शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१७४ - बाली विगो

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१७४          २०६६ असोज             अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६१ सालको दे. पु. नं. –– ९०६०

फैसला मितिः २०६६।२।८।६

 

मुद्दा :बाली विगो ।

 

पुनरावेदक वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १४ बस्ने दिवाकरप्रसाद     साह

विरुद्ध

प्रत्यर्थी वादीः जिल्ला धनुषा नगराईन गा.वि.स. वडा नं. ३ हाल ऐ. जनकपुर     नगरपालिका वडा नं. १ बस्ने राधाप्रसाद साह

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री पोषनाथ शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री मोहन प्रकाश सिटौला

मा.न्या. श्री अलिअकवर मिकरानी

 

§  जग्गा मिच्नेको १८ नं. मा कुतबालीको हकमा तीन वर्षभित्र र जग्गाको झगडा परेको बालीको हकमा एक वर्षभित्र नालिस नदिए लाग्न सक्दैन भनी बालीका सम्बन्धमा दुई वेग्ला वेग्लै अर्थ निस्कने वाक्याँश प्रयोग भएबाट ती दुबै वाक्यांशलाई समान किसिमले व्याख्या गरी प्रयोग गर्न नमिल्ने ।

§  जग्गा मिच्नेको १८ नं. को कानूनी व्यवस्था मूलतः हदम्यादका सम्बन्धमा नै केन्द्रीय भएको देखिँदा हदम्यादसम्बन्धी प्रावधानलाई गलत व्याख्या गरी विवादको अवधि वा बाली विगो भराई लिने समय सीमासँग जोडी प्रयोग गर्नु कानूनसम्मत नहुने ।

§  यो यति वर्षको मात्र बाली भराई पाउने भनी कानूनले समयको सीमाङ्कन नगरेको अवस्थामा अदालतले समयसीमा तोक्न समेत उपयुक्त नहुने ।

(प्रकरण नं.३)

§  जसको हकमा जग्गा रहेको छ वा जसको हक पुग्ने ठहर भएको छ, उसको सहमतिवेगर अन्य हक नपुग्नेले जबरजस्ती बाली लगाई खाएमा हक पुग्नेलाई बाली बुझाउनु पर्ने भन्ने सम्पत्तिसम्बन्धी सिद्धान्तलाई जग्गा मिच्नेको महलले अंगीकार गरेबाट हदम्यादसम्बन्धी कानूनी व्यवस्थालाई बाली विगोको समय अवधिसँग जोडी कानूनको उद्देश्य एवं भाबनालाई प्रयोजनहीन तुल्याउन नमिल्ने ।

§  आफ्नो हक कायम भएको जग्गाको बाली झगडा परेकै कारणले अर्को पक्षले खाने र हक पुग्ने व्यक्तिले दावी गर्न झगडा परेकै कारणले झगडाको आखिरी टुंगो नलागेसम्म नपाउने तथा झगडाको टुंगो लाग्न लामो समय लागेमा अन्यायी पक्षले खाएको बाली हकवालाले नपाउने हुने भई वास्तविक हकवाला बाली खानबाट पराजित हुने र हकै नपुगेको व्यक्ति लाभान्वित हुने हुँदा हकवालाको हक निश्चित भएपछि हदम्यादभित्र परेको फिराद दावीलाई हदम्याद सम्बन्धमा व्यवस्थित ज.मि. को १८ नं. लाई वेवास्ता गरी ३ वर्षको मात्र बाली भरी पाउने भन्न नमिल्ने ।

(प्रकरण नं.४)

§  उव्जनी निर्धारण सम्बन्धमा भई आएको मुचुल्कामा उल्लिखित उव्जनी बालीमध्ये बाली लगाउने प्रतिवादीको पारिश्रमिक वापत प्रत्येक वर्षको धान र गहुँ बालीको उव्जनीको आधा कटाई बाँकी आधा बाली विगो वादीले प्रतिवादीबाट दावीको पुरै वर्षको भराई लिन पाउने ।

(प्रकरण नं.६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सतिशकुमार झा

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

अवलम्वित नजीरः नेकाप २०५१, निर्णय नं. ५०१४, पृष्ठ ९३१

सम्बद्ध कानूनः

§  जग्गा मिच्नेको १०, १८

 

फैसला

न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

जिल्ला धनुषा सोहनी मुजेलिया हाल जि. ध. ज. न. पा. वडा नं. १४ सिट नं. १२७६०१ कि. नं. ४२ को ०१६ जग्गा विपक्षीले खिचोला गरेको हुँदा खिंचोला मेटाई चलन चलाई पाऊँ भनी २०५० सालको दे. नं. २५०२ को खिचोला मुद्दा दिएकोमा खिचोला गरेको ठहरी भएको फैसलाउपर पुनरावेदन पर्दा शुरु अदालतबाट भएको फैसला सदर भई अन्तिम भै बसेको छ । उक्त मुद्दा चल्दैको अवस्थामा जग्गा प्रतिवादीकै भोगमा रहेको र २०५१ सालको बाली देखि २०५७ साल सम्मको बाली विगो विपक्षीबाट मैले भरी पाउनु पर्ने निर्विवाद छ । तसर्थ ०१६ जग्गाको प्रतिकठ्ठा धानमन २ का दरले ११ मन ८ सेर र गहुँ प्रतिकठ्ठा २ मनको दरले हुने ११ मन ८ सेरको वजारभाउ धान मन १ को रु. ५००।र गहुँ मन १ को रु. ५००।को दरले हुने जम्मा विगो रु. ११,२००।विपक्षीबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

म प्रतिवादीले वादीको जग्गा खिचोला गरेको छैन । सो जग्गाको बाली वादीले आँफै उव्जाई खाएका छन् । म प्रतिवादीले उव्जाई नखाएकोमा २०५१ साल देखि फिराद परे भन्दा पछाडीसम्मको बालीको दावी लिई काल्पनिक वजन र मूल्य जोडी फिराद दायर गरेकाले साक्षी प्रमाण बुझी वादीको दावीबाट उन्मुक्ति दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

वादीको साक्षी नरसिंह राय दनुवार तथा प्रतिवादीको साक्षी रामेश्वर यादवले गरेको वकपत्र एवं धनुषा जिल्ला अदालतको आदेशानुसार मिति २०५८।३।८ मा डोरबाट भै आएको मुचुल्का मिसिल संलग्न रहेछ ।

यसमा खिचोला मुद्दाबाट कि. नं. ४२ को जग्गा प्रतिवादीको भोगमा रहेको भन्ने कुरामा विवाद नदेखिई वादीले बाली पाउनु पर्ने नै   देखियो । तसर्थ उव्जनी निर्धारण सम्बन्धमा भै आएको मुचुल्कामा उल्लिखित उब्जनी बाली मध्ये बाली लगाउने प्रतिवादीको पारिश्रमिक वापत प्रतिकठ्ठा १ मन कटाई वादीले प्रतिकट्टा धान मन १ र गहुँ मन १ पाउनु पर्ने देखिएको र खिचोला मुद्दा २०५६।६।५ मा फैसला भएको देखिएकोले फैसला भएको भन्दा अघिल्लो वर्षसम्मको धान र गहुँ बाली र २०५६ सालको धानबाली वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको फैसला ।

जग्गा मिच्नेको १८ नं. बमोजिम ३ वर्षको मात्र बाली भरी पाउने भनी नेकाप २०३४ पृष्ठ ९० मा सम्मानित सर्वोच्च अदालतबाट नाजिम मुसलमान वि. वादुल भएको बाली विगो मुद्दामा प्रतिपादीत सिद्धान्त विपरीत शुरु धनुषा जिल्ला अदालतले ६ वर्ष सम्मको बाली भराउने गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावीबाट उन्मुक्ति पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

यसमा बाली विगो एकिन गर्न जग्गा मिच्नेको १३ नं. बमोजिम साँध सँधियार समेत राखी मुचुल्का तयार गर्नुपर्नेमा मिसिल संलग्न मुचुल्कामा जग्गाको साँध सधियार राखिएको नदेखिँदा त्यस्तो मुचुल्काको आधारमा वादी दावीबमोजिम बाली विगो भराई दिने ठहर्‍याएको शुरु इन्साफ फरक पर्न सक्ने देखिँदा अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।

यसमा जग्गा मिच्नेको १८ नं. मा बालीको कुरामा ३ वर्ष भित्र नालेस गर्नुपर्ने कानूनी व्यवस्था भएको पाइन्छ । वादी दावीबमोजिम ३ वर्ष भन्दा बढीको बाली भराई दिन नमिल्ने भनी सर्वोच्च अदालतबाट पुनरावेदक प्रतिवादी पबनकुमार सिंह राजपुत विरुद्ध राजकुमार सिंह राजपुत भएको बाली विगो मुद्दा (नेकाप  २०५१, अङ्क ११, पृष्ठ ९३३ नि. नं. ५०१४) मा सिद्धान्त प्रतिपादन भएको हुँदा वादी दावीबमोजिम ६ वर्षको धानबाली र गहुँ बालीको विगो भराएको शुरु फैसला मिलेको देखिएन । के कति बाली वादीले प्रतिवादीबाट भरी पाउने हो भन्ने तर्फ हेर्दा धान र गहुँ प्रतिकठ्ठा २ मनका दरले उब्जनी हुन्छ भनी उब्जनी सम्बन्धी मुचुल्कामा उल्लेख भएको देखिँदा बाली लगाउने प्रतिवादीको पारिश्रमिक वापत उब्जनीको आधी कटाई प्रतिकठ्ठाको १ मनका दरले वादीले प्रतिवादीबाट भरी पाउने ठहरी यिनै वादी र प्रतिवादी राधाप्रसाद साह भएको बाली विगो मुद्दामा भएको फैसला समेतलाई वादीले स्वीकार गरेको देखिँदा माग दावीबमोजिम पुरै वर्षको बाली भराएको शुरु फैसला मिलेको नदेखिँदा केही उल्टी भई वादीले प्रतिवादीबाट तिन वर्षसम्मको प्रतिकठ्ठा एकमनका दरले धान र गहुँ बाली भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६१।५।३ को फैसला ।

विपक्षीले जग्गा खिचोला गरे उपर मैले दिएको खिचोला मुद्दामा खिचोला ठहरी भएको फैसला पुनरावेदन अदालत समेतबाट सदर भई अन्तिम भएको छ । सो मुद्दाको फैसला कार्यान्वयन गर्ने समयसम्म जग्गा प्रतिवादीको नै भोग चलनमा रहेको थियो । यस्तो अवस्थामा हदम्याद सम्बन्धी असान्दर्भिक नजिरलाई आधार लिई ३ वर्ष सम्मको मात्र बाली भराउने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । ज. मि. को १० नं. अनुसार विवाद रहे देखि अन्तिम फैसला भएको मितिसम्म बाली भराउन पाउनेमा कुनै विवाद नभएको अवस्थामा ज. मि. को १८ नं. को गलत ब्याख्या गरी ३ वर्षको बाली मात्र भराउने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला श्रीरामपासी विरुद्ध शिवपूजन पासी नेकाप २०५५ नि. नं. ६४९२ पृ. २४ मा प्रतिपादित सिद्धान्त तथा ज. मि. को १०, १३, १८ नं. प्रतिकूल हुँदा उक्त फैसला उल्टी गरी दावीबमोजिम पुरै वर्षको बाली भराउने गरी भएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन पत्र ।

यसमा मुद्दा परेको साल देखिको बाली विगोमा नालेस परी आएकोमा मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. बमोजिम ३ वर्षको मात्र बाली भराउन मिल्ने भनी पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ । यसरी जग्गा मुद्दा परी बाली सम्बन्धमा ज. मि. को १० नं. बमोजिम भइरहेको बालीमा ज. मि. को १८ नं. बमोजिम मुद्दा अन्तिम भएको १ वर्ष भित्र नालेस गरी आउनु पर्ने भन्ने कानूनी व्यवस्था भएको र यस अदालतबाट पुनरावेदक वादी श्रीराम पासी विपक्षी प्रतिवादी शीवपूजन पासी भएको बाली विगो मुद्दा (नेकाप  २०५५ नि. नं. ६४९२ पृष्ठ २४) मा यस अदालतबाट ३ वर्ष भन्दा बढी सम्मको बाली भराउन मिल्ने भनी सिद्धान्त प्रतिपादित भइरहेको स्थितिमा ३ वर्षको मात्र बाली भराउने गरी भएको पुनरावेदन अदालत जनकपुरको मिति २०६१।५।३ को फैसला फरक पर्ने देखिँदा अ. वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता सतिशकुमार झाले यिनै वादी प्रतिवादी बीच चलेको जग्गा खिचोला मुद्दामा भएको फैसला बमोजिम विवादको जग्गा प्रतिवादीले खिचोला गरेको र वादीले खिचोला मेटाई चलन चलाउन पाउने ठहर भएको छ । खिचोला मुद्दा अदालतमा विचाराधिन रहेको अवधिमा विवादित जग्गा प्रतिवादीको भोग चलनमा रहेकोले सो अवधिको बालीका सम्बन्धमा परेको मुद्दामा असम्वद्ध नजिर एवं ज. मि. को १८ नं. को गलत व्याख्या गरी ३ वर्षको मात्र बाली भराउने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी दावीबमोजिम पुरै अवधिको बाली भराई पाऊँ भनी वहस गर्नुभयो । त्यसैगरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता पन्नामान तुलाधरले मुलुकी ऐन, ज. मि. को १८ नं. मा कुत बालीको हकमा ३ वर्ष भित्र मुद्दा दायर गर्नुपर्ने भन्ने कानूनी प्रावधानले ३ वर्षको मात्र बाली भराउन मिल्ने स्पष्ट छ । सोही सम्बन्धमा नेकाप २०५१ अङ्क ११ पृष्ठ ९३३ मा प्रतिपादित सिद्धान्त समेत बमोजिम ३ वर्षको मात्र बाली भराउने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसलामा कुनै त्रुटि नहुँदा सदर गरिपाऊँ भनी वहस   गर्नुभयो ।

आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा उपस्थित कानून व्यवसायीहरूको उपरोक्त बहस जिकीर समेतलाई मध्यनजर गरी मिसिल संलग्न कागज प्रमाण अध्ययन गर्दा निम्नलिखित प्रश्नहरूको निरोपण गर्नुपर्ने देखियो ।

 

(१)  वादीले प्रतिवादीबाट विवादित जग्गाको बाली भराई लिन पाउने हो, होइन ?

(२)  मुद्दामा विवाद परेको अवधि ३ वर्ष भन्दा बढी भै विवाद परेको पुरै अवधिको बालीमा दावी भएकोमा दावीबमोजिम पुरै अवधिको बाली भराउन मिल्छ मिल्दैन ?

(३)  पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ, छैन

 

२.   सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा विवादित कि. नं. ४२ को जग्गाका सम्बन्धमा यिनै वादी प्रतिवादीहरूका बीच चलेको संवत् २०५० सालको दे. नं. २५०२ को जग्गा खिचोला मुद्दामा शुरु धनुषा जिल्ला अदालतले प्रतिवादीले विवादित जग्गा खिचोला गरेको ठहराई गरेको फैसला पुनरावेदन अदालत जनकपुरबाट सदर भै अन्तिम भएको देखिन्छ । उक्त जग्गा खिचोला मुद्दा चल्दाचल्दैको अवधिमा प्रतिवादीले विवादित जग्गा भोगचलन गरी उव्जनी समेत प्रतिवादीले नै खाएकोले भनी वादीले सो जग्गाको २०५१ सालदेखि २०५७ सालसम्मको धान र गहुँ बाली भराई पाऊँ भनी प्रस्तुत मुद्दामा दावी गरेको देखिन्छ । विवादित जग्गाको बाली वादी स्वयंले उव्जाई खाएको भनी प्रतिवादीले जिकीर लिए तापनि वादीका साक्षीको वकपत्र एवं जग्गा खिचोला मुद्दामा भएको फैसलासमेत बमोजिम मुद्दा परेको अवधिमा विवादित जग्गा वादी स्वयंले भोगचलन गरी उव्जनी समेत यी वादीले नै खाएका होलान् भनी विश्वास गर्न सकिने अवस्था देखिदैन । अतः मुद्दा परेको अवधिमा विवादित जग्गा प्रतिवादीले नै भोग चलन गरेको प्रमाणित हुँदा वादीले प्रतिवादीबाट बाली भराई लिन पाउने नै देखियो ।

३.   अव दोस्रो प्रश्नतर्फ विचार गर्दा यी वादी प्रतिवादीहरूका बीच उक्त जग्गा खिचोला मुद्दा २०५१ साल देखि २०५७ साल सम्म चली विवादको अवधि ३ वर्ष भन्दा बढी रहेको भन्ने देखिन्छ । यस्तो अवस्थामा कति वर्ष सम्मको बाली विगो भराई पाउने हो भन्नेतर्फ प्रचलित कानूनी व्यवस्थाहरू हेर्दा वादीले मुलुकी ऐन जग्गा मिच्नेको महलको १० नं. एवं १८ नं. बमोजिम मुद्दा चल्दाको पुरै अवधिको बालीको दावी लिई फिराद दायर गरेको देखिन्छ । मुलुकी ऐन ज. मि. को १८ नं. को कानूनी व्यवस्था हेर्दा रोक्का भएको जग्गा लिए दिएको र जग्गा दपोट वा तिरो दपोट गरेको कुरामा बाहेक अरु जग्गाको कुरामा थाहा पाएको मितिले ६ महिना भित्र, कुत बालीको कुरामा तीन वर्षभित्र र जग्गाको झगडा परेको बालीको हकमा जग्गाको हक छुट्टिई अन्तिम किनारा भएको मितिले एकबर्ष भित्र नालेस नदिए लाग्न सक्दैनभन्ने उल्लेख भएको देखिन्छ । उल्लिखित कानूनी प्रावधानले कस्तो कस्तो अवस्थामा बालीको दावी गरी आउने हो सोको अवस्था र दावी लिई आउने समय सीमाको व्यवस्था गरेको देखिन आउँछ । सो व्यवस्थाले कति वर्ष सम्मको बाली भराई लिन पाउने हो भन्ने सम्बन्धमा स्पष्टसँग खुलाएको देखिदैन । त्यसका अलावा ज.मि. को १८ नं. मा कुतबालीको हकमा तीन वर्षभित्र र जग्गाको झगडा परेको बालीको हकमा एक वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भनी बालीका सम्बन्धमा दुई वेग्ला वेग्लै अर्थ निस्कने वाक्याँश प्रयोग भएबाट ती दुबै वाक्यांशलाई समान किसिमले व्याख्या गरी प्रयोग गर्न समेत मिल्ने देखिदैन । जग्गा मिच्नेको १८ नं. को समग्र प्रावधान हेर्दा सो कानूनी व्यवस्था मूलतः हदम्यादका सम्बन्धमा नै केन्द्रीय भएको देखिँदा हदम्याद सम्ब्न्धी प्रावधानलाई गलत व्याख्या गरी विवादको अवधि वा बाली विगो भराई लिने समय सीमासँग जोडी प्रयोग गर्नु कानूनसम्मत हुने देखिदैन । यो यति वर्षको मात्र बाली भराई पाउने भनी कानूनले समयको सीमाङ्कन नगरेको अवस्थामा अदालतले समय सीमा तोक्न समेत उपयुक्त हुँदैन ।

४.   सोही महलको १० नं. ले दुनियाँको जग्गामा तेरो मेरो भन्ने नालेस उजूर परी झगडा परेमा समेत सो मामला नछिनी सो झगडा परेको जग्गाको बाली कसैलाई खान दिन भराउन समेत हुँदैन । मुद्दा नछिनुन्ज्याल साल सालको बाली रोक्का गरी इन्साफ गर्नुपर्छ । मुद्दा छिनिए पछि हक पुग्नेलाई फुकुवा र अड्डामा धरौट रहेको दिनुपर्ने समेत ऐनबमोजिम जो गर्नुपर्ने ठहर्छ सो बमोजिम गरी दिनुपर्छ भन्ने उल्लेख भई सोही नं. को देहाय ५ मा रोक्का भएको जग्गाको मुद्दा आखिरी टुंगो लागी फैसला भएपछि रोक्का गर्ने अड्डाले हक पुग्नेलाई सरकारी असूल गर्नुपर्ने भए असूल गरी बाँकी सो रोक्का बाली बुझाई दिन र दिन लाउनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । यसबाट जग्गामा विवाद परेको अवस्थामा झगडा परेको जग्गाको बाली मुद्दा छिनिए पछि हक पुग्नेलाई दिने भन्ने देखिन्छ । जग्गामा जुनवेला जसको हक पुगेको छ, उसैले आयस्ता समेत खान पाउँछ भन्ने विधायिकी मनसाय जग्गा मिच्नेको १० नं. ले अंगिकार गरेको पाइन्छ । जसको हकमा जग्गा रहेको छ वा जसको हक पुग्ने ठहर भएको छ, उसको सहमतिवेगर अन्य हक नपुग्नेले जबरजस्ती बाली लगाई खाएमा हक पुग्नेलाई बाली बुझाउनु पर्ने भन्ने सम्पत्तिसम्बन्धी सिद्धान्तलाई जग्गा मिच्नेको महलले अंगिकार गरेबाट हदम्यादसम्बन्धी कानूनी व्यवस्थालाई बाली विगोको समय अवधिसँग जोडी कानूनको उद्देश्य एवं भाबनालाई प्रयोजनहीन तुल्याउन मिल्ने   हुँदैन । आफ्नो हक कायम भएको जग्गाको बाली झगडा परेकै कारणले अर्को पक्षले खाने र हक पुग्ने व्यक्तिले दावी गर्न झगडा परेकै कारणले झगडाको आखिरी टुंगो नलागेसम्म नपाउने तथा झगडाको टुंगो लाग्न लामोसमय लागेमा अन्यायी पक्षले खाएको बाली हकवालाले नपाउने हुने भई वास्तविक हकवाला बाली खानबाट पराजित हुने र हकै नपुगेको व्यक्ति लाभान्वित हुने हुँदा हकवालाको हक निश्चित भएपछि हदम्यादभित्र परेको फिराद दावीलाई हदम्याद सम्बन्धमा व्यवस्थित ज. मि. को १८ नं. लाई सिरानी हाली ३ वर्षको मात्र बाली भरी पाउने भन्न मिल्दैन ।

५.  अव तेस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत जनकपुरले पबनकुमार राजपुत विरुद्ध राजकुमार सिंह राजपुत भएको बाली विगो मुद्दामा (नेकाप  २०५१, अङ्क ११, पृष्ठ ९३१, नि.नं. ५०१४) यस अदालत संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्तलाई आधार लिई फैसला गरेको देखिए पनि सो पश्चात् यस अदालतपूर्ण इजलासबाट दे.पु.इ.नं. २८, २९ पुनरावेदक÷ वादी दलबहादुर लिम्वू विरुद्ध प्रत्यर्थी÷प्रतिवादी वृषबहादुर लिम्वु समेत र पुनरावेदक÷प्रतिवादी वृषबहादुर लिम्वु समेत विरुद्ध प्रत्यर्थी÷वादी दलबहादुर लिम्वु भएको बाली विगो दिलाई पाऊँ भन्ने मुद्दामा मिति २०६२।८।२।५ मा झगडा परेको सवै वर्षको बाली ज. मि. को १८ नं. बमोजिम भराउन मिल्ने भनी सिद्धान्त प्रतिपादन भएबाट शुरु धनुषा जिल्ला अदालतको फैसला केही उल्टी गरी ३ वर्षको मात्र बाली भराउने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको देखिएन ।

६.   अतः माथि विवेचित आधार कारण एवं यस अदालत पूर्ण इजलासबाट प्रतिपादित कानूनी सिद्धान्तसमेत बमोजिम उव्जनी निर्धारण सम्बन्धमा भई आएको मुचुल्कामा उल्लिखित उव्जनी बालीमध्ये बाली लगाउने प्रतिवादीको पारिश्रमिक वापत प्रत्येक वर्षको धान र गहुँ बालीको उव्जनीको आधा कटाई बाँकी आधा बाली विगो वादीले प्रतिवादीबाट दावीको पुरै वर्षको भराई लिन पाउनेमा शुरु धनुषा जिल्ला अदालतको फैसला केही उल्टी गरी ३ वर्षको बाली मात्र वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको नदेखिँदा सो फैसला केही उल्टी भै दावीको पुरै वर्षको बाली वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहराएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू।

तपसिल

    माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी भई धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत जनकपुरको फैसलाको तपसिल खण्ड को देहाय १ र २ को लगत कायम नभै धनुषा जिल्ला अदालतको फैसलाको तपसिल खण्ड बमोजिमको लगत कायम हुने हुँदा पुनरावेदन अदालत जनकपुरको फैसलाको तपसिल खण्डको लगत कट्टा गरी धनुषा जिल्ला अदालतको फैसलाको तपसिल खण्ड बमोजिम लगत कस्नु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखी पठाउनु ––––

धनुषा जिल्ला अदालतबाट वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहरेको कोर्ट फी. र अन्य दस्तूर समेत रु. ४८४।प्रतिवादीले पुनरावेदन गर्दा पुनरावेदन अदालत जनकपुरमा २०६०।६।९ र. नं. ६ मा धरौटी राखेको र सो रकम वादीले पाउने हुँदा उक्त रकम पाऊँ  भनी वादीको रित पूर्वकको निवेदन परे केही दस्तूर नलिई फिर्ता दिनु भनी पुनरावेदन अदालत जनकपुरमा लेखी पठाउनु–––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ––––

 

उक्त रायमा सहमत छु ।

 

न्या.भरतराज उप्रेती

 

इति संवत् २०६६ साल जेठ ८ गते रोज ६ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु