शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५४ - जारी

भाग: १३ साल: २०२८ महिना: बैशाख अंक:

निर्णय नं. ६५४                 ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री वासुदेव शर्मा

न्यायाधीश श्री झपट सिं रावल

सम्वत् २०२५ सालको फौ.फु.नं. २२

फैसला भएको मिति : २०२८।१।३१।६

निवेदक      : का.जि.किमसी बस्ने रामहरी गौतम

विरुद्ध

विपक्षी : ऐ बस्ने यदुप्रसाद बजगाई

मुद्दा : जारी

(१)   जारीको २ नं.बमोजिम साधुले जारलाई जारी खतवापत सजाय गर्न पाउनेमा कैद वा विवाह खर्च भराई माग्ने के सजाय गराउन चाहेको हो सो खुल्नुपर्ने, नखुलेमा खुलाउने मौका दिँदासमेत उपस्थित नभए निर्णय गर्न नपरी खारेज हुने ।

            मुख्य जारी खतमा साधुले जारलाई नयाँ मुलुकी ऐन जारीको २ नं.बमोजिम गराउन पाउने सजायमा विवाह खर्च भराई माग्ने वा कैद गराउने यी दुई कुरामा एक कुराको वादीले दावी लिएको भए सोसजाय गराउन पाउने नपाउने कुराको लागि नै जारी गरे नगरेको समेत अदालतबाट इन्साफ तहकिकात गर्नुपर्ने हो । तर अदालतमा उपस्थित भई बयान गरी उक्त जारीको २ नं.बमोजिम सजाय रोजी दावी गर्न अदालतबाट मौका दिँदासमेत वादी आफू हाजिरै नभई तारेख गुजारी बस्छ भने यसस्थितिमा उक्त जारीको २ नं.बमोजिम सजाय हुनसक्ने नसक्ने कुराको निर्णय दिने प्रश्नै आउँदैन । अतःउपरोक्त उल्लेख भए बमोजिम निर्णय दिइरहनु नपर्ने हुँदा अरु कुरा विचार गरिरहनु परेन । उपरोक्त कारणबाट यो मुद्दा खारेज हुनेठहर्छ । डिभिजन बेञ्चसमेतबाट इन्साफ तहकिकात भएको बदर हुन्छ । वादी आफूले गराउन पाउने जारी खतको सजाय रोजी दावी गर्न हाजिर नभएको कारणबाट खारेज हुने ठहरेकोले कसैलाई केही गर्नुपर्दैन । अरु तपसीलबमोजिम गर्नु ।

 (प्रकरण नं. २०)

निवेदकप्रतिवादी तर्फबाट :   

विपक्षीवादी तर्फबाट

उल्लेखित मुद्दा :    

फैसला

            न्या.श्री नयनबहादुर खत्री

            १.     मैले ०८ सालमा विवाह गरेकी स्वास्नी अम्बिकादेवी ०१६।१२।२७ मा माइत गएकी रामहरिसँग पोईल गई निजको करणी विर्यबाट गर्भवती भइसकेकी रहेछ । रामहरि भोगेको अम्बिका सावित भएकोले सौपुवा गर्न ल्याएको छु । भोगमा पारेकी भए पतिया गरी जारि खतमा जात पतितको सजाय गरिपाउँ भन्ने यदुप्रसादको ०१८।१।२।६ को फिरादपत्र ।

            २.    रामहरिसँग हितचित मिलेकोले लोग्ने स्वास्नी भई उनकै घरमा गई बसेकी छु । उनकै करणी विर्यबाट गर्भ रहेको ७ महिना भयो । वादीले मेरो १४ वर्षको उमेर नपुग्दै विवाह गरेको सदर नहुने हुँदा फिरादीको दावी लाग्ने होइन भन्नेसमेत अम्बिकादेवीको बयान ।

            ३.    रामहरिसँग अम्बिका पोइल गएको ठहर्छ । जारी खतमा रामहरिको जात पतित गर्ने भन्नेसमेत का.फौ.इ.अ. को ०१८।५।१८।१ को फैसला ।

            ४.    मैले अम्बिकादेवीलाई करणी गरी लोग्ने स्वास्नी भई बसेको होइन जालसाज गरी झुठ्ठा पोल्नु पोलाउनु गरेका हुन् । निज अम्बिकादेवी ०१७ सालदेखि भ.पु. पातलेटार बस्ने नाउँ नजानेको ढुड्डाना जैशी बाहुनसँग पोइल गएकी छ । झुठ्ठा दावीबाट फुर्सत पाउँ भन्ने रामहरिको प्रतिवादी सरहको पुनरावेदन ।

            ५.    प्रतिवादी रामहरि गौतमलाई नयाँ मुलुकी ऐन जारीको २ नं.बमोजिम कैद राख्न पाउँ भन्ने वादीको दर्खास्त ।

            ६.    वादी यदुप्रसादको स्वास्नीलाई प्र. रामहरिले जारी गरी लगेको ठहराएको इन्साफ मुनासिव जात पतितको सजायको हकमा केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिन्हा दिने ऐन, २०२० को दफा ५ ले अब जात पतितको सजाय कार्यन्वित नगरिने भइसकेकोले जात पतित गर्ने सजायतर्फ पनि केही गर्नुपरेन । नयाँ मुलुकी ऐन जारीको २ नं.ऐनले जारलाई सजाय गर्न चाहेमा ५ वर्षसम्म कैद गराउन पाउँछ भन्ने लेखेको साधुलाई सजाय रोजाउँदा जारलाई कैद गर्न पाउँ भनी दर्खास्त पेश गरेकोले नयाँ मुलुकी ऐन जारीका २ नं.ले रामहरिलाई तजविज कैद वर्ष १ हुन्छ भन्नेसमेत ०२१।१२।५ को बाग्मती अञ्चल अदालतको फैसला ।

            ७.    सो इन्साफमा चित्त बुझेन भन्ने प्र. रामहरिको पुनरावेदन ।

            ८.    जारी गरेबापतमा कैद सजाय गर्ने व्यवस्था साविक मुलुकी ऐनमा नभएकोले कैद सजाय गर्नेगरेको मनासिव हुँदैन वादीलाई अ.बं.२०२ नं.बमोजिम झिकाई पेश गर्नु भन्ने ०२२।५।११।६ को डिभिजन बेञ्चको आदेश ।

            ९.    प्र.ले देखाएको भिमप्रसाद ढुड्डाना उपस्थित हुन नआएको र ०१७।२।१३।५ मा यदुनाथले भिमप्रसादलाई अम्बिकाका जारी खत मिन्हा दिएको समेत लिखित प्र. रामहरिले आजै बेञ्च समक्ष पेश गरेकोले सो लिखित अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाउन पेश गर्नु भन्ने ०२२।७।२९।३ को डिभिजन बेञ्चको आदेश ।

            १०.    सो ०१७।२।१३।५ को कागज देखी सुनि पाएँ । यदुप्रसाद माननाथ कहाँ भैैंसी किन्न जाँदा बाँकी रहेको रु.१५०। को कपाली तमसुक लेखेकोमा माननाथ कृष्णप्रसादले झुक्याई जारी खत मिन्हाको कागज बनाएको हुन् भन्नेसमेत रामहरिको र सो कागज रामहरिले के गरी गराएका हुन् थाहा छैन । भिमप्रसादसँग पोइल गएको होइन भन्ने अम्बिकादेवीको बयान ।

            ११.    सो ०१७।२।१३।५ को कागजमा भैंसी किनेको नपुग रु.को उल्लेखसम्म नभई प्र. अम्बिकादेवी भिमप्रसादसँग पोइल गएकोमा जारी खत माफ दिई निजले लगाएको चाँदीको बाला बुझीलिएको कागज गरी दिएको भन्ने लेखेको सो लिखतमा माननाथ साक्षी नै नदेखिएको । लेखक कृष्णप्रसाद यदुप्रसादको बाबु कृष्णदत्त निजकै दाजु खेमनाथ निजकै कान्छा बाबु एकनाथ निजकै माहिला बाबु सानु गोविन्द पनि साक्षी बसेको देखिएको त्यसको मानिसलाई झुक्याई गराएको भन्ने भनाई प्रतित लायक नदेखिने हुनाले यदुप्रसादले जारी खत माफ दिई सो इच्छाले नै गरिदिएको देखिन्छ । सो कागज रामहरिले नै पेश गरेको भिमप्रसादका नाउँको कागज कसरी प्राप्त भयो सो केही लेखेको नदेखिएको समेतबाट भिमप्रसाद समेतलाई मिलाई निजलाई म्याद गुजार्न लगाई प्र. रामहरिले आफू कसूरबाट बच्ने प्रयास गरेको देखिनाले रामहरिले जारी गरेको ठहराएको इन्साफ अञ्चल अदालतको मुनासिव ठहर्छ । रामहरिको ठाउँमा भिमप्रसाद नाउँमात्र फरक पारी कागज खडा गरेको भए पनि वादीले विवाहिता स्वास्नी अम्बिकादेवीको जारी गर्ने जारलाई खत माफ गरी कागज गरिदिएको रामहरिलाई जोगाई भिमप्रसाद भन्ने लेखे पनि करणी जारी गर्ने रामहरि ठहर्न आएकोले सोही खत बापतमा अब रामहरिलाई सजाय गराउन पाउँछ भन्न नमिल्ने भन्नेसमेत ०२४।२।१८।५ को डिभिनबेञ्चको फैसला ।

            १२.   उक्त फैसलाउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने रामहरिको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा अरु कुरा मिलेकै देखियो । जारी खत माफ दिएको भनेको कागज तर्फ मानिसको मनको भाव कारवाई र व्यवहारको स्वरुप अनुमानबाट ठेगाना लगाउन भन्दा बुझ्ने बाटो भएसम्म बुझी निष्कर्षमा पुग्नु उचित हुनजान्छ । अन्यथा अनुमान गरिएका तर्कहरु वास्तविक कुरासँग नमिल्ने पनि हुनजान्छ, तसर्थ जारी खत माफ दिने कारवाईतर्फ साक्षी लगायतको प्रमाण नबुझी सर्वाेच्च अदालतले गरेको निर्णय र सजाय मिलेको भने देखिएन, दोहराउने आदेश बक्सनु  पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धार ७२ (ख) अनुसार उक्त मुद्दा दोहराई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मोसुफका प्रमुख सचिवालय राजदरवारबाट ०२५।४।२३।४ मा लेखी आएको हुकुम प्रमांगी ।

            १३.   बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यसतो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराज प्रमुख सचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाई दिनु भन्ने तत्कालिन माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।४।२५।६ को आदेश ।

            १४.   ०१७।२।१३।५ को कागजको रुपबाट भिमप्रसाद ढुंगाना जैशी र निवेदक प्रतिवादी रामहरि वादी यदुप्रसादले बयान गर्दा बुझी पाउँ भनेको साक्षीसमेत पनि बुझ्नु पर्ने देखिनाले समाव्हान पठाई नियमबमोजिम पेश गर्नु भन्ने ०२६।१।२७।६ को फुल बेञ्चको आदेश ।

      १५.   माननाथ र कृष्णप्रसाद आई तिम्रो छोरासँग लेनदेन कारवार गरेकोले साक्षी रोखेको छ, सही गरी देउ भनी भनेकाले साक्षीमा ल्याप्चे लगाई दिएको हुँ । अरु मलाई थाहा छैन भने कृष्णदत्त बजगाँईको ०२७।४।९।६ को बयान ।

      १६.    माननाथ कष्णप्रसादलाई तिम्रो भतिजा यदुप्रसादले तमसुक गरी दिएकोले तिमीलाई साक्षी राखेको छ सही गरी देउ भनेकाले सही गरी दिएको हुँ भन्ने एकनाथ बजगाँईको ०२७।४।९।६ को बयान ।

      १७.   यदुप्रसादको स्वास्नी सिस्नेरीमा भिमप्रसादसँग पाइल गएकी र भिमप्रसाद ढुंगानालाई खत माफको कागज लेखी दिनोस भनेकाले मैले लेखी दिएको हुँ । अरु कुरा मलाई केही थाहा छैन भन्ने समेत कृष्णप्रसाद चापागाँईको ०२७।५।१२।६ को बयान ।

      १८.   तत्कालिन काठमाडौं जिल्ला अदालतको ०२०।११।११।१ को आदेशानुसार नयाँ मुलुकी ऐन जारीको नं. २ बमोजिमको सजाय मध्ये कुन कुरा गरी माग्ने हो, लिखित दर्खास्त पेश गर्नु भनी वादी यदुप्रसादबाट दर्खास्त लिएको मिलेको नदेखिएकाले बयान गर्न कारणी वादी यदुप्रसादलाई उपस्थित गराउनु भनी निजको वारेस श्यामकृष्णलाई तारेख तोकी बयान गराउन नियमबमोजिम पेश गर्नु भन्ने ०२७।९।२४।६ को फुल बेञ्चको आदेश ।

      १९.    यसमा तारेखमा रहेको निवेदक प्रतिवादी रामहरि गौतम रोहवरमा रही ०२८।१।२८।३ मा पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो, जारी खतमा तत्काल प्रचलित जारीको १५ नं. बमोजिम साधुले जारलाई गर्न पाउने सजायमा प्रतिवादी रामहरिको जात पतित गरिपाउँ भन्ने दावी लिई वादीले ०१८।१।२।६ मा यो नालेस दर्ता गरेको रहेछ । २०।५।१० देखी लागु भएको केही फौजदारी मुद्दा खारेज गर्ने र दण्डसजाय मिन्हा दिने ऐन, २०१९ को दफा ५ को उपदफा (२) अनुसार जात पतितको सजाय नहुने भएकोले वादीले नालेसगर्दा रोजेको जात पतितको सजाय हुनसक्ने कुरै भएन । सोही दफा ५ मा साविकको मुलुकी ऐनअन्तर्गत अपराध ठहरिने कुनै काम कुरा अनुसूचीमा उल्लेख भएको नेपाल ऐनअन्तर्गत पनि अपराध ठहरिने रहेछ भने ०२० साल भाद्र १ गते भन्दा अघि भएगरेको त्यसतो अपराधमासमेत अनुसूचीमा उल्लेख भएको नेपाल ऐन बमोजिमको सजाय हुनेछ भन्ने व्यवस्था भएको र अनुसूचीमा २०२० साल भाद्र १ गते देखी लागु हने गरी जारी भएको नयाँ मुलुकी ऐनमा पनि परेकोले नयाँ मुलुकी ऐन जारीको २ नं. बमोजिमको सजाय गराउन पाउनेमा कुन कुरा गरी माग्ने हो लिखित दर्खास्त लिने भन्ने तत्कालिन काठमाडौं जिल्ला अदालतबाट ०२०।११।११।१ मा आदेश भई प्रतिवादी रामहरि गौतमलाई ऐनबमोजिम कैद राख्न पाउँ भनी वादीले ०२०।११।१८।१ मा दर्खास्त दिएको देखिन्छ । सो दर्खास्तमा यति कैद गरी पाउँ भन्ने नकिटिएकोले अदालतबाट सजाय रोजाई बयान गराउन वादी यदुप्रसादलाई उपस्थित गराउनु भनी निजको वारेस श्यामकृष्ण्लाई तारेख तोकी दिने ०२७।९।२४।६ को फुल बेञ्चबाट आदेश भएबमोजिम ०२७ साल माघ १५ गते वादी यदु प्रसादलाई उपस्थित गराउन भनी निजको वा. श्याम कृष्णलाई तारेख तोकिएकोमा हाजिर नभई सो तारेख गुजारेको र ऐनले थमाउन पाउने म्याद बाँकी नरहेको समेत देखियो ।

      २०.   मुख्य जारी खतमा साधुले जारलाई नयाँ मुलुकी ऐन जारीको २ नं. बमोजिम गराउन पाउने सजायमा विवाह खर्च भराई माग्ने या कैद गराउने यी दुई कुरामा एक कुराको वादी दावी लिएको भए सो सजाय गराउन पाउने नपाउने कुराको लागी नै जारी गरे नगरेको समेत अदालतबाट इन्साफ तहकिकात गर्नु पर्ने हो तर अदालतमा उपस्थित भई बयान गरी उक्त जारीको २ नं. बमोजिम सजाय रोजी दावी गर्न अदालतबाट मौका दिंदा समेत वादी आफू हाजिरै नभई तारेख गुजारी बस्छ भने यस स्थितिमा उक्त जारीको २ नं. बमोजिम सजाय हुनसक्ने नसक्ने कुराको निर्णय दिने प्रश्न आउँदैन । अतः उपरोक्त उल्लेख भएबमोजिम निर्णय दिइरहनु नपर्ने हुँदा अरु कुरा विचार गरी रहनु परेन । उपरोक्त कारणबाट यो मुद्दा खारेज हुने ठहर्छ । डिभिजन बेञ्चसमेतबाट इन्साफ तहकिकात भएको बदरहुन्छ । वादी आफूले गराउन पाउने जारी खतको सजाय रोजी दावी गर्न हाजिर नभएको कारणबाट खारेज हुने ठहरेकाले कसैलाई केही गर्नु पर्दैन, अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी रामहरि गौतम के०२४।२।१८।५ को डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु.१०० नलाग्ने हुँदा निजले वागपती अञ्चल अदालतको फैसलाले गर्ने गरेको कैद वर्ष १। को नगदी रु.५४०। धरौट राखेको मध्येबाट सो रु.१००। कट्टा गर्ने गरेकोमा सो अनुसार कट्टा गर्नु पर्दैन सो लगत काटी उक्त रु.१००। पनि निजलाई फिर्ता दिनु भनी कानून बमोजिम लगत दिनु .......................१

प्रतिवादी रामहरि गौतम जैशी कै वागमती अञ्चल अदालतको ०२१।१२।१२।५ को फैसलाले गर्ने गरेको कैद वर्ष १। को हकमा ०२४।२।१८।५ को डिभिजन बेञ्चको फैसलाले नलाग्ने लगत काटी दिने र सो कैदको धरौट राखेको नगदी ५४०। मध्ये रु.४४०। फिर्ता दिने समेत गरी लगत दिई सकेको सोही कायम राखी दिने.....................२

प्रतिवादी अम्वीकादेवीके का.फा.ई.अ. को ०१८।५।१८।१ को फैसलाले गर्ने गरेको कैद वर्ष २। नलाग्ने भए पनि सो कैदमा निज ०१८।१।२ देखी थुनिएको देखएको सो मितिबाट सो कैद वर्ष २। पहिले नै भुक्तान भइसकेको भई लगत बाँकी नदेखिंदा केही गर्नु परेन........................३

वादी यदुप्रसाद वजगाई के डिभिजन बेञ्चको ०२४।२।१८।५ को फैसलाले गर्ने गरेको जरिवाना रु.१००। नलाग्ने हुँदा असुल भएको मभए फिर्ता बाँी भए लगत कट्टा गरी दिन भनी कानून बमोजिम लगन दिनु.....................४

नियमबमोजिम मिसिल बुझाई दिनु......................५

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

न्या.श्री वासुदेव शर्मा र

न्या.झपट सिं रावल

 

इति सम्वत् २०२८ साल बैशाख ३१ गते रोज ६ शुमम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु