शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१८० - लेनदेन

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१८०   २०६६ असोज            अङ्क ६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

माननीय न्यायाधीश श्री भरतराज उप्रेती

संवत् २०६० सालको दे.पु.नं. ९४५६

फैसला मितिः २०६६।२।२८।५

 

मुद्दा : लेनदेन ।

 

पुनरावेदक वादीः जिल्ला सुनसरी दुहवी गा.वि.स. वार्ड नं. ४  स्थित श्रीकृष्ण राइस मिल्स प्रा.लि का तर्फबाट सञ्चालक देवेन्द्रकुमार अग्रवाल

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी मधेली गा.वि.स. वार्ड नं. ९ बस्ने सुदर्शन साहु

 

शुरु फैसला गर्ने :

मा.जि.न्या. श्री उमेशराज पौडेल

पुनरावेदन फैसला गर्ने :

मा.न्या. श्री शारदाप्रसाद पण्डित

मा.न्या. श्री गोबिन्दकुमार श्रेष्ठ

 

§  कुनै पनि कानूनी व्यवस्थाबमोजिम छोराले उठाई खाएको रकमको आधारमा बाबुलाई तिर्न बुझाउन पर्ने गरी वाध्य गराउन  नसकिने ।

(प्रकरण नं.३)

§  मुद्दाका प्रतिवादी फिरादी कम्पनीका शेयर धनी, कर्मचारी वा सञ्चालक कोही नरहेका उनाउ व्यक्ति भएकाले लेनदेन व्यवहारको महल अंगाली विगोमा दावी लिई दायर भएको प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०५३ को दफाहरू १२६(२), १२७ र १२७(झ) लाई निर्णयाधार लिएकोसम्म अप्रासागिंक र असान्दर्भिक देखिन आउने ।

(प्रकरण नं.४)

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रदीप सापकोटा

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलमणि निरौला

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  कम्पनी ऐन, २०५३ को दफा १२६(२), १२७(झ)

 

फैसला

न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, विराटनगरको मिति २०६०।२।६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४९ को दफा ९ अनुसार वादीको तर्फबाट पर्न आएको प्रस्ततु पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :

विपक्षीको एकासगोलको छोरा दिनेस साह लाई यस मिलको व्यापारीहरूसँग रुपैया उठाउने काम दिएकोले सो उठाएको रकम र विल भरपाई यस मिलमा बुझाउनु पर्नेमा नबुझाई रुपैयाँ लिई भागी वेपत्ता भएपछि इलाका प्रहरी कार्यालय दुहवीमा मिति २०५५।१।१५ मा खोज तलास गरिपाऊँ भनी निवेदन दिएको थिएँ । त्यसपछि विपक्षीको घरमा गई मैले तपाइको छोरा दिनेसले रुपैया लिई भागी हिडेका छन् भनी विपक्षीलाई भन्दा रुपैयां पनि दिन्छु भनी भनेका र रुं ७५०००।को भौचरमा हिन्दीमा लडका मिल्ने पर उपस्थित कराएँगे नही करने पर भौचरमै भराहुवा रुपैया, हमखूद तिरेंगे जस्तो शब्द लेखी छोरा सुनीलकुमार शाह, श्रीप्रसाद यादब र श्रीप्रसाद साहालाई साक्षी राखी विपक्षीले बुझी लिनेमा सहि गरी दिनु भएको थियो । यसरी छोरा उपस्थित नगराएमा रु. ७५०००।आफै तिर्ने शर्तमा भौचरमा सही गरी दिनु भएकोमा छोरालाई पनि उपस्थित नगराएको र रुपैयाँ पनि नबुझाएकोले साह्रै अन्यायमा परी लेनदेनको १ र ४० नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीबाट रु. ७५,०००।दिलाई पाऊँ भन्ने वादीको फिराद दावी ।

स्वयं वादीले नै मैले रुपैयाँ लिएको छु भनी भन्न नसकेको लिखतबाट पनि रुपैयां लिएको पुष्टि हुन सकेको छैन । छोरा नभेटिएमा म दाखेल गर्नेछु भनी उल्लेख छ । मैले छोराको खोजी गरी रहेको छु । लघु उद्योगबाट दाखेल हुन आएको भरपाई अ.वं. ७७ नं. ले मेरो विरुद्ध प्रमाण लाग्न सक्दैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

लिखत अनुसारको रकम तिर्न स्वीकार गर्ने प्रतिवादीले ऋण तिर्नुपर्ने हुँदा वादी दावीको कागज अनुसारको रकम रु. ७५,०००।यी वादीलाई प्रतिवादीबाट भराई दिने ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०५८।४।३० को फैसला ।

मैले ऋण नखाएको, बेइमानी नगरेको अवस्थाको भौचरलाई लेनदेन हो भनी मुलुकी ऐन लेनदेन व्यवहारको महलको १ र ४० नं. ले नभनेको, कानूनअनुरूपको लिखत नभएको, त्यस्तो भौचरको आधारमा दावी ठहर गरी गरेको सुनसरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।

यसमा फिराद लेखबाट विपक्षीका एकासगोलका छोरा दिनेस साहलाई मिल्सको रुपैया व्यापारीहरूसँग उठाई लिइ आउने काम दिएको, निज दिनेस साहले बाबा शंकर लघु उद्योगबाट रु. ७५,०००।लिई नबुझाई भागी गएको भनी उल्लेख भइ रहेको देखिएको अवस्थामा भागेको भनिएको दिनेस साह उपर दावी नलिएको कारण उल्लेख नगरेकाले निज दिनेस साहको बाबु प्र. सुदर्शन साहबाट रु. ७५,०००।वादीले पाउने ठहराएको शुरुको फैसला नमिलेकोले अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगर, संयुक्त इजलासको मिति २०५९।६।१ को आदेश ।

यसमा मिति २०५५।१।२५ को भौचर कागजको प्रकृतिबाट यस्तो हानि नोक्सानीको विषयमा कम्पनी ऐन, २०५३ को दफा १२६ को उपदफा (२) अनुरूप दफा २७ को खण्ड (झ) आकर्षित हुने देखिँदा लेनदेनको जरियाको कागजअनुरूपको फिराद दावी खारेज हुने ठहर्छ । शुरु सुनसरी जिल्ला अदालतले रु. ७५,०००।को कागज अनुरूपको रकम भराउने गरी २०५८।४।३० मा गरेको फैसला कानूनी प्रश्नको रोहमा समेत नमिलेको हुँदा उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६०।२।६ को फैसला ।

पुनरावेदन अदालत विराटनगरको फैसलामा चित्त बुझेन । प्रतिवादीका सगोलका छोरा दिनेस साहले २०५५।१।२४ मा बाबा शंकर लघु उद्योगबाट रु. ७५,०००।रकम उठाई सो रकम मिल्समा बुझाउनुपर्नेमा नबुझाई भागेपछि छलफल हुँदा प्रतिवादीले छोरालाई उपस्थित गराउँछु नगराए सो रकम म तिर्छु भनी भौचर गरी रु. ७५,०००।को कागज गरिदिनुभएको र सो लिखत करकाप नठहरी अदालतबाट फैसला समेत भैसकेको अवस्थामा वादी दावी खारेज हुने ठहराएको फैसलामा लेनदेन व्यवहारको १ नं. र ४० नंं को त्रुटि छ । कम्पनी ऐन २०५३ को दफा १२७(क) कम्पनीका कर्मचारी वा सञ्चालकलाई मात्र लागू हुने भई सो बाहेक अन्यमा लेनदेन व्यवहार नै आकर्षित हुनेमा सोको गलत अर्थ लगाई रकम तिर्न स्वीकार गरेकोमा पनि फिराद दावी खारेज हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर कायम राखी पाऊँ भन्ने वादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

यसमा लेनदेन व्यवहारको १ र ४० नं. बमोजिम परेको दावीको हकमा कम्पनीका शेयरवाला वा प्रबनधक लगायतको कुनै हैसियत नराख्ने कारोवारवालाको हकमा समेत कम्पनी ऐन, २०५३ को दफा १२६(२) र ऐ. दफा १२७(झ) बमोजिमको विषय भनी प्रश्न उठाएको व्याख्यात्मक त्रुटि भई पुनरावेदन अदालत विराटनगरको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट भएको मिति २०६३।३।१८ को आदेश ।

    यसमा दिनेस साह कम्पनीको कर्मचारी भए नभएको र दावीको रकम दिनेस साहले उठाई ल्याएको भए सो प्रमाण कागज इजलाससमक्ष हेर्न निम्ति पेश गर्नु भनी पुनरावेदक वारेसलाई सुनाई त्यस्तो प्रमाण कागजको सक्कल र सोको रीतपूर्वकको नक्कल समेत दाखेल भएपछि नियमबमोजिम पेश गर्नु भनी मिति २०६५।१२।१० मा भएको आदेशानुसार कागज गर्दा मिल्समा काम गर्ने दिनेस साहुले रकम बुझिलिएको कागज निजै दिनेस साहसँग छ । सक्कल र प्रतिलिपि समेत आफूसँग छैन भनी वादीका कानून व्यवसायी प्रदिप सापकोटाले गरेको २०६६।१।२० को कागज ।

नियमबमोजिम पेसी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो। पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता प्रदिप सापकोटाले प्रतिवादीले आफ्ना छोरा दिनेस साह कानूले बाबा शंकर लघु उद्योगबाट उठाएको रकम रु. ७५,०००।तिर्न कवोल गरी कागज गरिदिएको अवस्था छ । कपाली तमसुकको आधारमा चलेको प्रस्तुत मुद्दामा कम्पनी ऐन, २०५३ आकर्षित हुने पनि होइन । लेनदेन व्यवहारको महलअन्तर्गत परेको फिरादलाई ग्रहण गरी दावीबमोजिमको रकम भराई दिनुपर्नेमा फिराद दावी खारेज गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नहुँदा उल्टी हुनु पर्दछ भनी वहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता कमलमणि निरौलाले प्रतिवादीका छोरा निदेश साह श्री कृष्ण राइस मिल्स प्रा.लि.को कर्मचारी कामदार भएको प्रमाण वादीले देखाउन सकेका छैनन् । रकम उठाएको भनी प्रमाण दाखेल गर्न सकेका पनि छैनन् । प्रतिवादीले रकम उठाएकोमा दाखेल गर्ने व्यहोराको कागज गरिदिएकोमा रकम नै उठाएको प्रमाणित नभएकोले निज प्रतिवादीले सोरकम तिर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने अवस्था नै छैन । पुनरावेदन अदालतले न्यायिक विवेचना गरी गरेको फैसला सदर हुनुपर्दछ भनी वहस गर्नुभयो ।

२.  अव पुनरावेदन अदालत विराटनगरले वादी दावी खारेज गर्ने ठहराएको फैसला मिलेको छ छैन र वादीको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भै त्यसतर्फ विचार गर्दा विपक्षी प्रतिवादीका छोरा दिनेससाहले वादी मिल्सको तर्फबाट उठाउन पर्ने बाबा शंकर लघु उद्योगबाट उठाएको रकम नतिरी भागेकोमा प्रतिवादीले निजले उठाएको रु  ७५,०००।को भौचर गरी रुपैया बुझाउने कवोलसाथ कागज गरिदिएकाले सो रकम दिलाई भराई पाऊँ भन्ने वादी दावी रहेको पाइन्छ । वादीले मैले रुपैया लिएको भनी प्रमाण दिन नसकेको र लघु उद्योगबाट रकम बुझेको भरपाई मेरा विरुद्ध प्रमाण लाग्ने होइन, छोराको खोजी गरिरहेको हुँदा वादीलाई रकम तिर्न बुझाउनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीर रहेको पाइन्छ । लिखतअनुसारको रकम भराइदिने ठहर गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी खारेज हुने ठहराई पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको देखिन आउँछ ।

३.  पुनरावेदक वादीले प्रतिवादीका छोरा दिनेस साहले श्री कृष्ण राइस मिल्स प्रा.लि.ले बाबा शंकर लघु उद्योगबाट उठाउनुपर्ने रकम रु. ७५,०००।उठाई मिल्समा दाखेल नगरेको भन्ने आधारमा प्रस्तुत मुद्दाको फिराद परेको भन्ने देखिएको छ । पुनरावेदक वादीले दिनेस साह लघु मिल्सको कर्मचारी भएको र निजलाई मिल्सको तर्फबाट रकम असूल गर्नका लागि जिम्मा दिएको भन्ने लिखत पेश गर्न सकेको अवस्था देखिँदैन । यस साथै बाबा शंकर लघु उद्योगबाट दिनेस साहले रु.७५,०००।उठाएको वा बुझिलिएको भन्ने कुराको प्रमाण वादीले पु¥याउन सकेको देखिंदैन । यस अदालतबाट सो सम्बन्धी प्रमाण पेश गर्न आदेश भै वादी वारेसले कागज गर्दा समेत रकम उठाएको सक्कल कागज वा प्रतिलिपि केही छैन भनी कागज गरेको देखिन्छ । यसरी दिनेस साह लघु मिल्सको कर्मचारी वा अधिकार प्राप्त व्यक्ति भन्ने नदेखिएको र बाबा शंकर लघु उद्योगबाट रकम बुझिलिएको भन्ने कुरा नै वादीबाट वस्तुनिष्ट प्रमाणबाट पुष्टि नभएको अवस्थामा वादीको दावी स्थापित हुन सक्ने अवस्थाको देखिन आएन । यदि निज दिनेस साहले रकम लिएकै मान्ने हो भनेपनि छोराले उठाई खाएको रकमको आधारमा बाबुलाई तिर्न बुझाउन पर्ने गरी वाध्य गराउन सकिने बारेमा कुनै कानूनी अवस्था रहेभएको पनि पाइँदैन । लिखतको व्यहोराबाटै दिनेस साहले उठाएको भन्ने देखिँदा निज दिनेस साहले उठाएको रकमको वारेमा निजका बाबु प्रतिवादी सुदर्शन साहले तिर्ने बुझाउने भनी कागज गर्दैमा सो कागजलाई कानूनबमोजिमको हो र त्यसको दायित्व प्रतिवादीमा रहन्छ भनी निष्कर्षमा पुग्न कदापि पनि मिल्दैन । यसरी प्रथमदृष्टिमा नै वादीको दावी स्थापित हुन सक्ने तथ्य एवं कानूनी आधार रहे भएको नदेखिँदा वादी दावी खारेज गरेको पुनरावेदन अदालतको फैसला कानून एवं न्यायको रोहमा मिलेके देखियो ।

४.  जहाँसम्म कम्पनी ऐन, २०५३ को दफा १२६(२) र दफा १२७(झ) को प्रश्न उठाई पुनरावेदन अदालत विराटनगरले फैसलामा उल्लेख गरेको प्रश्न छ, सो सम्बन्धमा विवेचना गर्नुपनि उपयुक्त हुने देखिन्छ । कम्पनी ऐन, २०५३ को दफा १२७(झ) मा कम्पनीको नगदी वा जिन्सी हिनामिना गर्ने वा मास्ने वा कम्पनीको नगदी वा जिन्सी सञ्चालक समिति वा साधारण सभाको स्वीकृति बिना निजी काममा प्रयोग गर्ने वा कम्पनीको नियमानुसार पेश्की फछ्र्यौट नगर्ने कर्मचारीलाई सजाय हुने प्रावधान समावेश भएको पाइन्छ भने दफा १२६(२) मा दफा १२७ बमोजिमको मुद्दा तथा दफा १३० बमोजिम विगो भराउने विषय र यस ऐनमा अन्यत्र जिल्ला अदालतले हेर्ने भनी लेखिएको मुद्दा मामिलाको कारवाही तथा किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ भन्ने कानूनी प्रावधान रहेको पाइन्छ । उल्लिखित दफाहरूमा भएका व्यवस्था कम्पनीको  हित विपरीत कार्य गर्ने कर्मचारी÷शेयरवालालाई सजाय गर्ने व्यवस्थासँग सम्बन्धित रहेको स्पष्ट देखिन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी फिरादी कम्पनीका शेयर धनी, कर्मचारी वा सञ्चालक कोही नरहेका उनाउ व्यक्ति भएको देखिएकोले लेनदेन व्यवहारको महल अंगाली विगोमा दावी लिई दायर भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरका माननीय न्यायाधीशहरूले उक्त दफाहरूलाई निर्णयाधार लिएको सम्म अप्रासागिंक र असान्दर्भिक देखिन आयो ।

५.  अतः वादीको दावी तथ्य एवं कानूनी दृष्टिकोणबाट स्थापित हुन नसक्ने भएकोले वादी दावी खारेज गर्ने ठहराएको पुनरावेदन अदालत विराटनगरको मिति २०६०।२।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाईदिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्र प्रसाद कोइराला

 

इति संवत २०६६ साल जेठ २८ गते रोज ५ शुभम्

 

इजलास अधिकृत : नारायण रेग्मी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु