निर्णय नं. ६४१ - हकदार कायम गरीपाउँ

निर्णय नं. ६४१ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री झपट सिं रावल
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
न्यायाधीश श्री जयदेव भट्ट
न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत २०२६ सालको फौ.फु. नं.२४
फैसला भएको मिति : ०२८।३।४।६
निवेदक : काठमाडौं इलाका फोहरा दरवार बस्ने ले.ज.माधव सम्शेर ज.वा.रा.
विरूद्ध
विपक्षी : ऐ. त्यौड बस्ने कुन्जबहादुर राणा समेत
मुद्दा : हकदार कायम गरीपाउँ
(१) स्वास्नी छोरा कायम गरी दिंदा पुनरावेदन नगरी चित्त बुझाई बसेमा–स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन नसकेमा–स्वास्नी छोरा हो भन्ने सिद्ध हुने ।
सर्वप्रथम वादीहरू स्वास्नी छोरा हुन होइनन् भन्नेतर्फ हेर्दा वादीहरू ९३ सालसम्म कैले काँही आफ्नो दरवारमा बस्ने गरी आएको भन्ने कुरा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेरहरूले स्वीकारै गरेका छन् । नोकरको रूपमा आइबस्ने गरेको भन्ने निजहरूको जिकिर भए पनि त्यस कुराको सबुद प्रमाण दिन गुजार्न सकेको पाइदैन । यिनीहरूकै पहिले परेको अशं मुद्दामा सुरु रा.का.दे.पै.बाट जाहेर प्रकाश नभएका स्वास्नी छोरा हुँदा अंशमा दावी नलाग्ने भनी खारेज गरेको रहेछ । त्यसबाट श्री ज.प्रताप सम्शेरको स्वास्नी छोरा त कायमै गरी दिएकोमा प्रतिवादीहरूले पुनरावेदन नगरी चित्तबुझाई बसेका देखिन्छ । प्रतिवादीहरूतर्फबाट हाल बहससमेतमा वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन पनि सकेन । अतः उपरोक्त कारणहरूबाट वादीहरू श्री ज.प्रताप सम्शेरकै स्वास्नी छोरा रहेछन् भन्ने कुरा सिद्ध भएकै छ ।
(प्रकरण नं. २६)
(२) तत्काल प्रचलित लोग्ने स्वास्नीको ५ नं. : स्वास्नीले कसैलाई आफ्नो पतिको स्वास्नी छोरा हुन् भनी–साक्षीहरू मध्ये कसैले भनेर थाहा पाएको भनी–कसैले स्वास्नी छोरा हो भनी किटेर बकपत्र गरी दिएमा–निजहरू घरमा राखेको स्वास्नी छोरा देखिन आउने ।
वादी सितावदन फुलनाना उक्त लोग्ने स्वास्नीको ५ नं.अनुसार बाहिर राखेकी स्वास्नी वा घरमै राखेको के हो र वादीहरू प्रकाश भएका स्वास्नी छोरा हुन होइन भन्नेतर्फ हेर्दा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेर सरहकै अंशियार निजहरूकै मुमा नारायण लिंकुमारीले फुलनाना सितावदन हाम्रो दरवारमा सानै उमेरदेखि ल्याइराखेका थिए, पछि उनीहरूसँग पति ज.प्रताप सम्शेर फँस्नु भई छोरा कुन्जबहादुर, चलाकबहादुर, छोरी पुतली जन्मेको हुँदा वादीहरू प्रकाश गरी राखेका स्वास्नी छोरा हुन् भन्ने बयान गरेकी र वादीको साक्षी आफू रानी साहेब प्रतिवादीहरूकै जेठा बुवा श्री ज.चक्र सम्शेरकी पत्नीले श्री ज.प्रताप सम्शेर पाल्पाको बडाहाकिम हुँदा म पनि पाल्पा गई उहाँको दरवारमा २ वर्ष सँगै साथ बसेको बखत सिताबदन फुलनाना प्रताप सम्शेरको स्वास्नी हुन् र छोरा कुन्जबहादुर चलाकबहादुर, छोरी पुतलीसमेत साथै थिए, ती सबै एउटै भान्छामा खाने हुँदा यिनीको हुन् भनी सोद्धा सीतावदन, फुलनाना प्रताप सम्शेरका रानी हुन र निजबाट जन्मेका छोरा छोरी कुन्जबहादुर चलाकबहादुर पुतली हुन् भनी भन्थे, त्यसै बेलादेखि थाहा पाएकी हुँ भन्ने र वादीको साक्षी श्री ज.राम सम्शेर प्रतिवादीहरूकै भैयादले ८८ सालमा बुवा श्री ३ महाराज भिम सम्शेर कहाँ राणाहरूको थमौती हुँदा सो थमौतीको दाम राख्न भनी दाज्यू श्री ज.प्रताप सम्शेरकहाँ म रूपैयाँ राख्न भनी जाँदा दाज्यूबाट भाइ मेरो छड्के पट्टिका स्वास्नी सितावदन फुलनानापट्टिको छोराहरू भनी यी वादीहरूलाई देखाई बक्सेको थियो भन्ने वादीको साक्षी श्री ऋषीकेश शाह, प्रतिवादीहरूकै भानिजले श्री ज.प्रताप सम्शेरको सितावदन फुलनाना ल्याईता स्वास्नी र कुन्जबहादुर चलाकबहादुर छोरा हुन्, म पनि मावली बज्यै नारायण लिंकुमारी कै साथमा रहे बसेर हुर्केको हुँदा सानैदेखि वादी चलाकबहादुर कुन्जबहादुर समेत सँगसँगै खेले हुर्केको हुँ भन्नेसमेत किटानसाथ बकपत्र गरेको पाइन्छ । यसबाट वादी सितावदन फुलनानाहरू ज.प्रताप सम्शेरले घरैमा राखेको स्वास्नी हुन् भन्नेसमेत देखिन आउँछ ।
(प्रकरण नं. २८)
(३) पहिलेको कुरा थाहा छैन भन्ने दुवै पक्षको साक्षीको भनाइ भएमा–उक्त भनाइले प्रकाश नभएको स्वास्नी छोरा भन्ने जिकिरलाई मद्दत गर्न नसक्ने ।
जहाँसम्म दुवै पक्षको साक्षी फिल्ड मार्सल श्री रूद्र सम्शेरको बकपत्रको प्रश्न छ, उहाँले पहिले मलाई केही थाहा छैन, मैले फोहरा दरवारमा वादीहरूलाई देखेको थिइन । मैले टिका लगाई दिएको छैन । म कहाँ आएको पनि होइन भन्ने र पछि वादी पक्षले जिरह गर्दा म ८।९ सालमा पाल्पाबाट आई नेपाल बसेपछि वादीहरू म भएमा आई हामी प्रताप सम्शेरका स्वास्नी छोरा हौं भनी वादीहरूले भनेकोले चिनेको हुँ भन्ने भनाई छ । वादीहरू श्री ज.प्रताप सम्शेरको जीवनकालमा प्रकाश भएका थिएनन् भन्ने नभई पहिलेको कुरा थाहा छैन भन्नेसम्म उहाँको भनाइले प्रकाश नभएका भन्ने प्रतिवादीहरूको जिकिरलाई कुनै मद्दत गर्न सक्तैन ।
(प्रकरण नं. २९)
(४) स्वास्नी छोराको नाम उल्लेख गर्ने बाध्यता नभएको पत्रमा निजहरूको नाम उल्लेख नभएमा–निजहरू प्रकाश नभएको स्वास्नी छोरा भन्ने अर्थ गर्न नमिल्ने ।
श्री ज.प्रताप सम्शेरले श्री ३ महाराजा जुद्ध सम्शेरकहाँ चढाएको उइल भनिएको पत्रमा वादीहरूको केही उल्लेख नभएको भन्ने प्रतिवादीपक्षको जिकिरका हकमा त्यसमा प्रतिवादी माधव सम्शेर गोविन्द समशेरको पनि नाम उल्लेख छैन । तीनपाटनको बिर्ता रानी नारायण लिङ र ५ छोरीलाई दिने व्यवस्था गरिएको कुरासम्म उल्लेख गरिएको छ, सबै परिवारको लागि व्यवस्था गरेको नभई कुनै खास सम्पत्ति परिवारमध्येका कुनै व्यक्तिहरू लाई दिनेसम्म व्यवस्था गरेको उक्त उइल भनिएको पत्रमा वादीहरूको नाम उल्लेख गर्नैपर्ने बाध्यता भएको कुरा पनि होइन । त्यसकारण उक्तपत्रमा वादीहरूको विषयमा केही उल्लेख नभएकोले वादीहरू प्रकाश नभएको भन्ने अर्थ गर्न मिल्दैन ।
(प्रकरण नं. ३०)
(५) वारेसद्वारा पास गराएको लिखतहरूमा बाबु बाजेको नाम फरक–फरक देखिएमा पनि प्रकाश नभएको स्वास्नी छोरा भन्ने अर्थ गर्न नमिल्ने ।
प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वादी कुञ्जबहादुर उमेर पुगिसकेपछि निजको नाममा जग्गा खरिद लिंदा ९९।२।१२।२ को लिखतमा ब्रम्हबहादुरको नाती गोबिन्दबहादुरको छोरा भन्ने र ०४।१।३०।३ को लिखतमा वीरबहादुरको नाती गोपालबहादुरको छोरा भन्ने ३ पुस्ते लेखाएको छ । बुवा ज.प्रताप सम्शेरकै जीवनकालमा प्रकाश भएको भए त्यसरी बाबु बाजेको नाम फरक पारी लेखाउनु पर्ने थिएन भन्ने र वादीतर्फमा विद्वान अधिवक्ता संरक्षक प्रतिवादीहरूले नै कुञ्जबहादुरका नाउँमा जग्गा खरिद गराई लिई वारेसद्वारा पास गराई लिएकासमेत हुँदा त्यस्तो लेखाएको भन्ने बहस गर्नुभएतर्फ हेर्दा सो लिखतमा लेखिए बमोजिमकै वादी कुञ्जबहादुरको बाबु बाजे भए दुवै लिखतमा एकै बाबु बाजे लेखाएको हुनुपर्नेमा फरक–फरक नाम लेखाएको र सो कागज निज कुञ्जबहादुर स्वयं उपस्थित भई पास गराई लिएको नभई वारेसद्वारा औंठाको छाप लगाई पास गराइलिएको भन्ने देखिएको समेत हुँदा उक्त लिखतहरूमा वादी कुञ्जबहादुरको ३ पुस्ते फरक–फरक लेखाएको भन्ने आधारमा प्रकाश नभएको भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको उपरोक्त तर्क युक्तिसङ्गत देखिंदैन ।
(प्रकरण नं. ३१)
(६) स्वास्नी छोरा होइनन भन्नेले सद्दे साँचो मानिएको प्रमाण निमित्त प्रस्तुत पत्रहरूबाट निजहरू स्वास्नी छोरा देखिन आएमा–निजहरू स्वास्नी छोरा हुन भन्ने प्रमाणित हुने ।
वादीहरूबाट प्रमाणमा पेश भइराखेको चिठ्ठीमध्ये सद्दे भनी प्रतिवादीहरूले पनि मानी राखेको कुनै माधव सम्शेरले कुञ्जबहादुरलाई कुनै गोविन्द सम्शेरले चलाकबहादुरलाई कुनै कान्छी रानी साहेवले भनी कुञ्जबहादुर र मैयाँ भनी सम्बोधन गरी छोरी पुतलीलाई लेखेको समेत ११ थान चिठ्ठीहरूमा वादीहरूको सुख दुःख सञ्चो बिसञ्चो पढाई इत्यादि विषयमा स्नेहभाव प्रकट गरी लेखेको र मुमा नारायण लिंकुमारीले छोरीलाई दशैंको टिका दक्षिणा पठाएको समेत देखिन्छ । वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन भन्ने सिद्ध हुनआएको कुरा माथि उल्लेख भइसकेकोले उक्त चिठ्ठीहरू प्रतिवादीहरूको जिकिरअनुसार काम गर्न राखेको व्यक्तिलाई कामकाजको सम्बन्धमा लेखेको नभई छोरा छोरी भाइ बहिनीको निकटतम सम्बन्ध हुँदा त्यस्तो चिठ्ठीहरू लेखेको र छोरीलाई दशैंको टिका दक्षिणा पठाएको समेत प्रष्ट हुन्छ । उक्त चिठ्ठीबाट वादीहरू ज.प्रताप सम्शेरका प्रकाशित भई राखेका स्वास्नी छोरा हुन् भन्ने कुरालाई प्रमाणित गर्छ।
(प्रकरण नं. ३२)
(७) जालसाजी कागज खडा गर्न पर्ने कारणको अभाव भएमा–उक्त खडा रहेको पत्र सद्दे साँचो नै मान्नु पर्ने ।
अर्को प्रतिवादीहरूले जालसाज भनेको चिठ्ठी २ मध्ये नारायण लिंकुमारीले चलाकबहादुरलाई लेखेको ०६।११।११ को चिठ्ठीमा तिमीलाई चालिसहजार तिम्रो दिदीलाई पाँचहजार कुञ्जेलाई चालिसहजारसमेत पचासीहजार मध्येमा मेरो भागबाट अठ्ठाइसहजार तीनसय तेत्तीस रूपैयाँ पाँच आना मे.ज.माधव सम्शेरका नाउँमा चेक काटी बुझाइदिएँ । तिमीले पाउनु पर्ने चालिसहजार र तिम्रो दिदीको पाँचहजार नानी छोरा ले.क.गोविन्द सम्शेर जिम्मा गएको छ, तिमी र तिम्रो दिदी मजकुर छोरा नानीको भागमा र कुञ्जे छोरा नानी मे.ज.माधव सम्शेरको भागमा परेको भन्ने र रानी लिङकुमारीले गोविन्द सम्शेरलाई लेखेको ९६।८।१८।१ को चिठ्ठीमा कुञ्जबहादुर, चालकबहादुरको गोत्रको बन्दोवस्त मिलाउने सम्बन्धलाई लिई निजहरू तिम्रो बुबाज्यूका रगत हुन् अधर्म नगर भन्नेसमेत उल्लेख गरिएको रहेछ । नारायण लिंकुमारी आफ्नो छोराहरूको विरूद्धमा गई वादीहरूसँग मिली जालसाजी चिठ्ठी खडा गर्नुपर्ने कुनै खासकारण खुलाउन र त्यसकुराको सवुत प्रमाण गुजार्न प्रतिवादीहरूले नसकेकाले उक्त चिठ्ठीहरू सद्दे नै मान्नु पर्ने हुनआएकोछ ।
(प्रकरण नं. ३३)
(८) कुनै पत्रबाट प्रकाश गरी नराखेको स्वास्नी छोरा देखिएमा–श्री ३ मा जाहेर गरी गोत्रको ठेगाना लगाउने उक्त पत्रको मनसायसम्म देखिएमा–प्रकाश नगरेको स्वास्नी छोरा भन्ने समर्थित नहुने ।
उक्त ९६।८।१८।१ को चिठ्ठीमा गोत्रको ठेगाना लगाउने कुरा लेखिएकोले सो मितिसम्म वादी हरू प्रकाशमा आइनसकेको प्रष्ट हुने भन्ने प्रतिवादीपक्षको मुख्य जिकिर भएको हकमा उक्त चिठ्ठीमा श्री बाबुज्यूको रगत हुन, निज कुञ्जेहरूको बारेमा श्री जनरल साहेबबाट र मैलेसमेत सुतक बारी पुतलीलाई आजसम्म परेको काममा टिका लगाई दक्षिणा श्री को पालादेखि सबैले दिइआएको हुँदा मैले चाहिं धर्म पोल्ने होइन भन्नेसमेत उल्लेख गरिएको बाट वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन् भन्ने प्रतिवादीहरूको परिवारमा पहिले नै प्रकाश भइसकेको कुरा उक्त चिठ्ठीले नै व्यक्त गरेको छ, पछि छोराहरूसंग कुरा नमिलेबाट गोत्रको बारेमा श्री ३ मा जाहेर गरी ठेकान लगाउनेसम्म उक्त चिठ्ठीको मनसाय देखिन्छ । जसबाट प्रतिवादीहरूको उपरोक्त जिकिर समर्थित हुँदैन ।
(प्रकरण नं. ३४)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा र अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठ
उल्लेखित मुद्दा :
फैसला
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
१. स्वर्गिय ज. प्रताप सम्शेरले आफ्नै दरवारमा राखी प्रकाश गरी राखेकी अविवाहिता स्वास्नी र म फुलनानाको छोरा म चलाकबहादुर म सीतावदनको छोरा म कुञ्जबहादुरसमेतले अंश पाउँ भनी अन्यायवालाहरूका नाउँमा देवानीमा नालेस गर्दा मुमा चाहिं प्रतिउत्तरै नदिएकी छोरा वादीहरूले हाम्रो बुबाको स्वास्नी छोरै होइनन् । स्वास्नी छोरो भए बाबु छँदै अंशको हक गराई लिन सक्नुपर्ने नसकेको हुँदा अंशको दावा पुग्न नसक्ने भन्नेसमेत प्रतिवादी दिएकाले नालेस गर्न आएका छौ । हामी अर्कोको छोरा स्वास्नी भए यो यसको छोरा स्वास्नी भनी लेख्न सक्नुपर्ने सकेको छैनन् । न्वारान पास्नी शिवराज पण्डितद्वारा भएको हो । उइल हुँदा पनि अरूमा ऐनबमोजिम अंश गर्नु भन्ने लेखिएको छ । ९१ सालमा बुवा स्वर्गीय हुँदा हामीसमेत कृया बसी छोरा नाबालक हुँदा स्वास्नीहरूले १ वर्षी बारेको हो । ९३ सालमा अंशबण्डा गरेको भए ऐनबमोजिम पास भएको देखाउन सक्नुपर्ने, म कुन्जबहादुरका नाममा जग्गा खरीद गर्दा लिखितमा ३ पुस्तै फरक पारी दाजु माधव सम्शेरबाट वारेस खटाई पास गराएका हुन । प्रतिवादी माधव सम्शेर, गोविन्द सम्शेरले हामीहरूलाई लेखेको चिट्टीबाट ज.प्रताप सम्शेरको प्रकाशित छोरा स्वास्नी भन्ने प्रष्ट देखिन्छ । हामीहरूलाई ज.प्रताप सम्शेरको प्रकाशित स्वास्नी छोरा कायमा गरिपाउँ भन्नेसमेत सीतावदन, फुलनाना, चलाकबहादुर, कुन्जबहादुर समेतको ०१३।९।२५।३ को फिरादपत्र ।
२. अंश मुद्दामा यी अप्रकाशित छोरा स्वास्नी ठहरी अंश नपाउने गरी फैसला भएपछि फेरी उसै कुराको दावा लिई झुठ्ठा उजुर गरेको हो । बुबाज्यूका छोरा स्वास्नी भए राणाहरूको बंशावलीमा प्रकाशित हुनु र ९३ सालमा हाम्रो अंशबण्डा हुँदा हामीले पनि अंश पाउनु पर्ने भनी उजुर गर्नुपर्ने थियो । ८९ सालमा बुबाले उइल कागज लेखी जाहेर गर्दा अविवाहिता स्वास्नी नदेखिएकोमा मुमाले चिठ्ठी लेख्नाको अवस्थै छैन । कुन्जबहादुरले जग्गा खरीद गर्दा अर्कै पुस्तावारी देखाएका छन् । बुवा छँदै कुनै जाहेर प्रकाश भएको र अंशका हक गराएको छौं भनी भन्न सकेका छैनन् । हाम्रो मुमालाई हात लिई प्रतिउत्तरै नदिलाउने गरी झुठ्ठा नालिस गरेका हुन् बुवा स्वर्गीय हुँदा आसोज वर्षी बारेको समेत छैन । नोकर इष्टमित्रलाई चिठ्ठी लेख्नु स्वभाविकै हुँदा सो चिठ्ठीकै भरले छोरा स्वास्नी नठहर्ने हुँदा झुठ्ठा उजुर दिएमा वादीहरूलाई नै सजाय गरिपाउँ भन्नेसमेत ले.ज.माधव सम्शेर ले.क.गोविन्द शम्सेर समेत २ जनाको प्रतिवादी ।
३. वादीबाट पेश भएको चिठ्ठी प्रतिवादीलाई सुनाएकोमा मुमा कान्छी रानी साहेवले गोविन्द सम्शेरलाई लेखेको भनेको चिठ्ठी जालसाजी र अरू ११ थान चिठ्ठी सद्दे हो भन्ने प्रतिवादी हर्षबहादुरको र मुमा कान्छी रानी साहेवले लेखेको ९६ सालको चिठ्ठी समेत सद्दे हो भन्ने वादीको बयान ।
४. मैले लेखेको चिठ्ठी सद्दे हो भन्नेसमेत नारायण लिनकुमारीदेवीको वा.धर्मदत्तको बयान ।
५. वादी मध्ये कुञ्जबहादुरले पास गराई लिएको ९९ सालको लिखतमा ब्रम्हबहादुरको नाति गोविन्दबहादुरको छोरा भनी र २००४ सालको लिखतमा वीरबहादुरको नाती गोपालबहादुरको छोरा भन्ने लेखिएको हुनाले बाबु बाजेको नाम जथाभावी लेख्ने गरेको रहेछ भन्ने देखिएको सो लिखतमा लेखिएका मानिस बाबु बाजे भए ती मानिस यहाँ बसेको हाल यहाँ छन भनी विवरण खुलाई पत्ता दिई लेख्न र त्यस कुराको सबूद दिन प्रतिवादीले सक्नु पर्ने नसकेका प्रतिवादीहरू र निजहरूको मुमा नारयण लिंकुमारीले लेखेको चिठ्ठी भनेको कागजहरू सुनाउँदा आमाले लेखेको चिठ्ठीका हकमासम्म जालसाजी भन्ने बयान गरेको आमाले लेखेको चिठ्ठीमा वादीहरूलाई खास प्रताप सम्शेरका स्वास्नी छोरा कायम गरी लेखिएको सो चिठ्ठी जालसाजी नै हो भन्ने पत्यार लायक सबुद दिन नसकेको सो चिठ्ठी नारायण लिंकुमारीले मैले लेखेकी भनी बयान गरेकी माधव सम्शेर, गोविन्द सम्शेरकी मुमाले वादीहरूतर्फ लागि त्यस्तो चिठ्ठी लेखी जालसाजी गरे होलान् भन्ने कुरा प्रतीत पर्न नसक्ने हुँदा सो चिठ्ठी साँचो देखिने माधव सम्शेर, गोविन्द सम्शेरले लेखेको चिठ्ठीहरूको व्यहोराबाट वादी कुञ्जबहादुर समेतलाई हेरविचार गरी खर्च दिई पढ्नालाई बन्दोबस्त गरी आएको देखिएको परचक्रीलाई त्यस्तो गर्नुं आवशयक नपर्ने, जग्गा किन्ने विषयमा चाहिने दस्तखत मदनबहादुरका नाममा पठाई दिएकोछु भन्ने लेखिएकोले वादीहरूको भनाईबमोजिम जग्गा खरिद गर्दा अरू–अरू नाम लेखी खरीद गर्ने गरी आएको भन्ने कुरा साँचो देखिन आउने नोकर भए कुन सालदेखि के कति तलबमा कहाँको के–कस्तो काम गराई राखेको हो प्रष्ट खुलाई लेख्न नसकेको वादीका साक्षी ऋषिकेश शाह, राम सम्शेर वादीका साक्षी चूडावल्लभ आफू रानी साहेव किशोर सम्शेर समेतको बकपत्रबाट समेत वादीहरू जाहेर प्रकाश भई दरवारमै प्रताप सम्शेरसँग साथमा रहे बसेका हुन् भन्ने देखिएको राणाशासनको बखत भरसक भित्रिनी पट्टिको छोरा स्वास्नीलाई प्रख्यात नगर्ने सिष्टम भएको भन्ने वादीहरूको जिकिर मुनासिव देखिन आउने समेतबाट वादीहरू ज.प्रताप सम्शेरका आफूसमा प्रकाश भैराखेका स्वास्नी छोराहरू ठहर्छन । यस अड्डाबाट साविक दरसाविकका पालामा प्रकाश गरी राखेको प्रताप सम्शेरका स्वास्नी छोरा ठहर्दैन भनी भएको फैसला बदर हुने भएकाले जाहेर गरेकाछौं भन्नेसमेत रा.का.दे.पै.को ०१६।८।१४।१ को फैसला ।
६. सो इनसाफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूका पुनरावेदन ।
७. प्रतिवादीको मुमा नारायण लिङ्कुमारी आफूले छोरा गोविन्द सम्शेरलाई लेखेको भनी स्वीकार गर्नुभएको ९६।८।१८ को चिठ्ठीमा कुञ्जे, चलाक, पुतली तिम्रा बुबाका रगत हुन् । उनीहरूको सुतक जनरल साहेव र मैले समेत बारेको हुँ पुतलीलाई श्रीका पालादेखि सबैले टीका लगाई दक्षिणा दिने गरेकै हो, बुढेसकालमा म धर्म पोली होइन भन्न सक्तिन, अधर्म नगर भनी लेख्नु भएको र पछि सद्दे कीर्तेमा बयान गर्दा पनि मेरो पतिका स्वास्नी छोरा हुँ भनी लेख्नु भएको प्रतिवादीहरू कि सख्यात जेठी मुमा आफू रानी साहेव भानिज ऋषीकेश शाह मैया दाजु राम सम्शेरसमेतले पनि सो कुरामा समर्थन गरी वकपत्र गरेका मुमाले लेखेको चिठ्ठी जालसाजी भन्ने हकमा आफूले जन्माएका छोराहरूको क्षति हुने र अर्को हाड गोत्रका मानिस आफ्नो हाड गोत्रमा समावेश हुन आउनेसमेत गरी जाली चिठ्ठी खडा गरेको भन्ने कुरा विश्वासमान्न सकिंदैन । काम गर्न राखेका नोकर चाकर सरहका व्यक्ति भए निजहरूको सुख दुःख सञ्चो विसञ्चो शिक्षा दीक्षाका विषयमा चिन्तित भई स्नेहपूर्ण भाव प्रकट गरी चिठ्ठी लेख्नु पर्दैन्थ्यो । प्रतिवादीहरूले स्वीकार गरेका ११ चिठ्ठी मध्ये १ थान चिठ्ठीबाट मुमा नारायण लिंले पुतलीलाई दशैंको टीका दक्षिणा रु.२ पठाएको र अर्को चिठ्ठीबाट आफू र प्रतिवादी माधव सम्शेर, गोविन्द सम्शेर ३ जनाले कुन्जबहादुर, चलाकबहादुरलाई रु.४००००। का दरले र पुतलीलाई रु.५०००। समेत दिने व्यवस्था मिलाई आफ्नो भागको रु.२८३३३। को चेक माधव सम्शेरलाई पठाएको समेत देखिन्छ । परचक्रीको निम्ति त्यति ठूलो रकम दिने इच्छा गर्नुसमेत केही प्रयोजन थिएन । जग्गा किन्दा कुनै कारणवस कृत्रिम ३ पुस्ते लेखाइ जग्गा किन्न किनाउन पनि सम्भव पर्ने हुँदा केवल त्यतिकै आधारमा वादीहरूलाई कानूनी हकबाट वन्चित गराई दिनु उचित पर्न आउदैन । उपरोक्त तथ्यहरूबाट आफ्नो परिवार भित्र चाहिं प्रकाश भएकै देखिनआयो । बाहिर फेर समेत प्रकाशित हुन चाहिं कानूनले कर लगाएको देखिन आउँदै । इन्साफ शुरूको मुनासिव ठहर्छ भन्नेसमेत काठमाडौ जिल्ला अदालतको ०१७।९।१।६ को फैसला ।
८. सो इन्साफमा चित्तबुझेन भन्नेसमेत प्र.माधवसम्शेर, गोविन्द सम्शेर समेतको पुनरावेदन ।
९. उइल नामधारी चिठ्ठीमा वादीहरूको उल्लेख नहुँदा ज.प्रताप सम्शेरका स्वास्नी छोरा छोरी होइन भन्ने कुारको कुनै आधार छैन । २ राजिनामा बाबु बाजेको नाम अलग अलग लेखिएको एकै व्यक्तिको २ बाबु र २ बाजे कसरी हुन आयो ? त्यो कतैबाट प्रष्ट हुन्न, राणा शासनको बेला राणाजीले जग्गा खरिद गर्न नहुने भएकोले कोही वनावटी नाम लेखे हुन्छ भन्ने मर्जि बक्सेकोले त्यस्तो हुन गएको भन्ने वादीको भनाई छ वादीहरूले त्यस बेलाको राणा शासनमा जे भने पनि चुप लागेर वस्नु पर्ने बेला थियो, जब २ बाबु र २ बाजे देखियो, प्रतिवादीहरूको मर्जि मुताविक काम भएकोले नै त्यस्तो हुन गएको र कुन्जबहादुरको औंठा छाप लागेकोबाट समर्थित हुन आउँछ । कुन्जबहादुरले सद्दे बाबु बाजेको नाम फेरी नयाँ बाबु र नयाँ बाजे अजमाई हिड्न पर्ने कारण पनि केही देखिदैन । यसबाट यही सिद्ध हुन आउँछ कि राजनिामामा लेखिएका बाबु बाजेहरू मर्जि मुताविकका अजमायसी हुन । अंश मुद्दामा देवानीबाट अंशबण्डाको १६ नं.बमोजिम प्रकाश जाहेर नभएका स्वास्नी छोरा छोरी हुँदा खारेज हुन्छ भनी फैसला भएकोमा त्यसउपर गोविन्द सम्शेर समेतको पुनरावेदन नपरेकाले प्रकाश जाहेर नभएका स्वास्नी छोरा हुन भन्ने कुरा मानेकै हो भन्ने दावी जिकिर छ, अंश मुद्दाको मिसिल हेरिएमा त्यस किसिमको अपील परेको देखिएन । वादीहरू प्रताप सम्शेरको प्रकाश जाहेर नभएको स्वास्नी छोरा रहेछन भन्ने कुरा त प्रतिवादी माधव सम्शेर, गोविन्द सम्शेरले मानेकै भन्नु पर्ने हुन आयो । प्रकाश जाहेर भएका हुन होइनन् भन्ने कुरा श्री ३ महाराज भीम सम्शेरको कहाँ राणाहरूको थमौती हुँदा थमौतीको दाम राख्न श्री ज.प्रताप सम्शेर कहाँ जाँदा रूपैयाँ राखी दर्शन गरिसकेपछि मौसूफ दाजैज्यूबाट भाइ मेरो छटकेपट्टिको स्वास्नी सीतावदन, फुलनाना पट्टिका छोराहरू भनी यी वादीहरूलाई देखाई बक्सेको थियो, नाम के त भनी सोध्दा एउटाको चालक, एउटाको कुन्ज भनी राखी दिएको छु भनी मर्जी भएको थियो भन्ने ले.ज.राम सम्शेरका बयानबाट देखिएकोले यी वादीहरू प्रकाश जाहेर भैसकेको देखिन आयो । पेश भएका चिठ्ठीबाट यी वादी प्रतिवादीका मौलिक र नोकर नोकर्नीकै सम्बन्धमा सीमित नरही नाता सम्बन्ध रहेछ भन्ने कुरा झल्की रहेको देखिन्छ । रानी नारायण लिंबाट किटानी साथ यी वादीहरू ज.प्रताप सम्शेरकै स्वास्नी छोरा हुँ भन्ने कुरा देखाई चिठ्ठी लेखिएको देखन्छि । स्वास्नी छोरा नभए त्यस किसिमबाट लेख्नु नपर्ने चिठ्ठीहरूबाट भाइ बहिनी छोरी सम्झी व्यवहार गरेको प्रष्ट झल्का रहेकै देखिने वादीका साक्षी ५ जनाले किटानीसाथ वादीहरू प्रताप शम्सेरका स्वास्नी छोरा छोरी हुँ भनी बकेको देखिएको समेतबाट शुरूको सदर गरेको काठमाडौ जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ भन्नेसमेत डिभिजन बेञ्चको ०२०।२।२०।२ को फैसला ।
१०. सोउपर चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत प्र.गोविन्द सम्शेरले दिनु भएको निवेदनपत्रमा व्यहोरा साँचो भए रूल नियमबमोजिमको फुल बेञ्चबाट १ एक पटक इन्साफ जाँच गरी दोहर्याई हेरी ऐन सवालबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराबाट हुकुम बक्सेको छ भनी मौसूफका विशेष जाहेरीविभाग राजदरवारबाट ०२०।४।८।१ मा लेखिआएको हु.प्र.।
११. कुन्जबहादुरका नाममा जग्गा किनेको राजिनामा बाबु बाजेको नाम अर्कै लेखिए पनि सो मध्ये वादी कुन्जबहादुर यो यसको छोरा नाति हो भनी प्रतिवादीले किटान साथ भनेको देखिएन, भिन्न भिन्न कागजमा भिन्न भिन्न बाबु बाजे देखिएबाट त्यस बखतको राणा शासनकालको राणाहरूको चलनअनुसार बनावटी नाम लेखिएको भन्ने वादी भनाई वेमुनासिव भन्न नसकिने, उइले भनेको ज.प्रताप सम्शेरले श्री ३ महाराजलाई लेखेको चिठ्ठीमा तीन पाटनको विर्ता रानी नारायण लिं र ५ छोरीलाई दिनेबारे व्यवस्थासम्म गरेको प्रतिवादी माधव सम्शेर, गोविन्द सम्शेर कै बारेमा पनि केही उल्लेख नहुँदा त्यसमा वादीहरूको नाम उल्लेख नभएबाट मात्र वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा होइनन् भन्ने प्रतिवादी जिकिर समर्थित हुन नसकेको, वादीबाट पेश भएका चिठ्ठी प्रतिवादीको वारेसलाई सुनाउँदा मुमा कान्छी रानी साहेवले म गोविन्द सम्शेरलाई लेखेको भनेको चिठ्ठी र चलाकलाई लेखे भनेको चिठ्ठी जालसाजबाट पछि लेख्ने लेखाउने समेत गरेको र सो बाहेकका अरू ११ थान चिठ्ठीका रूपमा हामीले लेखेको सद्देनै हुन, कुन्जबहादुर, चलाकबहादुर हामीहरूको महोत्तरी समेतको ठाउँ ठाउँमा काम गर्ने गरी राखिएको कामदार हुँदा सो चिठ्ठीहरू निजहरूसँगको काम कामको विषयमा लेखिएको हुँदा यस मुद्दामा प्रमाण नलाग्ने भनी बयान गरेको देखियो । चलाकबहादुरलाई लेखेको चिठ्ठीमा देखाएअनुसार माधव सम्शेर जिम्मा लाग्ने कुन्जबहादुरको माधव सम्शेरसँग र गोविन्द सम्शेर जिम्मा लाग्ने चलाकबहादुरको गोविन्द सम्शेरको पत्रको आदान–प्रदान भएको पेश भई रहेका अन्य चिठ्ठीहरूबाट देखाएको उक्त चलाकबहादुरलाई लेखेको चिठ्ठीमा आफ्नो भागको अंकसमेत खुलाई चेक काटिएको कुरासमेत उल्लेख भएको चिठ्ठी जालसाज भने पनि चेक लिई आएको हैन भनी निवेदकहरूले भन्न नसकेको चेकमा ८५ हजारको दामासाहीले हुने आफ्नो भागको अंकसमेत खुलाएको भनेको देखिएको सोही मध्येमा ४० हजारको कुरा लेखी कुन्जबहादुरलाई लेखेको चिठ्ठी सद्दे भनी मानेकोबाट र आफ्नो छोराहरू प्रति कुभावना लिई वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन भनी देखाई हकसमेत कम हुने गरी रानी नारायण लिं कुमारी समेतले जालसाज गर्नुपर्ने कारण अवस्था नदेखिएकोबाट नारायण लिंकुमारीले लेखेको चिठ्ठीहरू जालसाज भन्ने नदेखिने, सद्दे भनी माने मध्येकै एउटा चिठ्ठीमा मैया भनी सम्बोधन गरी यही विजया दशमीको श्री दुर्गा भवानीको प्रसादको जमरा र टीकाको दक्षिणा कं.रू २ को नोट यसैसाथ पठाइ दिएको छ भनी रानी नारायण लिं कुमारीले लेखेको देखिएको वादी भनाईअनुसार सबै फुलनानाको छोरी पुतलीलाई नै लेखेको भन्नु पर्ने चिठ्ठी समेतबाट वादीहरूलाई एक मुष्टमा रु.४० हजारको रकम दिएको भन्ने देखिएको सो चिठ्ठीमा बक्स इत्यादि भन्ने पनि नलेखिएको साधाराणतया रु.४० हजार एकै मुष्ट नगद कै रूपमा वकस दिएको भन्न सम्झनु पनि नसकिने, माधव सम्शेरले कुन्जबहादुरलाई गोविन्द सम्शेरले चलाकबहादुरलाई लेखेको चिठ्ठीहरूबाट प्र.जिकिर बमोजिम वादीहरू कामदार भई कामकाज सम्बन्धमा लेखेको भन्ने नदेखिई निकटतम आपसी सम्बन्धको लेखापढी देखिन आउने र ९३ सालदेखि हामीसँग आउदै नआएको भन्ने प्रतिवादीमा र काम गर्ने कामदार राखेको भनी बयानमा लेखेकोमा ९३ साल पछिका चिठ्ठीहरूबाट आपसमा आवतजावत गर्ने सम्बन्धमा रहेर विचार समेतमा सम्पर्क रहे भएकोबाट प्रतिवादी जिकिरमा सामन्जस्य नदेखिएको ज.राम सम्शेर ज.प्रताप सम्शेरकी भाउजु आफू रानी साहेबसमेत आफ्नै वंशका धेरै साक्षीको वकपत्रबाट समेत वादीहरू ज.प्रताप सम्शेरका प्रकाश भएका स्वास्नी छोरा हैनन् भन्ने निवेदक प्रतिावदी तर्फको जिकिर पुग्न नसक्नेसमेत हुँदा इन्साफ २०२०।२।२०।२ को डिभिजन बेञ्चको मुनासिव ठहर्छ भन्ने ०२१।५।६।६ को फुल बेञ्चको फैसला ।
१२. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत ले.ज.माधव सम्शेर ज.व.रा.ले चढाएको मिति ०२४ साल आश्विन २७ गते रोज ६ र कुन्जबहादुर राणाले चढाएको मिति २०२५।१।२४।२ मिति ०२६।५।६ र मिति ०२६।१।१६।२ को निवेदन पत्रहरू श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा जग्गा खिचोला मुद्दापट्टि उजुर खारेज गर्ने गरेको फुलको निर्णय न्याय परेकोनै देखिन आउँछ । हकदार कायम गराई पाउँ भन्ने मुद्दातर्फ जो नारायण लिंकुमारीले लेख्नु भएको भनी वादी कुन्जबहादुरले पेश गरेको ९६।८।१ को चिठ्ठी समेतको अरू पनि जे जति चिठ्ठी छन् ती केवल ज.प्रताप सम्शेरको ९१ सालमा देहान्त भएपछिको देखिन आउनेमा पनि सो ९६ सालको चिठ्ठी हेर्दा पुतली पनि छुन नहुने भइसकेकोले र कुन्ज पनि १६ वर्षको भएकाले अब तिनीहरूको ब्रतबन्ध विवाहको बखत भयो, बाबा राजा कहाँ गई आफ्नो भागको रु.पनि आफ्ना नाममा गराउन पर्छ, गोत्रको पनि बन्दोवस्त मिलाए ब्रतवन्ध विवाहलाई सजिलो हुन्छ भन्ने र कुन्ज चलाकलाई धनकुटा पठाई मैले पनि बाबा राजालाई तिम्रो श्रीबाबाज्यूको रगतको अधर्म नगर तिमीबाट कुरा नमिलेको हुनाले गडबढ परी रहेकोछ, आफ्नो बुबाको रगत हुनाले यिनीहरूको उद्धार गर भन्नेसमेत बाबा राजालाई लेखि पठाएको भन्ने र तिमीले पनि दाजुले भनेबमोजिम गरी कुलको लोप गर्ने हो कि आफ्नो श्री बुवाज्यूको इज्जत बढाई श्री ३ मा जाहेर गरी निजहरूको उद्धार गरी कुलको वृद्धि गराई धर्मको चर्चा फिजाउने हो निजहरूको ब्रतवन्ध विवाहको बखत भएकोले यो पत्रको जवाफ चाँडो पठाउ भन्नेसमेत लेखिएको सो चिठ्ठीको शब्द वाक्याशंले ९६ साल सम्ममा पनि गोत्रको ठोगाना लाग्न सकेको नदेखिएबाट प्रकाशित छोरा स्वास्नी हुन भन्न सकिने स्थिति देखिदैन । दुवै पक्षका साक्षी फील्ड मार्सल श्री रूद्र सम्शेर ज.व.रा.को बकपत्र हेर्दा प्रतिवादीहरू मेरा भतिजा नाता पर्छन्, वादीहरूलाई म पाल्पामा १८ वर्ष बसी आएको पछिबाट चिनेको हुँ भन्ने र म पाल्पा जानु भन्दा अगाडि ज.प्रताप सम्शेर दिनका दिन बराबर आइरहन्थे, उहाँले प्रतिवादीदेखि बाहेकका स्वास्नी छोरा छन् भनेर मसँग केही कुरा नभनेका हुनाले मलाई केही थाहा छैन, मैले दशैंमा टीका लगाई दिएको पनि छैन , म कहाँ आएको पनि होइन, ८।९ सालमा पाल्पाबाट आएपछि मात्र वादीहरू म भएमा आई हामी प्रताप सम्शेरका स्वास्नी छोरा हुँ भनी वादीहरूले भनेकाले चिनेको हुँ भन्ने कुरा लेखी दिएको वादीले समेत साक्षी राखेका त्यस्ता ८१ वर्षका बयोबृद्ध फील्डमार्शल जस्तोको बकाइलाई विना कारण झुठ्ठा हो भन्न न्यायोचित नपर्ने ले.ज.प्रताप सम्शेर जीवीत छदै उहाँले गरी दिएको उइल भनेको ज.प्रताप सम्शेरले श्री ३ महाराजा बुबाज्यूका हजुरमा भन्ने सम्बोधन गरी लेखेका शिरमा ९१।७।१५ को मिति परेको चिठ्ठीमा आफ्नो रानी छोराहरूलाई तीन पाटनको जग्गाको आयस्ता पाउने व्यवस्था मिलाई लेखेको देखियो । त्यो चिठ्ठी व्यवहोरामा पनि यो वादीहरू स्वास्नी छोरा र वादीतर्फकी छोरी पुतलीसमेत छन् भन्ने केही उल्लेख नभएबाट वादीहरू ज.प्रताप सम्शेरका जीवन कालमा प्रकाशमा ल्याएका स्वास्नी छोरा हुन भन्ने देखिदैन । ज.प्रताप सम्शेरका स्वास्नी नारायण लिंकुमारी छोरा माधव सम्शेर गोविन्द सम्शेरको ९५।१।११।७ मा र ९६।११।१।३ मा अंशबण्डा हुँदा उल्लेखित प्रतिवादी ३ जनाको ३ भाग मात्र बण्डा भई सो बाहेक अरू अंशियारको उल्लेख नभएको ९६।८।१८ को चिठ्ठीबाट श्री ३ मा जाहेर गरी प्रकाशमा ल्याउने प्रयास गरेको र प्रकाशमा ल्याउन चिन्ता प्रकट गरेकोसम्म देखिएको वादी कुञ्जबहादुरले ९९।२।१२।२ मा ब्रम्हबहादुरको नाति गोविन्दबहादुरको छोरा बर्ष १८ को कुञ्जबहादुर भन्ने २००४।१।३०।३ मा वीरबहादुरको नाति गोपालबहादुरको छोरा वर्ष २४ को कुञ्जबहादुर भन्ने ३ पुस्ते नाम लेखाई राजिनामा पास गराई जग्गा खरीद गरेको अंश मुद्दा संलग्न रहेका राजिनामा नक्कलबाट देखिन आएको समेतबाट २००४ सालमा पनि यी वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा भन्ने कुरा प्रकाश नगरी रहे बसेका देखिन आउँछ । प्रकाशको सम्बन्धमा अंशबण्डाको १६ नं.मा हेर्दा प्रकाश नगरी राखेका जायजन्म भएका स्वास्नीले वा उनबाट जन्मेका छोराले अथवा आमा छोरा दुवैले लोग्ने र जन्माउने बाबु छदै अंशमा हक गराएको रहेछ वा उजुर परी हक पुग्ने ठहर्यो भने ऐनबमोजिम अंशको हक पाउँछ लोग्ने र जन्माउने बाबु मरेपछि अंशमा हक गर्न आएको भए अंश पाउँदैन भन्ने लेखिएको त्यस्तो लोग्ने र बाबु छंँदै प्रकाश भएका छोरा स्वास्नी हुन भन्ने कुराको लोग्ने वा बाबु कुनै लिखतको प्रमाण वादी पक्षबाट पेश दाखिल हुन त कहाँ झन उल्टै माथि लेखाएअनुसार ०४ सालमासम्म पनि बाबु बाजेको नाम अरू नै व्यक्तिको उल्लेख गरी वादी कुञ्जबहादुरले रजिष्ट्रेशन पास गरी लिनु दिनु गरेको लिखत प्रमाण पेश भएका देखिन आएबाट त्यस वखतसम्म पनि स्वयं वादीवालाहरूले प्रकाशमा आउने चेष्टा नगरेको सिद्ध हुन आउँछ । यस स्थितिमा वादीवालाहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन् भन्नेसम्म मिसिल प्रमाणबाट देखिन आउँछन् । ज.प्रताप सम्शेरका जीवनकालसम्म प्रकाश भएका देखिन आउँदैन । तसर्थ प्रकाशित स्वास्नी छोरा हुन भन्ने ठहर गरेको फुल बेञ्चको उक्त निर्णय मिलेको नदेखिनाले उपयुक्त बुँदाहरूको आधारमा यो मुद्दा पुनः एकपटक स.अ.फुल बेञ्चले दोहर्याई हेरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका प्रमुख सचिवालय राजदरवारबाट लेखि आएको ०२६।५।२०।६ को हुकुम प्रमांगी ।
१३. वकस भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिववालय जनरल विभाग मार्फत पठाइदिनु भन्ने ०२६।५।२२।१ को तत्कालीन मा.प्रधान न्यायाधीशज्यूको आदेश ।
१४. प्रस्तुत मुद्दा दोहर्याई हेरी दिने सम्बन्धमा श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार मर्फत बक्स भई आएको ०२६।५।२०।६ को हुकुम प्रमांगीमा वादीवालाहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन् भन्नेसम्म मिसिल प्रमाणबाट देखिन आउँछ, ज.प्रताप सम्शेरका जीवनकालसम्म प्रकाश भएको देखिन आउँदैन । तसर्थ प्रकाशित स्वास्नी छोरा हुन भन्ने ठहर गरेको फुल बेञ्चको निर्णय मिलेको नदेखिनाले भन्ने ठहर जस्तै कुराहरू पनि परेको देखिएकोले सो कुराहरू हुकुम प्रमांगी कै बोली हो वा सो प्रमांगी निमित्त जाहेर गर्नेको जाहेरी विन्तिसम्म हो केही अस्पष्ट भएकोले प्रष्ट गरी पठाई दिनु भए हुने थियो भनी उक्त हुकुम प्रमांगीको प्रतिलिपि साथ राखी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा लेखी पठाई सो भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने २०२७।१।२२।३ को फुल बेञ्चको आदेश ।
१५. हुकुम प्रमांगीमा लेखिएको व्यहोरा केही अस्पष्ट भएकोले प्रष्ट पठाई दिनु भए हुने थियो भनी लेखी पठाउनु भएकोमा सो मुद्दामा हुकुम प्रमांगीमा वादीवालाहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन भन्नेसम्म मिसिल प्रमाणबाट देखिन आउँछ । ज.प्रताप सम्शेरका जीवनकालसम्म प्रकाश भएको देखिन आउँदैन । तसर्थ प्रकाशित स्वास्नी छोरा हुन भन्ने ठहर गरेको फुल बेञ्चको निर्णय मिलेको नदेखिनाले भन्ने व्यहोरा लेखिएको शब्दहरूको लगतै पछि उपयुक्त बुँदाहरूको आधारमा यो मुद्दा पुनः एक पटक सर्वोच्च अदालतबाट फुल बेञ्चले दोहोराई हेरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने शब्दहरूले नै सो कुरा हुकुम प्रमांगीका निमित्त जाहेर गरिएका जाहेरी बुँदाहरूको बिन्तिसम्मको व्यहोरा हो भन्ने कुरा स्वयं स्पष्ट भएको र त्यसमा पनि विषय तथा प्रसङ्गवशले नै स्पष्टै भएको विषयमा अर्थात हुकुम प्रमांगीबाटै मुद्दा ठहर हुने भए सर्वोच्च अदालतले दोहर्याई हेरी दिनु भनी लेखि रहनु पर्ने नै थिएन । भ्रम र शंका जस्तो दर्शाइ अस्पष्ट भयो भनी लेखापढी भएकोमा स्पष्ट गरी लेख्ने काम भएकोछ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट ०२७।३।२५।५ मा लेखिआएको पत्र ।
१६. वादी प्रतिवादी दुबै पक्षका साक्षी गु.प्र.योगेन्द्रराज उपाध्याय र वादीको साक्षी मदनबहादुर प्रतिवादीका साक्षी नीरराज तुलाधरले ज.लीला सम्शेर ले.ज.इन्दु सम्शेर, भू.पु.कम्याण्डर इन्चीफ तोरण सम्शेर, ज.आनन्द सम्शेरहरूले शुरू रा.का.दे.पै. बाट जारी भएको समनको म्याद गुजारी बसेबाट निजहरूको वकपत्र नभएको रहेछ, निजहरू नबुझी नहुने मुख्य साक्षी देखिएकाले अ.व.११५ नं.बमोजिम जो जे गर्नुपर्ने गरी झिकाई आएपछि वकपत्र गराउन पेश गर्नु भन्ने ०२७।५।३०।३ को फुल बेञ्चको आदेश ।
१७. उक्त साक्षीहरू मध्ये लीला सम्शेर, इन्दू सम्शेरका हकमा विरामी भएकाले घरमा आई वकपत्र गराई पाउँ भनी निवेदन दिएको देखिएकोले अ.ब.१४२ नं.बमोजिम निजहरूको घरमा गई वकपत्र गराई ल्याउन अञ्चल न्यायाधीश १ जना खटाई २ थर झगडीया समेत राखी वकपत्र गराई पठाई दिनु भनी बागमती अञ्चल अदालतमा लेखि पठाई अरूका हकमा अघिका आदेशानुसार अ.बं.११५ नं.को रीतपुर्याई अङ्ग पुगेपछि पेश गर्नु भन्ने ०२७।९।७।३ को फुल बेञ्चको आदेश ।
१८. मदनबहादुरको हकमा पनि विरामी भएकोले घरमा गई वकपत्र गराई पाउँ भनी निवेदन परेकोले ०२७।९।७।३ को आदेशानुसार गरी अ.ब.१४२ नं.बमोजिम निजको घरमा गई वकपत्र गराई दिनु भनी बागमती अञ्चल अदालतलाई लेखि पठाई दिनु भन्ने ०२७।१०।२।६ को फुल बेञ्चको आदेश ।
१९. पुरोहित भनी दुवै पक्षले साक्षी राखेको योगेन्द्रराजको हकमा म्यादमा हाजिर भई विरामी भएकोले उपचार गर्न विदेश जानु परेको भनी निवेदनपत्र दिई तारेख छाडेको देखिएकोले निजलाई ७ दिने म्याद दिई झिकाई बकपत्र गराउन पेश गर्नु भन्ने ०२७।१०।२७।३ को फुल बेञ्चको आदेश ।
२०. मदनबहादुर बस्नेत मे.ज.इन्दू सम्शेरको बागमती अं.अदालत मार्फत बकपत्र भई आएको ।
२१. योगेन्द्रराजको नाममा ७ दिने म्याद जारी भएकोमा विदेशतर्फ औषधि गर्न गई रहेको घरमा भेट नभएकोले घर दैलामा टाँसिएको भनी ०२७।११।२।१ मा तामेल भएको लेखिदा समन पाएर पनि म्यादमा हाजिर नभएको भन्न मिलेन । निज विदेशबाट फर्कि नेपाल सरहदमा आएपछि सो कुराको दरखास्त दिनु भनी दुवै पक्षलाई सुनाई त्यस्तो दरखास्त परेपछि ०२७।१०।२७।३ को आदेशबमोजिम अर्को समाव्हान जारी गरी झिकाई बकपत्र गराउन पेश गर्नु भन्ने ०२७।११।१८।३ को फुल बेञ्चको आदेश ।
२२. योगेन्द्र राजलाई बुझ्ने सम्बन्धमा अनिश्चित आदेश भएबाट मर्का पर्यो भन्नेसमेत कुन्जबहादुरले चढाएको बिन्तिपत्र समेत जाहेर हुँदा नबुझि नहुने साक्षी भए मुनासिव माफिक दिन तोकि फेरी एक पटक निजको घरमा म्याद तामेल गरी सो म्याद भित्र साक्षी उपस्थित गराउनु, नगराए मुद्दा छिनिने छ भनी मुद्दाका पक्षलाई पनि सुनाई कानूनबमोजिम गर्नु भन्ने ०२७।१२।३१।३ मा वकस भई आएको हुकुम प्रमांगी ।
२३. निज साक्षी योगेन्द्रराजका नाममा ७ दिनको म्याद तोकी अर्को समाव्हान जारी गरी वकस भई आएका हु.प्र.बमोजिम गर्नु भन्ने ०२८।१।१४।३ को फुल बेञ्चको आदेश ।
२४. निज योगेन्द्रराजका नाममा ०२८।१।२३।५ मा ७ दिने समाव्हान तामेल भएको सो म्यादमा हाजिर नभई गुजारेको ।
२५. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।२।२१।६।, ०२८।२।२५।३ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादीहरूतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा विद्वान अधिवक्ता श्री नारयणप्रसाद श्रेष्टहरुले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीहरू श्री ज.प्रताप सम्शेरका प्रकाश भएका स्वानी छोरा हुन् होइन भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
२६. सर्वप्रथम वादीहरू स्वास्नी छोरा हुन् होइनन् भन्नेतर्फ हेर्दा वादीहरू ९३ सालसम्म कहिलेकांही आफ्नो दरवारमा बस्ने गरी आएको भन्ने कुरा प्रतिवादी माधब सम्शेर गोविन्द सम्शेरहरूले स्वीकार गरेका छन्, नोकरको रूपमा आई बस्ने गरेको भन्ने निजहरूको जिकिर भए पनि त्यस कुराको सबूत प्रमाण दिन गुर्जान सकेको पाईदैन । यिनीहरूकै पैले परेको अंश मुद्दामा शुरू रा.का.दे.पै.बाट जाहेर प्रकाश नभएका स्वास्नी छोरा हुँदा अंशमा दावी नलाग्ने भनी खारेज गरेको रहेछ त्यसबाट श्री ज.प्रताप सम्शेरको स्वास्नी छोरा त कायमै गरी दिएकोमा प्रतिवादीहरूले पुनरावेदन नगरी चित्त बुझाई बसेका देखिन्छ । प्रतिवादीहरूतर्फबाट हाल बहससमेतमा वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन पनि सकेन । अतः उपरोक्त कारणहरूबाट वादीहरू श्री ज.प्रताप सम्शेरकै स्वास्नी छोरा रहेछन् भन्ने कुरा सिद्ध भएकै छ ।
२७. प्रकाश अप्रकाशको सम्बन्धमा तत्कालीन अंशवण्डाको १३ नं.मा प्रकाश नगरी राखेका जाय जन्म भएका स्वास्नीले वा उसबाट जन्मेका छोराले अथवा आमा छोरा दुबैले लोग्ने र बाबु छंदै अंशमा हक पुर्याई राखेको रहेछ वा उजुर परी हक पुग्ने ठहर्यो भने पनि ऐनबमोजिम अंशको हक पुग्ने ठहर्यो भने पनि ऐनबमोजिम अंशको हक पाउँछ, लोग्ने र जन्माउने बाबु मरेपछि मात्र अंशको हक गर्न आएको भए अंश पाउँदैन भन्ने र लोग्ने स्वास्नीको ५ नं.मा प्रकाश नगरी वाहिर राखेका स्वास्नीलाई लोग्नेले तलाइनै भयो भनी दिएजति पाउँछ बढता पाउँदिन, अंशको दैया पनि लाग्दैन भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
२८. वादी सीतावदन फुलनाना उक्त लोग्ने स्वास्नीको ५ नं.अनुसार बाहिरू राखेकी स्वास्नी वा घरमै राखेको के हो र वादीहरू प्रकाश भएका स्वास्नी छोरा हुन होइनन् भन्नेतर्फ हेर्दा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेर सरह कै अंशियार निजहरूकै मुमा नारायण लिंकुमारीले फुलनाना सीतावदन हाम्रो दरवारमा सानै उमेरदेखि ल्याई राखेका थिए पछि उनीहरूसँग पति ज.प्रताप सम्शेर फँस्नु भई छोरा कुञ्जबहादुर, चलाकबहादुर छोरी पुतली जन्मेका हुँदा वादीहरू प्रकाश गरी राखेका स्वास्नी छोरा हुन भन्ने बयान गरेकी र वादीको साक्षी आफू रानी साहेव प्रतिवादीहरू कै जेठा बुवा श्री ज.चक्र सम्शेरकी पत्नीले श्री ज.प्रताप सम्शेर पाल्पाको बडाहाकीम हुँदा म पनि पाल्पा गई उहाँको दरवारमा २ वर्षसँगै साथ बसेको वखत सीतावदन फुलनाना प्रताप सम्शेरको स्वास्नी हुन् र छोरा कुन्जबहादुर, चलाकबहादुर छोरी पुतली समेत साथै थिए । ती सबै एउटै भान्छामा खाने हुँदा यी को हुन् भनी सोद्धा सितावदन, फुलनाना, प्रताप सम्शेरका रानी हुन् र निजबाट जन्मेका छोरा छोरी कुन्जबहादुर, चलाकबहादुर पुतली हुन भनी भन्थे, त्यसै बेलादेखि थाहा पाएकी हुँ भन्ने र वादीको साक्षी श्री ज.राम सम्शेर प्रतिवादीकरूकै मैयालदे ८८ सालमा बुवा श्री ३ महाराज भीम सम्शेरकहाँ राणाहरूको थमौती हुँदा सो थमौतीको दाम राख्न भनी दाज्यू श्री ज.प्रताप सम्शेर कहाँ म रूपैंया राख्न भनी जाँदा दाज्यूबाट भाइ मेरो छड्केपट्टिका स्वास्नी सीतावदन फुलनानापट्टिको छोराहरू भनी यी वादीहरूलाई देखाइ बक्सेको थियो भन्ने वादीको साक्षी श्री ऋषिकेश शाह प्रतिवादीहरूकै भानिजले श्री ज.प्रताप सम्शेर सीतावदन फलनाना ल्याइता स्वास्नी र कुन्जबहादुर चलाकबहादुर छोरा हुन् म पनि मावली बज्यै नारायण लिंकुमारी कै साथमा रहें बसें हुर्केको हुँदा सानैदेखि वादी चलाकबहादुर कुन्जबहादुरसमेत सँगसँगै खेले हुर्केको हुँ भन्नेसमेत किटान साथ वकपत्र गरेको पाइन्छ । यसबाट वादी सीतावदन फुलनानाहरू ज.प्रताप सम्शेरले घरमै राखेका स्वास्नी हुन भन्नेसमेत देखिन आउँछ ।
२९. जहाँसम्म दुवै पक्षका साक्षी फील्ड मार्सल श्री रूद्र सम्शेरको बकपत्रको प्रश्न छ उहाँले पैले मलाई थाहा छैन मैले फोहरा दरवारमा वादीहरूलाई देखेको थिइन । मैले टीका लगाई दिएको छैन । म कहाँ आएको पनि होइन भन्ने र पछि वादी पक्षले जिरह गर्दा म ८।९ सालमा पाल्पाबाट आई नेपाल बसेपछि वादीहरू म भएमा आई हामी प्रताप सम्शेरका स्वास्नी छोरा हौं भनी वादीहरूले भनेकोले चिनेको हुँ भन्ने भनाई छ । वादीहरू श्री ज.प्रताप सम्शेरको जीवनकालमा प्रकाश भएका थिएनन् भन्ने नभई पहिलेको कुरा थाहा छैन भन्नेसम्म उहाँको भनाइले प्रकाश नभएका भन्ने प्रतिवादीहरूको जिकिरलाई कुनै मद्दत गर्न सक्तैन ।
३०. श्री ज.प्रताप सम्शेरले श्री ३ महाराज जुद्ध सम्शेरकहाँ चढाएको उइल भनिएको पत्रमा वादीहरूको केही उल्लेख नभएको भन्ने प्रतिवादी पक्षको जिकिरका हकमा त्यसमा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेरको पनि नाम उल्लेख छैन । तीन पाटनको विर्ता रानी नारायण लिङ र ५ छोरीलाई दिने व्यवस्था गरिएको कुरासम्म उल्लेख गरिएको छ । सबै परिवारको लागि व्यवस्था गरेको नभई कुनै खास सम्पत्ति परिवार मध्येका कुनै व्यक्तिहरूलाई दिनेसम्म व्यवस्था गरेको उक्त उइल भनिएको पत्रमा वादीहरूको नाम उल्लेख गर्ने पर्ने वाध्यता भएको कुरा पनि होइन । त्यसकारण उक्त पत्रमा वादीहरूको विषयमा केही उल्लेख नभएकाले वादीहरू प्रकाश नभएको भन्ने अर्थ गर्न मिल्दैन ।
३१. प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वादी कुन्जबहादुर उमेर पुगीसकेपछि निजको नाममा जग्गा खरिद लिंदा ९९।२।१२।२ को लिखतमा ब्रम्हबहादुरको नाति गोविन्दबहादुरको छोरा भन्ने र ०४।१।३०।३ को लिखतमा वीरबहादुरको नाति गोपालबहादुरको छोरा भन्ने ३ पुस्ते लेखाएको छ । बुवा जं प्रताप सम्शेरकै जीवनकालमा प्रकाश भएको भए त्यसरी बाबु बाजेको नाम फरक पारी लेखाउनु पर्ने थिएन भन्ने र वादीतर्फका विद्वान अधिवक्ताले संरक्षक प्रतिावदीहरूले नै कुन्जबहादुरका नाउँमा जग्गा खरिद गराई लिई वारेसद्वारा पास गराई लिएका समेत हुँदा त्यस्तो लेखाएको भन्ने बहस गर्नुभएतर्फ हेर्दा सो लिखतमा लेखिएबमोजिमकै वादी कुन्जबहादुरको बाबु बाजे भए दुवै लिखतमा एकै बाबु बाजे लेखाएको हुनुपर्नेमा फरक–फरक नाम लेखाएको र सो कागज निज कुन्जबहादुर स्वयं उपस्थित भई पास गराई लिएको नभई वारेसद्वारा औंठाको छाप लगाई पास गराई लिएको भन्ने देखिएको समेत हुँदा उक्त लिखतहरूमा वादी कुन्जबहादुरको ३ पुस्ते फरक–फरक लेखाएको भन्ने आधारमा प्रकाश नभएको भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको उपरोक्त तर्क युक्तिसङ्गत देखिदैंन ।
३२. वादीहरूबाट प्रमाणमा पेश भई राखेका चिठ्ठीमध्ये सद्दे भनी प्रतिवादीहरूले पनि मानी राखेका कुनै माधव सम्शेरले कुन्जबहादुरलाई कुनै गोविन्द सम्शेरले चालकबहादुरलाई कुनै कान्छा रानी शाहेवले भनी कुन्जबहादुर र मैयाँ भनी सम्बोधन गरी छोरी पुतलीलाई लेखेको समेत ११ थान चिठ्ठीहरूमा वादीहरूको सुख दुःख सञ्चो बिसञ्चो पढाई इत्यादि विषयमा स्नेह भाव प्रकट गरी लेखेको र मुमा नारायण लिंकुमारीले छोरीलाई दशैंको टीका दक्षिणा पठाएको समेत देखिन्छ । वादीहरू ज.प्रताप सम्शेरका स्वास्नी छोरा हुन भन्ने सिद्ध हुन आएको कुरा माथि उल्लेख भैसकेको उक्त चिठ्ठीहरू प्रतिावदीहरूको जिकिर अनुसार काम गर्न राखेका व्यक्तिलाई कामकाजको सम्बन्धमा लेखेको नभई छोरा छोरी भाइ बहिनीको निकटतम सम्बन्ध हुँदा त्यस्तो चिठ्ठीहरू लेखेको र छोरीलाई दशैंको टीका दक्षिणा पठाएको समेत प्रष्ट हुन्छ र उक्त चिठ्ठीहरूबाट वादीहरू ज.प्रताप सम्शेरका प्रकाशित भई राखेको स्वास्नी छोरा हुन् भन्ने कुरालाई प्रमाणित गर्छ।
३३. अर्को प्रतिावादीहरूले जालसाज भनेको चिठ्ठी २ मध्ये नारायण लिंकुमारीले चालकबहादुरलाई लेखेको ०६।११।११ को चिठ्ठीमा तिमीलाई चालिस हजार तिम्रो दिदीलाई पाँच हजार र कन्जेलाई चालिस हजार समेत पचाशी हजार मध्येमा मेरो भागबाट अठ्ठाइस हजार तीनसय तेत्तीस रुपैयां पाँच आना मे.ज.माधव सम्शेरका नाममा चेक काटी बुझाई दिए तिमीले पाउनु पर्ने चालिस हजार र तिम्रो दिदीको पाँच हजार नानी छोरा ले.क.गोविन्द सम्शेर जिम्मा गएको छ, तिमी र तिम्रो दिदी मजकुर छोरा नानीको भागमा र कन्जे छोरा नानी मे.ज.माधव सम्शेरको भागमा परेको भन्ने र रानी लिङ कुमारीले गोविन्द सम्शेरलाई लेखेको ९६।८।१८।१ को चिठ्ठीमा कुन्जबहादुर चालकबहादुरको गोत्रको बन्दोवस्त मिलाउने सम्बन्धलाई लिई निजहरू तिम्रो बुबाज्यूका रगत हुन् अधर्म नगर भन्नेसमेत उल्लेख गरिएको रहेछ । नारायण लिंकुमारी आफ्नो छोराहरूको विरूद्धमा गई वादीहरूसँग मिली जालसाजी चिठ्ठी खडा गर्नुपर्ने कुनै खास कारण खुलाउन र त्यस कुराको सबुदप्रमाण गुजार्न प्रतिवादीहरूले नसकेकाले उक्तचिठ्ठीहरू सद्दे नै मान्नुपर्ने हुनआएको छ ।
३४. उक्त ९६।८।१८।१ को चिठ्ठीमा गोत्रको ठेकाना लगाउने कुरा लेखिएकोले सो मितिसम्म वादीहरू प्रकाशमा आइनसकेको प्रष्ट हुने भन्ने प्रतिावदी पक्षको मुख्य जिकिर भएको हकमा उक्त चिठ्ठीमा श्री बुबाज्यूको रगत हुन, निज कुन्जेहरूको बारेमा श्री जनरल साहेवबाट र मैले समेत सुतक वारी पुतलीलाई आजसम्म परेको काममा टीका लगाई दक्षिणा श्रीको पालादेखि सबैले दिई आएको हुँदा मैले चाहिं धर्म पोल्ने होइन भन्नेसमेत उल्लेख गरिएकोबाट वादीहरू श्री ज.प्रताप सम्शेरको स्वास्नी छोरा हुन् भन्ने प्रतिावदीहरूको परिवारमा पहिलेनै प्रकाश भैसकेको कुरा उक्त चिठ्ठीले नै व्यक्त गरेकोछ । पछि छोराहरूसँग कुरा नमिलेबाट गोत्रको बारेमा श्री ३ मा जाहेर गरी ठेकान लगाउनेसम्म उक्त चिठ्ठीको मनसाय देखिन्छ । जसबाट प्रतिवादीहरूको उपरोक्त जिकिर समर्थित हुँदैन ।
३५. तसर्थ वादीहरू ज.प्रताप सम्शेरका छोरा स्वास्नी नै होइनन् भन्ने प्रतिवादीहरूको जिकिर पुग्न नसकेको कुरा माथि नै उल्लेख भैसकेकोले त्यसबाट निजहरू प्रकाश नभएका छोरा स्वास्नी हुन् भनी यस मुद्दामा हाल गरेको जिकिर मुनासिव देखिंदैन । उपरोक्त कारणहरूसमेतबाट वादीहरू वादी दावीबमोजिम श्री ज.प्रताप सम्शेरको प्रकाश भएको स्वास्नी छोरा ठहराएको ०२०।२।२० को डिभिजन बेञ्चको सदर गरी ०२१।५।६।६ को फुल बेञ्चले छिनेको इन्साफ मुनासिव ठहर्छ । मुद्दा दोहार्याएमा निवेदक प्रतिवादी माधव सम्शेर ज.व.रा.के अघिल्लो फैसलाले गरेको जरीवाना रु.७।२ को अ.बं.२०४ नं. दर्सौद रु.।१ जरीवानाहुन्छ वारेसहुँदा कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।
न्या.श्री झपट सिंह,
न्या.श्री विश्वनाथ र
न्या.श्री जयदेव
उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
माननीय न्यायाधीश श्री त्रैलोक्यराजको राय
१. यसमा मुद्दाको उतार र पक्ष विपक्षहरूको तर्फबाट विद्वान अधिवक्ताहरूले गर्नुभएको बहसको कुरा समेत माथि लेखिएबमोजिम नै हुँदा यसमा उद्धृत गरी रहनु परेन ।
२. मुद्दाको निर्णयतर्फ हेर्दा यस मुद्दामा प्रकाशित स्वास्नी छोरा कायम गरिपाउँ भन्ने वादी भएको र ०२१।५।६।६ को फुल बेञ्चको फैसलाबाट पनि दावीबमोजिम प्रकाशित स्वास्नी छोरा ठहराई निर्णय भएको देखिन आयो । प्रकाशित स्वास्नी छोरा कायम गरिपाउँ भन्ने वादीहरूको दावी भएको कुराले (१) प्रकाशित भन्ने विषय र (२) स्वास्नी छोरा कायम गरिपाउँ भन्ने विषय छुट्टाछुट्टै विषय भएको र साल २०१३ पौष २५ गते रोज ३ मा फिरादपत्र दर्ता भई कारवाही भएको यो मुद्दा हुनाले तत्कालीन पुरानो मुलुकी ऐन अ.बं.१९ नं.ले स्वास्नी छोरा कायम गरिपाउँ भन्ने विषयको मुद्दा फौजदारी हुने भई फौज्दारी लगतमा दर्ता भई निर्णय हुँदै आएको र हाल फुल बेञ्चको लगतमा पनि फौज्दारी लगतमा दर्ता भई पेश हुन आएको र प्रकाशित वा अप्रकाशित भन्ने विषय तत्कालिन पुरानो मुलुकी ऐन अ.बं.१९ नं.ले र हालको नयाँ मुलुकी ऐन अ.बं.९ नं.ले पनि देवानी विषय हुन जाने भएकोले उस वखत पुरानो मुलुकी ऐन अ.बं.९८ र हालको ७२ नं.ले देवानी फौज्दारी मुद्दाको नालेस उजुर छुट्टाछुट्टै दिनु पर्ने र छुट्टाछुट्टै निर्णय गर्नुपर्ने हुन आएको प्रस्तुत मुद्दा फौज्दारी लगतमा दर्ता भई पेश हुन आएको मुद्दा हुँदा स्वास्नी छोरा हो वा होइन भन्नेसम्म मात्र अहिले निर्णय गरी दिनुपर्ने मुद्दाको विषय रु.प्रसङ्ग हुन आएकोले स्वास्नी छोरा कायम गरिपाउँ भन्नेतर्फ ०२१।५।६।६ मा फुल बेञ्चबाट भएको निर्णय मुनासिव छ ।
३. प्रकाशित वा अप्रकाशित भन्ने हकमा ऐनले फौज्दारी विषय नभई देवानी विषय भएको र देवानी विषयमा अंश मुद्दा परी शुरू तहको अदालतमा दायर भई रहेको हुनाले तल्लो तहको अदालतमा दायर भइरहेको अंश मुद्दाको प्रसङ्गबाट प्रकाशित वा अप्रकाशित समेतको निरोपण गरी अंश पाउने वा नपाउनेसमेत उसै मुद्दाबाट निर्णय हुँदा ठहरेबमोजिम हुने विषयमा यस फुल बेञ्चमा प्रस्तुत हुन आएको फौज्दारी मुद्दाको प्रसँगबाट प्रकाशित वा अप्रकाशित भन्नेतर्फ निर्णय गर्न पुरानो मुलकी ऐन अ.बं.९८ हालको अ.बं.७२ नं.ले नमिल्ने हुँदा प्रकाशित वा अप्रकाशित भन्ने हकमा यस मुद्दाबाट निर्णय हुन सक्तैन भनी राय प्रकट गर्दछु । मेरो रायमा बहुमत नभएकोले कार्यान्वित नहुने हुँदा अरू केही गर्नुपरेन ।
इति सम्वत् २०२८ साल आषाढ ४ गते रोज ६ शुभम् ।