निर्णय नं. ८११८ - अंश

निर्णय नं. ८११८ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्मानीय का.मु. प्रधानन्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री प्रेम शर्मा
संवत् २०६२ सालको दे.पु.नं ७९५१
फैसला मितिः २०६६।३।३।४
मुद्दाः– अंश ।
पुनरावेदक/प्रतिवादीः मीनबहादुरको छोरा गण्डकी अञ्चल कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.३ बस्ने वर्ष ६१ को नारायणबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी वादीः मीनबहादुरको छोरा ऐ. ऐ. बस्ने वर्ष ५४ को रामप्रसाद श्रेष्ठ समेत
शुरु फैसला गर्ने
मा.न्या.श्री विष्णुप्रसाद पौडेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री ताहिर अली अन्सारी
मा.न्या. श्री पुरुषोत्तम पराजुली
§ मानो छुट्टिएको वा मानो जोडिएको लिखत गरेको अवस्थामा रजिष्ट्रेशन गराउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेकोमा केवल बाबुसंग मानो छुट्टिएको र हजुरआमा र बाबुबीच परेको मुद्दामा पहिले वारेस बसी पछि हजुरआमाको मृत्युपछि मुद्दा सकार गरेको कारणमात्र दाजु भाइका बीचमा मानो छुट्टिएको पर्याप्त आधार बन्न नसक्ने ।
(प्रकरण नं.४)
§ रीतपूर्वकको बण्डापत्र नभएको अबस्थामा नावालकले गरिदिएको लिखतमा छुट्टिभिन्न भैसकेको व्यहोरा उल्लेख भएको भन्ने आधारमा मात्र वादीहरूले पाउने अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्न न्यायका मान्य सिद्धान्त समेतले नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी
विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ताद्वय श्री रमण श्रेष्ठ र रोहितराज बास्तोला
अवलम्वित नजीरः नेकाप२०४९,अंङ्क १, नि.नं. ४४६१, पृष्ठ ९८
सम्बद्ध कानूनः
§ अंशवण्डाको १८ र ३० नं.
§ अ.बं. २०२
§ प्रमाण ऐन, २०३१ को दफा ६(क)
फैसला
का.मु.प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)ग बमोजिम पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
विपक्षी मीनबहादुर पिता हुनुहुन्छ । आमा अघि नै परलोक भै सक्नु भयो । पिता मीनबहादुर का चार छोरामा विपक्ष नारायणबहादुर जेठा, म फिरादी शम्भुलाल कान्छा हौँ । अघि हाम्रा बज्यै लोककुमारी र पिता मीनबहादुरका बीच मुद्दा मामिला पर्न गएको कारणले बज्यैको देहवसानपछि विपक्षी नारायणबहादुरले मुद्दा सकार गर्नु भएको थियो । मुद्दा सकार गरी त्यसतर्फको सम्पत्ति एकलौटी खाउँला भनी पिता मीनबहादुरको र माताको समेत विपक्षी नारायणबहादुरले कुनै हेरविचार गर्नु भएन । फलस्वरूप विपक्षी पिताले विभिन्न जग्गा बिक्री गरी खर्च जुटाउने काम गर्नु भएतापनि रोगले ग्रस्त भएकी हाम्री आमा परलोक हुनु भयो । शायद २०२२ साल तिर हो जस्तो लाग्छ, त्यसपछि हामी तत्काल नाबालक भएको अवस्था हामीमाथि विभिन्न विपत र दुख आइपरे यता पिता मीनबहादुरको कुनै आयश्रोत नहुनुका साथै वृद्ध हुँदै जानु भएको थियो भने अर्कोतर्फ हामीहरू आयआर्जनविहीन भै लेखपढ र जीवन धान्न समेत असमर्थ थियौँ । तत्काल जागिरे हुनु भएका विपक्षी नारायणबहादुरले हाम्रो कुनै हेरविचार पुर्याउनु भएन । आखिर केही नलागी २०२७ साल जेठ १९ गतेका दिन तीन कित्ता जग्गा हाल विदेश गएका साहिला भाई कृष्णबहादुरको नाउँबाट विपक्षी पिता संरक्षक भै बिक्री गराउनु भएछ र बिक्री भएको जग्गामा विपक्ष नारायणबहादुरले अन्यथा गर्न नपाओस् भनी विपक्षी पिताले त्यस प्रकारसँग आफूलाई छुटिएको बाबु भन्ने देखाउनु भएतापनि वस्तुतः छुट्टिभिन्न भएको थिएन छैन, हामी सबै सगोलमा नै छौं । त्यसपछि विपक्षी नारायणबहादुरले हामीसमेतको अंश हक लाग्ने मूल कि.नं. ३१२ को रो १२–७–१–१/४ को जग्गा दुई कित्ता गरी खेमनाथ अधिकारी र भवानीप्रसाद बास्तोलालाई २०४८।८।२७ मा राजीनामा पारित गरिदिनु भएकोमा हामी समेतको लिखत बदर र जालसाजी मुद्दा परी हाल पुनरावेदन अदालत पोखरामा कार्वाही चलिरहेछ । उक्त मुद्दाहरूमा विपक्ष नारायणबहादुरले प्रतिवाद गर्दा आफू २०१८ सालतिर मानो छुट्टिएको भन्ने र हामीलाई २०२३।२०२४ सालतिर पितासँग छुट्टिएको भन्ने जनाई विपक्ष पिता र विपक्ष दाजुका नाउँको जग्गाहरू एकलौटी खाने अपवित्र उद्देश्य लिनु भएको देखिन्छ । विपक्षी २०१८ सालमा र हामी २०२३/२०२४ सालतिर हामी नाबालक हुँदैका अवस्था छुटिएको भन्ने झूठा हो, हामी छुटिएका छैनौं । हामीलाई बाल्यावस्थादेखि नै पेट पाल्न केही काम गर्ने बाध्यता प¥यो र हामीले आ– आफ्नो हैसियत र क्षमताअनुसार ऋणधन गरी साइकल र मोटरसाईकल मर्मत गर्ने मिस्त्री काम गरिआएका छौं । यसरी हामी कतिसम्म बस्ने अंशवण्डा गर्नु प¥यो भनी हामीले २०४८।९।१५ गते विपक्षहरूसंग भन्दा विपक्ष पिताले मबाट तिमीहरूको हेरविचार हुने नसक्ने भै हाल्यो म ज्यूँदो छउञ्जेल अंश दिन सक्दिन, यस्ता कुरा गर्न आउने तिमीहरू घरमा नबस खानलाउन दिन सक्दिन भनी हाँक जवाफ दिनु भएको र विपक्षी नारायणबहादुरले पनि मेरो नाउँको जग्गा मेरो एकलौटी हो , तिमीहरूले पाउन्नौं भन्नु भएबाट बाध्य भै अदालतको शरणमा आएकाछौँ । अतः हामीहरू पाँच अंशियार हुँदा पाँच भागको दुई भाग अंशवण्डा गरिपाऊँ भन्ने समेत व्यहोराको रामप्रसाद श्रेष्ठ र शम्भुलाल श्रेष्ठको २०४८।१०।१३ को संयुक्त फिराद दावी ।
वादी भाइहरूले आफ्नो इज्जत आमदअनुसार खान लाउन नपाउको र अंश पनि नपाउको भए पिताजीसँग मात्र अंशमा दावा गर्नुपर्छ । मेरोउपर अंशमा दावा गर्नु औचित्यपूर्ण छैन । हाम्रो हजुरबाबा बयानबहादुर १९९९ सालमा परलोक हुनु भएको बज्यै लोककुमारीसँग पिताजी मीनबहादुर २००१ सालमा मानो छुटिएको र २०१० सालमा वण्डापत्र खडा गरी अचल सम्पत्तिको विधिवत अंशवण्डा भएको कुरा विवाद छैन । पिताजी र मेरो बीच सौंहार्दपूर्ण सम्बन्ध कायम हुन नसकेको र हजुरआमा लोककुमारी वृद्ध अवस्थामा एक्लो जीवन विताइरहनु भएकोले २०१८ सालमा म पिताजीसँग मानो छूटी भिन्न भै म हजुरआमासंग बसी स्याहारसुसार खति उपति एक्लै गरी जीवन यापन गर्दैआएको छु । मैले पिताजीबाट अंश भाग पाएको छैन । पिताजी मीनबहादुरको अव्यवहारिक कारणले आफ्नै छोराहरू विरुद्ध हजुरआमा लोककुमारीले दिनुभएको मुद्दामा म नारायणबहादुरको वारेस भै लिखत बदर र जालसाजी मुद्दा दायर गरी लडभीड गर्दै आएकोमा हजुरआमाको २०२३ सालमा स्वर्गारोहण भएपछि म एकाघर सगोलमा बसेको नातिले मुद्दा सकार गरी श्री सर्वोच्च अदालतबाट समेत फैसला भै हाल पुनरावेदन अदालत पोखरामा मुल्तबीमा छन् । २०१८ सालमा मानो छुट्टी भिन्न भै हजुरआमासंग एकासगोलमा बसेको र हजुरआमाको स्वर्गेपश्चात् पनि मुद्दामा लडभीड गर्दै आएकामा यी वादीहरूले पिताजी र हामी छोराहरू एकासगोलमा छौं भन्ने वादी दावा झूठा हो, भाइहरूले २०२७ साल जेठ १९ गते लालबहादुर गुरुङलाई पेवाको दुई कित्ता जग्गा र पिताजीबाट विपक्षी भाइहरूले अंश पाएको अर्को एक कित्ता जग्गासमेत अंशको भनी राजीनामा पारित गरी दिंदा पिताजी मीनबहादुरसंग छुटी भिन्न भएको कुरा स्वीकार गरी सनाखत दस्तखतसमेत गरेका छन् । यसरी आ–आफ्नो छुट्टाछुट्टै भएको र पिताजीले पनि बेच बिखन गर्नु भएको भाइहरूले पनि आफ्नो अंशभागको जग्गा बिक्री गरी तेस्रोपट्टि पोखरामा साइकल दोकान नया बजार पोखरामा मोटरसाईकल दोकान तथा टेक्सी आदि समेत खरिद गरी व्यवसाय सञ्चालन गर्दै आएको कुराबाट पनि म नारायणबहादुर श्रेष्ठ एकाघर सगोलमा नभएको र विपक्ष भाइहरू छुट्टी बेगल भएको भन्ने कुरा पुष्टि हुन आउँछ । यसरी मलाई ठग्नको निमित्त पिताजी दिने र तीन भाई लिने गरी हालैको बकसपत्र पास गरेकामा मेरो सम्मानित अदालतमा मुद्दा परिरहेको छ । यस्तो अवस्थाामा हामी चार भाई र पिता एकासगोलमा छौं भन्नु झूठा हो । मैले उपभोग गरेको जग्गा बज्यैको अंश भाग र आमाको पेवाधनले राजीनामा लिएको जग्गामध्ये दुई कित्ता खेत विपक्षका भाइहरूले र एक कित्ता पाखो मैले उपभोग गरेको छु । यसरी पिताजी समेतसँगबाट म २०१८ सालमा मानो छुट्टी भिन्न भै बेगल बसेको कुरालाई गुमराहमा राखी आमाको मैले पाएको पेवाको जग्गा तथा मानो छुटिएपछि मेरो निजी आर्जनबाट किनेको मेरा नाउँको जग्गा खाने दूषित उद्देश्यले झूठा फिराद दिएको मात्र हो, तसर्थ फिराद खारेज गरी झूठा वादी दावीबाट अलग फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको २०४९।४।२२ को नारायणबहादुर श्रेष्ठको प्रतिउत्तर जिकीर ।
यसमा प्रतिवादीमध्येका मीनबहादुर श्रेष्ठले यस अदालतबाट जारी भएको मिति २०४८।१२।१० मा कानूनबमोजिम तामेल भएको म्यादमा प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी बसेका रहेछन् ।
यसमा अदालतका विभिन्न मितिका आदेशानुसार वादी प्रतिवादीबाट पेश भएका तायदाती फांटवारी तथा सो फांटवारीमा उल्लिखित जग्गाहरूको मा.पो.का. बाट प्राप्त राजीनामा तथा दर्ता स्रेस्तासमेतको प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेको र यसै लगाउका यिनै वादी र यिनै प्रतिवादीहरू समेत भएको दे.दा.नं. ६४९ र ६५० का लिखत बदर गरिपाऊँ भन्ने मुद्दाको मिसिल थान दुई यिनै प्रतिवादी नारायणबहादुर श्रेष्ठ वादी यिनै वादी रामप्रसाद श्रेष्ठसमेत प्रतिवादी भएको बकसपत्र बदर मुद्दाको दे.दा.नं. ५६४ को मिसिल समेत दायरी मिसिलहरू र वादी कृष्णबहादुर श्रेष्ठसमेत प्रतिवादी नारायणबहादुर श्रेष्ठ समेत भएको लिखत बदर मुद्दाका प्रमाण मिसिल समेत साथै रहेछन् ।
तायदाती फाँटवारीहरूमा उल्लिखित गैह्र श्री सम्पत्तिमध्ये मानो छुट्याएको मितिभन्दा अगाडिको वादी प्रतिवादीहरूको नाममा रहेको दर्ता भिडेसम्मको सम्पत्तिमा वादी प्रतिवादीहरू पाँच अंशियारा देखिँदा पाँच भाग गरी तीन भाग प्रतिवादीहरूको भाग पर सारी दुई भाग अंश वादीहरूले छुट्याई लिन पाउने ठहर्छ भन्ने शुरु कास्की जिल्ला अदालतको मिति २०५८।२।१० को फैसला ।
उक्त इन्साफमा चित्त बुझेन । पेश भएका प्रमाणहरूको तथा मेरो प्रतिउत्तर जिकीरको कुनै मुल्याङ्कन नै नगरी मनोगत रूपमा गलत अर्थ निकाली विपक्षीहरूको झुठा फिराद दावीमा मात्र निर्भर गरी वादीहरूले पाँच भागको दुई भाग अंश पाउने ठहर्याई गरेको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकीरबमोजिम गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायणबहादुर श्रेष्ठले यस अदालतमा प्रस्तुत गरेको पुनरावेदन जिकीर ।
उक्त इन्साफमा चित्त बुझेन । हामीले बक्स पाएको निजी सम्पत्ति फांटवारीमा देखाएको भन्दैमा सो सम्पत्ति समेतमा पाँच वण्डा लाग्ने भनी शुरु कास्की जिल्ला अदालतबाट भएको फैसला मिलेको नहुँदा सो फैसला उल्टी गरी हामीले बकस पाएको सम्पत्ति हाम्रो निजी ठहर गरी वण्डा नलाग्ने गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको वादी रामप्रसाद श्रेष्ठसमेतको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन जिकीर ।
वादी र प्रतिवादीहरू एकाघरका बाबु छोरा एवं दाजुभाई नाताका व्यक्तिहरू भएकोले नाता तर्फ विवाद छैन । यी वादी प्रतिवादीहरू पाँच अंशियारा भएका र निजहरू बीचमा कानूनबमोजिम वण्डापत्र गरी छुट्टिभिन्न नभएको तथ्यमा समेत मुख मिलेकै देखिन आउँछ । यी वादी प्रतिवादीहरू बीच अंशवण्डाको लिखत पारित भएको छैन । यस्तो अवस्थामा वादीहरूले आफ्नो अंशभाग छुट्याई लिन पाउने नै हुँदा फिराद परेको मिति २०४८।१०।१३ को दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा अघिल्लो दिन अर्थात मिति २०४८।१०।१२ गतेसम्मको वण्डा गर्नुपर्ने चल, अचल सम्पूर्ण सम्पत्तिको तायदाती फांटवारी मांग गरिएकोमा वादी र प्रतिवादीहरूले पेश गरेका तायदाती फांटवारीमा वण्डा नलाग्ने भनी देखाएको सम्पत्ति मानो छुट्टिएको मितिभन्दा अगाडि नै खरिद गरी लिएको देखिँदा त्यस्तो एकाघर सगोलमा रहेको अवस्थामा जुनसुकै व्यहोराबाट जुनसुकै अंशियारको नाममा खरिद गरी लिएको वा जुनसुकै अंशियाराका नाउँमा रहेको भएतापनि प्रमाण ऐन ,२०३१ को दफा ६(क) अनुसार त्यस्तो सम्पत्तिमा एकाघर सगोलमा रहेको सबै अंशियाराहरूको समान अंश हक लाग्ने हुँदा सो सम्पत्ति समेतलाई पाँच भाग लगाई पाँच भागको दुई भागबाट एक–एक भाग वादीहरूले अंश छुट्याई लिन पाउने ठहर्याएको शुरुको फैसला सो हदसम्म मिलेको देखियो । वादी प्रतिवादीहरू बीच मानो छुट्टिएको मिति २०४८।१०।१३ भन्दा अगावै मिति २०४७।१।२१ मा वादीहरू मध्येका रामप्रसाद श्रेष्ठ र बाबुराम पौडेलले संयुक्त रूपमा क्षेत्रबहादुर अधिकारीबाट राजीनामा गरी लिएको कि.नं. १०९० को जग्गा रोपनी ४–१–०–२ मध्ये आधी ज.रो. २–८–०–१ मा वादी रामप्रसादको हक भएको आधारमा उक्त जग्गामा यी वादी प्रतिवादीहरू पाँचै अंशियारहरूको अंश हक रहेकोले उक्त कि.नं. १०९० मध्ये आधी जग्गा रोपनी २–८–०–१ बाट पनि वादी प्रतिवादीहरूले बराबर अंश पाउनु पर्नेमा शुरुको फैसलाको तपसिल खण्डमा उक्त कित्ता उल्लेख नगरेको हदसम्म कास्की जिल्ला अदालतले मिति २०५८।२।१० मा गरेको फैसला केही उल्टी भई उक्त ज.रो. २–८–०–१ बाट प्रतिवादीहरूले पाँच भागको एक–एक भाग अंश भागसम्म पाउने ठहर्छ । त्यसबाहेक वादी र प्रतिवादीहरूको अरु पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने २०५९/१/२ को पुनरावेदन अदालतको फैसला ।
भाइहरूले २०२७ साल जेष्ठ १९ गते लालबहादुर गुरुङलाई पेवाको दुई कित्ता जग्गा र पिताजीबाट विपक्षी भाइहरूले अंश पाएको अर्को १ कित्ता जग्गासमेत अंशको भनी राजीनामा पारित गरी दिंदा पिताजी मीनबहादुरसंग छुट्टिभिन्न भएको कुरा र स्वीकार गरी सनाखत दस्तखतसमेत गरेका छन् । यसरी आ–आफ्नो छुट्टाछुट्टै भएको र पिताजीले पनि बेचन बिखन गर्नु भएको भाइहरूले पनि आफ्नो अंश भागको जग्गा बिक्री गरी तेस्रापट्टि पोखरामा साईकल दोकान नयाँ बजार पोखरामा मोटरसाइकल दोकान तथा टेक्सी आदि समेत खरिद गरी व्यवसाय सञ्चालन गर्दै आएको र मेरो निजी आर्जनबाट खरिद गरेको सम्पत्तिमात्र मसँग भएबाट पनि म नारायणबहादुर श्रेष्ठ एकाघर सगोलमा नभएको र विपक्ष भाइहरू छुट्टिई बेगल भएको भन्ने कुरा पुष्टि हुन आउँछ । पेश भएका प्रमाणहरूको तथा मेरो प्रतिउत्तर जिकीरको कुनै मूल्याङ्कन नै नगरी मनोगत रूपमा गलत अर्थ निकाली विपक्षीहरूको झूठा फिराद दावीमा मात्र निर्भर गरी वादीहरूले शुरु कास्की जिल्ला अदालतबाट वादीहरूले पाँच भागको दुई भाग अंश पाउने ठहर्याई गरेको त्रुटिपूर्ण फैसला सदर गरेको पुनराबेदन अदालतको फैसला उल्टी गरी मेरो पुनरावेदन जिकीरबमोजिम गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायणबहादुर श्रेष्ठले यस अदालतमा प्रस्तुत गरेको पुनरावेदन ।
बज्यै लोककुमारी र पिता मीनबहादुरबीच चलेको अंश मुद्दामा यी नारायणबहादुर श्रेष्ठ वारिेस बसी मुद्दा सकार गरी सम्पत्ति प्राप्त गरेको र मीनबहादुरको साहिलो छोरा कृष्णबहादुरले लालबहादुरलाई २०२७/२/१९मा पारित गरिदिएको राजीनामा लिखतमा बाबुसँग छुटिएको ब्यहोरा उल्लेख गरी यी बादीहरूसमेत साक्षी बसेको र बादी प्रतिबादीहरूको दर्ता तिरो अलग–अलग भई भोग बिक्री ब्यबहारबाट समेत अलग–अलग बसेको देखिएको अबस्थामा फिराद परेको दिनलाई मानो अलग भएको भनी ठहर गरेको फैसलामा अंशबण्डाको १८ तथा ३० नं को त्रुटि देखिएकोले छलफलका लागि अं ब. २०२ न.बमोजिम बादी प्रतिबादी झिकाई लगाउका मुद्दाहरू समेत साथै राखी पेश गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नारायणबहादुर श्रेष्ठको तर्फबाट उपस्थित वरिष्ठ विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले प्रस्तुत मुद्दामा विवाद मानो छुट्टिएको मितिमा हो । अंश पाउने वा लिनु दिनुपर्ने कुरामा दुवै पक्षको विवाद होइन । पुनरावेदक नारायणबहादुर २०१८ सालमा नै बाबुसँग अलग बसेकी हजुरआमा लोककुमारीसंग बसी निजलाई पालताल गरी बाबु मीनबहादुर हजुरआमा लोककुमारी बीच मुद्दा परेको अवस्थामा वारेस तथा निजको परलोकपछि हजुरआमाको मुद्दा सकार समेत गरेको स्थिति छ । यी पक्ष विपक्ष बीचमा अंशवण्डाको ३० नं. अनुसार अलग–अलग तरिकाले व्यवहार भै व्यवहार प्रमाणको आधारमा अन्य विपक्षीहरूले बाबु मीनबहादुरसँग अंश लिएको भएतापनि मेरो पक्ष नारायणबहादुरले बाबुसँग अंश लिएका छैनन् । २०२७।२।१९ को पारित राजीनामाको व्यहोराले यी वादीहरू अलग भै आफ्नो अंश लिई बसेको प्रमाणित भएको देखिन्छ । बाबु मीनबहादुरले छुट्टिभिन्न भएको छोरा भनी उल्लेख गर्नु र रामप्रसाद श्रेष्ठले एकाघरको बाबु भनी कृष्णबहादुरले बेचबिखन गरेको जग्गामा साक्षी बसी स्वीकृति जनाउनुले समेत छुट्टिभिन्न भै बसेको प्रमाणित हुन आउँछ । त्यस्तै २०४२।८।२५ मा पिता मीनबहादुरले नारायणबहादुर श्रेष्ठबाहेकका तीन वटा छोराहरू, रामप्रसाद, कृष्णबहादुर र श्यामलाललाई कि.नं. ४१४ को ५–३–३–१/२ जग्गा हालैको बकस गरिदिएको समेतबाट निजहरूको बीचमा अंशवण्डा भै सकेको कुरामा विवाद देखिँदैन । व्यवहार प्रमाणको आधारमा अलग बसेकोलाई अंशवण्डा भएको भनी अदालतबाट स्वीकार गरी विभिन्न सिद्धान्त समेत प्रतिपादन भएका छन् । (नेकाप २०५० अंक १ नि.नं. ४६७९ पृ.५) एक पटक अंश भै सकेको भनी स्वीकार गरेको अवस्थामा पुनः अंश माग गर्नु प्रमाण ऐन, २०३१ को दफा ३४ को समेत विपरीत देखिन्छ । नारायणबहादुर एकाघरमा नरहेको कुरा वादी पक्षले पटक–पटक स्वीकार समेत गरी रहेको स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ५४ समतेको त्रुटि गरी व्यवहार प्रमाणबाट अलग भै सकेका वादीलाई अंश दिलाउने गरी भएको शुरु फैसला बदर गरिपाऊँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ तथा रोहितराज बास्तोलाले यी पक्ष विपक्षका बीच अंशवण्डा नभएको कुरामा विवाद छैन । विवाद केवल मानो अलग भएको मितिमा मात्र हो । व्यवहार प्रमाणबाट अलग भै सकेको भन्ने पुनरावेदकको भनाइ आफैमा विरोधाभासपूर्ण छ । बाबु तथा भाईहरू बीच अंशवण्डा भै सकेको, तर आफू मानो बेगल भै बसेतापनि आफ्नो हकमा वण्डा नभएको भन्ने पुनरावेदकको भनाइमा सत्यता देखिदैन । अंश जस्तो नैसर्गिक हकको छिनोफानो लिखतको अभावमा हुन सक्ने होइन । यी वादी प्रतिवादीका बीच अंशवण्डा भएको लिखत देखिँदैन । २०२७।२।१९ को लिखतमा छुट्टिभिन्न भएको बाबु तथा भाई भनेको आधारमा मान्न छुट्टिभिन्न एवं अंशवण्डा भै सकेको मान्न सकिँदैन । हजुरआमा सँगसँगै बसेको, हजुरआमाले वारेसनामा दिएको तथा वारेसनामा दिएको अवस्थामा हजुरआमाको मृत्यु भै मुद्दा नाति नारायणबहादुरले सकारेको मात्र आधारमा बाबु तथा भाइहरू बीच अंशवण्डा भएको एवं मानो बेगल गरी बसेको भन्न मिल्दैन । नारायणबहादुर श्रेष्ठ हजुरआमा लोककुमारीको वारेस बसेको आधारमा मात्र कसैको अंश हक मेटिन तथा त्यो अवस्थाले मानो छुट्टिएको स्थान ग्रहण गर्ने होइन । नारायणप्रसादका नाउँको जग्गा आफ्नो निजी ज्ञान र सीपबाट मानो बेगल भै सकेपछि खरिद गरेको भन्ने कुराको कुनै प्रमाण देखिँदैन । परिवारको जेठो छोरासमेत भएकोले व्यवहारमा चलखेल गरेको हो । उनाउ लिखतमा अंशवण्डा भै सकेको भन्ने सन्दर्भसँग जोडेर व्यक्तिको अंश जस्तो नैसर्गिक हकको सम्बन्धमा अनुमान गर्न मिल्दैन । यी पक्ष विपक्षहरूका बीच रीतपूर्वकको अंशवण्डा नभएको कुरा यी पुनरावेदक नारायणबहादुरले आफ्नो अंशवण्डा नभएको भनी उल्लेख गरेको तथ्यबाट स्थापित हुन्छ । यसरी अंशवण्डा नभएको भन्ने कुरा प्रमाणित भै रहेको एवं निस्सा प्रदान गरी उद्धरण गरिएको असान्दर्भिक एवं गलत नजीरका आधारमा मात्र पुनरावेदक मागदावीबमोजिम गर्नुपर्ने होइन अतः पुनरावेदन अदालतबाट भएको फैसला सदर कायम राखी पाऊँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
दुवै पक्षबाट उपस्थित विद्वान कानून व्यवसायीहरूको बहस सुनी निर्णयतर्फ विचार गर्दा शुरु फैसला मिलेको छ छैन । निर्णय दिनुपर्ने देखियो ।
२. आमाको पहिल्यै परलोक भैसकेको र दाजु नारायणबहादुर जेठो बाठो भै बाबु मीनबहादुरसमेतले अंशवण्डा गरी दिनुहोस् भन्दा बाबु तथा दाजुले अंशवण्डाका लागि सहमत हुन् भएन । आमा परलोक भएपछि दाजु तथा बाबुले वास्ता नगरेकोले हामीले अलग व्यवहार गरी आएकोमा अंशवण्डा गरौँ भन्दा बाबु तथा पिता असहमत भएकोले हामी जम्मा पाँच अंशियार हुँदा पाँच भागको दुई भाग अंश पाऊँ भन्ने दावी भएको बाबु तथा हजुरआमा बीच २००१ सालमा मानो अलग भै २०१० सालमा अंशवण्डा भएको हो । बाबा मीनबहादुर र हजुर आमा लोककुमारीबची पनि लिखत बदर जालसाज मुद्दा परेको र हजुररेखदेख गर्ने कोही नहुँदा बाबु तथा भाईहरूसंग २०१८ सालमा मानो बेगल भै हजुरआमाको स्याहारसुसार गर्नुका अतिरिक्त वारेस भै हजुरआमाको मुद्दासमेत लडेको र पछि २०२३ सालमा हजुरआमाको स्वर्गारोहणपछि मुद्दा समेत सकार गरेको थिए । भाइहरू तथा बुवाबीच २०२७ सालमा अंशवण्डा भै सकेको तर मैले बुवाबाट अंश नलिएको स्थिति हो । म अलग भै सकेपछि आर्जन गरेको सम्पत्ति समेत खाने नियत राखी मलाई विपक्षी बनाई अंश मुद्दा दिएको हो । मैले भाइहरूलाई अंश दिनुपर्ने होइन भन्ने प्रतिवाद भएको प्रस्तुत मुद्दामा शुरु कास्की जिल्ला अदालतबाट वादी दावीबमोजिम पाँच भागको दुई भाग वण्डा पाउने फैसला भएउपर दुवै पक्षको पुनरावेदन परी पुनरावेदन अदालत पोखराबाट केही उल्टी हुने ठहरी फैसला भएउपर यी पुनरावेदक प्रतिवादी नारायणबहादुर श्रेष्ठको यस अदालतमा पुनरावेदन परेको अवस्था देखियो ।
३. मीनबहादुरका चार छोरा जेठा नारायणबहादुर, माहिला कृष्णबहादुर, साहिला रामप्रसाद, एवं कान्छा शम्भुलाल श्रेष्ठ भै आमाको मृत्यु भैसकेको अवस्था हुँदा रामप्रसाद र शम्भु लालले बाबु तथा दाजुसमेतलाई विपक्षी बनाई अंश मुद्दा दायर गरेकोमा बाबु मीनबहादुरले प्रतिवाद नै नगरेको र यी नारायणबहादुर श्रेष्ठले बाबुबाट आफूले अंश नलिएको अवस्था हुँदा अंश आफूले पाउनु पर्ने तर आफ्नो नाममा भएको जग्गा जमिन तथा बेचविखन गरेको सम्पत्ति बाबु तथा दाजुभाइसँग मानो अलग भै सकेपछि खरिद तथा आर्जन गरेको हुँदा वण्डा नलाग्ने तथा अंशवण्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट मानो बेगल भएको स्थापित भै सकेको अवस्था छ भनी मुख्य जिकीर लिएको भएतापनि बाबु तथा भाइहरू बीच रीतपूर्वकको अंशवण्डाको लिखत भएको तथा यी वादी प्रतिवादीहरू एकआपसमा अंशियार नभएको भन्ने भनाइरहेको देखिन आउंँदैन । बाबु तथा हजुरआमा (बज्यै) लोककुमारीबीच परेको मुद्दामा प्रतिवादी नारायणबहादुर श्रेष्ठ वारेस बसेको तथा बज्यैको मृत्युपश्चात् सोही मुद्दामा नारायणबहादुरले मुद्दा सकार गरेको आधारमा आफू बाबु तथा भाइहरूसंग मानो बेगल गरी बसेको तथ्य स्थापित गर्न खोजे तापनि लिखत प्रमाणबाट यी वादी एवं प्रतिवादीबीच अंशवण्डा भै सकेको वा मानो बेगल भएको प्रमाणको अभावमा अंशवण्डा भै सकेको वा मानो बेगल भएको मान्न नमिल्ने हुँदा र प्रतिवादी नारायणबहादुरले आफ्नो प्रतिउत्तर पत्रमा आफूले पनि अंश लिन बांकी नै छ भनी अंशवण्डा हुन वाँकी रहेको तथ्यलाई स्वीकार गरी अंशवण्डा हुन बाँकी रहेको तथ्यमा मुख मिलेकै देखिँदा वादीहरूले अंश पाउने कुरामा विवाद देखिएन ।
४. अव के कुन सम्पत्तिबाट वादीहरूले अंश पाउने हो भन्ने सम्बन्धमा बिचार गर्दा यी प्रतिवादीले आफू २०१८ सालमा पिताजीसँग मानो बेगल भै हजुरआमा लोककुमारीसंग बसी निजलाई लालनपालन गरेको २०२३ सालमा हजुरआमाको मृत्युपश्चात् आ–आफ्नै खतिउपति गरी सम्पत्ति आर्जन गरी जग्गा जमीन जोडेको हुँदा आफ्ना नाउँमा रहेको सम्पत्तिबाहेक २०२७।२।१९ म भाइ तथा बुबाहरूका बीच अंशवण्डा भै सकेको तथ्य भाइ कृष्णबहादुरले लालबहादुर गुरुङ्गलाई राजीनामा गरी दिँदाको राजीनामाको लिखतको पेटबोली व्यहोरामा स्थापित भै सकेको भनी जिकीर लिनु भएको देखिन्छ । प्रस्तुत मुद्दामा मानो छुट्टिएको मितिका बारेमा विवाद रहेको देखिन्छ । प्रतिवादी नारायणबहादुरले २०१८ सालमा मानो छुट्टिएको भन्ने जिकीर लिएतापनि मानो छुट्टिएको सम्बन्धमा यी वादी प्रतिवादीबीच कुनै लिखत भएको पाइदैन । मानो छुट्टिएको वा मानो जोडिएको लिखत गरेको अवस्थामा रजिष्ट्रेशन गराउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेकोमा केवल २०१८ सालमा बाबुसंग मानो छुट्टिएको र २०२३ सालमा हजुरआमा र बाबुबीच परेको मुद्दामा पहिले वारेस बसी पछि हजुरआमाको मृत्युपछि मुद्दा सकार गरेको कारणमात्र दाजु भाइका बीचमा मानो छुट्टिएको पर्याप्त आधार बन्न सक्ने होइन ।
५. वादी प्रतिवादीका बज्यै लोककुमारी र पिता मीनबहादुर श्रेष्ठका बीच चलेको अंश मुद्दामा यी प्रतिवादी नारायणबहादुर श्रेष्ठ वारेस बसी निजको मृत्युपछि मुद्दासमेत सकार गरी लिई निजको सम्पत्ति प्राप्त गरेको समेत आधारमा अंशवण्डाको १८ नं. र ३० नं.समेतको त्रुटिका आधारमा यस अदालतबाट अ.व. २०२ नं. बमोजिम विपक्षी झिकाउने आदेश भएको देखिन्छ । प्रथमतः लोककुमारी र मीनबहादुरबीच अंश मुद्दा परेको तथ्य मिसिलबाट देखिन आउंदैन । प्रस्तुत मुद्दाका प्रतिवादीले आफ्नो प्रतिउत्तर पत्रमा लोककुमारीले मीनबहादुरलाई लिखत बदर र जालसाज मुद्दा दिई शुरुमा लोककुमारीको तर्फबाट वारेस बसेको र पछि निजको मृत्युपश्चात् मुद्दा सकार गरेको कुरा उल्लेख गरेको पाइन्छ । रीतपूर्वकको बण्डापत्र नभएको अबस्थामा २०२७।२।१९ मा नावालक कृष्णबहादुरले गरी दिएको लिखतमा छुट्टिभिन्न भै सकेको व्यहोरा उल्लेख भएको भन्ने आधारमा मात्र वादीहरूले पाउने अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्न न्यायका मान्य सिद्धान्त समेतले मिल्दैन । मानो छुट्टिएको मिति सम्बन्धमा वादी प्रतिवादीका बीच मुख मिलेको कुरामा सोहीबमोजिम र मुख नमिलेको सम्बन्धमा फिराद परेको अघिल्लो दिनलाई नै मानो छुट्टिएको मिति कायम गर्नुपर्छ । (चन्द्रसिंह राजपुत विरुद्ध शिवदेवी राजपुत नेकाप२०४९,अंक १,नि.न.४४६१ पृ. ९८) भनी सिद्धान्त प्रतिपादन भै रहेको सन्दर्भमा लोककुमारी र मीनबहादुरबीच चल्दै नचलेको अंश मुद्दामा वारिेस बसी मुद्दा सकार गरी प्रतिवादी नारायणबहादुर श्रेष्ठले सम्पत्ति प्राप्त गरेको भन्ने गलत तथ्य उल्लेख भएको देखिँदा उक्त आदेशसँग सहमत हुन सकिएन ।
६. अतः यी वादी प्रतिवादीहरू एकघर सगोलका बाबु छोरा एवं दाजुभाइ नाताका व्यक्ति भएकोमा विवाद नदेखिएको, वादी प्रतिवादीहरूका बीच कानूनबमोजिम वण्डापत्र नभएको कुरामा पनि विवाद नरहेको, कानूनबमोजिम वण्डापत्र भएको कुनै लिखत नभएको अवस्थामा फिराद परेको मिति २०४८।१०।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा अगाडिको सबै वादी प्रतिवादीहरूका नाउँमा रहेको वादी तथा प्रतिवादीहरूले पेश गरेको तायदाती फांटवारीमा उल्लेख गरेको एकाघर सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारहरूका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति मानिने प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्थाअनुसार यी वादी प्रतिवादीहरूका नाउँमा रहेको सम्पूर्ण सम्पत्तिको सबै अंशियारहरू बीच समान हक लाग्ने हुंदा सम्पूर्ण सम्पत्तिलाई पाँच भाग लगाई पाँच भागको दुई भागबाट एक–एक भाग वादीहरूले अंश छुट्याई लिन पाउने ठहर्याएको २०५९।१।२ को पुनरावेदन अदालत पोखराको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ । दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रेम शर्मा
इति संवत् २०६६ साल असार ३ गते रोज ४ शुभम्…
इजलास अधिकृतः कृष्णरामकोइराला