निर्णय नं. ८१८१ - फैसला बदर ।

निर्णय नं. ८१८१ २०६६ असोज अङ्क ६
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री रणबहादुर वम
संवत् २०६३ सालको दे.पु.नं. ९००९
फैसला मितिः २०६६।२।५।३
मुद्दा :– फैसला बदर ।
पुनरावेदक वादीः काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने प्राणहिरा कंसाकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौँ महानगरपालिका वडा नं. २७ मासंगल्ली वस्ने केशरमान कंसाकार समेत
शुरु फैसला गर्ने
मा.जि.न्या. श्री प्रेमबहादुर के. सी.
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री राजेन्द्रप्रसाद कोइराला
मा.न्या. श्री मधुसुदनलाल श्रेष्ठ
§ मौकामा एकपटक मुद्दा चल्दाका अवस्थामा पेश नभएको लिखत, आधिकारिक निकायमा नरहेको र जहिलेसुकै पनि तयार हुन सक्ने घरसारको लिखतमा गुठी भन्ने शव्द परेकै आधारमा मात्र विवादित घरजग्गा गुठीको हो भनी यकीन गर्न नसकिने ।
(प्रकरण नं.३)
§ एक पटक फैसला भइसकेपछि मुद्दाको अन्त्य हुने भएकोले सो विषयमा स्पष्ट रुपमा कुनै पक्षको अनभिज्ञतावश अर्को पक्षबाट मुद्दा गरी आफ्नो समेत हक समाप्त भएको तथ्य अदालतलाई आश्वस्त तथा विश्वस्त नबनाएसम्म अदालतले पुनः मुद्दा ग्रहण गरी निर्णय गर्नु न्यायोचित नहुने।
§
(प्रकरण नं.४)
पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान अधिवक्ता श्री लोकभक्त राणा
प्रत्यर्थी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री वद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री मुक्ति प्रधान
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अ.वं. ८५ र ८६ नं
फैसला
न्या.प्रेम शर्माः पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी पक्षबाट मुद्दा दोहो¥याई हेरिपाऊँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)(क) अनुसार मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ :–
का.जि.का.म.न.पा. वडा नं. २७ को कि. नं. १५४५ को क्षे. फ. ०–१–०–२ को घर जग्गा पूर्व चुडा गुर्जुको घर, पश्चिम नाम थाहा नभएको श्रेष्ठको घर, उत्तर जोहारीको घर दक्षिण सडक यति ४ किल्ला भित्रको दक्षिण मोहडाको पसल कवल ७ भएको १ नाले ४ तल्ले झिंगटी छाना भएको घरमा वसी परापूर्व पुर्खाको पालादेखि प्रत्येक साल मार्गसुदी पञ्चमीका दिन हामी फिरादीहरू मिली पालै पालोसँग श्राद्ध गर्नुपर्ने घरमा विपक्षीमध्येका हिरालानी कंसाकारको लोग्ने वासु कंसाकारलाई घर मर्मत गर्नु परेमा गर्ने गरी सालै पिच्छे रु. २५।– का दरले वहालमा वस्न दिएकोमा हामीहरू २ जना विपक्षीहरू ६ जना समेत जम्मा ८ जनाको बराबरको हक लाग्ने घर जग्गामा विपक्षीहरूले गैरकानूनी तवरबाट एकलौटी हुने झूठा प्रमाण देखाई का. जि. अ. बाट २०३८।७।२० मा र वाग्मती अञ्चल अदालतबाट मिति २०३९।१।१५ गते विपक्षीहरूको मात्र हक लाग्ने फैसला भएकोमा परम्परा देखि हामीले प्रयोग गर्दै आएको घर विपक्षी हिरालानी कंसकारको नाममा मात्र कायम गर्ने गरेको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
विवादित घर विपक्षीहरूको श्राद्ध गुठीको घर नभै मेरो पिता पुर्खाको पाला देखिको घर हो भन्ने कुरा उक्त पसलमा वहालमा वस्ने मोतीलाल र दानरत्नलाई वहालमा दिई निजहरूले गरेको मिति २०१८।१।४ को कवुलियत समेतबाट मेरो भन्ने प्रष्ट हुन्छ । यदि विवादित घर श्राद्ध गुठीको भए कुन मितिका कसको के प्रयोजनको लागि राखेको हो सो गुठीको गुठियार को को हुन् । वादीले त्यसको सबुद प्रमाण पेश गर्न नसकेकोले दावी दुषित भन्ने निर्विवाद हुनुको साथै विवादित घर २०३५ सालको नापीमा प्रतिवादीमध्येका न्हुच्छेरत्न कंसाकारले निजको नाममा समेत दर्ता गरिपाऊँ भनी ३ नं. नापी गोश्वारा २ नं. नापी टोलीमा मिति २०३५।४।१६ मा निवेदन परी मेरा आमा हेरालानीको नाउँमा सूचना प्रकाशित भएको मेरो आमाउपर न्हुच्छे रत्नले खिचोला मुद्दा दिई काठमाडौँ जिल्ला अदालतबाट मिति २०३८।७।२० मा र वागमती अञ्चल अदालतबाट २०३९।१।१५ मा मेरो आमाको मात्र हक कायम हुने ठहरी फैसला भएको हुँदा विधिवत् भएको फैसलाले विपक्षीलाई कुनै किसिमको असर नपरेको र श्राद्ध गुठीको भन्ने शिलालेख समेत कुनै नहुँदा विपक्षीको फिराद झूठा हुँदा विपक्षीलाई नै सजाय गरिपाऊँ भन्ने मोतीरत्न कंसाकारको प्रतिउत्तर पत्र ।
विवादित घर गुठीको हो भन्ने कुरामा कुनै असहमत हुनुपर्ने कुनै कारण र प्रयोजन छैन तर वादीको एकलौटी गुठी नभई म समेतले गुठी सञ्चालन गर्दै आएको छु । विवादित घर मैले साविक देखि निरन्तर रुपमा श्राद्ध र पञ्चदान गर्ने कार्य गर्दै आईरहेको छु । त्यसको फोटो पेश गरेका छौं । जसबाट उक्त घर साविक देखि गुठीको भन्ने प्रमाणित हुन आउँछ । उक्त घर हाम्रो पुर्खा वालगोबिनद सिंहले दाता भई घर गुठीको लागि स्थापना गरेको र सोही घरमा श्राद्ध एवं पञ्चदान गरी आएकोले घर गुठी भएको र म प्रतिवादीले कुनै किसिमको व्यक्तिगत कार्य नगरेको हुनाले वादी दावी खारेज गरिपाऊँ भन्ने सीलादेवी कंसाकार, केशरमान कंसाकार तथा माणिकरत्न र न्हुच्छे कंसाकारको छुट्टाछुट्टै प्रतिउत्तर–पत्र ।
विवादित घर श्राद्ध गुठी पञ्चदान गुठीको घर हो । मोतीरत्नको बाबुले आफ्नो घर हर्षको बाबुलाई वेची सो पञ्चदान गुठीको घरमा वसेका हुन् भन्ने प्रतिवादी केशरमानको साक्षी रामकृष्ण कंसाकारको वकपत्र ।
उक्त घर जग्गा ६ जनाको हक लाग्ने घर जग्गा हो । हकवालाहरूमा मोतीरत्न, शीलादेवी प्राणहिरा, माणिकरत्न, न्हुच्छेरत्न र केशरमान कंसाकार हुन् । उक्त घर जग्गा श्राद्ध गर्ने घर जग्गा हो भन्ने वादीको साक्षी देवकृष्ण कंसाकारको वकपत्र ।
यसै लगाउको दे.नं. २७४४ को धर्मलोप दर्ता बदर हक कायम मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी आजै यसै इजलासबाट फैसला भएको देखिन्छ । प्रस्तुत फैसला बदर मुद्दाबाट वादीको हकलाई असर गरेको भन्न सकिने अवस्था प्रमाणमा आएको मिसिल समेतबाट नदेखिँदा तथ्ययुक्त सबुदको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०५४।२।८।४ को फैसला ।
शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसलामा चित्त वुझेन । वास्तवमा फैसला गर्दा यो गुठीको जग्गा हो, होइन यकीन गरी फैसला गर्नुपर्नेमा त्यसतर्फ कुनै ध्यानै नदिई प्रमाणको कागजको मूल्याङ्कन एवं विवेचना नै नगरी आत्मनिष्ठ भई गरेको फैसलाबाट हाम्रो हक हनन् भई गुठी धर्मलोप समेत भएको शुरुको फैसला बदर गरिपाऊँ भन्ने वादीको पुनरावेदन अदालत पाटन, ललितपुरमा परेको पुनरावेदन पत्र ।
यसमा साविक १९७४।६।८ को धनी मुनिरत्न शाक्य भएको भोगबनधकी लिखत एवं मिति १९८६।१।२४ र मिति २००८।८।१३ को लखबनधकी तमसुक समेतबाट श्राद्ध गुठीको घर भनी उल्लेख भएको देखिएको आधार प्रमाणको समुचित मूल्याङ्कन नभै शुरु जिल्ला अदालतबाट भएको फैसला फरक पर्ने समेत देखिँदा छलफलको लागि विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
यसमा वादी पक्षबाट पेश भएको विभिन्न लिखत प्रमाणतर्फ विचार गर्दा यही बिषयमा परेको अघिको मुद्दामा प्रमाण स्वरुप पेश हुन नसकेको लिखतको हाल आएर सोही बिषयमा प्रमाणिक मान्यता कायम गर्दा अदालतबाट भएका अघि अघिका अन्तिम भईसकेका फैसलाको समेत कानूनी संरक्षण हुन नसक्ने वास्तविकतालाई अन्यथा भन्न सकिने भएन । मुद्दा परी अन्तिम भई नापी दर्ता समेत भईसकी एकाको हक स्थापित भइसकेको लामो समयपछि अ. वं. ८६ नं. का आधारमा आएको प्रस्तुत फिरादबाट वादीको दावी भरपर्दो देखिन नआएको हुँदा वादी दावी पुग्न नसक्ने ठह¥याएको काठमाडौँ जिल्ला अदालतको मिति २०५४।२।८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६०।२।८।५ को फैसला ।
अदालतबाट भएको फैसलाबाट अन्य तेस्रो पक्षको हक गएको अवस्थामा अ. वं. ८६ नं. आकर्षित हुने हो । मेरो हक हनन् भएको अवस्थामा फैसला बदर गर्न पाउने नै हुन्छ । १९७४।६।८।१ को घरसारको भोग बन्धकी लिखत, २००८।८।१३।४ को पारित लखबनधकी तमसुक एवं १९८६।१।२४ को घरसारको लिखत पहिलेको खिचोला गुठी घर कायम मुद्दामा पेश नभएको हुँदा प्रस्तुत मुद्दामा ग्रहण गर्न मिल्दैन भन्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबनधात्मक वाक्यांश तथा अ. वं. ८६ नं. तथा यस अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त समेतको त्रुटि गरी भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरिपाऊँ भन्ने प्राणहिरा कंसाकारको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा काठमाडौँ जिल्ला अदालतको मिति २०३८।७।२० र तत्कालीन वाग्मती अञ्चल अदालतको २०३९।१।१५ को फैसलालाई बदर गरी माग्न गुठियारका सन्तानमध्येका सो मुद्दाका वादी मानिकरत्न कंसाकारको भाइ निलरत्नकी पत्नी प्राणहिरा वादी भई प्रस्तुत फिराद परेको देखिन्छ । फिराद पर्दा १९७४, १९०६ र २००८ सालका लिखतहरू पेश भई मिति २०५९।२।१३ मा प्रत्यर्थीले सनाखत गर्दा अस्वीकार गर्न सकेको पाईदैन । अ. वं. ८६ नं. ले फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस, मिलापत्र खारेज भएकोले अर्काको हक जाने भएको रहेछ भने जसको हक जानेछ त्यसले थाहा पाएका मितिले ३५ दिन भित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस, खारेज, मिलापत्र भएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हक जतिमा नालिश दिए इन्साफ गरिदिनुपर्ने व्यवस्था गरेको देखिन्छ । अन्तिम भएको फैसलालाई समेत दावी गर्न पाउने यस्तो कानूनी व्यवस्थालाई त्रुटिपूर्ण ब्याख्या गरी दावी नपुग्ने ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलामा अ. वं. ८६, १८४क तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहो¥याउने निस्सा दिएको छ भन्ने यस अदालतको मिति २०६३।२।१२ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री लोकभक्त राणा तथा श्यामप्रसाद खरेलले आफ्नो हक गुमेको अवस्थामा अ. वं. ८६ नं. अनुसार थाहा पाएको मितिले ३५ दिन भित्र नालेश दिन पाउने हुन्छ । भोगबनधकी लिखत लखबनधकी लिखत तथा बनदेज पत्रको लिखत समेतबाट विवादित घर जग्गा गुठीको देखिइ राखेको अवस्थामा विपक्षीका नाउँमा भएको दर्ता बदर गर्नुपर्नेमा सो नगरेको फैसलाहरू बदर हुनुपर्छ भनी र प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री बद्रीबहादुर कार्की तथा अधिवक्ता श्री मुक्ति प्रधानले विवादित जग्गा प्रतिवादीको स्ववासी जग्गा हो, गुठी हो भन्ने कुरा वादी पक्षबाट प्रमाणित गर्न सकेको अवस्था छैन, नापी निर्णयउपर उजूर परेको छैन, समयमै पेश नगरी पछि पेश गरेको प्रमाण अ.वं. ७७ नं. ले मान्यता पाउने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस सुनियो । विद्वान कानून व्यवसायीहरूको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।
यसमा काठमाडौँ महानगरपालिका वडा नं. २७ को कि. नं. १५४५ को क्षे. फ. ०–१–२ घर जग्गा हामीहरूको पुर्खाको पाला देखि नै प्रत्येक सालको मार्ग सुदी पञ्चमीका दिन पालैपालो श्राद्ध गर्नुपर्ने गुठीको घर हो । सो श्राद्ध गर्दै आएको उक्त गुठीको घर हामी फिरादी दुई र विपक्षीहरू ६ जना समेत ८ जनाको बराबर हक लाग्ने हो । उक्त गुठीको घर विपक्षी हिरालानीले एकलौटी दर्ता गराएपछि विपक्षीहरू वीच मुद्दा परी काठमाडौँ जिल्ला अदालतबाट २०३८।७।२० मा र वाग्मती अञ्चल अदालतबाट २०३९।१।१५ मा फैसला गराई विपक्षीका नाउँको एकलौटी दर्ता सदर कायम गराएकोले उक्त फैसलाहरूबाट गुठी घरमा भएको हाम्रो हक जाने भएकोले उक्त फैसलाहरू बदर गरिपाऊँ भन्ने वादी दावी र मेरो स्ववासी घर भएकोले मेरो नाउँमा दर्ता भएको हो भन्ने हिरालानी कंसाकारको प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा शुरु काठमाडौँ जिल्ला अदालतले वादी दावी नपुग्ने गरी गरेको फैसलालाई पुनरावेदन अदालत पाटनले सदर गरेपछि वादीहरूको मुद्दा दोहो¥याई हेरिपाऊँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको छ ।
पुनरावेदकले यस अदालतमा निवेदन दिदां १९७४।६।८ को घरसारको भोगबनधकी लिखत, २००८।८।१३ को पारित लखबन्धकी लिखत एवं १९८६।१।२४ को घरसारको लिखतबाट विवादित घर गुठीको भएको भन्ने प्रमाणित भएको तथा मुलुकी ऐन अ.वं. ८६ नं ले हक पुग्ने व्यक्तिले थाहा पाएको मितिले ३५ दिन भित्र फैसला बदर गराउन पाउने भनेकोे र यस अदालतबाट निस्सा प्रदान हुंदा २००८, १९८६ र १९७४ सालका लिखत प्रत्यर्थीले अस्वीकार गर्न नसकेको र अ.वं. ८६ नं ले अन्तिम भएको फैसलालाई बदर गराउन पाउने भन्ने कुरा उल्लेख भएको पाइन्छ।
२. निर्णयतर्फ विचार गर्दा विवादित घर जग्गा सम्बन्धमा २ नं. नापी टोलीसमक्ष हेरालानी कंसाकारले मालपोत अन्य तिरो नलागेको घर जग्गा मेरो स्ववासीमा दर्ता गरिपाऊँ भनी २०३५।३।३० मा निवेदन दिएपछि उक्त घर जग्गा हेरालानीको मात्र नभै हामीहरू सवैको साझा गुठीको घर जग्गा भएकोले हामी निवेदक ५ जनाको नाउँ समेतमा दर्ता हुनुपर्छ भनी केसरमान कंसाकार न्हुच्छेरत्न कंसाकार, मणिकरत्न कंसाकार र सीलादेवी कंसाकारले २ नं. नापी टोलीमा हुलाकमार्फत् निवेदन दिई २०३७।४।२० मा सो निवेदन सनाखत गरेको देखिन्छ । २०३६।१२।१२ मा न्हुच्छेरत्न शेरमान र मानिकरत्नले २ नं. नापी टोलीसमक्ष सो घर हेरालानीको एकलौटी घर नभई परम्परा देखिको श्राद्ध गुठी भएकोले हामी गुठियार केशरमान, न्हुच्छेरत्न, मानिकरत्न, सीलादेवी प्राणहेरा र हेरालानी समेत ६ जनाको नाम कायम गरी स्ववासी दर्ता गरिपाऊँ भनी कागज गरेको देखिन्छ । विवादित घर जग्गा हेरालानी कंसाकारका नाममा दर्ता गरिदिने गरी ३ नं. नापी गोश्वाराबाट २०३७।४।२ मा निर्णय भएपछि सो निर्णयमा चित्त नबुझाई केशरमान कंसाकार, न्हुछेरत्न कंसाकार, मानिकरत्न कंसाकार, सीलादेवी कंसाकार समेतले हिरालानी कंसाकार उपर काठमाडौँ जिल्ला अदालतमा फिराद गरी हेरालानीको समेत प्रतिउत्तर परी प्रमाणहरूको मूल्याङ्कन भई काठमाडौँ जिल्ला अदालतबाट वादी दावी नपुग्ने ठहर भई सोउपर वादीहरूको तत्कालीन वाग्मती अञ्चल अदालतमा पुनरावेदन परी वाग्मती अञ्चल अदालतबाट काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरी मिति २०३९।१।१५ मा फैसला भई उक्त फैसला अन्तिम अवस्थामा रहेको पाइयो । सो फैसला भएपछि लामो समयको अन्तरालपछि मिति २०५१।१२।२२ मा थाहा पाएको भनी हदम्याद कायम गरी उक्त अन्तिम भएको फैसलालाई बदर गराउन वादीहरू मिति २०५२।१।२१ मा मात्र फिरादसाथ अदालत प्रवेश गरेको पाइयो ।
३. विवादित घर जग्गा हर्षमान कंसाकार, कुलधर कंसाकार, हर्षरत्न कंसाकार र जानमानसिंह कंसाकारले गुठी राखेको भन्ने पुनरावेदक वादीहरूको भनाई रहेको छ । तर सो गुठी कुन प्रयोजनको लागि राखिएको हो भन्ने सम्बन्धमा प्रष्ट पार्ने दान पत्र, ताम्रपत्र लगायतका कुनै पनि रीतपूर्वकका सवूद प्रमाण मिसिल संलग्न भएको पाईदैन । पुनरावेदक वादीहरूले २००८, १९८६ र १९७४ सालका लिखतबाट विवादित घरजग्गा गुठी हो भन्ने कुरा प्रमाणित भइरहेको भनेका छन् । उल्लिखित लिखतहरू वादीहरूले साविकको मुद्दामा पेश गर्न नसकी यस मुद्दामा मात्र पेश गरेको पाइन्छ । पहिला पेश गर्न नसक्नाको कुनै कारण खुलाउन सकेको अवस्था पनि देखिन्न । पेश भएका लिखतमध्ये १९८६ सालको लिखत अस्पष्ट भइ केही पनि नवुझिने अवस्थाको रहेको देखिन्छ । १९७४ सालको घरसारको भोगबनधकी लिखतमा गुठीको केलटोलको दुइ कवले पसल भनिएता पनि सो लिखतबाट भोगबनधकीमा दिएको घर यही विवादित घर हो भन्ने प्रमाणित हुन सकेको देखिन्न । २००८ सालको लखबनधकी लिखतमा कहीं पनि गुठीको घर भन्ने कुरा उल्लेख भएको पाइदैन । मालपोत कार्यालय काठमाडौँबाट २००८ सालको लखबनधकी तथा १९७४ सालको घरसारको भोगबनधकी लिखत मगाउंदा २००८ सालको लिखतमात्र प्राप्त भइ १९७४ सालको भोगबनधकी लिखत मालपोत कार्यालयमा नरहेको भन्ने जवाफ प्राप्त भएको पाइन्छ । मौकामा एकपटक मुद्दा चल्दाका अवस्थामा पेश नभएको लिखत, आधिकारिक निकाय मालपोत कार्यालयमा नरहेको र जहिलेसुकै पनि तयार हुन सक्ने घरसारको लिखतमा गुठी भन्ने शव्द परेकै आधारमा मात्र विवादित घरजग्गा गुठीको हो भनी यकीन गर्न सकिने अवस्था रहेन ।
४. अर्कातर्फ, पुनरावेदक तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले इजलाससमक्ष टिपाउनु भएको गुठी राख्ने व्यक्तिहरूको पुस्तावलीका सम्बन्धमा हर्षमान कंसाकारको छोरा केशरमान, कुलधर कंसाकारको छोरा आभारत्न, आभारत्नको छोरा नेत्रबहादुर र नेत्रबहादुरको श्रीमती सीलादेवी, हर्षरत्नको छोरा ओजरत्नको श्रीमती हेरालानी तथा ज्ञानमान कंसाकारको छोरा तेजरत्न र न्हुछेरत्न, तेजरत्नका छोरा नीलरत्न र माणिक रत्न, निलरत्नको श्रीमती प्राणहिरा तथा छोरा नवीन कंसाकार रहेको देखिन्छ । शुरुमा गुठियार भनिएकाहरू मध्येका हर्षमान कंसाकारका हाँगामा केशरमानले, कुलमान कंसाकारका हाँगामा सीलादेवी कंसाकार र ज्ञानमान कंसाकारका हाँगामा न्हुछेरत्न तथा माणिक रत्नले प्राणहिरा समेत पाचै जनाको श्राद्ध गुठी चलाउन घर कायम गरिपाऊँ भनी मुद्दा दायर गरेको र सो मुद्दामा प्रमाणको मूल्याङ्कन भई प्रमाणको अभावमा श्राद्ध गुठी कायम नहुने फैसला भएपछि पुनः ज्ञानमान कंसाकारका हाँगाका नीलरत्नका श्रीमती प्राणहिरा तथा छोरा नवीनले उक्त घर जग्गा श्राद्ध गुठी कायम नगरेको फैसला बदर गरी श्राद्ध गुठी कायम गरिपाऊँ भनी फिराद दिएको देखिन्छ । प्रस्तुत मुद्दाका वादीहरूले निजहरूको व्यक्तिगत निजी हकको बिषयमा दावी गरेको नभइ जुन मुद्दाको फैसला बदर गरिपाऊँ भनी दावी लिएको हो सोही मुद्दामा उठाइएको विषय यी अहिलेका वादी समेतका गुठियारहरूकै साझा श्राद्ध गुठी घर कायम हुनुपर्ने भनी दावी लिएको देखिन्छ । कुनै पनि विषयमा सक्षम अदालतबाट एक पटक अन्तिम रुपमा फैसला भइसकेपछि सो विषयमा विवादको टुंगो लागिसकेको मान्नुपर्ने हुन्छ । एक पटक निर्णय भइ विवादको निपटारा गरिसकेपछि पुनः सोही विषयमा पुनः अदालतले मुद्दा लिइ निर्णय गर्दै जाने हो भने मुद्दाको वास्तविक अन्त्य कहिल्यै पनि हुन सक्दैन । त्यसकारण एक पटक फैसला भइसकेपछि मुद्दाको अन्त्य हुने भएकोले सो विषयमा स्पष्ट रुपमा कुनै पक्षको अनभिज्ञतावश अर्को पक्षबाट मुद्दा गरी आफ्नो समेत हक समाप्त भएको तथ्य अदालतलाई अंशवस्त तथा विश्वस्त नबनाएसम्म अदालतले पुनः मुद्दा ग्रहण गरी निर्णय गर्नु न्यायोचित हुदैन । मुलुकी ऐन अ.वं. ८५ नं को मान्यता यही हो । प्रस्तुत मुद्दामा फैसला बदर गरिपाऊँ भनेको मुद्दाबाट साझा श्राद्ध गुठी कायम नहुने ठहर भएको र एउटै गुठियारको रुपमा आवद्ध यी पुनरावेदकलाई मौकामा थाहा नभएको भनी एकपटक निर्णय भई मुद्दा अन्तिम भइसकेपछि पुनः सोही साझा श्राद्ध गुठी कायम हुनुपर्ने भनी अघिको मुद्दामा संलग्न नभए नरहेका गुठियारका अन्य सन्तानबाट मुलुकी ऐन अ. वं. ८६ नं. को आधारमा मुद्दा गर्दै जाने र अदालतले निर्णय गर्दै जाने हो भने मुद्दाको कहिल्यै अन्त्य नहुने हुन्छ र एकपटक अदालतबाट निर्णय भएछि मुद्दाको अन्तिम हुने (Finality of Judgement) सिद्धान्तको समेत प्रतिकूल हुन जाने हुन्छ। यीनै विवेचित आधारहरूबाट निस्सा प्रदान गर्ने आदेश गर्दा अवलम्बन गरिएका आधारसंग यो इजलास सहमत हुने अवस्था आएन ।
५. तसर्थ माथि विवेचना गरिएअनुसार यी पुनरावेदक वादीबाट जुन बिषयलाई लिएर फैसला बदर गरिपाऊँ भनी फिराद दिइएको हो सो बिषयमा पहिला अधिकांश गुठियारले यी वादी पुनरावेदकको समेत हक स्थापित गराउन असफल भएपश्चात् पुनः सोही विषयमा यी वादीहरू फिराद लिइ प्रवेश गरेको देखिएकोले वादी दावीअनुसार फैसला बदर गर्न मिलेन । वादी दावीअनुसार फैसला बदर नगर्ने गरेको काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६०।२।८ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । फैसलाको जनाउ पुनरावेदक तथा प्रत्यर्थीलाई दिई मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.रण बहादुर बम
इति संवत् २०६६ साल जेठ ५ गते रोज ३ शुभम्
इजलास अधिकृत –शिशिरराज ढकाल