शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१७७ - अपुताली हक कायम

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१७७ २०६६ असोज         अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री रण बहादुर बम

संवत् २०६३ सालको दे.पु.नं.०३५८

फैसला मितिः २०६६।२।२१।५

 

मुद्दा अपुताली हक कायम ।

 

पुनरावेदक/प्रतिवादीः दाङ्ग जिल्ला नारायणपुर गा.वि.स. वाड ३ चरवगिया वस्ने हेमराज      न्यौपाने समेत

विरुद्ध

प्रत्यर्थी वादीः ऐ ऐ वस्ने ज्ञानराज न्यौपाने

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. बीरेद्रकुमार बाटाजु

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री माधवप्रसाद ओझा

मा.न्या.श्री उद्घप्रसाद वास्कोटा

 

§  अदालती बन्दोवस्तको २४ नं ले १६ वर्ष नपुगेको नाबालक र उमेर पुगेका भएपनि कुनै किसिमको रोगले होश ठेगानामा नभएका वा बौलाएका मानिस समेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी कुनै कागज लिनु गराउनु हुदैन भन्ने सुरक्षात्मक प्रक्रियाको अवलम्बन गर्नुपर्ने व्यवस्था सम्म गरेकाले त्यसरी संरक्षक भनेर कुनै कागजमा सही गर्नेले नै सो लिखत लिने वा दिनेको एकमात्र कानूनी उत्तराधिकारी हुने वा अपुतालीहकको एकमात्र हकदार हुने भनी त्यसको तात्पर्य, अंशय वा उद्देश्य नभइ अनेक हकवालामध्ये कुनै एकजनाले त्यस्तो अवस्था परेमा  संरक्षक वा हकवाला भनी सही गर्न सक्दछ तर त्यतिकैबाट अरु हकदारको हक समाप्त हुन सक्तैन । त्यसरी असमान वा अन्यायपूर्ण अर्थ निस्कने गरी उक्त प्रक्रियाको अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं.७)

§  अंशवण्डा गरी भिन्न भइसकेका छोराहरूमध्ये कुनै छोराले अ.वं २४ नं को प्रयोजनार्थ संरक्षक वा हकवाला भनी कुनै लिखतमा सही गरेमा वा साक्षी वा रोहवरमा वसेमा त्यत्तिकैबाट बाबुको अंशसँग आफ्नो अंश पनि मिसाई वसेको भन्ने निष्कर्षमा पुग्न वा त्यसरी अर्थ गर्न नमिल्ने।

(प्रकरण नं.८)

§  बाबु तथा आमा अंशवण्डाको लिखत पारित गरी भिन्न भै वसेको अवस्थामा रजिष्ट्रेशनको १ नं. बमोजिम मानो जोरिएको लिखतको अभावमा पुनः सगोलमा वसेको भनी मान्न नमिल्ने र सो अवस्थामा भएको वण्डापत्र समेत बमोजिम वादी तथा प्रतिवादीका बाबुले प्राप्त गरेको अंश भागको तथा निजको श्रीमतीको मृत्युपश्चात् प्राप्त सम्पत्तिमा वादीको र प्रतिवादीको समान अवस्था विद्यमान रहेकोले अपुतालीमा सवै छोराको समान हक हुने ।

(प्रकरण नं.१०)

 

पुनरावेदक/प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. र श्री नरबहादुर योगी

प्रत्यर्थी/वादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री ताराप्रसाद लामिछाने र श्री भिमार्जुन आचार्य

अवलम्वित नजीरः

§  नेकाप २०४५ नि.नं. ३४९० पृ. ५८६,

§  नेकाप २०४७, अङ्क ७, नि.नं. ४१८० पृ ५३९

सम्बद्ध कानूनः मुलुकी ऐन अपुतालीको महलको १ नं. ६

§  रजिष्टेशनको १ नं.

§  अ.वं. को २४ नं.

 

फैसला

     न्या.रण बहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्र्तगत दोहर्‍याउने निस्सा प्रदान भै यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

     म फिरादीको स्व. बाबु देवीभक्त न्यौपानेका २ श्रीमतीमध्ये जेठी विपक्षीहरूको आमा दीपाकुमारी, कान्छी म फिरादीको आमा गुप्ती भएकोमा मेरी आमासँग सगोलमा रहेको अवस्थामा आमा गुप्ती वितेपछि म फिरादी, बाबु, सौतेनी आमा र विपक्षीहरूले २०२०।१।१९ मा अंशवण्डा गरी छुट्टिभिन्न भै आ आफ्नो खतिउपति व्यहोरी आएकोमा विपक्षीहरू को आमा दीपाकुमारी र स्व.बुबा देवीभक्त न्यौपाने विपक्षी दाजु हेमराज भाइ लोकराज ,नवराज समेत घरसारमा मिली एकसाथ वस्नु भएकोमा २०४२।९।५ गते पुनः अर्को पटक अशवण्डा गरी वण्डापत्र लिखत पारित गरी स्व. बाबु देवीभक्त न्यौपाने, स्व. सौतेनी आमा दीपाकुमारी विपक्षी दाजु हेमराज न्यौपाने र भाइ लोकराज नवराज समेत ५ अंशियार छुट्टिभिन्न भै वस्नु भएको थियो । २०४६ सालमा सौतेनी आमा दीपाकुमारी न्यौपाने परलोक हुनु भएको र मिति २०५६।१०।६ मा बाबु देवीभक्तको कालगतिले परलोक हुनु भएपछि हामी ४ अंशियार मात्र भएकोले बाबुको नाउँको सम्पत्ति विपक्षी तथा म समेत ४ भाइ छोराहरूको नाममा अपुताली नामसारी दाखेल गरिपाऊं भनी मालपोत कार्यालय दाङ्गमा फिरादीले निवेदन दिई कारवाही हुँदा विपक्षीहरू ३ भाइले मात्र पाउनु पर्ने भनी विपक्षीहरूले निवेदन दिएपछि मालपोत कार्यालय दाङ्गबाट २०५७।१०।८ मा नामसारी गर्ने सम्बन्धमा भाइहरूको मुख नमिलेकोले हक वेहकतर्फ सम्बन्धित जिल्ला अदालतबाट हक कायम गराई ल्याएका वखत निर्णयअनुसार नामसारी गर्ने गरी भएको निर्णय भै उल्लिखित सम्पत्तिको ४ खण्डको १ खण्ड सम्पत्ति मेरो अपुतालीको हक लाग्ने हुँदा देवीभक्तका नाउंमा दर्ता रहको जग्गा विगाहा १०१५/२ मध्यबाट ४ खण्डको १ खण्ड सम्पत्ति अपुताली हक कायम गरी नामसारी दा.खा. समेत गरिपाऊँ भन्ने ज्ञानराज न्यौपानेको फिरादपत्र ।

     २०२०।१।१५ गते भएको अंशवण्डाबाट बाबु देवीभक्तका नाउँमा जग्गा दर्ता भएपछि सर्भे नापीको दर्ता भएपछि प्रमाण पूर्जाबमोजिम मुमिसुधार कार्यालय दाङ्गबाट ७ नं छानबिन मुद्दामा २०३८।८।२९ गते भएको निर्णयमा उल्लिखित नारायणपुर र हापुर गरी जम्मा ज.वि. ११२ देवीभक्तका नाउँमा र आमा दीपाकुमारीका नाउँमा सर्भे नापी हुँदा ज.वि. १५१९ छोरा नवराजका नाउँमा ११४७ जग्गा एकासगोलमा रहेको ७ नं सर्भे नापीको दर्ता जग्गा घटीवढी हुन आएको अवस्था बाबु देवीभक्त र आमा दीपाकुमारीलाई एकासंगोलमा रहने गरी देवीभक्तको जग्गाबाट दुवै पतिपत्नीले गुजारा गर्ने गरी २०४२।९।५ गते वण्डापत्र गरी दिएको जग्गा १५१० मध्ये देवीभक्तले नवराज लम्साल समेतलाई विक्री गरी दिएकोले ज.वि. ५१३/  विक्री गरी सक्नु भएको दीपाकुमारीको जग्गा देवीभक्तका नाउँमा रहेपनि त्यस्तो आमाका हकमा परेको देवीभक्तका नाउँमा दर्तासम्म रहेपनि सगोलमा रहेका हामी प्रतिवादीहरूको मात्र हक लाग्ने हुँदा अपुतालीमा हक हुन आएका जग्गा बेमातृ तर्फका अघि नै छुट्टिभिन्न भएका फिरादीको अपुतालीमा हक लाग्न र पुग्न सक्तैन भन्ने प्रतिवादी हेमराज, लोकराज र नवराज न्यौपानेको प्रतिउतर पत्र ।

     वादी प्रतिवादीहरूका साक्षी बुझी पेश गर्नु भन्ने मिति ०५८।२।११ को आदेशानुसार मिति ०५८।३।१० मा दुवै पक्षले साक्षी उपस्थित गराई  शुरु अदालतमा बकपत्र गराएको नदेखिएको ।

     फिराद पत्रको प्रमाणमा उल्लेख मालपोत कार्यालय दाङ्गबाट मिति ०५७।१०।८ गते निर्णय भएको मिसिल र ०४२।९।९ मा पारित वण्डापत्रको सक्कल र प्रतिउतर पत्रमा उल्लिखित कि. नं. ४७८ को जग्गा घर व्लकको मोठ स्रेस्ता समेत सम्बन्धित कार्यालयबाट झिकाई आएपछि पेश गर्नु भन्ने २०५८।५।६ को शुरु अदालतको आदेश ।

     ज्ञानराज न्यौपानेले अपुताली नामसारी गरिपाऊँ भनी दिएको निवेदन सहित सक्कल मिसिल र २०४२।९।९ मा पारित वण्डापत्रको प्रतिलिपि समेत मिसिल संलग्न रहेको ।

     प्रतिउत्तर पत्रको प्रमाण खण्डमा उल्लिखित दाङ्ग नारायणपुर गा.वि.स. वाड नं. २(ख) कि. नं. ४७८ को ज. वि. ०१६ जग्गा घर ब्लकमा लोकराजका नाउँमा दर्ता छ छैन ? मालपोत कार्यालय दाङ्गबाट जवाफ लिई आएपछि पेश गर्नु भन्ने शुरु अदालतको आदेशानुसार मालपोत कार्यालयलाई पत्राचार गर्दा उल्लिखित जग्गा लोकराजका नाउँमा कायम रहेको नदेखिएको भन्ने ०५८।१२।८ को मालपोत कार्यालय दाङ्गको पत्र ।

     वादी र प्रतिवादीहरू देवीभक्त कै छोराहरू भएको हुँदा मृतक देवीभक्त को नाममा दर्ता स्रेस्ता रहेको घर जग्गामा फिरादीको अपुतालीको महलको १ र २ नं तथा जग्गा पजनीको २(क) नं बमोजिम अपुताली हक कायम हुने हुँदा वादी दावी ४ खण्डको १ खण्ड वादीको हक कायम हुने ठहर्छ र १ खण्ड घर जग्गाको नामसारी दा. खा. समेत हुने ठहर्छ भन्ने शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको मिति ०५८।९।१४ को फैसला ।

     शुरु जिल्ला अदालतको इन्साफमा चित वुझेन । हामी वादी प्रतिवादी एका समान हाँगाका समान हकवाला भएपनि हामी प्रतिवादीहरूसँग वसेका र स्वर्गीय पिताको पालनपोषण हामीले नै गरेको हुँदा अर्को आमापट्टिको विपक्षी वादी ज्ञानराज न्यापाने २०२० सालमा नै छुट्टिभिन्न वसेको व्यक्तिले अपुतालीको सम्पत्तिमा वण्डा पाउने होइन वुवाको स्वर्गे भएपछि निजको श्री सम्पत्तिमा हाम्रो मात्र हक कायम रहने हुँदा शुरुको फैसला उल्टी गरिपाऊंँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू हेमराज,लोकराज र नवराज समेतको संयुक्त पुनरावेदन परेको ।

     यसमा मृतक देवीभक्तको नामको घरजग्गा बाहेकको पुनरावेदक लोकराजको नामको घर जग्गा समेतबाट अपुताली पाउने ठहर गरेको शुरुको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलमा अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत तुल्सीपुर दाङ्गको मिति०६०।४।३२ को आदेश ।   

     यी वादी प्रतिवादीहरू बीच नातामा विवाद रहेको नदेखिएको र अपुताली पर्नेको श्रीमती समेत नरहेको र छोराहरू मात्र रहेको स्थिति विद्यमान भएको मिति २०२०।१।१५ को अंशवण्डा पत्रबाट यी वादी प्रतिवादीहरू छुट्टिभिन्न भै सकेको कुरामा मुख मिलेकै देखिने । प्रतिवादीहरूले २०४२ सालमा पुनः अंशवण्डा गरी वण्डापत्र पारित गरेपनि हामीहरू सगोलमा बसिआएको भन्ने जिकीर लिए तापनि सगोलमा रहेको प्रमाण प्रस्तुत गर्न सकेको अवस्था नभएको  साथै सगोल मै रही स्याहारसम्भार गरेको कुरालाई पुष्टि गर्ने साक्षी प्रमाण आधार पेश गर्न सकेको नदेखिएको वादी प्रतिवादी बीच भएको अंशवण्डाको कागजमा अपुताली यसले खाने भनी उल्लेख पनि नभएको । अपुतालीको महलको २ नं मा अपुताली पर्दा मर्नेको लोग्नेस्वास्नी छोराले अपुताली पाउने भन्ने व्यवस्था भएको र अपुताली पर्ने देवीभक्त न्यपानेका श्रीमतीहरूको मृत्यु भै सकेको अवस्था र वादी प्रतिवादीहरू बीच भएको अंशवण्डा अनुसार देवीभक्त न्यौपाने समेत छुट्टिभिन्न भैसकेको देखिँदा वादी र प्रतिवादीहरू देवीभक्तका समान पुस्ताका छोराहरू भएको देखिएकोले देवीभक्त न्यौपानेको अपुतालीमा विपक्षी वादी ज्ञानराज न्यौपाने समेतको हक कायम भई दा. खा. हुने अवस्था देखिन आएको । यसरी नै पुनरावेदक लोकराज न्यौपानेको नाउँमा दर्ताको नारायणपुर २(ख) कि नं ४७८ को विवादित कित्ता जग्गा २०४२ सालमा यी प्रतिवादीहरू र देवीभक्त समेतका बीचमा भएको वण्डापत्रको लिखतबाट मृतक देवीभक्त न्यौपानेको नाममा वण्डा भएको वण्डापत्रको प्रतिलिपिबाट देखिँदा उक्त विवादित कित्तामा देवीभक्त न्यौपानेको स्वामित्व कायम भई लोकराजको स्वामित्व कायम रहेको नदेखिएकोले शुरु दाङ्ग देउखुरी जिल्ला अदालतको मिति २०५९।९।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने मिति २०६१।११।२४ को पुनरावेदन अदालत तुल्सीपुृर दाङ्गको फैसला ।   

     २०२०।१।१५ मा वण्डापत्र खडा भै मिति  २०२०।५।९ मा पारित गरी छुट्टिभिन्न भै अलग भएको, आमा दीपाकुमारी न्यौपाने, बाबु देवीभक्त हामी हेमराज, लोकराज र नवराज पुनः सगोलमा बसिआएको हो र विपक्षी ज्ञानराज सोही वण्डापत्रबाट अलग हुनु भएको छ । हामी सगोलमा रहेका अंशियारहरू बीच मिति २०४२।९।९ मा वण्डापत्र पारित गरे पनि बाबु देवीभक्त र आमा हामीहरूसंँग रहनु भएको, विपक्षी ज्ञानराज बाबु देवीभक्तसँग  २०२० सालमा छुट्टिभिन्न भै अलग वसेको सगोलमा नरहेको कुरा स्वंयं ज्ञानराजले स्वीकार गर्नु भएको. छ । हामी सो वण्डापत्रमा अलग भएपनि सगोलिकरण गरी पुनः ०४२।९।९ मा वण्डापत्र पारित गरेबाट हामीहरू बाबु देवीभक्त सँग २०२० सालमा छुट्टिभिन्न भएको भन्न मिल्ने होइन ।

      विपक्षी ज्ञानराजले प्रस्तुत मुद्दाको फिरादको प्रकरण १ मा २०२० सालमा छुटिभिन्न भै आ आफ्नो खति उपति व्यहोरी आएको दिपाकुमारी न्यौपाने, बाबु देवीभक्त न्यौपाने, हेमराज, लोकराज र नवराज घरमा मिली एकसाथ वस्न थाल्नु भयो भनी स्वीकार गरेकोबाट पिता हामीसँग २०२० सालमा छुटिभिन्न भएको भन्न मिल्दैन ।

     ०५७।९।२७ मा नारायणपुर गा. वि. स. मार्फत् भएको सर्जमिनबाट देवीभक्तको मृत्यु कान्छो छोरा नवराजको घरमा भएको ,जेठी पट्टिका छोरा हेमराज,लोकराज र नवराज ३ भाइले पालनपोषण गरेको भनी उल्लेख गरेकोमा सोको मूल्याङ्कन नभएको ।

     २०२० सालमा विपक्षीमात्र छुट्टिभिन्न भएको र सो वण्डापत्र बमोजिम दा. खा. गरी जग्गा आफ्नो नाममा नापी दर्ता गराएको र बाबु देवीभक्त न्यौपाने समेत हामी ३ भाइको सम्पत्ति दावी खरखिचोला गर्ने छैन भनी २०२७ साल माघ महिनामा विपक्षी आफैले कागज गरी दिएबाट बाबुको सम्पत्तिमा निजको हक लाग्ने दावी गर्न पाउने अवस्था नभएकोले २०२० सालदेखि २०४२ सम्म हामीसँग बाबु देवीभक्त सगोलमा रही सवै सम्पत्ति सगोलमै रहेकोमा  २०४२ सालमा हामी ४ अँशियारको वण्डा भएपछि आंँखा नदेख्ने कमजोर अवस्थाको बाबुलाई हामी ३ भाइले पालनपोषण गरेकोमा जीयजीयै वण्डा लगाउने गरेको फैसला त्रुटिपूर्ण छ ।

     अपुतालीको २ नं ले अपुताली पाउने क्रमको उल्लेख गरेको, यसमा विवादित तथ्य अपुतालीको क्रमको न भै अपुताली पालनपोषण गर्नेले पाउने र अघि भिन्न हुनेले नपाउने भन्ने हुँदा पालनपोषण नगरेको अवस्थामा समान पुस्ताका आधार लिई गरिएको फैसला अपुतालीको २, ३ नं र प्रमाण ऐन, ०३१को दफा २६,३४,५४ समेतको व्याख्यामा गम्भीर त्रुटि भै नेकाप  २०४७ अङ्क ७ नि नं ४१८० पृष्ठ ६७९ मा प्रकाशित सिद्घान्त विपरीत भएकोले मुद्दा दोहराई हेरिपाऊँ भन्ने प्रतिवादी हेमराज समेतको संयुक्त निवेदन परेको ।

     यसमा वादी र प्रतिवादी ७ अँशियार वीच मिति २०२०।१।१५ मा वण्डापत्र पारित भएपछि प्रतिवादीहरू बाबु र आमाको साथमा वसेको अवस्था पुनः मिति २०४२।९।९ मा वण्डापत्र पारित भएकोमा कुनै विवाद देखिन आएन । उक्त मिति २०४२।९।९ मा पारित वण्डापत्रको बोलीबाट मिति २०२०।१।१५को पारित वण्डापत्र पश्चात् प्रतिवादीहरू बाबु आमाहरूसँग २०४२ सालसम्म साथमा रहेको र २०४२ सालको वण्डापत्रबाट प्रतिवादीहरूको बाबु र आमा एक भाग अंशमा बसिआएको र आफ्नो अंश भागको सम्पत्ति वेच विखन गर्दा यी निवेदक प्रतिवादी छोराहरूलाई मात्र साक्षी राखेको र सँरक्षक छोरा भनी साक्षी वसेको कुरा मिसिल संलग्न रहेको मिति २०४२।२।२२, २०४९।२।२३, २०५३।११।२७ तथा मिति २०५६।३।१६ को पारित लिखतहरूको प्रतिलिपिहरूबाट देखिन आएकोले बाबु देवीभक्त न्यौपाने र आमा दिपाको पालनपोषण समेत  निवेदक प्रतिवादीहरूले गरेको देखिँदा  र साथै अपुताली पर्दा सँग वसेको हकवालाले अपुताली पाउने भनी नेकाप  २०४७ अङ्क ७, नि.न. ४१८०, पृष्ठ ५३९ मा प्रतिपादित नजीर सिद्घान्त समेत देखिन आएकोले पुनरावेदन अदालत दाङ्ग,तुल्सिपुरको फैसलामा मुलुकी ऐन अपुतालीको महलको २, ३ एवं ९ नं र प्रमाण ऐन,२०३१ को दफा २६,३४ र  ५४ को प्रतिबनधात्मक वाक्यांँश समेतको व्याख्यामा गम्भीर कानूनी त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने संयुक्त  इजलासको मिति ०६३।७।१० को आदेश ।

     नियमबमोजिम दैनिक पेशीसूचीमा चढी निर्णयार्थ पेश हुन आएको पुनरावेदन जिकीर सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीहरू हेमराज समेतको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शेरबहादुर के. सी. तथा श्री नरबहादुर योगीले प्रतिवादीहरू पिता देवीभक्त र यस मुद्दाका वादी ज्ञानराजसँग मिति २०२०।१।१५ मा भएको वण्डापत्र बमोजिम अलग भएकोमा बाबु देवीभक्त र आमा दीपाकुमारी पुनः सगोलमा वसेको तथ्य पुनः ०४२।९।९ मा वण्डापत्र पारित गरेको देखिएबाट पुष्टि हुन्छ । विभिन्न मितिमा देवीभक्तले  जग्गा विक्री गरेको लिखतहरूमा यी प्रतिवादीहरू संरक्षकको हैसियतले रोहवरमा वसेको देखिएकोले बाबुको पालनपोषण प्रतिवादीहरूले गरी आएको भन्ने देखिन्छ । वादी ज्ञानराज २०२० सालदेखि अलग वसेको पुष्टि भएको अवस्थामा पालनपोषण गर्ने प्रतिवादीहरू बाहेक पालनपोषण नगर्ने वादीले अंशजस्तो जीयजीयै हिस्सा नपाउनेमा ४ भागको १ भाग सम्पत्ति अपुताली पाउने ठहर गरेको शुरुको सदर गरेको पुनरवेदन अदालत दाङ्गको फैसला त्रुटिपूर्ण हुँदा सो उल्टी हुनुपर्छ भन्ने समेत वहस गर्नुभयो ।

     प्रत्यर्थी ज्ञानराज न्यपानेको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरू श्री ताराप्रसाद लामिछाने र भिमार्जुन आचार्यले प्रतिवादीहरू २०२० सालमा बाबु देवीभक्तसँग वण्डापत्र पास गरी अलग भै वसेकोमा विवाद  छैन । त्यसपछि प्रतिवादीहरू बाबुसँग पुनः सगोलमा वसेको भए मानो जोरिएको लिखत हुनुपर्नेमा सोबमोजिम भएको देखिदैन । पहिलो बण्डाबमोजिम हुनुपर्ने, निजहरू अलग वसेको भन्ने कुरा २०५४ सालको निर्वाचनको मतदाता नामावलीमा वादी र प्रतिवादीहरूको अगगअलग घरधुरी उल्लेख भएबाट मानो जोरिएको रजिष्ट्रेशन लिखत नभएसम्म संगोलमा रहेको भन्न नमिल्ने हुँदा वादीले अपुताली पाउने ठहर गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत दाङ्गको फैसला मिलेको देखिँदा सदर कायम हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।

     यसमा वादी दावीबमोजिम अपुताली पाउने ठहर गरेको पुनरावेदन अदालत दाङ्ग, तुल्सीपुरको फैसला मिले नमिलेको र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्ने नपुग्ने के हो सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

     २.   निर्णयतर्फ विचार गर्दा, देवीभक्त समेत अलग वस्नु भएकोमा मिति २०५६।१०।६ मा कालगतिले परलोक हुनु भएकोले स्व. पिताको नाउँमा रहेका सम्पत्तिको ४ खण्डको १ खण्ड सम्पत्तिमा मेरो अपुताली हक लाग्ने हुँदा पिता देवीभक्तका नाउँमा दर्ता रहको जग्गा विगाहा १०१५/२ मध्येबाट ४ खण्डको १ खण्ड सम्पत्तिमा अपुताली हक कायम गरी नामसारी दा.खा. समेतगरी पाउँ भन्ने वादी ज्ञानराज न्यौपानेको फिराद दावी भएकोमा २०२०।१।१५ गते भएको वण्डापत्र बमोजिम बाबु देवीभक्त र आमा दीपाकुमारी र छोराहरू वादी प्रतिवादीहरू समेत छुट्टि भिन्न भएकोमा पुनः हामी प्रतिवादीहरूसँग एकासगोलमा बसिआएकोमा पुनः २०४२।९।५ मा वण्डापत्र भै पिता देवीभक्तका नाउँमा दर्ता रहेको जग्गामा वादी ज्ञानराज २०२० सालमा नै छुट्टिभिन्न भै हामीले बाहेक वादी ज्ञानराजले पिता समेतको पालनपोषण स्याहारसुसार नगरेकोले हामी प्रतिवादीहरूको मात्र हक लाग्ने, वेमातृतर्फका अघि नै छुट्टीभिन्न भएका फिरादीको अपुतालीमा हक लाग्न सक्तैन भन्ने प्रतवादी हेमराज न्यौपाने समेतको पुनरावेदन जिकीर भई चार भागको एक भागमा वादीको अपुताली हक कायम हुने ठहराई गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीको निवेदन परी यस अदालतबाट दोहर्‍याई हेर्न निस्सा प्रदान भई निर्णयार्थ पेश भएको देखियो ।

     ३.   वादी ज्ञानराज न्यौपाने र प्रतिवादीहरू हेमराज न्यौपाने समेत तथा निजहरूका बाबु देवीभक्त समेत २०२०।१।१५ मा नै छुट्टिभिन्न भएकोमा कुनै विवाद देखिएन । पुनःबाबु देवीभक्त र आमा दीपाकुमारी प्रतिवादीहरूसँग सगोलमा बसिआएको कारण र बाबुआमालाई पालनपोषण स्याहारसुसार गरेको हुँदा वेमातृतर्फको ज्ञानराजले बाबु आमाको पालनपोषण नगरेकोले अपुताली पाउने होइन भन्ने पुनरावेदकहरूको मूल जिकीरतर्फ विचार गर्दा, वादी र प्रतिवादीहरू देवीभक्तका २ परिवार तर्फका सन्तान रहे भएको नातामा पनि विवाद देखिएन । २०२०।१।१५ को वण्डापत्रबाट बादी ज्ञानराज, प्रतिबादीहरू हेमराज, लोकराज, र नवराज निजहरूका बाबु देवीभक्त तथा आमा दिपाकुमारीसँग अलग भै बसेको देखिन आयो ।

     मिति २०४२।९।९ मा पारित भएको वण्डापत्र हेर्दा यस मुद्दाका वादी ज्ञानराज बाहेकका प्रतिवादीहरू हेमराज, लोकराज र नवराज तथा बाबु देवीभक्त तथा आमा दिपाकुमारी बीच पुनः अंशवण्डा भएको देखिन आयो ।

     ४.   हकवाला भन्नाले मु.ऐन अपुतालीको महलको १ नं ले सातपुस्ता भित्रको सबैभन्दा नजिकको अँशियार हुने व्यवस्था गरेको र रजिष्ट्रेशनको महलको १ नं मा “...अचल सम्पत्ति भएकाको मानु छुट्टिएको वा मानु जोरिएको लिखत गर्दा गराउँदा रजिष्ट्रेशन गराउनु पर्छभनी मानु जोरिएको लिखत रजिष्टे«शन गराउनु पर्ने वाध्यात्मक व्यवस्था गरेको छ । प्रतिवादीहरूले २०२० सालको वण्डापछि पुनः बाबु देवीभक्तसँग सगोलमा बसिआएको भनी उल्लेख गरे पनि र आपसमा पुनः ०४२।९।५ मा वण्डा गरेको देखिएपनि बाबु देवीभक्त र आमा दीपाकुमारीको अंशहकको जग्गाको अपुतालीको प्रयोजनको लागि २०२०।१।१५ मा भएको वण्डापत्रमा निजहरूको अंशहकको जग्गा सम्बन्धमा के अवस्था हुने भन्ने विषयमा कुनै व्यहोरा वण्डापत्रमा उल्लेख भएको देखिएन । साथै २०२० सालमा  देवीभक्त र दीपाकुमारी, प्रतिवादीहरू र वादीसँग छुट्टिभिन्न भैसकेपछि प्रतिवादीहरूसँग पुनः मानो जोरी सगोलमा वसेको भन्ने प्रमाणित हुने रजिष्ट्रेशन पारित भएको कुनै लिखत प्रमाण प्रतिवादीहरूले पेश गर्न सकेको नदेखिएकोले छिट्टिभिन्न भै बसेको आमाबाबुको शेषपछि निजहरूको अपुताली सम्पत्ति वादी प्रतिवादी दुवै पक्षले कानूनबमोजिम पाउने नै हुन्छ ।

     २०४२।९।५ मा भएको वण्डापत्र हेर्दा यिनै प्रतिवादीहरू र बाबु देवीभक्त तथा आमा दीपाकुमारीको बीचमा अंश भाग लगाएको देखिन आयो । सोवण्डापत्रबमोजिम आमा दीपाकुमारीले लोग्ने देवीभक्तको अंशमा गुजारा गर्ने गरी बाबु देवीभक्त र यिनै प्रतिवादीहरूको बीचमा ४ अंश लगाएको देखियो ।

     ५.   यसरी ०४२।९।५ को वण्डापत्रबाट पनि यी प्रतिवादीहरू निजका स्व. बाबु देवीभक्तसँग भिन्न भइसकेकोमा कुनै विवाद छेैन । सोही वण्डापत्रबाट निज देवीभक्तको नाउँमा रहेको जग्गा समेतको अपुताली वादी प्रतिवादीमध्ये हक कसले पाउने भन्ने नै निर्णयार्थ मुख्य विवादको विषयवस्तु रहेको देखिन्छ । २०२० सालको पारित वण्डापत्र र २०४२ सालको पारित वण्डापत्रबाट एउटा तथ्य निर्विवाद रुपले स्थापित भइसकेको   छ । त्यो हो देवीभक्त तथा निजकी श्रीमतीसँग  निजहरूका सवै छोराहरू अंश लिई भिन्न भइसकेका छन् । २०४२।९।५ को वण्डापत्र पछि निज देवीभक्त र प्रतिवादीहरू पुनः आआफ्नो अंश भाग मिसाई सँगै वसेको भन्ने प्रतिवादीहरूको भनाई नै छैन । त्यसकारण २०२० सालको वण्डा पछि देवीभक्त र निजका जेठी श्रीमती तर्फका छोरा प्रतिवादीहरू मानो जोरी सँगै वसे, वसेनन् भनने प्रस्तुत मुद्दामा निरोपण गर्नुपर्ने मुख्य विवादको विषय नै होइन । किनभने देवीभक्तको मृत्यु २०५६ सालमा भएको हो । त्यसपछि निज देवीभक्तको अंश भागको सम्पत्तिमा कसको अपुताली हक लाग्ने हो, सोही कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।

     ६.   अपुताली परेको देवीभक्तको श्रीमती छैनन् । छोराहरूमा यी वादी, प्रतिवादी गरी चार भाइ छोराहरू रहेका छन् । ती चारै छोराहरू  निज देवीभक्तसँग विधिवत् अंशवण्डा  पारित भइ भिन्न भएका छोराहरू हुन । २०४२।९।५ को विवादित बण्डापत्र हेर्दा देवीभक्तको परलोकपछि उनको अंश भाग यी प्रतिवादीहरूले मात्र खान पाउने भन्ने जसे कुनै शर्तबन्देज रहेको पाइदैन । यस्तो स्थितिमा वादी, प्रतिवादीहरू समेतका  हकवालालाको कानूनी हैसियत ीभनब िक्तबतगक समान रहेको छ  अर्थात् देवीभक्तका भिन्न भएका छोराहरू अपुतालीको ६ नं को कानूनी व्यवस्था अनुसार०४२ सालपछि भिन्न भएको बाबु देवीभक्तको अंश  मिसाई निजसँगै वसेको भन्ने प्रतिवादीहरूको भनाइ नभई निजको हेरचाह, स्याहार, संभार गरेको भन्नेसम्म प्रतिवादीको भनाई छ। त्यसको प्रमाणको रुपमा  ०४७।२।२२, ०४९।३।२३, ०५३।११।२७ र ०५६।३।१६ समेत विभिन्न मितिमा देवीभक्तले गरेको लिखतहरूमा  संरक्षक वा अभिभावक भनी सही गरेको भन्ने तर्क प्रस्तुत गरिएको छ ।

     ७.   यस सम्बन्धमा विचार गर्दा, अदालती बन्दोवस्तको २४ नं ले १६ वर्ष नपुगेको नाबालक र उमेर पुगेका भएपनि कुनै किसिमको रोगले होश ठेगानामा नभएका वा बौलाएका मानिस समेतको कागज लिनु वा गराउनु पर्दा उसको संरक्षक वा हकवाला नराखी  कुनै कागज लिनु गराउनु हुदैन भन्ने एउटा सुरक्षात्मक प्रक्रियाको  अवलम्बन गर्नुपर्ने व्यवस्था गरेकोसम्म हो । त्यसरी संरक्षक भनेर कुनै कागजमा सही गर्नेले नै सो लिखत लिने वा दिनेको एकमात्र कानूनी उत्तराधिकारी हुने वा अपुतालीहकको एकमात्र हकदार हुने भनी  त्यसको तात्पर्य, अंशय वा उद्देश्य होइन । अनेक हकवालामध्ये कुनै एकजनाले त्यस्तो अवस्था परेमा  संरक्षक वा हकवाला भनी सही गर्न सक्दछ तर त्यतिकैबाट अरु हकदारको हक समाप्त हुन सक्तैन । त्यसरी असमान वा अन्यायपूर्ण अर्थ निस्कने गरी उक्त प्रक्रियाको अर्थ गर्न मिल्दैन ।

     ८.   अपुतालीको ६ नं अनुसार भिन्न भएका छोराहरूमध्ये अंश मिसाई बाबुआमाको अपुताली पाउने कानूनी व्यवस्था भएतापनि बाबुआमाको हेरचाह  वा स्याहार गर्नु एउटा कुरा हो र भिन्न भएपछि अंश मिसाएर वस्नु अर्को कुरा, अंशवण्डा गरी भिन्न भइसकेका छोराहरूमध्ये कुनै छोराले अ.वं २४ नं को प्रयोजनार्थ संरक्षक वा हकवाला भनी कुनै लिखतमा सही गरेमा वा साक्षी वा रोहवरमा वसेमा त्यत्तिकैबाट बाबुको अंशसँग आफ्नो अंश पनि मिसाई वसेको भन्ने निष्कर्षमा पुग्न वा त्यसरी अर्थ गर्न मिल्दैन । रजिष्ट्रेशनको १ नं ले मानो छुट्टिएको वा मानो जोरिएको लिखत रजिष्ट्रेशन पारित गराउनु पर्छ । भिन्न भई वसेका दुई अंशियारहरू व्यवहारमा सँगै वस्ने वा सुविधानुसार आआफना अंशभाग सँगै राखी वस्न सक्ने तिनिहरूको व्यक्तिगत इच्छाको कुरा हो । सँगै व्यवहार पनि गर्न सक्ने अँशियारहरूको इच्छा र सुविधामा निर्भर रहने कुरा हो । तर अपुतालीको हक प्राप्त गर्न अपुतालीको ६ नं को प्रयोजनका लागि अंश जोडिएको लिखत रजिष्ट्रेशन पारित हुनु नै पर्छ । यस सम्बन्धमा सोही व्यहोराको कानूनी सिद्घान्त समेत यस अदालतबाट प्रतिपादित भै सकेको छ (नेकाप २०४५, नि.नं.३४९०, पृ.५८६) । त्यसकारण यस विषयमा कुनै द्विविधा छैन र अन्यथा व्याख्या गर्नुपर्ने गुन्जायस पनि छैन ।

     ९.   यसरी अंशवण्डा भै अलग वसेको बाबु देवीभक्तसँग अंश मिसाई वसेको नदेखिएकोले बाबुले पारित गरिदिएको लिखतमा संरक्षक भनी रोहवरमा वसी सहिछाप गरेको कारणले मात्र बाबुको सम्पत्तिमा प्रतिवादीहरूले एकलौटी अपुताली हकमा दावी गर्न र पाउने हुन् भन्न मिल्ने नदेखिएकोले पुनरावेदक तर्फका विद्वान अधिवक्ताहरूको उक्त वहस वुँदासँग सहमत हुन सकिएन । साथ्ौ मिति ०६३।७।१० मा यसै अदालतको संयुक्त इजलासले अपुताली पर्दा सँग वसेको हकवालाले अपुताली पाउने भनी नेकाप ०४७, अक ७, नि.नं ४१८०, पृष्ठ ५३९ मा प्रतिपादित नजीर सिद्घान्त समेतको प्रतिकूल देखिएको भनी पुनरावेदन अदालत दाङ्ग, तुल्सिपुरको फैसलाउपर दोहोर्‍याउने निस्सा प्रदान गरेको नजीर सिद्घान्त प्रस्तुत मुद्दामा देवीभक्त अलग भै वसेको तथ्य खण्डन हुन नसकेको र प्रतिवादीहरूसँग मानो जोडिएर वसेको भन्ने तथ्य पुष्टि हुन नसकेको प्रस्तुत मुद्दाको तथ्य फरक भएको कारणले आकर्षित हुन नसक्ने हुँदा सो नजीर यसमा लागू हुन सक्ने देखिएन । यस अदालतबाट दोहोर्‍याई हेर्न निस्सा प्रदान गर्दा उल्लेख गरिएका आधारहरूसँग यो इजलास सहमत हुन सकेन ।

     १०.  तसर्थ उपरोक्त विवेचित आधार प्रमाणको आधारमा यी वादी तथा प्रतिवादीका बाबु तथा आमा अंशवण्डाको लिखत पारित गरी भिन्न भै वसेको अवस्थामा रजिष्ट्रेशनको १ नं बमोजिम मानो जोरिएको लिखतको अभावमा पुनः सगोलमा वसेको भनी मान्न नमिल्ने र सो अवस्थामा २०२०।५।९ मा भएको वण्डापत्र समेत बमोजिम यी वादी तथा प्रतिवादीका बाबु देवीभक्तले प्राप्त गरेको अंश भागको तथा निजको श्रीमती दीपाकुमारीको मृत्युपश्चात् प्राप्त सम्पत्तिमा वादीको र प्रतिवादीको समान अवस्था विद्यमान रहेकोले अपुतालीमा सवै छोराको समान हक हुने भएकोले बाबु देवीभक्तको नाउँको सम्पत्तिमा हकवालाको रुपमा यिनै वादी तथा प्रतिवादीहरू ४ जना छोराहरूमात्र देखिन आएकोले ४ खण्डको १ खण्ड वादीको अपुताली हक कायम गरी नामसारी दा.खा. समेत हुने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत, तुल्सीपुरको मिति ०६१।११।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा वुझाईदिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.ताहिर अली अन्सारी

 

संवत् २०६६ साल जेठ २१ गते रोज ५ शुभम.......

 

इजलास अधिकृतः खड्गबहादुर श्रेष्ठ

                       

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु