शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८६३      ने.का.प. ३०३१

फुलबेन्च

सम्माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री

सम्वत् ०२५ सालको रि.फु.नं. १८

आदेश भएको मिति  : ०२६।४।३१।६ मा

निवेदक      : जि. रौतहट प्र. झाझ दक्षिण मौजे ब्रम्हपुरी बस्ने भरतसिं राजपुत

विरूद्ध

विपक्षी : ऐ.ऐ. सेदवा बस्ने अमृतनाथ मिश्र

बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(क)  मरी सकेको आसामीको हकमा अपुताली खाने हकदारले र एकाघर सगोलको छोरा आसामी भएकोमा घरको मुख्य बाबुले वारिसनामा बेगर पनि ऋण निश्चित गराउन पाउने ।

(प्रकरण नं. १०)

(ख)  पहिले भूमिसुधार अधिकारीकहाँ जिकिर नलिएको कुरा पछि रिट निवेदनमा लेखे पनि अदालबाट विचार गर्न नमिल्ने ।

(प्रकरण नं. १२)

(ग)   पञ्चायतबाट उब्जनीको रिपोर्ट लिई ऋण साधन गरेकोसमेत देखिएकोमा रिट निवेदनलाई पुनरावेदनको रूप दिई हिसाब घटिबढी जाँच गर्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद पन्त

विपक्षी तर्फबाट      : सरकारी अधिवक्ता प्रचण्डराज अनिल

उल्लिखित मुद्दा :

आदेश

     न्या. नयनबहादुर खत्री

      १.     आसामी सोनफीकुमार र सुरेन्द्रकुमारको हकमा भरतसिं राजपुतसँग गरेको भोगबन्धकी गराई फछर्यौट पाउँ भनी दिएकोमा विचार गर्दा ०३ सालदेखि ०२१ सालसम्म सावा रू.९९५। र ब्याज २८२। जम्मा १२७५। खानु पर्नेमा साहूले ०३ सालदेखि ०२१ सालसम्म कठ्ठा १० मा १।। मनका हिसाबले जम्मा उब्जनी १५ मनको आधि ७।। मनको प्रति मनको रू.२० का दरले सालको रू.१५०। का हिसावले ०३ सालदेखि ०२१ सालसम्मको २८५०। खाइसकेकोले ०१५ सालमा २ वटा लिखतमा भोगबन्धकी जग्गा विगाहा ३ कठ्ठा १० धुरमा १।। को कठ्ठाले हिसाब गर्दा सालमा ९५ मन हुने साहूको भने ४७ मन २५ शेरको प्रतिमनको रू.२०। का दरले सालको ९५०। का दरले खाएको दुबै लिखतको थैली ४८१५। को ०१५ सालदेखि ०२१ साल सम्मको ब्याज रू.९७८।७५ जम्मा सावा र ब्याज रू.५७९३।७५ खानु पर्नेमा ०१५ सालदेखि ०२१ सालसम्म जग्गाको आयस्ता ६६६७।५० साहूले खाइसकेकोले तिनै लिखतको थैली जग्गाको आयस्ताबाट नै साधन भएको ठहराई भू.सु.ऐन दफा ४५ को उपदफा १ बमोजिम निर्णय गरी दियौं भनी विपक्षी भूमिसुधार अफिसले २०२४।३।२७ गतेमा निर्णय दिएको छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५० मा किसानले साहूबाट लिई राखेको भनी सम्म निश्चित गर्न पाउने, विपक्षी भरतसिंह राजपुत किसान हो भनी निजले र किसान देखिएको भनी विपक्षी अधिकारीज्यूको फैसलामा नलेखिएकाले किसान बेगर अरू व्यक्तिलाई ऋण साधन गरिपाउँ भन्ने दरखास्त लिने विपक्षी अधिकारीज्यूलाई अधिकार नै छैन । यसरी माथि लेखिए बमोजिम मेरो कानूनी हक हनन गरी र मैले हर साल मालपोत बुझाई आएको समेत नकटाई अनाधिकार गैरकानूनी तरिकाबाट फैसलाको बदर वातिल गर्न कानूनमा अन्य उपचार नभएकोले नेपालको संविधान धारा ७१ बमोजिम सम्माननीय सर्वोच्च अदालतमा निवेदन गर्न आएको छु । उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी नेपालको संविधानको धारा १५ को प्रतिकूल पर्ने गरी निर्णय गरेको विपक्ष जिल्ला भूमिसुधार अफिसको ०२४।३।२७ गतेको निर्णय बदर वातिल गरिपाउँ भन्ने अमृतनाथ मिश्र साहूको निवेदन ।

      २.    विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने ०२४।५।१३।३ को डिभिजन बेञ्चको आदेश ।

      ३.    कानून बमोजिम नै भए गरेको कुरामा अधिकारको हनन भएको भन्न नमिल्ने र निवेदन अस्पष्ट भएको हुनाले समेत रिट जारी हुन नपर्ने हुँदा खारेज गरी पाउन अनुरोध गर्दछु भन्ने भरत सिंह राजपुतको लिखितजवाफ ।

      ४.    आसामी किसान हो होइन भन्ने कुरा जिल्ला भूमिसुधार कार्यालयलाई प्राप्त भएका रिकर्डहरूको आधारमा थाहा हुने नै कुरा हो निज सम्बन्धित व्यक्तिले त्यसैबाट निज किसान हो भन्ने १ नं.फाराम र १४ नं.फारमबाट नै निर्विवाद स्पष्ट छ र यो भूमिसुधार कार्यालय प्रशासकीय छिटो छरितो ढङ्गबाट कार्य गर्ने एउटा कार्यालय भएको हुँदा सबै ठाउँमा सबै कुरा नखोलाए तापनि कुनै एउटै सुत्रबाट जानकारीको आधारमा कार्य गर्ने गरी आएको हो त्यस्तै प्रस्तुत मिसिलमा आसामी किसान होइन भन्ने कुरा देखिँदैन । त्यस्तै यो आसामीले दिएको निवेदनमा कारवाई गरी निर्णय गरेको प्रस्तुत मिसिलमा भएको कारवाई मुलुकी ऐनको लेनदेन व्यवहारको दफा ८ र ९ समेतबाट बिना वारेसनामाको पनि परिवारको मुख्य कार्यकर्ताले दिएको निवेदनमा कारवाई गर्न मिल्ने प्रष्ट देखिएको साहू (निवेदक) ले आफ्नो बयानमा पनि निज भरतसिंहसँग लेनदेन छ भन्ने प्रष्ट दिएको हुँदा भरतसिंहले एकासगोलको मुख्य कार्यकर्ता र हकवालाको नाताले दिएको निवेदनमा कारवाई गरेको भन्ने समेत भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय गौर रौतहटको लिखितजवाफ ।

      ५.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० मा हेर्दा कुनै किसानले साहूबाट लिई राखेको कृषी सम्बन्धी बाहेक अरू कुनै ऋणको रकम निश्चित गरिपाउँ भनी तोकिएको समिति वा अधिकारी छेउ निवेदन दिएमा तोकिएको समिति वा अधिकारीले सम्बन्धित साहूबाट उचित म्याद दिई फाँटवारी लिई दफा ४५ बमोजिम त्यस्तो ऋणको रकम निश्चित गरी आवश्यक देखेमा किस्ताबन्दीमा बुझाउन पाउने गरी आदेश दिन सक्नेछ भन्ने समेत उल्लेख भएकोबाट ऋण निश्चित गरिपाउँ भनी आसामीले नै निवेदन दिनु पर्ने भन्ने कुरा प्रष्ट छ । तर प्रस्तुत बिषयमा आसामी सुरेन्द्रकुमार र सोनफीकुमार भन्ने देखिन्छ प्रस्तुत फाइलसाथ रहेको जि.भू.सु.कार्यालय गौर रौतहटबाट प्राप्त हुन आएको सम्बन्धित मिसिल कागज अध्ययन गर्दा भरतसिंहले भू.सु.अधिकारीमा निवेदन दिएको भन्ने देखिएको तर यो निवेदनपत्रमा सुरेन्द्रकुमार र सोनफीकुमारको हकमा भन्ने उल्लेख भएको र उक्त व्यक्तिहरूको वारेसनामा पेश भए गरेको पनि नदेखिएबाट उक्त भरतसिंहले भू.सु.अधिकारीमा दिएको निवेदनलाई उक्त भू.सं.ऐन, २०२१ को दफा ५० बमोजिमको हो भन्न र त्यसबाट निर्णय गर्न मिल्ने हो भनी भन्न सम्झन मिल्ने देखिएन । अतः यस्तो कानून बमोजिम रीत नपुगेको उजूरीको आधारमा गरेको भूमिसुधार अधिकारीको निर्णयलाई कानूनी मान्यता प्राप्त हुन नसक्ने भएकोले उक्त भूमिसुधार अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्नुपर्ने ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२५।२।२४।५ को आदेश ।

      ६.    सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने भरतसिंहको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा सोनफी अघि नै मरिसकेको देखिँदा अपुतालीबाट हक भएको कुरामा उजूरीमा निज सोनफीको हकमा उजूर गर्ने भरत सिंह भन्ने शब्द प्रयोग हुन नसक्ने र सुरेन्द्रकुमारको हकमा पनि छोराको नाममा व्यवहार भएकोमा बाबुले हक दावा गरी उजूरी गर्न नपाउने कानूनी प्रतिबन्ध नदेखिएको यसमा पनि भरतसिंहबाट छोरो सुरेन्द्रकुमार छुट्टिएको प्रमाण साहूले दिन नसकेको भूमिसम्बन्धी ऐन, ०२१ को व्यवस्था हेर्दा उमेर पुगेका परिवार भए सो समेत देखाई घरको मुख्यले जग्गाको विवरण दिने व्यवस्था भएको त्यसबाट पनि सगोलको छोरा स्वास्नीका नामको सम्पत्तिमा बाबुको हक पुग्ने भई घरको मुख्य बाबुले धन ऋणमा पनि विवरण दिनु स्वाभाविकै हुने हुँदा छोराको नाममा ऋण निश्चित गरिपाउँ भनी बाबुले उजूर दिन सक्ने नै देखिन्छ, लेनदेन व्यवहारको ऐनको ९ नम्वरले पनि छोराले खाएको ऋण बाबुले मञ्जूरीले तिरे तिर्न पाउने हुँदा यसबाट पनि उजूरी बेकानूनी नदेखिने उसमाथि छोराकै आर्जन सम्पत्ति भोगबन्धकी दिएको भन्ने सबूत समेत भएको यस्तो स्थितिमा अ.बं.८२ नं.का ऐन बमोजिम हक दावा पुग्ने हक दावा गरी उजूर गरेको ऋण रकम निश्चित मुद्दामा जिल्ला भूमिसुधार अधिकारीले भूमिसम्बन्धी ०२१ को दफा ५० बमोजिम ऋण निश्चित गर्न पाउने नै देखिँदा जिल्ला भूमिसुधार अधिकारीले ऋण निश्चित गरेको निर्णय कानूनी मान्यता प्राप्त हुन नसक्ने भनी उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहोर्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिश गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालयबाट लेखी आएको ०२५।९।१०।३ को हुकुम प्रमाङ्गी ।

      ७.    बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न जनरले विभाग मार्फत श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।९।१२।५ को  आदेश ।

      ८.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२६।४।२४।६ मा पेश भई निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र विपक्षी भू.सु.कार्यालयतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के हो सो कुराको निर्णय दिनु पर्ने भएको छ ।

      ९.    सोनफीकुमार र सुरेन्द्रकुमार आसामी भएको तमसुकको ऋण निश्चित गरिपाउँ भन्ने कुरामा निजहरूकै उजूर हुनु पर्ने निजहरूको वारेसनामा बेगर विपक्षी भरतसिंको अ.बं.८२ नं. ले उजूर नलाग्नेमा त्यस्तो उजूर लिई भूमिसुधार अधिकारीले अनाधिकार ऋण साधन गरेको भन्ने प्रस्तुत रिटको निवेदनपत्रमा जिकिर लिएको कुरालाई मुख्य आधार लिई २०२५।२।२४।५ को डिभिजन बेञ्चले ऋण निश्चित गरिपाउँ भन्ने निवेदनपत्रमा सुरेन्द्रकुमार सोनफीकुमारको हकमा भन्ने उल्लेख भएको उक्त व्यक्तिहरूको वारेसनामा पेश गरेको नदेखिएबाट भरतसिंले भू.सु.अधिकारीकहाँ दिएको निवेदनलाई भू.सु.ऐन, ०२१ को दफा ५० बमोजिम हो भन्न र त्यसबाट निर्णय गर्न नमिल्ने हुँदा त्यस्तो उजूरीको आधारमा विपक्षी भू.सु.अधिकारीले गरेको निर्णय बदर हुने ठहर्छ भनी निर्णय गरेको समेत रहेछ ।

      १०.    निवेदन जिकिरको ऋण रकम निश्चित मुद्दामा आसामी देखिएको सोनफीकुमार भरतसिंहको काका र सुरेन्द्रकुमार भरतसिंको एकाघर सगोलको छोरा हो भन्ने कुरा निर्विवाद देखिन्छ । काका सोनफीकुमारको हकमा निज पहिले नै परलोक भई अपुताली खाने खुद हकदार भतिजा मेरो हक पुगेको भन्ने भरतसिंको हालको निवेदन जिकिर भएको विपक्षी तर्फबाट त्यसको कुनै खण्डन गर्न नसकेकाले निज सोनफी आसामी भएको तमसुकको ऋण साधन गरिपाउँ भन्ने कुरामा उजूर गर्न पाउने हक भरतसिंलाई प्राप्त भइराखेको देखिँदा सोनफीको वारेसनामा बेगर भरतसिंको उजूर नलाग्ने भन्न मिल्ने देखिँदैन ।

      ११.    सुरेन्द्रकुमारको हकमा छोराको नाउँमा जग्गा दर्ता भई सो दर्ताको नाताले छोरा आगे भए पनि घरको व्यवहार गर्ने मुख्य हुँदा आसामी मलाई नै मान्नु पर्ने र ऋण चुक्ता गर्नुपर्ने जिम्मेवारी पनि मेरै भएको भन्ने भरतसिंको हालको निवेदन जिकिर छ । भोगबन्धकी लेखिएको जग्गा आसामी सुरेन्द्रकुमारको मात्र एकलौटी हकको हो भन्ने विपक्षीतर्फको भनाई नभएको र सगोलको सम्पत्तिमा कानूनले अंश नभई एकाघर सगोलमा रहेका अंशियार सबैको हक र दायित्व रहने समेत हुनाले सगोलको जग्गा भोगबन्धकी लेखिएको छोराको नाउँको तमसुकको ऋण साधन गरिपाउँ भन्ने कुरामा घरको मुख्य बाबुले उजूर गर्ने हक पुग्दैन भन्न मिल्ने देखिँदैन । सुरेन्द्रकुमारको वारेसनामा नभए पनि आफ्नो समेत हक लाग्ने र आफू घरको मुख्य मालिक भएको नाता समेतले बाबु भरतसिंको कानून बमोजिम उजूर लाग्न सक्ने प्रष्ट छ।

      १२.   निवेदनको अरू जिकिरतर्फ हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५० ले किसानले साहूबाट लिइराखेको ऋणको रकम निश्चित गर्ने पाउने विपक्षी भरतसिं किसान नभएको व्यक्तिको दर्खास्त लिई गैरकानूनीसँग ऋण साधन गरेको भन्ने हकमा त्यो कुरा पहिले आफूले भूमिसुधार अधिकारीकहाँ जिकिर लिन सक्नु पर्ने लिएको थिएँ भन्न निवेदकले नसकेको र उब्जनी आयस्ताको हिसाव घटिबढी पारी ऋण साधन गरेको भन्ने हकमा पञ्चायतबाट उब्जनीको रिपोर्ट लिई ऋण साधन गरेको समेत देखिएको यस्तोमा रिटको निवेदनलाई पुनरावेदनको रूप दिई हिसाव घटिबढी जाँच गर्न नमिल्ने समेत हुँदा उक्त जिकिरहरूमा अरू कुरा विचार गरिरहनु परेन ।

      १३.   तसर्थ कानूनले लाग्ने हक पुग्ने मानिसको उजूरीबाट विपक्षी भू.सु.अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्रै रही कानूनबमोजिम ऋण रकम निश्चित गरेको देखिन आएको समेत हुँदा प्रस्तुत रिटको निवेदन खारेज हुने ठहर्छ । विपक्षी भूमिसुधार अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको ०२५।२।२४।५ को डिभिजन बेञ्चको राय मिलेको देखिएन ।यो आदेशको प्रतिलिपि १ श्री महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उपरोक्त राय ठहरमा हामीहरूको सहमत छ ।

 

प्र.न्या. भगवतीप्रसाद सिंह,

न्या.रत्नबहादुर विष्ट

 

इति सम्वत् २०२६ साल श्रावण ३१ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु