निर्णय नं. ६३६ - जालसाजी

निर्णय नं. ६३६ ने.का.प. २०२८
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२६ सालको फौ.फु. नम्बर ३४
फैसला भएको मिति : २०२८।३।३२।६
निवेदक : भ.पु. यालाछे ब्यासी बस्ने बुद्धिकुमार सुवाल
विरूद्ध
विपक्षी : ऐ बस्ने गोपाल सुवाल समेत
मुद्दा : जालसाजी
(१) पहिलेको भोग तिरोसमेत टुटिसकेमा–तिरो तिर्न पाउने हकको अभावमा–तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन नमिल्ने ।
०९ सालमा खान्गी खारेज भई माल दर्ता भएपछिको हकमा पुरै जग्गाको तिरो दर्तावाला बुद्धिकुमारले नै बुझाइराखेकोमा आधी जग्गाको तिरो प्रतिवादी गोपाल सुवालले पनि दोहरा पारी बुझाई रसिद लिएको रहेछ । मैयाँ भिमा दिव्येश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुन गएको ९३ सालदेखि सो खान्गीमा कायम रहेको ०८ सालसम्म वादी बुद्धिकुमारले एकलौटी बाली बुझाई तिर्जा लिएको र खान्गी खारेज भई ०९ सालमा माल दर्ता हुँदा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुनगएको यसस्थितिमा पहिलेको भोग तिरोसमेत टुटिसकेको प्रतिवादी गोपालले सो जग्गाको आधी तिरो तिर्न पाउने कानूनी हक नरहेको समेत हुँदा ०९ साल पछिको दोहरा पारी तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन मिल्ने देखिन आउँदैन ।
(प्रकरण नं. १५)
निवेदक तर्फबाट : वरिष्ट अधिवत्ता श्रीकृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : अधिवक्ता श्रीनारायणप्रसाद श्रेष्ठ
उल्लेखित मुद्दा :
फैसला
प्रधान न्यायाधीश श्री रत्नबहादुर
१. मेरो भागवण्डामा परी मोहिया दर्ता भएको भएको साल १ को धान ६।९।६।३ गहुँ १।३।२।९ घ्यू ।९३।१ बुझाउनु पर्नेमा दुर्गा ४ सु. खान्गीको ३९ नं.लुकुंडोल सिं नं.६५ को खेत ५ रोपनी ३ आना १ पैसा जग्गा ०८ सम्म खान्गीमा र ०९ सालदेखि माल नम्बरी हुन आएदेखि ०१४ सालसम्म अवछिन्न मैले तिरो गरी आएको सो जग्गामध्ये आधी जग्गा फोरी १३।१४ सालको रसिद जि.दिपबहादुरले दिने, गोपाल सुवालले लिने गरेका रहेछन । बिना निस्सा प्रमाणले खला तिरो फोरी जालसाजबाट तिरो रसिद लेनदेन गरेमा सजाय गरी पाँउ भन्नेसमेत वादी ।
२. ८० सालको नापीभन्दा अगाडि दावीको माटो मुरी ।२० मध्ये ।५ मेरा बाबु जितबहादुरका नाउँमा र ।५ माइला बाबु रत्नबहादुरका नाउँमा ।१० वादीका नाउँमा दर्ता भई तिरो छुट्टाछुट्टै बुझाई रसिद दिने लिने गरी आएको ०९ सालमा खान्गी खारेज भई मालमा लगत आएपछि बाबु जितबहादुरका नाउँको ।५ र माइला बाबु रत्नबहादुरका नाउँको ।५ समेत गरी ।१० बाबुहरू मरी मेरो हक हुनआएको मेरा नाममा दर्ता गरी देउ भनी वादीलाई भन्दा आलटाल गरी रहेका थिए । आधी जग्गा मैले भोगचलन गरी ०१५ सालको नापीमा समेत मैले नापजाँच गराइसकेको छु । ८० सालअघिदेखि लगत छुट्टाछुट्टै दर्ता भई ९२ सालको बालीसम्म पनि भ.पु.मालमा तिरो बुझाई आएको थिएँ र खान्गीमा लगत गएपछि पनि खान्गीदारलाई अघि आधी तिरो बुझाई तिर्जाको मोठमा जनाइ लिई राखेकोछु । वादीसँग रसिद तिर्जा होला सद्दे कुरा लुकाई झुठ्ठा उजुर गरेको हो भन्नेसमेत गोपाल सुवालको प्रतिवादी ।
३. जि.दिपबहादुरले प्रतिवादी नदिई म्याद गुजारी बसेको ।
४. भ.पु.माल बुझेमा बुद्धिकुमार सुवाल लेखिएको देखिएको प्र.को जिकिर बमोजिम रीत पुगी तिरो फोरीएको भए मालले त्यस्तो जवाफ दिनु नपर्ने र प्र.गोपालले निजको हक भएबाट तिरो फोरीएको सबूद गुजार्न नसकेकोले रसिद जालसाज गरेको ठहर्छ भन्नेसमेत भक्तपुर इलाका अदालतको ०१५।११।२०।३ को फैसला ।
५. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी गोपालको पुनरावेदन ।
६. दर्तावाला वादीको हक टुटेको सबूद र मंजुरी वेगर तिरो फोरी रसिद लिनु दिनु गरेको जालसाज रहेछ भन्नु परेकोले इन्साफ भ.पु.अ.को मुनासिव ठर्हछ भन्ने तत्कालीन भक्तपुर जिल्ला अदालतको ०१७।११।१३।६ को फैसला ।
७. सो इन्साफमा पनि चित्त बुझेन भन्ने प्रतिवादी गोपालको पुनरावेदन ।
८. ८० साल अगाडिको साविक लगतमा बुद्धिकुमार सुवाल माटो मुरी ।१० को स.चा. २।५ गहुँ ।१५ नगदी २।८८ देखिएको जितबहादुर सुवालका नाउँमा माटो मुरी ।५ सच्चा १।२।४ गहुँ ।७।४ नगदी रु.र १।४४ रैतान दर्ता बाँकी ।५ भन्ने देखिएकोमा ८० सालको भ.पु. सर्भेको मोठमा सो खेत ।२० नै साविक जनाई बुद्धिकुमारका नाममा अं. ५ रोपनी ३ आना १ पैसा सापट भएको देखियो । बुद्धिकुमारले पेश गरेको ८७ सालको रसिदमा स.चा.२।५ गुहँ १५ बुझाएको समेत रसिद पेश भएको ८८।८९ सालको रसिदमा समेत बुद्धिकुमारले आधी तिरो बुझाएको देखिन्छ । ०९ सालदेखी मोठबमोजिम ५।।.१ कै तिरो बुद्धिकुमारले बुझाई रसिद लिएको देखियो र ८३।८६।८७ सालमा स.चा.४।१० मध्ये १।२।४ को दरले बुझाएको र ९१।१२।३० मा ८७।८८।८९।९० सालको १।२।४ को दरले बुझाई जितबहादुरले रसिद लिएको गोपालले पेश गरेको र ९१।९२ सालको बाली नयाँ मोठको दरले धान ६।९।६ समेतको रसिद गोपालले पेश गरेको देखियो । ०१०।१२।१५ को भ.पु. मालको रसिदबाट रोपनी ५।।।१ मध्ये आधी २।।–।।१ को तिरो मोही बुद्धिकुमारको हस्ते गोपालले बुझाई रसिद पेश गरेको देखियो । ०१०।११ सालमा हस्ते गोपाल भई भ.पु.मालमा आधा तिरो बुझाएको तथा बुद्धिकुमारले सबै तिरो बुझाएको तहविल टिपनको उतार श्री कु.उ.बाट आएको छ । यसरी एउटै खलामा मोहीसँग पुरै बाली र हस्तेवारीसँग आधाबाली बुझ्दै माल अड्डाबाट रसिद श्रेस्ता खडा हुँदै आएछ । एउटै खलाको दोहोरो तिरो सालवसाल चलीरहेको रहेछ । सोहीबमोजिम आधा तिरो बुझाउने गोपाललाई रसिद गरेकोमा । जालसाज गरी रसिद लिनु दिनु गरेको भनी ठहर हुन सक्दैन । वादीले झुटै उजुर गरेको देखिन्छ । जालसाज गरी रसिद लिनु दिनु गरेको ठहराएको शुरुको सदर गरेको जि.अ. भक्तपुरको मिलेको देखिएन भन्ने ०२४।७।२।५ को डिभिजन बेञ्चको फैसला ।
९. डिभिजन बेञ्चको इन्साफमा चित्त बुझ्न दोहर्याई पाउँ भन्ने यिनै विपक्षीसँगको जग्गा खिचोला मुद्दापट्टि वादी बुद्धिकुमारले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र नयाँ महत्त्वपूर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट ०२६।५।१७।३ मा लेखी आएको र यो अर्को लोकलक्ष्मी भन्ने कान्छी सुवालनीसँगको जग्गा खिचोला मुद्दासमेत दोहर्याई पाउँ भनी अर्को निवेदनपत्र चढाएकोमा अघि भई गएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरीविभागबाट ०२६।८।३०।२ मा लेखिआएको हु.प्र.।
१०. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी दे.फु.नं.६५ को जग्गा खिचोला मुद्दासाथ फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत तत्कालीन माननीय श्री प्र.न्या.ज्यूबाट भएको ०२६।९।२९।३ को आदेश ।
११. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २८।३।२५।६ मा पेश भई निवेदक वादी बुद्धिकुमारतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र प्रतिवादी गोपाल सुवालतर्फबाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । यिनीहरूकै दे.फु.नं. ६५ को जग्गा खिचोला मुद्दा पट्टि दोहर्याई पाउँ भनी पहिले चढाएको निवेदन पत्रमा व्यहोरा साँचो हो र नयाँ महत्त्वपूर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गर्नु भन्ने ०२६।५।१७।३ मा हुकुम प्रमांगी बकस भएको र यो मुद्दा पनि दोहर्याई पाउँ भनी पछि चढाएको निवेदनपत्रमा अघि भई गएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने ०२६।८।३०।२ हुकुम प्रमांगी बक्स भई आएको समेत रहेछ । उक्त दे.फु.नं.६५ को जग्गा खिचोला मुद्दामा नयाँ र महत्त्वपूर्ण प्रमाण दाखेल भई दोहर्याई हेरी आजै यस बेञ्चबाट निर्णय भएकोले तदानुसार बक्सभएका हुकुमप्रमांगीबमोजिम यो मुद्दा पनि दोहर्याई हेरी वादी दावीको रसिद जालसाजी हो होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. झगडापरेको जग्गा ८० साल अघिको साविक लगतमा जितबहादुरसुवाल ५। बुद्धिकुमार सुवाल १० रैतान दर्ता बाँकी ५। भन्ने जनाई खेत मुरी २०। दर्ता भएकोमा ८० सालको नापीको मोठमा नं.५६ खेत रोपनी ५।१ कायम भई वादी बुद्धिकुमारका नाममा मात्र दर्ता भएको र सो खेत ९३।१०।२७।३ का सनद बमोजिम ९३ सालका बालीदेखि मैयाँ भीम दिव्यश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुनगएकोमा ०९ सालमा खान्गी खारेज भई माल दर्ता पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुन आएको समेत पेश भएको दर्ता उतारबाट प्रष्ट हुन्छ ।
१३. सो खेत दर्ताको सम्बन्धमा प्रतिवादी गोपाल सुवालबाट पेश भई राखेको भक्तपुरको मालको ०११।६।७।५ को पर्चा नक्कल हेरेमा साविक लगतमा सो खेत २० मध्ये ।५ रैतान बाँकी जनिएकोबाट जितबहादुरको छोरा गोपाल सुवाललाई पक्राउ गरेमा ८० सालमा नापी भिडेको नभई ३९ नं.लुकुण्डोल १ नं.बाट नापिएको र बुद्धिकुमारका नाममा रोपनी ५।।।१ कायम हुन गएकोले ८० साल अघिको नापी लगतबमोजिम नै कित्ता फोरी दर्ता गरिपाउँ भन्नेसमेत कागज लेखिदिएकोमा ८० सालको नापीमा दिएको पूर्जाको व्यहोरा र खलासमेत भिडाउँदा खान्गी तिरोसमेत मिलेकै भएबाट साविक भिडेका लगतबमोजिम बाँकीमा पक्राउ गर्न मुनासिव नभएकोले लगत कट्टा गर्ने र दर्ता फोरी पाउँ भन्नेतर्फ दुवै दरखास्त पर्न आएपछि ऐन सवालबमोजिम गर्ने भन्ने उक्त पर्चामा उल्लेख भएको रहेछ । ८० साल र ०९ सालसमेतमा बुद्धिकुमारका नाममा मात्र दर्ता हुन गएकोमा प्रतिवादी गोपालले कानूनको म्यादभित्र उजुर गरी सोदर्ता बदर गराई आफ्नो नाममासमेत दर्ता गराउनसकेको देखिन आएन ।
१४. भोग तिरोको हकमा आधी जग्गा मैले भोग गरी आएको भन्ने प्रतिवादी गोपालको भनाइ भएको र ८४।८५।८७।८८।९० सालसम्म ८० साल अघिको साविक लगतबमोजिम खेत ।२० के.स.चा.४।१० गहुँ १।१० को ४ खण्डको १ खण्ड हिसाबले र ९१।९२ सालको हकमा ८० सालको नापीको मोठ लगतबमोजिमको रोपनी ५।।।१ के धान ६।९।६।३ गहुँ १।३।२।९ घ्यू ।९३।२ पुरै र ०१०।११।१२।१३।१४।१५ सालको हकमा आधी रोपनी २।।–१ को धान ३।४।७।१ गहुँ ११।५।४०। घ्यू ४५ दरले मोही बुद्धिकुमारको हस्ते जनाइ प्रतिवादीतर्फ बाट तिरो बुझाएको रसिद पेश भएको पाईन्छ । तर ८० सालको नापीबमोजिम ९३।७।३ मा पाएको रैतानी पुर्जा र ९३ सालमा मैयाँ भीम दिव्यश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुन गएपछि सो ९३ सालदेखि २००८ सालसम्मको बाली तिरेको तिर्जासमेतमा बुद्धि कु्मारकै मात्र नाम लेखिएको र उक्त सालका तिर्जाहरू बुद्धिकुमारबाटै पेश हुन आएको छ । ८० सालको नापीबमोजिम बुद्धिकुमारले ९३ सालमा रैतानी पुर्जा पाई मैया भिम दिव्यश्वरीलाई खान्गी कायम रहेको ०८ सालसम्मको प्रतिवादीतर्फबाट जग्गा भोग तिरो गरेको तिर्जा रसिद प्रमाण कुनै आउनसकेको छैन ।
१५. ०९ सालमा खान्गी खारेज भई माल दर्ता भएपछिको हकमा पुरै जग्गाको तिरो दर्तावाला बुद्धिकुमारले नै बुझाई राखेकोमा आधी जग्गाको तिरो प्रतिवादी गोपाल सुवालले पनि दोहरा पारी बुझाई रसिद लिएको रहेछ । मैयाँ भिम दिव्यश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुनगएको ९३ सालदेखि सो खान्गीमा कायम रहेको ०८ सालसम्म वादी बुद्धिकुमारले एकलौटी बाली बुझाई तिर्जा लिएको र खान्गी खारेज भई ०९ सालमा माल दर्ता हुँदा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुन गएको यस स्थितिमा पहिले भोगतिरोसमेत टुटिसकेको प्रतिवादी गोपालले सो जग्गाको आधी तिरो तिर्न पाउने कानूनी हक नरहेकोसमेत हुँदा ०९ सालपछिको दोहरा पारी तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन मिल्ने देखिन आउँदैन ।
१६. यिनीहरूकै दे.फु.नं. ६५ को जग्गा खिचोला मुद्दापट्टि दर्ता भोग तिरोसमेतको आधारमा पुरै जग्गा दर्तावाल बुद्धिकुमारकैमात्र एकलौटी हक कायम हुने र प्रतिवादी गोपालको हक नपुग्ने ठहरी आजै यस बेञ्चबाट फैसला भएकोछ ।
१७. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट वादी दावीबमोजिम वादी बुद्धिकुमारको दर्ता हक भोगको जग्गाको आधी तीरो खला फोरी प्रतिवादी गोपाल सुवालबाट तिरो बुझी दिए लिएको वादी दावीको रसिद जालसाजी ठहराएको शुरु भ.पु.अ. को सदर गरी तत्कालिन भ.पु.जि.अ.ले १७।११।१३।६ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । वादी दावी नपुग्ने ठहराई ०२४।७।२।५ को डि.बे.ले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी देहायका मानिस के शुरु भ.पु.अ.को ०१५।११।२०।३ का फैसलाबमोजिम रु.५ का दरले गर्ने गरेको दण्ड डिभिजन बेञ्चको ०२४।७।२।५ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन । शुरु फैसलाबमोजिम लगत कायमै राख्नु भनी कानूनबमोजिम लगत दिनु........................१
प्र.गोपाल सुवाल के रु.५, प्र.जि.दिपबहादुर थापा के रू. ५ प्र.गोपाल सुवाल के भ.पु.जि.अ.को ०१७।११।१३।६ को फैसलाले लाग्ने गरेको दण्ड रु.५० डिभिजन बेञ्चको ०२४।७।२।५ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन । भ.पु.जि.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी ऐ........................२
वादी बुद्धिकुमार सुवालके डिभिजन बेञ्चको ०२४।७।२।५ को फैसलाले गर्ने गरेको जरिवाना रु.१ नलाग्ने हुँदा असुल भइसकेको भए फिर्ताबाँकी भए कट्टा गरिदिनु भनी ऐ ........................३
डि.बे.को०२४।७।२।५को फैसलाबमोजिम उल्टीको रिकर्डराख्ने गरेमध्ये न्या.रामबहादुर हाल नोकरीमा बहाल नहुँदा तत्कालीन भ.अ.का ना.सु.धनाढ्यको उल्टी रिकर्डको लगत काटीदिनु भनी स.अ.जनरलविभगमा सूचना दिनु...........४
नियमबमोजिम मिसिल बुझाई दिनु......................५
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
न्या.श्री ब्रम्हदत्त र
न्या.श्री चन्द्रप्रसाद
इति सम्वत् २०२८ साल आषाढ ३२ गते रोज ६ शुभम् ।