शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८७१            ने.का.प. २०३१

फूल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०२९ सालको रि.फु.नं. ४०

आदेश भएको मिति  : २०३०।१२।२३।६

निवेदक      : तप्पे शिवराज मौजे वसन्तपुर बस्ने अजिमुला मुसलमान

विरूद्ध

विपक्षी : श्री भूमिसुधार अधिकारी श्री डिल्लीराम ढकाल, मुकाम कपिलवस्तु जि.भू.सु.कार्यालय, तप्पे शिवराज मौजे वसन्तपुर बस्ने चन्द्रशेखर चौवे

बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   भोगबन्धकी जग्गामा साहूको एउटा सीमित हक हुन्छ । आसामीले थैली फिर्ता बुझाए पछि साहूको अधिकार समाप्त हुन्छ । सम्पत्तिमा आफ्नो जे जति हक छ त्यति मात्र अरूलाई दिन सकिन्छ । आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई हस्तान्तरण गर्न सक्दैन । साहूको थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी साहूले अरूलाई मोहियानी हक प्रदान गर्न नसक्ने।

(प्रकरण नं. ११)

(२)   भोगबन्धकीमा लिएको सम्पत्तिमा कुनै थप भएको सृष्टि गर्ने अधिकार साहूलाई नहुने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह

सरकारी अधिवक्ता : रतनलाल कनौडिया

उल्लिखित मुद्दा : दे.फु.नं. ६३ वादी अञ्जनीकुमार श्रीवास्तव प्रतिवादी वलेश्वर वरै समेत फैसला मिति ०२७।९।२१

आदेश

     न्या. विश्वनाथ उपाध्याय

      १.     प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भन्ने अजिमुला मुसलमानको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनुभन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

      २.    तथ्य यस प्रकार छ : जग्गा विगाहा ५ मैले भोगबन्धकी दिई हालसम्म ऋण निश्चित मुद्दा चल्दछ । सो जग्गा मैले मोहीमा दिने अवस्था छन् मोही नलाग्ने बदर गरिपाउँ भन्ने विपक्षी चन्द्रशेखर वादी, चन्द्रशेखरले जुगु कलावारलाई बन्धकीमा दिएको लिलाम हुँदा मुस्तफा खाँले लिएको, जोत्न दिएकोले जोती आएको हुँ जो.अ.निस्सा सदर गरिपाउँ भन्ने समेत निवेदक अजिमुलाको बयान भएको, जो.अ.नि.बदर मुद्दामा वादीको जग्गा प्रतिवादीले कमाएको नदेखिएकोले जो.अ.नि.बदर गर्ने ठहराई ०२८।४।२५ मा जि.भू.सु.कार्यालय कपिलवस्तुबाट निर्णय भएको रहेछ ।

      ३.    जग्गाको जोताहाको निस्सा पाई लगत प्रकाशन भएको छ, जग्गाको जोतको हकमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बाट प्राप्त भएको छ मैले जग्गा जोतेको छु पछि ०२५ सालमा संशोधन भएको ऐन ०२५।७।९।६ मा लालमोहर भई सोही मितिदेखि मात्र लागू भएको हो, सो ऐन लागू हुनुभन्दा अघि लागू हुने भएको ऐनले प्राप्त भएको हकलाई पछि संशोधन भएको ऐनले कुनै असर नपर्ने भएकोले भू.सु.अधिकारीले गरेको तर्कमा कानूनी त्रुटि भएको छ, दफा २५ मा जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र मोहीको हैसियतले कमाएको छ भन्ने प्रष्ट लेखिएको छ । जग्गावाला भन्नाले परिभाषा २ को दफा ४ मा भोगबन्धकी लिने व्यक्ति पनि जग्गावाला भनी लेखिएको छ यसबाट भोगबन्धकीवालाले जोत्न दिएकोमा जोती आउनेको जोताहाको हक प्राप्त हुन्छ, त्यसो हुँदा पछि लागू भएको संशोधनले अघिको कुरामा कुनै बोलेको छैन भने सो पछि जुन मितिदेखि लागू हुन्छ उस बखत पछिको हकलाई भन्ने कुरा प्रष्ट छ, यस्तोमा मेरो सुरक्षित किसानको ऐनद्वारा प्राप्त हकको हनन गर्ने गरी गरिएको फैसलामा प्रत्यक्ष कानूनी त्रुटि भएको छ, संविधानबाट सम्पत्ति भोग गर्न पाउने प्राप्त मेरो हकमा यो फैसलाले असर गरेको छ, उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदक अजिमुला मुसलमानको निवेदन जिकिर रहेछ ।

      ४.    भोगबन्धकी जग्गामा साहू भनी साहूले जोत्न दिएबाट मोहीको मोहियानी हक लाग्दछ भन्ने व्यवस्था भूमिसम्बन्धी ऐनमा कहिले पनि थिएन, अहिले पनि छैन, भू.सु.अधिकारीज्यूले अधिकार क्षेत्र भित्र रही कानूनी तथा न्यायोचित फैसला गर्नु भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रतिपक्षी चन्द्रशेखर चौवेको लिखितजवाफ ।

      ५.    भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३१ (क) प्रयोगाधिकार भू.सु.अधिकारीलाई भएबाट अधिकार क्षेत्र भित्र रही कारवाई भएको सरजमिनबाट समेत विपक्षीको जोत नदेखिँदा जो.अ.नि.बदर हुने फैसला भएको हो भन्ने समेत भू.सु.का.कपिलवस्तुको लिखितजवाफ ।

      ६.    भोगबन्धकी खाने साहूले जग्गा आसामीलाई फिर्ता गर्दा जुन स्थितिमा पहिले जग्गा थियो उस स्थितिमा फिर्ता गर्नुपर्ने र, त्यसमा आसामीको मञ्जुरी बेगर कुन कस्को हकमा दायित्व कायम गर्न नसकेको हो, चन्द्रशेखर र जगुको बीचमा ऋण निश्चित सम्बन्धी कारवाई भई ऋण निश्चित हुने ठहरी जग्गा चन्द्रशेखरले पाउने ठहरेको पनि देखिएको छ भोगबन्धकी दिँदा र ऋण निश्चित हुँदासमेत जग्गावाला चन्द्रशेखर देखिएपछि निजबाट कमाउन लिएको पाएको भन्न नसकी लिलाम सकार गर्न व्यक्तिबाट बटैया जोत आएको भन्ने यी निवेदकलाई चन्द्रशेखरको मोही भन्न नमिल्ने समेत देखिँदा सबूत प्रमाणको आधारमा भू.सु.अधिकारीले गरेको निर्णय कानून अनुरूप नै भएको देखिँदा रिट निवेदन खारेज हुने ठहर्छ भन्ने ०२९।३।३० मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

      ७.    मुद्दा दोहोर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गीमा उद्धृत न्यायिक समितिको सिफारिशमा भोगबन्धकीमा भोग गर्न पाउने हक लिलाम भएकोमा सो सकार गर्ने व्यक्तिले भोगबन्धकी लिने साहूको नै स्थान ग्रहण गर्छ यस अवस्थामा भोगबन्धकीमा लिने साहू र निजको हक लिलाम सकार गर्ने व्यक्तिको बीचको व्यक्तित्वको भिन्नताको आधारमा पुर्वोक्तबाट जग्गा कमाउन लिने मोही र पश्चादुकबाट कमाउन लिने मोहिको हकमा पनि तात्विक भिन्नता हुन्छ भनी तर्क गर्नु कृत्रिम र न्याय विपरीत हुन्छ डिभिजन बेञ्चको निर्णयको उप्रान्त प्रकरणमा यस्तो वाक्य लेखिएको छ भोगबन्धकी खाने साहूले जग्गा आसामीलाई फिर्ता गर्दा जुन स्थितिमा पहिले जग्गा थियो उसै स्थितिमा फिर्ता गर्नुपर्ने र त्यस्ता आसामीको मञ्जूरी बेगर कुनै कसैको हकमा दायित्व कायम गर्न नसक्ने हो, डिभिजन बेञ्चको यस वाक्यद्वारा उद्घोषित सिद्धान्त चाहिँ सोझै दे.फु.नं.६३ को मुद्दामा फुल बेञ्चबाट प्रतिपादित सिद्धान्तसँग बाझिएको छ फुल बेञ्चबाट भोगबन्धकीमा भोग गर्ने साहूलाई पनि जग्गावाला सम्झनु पर्ने र निजबाट जग्गा कमाउन लिनेलाई मोही हक प्राप्त हुने सिद्धान्त प्रतिपादित भएको सो सिद्धान्तलाई रिट नं.७५२ को मुद्दामा डिभिजन बेञ्चले अनुसरण गरिसकेको देखिएकोले सो रुलिङ्गसँग बाझिने गरी प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले भोगबन्धकी खाने साहूले आसामीको मञ्जूरी बेगर कुनै कसैको हकमा दायित्व कायम गर्न नसक्ने हो भन्ने रुलिङ्ग प्रतिपादित गरेको हुँदा यसरी परस्पर बाझिएको रुलिङ्ग कायम रहनु उचित हुँदैन दोहर्‍याउन आदेश बक्सनु पर्ने भन्ने समेत उल्लेख भएको  रहेछ ।

      ८.    यस बेञ्च समक्ष निवेदक अजिमुला तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले भूमिसम्बन्धी ऐन, २१ को परिभाषा अनुसार भोगबन्धकीमा भोगचलन गर्ने साहू पनि जग्गावाला मानिने व्यवस्था छ । जग्गा लिलाममा लिने मुसतफा खाँ भोगबन्धकी साहू सरह नै भएको र जग्गामा हक भएको व्यक्तिबाटै मेरो पक्षले मोहियानी हक प्राप्त गरेको हुँदा मोहियानी कायम हुनुपर्छ भन्ने समेत र विपक्षी भूमिसुधार अधिकारीतर्फबाट विद्वान अधिवक्ता श्री रतनलाल कनौडिया र विपक्षी चन्द्रशेखरतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले भोगबन्धकीवाला साहू स्थायी जग्गावाला मानिदैन भोगबन्धकी साहूले लिलाम गराई मुसतफा खाँले सकार गरेको भए पनि निज भोगबन्धकी साहूको हक लिलाम सकार गरेको हुँदा भोगबन्धकी साहूको स्थिति र लिलाममा लिनेको स्थिति एकै रूपको छ जग्गामा स्थायी हकै नभएका व्यक्तिबाट मोहियानीमा लिएको कायम हुन नसक्ने हुँदा भूमिसुधार अधिकारीको निर्णय कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      ९.    यसमा चन्द्रशेखरबाट भोगबन्धकीमा लिने साहू जगु कलवारको महवा भट्टिमा जायजात लिलाम हुँदा बन्धकी थैली सकार गरी लिलाममा लिने मुसतफा खाँबाट मैले मोहियानीमा कमाउन लिई कमाई जोताहा निस्सा समेत लिएको हुँदा मेरो मोहियानी हक कायम हुनु पर्ने भन्ने निवेदक र लिलाममा लिने साहू मुसतफा खाँ को पनि साहू सरहकै हक दायित्व हुने र त्यस्तो भोगबन्धकी साहूबाट मोहियानीमा लिए दिएको कायम हुन नसक्ने समेत हुँदा निवेदकले पाएको जोताहाको निस्सा बदरै हुनुपर्छ भन्ने विपक्षीहरूको मुख्य जिकिर भएको प्रस्तुत केशमा (१) भोगबन्धकीमा लिने साहू जगू र लिलाममा लिने भनेको मुसतफा खाँको एकै स्थिति हुन्छ हुँदैन ? (२) लिलाममा लिने मुसतफा खाँबाट निवेदकले पाएको भनेको मोहियानी हक कायम हुन सक्ने नसक्ने के हो ? भन्ने प्रश्नहरू उपर नै मुख्य रूपले निर्णय दिनु पर्ने हुँन आएको छ ।

      १०.    सर्वप्रथम पहिलो प्रश्नको सम्बन्धमा हेर्दा मुसतफा खाँले जग्गाधनी चन्द्रशेखरको हक लिलाममा सकार गरी लिएको नभई चन्द्रशेखरबाट बन्धकी लिने जगु कलवारले तिर्नुपर्ने महुवा भट्टीको बाँकीमा निज जगुको जायजात लिलाम हुँदा बन्धकी थैली मुसतफा खाँले सकार गरी लिएको भन्ने कुरामा विवाद नभएको यस्तो स्थितिमा भोगबन्धकीमा लिने साहूको जे जति हक दायित्व छ, लिलाममा सकार गरी लिनेको पनि त्यतिकै हक दायित्व हुन्छ । लिलाममा लिनेको बन्धकी साहूको भन्दा बढी हक दायित्व हुन नसक्ने हुँदा बन्धकी साहू जगु कलवार र लिलाममा लिने मुस्तफा खाँको फरक फरक स्थिति मान्न मिल्ने देखिएन, लिलाममा लिने मुसतफा खाँलाई पनि बन्धकी साहू सरह नै मान्नु पर्ने हुन्छ ।

      ११.    अब दोस्रो प्रश्नतर्फ हेरौं भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को खण्डा (क) (४) अनुसार जग्गावालाको हकको जग्गा अरू कसैले भोग वा दृष्टि बन्धकीमा लिई कानून बमोजिम भोग चलन गरी आएको भए त्यसरी भोग चलन गरुञ्जेल सो व्यक्ति पनि जग्गावाला मानिने व्यवस्था भएको पाइन्छ । उक्त परिभाषाको आधारमा भोगबन्धकी साहूबाट जग्गा कमाउन पाउने व्यक्तिले पनि मोहियानी हक पाउन सक्दछ भन्ने तर्क यस मुद्दामा उपस्थित गरिएको छ । तर यो तर्क कानूनसंगत छैन । केही सीमित प्रयोजनका लागि बन्धकी साहू पनि जग्गावाला मानिने उक्त कानूनी व्यवस्थाको आधार लिई बन्धकी साहूलाई सो ऐनको सबै प्रयोजनको निमित्त जग्गावालाको स्थान दिन मिल्दैन । उक्त दफा २ को शिर व्यहोरामा उल्लिखित बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा भन्ने शब्दहरूबाटै सो कुरा प्रष्टरूपमा व्यक्त भएको छ । प्रसङ्ग अनुसार अर्को अर्थ गर्नुपर्ने अवस्था भएमा सो दफामा गरिएको परिभाषा अनुसारको अर्थ नगरी प्रसङ्गमा मिल्ने अर्थ नै गर्नुपर्छ भन्ने कुरा त्यसबाट प्रष्ट हुन्छ । यस परिपेक्षमा बन्धकी साहूबाट जग्गा कमाउन पाएको व्यक्तिले मोहियानी हक पाउन सक्ने वा नसक्ने भन्ने प्रश्नमा विचार गर्दा बन्धकी जग्गामा भोगबन्धकी साहूको के कस्तो हक हुन्छ भन्ने कुरा नै सर्वप्रथम विचारणीय हुन आउँछ । भोगबन्धकी जग्गामा भोगबन्धकी साहूको हक एउटा सीमित हक (Limited Interest) हो भन्ने कुरामा कुनै विवाद हुन सक्दैन आसामीले बन्धकी थैली फिर्ता नबुझाएसम्मको अवधिका लागि मात्र भोगबन्धकी जग्गा भोग गर्ने हक भोगबन्धकी साहूले पाएको हुन्छ । आसामीले थैली फिर्ता बुझाएमा साहूले बन्धकी जग्गा आसामीलाई फिर्ता गर्नुपर्छ । अर्को शब्दमा आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी जग्गामा बन्धकी साहूको अधिकार समाप्त हुन्छ । सम्पत्तिमा आफ्नो जे जति हक छ त्यतिमात्र अरूलाई दिन सकिन्छ । आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई हस्तान्तरण गर्न सक्दैन । त्यसैले आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहूले सो बमोजिम थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी अरूलाई मोहियानी हक प्रदान हुन सक्तछ भन्ने सम्झन मिल्दैन । भूमिसम्बन्धी (दोस्रो संशोधन) ऐन, २०२५ को दफा ११ द्वारा संशोधित दफा २५ को उपदफा (३) मा मोहियानी लागेको जग्गा बाहेक तोकिएको क्षेत्रको अरू कुनै जग्गावालाबाट भोगबन्धकीमा लिई साहूले आफैं कमाएको रहेछ भने दफा ९ का अधीनमा रही त्यस्तो जग्गामा साहूले मोहियानी हक प्राप्त गर्नेछ भन्ने लेखिएको र यो जग्गा उक्त उपदफा अनुसार तोकिएको क्षेत्र भित्रको भन्ने देखिन नआएकोले भोगबन्धकीवाला साहू आफूलाई नै हुन नसक्ने मोहियानी हक अरूलाई दिएको कायम रहन्छ भन्न कानूनको अभावमा मिल्ने देखिँदैन ।

      १२.   भोगबन्धकीको व्यवहार दोहोरो हस्तान्तरणको व्यवहार हो । साहूले आसामीलाई आफ्नो थैली उपयोग गर्न दिएको हुन्छ भने आसामीले पनि साहूलाई आफ्नो सम्पत्ति भोग्न दिएको हुन्छ । यस्तो व्यवहारमा एउटाले अर्काको सम्पत्ति फिर्ता गरेपछि अर्काले पनि आफूले लिएको सम्पत्ति फिर्ता गर्नुपर्छ । आसामीले साहूको थैली घटाएर बन्धकी सम्पत्ति निखन्न पाउँदैन भने आफूले भोगबन्धकीमा लिएको सम्पत्तिमा कुनै थप भारको सृष्टि गर्ने अधिकार साहूलाई पनि हुँदैन ।

      १३.   यसै प्रसङ्गमा दे.फु.नं. ६३ वादी अञ्जनीकुमार श्रीवास्तव प्रतिवादी बलेश्वर वरै समेतको जग्गा खिचोला मुद्दामा ०२७।९।२१।३ को फुल बेञ्चबाट भएको निर्णयको सम्बन्धमा हेर्दा उक्त निर्णयमा प्रतिवादी बलेश्वर वरैले भोगबन्धकी साहू अब्दुल रहमानबाट ठेकमा कमाई आएको कायम गरी भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एकबालीसम्म मोहीको हैसियतले कमाएको छ भने स्वतः सो जग्गाको यो परिच्छेद बमोजिमको हक प्राप्त मोही हुनेछ भन्ने लेखिएको कुरा समेतलाई आधार लिई प्रतिवादी बलेश्वरको मोहियानी हक कायम राखिएको पाइन्छ । वास्तवमा उक्त दफा २५(२) को तात्पर्यको लागि भोगबन्धकी साहूलाई जग्गावाला मान्न मिल्ने कानूनी आधार नभएकोले बन्धकी साहूबाट मोहियानीमा लिई कमाएको नाताले उक्त दफा २५(२) अनुसार मोहियानी हक कायम गर्न नमिल्ने देखिन आउँछ । त्यसकारण उक्त फूल बेञ्चको नजीरसँग सहमत हुन मिलेन ।

      १४.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट बन्धकी साहू जगुको जायजात लिलाम हुँदा सकार गरी लिने मुस्तफा खाँबाट मोहियानीमा लिई कमाई जोताहा निस्सा प्राप्त गरेको समेत कारणले मेरो मोहियानी हक कायम हुनु पर्ने भन्ने निवेदक अब्दुल हकको निवेदन जिकिर पुग्न सक्दैन रिट निवेदन खारेज हुने ठहराई ०२९।३।३०।५ को डिभिजन बेञ्चले निर्णय गरेको मनासिव ठहर्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

हामीहरूको सहमती छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. चन्द्रप्रसाद प्रधान,

न्या. त्रैलोक्यराज अर्याल,

 

प्र.न्या.रत्नबहादुर विष्टको राय

      यसमा भोगबन्धकी साहूबाट मोहियानीमा कमाउन लिएको जग्गामा भोगबन्धकी निखनेपछि त्यस्तो मोहीको मोहियानी हक कायम रहने नरहने के हो भन्ने मूल प्रश्न उपर निर्णय दिनुपरेको छ, यस प्रसङ्गमा हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को खण्ड (क) को (४) मा त्यस्तो जग्गावालाको हकको जग्गा अरू कसैले भोग वा दृष्टि बन्धकीमा लिई कानून बमोजिम भोग चलन गरिआएको भए त्यसरी भोग चलन गरुन्जेल सो व्यक्ति जग्गावाला मानिने परिभाषा दिइएको पाइन्छ । भोगबन्धकी साहू जगु कलवारको महुवा भट्टीको बालीमा जायजात लिलाम हुँदा भोगबन्धकी थैली लिलाममा सकार गरी लिने मुसताफा खाँबाट भोगबन्धकी कायम छँदै उक्त परिभाषा अनुसार निज जग्गावाला मानिने अवस्थामा निवेदक अब्दुलहरूले मोहियानीमा कमाउन लिई कमाई आएको भन्ने कुरामा विवाद छैन । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (२) को दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एकवाली सम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेदबमोजिमको हक प्राप्त मोही हुनेछ भन्ने लेखिएकोले बन्धकी साहू जग्गावाला मानिने अवस्थामा मोहियानीमा कमाउन लिई कमाई आएको जग्गालाई बन्धकी निखनी बन्धकीको स्थिति टुटेपछि मोहियानी हक कायम नहुने भनी कानूनद्वारा प्राप्त भइसकेका मोहियानी हक टुटाई दिन मिल्ने देखिँदैन । बन्धकी साहूले राखेको मोहीको मोहियानी हक कायम रहने नरहने प्रश्न समावेश भएको दे.फु.नं. ६३ वादी अन्जनीकुमार श्रीवास्तव प्रतिवादी वलेश्वर वरैको जग्गा खिचोला मुद्दामा बन्धको साहू अब्दुल रहमानबाट लिई पाई मोहियानीमा कमाउने बलेश्वर वरैको मोहियानी हक कायमै रहने गरी ०२७।९।२१।३ मा म समेतको फुल बेञ्चबाट निर्णय भइराखेको त्यसलाई खण्डन गर्ने ठोस आधार हाल कुनै देखिन नआएको समेत हुँदा उक्त निर्णयको नजीरसमेतको आधारमा निवेदक अजिमुल्लाको मोहियानी कायमै रहने देखिन आएको समेत हुँदा निजले पाएको ४ नं.जोताहा अ.नि.बदर गर्ने गरी भूमिसुधार कार्यालय कपिलवस्तुको ०२८।४।२५।३ को फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने आफ्नो राय ठहर व्यक्त गरेको छु, यस बेञ्च सहयोगी मा.न्या.हरूको बहुमतको रायबाट रिट निवेदन खारेज गर्ने गरेको ०२९।३।३०।५ को डिभिजन बेञ्चको निर्णय मनासिव ठहरेको र नियमले बहुमतको रायमा मान्य हुने हुँदा सो अनुसार गर्नु ।

 

इति सम्वत् २०३० साल चैत २३ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु