको तर्फबाट सही गरी खर्च भौचरमा सही गरी गराई ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको कर्जा उपलब्ध गराउने कार्यमा संलग्न भएको देखिएको र निजको संलग्नता र सहमति समेतबाट बैंकलाई रू.३०,००,०००।रकम गैरकानूनी हानि नोक्सानी र प्रबन्धक प्रतिवादी मोतीलालभक्त समेतलाई गैरकानूनी लाभ गरे गराएको पुष्टि भएकोले सो कार्य निजले मतियारको रुपमा गरेको हुनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरको मतियार भएकोले ऐ. ऐनको दफा २२ बमोजिम सजाय गरिपाऊँ । त्यसैगरी प्रतिवादी चक्रबहादुर कार्कीले ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको ऋणको लागी निजले प्रबन्धक मोतीलालभक्तसँग मिलेमतो गरी बैंकलाई गैरकानूनी हानि नोक्सानी पार्ने र आफू र प्रबन्धक समेतका कर्मचारीलाई गैरकानूनी लाभ पुर्‍याउन विभिन्न व्यक्तिका नाममा नागरिकताको प्रमाणपत्रका फोटोकपी तयार गरी हुँदै नभएको उद्योगको ऋणको लागी नक्कली लालपूर्जा, नक्कली तिरो तिरेको रसीद, नापी नक्साको फोटोकपी आदि राखी निवेदन बनाई आफैले सही गरी नक्कली रोक्का पत्रको आधारमा निजकहरूको नाममा नरहे नभएको जग्गाको धितो मूल्याङ्कन गराई विभिन्न व्यक्तिको नामको तमसुक र खर्च भौचरमा आफैले सही गरी रकम बुझेको देखिएको र निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा मतियार भै ऐ.ऐनको दफा २२ बमोजिम सजाय हुने कसूर भएको हुनाले सो बमोजिम मुख्य कसूरदार प्रतिवादी मोतीलालभक्त सरह नै सजाय गरी निज समेतबाट बैंकलाई हानि नोक्सानी पुगेको बिगो र असूलउपर हुने दिन सम्मको सोको व्याज समेत असूल गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी 

उद्योग कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्मका कर्जाहरूमा ऋण लगानी गर्दाका अवस्थामा कर्जा फाँटमा काम गर्ने व.स. रामचन्द्र गड्तौला कार्यरत् हुनुहुन्थ्यो । उहाँले सम्पूर्ण प्रक्रिया पूरा गरी कर्जा कमिटीमा पेश गरे पछि सबै कागजात हेरी बुझी म समेत अन्य कर्जा कमिटीका सदस्य सहायक प्रबन्ध कर्जा फाँटमा काम गर्ने कर्मचारी समेत बसी छलफल गरी ऋण स्वीकृत गर्ने निर्णय गरी कर्जा लगानी गरेको हो । उद्योग दर्ताको प्रमाणपत्र पछि पेश गराउने समझदारी भै तत्काल फायल संलग्न नभएको हो । कर्जा लगानी गर्दा ऋणीले पेश गरेको कागजातहरू सक्कलीनै होलान भन्ने ठानी ऋण लगानी गरेको हो । नक्कली कागज पत्र छुट्याउन सकिने कुनै साधन र आधार समेत म सँग छैन । मैले ऋणीहरूसँग मिलेमतो गरी गैरकानूनी लाभ लिई बैंकलाई हानि नोक्सानी गराएको छैन 

बैंकले लगानी गरेको रकम सम्बन्धित ऋणीहरूसँग तरताकेता गरी असूल गर्न सकिने र ऋणको भाखा नाघेको समेत थिएन । कर्जा फाँटको कर्मचारीको हैसियतले कर्जा प्रवाह गर्दा सम्पूर्ण प्रक्रिया पूरा गर्ने कार्य रामचन्द्रको हो । मैले निजलाई कुनै प्रकारको दवाव दिएको होइन । तमसुक कागज कर्जा फाँटका कर्मचारीले भरी पेश गरेको हुँदा सबै प्रक्रिया पुरा गरेको होला भन्ने विश्वासमा परेको हुँ । शाखा प्रबन्धकबाट प्रमाणित गराउने प्रचलन नहुँदा प्रमाणित नगरिएका हुन् । प्रबन्धकको हैसियतले सम्पूर्ण कामको जिम्मेवारी मेरो हो तर तोकिएको फाँटमा काम गर्ने कर्मचारीको पनि उत्तिकै जिम्मेवारी र दायित्व हुन्छ । कर्जाहरूको असूली गर्ने म्याद बाँकी नै रहेको सम्बन्धित ऋणीहरूले धितो दिएको सम्पत्तिको कागजात पनि सक्कलीनै भएको बैंकको प्रक्रिया पुरा गराई रकम लगानी गरेको बैंकलाई कुनै प्रकारको हानि नोक्सानी नभएको साथै कोही कसै ऋणीहरूबाट रकम समेत लिए खाएको नहुँदा अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मोतीलालभक्त खवासले अदालतमा गरेको बयान 

आरोपपत्र बमोजिमको कार्य मैले गरेको होइन ऋण, नं. ३८/७८ को फायलमा चण्डिका कटुवालले ऋण लिए नलिएको मलाई थाहा छैन तर जग्गा किनिदिनको लागी भनी ५।७ वर्ष अगाडि नागरिकता र फोटोकपी दिएकी हुन् । ऋण नं. ३८।१४ का ऋणी तुलसी ओझालाई चिन्दछु । ऋण लिएको बखत गरेको तमसुकमा साक्षी के कसरी लेखाए मलाई थाहा भएन । मैले साक्षीको रुपमा सही गरेको होइन । ऋण नं. ३८/६२३८/८१ सम्मको भुक्तानी मैले बुझेको छैन । ऋण लगानी गर्ने मानिस समेत मैले खोजेको होइन । मोतीलालभक्त खवासले अनुसन्धानको क्रममा गरेको बयानमा किन लेखाए मलाई थाहा भएन । मैले खर्च भौचरमा सही छाप समेत गरेको छैन । किन त्यस्तो आरोप लगाइयो मलाई थाहा भएन । दावीको मिति र समयमा म संखुवासभामा गएको छैन । सोही मितिमा ऋणीहरूको २०५९।६।१३ को फायल ३५ वटाको कर्जा जम्मा गरिएको ८ लाख एकाउण्टेण्ट र सन्तोष भन्नेलाई दिएको भनी मेनेजर मोतीलालभक्तले मैले सोधेको अवस्था पछि भनेका कुरा भएकाले सो नगद भुक्तानी भन्ने सम्बन्धमा कर्मचारीहरूले नै जानून् । एकाउण्टेण्ट र सन्तोष भन्नेले सक्कल फायल दबाए छिपाएका हुन् । मलाई फँसाउने नियत हो । उल्लिखित ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मको ऋण लगानी बारेमा मलाई केही थाहा छैन मैले सो कार्य गरी बैंकलाई हानि र आफू तथा कर्मचारीहरूलाई फाइदा पुर्‍याउने काम समेत गरेको छैन । मैले संखुवासभामा उपस्थित भै आरोपपत्र बमोजिम निवेदन दिने, फर्जि कागज तयार गर्ने, भर्ने, मूल्याङ्कन गराउने, भुक्तानी लिने आदि समेतको कार्य गरेको होइन, छैन । मैले आरोपपत्र माग दावीबमोजिमको कसूर गरेको नहुँदा सजाय पाउनु पर्ने होइन । बिगो तिर्नु बुझाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी चक्रबहादुर कार्कीले अदालतमा गरेको बयान 

उल्लिखित सि.नं. ३८/६२ देखि ३८/८१ सम्मको कर्जा लगानीका कागजात सम्बन्धमा तत्कालीन शाखा प्रबन्धक मोतीलालभक्तले मलाई अफीसमा बोलाई सबै कर्जा लगानीसम्बन्धी कागजातहरूको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । तपाईले सही गर्नुपर्ने फारामहरूमा सही गर्नुहोस् भनेकाले मैले हेर्ने, पढ्ने मौका पाइन । प्रक्रिया पुगेको छ भन्नु भएकाले शाखा प्रबन्धकले भनेको कुरामा विश्वास लागेको र मैले भनेको तपाईले मान्नुपर्छ भनी दबाब समेत दिएकाले मैले दस्तखत गरेको हुँ । उक्त लगानी गर्दाको सम्पूर्ण कागजपत्र सोही शाखामा तत्काल कार्यरत् सहायक लक्ष्मण पोखरेललाई शाखा प्रमुखले तयार गर्न लगाउनु भएकाले वहाँले नै तयार गर्नु भएको हो र तयार भइसकेको कागजपत्र र फाराममा मैले दस्तखत गरेको हुँ । शाखा प्रबन्धकको विश्वासमा परी सबै कुरा ठीक होला भनी सहीसम्म गरेको हुँ । मैले गरेको कामबाट बैंकलाई हानि नोक्सानी समेत भएको नहुँदा मलाई सजाय हुनुपर्ने होइन । सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी रामचन्द्र गडतौलाले गरेको बयान 

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी मोतीलालभक्त खवास, रामचन्द्र गड्तौला र चक्रबहादुर कार्कीलाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) अनुसार कानूनबमोजिमको सिधा पाउने गरी थुनुवा पूर्जि दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालतबाट भएको आदेश 

प्रतिवादीका साक्षी बुझ्ने आदेश भएकोमा निज प्रतिवादीहरूले साक्षी उपस्थित गराउन नसकेको वादी पक्षका साक्षी ओम प्रकाश दंगाल, जितेन्द्र राई समेतको बकपत्र मिसिल सामेल रहेको 

प्रतिवादीहरूले आरोपपत्र मागदावी बमोजिमको कार्य गरी प्रतिवादीमध्ये मोतीलालभक्त खवासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र प्रतिवादी रामचन्द्र गड्तौला तथा चक्रबहादुर कार्कीले सोही ऐनको दफा २२ अन्तर्गतको कसूर गरेको र प्रतिवादी मोतीलालभक्त खवास र चक्रबहादुर कार्कीबाट जनही रू. १,५०,००,००। (पन्ध्र लाख) का दरले सोही ऐनको दफा १७ बमोजिम बिगो भराउने समेत ठहर्छ । सो ठर्हनाले मोतिलाल भक्त खवासलाई उक्त ऐनको दफा १७ र दफा ३(१)(च) अनुसार दुई वर्ष ६ महिना कैद र बिगोबमोजिम रू.१,,००,०००।— (पन्ध्र लाख) जरीवाना हुन्छ । प्रतिवादी चक्रबहादुर कार्कीलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशअनुसार मोतीलालभक्त खवासलाई भए सरहनै उक्त दफाबमोजिम २।६ (दुई वर्ष ६ महिना) कैद र बिगोबमोजिम रू. १,५००,०००।—(पन्ध्र लाख) जरीवाना हुन्छ । अर्का प्रतिवादी रामचन्द्र गड्तौलालाई सोही ऐनको दफा २२ बमोजिम १।३ (एक वर्ष तीन महिना) कैद र ७,५०,०००।—(सात लाख पचास हजार) जरीवाना हुन्छ भन्ने समेत विशेष अदालत काठमाडौंको मिति २०६३।३।१२ को फैसला 

मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको बयान, बैंक प्रबन्धक समेतले गरेको बयानको मूल्याङ्कन नगरी बैंकका ऋण कमिटीमा बसेका कर्मचारीलाई जरीवानासम्म गर्ने गरी बैंकको रकम लिन खान सरिक भएका व्यक्तिउपर अभियोग दायर नै नगरी भएको अभियोग पत्रको आधारमा म गैर कर्मचारीउपर हदै सम्मको जरीवाना र बिगो बुझाउन पर्ने गरी विशेष अदालत काठमाडौंबाट भएको फैसला उल्टी गरी झूठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत प्रतिवादी चक्रबहादुर कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र 

मेरो कुनै आदेश वा निर्देशनबाट चक्रबहादुर कार्कीलाई रकम भुक्तानी गर्नु भनेको होइन । रामचन्द्र गड्तौला र प्रबन्धकको आदेशले नै रकम चक्रबहादुरलाई भुक्तानी गरेको हो भनी वादीका साक्षी जितेन्द्र राईले अदालतमा बकपत्र गरेकोलाई प्रतिवादीले अन्यथा भन्न नसकेको भन्ने फैसलाको आधार अग्राह्रय छ । साथै बिगो तीस लाख हिनामिना भएको भनिएको फैसला ठहर हेर्दा सबै प्रतिवादीबाट बिगो र जरीवाना समेत गरी ७५ (पचहत्तर) लाख असूल गर्ने तपसील खण्डमा उल्लेख छ । तसर्थ विशेष अदालतको उक्त फैसला उल्टी गरिपाऊँ भन्ने समेत प्रतिवादी मोतीलालभक्त खवासको यस अदालतमा परेको पुनरावेदन पत्र 

जरीवाना गरिँदा बिगोबमोजिम जरीवाना हुने ऐनको व्यवस्था रहेको र अभियोजन पक्षले अभियोग दावी गर्दा बिगोबमोजिम जरीवाना हुनुपर्ने दावी गरेको मिसिलबाट प्रमाणित हुन्छ । बिगोबमोजिम जरीवाना गर्दा बिगोको हदसम्म मात्र गर्नु पर्दछ । जनही जरीवाना गर्न मिल्दैन । उपरोक्त अध्ययनमा विशेष अदालतबाट भएको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी रामचन्द्र गड्तौलाको यस अदालतमा परेको पुनरावेदन पत्र 

यसमा प्रतिवादी चक्रबहादुर कार्कीले भरपाई कागज लगायतमा आफूले सहिछाप नगरेको भन्ने जिकीर, आफ्नोआफ्नो बयानमा लेखी दिएको अवस्थामा विशेष अदालत काठमाडौंबाट निर्णय हुँदा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट चक्रबहादुर कार्कीको सहिछाप मिलेको भन्ने राय आएकोलाई आधार बनाएको देखियो । प्रमाण ऐन, २०३१ को दफा २३(७) अनुरूप विशेषज्ञको बकपत्र गराई प्रतिवादीलाई जिरहको मौका नै नदिई प्रमाणमा लिएको अवस्थामा उक्त फैसला फरक पर्नसक्ने हुँदा छलफलको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिइ राय व्यक्त गर्ने विशेषज्ञलाई बकपत्र प्रयोजनार्थ झिकाई लगाउका मुद्दा समेत साथै राखी पेश गर्नु भन्ने मिति २०६७।१२।२२ को यस अदालतबाट भएको आदेश 

उल्लिखित कागजातहरू मैले नै परीक्षण गरेको हो । रेखाका गुणहरूको अध्ययनलाई आधार लिई परीक्षण गरिएको हो भन्ने समेत विशेषज्ञले अदालतसमक्ष गरेको बकपत्र 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन समेतको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी मोतीलालभक्त खवासको तर्फबाट विद्वान अधिवक्ताहरू क्रमशः प्रकाश राउत, माधव वास्कोटा तथा विनोद शर्मा समेतले मोतीलालभक्त बैंकको प्रबन्धक भएको र ऋण लगानीसम्बन्धी सम्पूर्ण प्रक्रिया सहायक कर्मचारीबाट पूरा भएपछि मात्र निज समक्ष पेश हुने भएकोले निजले अरुले तयार गरेका कागजातहरूको आधारमा भुक्तानीको आदेश दिएको हो । अरुले तयार गरेका कागजका आधारमा प्रबन्धकले निर्णय गर्ने हुँदा प्रस्तुत लगानी कार्यमा मेरा पक्षको बद्‌नियत एवं संलग्नता समेत छैन । प्रबन्धकले चाहने वित्तिकै एक्लै ऋण प्रवाह हुन सक्दैन । पेश भएका कागजहरू नक्कली नै हुन भन्ने मेरा पक्षलाई पूर्व जानकारी नभएकोले अरुले गरेको कामको जिम्मेवारी मेरा पक्षले लिन नसक्ने भएकोले मेरा पक्षलाई कसूर ठहर गरेको विशेष अदालतको फैसला उल्टी गरी मेरा पक्षले सफाइ पाउनु पर्दछ भनी तथा प्रतिवादी रामचन्द्र गड्तौलाको तर्फबाट विद्वान अधिवक्ता नरेन्द्रकुमार श्रेष्ठ, राजु आचार्य तथा अर्जुन खनाल समेतले मेरो पक्षले ऋण लगानीसम्बन्धी धितो दुरुस्त छ भनी कार्यालय प्रमुखले सही गर्न भन्दा विश्वासमा परी सही गरेको हो । मेरा पक्षले बद्‌नियत राखी सही गरेको छैन । त्यस माथि पनि मेरो पक्ष ऋण प्रवाह गर्न आदेश दिने जिम्मेवार व्यक्ति पनि होइन । कार्यालय प्रमुखको आदेशानुसार तयार भएको लिखतमा सही गरेको कार्यबाट भ्रष्टाचार भएको भनी मान्न नमिल्नेमा कसूर ठहर गरेको विशेष अदालतको फैसला नमिलेकोले उल्टी होस् भनी तथा प्रतिवादी चक्रबहादुर कार्कीको तर्फबाट विद्वान अधिवक्ता जगतबहादुर कार्कीले मेरो पक्ष बैंकको कर्मचारी पनि होइन । बैंक भित्र हुने कर्जा प्रवाहमा बैंकसँग सम्बन्ध नभएका व्यक्तिको संलग्नता हुने सम्भावना छैन । बैंक प्रबन्धक मोतीलालले मेरा पक्षलाई तीस लाख बुझाएको र मेरा पक्षले बुझी लिएको भनी स्वयं बैंक प्रबन्धकले भन्न सकेको छैन । बैंक भित्रको रकम नक्कली कागजहरू तयार गरी मेरा पक्षलाई बुझाउन पर्ने सम्मको आधार र कारण वादी पक्षले खुलाएको पाइदैन । मेरो पक्षलाई कसूरदार ठहराएको विशेष अदालतको फैसला गलत, त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी होस भनी र वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता सरोजप्रसाद गौतमले प्रतिवादीहरू बैंकका कर्मचारी भएकोले निजहरूलाई ऋण लगानी गर्दा पालना गर्नुपर्ने सम्बन्धित कानूनी व्यवस्था तथा पुर्‍याउनु पर्ने कार्यविधिका बारेमा थाहा जानकारी थिएन भन्न सकिँदैन । प्रतिवादीहरूले बैंकबाट ऋण लगानी गर्दा अपनाउन पर्ने सामान्य कार्यविधि पनि अपनाएको छैन । जानीजानी नक्कली कागजहरू तयार पारिएको छ । उक्त कार्य भूलबश भएको नभई बद्‌नियतपूर्वक गरेको भन्ने प्रष्ट देखिन्छ । प्रतिवादीहरू मिली सामूहिक रुपमा नक्कली कागज तयार गरी बैंकबाट रकम लिए खाएको अवस्था छ । रकम लिए खाएको नभए पनि जानी जानी लापरवाहीपूर्वक बैंकको रकम नोक्सान पारेपछि त्यस्तो कार्य स्वतः भ्रष्टाचारजन्य कार्य हुन्छ । यस्तो कार्यलाई भ्रष्टाचार मानिने भनी सम्मानीत सर्वोच्च अदालतबाट समेत विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन भएको हुँदा प्रतिवादीहरूलाई कसूर ठहर गरी सजाय गरेको विशेष अदालतको फैसला मिलेको हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी विशेष अदालतबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने कुराको निर्णय दिन परेको छ 

यसमा प्रतिवादी मोतीलालभक्त खवासले अरुका नामबाट ऋण माग गर्न लगाई असम्बन्धित व्यक्तिबाट तमसुकमा र खर्च भौचरमा सही गरी गराई हुँदै नभएको जग्गाको मूल्याङ्कन गराई धितो स्वीकार गरी कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्मको कर्जा प्रवाह गरेको देखाई बैंकको रू.३०,००,०००।तीस लाख रकम निकाली भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूर अपराध गरेकोले निज मोतीलालभक्त खवासबाट सोही दफाबमोजिम सजाय गरी बिगो समेत दिलाई पाऊँ भन्ने समेत र प्रतिवादी रामचन्द्र गड्तौलाले उल्लिखित कर्जा उपलब्ध गराउन ऋणीको नाममा दर्ता नै नभएको जग्गा मूल्याङ्कन गरी कृत्रिम ऋणीको तमसुक बैंकतर्फबाट सही गरी कर्जा उपलब्ध गराउने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरको मतियार हुने कार्य गरेकोले सोही ऐनको दफा २२ बमोजिम सजाय गरी पाउँन एवं प्रतिवादी चक्रबहादुर कार्कीले सोही कर्जाको लागी प्रबन्धक मोतीलालभक्त खवाससँग मिलेमतो गरी नक्कली कागज, तमसुक बनाई रकम बुझेकोले सोही ऐनको दफा १७ को कसूरमा मतियार भै ऐ.ऐनको दफा २२ बमोजिमको कसूर गरेकोले मुख्य कसूरदार मोतीलाल सरह नै सजाय गरी निज समेतबाट बैंकलाई नोक्सानी पुगेको बिगो दिलाई पाऊँ भन्ने समेत अभियोग दावी भएकोमा ऋण लगानीसम्बन्धी कागजमा सबै रित पुगेको छ सही गरिदिनुहोस् भनी बैंक प्रबन्धक समेतले भनेकाले सही गरेको हो रकम लिए खाएको छैन सफाइ पाऊँ भन्ने समेत प्रतिवादी रामचन्द्र गड्तौलाको र प्रतिवादी रामचन्द्र गड्तौलाले सबै कागज रीतपूर्वक छन भनी पेश गरेकोले म समेत भई कर्जा स्वीकृति गरिएको हो रित पुर्‍याई ऋण प्रवाह भएकोले दावीबाट सफाइ पाऊँ समेत प्रतिवादी मोतीलालभक्त खवासको तथा मैले दावीबमोजिम नक्कली कागज तयार गर्ने ऋण बुझ्ने समेतको कार्य नगरेकोले दावीबाट सफाइ पाऊँ भन्ने समेत प्रतिवादी चक्रबहादुर कार्कीको बयान भएको प्रस्तुत मुद्दामा अभियोग दावीबमोजिम कसूर ठहर गरी सजाय समेत गरेको छ । विशेष अदालतको सो फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको पाइन्छ 

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीमध्ये मोतीलालभक्त खवास राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खाँदवारीका तत्कालीन प्रबन्धक र रामचन्द्र गड्तौला सोही बैंकको वरिष्ठ सहायक कर्मचारी रहेको देखिन्छ भने प्रतिवादी चक्रबहादुर कार्की बैंकको कुनै कर्मचारी वा बैंकसँग सम्बन्धित व्यक्ति रहे भएको अवस्था देखिदैन । त्यस्तै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खाँदवारीले ऋण नं. ३८/६२ देखि ३८/८१ सम्मका २० थान कर्जासम्बन्धी फाइलबाट विभिन्न बीस जनाको नामबाट रू.१५०,०००।का दरले जम्मा रू.३०,००,०००।ऋण लगानी गरेकोमा पनि विवाद देखिँदैन 

३. राष्ट्रिय वाणिज्य बैंक खाँदवारीमा मानबहादुर वस्नेत, कल्पना वस्नेत, यशोदा वस्नेत, सीतादेवी वस्नेत, शम्भुकुमार कटुवाल, प्रकाश के.सी., देवी दाहाल, टेकबहादुर खड्का, रोहित भट्टराई, गजबहादुर कार्की, सुवन खत्री, चित्रबहादुर वस्नेत, मीरा कार्की, तोरण बहादुर खत्री, शारदा भट्टराई, विणा श्रेष्ठ, चण्डिका कटुवाल, काजीकुमार खत्री, गोविन्द कार्की, खेमकुमारी वस्नेत समेत २० (बीस) जनाको नामबाट जनही रू.१,५०,०००।का दरले रू. ३०,००,०००।— (तीस लाख) ऋण मागेको कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्मका कर्जा फाइलहरूबाट देखिन्छ । त्यस्तै उक्त फायलहरूमा निवेदकका हैसियतले गर्नुपर्ने निवेदन पत्र, तमसुकहरूमा गर्नुपर्ने सहिछाप तत्तत् व्यक्तिको नामबाट गरेको देखिन्छ । त्यस्तै ऋण लगानी सम्बन्धी परियोजना अध्ययन प्रतिवेदन फाराम, पारिवारिक विवरण कार्यक्रम फाराम, मूल्याङ्कन फाराम, कर्जा कमिटीको निर्णय समेतमा बैकका मेनेजर एवं कर्मचारीका हैसियतले यी प्रतिवादी मोतीलालभक्त खवास, रामचन्द्र समेतले सही गरेको देखिन्छ । निवेदकका नामको जग्गा धनी प्रमाणपूर्जा, तिरो तिरेको रसीद समेत मिसिल सामेल रहेको पाइन्छ । ऋण माग गरी ऋण बुझीलिने भनिएका व्यक्ति सुवन खत्री, प्रकाश के.सी., रोहित भट्टराई, शम्भुकुमार कटुवाल, देवी दाहाल, कल्पना वस्नेत, मीरा कार्की, चित्र बहादुर बस्नेत यशोदा वस्नेत, सीतादेवी वस्नेत, चण्डिका कटुवाल समेतका व्यक्तिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट झिकाई बुझ्दा निजहरूले राष्ट्रिय वाणिज्य बैंक खाँदवारीमा ऋण लिन पाऊँ भनी माग गरी कुनै निवेदन नै नदिएको आफ्नो नामबाट पेश भएका उल्लिखित निवेदन, तमसुकमा आफूले सही नगरेको, नागरिकताका प्रमाणपत्र आफूले पेश नगरेको, जग्गाधनी प्रमाणपूर्जा समेत आफ्नो होइन भनी उल्लेख गरेको देखिन्छ 

४. प्रतिवादी मोतीलालभक्त खवासले कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्मका कर्जा लगानी गर्दा व्यवसायिक प्रमाणपत्र र अफीसको छाप नभएको कागज भए पनि चक्र कार्कीमार्फत् ऋण लगानी गरेको हुँ । कुनै अख्तियारी विना नै चक्र कार्कीलाई भुक्तानी गरेको हो । ऋणको धितो मूल्याङ्कन फाराम, म र प्रतिवादी रामचन्द्र गड्तौलाले सही गरी जग्गा नहेरी ऋण लगानी गरेको हो । साथै सम्बन्धित ऋणीको अख्तियारी बिना नै मेरो आदेशमा गणक जितेन्द्रले रू.तीस लास चक्रबहादुर कार्कीलाई भुक्तानी गरेको हो । खर्च भौचरमा म र रामचन्द्र समेतले सही गरेको हो । एकाउण्टेण्टले पछि सही गर्छु भनेकोले रकम भुक्तानी भएको हो भनी बयान गरको पाइन्छ । प्रतिवादी रामचन्द्र गड्तौलाले पनि उक्त रकम लगानी गर्दा धितो जग्गा भए ठाउँमा आँफू नगएको प्रबन्धकले भनेबमोजिम लक्ष्मण पोखरेलले तयार पारेको लिखतमा सही गरेको हुँ । लिखत मैले तयार गरेको होइन । मोतीलाल र लक्ष्मण पोखरेलको विश्वासमा परी सही गरेको हुँ भनी बयान गरेको देखिन्छ । त्यस्तै प्रतिवादी चक्रबहादुर कार्कीले मौकामा बयान गर्दा जितेन्द्र राईले तीस लाख भनेकोमा त्यति नभई आठ लाख रुपैयाँ सतोष भन्ने बैंकका कर्मचारीलाई दिएको हो, अरु मेनेजरले नै बाँडफाँड गरेका हुन । मलाई तीन लाख पचासी हजार भयो भनी मेनेजरले भनेका हुन् । मेनेजरले भौचर कागजमा सही गराएका थिए भनी भौचरमा सही गरेको र रकम बाँडफाँड गरी लिएकोमा सावित भई बयान गरेको देखिन्छ 

५. राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको च.नं. ७१२ मिति २०६१।१२।१८ को रायपत्रमा उल्लिखित चक्रबहादुर कार्कीको अनुसन्धानको क्रममा लिइएको निजको नमुना ल्याप्चे, सहिछाप विभिन्न व्यक्तिका नामबाट ऋण माग गरेका निवेदक र तमसुकमा रहेको ल्याप्चे छापसँग मिल्छ भनी दिएको राय समेतबाट यी प्रतिवादी चक्रबहादुर कार्कीले प्रतिवादी मोतीलालभक्त खवास, रामचन्द्र गड्तौला समेतसँग मिली तमसुक, निवेदन समेतमा सही गरी बैंकबाट रू. तीसलाख निकाली लिने खाने कार्यमा संलग्न रहेको पुष्टि हुन आएको छ । प्रतिवादीले पेश गरेका जग्गाधनी प्रमाणपूर्जामा उल्लेख भएका जग्गाहरू निवेदकको नाममा दर्ता छन, छैनन् भनी सम्बन्धित निकायमा बुझ्दा उक्त जग्गाहरू निवेदकको नाउँमा दर्ता रहेको नदेखिएको तथा रोक्का नभएको भनी मालपोत कार्यालय मोरङ्गले च.नं. ४७६४ मिति २०६०।१२।२६ मा राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरमा लेखी पठाएको पत्रबाट देखिन्छ । त्यस्तै गा.वि.स. ले लेखेका ऋण मागसम्बन्धी च.नं. २०, २१, २२, २३, २४, २६, ४९, ४०, ३७, ३९, ४२, ४३, ३६, ४४, ४७, ३८, ४१, २८, ४५ र २७ नं.का पत्रहरूको सत्यता बारे सम्बन्धित कटहरी गा.वि.स.सचिवलाई झिकाई बुझ्दा उक्त च.नं. का पत्रहरू चारकिल्ला प्रमाणित गरी उक्त ऋण मागको सिलसिलामा पठाएको होइन जाली सिफारिश हुन । रसीदहरू गा.वि.स. बाट काटेका पनि होइन् भनी अनुसन्धानको क्रममा बयान गरेको देखिन्छ । साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट उक्त गा.वि.स बाट लेखी आएका भनेका पत्रहरू जाँच गर्दा पनि गा.वि.स. को पत्र र छाप उक्त ऋण लगानी फाइलमा पेश भएका विवादित पत्र छापसँग नमिलेको भनी राय व्यक्त भई आएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको च.नं.६३९ मिति २०६१।११।२७ को पत्रबाट समेत देखिन्छ 

६. प्रतिवादी मोतीलाल भक्त, रामचन्द्रले ऋण लगानीको माग भई आएपछि पुर्‍याउनु पर्ने कानूनी प्रक्रिया पूरा गरी ऋण लगानी गरेको हो, होइन भनी हेर्दा प्रचलित कानून तथा बैंकले तयार गरेको निर्देशिकाबमोजिम धितो स्वरुप पेश गरेको जग्गा सम्बन्धित व्यक्तिको नाउँमा दर्ता छ, छैन ? जुन उद्योगको नाममा ऋण माग गरेको हो सो उद्योग दर्ता छ, छैन ? बुझी जग्गा दर्ता र उद्योग दर्ता भएको देखिए धितो दिएको जग्गा रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयमा पठाई मालपोत कार्यालयबाट रोक्का गराई जग्गाको स्थलगत मूल्याङ्कन समेत गरी जग्गाको प्रकृति समेत हेरी जाँची जग्गाधनी प्रमाणपूर्जा, चारकिल्ला प्रमाणित, नक्सालगायतका ऋण माग गर्दा भर्नु पर्ने फाराम, पुर्‍याउनु पर्ने प्रक्रिया पुरा गरे पछि लगानी गरेको ऋण असूल हुने भएपछि मात्र ऋण लगानी गर्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा सो केही नगरी अवास्तविक र काल्पनिक व्यक्तिहरू ऋणीको रुपमा खडा गरी निजहरूसँग मिली तयार गरेको लिखतलाई स्वीकार गरी धितो मूल्याङ्कन, कर्जा लगानी निर्णय, ऋण लगानी भौचरमा सही गरी रू.३०,००,०००।तीस लाख भुक्तान गरेको देखिन्छ 

७. अतःमाथि विवेचित आधार र कारणहरूबाट यी पुनरावेदक प्रतिवादीहरूले नक्कली कागज तयार गरी अवास्तविक व्यक्तिको नामबाट बैंकबाट ऋण निकाली बैंकलाई नोक्सान र आफूलाई गैरकानूनी फाइदा पुर्‍याएको देखिन आयो । अब त्यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ ले परिभाषित कसूर अपराधभित्र पर्छ, पर्दैन भनी हेर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालना गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही वा बद्‌नियत गरी हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसूरको मात्राअनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि नोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असूलउपर गरिने छभन्ने र सोही ऐनको दफा २२ मा यस ऐनमा अन्यत्र छुट्टै व्यवस्था भएकोमा बाहेक यस ऐनअन्तर्गत सजाय हुने कुनै कसूरको मतियारलाई त्यस्तो कसूर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ । तर कसूर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई त्यस्तो कसूर गरेबापत नगदी, जिन्सी वा अन्य कुनै सुविधा वा लाभ उपलब्ध गराइदिने वा आँफूले लिने मतियारलाई कसूर गर्ने व्यक्ति सरह नै सजाय हुनेछभन्ने व्यवस्था भएको पाइदा यी प्रतिवादीहरू मध्ये मोतीलालभक्त खवासले आफू बैंकको प्रबन्धक भएको अवस्थामा ऋण लगानी गर्दा बैंकको निर्देशन पालना नगरी पेश भएको धितोको बारेमा छानबीन नगरी प्रचलित कानूनी व्यवस्थाको विपरीत हुने गरी लापरवाही गरी नक्कली कागज र काल्पनिक ऋणीका नामबाट ऋण प्रवाह गरी आफूलाई फाइदा बैंकलाई नोक्सान पुर्‍याएको देखिँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर देखिन आयो 

८. यस्तै प्रतिवादी रामचन्द्र गड्तौलाले आफूले जाँचबुझ गरी बैंकलाई नोक्सानी नहुने गरी ऋण लगानीसम्बन्धी फाराम, मूल्याङ्कन फाराम, ऋण लगानीसम्बन्धी निर्णय, भुक्तानीको भौचरमा सही गर्नुपर्नेमा प्रबन्धकले सही गर भनी भनेकाले विश्वासमा परी सही गरेको हुँ भनी लापरवाही गरी बैंकलाई नोक्सान पुग्ने कार्य गरेको पुष्टि भएकोले निज उपर सोही ऐनको दफा १७ को कसूरको मतियारको दावी हुँदा निजले दफा २२ बमोजिमको कसूर गरेको देखियो 

९. त्यस्तै प्रतिवादी चक्रबहादुर कार्कीले अर्काको नागरिकता पेश गरी बैंकबाट ऋण माग गरी लिएको कुरा र बैंक मेनेजरबाट तीन लाख पचासी हजार लिएको समेत स्वीकार गरी बयान गरेको, ऋणसम्बन्धी कागजहरू तयार गर्ने चक्र कार्की हुन भन्ने र निजलाई मेनेजरको आदेशले तीसलाख बुझाएको हुँ भनी गरेको गणक जितेन्द्रको बयान, चक्र कार्कीको अनुसन्धानको क्रममा लिएका नमुना ल्याप्चे, छाप, बैंकका रसीद भौचरको छापसँग निवेदन, तमसुकमा रहेका ल्याप्चे छापसँग मिल्छ भन्ने विधि विज्ञान प्रयोगशालाको पत्र समेतबाट पुष्टि हुन आएकोले बैंकका कर्मचारीसँग मिली आफू सम्बन्धित ऋणी नभए पनि बैंकबाट रकम बुझी लिई बैंकलाई नोक्सान आफूलाई गरैकानूनी फाइदा हुने काम गरेको देखिँदा निजउपर समेत सो ऐनको दफा १७ को कसूरको मतियारको दावी हुँदा निजले समेत आरोपित कसूर गरेको पुष्टि हुन आयो । तर निजले समेत बिगो लिए खाएको देखिएको हुँदा मतियार भए पनि ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसूरदार सरह निजबाट समेत बिगो भरी पाउने नै हुन्छ 

१०. यसर्थ यी प्रतिवादीहरू मिली कृत्रिम सही गरी ऋणको दरखास्त पेश गरी अवास्तविक व्यक्तिको नामबाट ऋण लिएका देखाई बैंकबाट रू.३०,००,०००।तीस लाख निकाली आफूहरूले लिई खाई भ्रष्टाचार गरेको प्रमाणित हुन आएकोले निजहरू मध्ये प्रतिवादी मोतीलालभक्त खवासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूर ठहर गरी निजबाट रू.१५,००,०००।— (पन्ध्र लाख) बिगो भराई बिगो बराबर जरीवाना र २ वर्ष ६ महिना कैद, प्रतिवादी रामचन्द्र गड्तौलालाई सोही ऐनको दफा २२ बमोजिमको कसूर ठहर गरी एक वर्ष तीन महिना कैद र रू.७,५०,०००।सात लाख पचास हजार जरीवाना तथा प्रतिवादी चक्रबहादुर कार्कीलाई सोही ऐनको दफा २२ बमोजिमको कसूर ठहर गरी निजबाट सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम रू.१५,००,०००। (पन्ध्र लाख) बिगो भराई बिगो बराबर रू.१५,००,०००।—(पन्ध्र लाख) जरीवाना तथा दुई वर्ष ६ महिना कैद हुने ठहर्‍याएको समेत विशेष अदालत काठमाडौँको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसीलबमोजिम गर्नु 

 

तपसील

प्रतिवादी मोतीलालभक्त खवासके माथि ठहर खण्डमा लेखिएबमोजिम विशेष अदालतबाट भएको फैसला सदर हुने ठहरेकोले निजलाई सो अदालतका फैसलाबाट लागेको कैद दुई वर्ष छ महिना निज थुनामा बसी सो कैद भुक्तान गरी सकेको र जरीवाना र निजबाट भरी पाउने ठहरेको बिगो समेत रू.३०,००,०००।— (तीस लाख) बापत यस अदालतमा जग्गा जेथा जमानत राखी थुनाबाट छुटेको मिसिलबाट देखिँदा निजलाई लागेको सो जरीवाना तथा निजबाट भरी पाउने ठहरेको बिगो समेत असूलउपर भए निजले राखेको जग्गा जेथा फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाइदिनु तथा जरीवान र बिगो समेत असूल नभए निजले राखेको जेथा समेतबाट कानूनबमोजिम गरी असूलउपर गर्नु गराउनु भनी सम्बन्धित मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु ... १

प्रतिवादी चक्रबहादुर कार्कीके माथि ठहर खण्डमा लेखिएबमोजिम विशेष अदालतबाट भएको फैसला सदर हुने ठहरेकोले निजलाई सो अदालतका फैसलाबाट लागेको कैद दुई वर्ष छ महिना निज थुनामा बसी भुक्तान गरी सकेको र जरीवाना र निजबाट भरी पाउने ठहरेको बिगो समेत रू.३०,००,०००।तीस लाख बापत यस अदालतमा जग्गा जेथा जमानत राखी थुनाबाट छुटेको मिसिलबाट देखिँदा निजलाई लागेको सो जरीवाना तथा निजबाट भरी पाउने ठहरेको बिगो समेत असूलउपर भए जग्गा जेथा फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाइदिनु तथा जरीवाना र बिगो समेत असूल नभए निजले राखेको जेथा समेतबाट कानूनबमोजिम गरी असूलउपर गर्नु गराउनु भनी सम्बन्धित मोरङ जिल्ला अदातमा लेखी पठाई दिनू ... २

प्रतिवादी रामचन्द्र गड्तौलाके माथि इन्साफ खण्डमा लेखिएबमोजिम विशेष अदालतबाट भएको फैसला सदर हुने ठहरेकोले निजलाई सो अदालतका फैसलाबाट लागेको कैद एक वर्ष तीन महिना निज मिति २०६१।७।१८ देखि २०६३।९।३ सम्म थुनामा बसी सो कैद भुक्तान गरी सकेको र जरीवाना रू.७,५०,०००।सात लाख पचास हजार बापत यस अदालतमा निजले जग्गा जेथा जमानत राखी थुनाबाट छुटेको देखिएकोले निजले फैसलाबाट लागेको कैद भन्दा दश महिना पन्ध्र दिन बढी अवधि थुनामा बसेको हुँदा निज बढी कैद बसेको अवधि जरीवाना असूल गर्दा कानूनबमोजिम कट्टा गरी बाँकी जरीवाना मात्र निजबाट असूलउपर गर्नु र सो बाँकी जरीवाना असूल भए निजले राखेको जग्गा जेथा फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाई दिनु । निजलाई लागेको उक्त जरीवाना असूल नभए निजले राखेको जेथा समेतबाट कानूनबमोजिम गरी असूलउपर गर्नु गराउनु भनी सम्बन्धित झापा जिल्ला अदालतमा लेखी पठाई दिनू .....३

फैसलाको जानकारी पुनरावेदकहरूलाई तथा महान्यायाधिवक्ताको कार्यालय समेतलाई दिनू ........४

दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनू ......५

 

उक्त रायमा सहमत छु 

 

न्या.तर्कराज भटृ

 

इति संवत् २०६८ साल जेठ २ गते रोज २ शुभम् ......

 

इजलास अधिकृतःनारायणप्रसाद पराजुली 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु