शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३९ - अंश

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६३९                  ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री राजा इश्वरीजङ्गबहादुर सिंह

न्यायाधीश श्री झपट सिं रावल

सम्वत २०२५ सालको देवानी फु.नं. ९२

फैसला भएको मिति : ०२७।१२।३।३

निवेदक : ल.पु.ई. विसंखु डाँडाथोक बस्ने गणेशबहादुर खड्का क्षेत्री

विरूद्ध

विपक्षी : ऐ.बस्ने अक्कलबहादुर खड्का क्षेत्री

मुद्दा : अंश

(१)   अंश बण्डाको लिखतलाई स्वीकार गरी आफ्नो भागमा धेरै परेकोले नालेस गरेको भनेमाउक्त लिखत नीतिपूर्वक नभएको भन्ने भनाई समर्थित नहुने ।

            वादीले नालेस गर्दा बाबा छँंदै ९५ बैशाखमा भिन्न हुँदा नीतिपूर्वक अंशबण्डा नगरी खाई जिवीकाको लागि केही जग्गा र कच्ची घर १ सम्म दिई लिई बेगलमा बसेको भन्ने उल्लेखगरेको हकमा २००४ सालमा बाबु पर्लोक भएपछि बावुको ज्यूनीमध्ये थप दिई ०९।८।१३।६ मा भए गरेको भन्ने गणेशबहादुर आगे भएको बण्डापत्र लिखतमा ९५ सालमा बाबाले नै भिन्न गराई म बाबासँगै बसेको र निज भाइ बाबाले दिएको अंश लिई बसेको भन्ने र भाइ अक्कलबहादुरलाई ज्यूनीमध्ये डाँडाथोक पाखो माटो मुरी ।३ थप गरी अघि बाबाले दिनुभएको दुवै भाइले अंश सदर गरी भन्नेसमेत बोली परेको र सो कागज वादीलाई देखाई सुनाई बयान गराउँदा उक्त कागज भएको हो र मेरो भागमा थोरै परेकोले चित्तनबुझी नालेस गरेको हुँ भनी बयान गरेकोसमेतबाट ९५ सालमा भिन्न हुँदा नीतिपूर्वक अंशवण्डा नगरी खाई जीविकासम्म लिई बेगल बसेको हुँ भन्ने वादीको भनाई समर्थित हुन आएन ।

(प्रकरण नं. १४)

(२)   दुबै पक्षको मन्जुरीले बण्डा गरी आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धक लिनु दिनुसमेत गरी सकेमाफ्नो भागमा थोरै परेको भन्ने कारणले लामो समय पछि (जस्तै २२।२३ वर्ष पछि) उजुरी गरेमाबण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरी दिन नमिल्ने ।

            वादी अक्कलबहादुर बाबु दाजुहरूसँग ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भएगरेको भन्ने देखिन नआएको र ९५ सालमा अंश लिइबसेको सदर गरी भन्नेसमेत युक्ति परेको ०९।८।१३।६ को बण्डापत्र लिखत पनि ऐनबमोजिम रजिष्ट्रेशन पास नभएकोले बण्डा भई सकेको कायम मान्न मिल्ने नमिल्ने के हो भन्ने हकमा ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भए गरेको नभए पनि बण्डा भए गरेकोलाई मञ्जुरै गरी दुवैपक्षले आफ्नो भाग बण्डामा परेको जग्गा आफ्नो नामसारी दर्तासमेत गराई भोगचलन गरी आएको र वादी अक्कलबहादुरले आफ्नो भागबण्डामा परेमध्ये खेत मुरी ।१० रामकृष्ण पाध्यालाई रु. ३९९ मा ०४।१२।१९।४ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरिदिएकोसमेत देखिनआउँछ । यसस्थितिमा बाबुको ज्यूनीमा आफूलाई थोरै परेको भन्नेसम्म कुराले २२।२३ बर्षपछि विवाद उठाई गरेको उजुरीबाट बण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरी दिने गर्दा पैले दुवैपक्षको मञ्जुरीले बण्डा गरी आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धक लिनुदिनुसमेत भएगरेको व्यवहारमा असर पुग्नजाने र वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठसमेतको अंशमुद्दामा २०१०।११।२७।४ मा प्रधान न्यायालय फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको व्यवहार बदर गर्नु मुनासिव नपर्ने भन्ने ठहर निर्णय भइराखेको समेत हुँदा वादी दावीबमोजिम बण्डा गरी दिनु पर्ने भन्न मिल्ने देखिदैन ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा

विपक्षी तर्फबाट      : वैतनिक अधिवक्ता श्री निरकुमार क्षेत्री

उल्लेखित मुद्दा : इन्द्र गोपाल श्रेष्ठ, विपक्षी, कैलाश श्रैष्ठ, मुद्दाअंश, बेञ्च फुल बेञ्च,नेपाल कानून पत्रिका, भाग २ अंक ९, पृष्ठ ३१, निर्णय नम्बर ६३

फैसला

            न्यायाधीश श्री नयनबहादुर

            १.     ९५ साल बैशाख महिनामा बाबु छँदै हाललाई खाइ जीविका गरी बस्नु भनी केही जग्गा र घर १ मलाई छुट्याई दिई बाबा र अन्यायको दाजु गणेशबहादुर सगोल बसी आएको ०४ सालमा बाबा परलोक हुँदा आधा खर्च मैले गरी काजकृया गरेको, अंश देउ भन्दा ०९ साल मार्ग १३ गते ६ मा बण्डापत्र गरिदिएकोमा थप अघि छुट्याई दिएकोमा बाबाको ज्यूनीमध्ये थप भनी डाँडाबारी माटो ।३ भन्ने जनाउन लगाई मनमानी बण्डापत्र लेखाई लक्ष्मीचा २ ठाउँको माटो मुरी ।२० को जग्गा बण्डापत्रमा नलेखाई दाजुले नै चलन गरेको र बण्डापत्रमा छुट्याएकोले ९४ साल चैत्र मसान्त तकको सगोलको बण्डा गर्नुपर्ने चल अचलको तायदाती लिई आधी बण्डा छुट्याई पाउँ भन्नेसमेत अक्कलबहादुरको फिरादपत्र ।

            २.    बाबा छँदै नीतिपूर्वक अंश लिई वादी भिन्नै बसी आएको बाबा मसँग सगोल बस्नु भएकोले लक्ष्मी माटो मुरी ।२० मेरो र बाबाको भागमा परेको बाबालाई मैले पालन पोषण गरी मरेपछि पनि काज क्रिया मैलेनै गरी आएको हुँदा मेरै हक हुने अपुताली भन्छ भने २ वर्ष नाघिसकेको अंशपाउँ भन्छ भने बण्डापत्र नै पेशगरेको पक्की घर र बिर्ता जग्गा नभएको ले सो बण्डापत्र पास गर्न नपर्ने हुँदा अंश दिनु नपर्ने भन्नेसमेत गणेशबहादुरको प्रतिवादी ।

            ३.    ०९ साल मार्ग १३ गतेको बण्डापत्रलाई दुबै पक्षले स्वीकार गरेकोले सद्दे कीर्तेमा सुनाउन नपर्ने उक्त बण्डापत्र रजिष्ट्रशनको ३ नं.अनुसार पास नभएकोले मान्यता दिन भएन, वादी प्रतिवादी दाजु भाइ अंशियार हुँदा अंशबण्डा गरी दिनुपर्ने र मानु छुट्टिएको १९४४ साल चैत्र मसान्तसम्मको दुवैतर्फबाट तायदाती लिने ०१८।१०।१०।२ मा पर्चा भई दुबैतर्फबाट तायदाती आएकोले तायदातीबमोजिम मोल बिगो रु.१२५६।८० को आधी रु.६२८।४० को अंश वादीले पाउने ठहर्छ भन्ने इलाका अदालत ललितपुर ०१९।८।२७।४ को फैसला ।

            ४.    वादीले आफ्नो भागमा परेको जग्गा बन्धकसमेत दिएको लिखत खडै छ, सो प्रमाणसमेतको वास्ता नगरी हराई दिएकोले इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

            ५.    ०९।८।१३ को घरसारको बण्डापत्र कानूनबमोजिम पास भएको नदेखिएको पास गर्ने अवधी पनि बाँकी नभएको सो बण्डापत्रमा लेखिएको वादीका भागमा परेको भनेको माटो मुरी ।१० वादीले रामहरीलाई ०४।१२।११ मा रजिष्ट्रेशन पास गरी भोगबन्धक दिएको देखिएको सो जग्गा र वादीको भाग बण्डामा परेको अरू जग्गा पनि वादीकै नाममा दर्ता नामसारी भई दुवै थरबाट आफ्नो हकबमोजिम भोग चलन व्यवहार गर्दै आएको देखिन आएको र प्रधान न्यायालय फुल बेञ्च निर्णय नं.६३ मा भएको निर्णयले घरायसमा बण्डा गरी आफ्नोफ्नो भाग भोग बिक्री व्यवहार भएमा पास गर्ने ऐनको म्याद नाघेमा फेरी बण्डा गर्न नमिल्ने गरी निर्णय भएको देखिन आएकोले अंशबण्डा गरिपाउँ भन्ने वादी दावी झुट्टै ठहर्छ भन्ने काठमाडौ जिल्ला अदालतको ०२१।६।१५।४ को फैसला ।

            ६.    माटो मुरी । २० बण्डापत्रमा नदेखाई एक लौटी खाएको सोसमेत दिलाई पाउँ भनी मैले उजुर गरेकोमा त्यसतर्फ केही विचार नगरी पास नभएको बण्डापत्रलाई सदर गरी इन्साफ हुँदा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

            ७.    यस मुद्दामा बण्डापत्रको लिखत कस्तो भएमा अंश भइसकेको प्रमाणित हुन्छ भनी निर्णय दिनु परेको छ । तल्कालीन रजिष्ट्रेशनको ३ (क) नं.ले मानु छुट्टिंदा वा जोडिंदा आवश्यक छ भनी बताएको रजिष्ट्ररी लिखितको २००० साल कार्तिक १ गते भन्दा अघि नै ९४ साल चैत्र मसान्त भनी वादीले दावी गरेकोले सो दिनलाई नै मानु छुट्टिएको मिति तल्लो अदालतबाट कायम भई आएको रहेछ सो मितिमा मानु छुट्टिएको हैन भनी अन्यथा गर्न प्रतिवादीले पहिले बण्डा भइसकेको भनी प्रमाणित गर्नुपर्छ, प्रतिवादीले त्यस निमित्त पेश गरेको ०९ साल मार्ग १३ गते ६ को लिखतको महत्त्व विचार हुन्छ, सो लिखतमा ९५ सालमा भिन्न भइसकेको भन्ने बोली परी भाग छुट्याएको देखिन्छ । त्यस्तो लिखतलाई रजिष्ट्रेशनको ३ नं.ले रजिष्ट्रेशन पास गर्नुपर्छ किनभने त्यसमा रैकर जग्गा लेखिएको छ, रैकर जग्गा दर्ता भएको नम्वरी उतार मिसिल सामेल छ । तसर्थ पास गर्नुपर्ने लिखत पास नभएको देखिएकोले यो लिखतको प्रमाण लिएर बण्डा भइसकेको भनी ठहर गर्न मिल्दैन । ९५ सालको लिखत भएको देखिदैन । ०३।३।९।१ को सनदले रजिष्ट्रेशन पास गर्नुपर्नेमा नभएपनि बण्डा भएको हुनसक्छ भन्ने भ्रम मात्र हो । त्यही सनद २०१८ ने.का.प.भाग ४ अंक ७ मा प्रकाशित त्यसैमा सो भन्दा अघिकोलाई के गर्न मनासिव पर्छ भन्ने बोली परेको र त्यसपछिलाई रजिष्ट्रेशन पास गराउनु पर्छ भन्ने लेखिएकैले यो बण्डापत्रको लिखतले अंश भइसकेको भन्ने प्रमाणित गर्दैन । आफ्ना नाउँमा दर्ता गराएको भए पनि त्यस्तो सगोलको व्यवहार हुन जान्छ, अरू साहुलाई लेखिदिएको हकमा भने सो व्यवहार बदर गराउन कानूनबमोजिम नगरेकोमा साहुको सदरै हुनाले जुन अंशियारले साहुलाई मानो छुट्टिएपछि राजिनामा दिई वा बन्धकी दिएको लिखत गरेको छ, त्यसबाट हुन जाने जति दायित्व त्यही अंशियार माथि नै रहन्छ, बन्धकी दिएको देखिएकोले थैली आसामीले बुझाउनु पर्छ वा आफ्ना भागको जग्गालाई परेको थैली साहुलाई बुझाई जग्गा निखनी लिएपनि थैली निखनी लिने अंशियारले आसामीबाट थैली लिन पाउँछ थैली नबुझाएसम्म बदर गराएको लिखतको आधारमा साहुको हक भोग कायमै रहन्छ । यस कारणले यो मुद्दामा तायदाती लिई बण्डा गर्ने ठहराएको इन्साफ इलाका अदालतको मुनासिव छ । बण्डापत्र खडा गर्न निमित्त जो चाहिने कारवाई गर्न मिसिल शुरू मै पठाई दिने भन्ने ०२३।५।२८।३ को डिभिजन बेञ्चको फैसला ।

            ८.    सो फैसलाउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्रतिवादी गणेशबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा ०९।८।१३।६ को बण्डापत्र लिखत हेर्दा त्यस्मा हामी २ भाइ अघि बाबा छँदै १९९५ सालमा बाबाले नै भिन्न गराई म बाबासँग बसेको र निज भाइ बाबाले दिएको अंश लिइबसेको हुँदा बाबा २००४ सालमा परलोक हुनुभएको बाबाको ज्यूनीमा पालनपोषण बाँचुञ्जेल र परलोक हुँदा काजकृया पिण्डपानीसमेत मैले नै गरेकोले बण्डापत्र नभएकोले आजका मितिमा अक्कलबहादुरलाई जिउनीमध्ये दिंदा थोक पाखो माटो मुरी ।३ को बारी थप गरी अघि बाबाले दिनु भएको हामी २ भाइले अंश सदर गरी अरू जिउनी दाजु गणेशबहादुरलाई छाडी तपसीलमा लेखिएको जग्गा जमिन र हाँडोभाँडो, ऋणधन, सुनाचाँदी, कसम तमम वस्तुभाउ गैरह अघि लिइसकेको र आजका मितिमा तपसीलमा लेखिएको थपसमेत लिई आफ्नोफ्नो बण्डा बुझी लियौं भन्नेसमेत व्यहोरा उल्लेख भएबाट सो लिखतले अघिको व्यवहार जनाई ज्यूनीसम्म बण्डा गरेको र ९५ सालमा अशंबण्डा भइसकेको भन्ने जनाउँछ र ज्यूनी थप बण्डालाई मात्र पास गर्नुपर्ने भन्ने मान्नुपर्ने हुन आउँछ । बाबु छँदै अंशमा उजुर नगरेकोबाट पनि ९५ सालमा बण्डा भइसकेको भन्ने पुष्टि गर्दछ । वादीले सो ०९ साल भन्दा अगावै आफ्नो भागमा परेको जग्गा भोगबन्धकी रजिष्ट्ररी पास समेत गरिदिएको र ४ खला जग्गा आफ्ना नाउँमा दर्ता गरेको कुरा का.जि.अ.को फैसलाउपर पुनरावेदनमा निवेदकले लेखेको कुरा फैसालासमेतले प्रमाणित गरेको देखिन्छ । त्यस किसिम आफ्नोफ्नो भोग दखल चलन व्यवहार गरी आएकोबाट पनि ९५ सालमा बण्डा भएको भन्ने पुष्टि गर्दछ । सर्वोच्च अदालतको फैसलामा ०३।३।९।१ को सनदले रजिष्ट्रेशन पास गर्नुपर्नेमा नभए पनि बण्डा भएको हुनसक्छ भने भ्रममात्र हो । त्यही सनदमा सो भन्दा अघिकोलाई के गर्न मुनासिव पर्छ भन्ने बोली परेको र त्यस पछिलाई रजिष्ट्रेशन पास गर्नुपर्छ भन्ने लेखिएकोले सनद हुनुभन्दा अघिको व्यवहारलाई पनि पासै गर्नुपर्ने भन्ने अर्थ गरेकोलाई सो ०९।८।१३।६ को लिखतले ज्यूनीमध्ये थप दिएको कुरा बाहेक अरू कुरालाई पनि ०९ सालमा मात्र लिनु दिनु गरेको हो भन्न मिल्दैन । सो सनदमा उल्लेख भएको उक्त उल्लेखित त्यसपछिलाई रजिष्ट्रेशन पास गर्नुपर्छ भन्ने वाक्यांशले सनद हुनु भन्दा अघिकोलाई पास नगरी बण्डासम्म गरी आएको भए पनि भोग चलन र अन्यत्र लिनु दिनु गरी व्यवहार गरेकोलाई यथास्थित राखी मान्यता दिएको हुँदा सनद हुनुभन्दा अघिकोलाई आफ्नोफ्नो अंश हक कायम गरी व्यवहार गरेकोलाई ध्यानमा राखी निर्णय दिनुपर्ने र सनद भए पछिको व्यवहारलाई पास गर्नुपर्ने पास नगरेको सदर हुन नसक्ने भन्ने प्रष्ट गरेको छ । प्रस्तुत केशमा २०१६ ने.का.प. ३१० प्रधान न्यायाधीश फुल बेञ्च निर्णय नं.६३ को वादी इन्द्र गोपालको र कैलास श्रेष्ठ समेतको अंश मुद्दाको नजीर लिई का.जि.अ बाट वादी दावा झुठ्ठा ठहराएकोमा त्यसतर्फ कुनै उल्लेख नगरी गरेको यो डिभिजन बेञ्चको निर्णयले फुल बेञ्चको निर्णय नजिरमा असर पर्न गएको देखिन आएको समेत प्रमाण परिबन्धबाट उक्त उल्लिखित अरू व्यवहारमासमेत असर पर्ने गरी गरेको सर्वोच्चअदालतको निर्णय मिलेको नदेखिंदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको व्यहोरा जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरबारबाट लेखी आएको ०२४।५।२७।३ को हुकुम प्रमांगी ।

            ९.    बक्स भई आएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाई दिनु भन्ने ०२४।६।५।५ को माननीय का.मु.प्रधान न्यायाधीशज्यूबाट भएको आदेश ।

            १०.    ०९।८।१३।६ को बण्डापत्र भनेको कागज सक्कलै दाखेल गर्नु भनी दुवै पक्षलाई तारेख तोकी दाखेल गराई पेश गर्नु भन्ने ०२६।१०।१६।५ को फुल बेञ्चको आदेश ।

            ११.    ०९।८।१३।६ को बण्डापत्र लिखत सक्कल अ.बं.७८ नं.बमोजिम वादी पक्षलाई देखाउन सुनाउन पेश गर्नु भन्ने ०२७।२।११।६ को फुल बेञ्चको आदेश ।

            १२.   ०९।८।१३।६ को बण्डापत्र देखे सुने उक्त कागज भएको हो तर मेरो भागमा थोरै परेकोले चित्त नबुझी नालेस गरेको हुँ, उक्त बण्डापत्रमा अघि बाबा छँदाछँदै १९९५ सालमा बाबाले नै भिन्न गराई म बाबासँग बसेको र निज भाइ बाबाले दिएको अंश लिइबसेको भन्ने उक्तिका हकमा ९५ सालमा बाबाले मलाई खाई जीविकालाई केही दिएको हो, खाई जीविका लिएमा अंश लिइबसेको भन्ने बोली परेकोले कसो हो भन्ने कुराको हकमा किन त्यो नमिलेको हो, किन मिलेन म भन्न सक्तिन, दाजुले पालनपोषण गरी काजकृया गरी खानु भन्ने बाबाले कुनै कागज गरिदिएको छैन, तसर्थ बाबाको जिउनीसमेत बराबर पाउनु पर्ने भन्ने वादी अक्कलबहादुरको ०२७।२।२।६ को बयान ।

            १३.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री मधुप्रसाद र वादीतर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री निरकुमार क्षेत्रीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम अंशबण्डा गरी दिनुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

            १४.   वादीले नालेस गर्दा बाबाछँदै ९५ साल बैशाखमा भिन्न हुँदा नीतिपूर्वक अंश बण्डा नगरी खाई जिविकाको लागि केही जग्गा र कच्ची घर १ सम्म दिई लिई बेगल बसको भन्ने उल्लेख गरेको हकमा २००४ सालमा बाबु परलोक भएपछि बाबुको ज्यूनीमध्ये थप दिई ०९।८।१३।६ मा भए गरेको भन्ने गणेशबहादुर आगे भएको बण्डापत्र लिखतमा ९५ सालमा बाबाले नै भिन्न गराई म बाबासँग बसेको र निजलाई बाबाले दिएको अंश लिइबसेको भन्ने र भाइ अकलबहादुरलाई ज्यूनी मध्ये डाँडाथोक पाखो माटो मुरी ।३ थप गरी बाबाले दिनु भएको दुबै भाइले अंश सदर गरी भन्नेसमेत बोली परेको र सो कागज वादीलाई देखाई सुनाई बयान गराउँदा उक्त कागज भएको हो तर मेरो भागमा थोरै परेकोले चित्त नबुझी नालेस गरेको हुँ भनी बयान गरेको समेतबाट ९५ सालमा भिन्दा हुँदा नीतिपूर्वक अंशबण्डा नगरी खाइ जिविकासम्म लिई बेगल बसेको हुँ भन्ने वादीको भनाई समर्थित हुन आएन ।

            १५.   वादी अकलबहादुर बाबु दाजुहरूसँग ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भए गरेको भन्ने देखिन नआएको र ९५ सालमा अंश लिइबसेको सदर गरी भन्नेसमेत युक्ति परेको ०९।८।१३।६ को बण्डापत्र लिखत पनि ऐनबमोजिम रजिष्ट्रेशन पास नभएकोले बण्डा भइसकेको कायममान्न मिल्ने नमिल्ने के हो भन्ने हकमा ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भए गरेको नभए पनि बण्डा भए गरेकोलाई मञ्जुरै गरी दुवै पक्षले आफ्नो भाग बण्डामा परेको जग्गा आफ्नो नाममा नामसारी दर्तासमेत गराई भोग चलन गरी आएको र वादी अकलबहादुरले आफ्नो भाग बण्डामा परेमध्ये खेत मुरी ।१० रामकृष्ण पाध्यालाई रु.३९९।। मा ०४।१२।१९।४ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरी दिएको समेत देखिन आउँछ । यस स्थितिमा बाबुको ज्यूनीमा आफूलाई थोरै परेको भन्नेसम्म कुराले २२।२३ वर्ष पछि विवाद उठाई गरेको उजुरीबाट बण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरी दिने गर्दा पहिले दुवै पक्षको मञ्जुरीले बण्डा गरी आफ्नो भाग नामसारी दर्ता भोग चलन र बिक्री बन्धक लिनु दिनुसमेत भए गरेको व्यवहारमा असर पुग्न जाने र वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठसमेतको अंश मुद्दामा २०१०।११।२७।४ मा प्रधान न्यायालय फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्नपनि नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको व्यवहार बदर गर्नु मुनासिव नपर्ने भन्ने ठहर निर्णय भइराखेको समेत हुँदा वादी दावीबमोजिम बण्डा गरी दिनु पर्ने भन्ने देखिदैन ।

            १६.    तसर्थ उपरोक्त कारणहरू बण्डा गराई पाउँ भन्ने वादी दावी पुग्न सक्तैन, वादी दावी नपुग्ने ठहराई तत्कालीन काठमाडौं जिल्ला अदालतले ०२१।६।१५।४ मा छिनेको इन्साफ मुनासिव ठर्हछ । बण्डा गरी दिने ठहराएको सुरुको सदर गरी ०२३।५।२८।३ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरू तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक प्रतिवादी गणेशबहादुर खड्का क्षेत्री के निजले मुद्दा दोहर्‍याउँदा ०२५।३।८।४ मा सर्वोच्च अदालतमा दाखेल गरेको कोर्टफी रु.२।५० कोर्टफी ऐन, २०१७ को दफा १९(३) र दफामा १८(४) बमोजिम वादी अकलबहादुर खड्का क्षेत्रीबाट भराई पाउने सोही ऐनको संशोधीत दफा १५ (११) बमोजिम ३ बर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिइ भराई दिनु भनी कानूनबमोजिम लगत दिनु..........................१

वादी अकलबहादुर खड्का क्षेत्री के.ई.अ.ललितपुरको ०१९।८।२७।४ को फैसलाले प्रतिवादी गणेशबहादुरबाट भराई दिने गरेको कोर्टफी र अरू दस्तुरसमेत रु.३२।४ प्र.गणेशबहादुरले ०१९।९।२९ मा का.दे.अ.त.मा बुझाएको सो रूपैया तत्कालीन का.जि.अ.को ०२१।६।११।४ को फैसलाले प्र.गणेशबहादुरलाई नै फिर्ता दिने गरेको र डिभिजन बेञ्चको ०२३।५।२८।३ को फैसलाले का.जि.अ.को इन्साफ उल्टी गरी वादीलाई नै फिर्ता दिने गरी ०२३।७।१९।६ मा लगत दिएकोमा उक्त डिभिजन बेञ्चको फैसलाबमोजिम गर्नु पर्दैन, का.जि.अ.को फैसलाबमोजिम लगत कायम गरी प्र.अक्कलबहादुरलाई नै फिर्ता दिनु भनी ऐ..............................२

वादी प्रतिवादीलाई बण्डापत्र सौंपुवा गरी दिने गरेको सुरुको लगत काटी दिने गरी का.जि.अ.को ०२१।६।१५।४ को फैसलाबमोजिम दिएको लगत काटी दिनु भनी ०२३।५।२८।३ को डिभिजन बेञ्चको फैसलाले काटी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन, का.जि.अ.को फैसलाबमोजिम लगत कायम नै राख्नु भनी ऐ ऐ................................३

तत्कालिन ल.पु.ई.अ.का.न्यायाधीश डिल्लीबहादुर श्रेष्ठको का.जि.अ.को ०२१।६।१५।४ को फैसलाले इन्साफ उल्टीको रिकर्ड राख्नेगरेको ०२३।५।२८।३ को डि.बे.को फैसलाले सोलगत काटीदिने गरेकोमा सोअनुसार गर्नु पर्दैन, का.जि.अ.को फैसलाबमोजिम उल्टीको रेकर्ड कायम राख्नु भनी ब.अ.अदालतमा लेखि पठाई दिनु..........४

का.जि.अ.का.तत्कालीन न्यायाधीश त्रैलाक्य राजको ०२३।५।२८।३ को डिभिजन बेञ्चको फैसला उल्लेटीको रेर्कड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्चअदालत जनरल विभागमा सूचना दिनु.........................५

नियमबमोजिम मिसिल बुझाई दिनु..........................६

 

न्यायाधीश श्री इश्वरी जङ्गबहादुर सिंह र

न्यायाधीश श्री झपट सिंह

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२७ साल चैत्र ३ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु