शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१८२ - अंश

भाग: ५१ साल: २०६६ महिना: असोज अंक:

निर्णय नं. ८१८२   २०६६ असोज              अङ्क ६

 

 

              सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०५९ सालको दे.पु.नं.८०३८, ८०३९

फैसला मितिः २०६६।२।२०।४

 

मुद्दाःअंश ।

 

पुनरावेदक प्रतिवादीः कास्की जिल्ला ढिकुरपोखरी गा.वि.स.वडा नं. ३ बस्ने शालिकराम अधिकारी समेत

विरुद्ध

विपक्षी वादीः ऐ. ऐ. बस्ने झ्यापी अधिकारी

 

पुनरावेदक प्रतिवादीः कास्की जिल्ला ढिकुरपोखरी गा.वि.स.वडा नं. ३ बस्ने अगन्धर अधिकारी को मु.स.गर्ने शालिकराम अधिकारी

विरुद्ध

विपक्षी वादीः ऐ. ऐ. बस्ने झ्यापी अधिकारी

 

शुरु फैसला गर्ने

मा.जि.न्या. श्री प्रेम प्रसाद सिलवाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री गिरीशचन्द्र लाल

मा.न्या. श्री जगन्नाथ पाठक

 

§  ६ वर्ष नपुगेका नाबालक व्यक्तिले गरेको कागजको हकमा त्यस्तो व्यक्तिको संरक्षक वा हकवालालाई रोहवरमा राखी कागज गराएको भएमात्र त्यसले कानूनी मान्यता प्राप्त गर्न सक्छ। अन्यथा मुलुकी ऐन अदालती बन्दोवस्तको २४ नं. अनुसार त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

§  रजिष्ट्रेशन पारित नभएको तथा नाबालकले गरेको कानूनी मान्यता प्राप्त गर्न नसक्ने कागजमा भएको ल्याप्चे सहिछाप भिडेको भन्ने कुराले कुनै अर्थ नराख्ने ।

§  नाबालकले गरिदिएको अ.वं. २४ नं. को प्रक्रिया नपुगेको अमान्य र निरर्थक कागजका आधारमा कुनै न्यायिक अवधारणा बनाउन सकिदैन र यस्तो कागजको व्यहोराले कुनै प्रामाणिक बल राख्दैन । यस्तो लिखतलाई जालसाजी घोषित गरिरहने आवश्यकता नपर्ने ।

(प्रकरण नं.४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री विश्वप्रकाश सिग्देल तथा विमलप्रसाद ढकाल

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नरबहादुर गिरी

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन अदालती बन्दोवस्तको २४ नं.

§  अंशवण्डाको १ र ३०

 

फैसला

न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पोखराको फैसला उपर प्रतिवादी पक्षबाट यस अदालतमा निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यसप्रकार छः

प्रतिवादी मध्येका अगन्धरको ३ श्रीमतीमा जेठी जसोदा, माहिली पूर्णकला र कान्छी टुल्की  हुन् । माहिली श्रीमती पहिले नै छुट्टिभिन्न भएको र कान्छी टुल्की पोइल गैसकेकी रहिछन् । जेठी तर्फका जेठा शालिकराम, कान्छा चूडामणि भएकोमा शालिकरामका २ श्रीमती गुमा र माया हुन् । उहाँहरूका छोराहरू तीलक, राजेन्द्र र पिताम्वर हुन् । कान्छा चूडामणिको श्रीमती म झ्यापी  हुँ । हामी सवै संगोलमा छौँ । अंशवण्डा भएको छैन । पति २०२८ सालमा विदेश तर्फ जानु भएको आजसम्म फर्किआउनु भएको छैन । कहाँ हुनुहुन्छ सो समेत थाहापत्ता छैन । विपक्ष सासु, ससुरा जेठाजु जेठानीले माया गर्नुहुन्थ्यो । म पनि उहाँहरूको निर्देशन र अधीनमा रही काम काज गरिआएकी हुँ । जेठाजुपट्टि छोरा छोरी जन्मेर परिवार वढ्दै आयो, म एक्ली भएकीले विगत २/३ वर्षदेखि केही मनमुटाव शुरु भएर आए पनि सही बसिआएकै थिएँ । यस वर्षदेखि खान लाउन र बस्न समेत दिंदैनौ भनी एकैमुख जवाफ दिएकाले घरकै कटेरामा वसिआएकी छु । मूल ४ भागको १ भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५०।९।२९।५ को झ्यापी अधिकारीको फिराद दावी ।

म प्रतिवादी मध्येका अगन्धरका ३ श्रीमतीमा जेठी जसोदा, माइली पूर्णकला र कान्छी टुल्की हुन्, जेठी जसोदापट्टि ४ छोरामा जेठो शालिकराम, माइला यी वादीका पुरुष चूडामणि साहिला देवीप्रसाद कान्छा केदार हुन् । माहिली पूर्णकलापट्टि छोरा विष्णुप्रसाद हुन् । कान्छी टुल्कीपट्टि जायजन्म नभएको यस्तैमा माहिली पूर्णकलातर्फ २ अंश लिई अघि नै छुट्टिई वेगल बसेका छन् । त्यसपछि हामी पनि छुट्टी वेगल बस्छौ भनी जसोदापट्टिका ४ अंशियारा पनि आफ्नो अंश लिई विगत २०२३ साल चैत २८ गते वण्डापत्र खडा गरी छुट्टिई बेगल बसेका । त्यस्तैमा यी वादीका पुरुष चूडामणिसमेत मिलजुल गरी बस्न अमेल भएकोले निज पनि १ अंश आफ्नो लिई २०२४ साल बैशाख ५ गते वण्डापत्र गरी छुट्टी वेगल बसेका हुन् । २०३५ सालको सर्भेमा समेत आआफ्नो अंशको जग्गा आआफ्नै नाउँमा दर्ता तिरो भरो गरिआएका छौं । यी वादीका भाइ चूडामणि पराजुलीले छोराको विवाह गर्नुपर्‍यो गहना चाहियो भनी सुन तोला ९ का गहना लगेका फिर्ता नदिएकाले फिराद गर्छन भन्ने कुराबाट उछिनी यी वादीलाई उठाई यो झूठा अंश मुद्दा दिन लगाएका मात्र हुन् । वादी लेखबमोजिम वादीका पुरुष चूडामणि अहिलेसम्म हामीहरूसँग सगोलमा रहे बसेका र निज २०२८ सालमा विदेश गै घरमा नआई वेपत्ता भएका र म अगन्धर समेतका अंशियारासँग अंश माग्न आएकी समेत केही होइन वादी लेख सम्पूर्ण झूठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर ।

मिति २०२३।१२।२८ को वण्डापत्रको भरपाई कागज के कस्तो हो ? प्रतिवादीहरू नै जानून्। मिति २०२४।१।५।३ को वण्डापत्रको कागज चूडामणिको सहिछाप होइन जालसाजी कीर्ते हो । अगन्धर अधिकारी साक्षी पूर्णाखर अधिकारी, दाताराम भण्डारी र लेखक साक्षी शोभाकर अधिकारी समेत भै जालसाज गरेको हुँदा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी वा. रामप्रसाद गौतमले गरेको बयान र उक्त २०२४।१।५।३ को अंश बुझेको भरपाई सत्य साँचो हो जालसाजी भनी वादीको वारेसले गरेको वयान झूठा हो भन्ने समेत शालिकराम अधिकारीको वयान । मिति २०२४।१।५।३ को वण्डापत्रको कागज सत्य साँचो व्यहोराको हो वादीको लोग्ने चूडामणि तथा प्रतिवादी अगन्धरसमेतले साक्षी बसी दिनुहोस् भनेकाले साक्षी बसी दिएको हुँ भन्ने समेत व्यहोराको जालसाजीमा पोलिएका दाताराम भण्डारीले गरेको बयान ।

मिति २०२४।१।५ को लिखत सत्य साँचो हो चूडामणि र अगन्धरले मेरो रोहवरमा सहिछाप गरेका हुन् । उक्त कागज जालसाज होइन सत्य साँचो व्यहोराबाट खडा भएको हो भन्ने समेत व्यहोराको लिखत साक्षी शोभाकर अधिकारीले गरेको बयान ।

यी बाबु छोराका बीच अंशवण्डा गरी छुट्टि भिन्न हुने कुरा भै वण्डा भरपाइमा साक्षी बसी दिए हुन्छ बसिदेऊ भनी दुवै पक्षको रोहवरमा भनेको हुँदा ठीकै होला भन्ने लागी साक्षी बसी दिएको हुँ । उक्त लिखत सद्दे साँचो हो भन्ने समेत व्यहोराको जालसाजीमा पोलिएका पूर्णाखर अधिकारीले गरेको बयान ।

यसमा अदालतका आदेशानुसार बुझिएका वादी प्रतिवादीका साक्षीहरूले गरेको वकपत्र मिसिल सामेल रहेछ ।

वादी प्रतिवादीबाट वुझिएका साक्षीहरूको वकपत्रसमेतबाट यिनीहरू एकासगोलमा रहे भएको देखिन नआएको र वण्डा गर्नुपर्ने देखिन नआउँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५३।१२।१८।२ को कास्की जिल्ला अदालतको फैसला ।

मिति २०२४।१।५ को कीर्ते जालसाज वण्डापत्रलाई सदर मानी मेरा साक्षीहरूले वादीका पति विदेशतर्फ गएको फर्किआएका छैनन्, वादीले प्रतिवादीबाट अंश पाउनु पर्छ भनी गरेको वकपत्रलाई वेवास्ता गरी अंश नपाउने ठहर गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सोलाई बदर गरी वादी दावी अनुसार गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।

प्रतिवादीले प्रमाणको रुपमा दिएको मिति २०२४।१।५ को वण्डा भरपाइलाई मुलुकी ऐन अ.वं ७८ नं. बमोजिम परस्पर सुनाई बयान गराउँदा जालसाजी हो भन्ने वादी र सद्दे हो भन्ने प्रतिवादी पक्षको वयान भएकोमा उक्त लिखत सद्दे साँचो ठहर्‍याई अन्यथा बयान गर्ने पक्षलाई सो तर्फ फैसलाको तपसिल खण्डमा कानूनबमोजिम शुरुले बोलेको नदेखिनुका साथै वादीका लोग्ने चूडामणिको एकाघरको बाबु अगन्धर भन्ने समेत उल्लेख गरी सहिछाप भएको एवं उक्त लिखत फट्टा गर्न मालपोत कार्यालयमा निवेदन गर्दा समेत निज अगन्धरले एकाघर संगोलको बाबु भन्ने स्वीकार गरी लिखतबाट एकाघर सगोलको देखिएको अवस्थाको सन्दर्भलाई समेत फैसलामा केही विवेचना नगरी शुरु कास्की जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने भनी मिति २०५३।१२।१८।२ मा गरेको फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब जे जो बुझ्नुपर्छ बुझी कानूनबमोजिम कारवाही किनारा गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल कास्की जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत मिति २०५४।११।२६ गतेको पुनरावेदन अदालत पोखराको फैसला ।

यसमा धनी रविलाल जैसी ऋणी चूडामणि अधिकारी भएको २०२७।१२।८।४ मा घरसारमा र २०२८।४।५।४ मा पास भएको रु. २,५००।को राजीनामा लिखतमा एकासगोलको दाजु शालिकराम अधिकारी भनी साक्षी राखेको र सो कागज अ. वं. ७८ नं. बमोजिम शालिकरामलाई सनाखत गराएको नदेखिनाले सनाखत गराउन नियमानुसार पेश गर्नु भन्ने कास्की जिल्ला अदालतको मिति २०५५।२।२५ को आदेश ।

मिति २०२७।१२।८।१ को घरसारको मिति २०२८।४।५।४ को लिखत व्यहोरा सत्य साँचो हो । मिति २०२८।४।५।४ मा पास भएको राजीनामा सक्कल लिखत फट्के साक्षीमा लेखिएको नाम र सहिछाप मेरो आफ्नै हो भन्ने समेत प्र. शालिकराम अधिकारीले मिति २०५५।३।२ गते अदालतमा अ. वं. ७८ नं. बमोजिम गरेको बयान ।

    यसमा मिति २०२७।१२।८ को राजीनामा तमसुक २०२४।१।५ को अंश बुझेको कागज २०३३।१०।२८ को अंश वुझेको भरपाई र सर्वोच्च अदालतबाट जाँच भै आएको रायसहितको बन्दी खाम समेत मिसिल सामेल रहेछ ।

    यसमा अदालतका आदेशानुसार वादी झ्यापी अधिकारीबाट मिति २०५५।५।१४।३ मा पेश भएको म जिम्मा केही छैन भन्ने फाँटवारी निवेदन र प्र. वा. स. अगन्धर अधिकारीबाट पेश भएको मिति २०५५।६।२९ को अंशको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

२०३१ सालपछि सर्भे नापी हुँदा घरमा नभएको वादीको पतिका नाउँमा तीन कित्ता जग्गामा नगण्य रुपमा चार रोपनी चानचुन जति दर्ता गराएको अन्य प्रतिवादीका नाउँमा अत्याधिक मात्रामा जग्गा दर्ता भएको र अंशियारबीच बराबर नरम करम मिलाई भाग वण्डा नाप जाँच दर्ता भएको पनि देखिन आएन । २०२४।१।५ को वण्डापत्र रजिष्ट्रेशन पारित भएको देखिएन । २०३४।९।२७ गते अंशवण्डा को ३० नं. मा संशोधन हुँदा व्यवहार प्रमाणबाट नरम करम मिली अंश भएको देखिएमा मात्र वण्डा भएको मानिने  हो । अंशवण्डा भएको लिखतको अभावमा वण्डा भएको मान्न मिलेन । पुनरावेदन अदालतबाट भएको फैसला र २०२८।४।५ को भोगबनधकी थैलीको पीठमा जनिएको व्यहोरामा शालिकरामले एकासगोलको भाइ भनी साक्षी बसेको प्रमाण र प्रतिवादीको साक्षी धर्मदत्तको वकपत्रसमेतको आधारबाट वादीले प्रतिवादीबाट अंश पाउने   देखियो । प्रतिवादीबाट २०५५।६।२९।५ मा दाखिल हुन आएको अंशको फाटवारीमा उल्लेख भएको कि. नं. ७५, ७६ को जग्गा राजेन्द्र अधिकारी तीलकप्रसाद अधिकारीले वकस पाएको हुनाले सो सम्पत्ति अंशवण्डाको १८ नं. ले भाग वण्डा नलाग्ने र साहूको ऋणको हकमा साहूको उजूर परेका वखत ठहरेबमोजिम हुने हुँदा हाल ऋण भागवण्डा नलाग्ने अरु अंशको फाँटवारीमा उल्लेख भएको सम्पत्ति अंशियारका नाउँमा दर्ता कायम भएमा सो सम्पत्तिबाट ४ अंशियारा देखिनाले ४ भागको १ भाग अंश प्रतिवादीबाट वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कास्की जिल्ला अदालतको मिति २०५५।९।२८।३ को फैसला ।

उक्त फैसलामा चित्त बुझेन । मिति २०२४।१।५।३ को बण्डापत्र विशेषज्ञ जचाउँदा ल्याप्चे समेत एकै व्यक्तिको  भनी स्पष्ट देखिएको र बण्डापत्रअनुसारकै जग्गा प्रत्यर्थी वादीका पति चूडामणिको नाउँमा कि.न. १२, ८२८ र ९०२ मा जग्गा दर्ता भई राजीनामा सद्दे साँचो ठहरी सोबमोजिम नै कार्यान्वयनसमेत हुँदा बण्डाअनुसार व्यवहार छुटृाछट भएको भन्ने यथार्थ पुष्टि भएको सोअनुसार अंशबण्डा भइसकेको छ । यसरी बावु छोरा छुटिृ भिन्न भएको बण्डापत्रको कागजलाई र बण्डापत्रअनुसार जग्गा छोराका नाउँमा दर्ता समेत भइसकेको अवस्थामा हामीलाई अन्याय हुने गरी गरेको कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा बदर गरी न्याय पाऊँ भन्ने प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।

विपक्षी मध्येका जेठाजु शालिकरामका छोरा राजेन्द्र, तीलकप्रसादका नाउँमा लिएको कि.न. ७५,७६ को जग्गा एकाघरको पैत्रिक जग्गामध्येका केही जग्गा बिक्री गरी त्यसबाट प्राप्त भएको धनबाट लिएको र सो जग्गामा घर बनाएको हो पैत्रिक धनबाटै लिए बनाएको प्रमाण ऐन २०३१ को दफा ६ (क) अनुसार अंशियार सबैमा बण्डा लाग्ने सम्पत्ति हो भन्ने कुरा विपक्षी राजेन्द्र र तीलकले लिएको सो जग्गाको लिखतको प्रकृति व्यहोराबाटै र मिसिलमा संलग्न रहेका कागज प्रमाण तथा बुझिएका साक्षीसमेतको वकपत्रबाट प्रष्ट देखिएको छदाँछदै ती प्रमाणहरूको कुनै मूल्याङ्कन नै नगरी अंशबण्डाको १८नं. को गलत व्याख्या गरी अ.बं. १८४,१८५नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत त्रुटि गरी सो कि.नं.७५,७६ को घर जग्गाबाट अंश नपाउने ठहर गरिएको हदसम्म शुरुको फैसलामा चित्त बुझेन तसर्थ सो हदसम्मको शुरु फैसला उल्टाई बदर गरी कि.नं. ७५,र ७६ को घरजग्गाबाट पनि ४ भागको १ भाग मेरा पति चूडामणिको अंश भागसमेत मलाई दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन ।

वादीका पतिका नाउँमा कायम रहेको जग्गा प्रतिवादीको नाममा कायम रहेको जग्गाको न्यूनमात्र देखिन आएको र २०२८।४।५को पारित भोगबनधकी कागज तथा प्रतिवादीको साक्षी धर्मदत्तको वकपत्रसमेतबाट वादीको पति चूडामणि तथा प्रतिवादी अगन्धर र शालिकराम समेत एकासगोेलका अंशियार देखिन आएकोले वादीको लोग्ने चूडामणि कानूनबमोजिम लिखत नभएको अवस्थामा व्यवहार प्रमाणबाट २०२४ सालमै छुट्टी भिन्न भएको भन्न मिल्ने अवस्था नभएकोले वादीले ४ भागको एक भाग अंश छट्याई पाउने ठहर्‍याएको र कि.नं. ७५ र ७६ को जग्गा तीलक अधिकारी र राजेन्द्र अधिकारीले बकस पाएको निजी आर्जनको देखिँदा सो वण्डा नगर्ने ठहर गरेको कास्की जिल्ला अदालतको फैसला सदर हुन्छ भन्ने पुनरावेदन अदालत पोखराका मिति २०५६।४।२५ को फैसला ।

वादीका पति २०२४।१।५ मा वण्डापत्रको कागज गरी छुट्टी भिन्न भएका हुन् । उक्त कागज विशेषज्ञबाट जाँच गराउँदा सो कागजमा लागेको ल्याप्चे  सहिछाप चूडामणिको ल्याप्चेसँग भिडेको भनी प्रमाणित भएको छ । अंश बुझी अंशबमोजिम दा.खा. दर्ता भोग विक्री व्यवहार प्रमाणबाट अंश भै सकेको मान्नुपर्ने हुन्छ । अंश हुँदाका अवस्थामा अंश घटी भए त्यति नै वेला उजूर गर्न सक्नुपर्छ । हाल आएर अंश कमी भयो भन्न मिल्ने हुँदैन । तसर्थ पुनरावेदन अदालत पोखराको फैसलामा अंशवण्डाको ३० नं. अदालती बन्दोवस्तको १८४(क) तथा १८५ प्रमाण ऐन, २०३१ को दफा ३४/५४ को कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत हुन गएकोले मुद्दा दोहोर्‍याई हेरी पुनरावेदन अदालतको फैसला बदर गरी झूठा वादी दावीबाट अलग फुर्सद दिलाई पाऊँ भन्ने शालिकराम अधिकारीसमेत जना ५ र अगन्धर अधिकारीको छुट्टाछुट्टै यस अदालतमा परेको निवेदन  पत्र ।

यसमा २०२८ सालमा पति विदेशतर्फ जानु भएको आजसम्म फर्कनु भएको छैन । विपक्षी सासू, ससुरा, जेठाजु जेठानी सगोलमै छौँ । २।३ वर्षदेखि मनमुटाव हुँदैआएको र यस वर्षदेखि खानलाउन समेत नदिएकोले चार भागको एक भाग अंश दिलाई पाऊँ भन्ने वादी र अगन्धरको ३ श्रीमतीमध्ये माहिली पूर्णकलाको तर्फ र अंश लिई अघि नै छुट्टिई वेगल वसेका त्यसपछि हामी जसोदा पट्टिका ४ अंशियार पनि आफ्नो अंश भाग लिई २०२३ साल चैत २८ गते वण्डापत्र खडा गरी छुट्टिई बेगल बसेका वादीका पति चूडामणि पनि एकमात्र अंश लिई २०२४ साल वैशाख ५ गते वण्डापत्र गरी छुट्टी वेगल बसी आफ्नो अंश भागको जग्गाको दर्ता तिरोभरो गरी सर्भेमा समेत आआफ्नो नाउँमा नापी दर्ता गरी भोग गरेका छन् । वादी दावी झूठा हो भन्ने समेत प्रतिवादीहरूको प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा वादीका पति २०२४ सालमा छुट्टी भिन्न भै बसेको भनी प्रमाणमा पेश गरेको २०२४।९।५ गतेको घरसारको लिखत अ. वं. ७८ नं. बमोजिम वादीलाई सुनाउँदा जालसाजबाट खडा गरेको भनी वयान गरेको देखिन्छ । सो वण्डापत्र बमोजिमको जग्गा वादीका पति चूडामणिका नाउँमा दर्ता दा. खा. भै सर्भे नापीमा नापी दर्ता भएकोसमेत देखिन आएको र सो वण्डापत्र जालसाज भन्ने वादी दावी भएकोमा त्यस्तो २०३४ सालभन्दा अगावै नरमगरम मिलाई भएको घरसारी वण्डापत्र सम्बन्धमा रजिष्ट्रेशनको ऐन बमोजिम पारित नभएको भन्ने आधारमा सद्दे कीर्तेतर्फ बोलिरहन परेन भनी गरेको शुरुको र सोलाई सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला अ.वं. ७८ नं. अंशवण्डाको १ नं. र ३० नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै नि. नं. ४६७९ नेकाप २०५० पृष्ठ ५ मा प्रतिपादित सिद्धान्तको समेत प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको २०५९।५।५ को आदेश ।

यसमा मिति २०२४।१।५ को अंश बुझेको कागज २०२७।१२।८ को भोगबनधकी तमसुक र २०२३।१२।२८ को अंश बुझेको भरपाई समेत अ. वं. ७८ नं. बमोजिम वयान गराई विशेषज्ञ समक्ष जाँच गर्न पठाएको भए पनि विशेषज्ञलाई वकपत्र गराएको नदेखिँदा विशेषज्ञको वकपत्र गराई पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।२।३० को आदेश ।

रेखा तथा लेखा विशेषज्ञको वकपत्र भै मिसिल सामेल रहेको ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विश्वप्रकाश सिग्देल तथा विमलप्रसाद ढकालले वादीका पतिले घरसारको लिखत गरी आफ्नो अंश भाग २०२४ सालमा वुझिलिई वण्डापत्रबमोजिम आफ्नो नाममा दा.खा. नामसारी नापी दर्ता समेत गरिसकेका छन् । लिखत जाँच गराउँदा सद्दे ठहर भएको छ । लिखतका साक्षीले लिखत सद्दे हो भनेका छन् । वण्डा हुँदाका अवस्थामा सम्पत्तिको नरमगरम मिलेको थियो । पुनरावेदन अदालतको फैसला अंशवण्डाको ३० नं.विपरीत भएकाले बदर हुनुपर्छ भनी र प्रत्यर्थी वादीतर्फबाट उपस्थित  विद्वान अधिवक्ता श्री नरबहादुर गिरीले वादीका पति २०२४ सालमा नाबालक रहेका छन् । नाबालकले गरेको कागजले कानूनी मान्यता प्राप्त गर्न    सक्दैन । वादीको पतिको भागमा थोरैमात्र जग्गा राखिएको छ । २०३९ सालको भोगबनधकीको लिखतमा एकाघरको भनिएकोबाट पनि अंशवण्डा नभएको भन्ने कुरा पुष्टि भएको हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो । विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पोखराको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।

२.  यसमा पति चूडामणि अधिकारी २०२८ सालमा विदेश गई वेपत्ता हुनु भएको छ । घरमा सासू, ससुरा, जेठाजु जेठानीले खान लाउन नदिई घरबाट निकाला गरेकोले अंश पाऊँ भन्ने वादी दावी भएकोमा २०२४।१।५ मा नै वादीका पतिले घरसारको कागज गरी अंश बुझी लिई भिन्न बसिसकेको हुँदा अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकीर भएको प्रस्तुत मुद्दामा शुरु कास्की जिल्ला अदालतले प्रतिवादी राजेन्द्र अधिकारी तथा तीलक अधिकारीका नाउँको कि. नं. ७५ र ७६ को जग्गाबाहेक अन्य सम्पत्तिबाट चार भागको एक भाग अंश दिलाई दिने ठहर गरेको फैसलालाई पुनरावेदन अदालत पोखराले सदर गरेपछि प्रतिवादीहरूको तर्फबाट यस अदालतमा निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएपछि निर्णयार्थ प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेश हुन आएको छ ।

३.  प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूका बीचमा भएको नाता सम्बन्धमा कुनै विवाद देखिँदैन । कास्की जिल्ला अदालत तथा पुनरावेदन अदालत पोखराको फैसला बदर गरिपाऊँ भनी प्रतिवादीहरूले यस अदालतमा निवेदन दिँदा २०२४।१।५ मा घरसारमा वण्डापत्र गरी वादीका पति अलग बसी वण्डापत्रअनुसारको जग्गा दा.खा. नामसारी गरी भोगचलन गरी व्यवहार प्रमाणबाट अलग भई बसेको अवस्थामा अंशवण्डा नै नभएको भन्न मिल्ने होइन भन्ने कुरा उठाएको देखिन्छ भने यस अदालतबाट निस्सा प्रदान हुँदा अंशवण्डाको १ र ३० नं. को व्याख्यात्मक त्रुटि देखिनुका साथै नेकाप २०५०, नि.नं. ४६७९ मा प्रतिपादित सिद्धान्त प्रतिकूल भएको भन्ने उल्लेख भएको पाइन्छ । वादी झ्यापी अधिकारीले अंश पाऊँ भन्ने मुद्दा दायर गरेपछि प्रतिवादी पक्षबाट २०२४ साल वैशाख ५ गते घरसारको कागज गरी वण्डा भैसकेको भनी घरसारको कागज पेश गरेको देखिन्छ । सो घरसारको कागज रजिष्ट्रेशन पारित भएको   देखिँदैन । उक्त कागजमा वादीका पति चूडामणि अधिकारीको अंश भागमा नगद रु. १५,०००।र दुई कित्ता जग्गा परेको भनी उल्लेख भएको  पाइन्छ । सो कागज वादीलाई सुनाउँदा जालसाजी भनी वयान गरेको र रेखा तथा लेखा विशेषज्ञबाट जाँच गराउँदा वादीको पतिको ल्याप्चे सहिछाप भिडेको भनी उल्लेख भै आएको देखिन्छ ।

४.  तर उक्त लिखत रजिष्ट्रेशन नभएको तथा लिखत गर्ने भनिएका व्यक्ति चुडामणि अधिकारी वेपत्ता भएको हुनाले निज कारणीको भनाई तथा प्रतिक्रिया यस मुद्दामा प्राप्त हुन सकेको अवस्था छैन । वण्डा भएको भनिएको २०२४।१।५ को घरसारको लिखतमा चूडामणि अधिकारीको उमेर १७ वर्षको भनी लेखिएको भए तापनि २०२७ साल चैत २८ गते लेखी २०२८।४।५ मा रजिष्ट्रेशन पारित भएको रविलाल दाहाल जैसीलाई गरिदिएको राजीनामा कागजमा चूडामणि अधिकारीको उमेर १८ वर्ष भनी लेखिएको पाइन्छ । घरसारमा भएको कागज भन्दा अड्डाबाट रजिष्ट्रेशन पारित भएको कागजले नै कानूनी मान्यता प्राप्त गर्ने हुँदा चूडामणिको उमेरका सम्बन्धमा उक्त राजीनामा कागजमा उल्लिखित उमेरलाई नै आधिकारिक मान्नुपर्ने हुन आउँछ । सो उमेरलाई आधिकारिक मान्दा वण्डापत्रको कागज भएको भनिएको २०२४ सालमा यी व्यक्ति १६ वर्ष नपुगेको नाबालक व्यक्ति देखिन आउँछन् । १६ वर्ष नपुगेका नाबालक व्यक्तिले गरेको कागजको हकमा त्यस्तो व्यक्तिको संरक्षक वा हकवालालाई रोहवरमा राखी कागज गराएको भएमात्र त्यसले कानूनी मान्यता प्राप्त गर्न सक्छ । अन्यथा मुलुकी ऐन अदालती बन्दोवस्तको २४ नं. अनुसार त्यस्तो कागजले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । यसरी रजिष्ट्रेशन पारित नभएको तथा नाबालकले गरेको कानूनी मान्यता प्राप्त गर्न नसक्ने कागजमा भएको ल्याप्चे सहिछाप भिडेको भन्ने कुराले कुनै अर्थ राख्दैन । यसरी नाबालकले गरिदिएको अ.वं. २४ नं. को प्रक्रिया नपुगेको अमान्य र निरर्थक कागजका आधारमा कुनै न्यायिक अवधारणा बनाउन सकिदैन । यस्तो कागजको व्यहोराले कुनै प्रामाणिक बल राख्दैन । यस्तो लिखतलाई जालसाजी घोषित गरिरहने आवश्यकता पनि  पर्दैन ।

५.  उपरोक्त कुराका अतिरिक्त यी वादीका पति चूडामणि अधिकारी ऋणी तथा रविलाल धनी भएको २०२८।४।५ मा रजिष्ट्रेशन पारित भएको भोगबनधकी लिखतको पीठमा यस मुद्दाका प्रतिवादी अगन्धर अधिकारीले निज चूडामणिको एकाघर सगोलको बाबु अगन्धर भन्ने समेत उल्लेख गरी सहिछाप गरेको देखिन्छक। यो पारित लिखतको व्यहोराले २०२४।१।५ को घरसारको लिखतलाई खण्डन गरिरहेको छ ।

६.  २०३१ सालमा नापी भएपछि यी वादीका पतिका नाममा ३ कित्तामा चार रोपनी जग्गा मात्र नापी भई दर्ता भएको देखिन्छ भने अन्य प्रतिवादीहरूका नाउँमा अत्याधिक जग्गा दर्ता भएको मिसिल संलग्न कागजातबाट देखिन आएको छ । अंशियाराहरूका बीचमा समान रुपमा जग्गा दर्ता भएको देखिँदैन । २०३४ सालभन्दा अगाडि घरसारमा नरमगरम मिलाई अंश छुट्टिएको देखिनका लागि अंशियाराहरूका बीचमा समान रुपमा सम्पत्ति वण्डा भएको र भोग विक्री व्यवहार देखिनु अंशवण्डाको ३० नं. ले अनिवार्य छ । प्रतिवादीका नाउँमा धेरै तथा असमान भएको पाइँदा निजहरूले कि.नं. ७५ र ७६ बाहेक अन्य सम्पत्ति कमाई गरी पछि खरिद गरेको भन्ने प्रमाण समेत पेश गर्न सकेको देखिदैन । साथै यी वादीको पति तथा अन्य अंशियारका बीचमा कुनै सम्पत्ति खरिद विक्रीलगायत अन्य कुनै व्यवहार भएको पनि देखिँदैन । यस्तो अवस्थामा निस्सा दिंदा उल्लेख भएको नि.नं. ४६७९ को नजीर यस मुद्दामा आकर्षित हुने अवस्था पनि पाइएन ।

    ७.  तसर्थ माथि उल्लेख गरिएअनुसार यी वादी प्रतिवादीका बीचमा अंशवण्डा भएको भन्ने नदेखिएको हुँदा वादी दावीबमोजिम कि.नं. ७५ र ७६ बाहेक अन्य सम्पत्तिबाट चार भागको एक भाग अंश दिलाई दिने ठहर गरेको कास्की जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०५६।४।२५ को फैसला मिलेको देखिँदा सदर हुन्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू । 

 

उक्त रायमा सहमत छु ।

 

न्या.प्रेम शर्मा

 

इति संवत् २०६६ साल जेठ २० गते रोज ४ शुभम्

 

इजलास अधिकृतशिशिरराज ढकाल

                   

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु