निर्णय नं. ८११९ - ठगी

निर्णय नं. ८११९ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०६३ सालको फौ.पु.नं. ....३८३४
फैसला मितिः २०६५।१२।९।१
मुद्दाः ठगी ।
पुनरावेदकः ललितपुर जिल्ला, ललितपुर उप महानगरपालिका वडा नं. १४ ताल्छीखेल बस्ने नारायण थापा
विरुद्ध
प्रत्यर्थीः राजेन्द्र महर्जन समेतको जाहेरीले नेपाल सरकार
शुरु तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री जनार्दनबहादुर खड्का
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री नन्दराज अधिकारी
मा.न्या.श्री अली अकवर मिकरानी
§ निश्चित समयपश्चात् रकम फिर्ता गर्नुपर्ने दायित्व भएको सञ्चालक समितिले आफ्नो दायित्व पूरा नगरेको र निज प्रतिवादीले अदालत एवं अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा जाहेरीवालहरूको वचत रकम फिर्ता गरिसकिएको छ भनी भन्न नसकेको अवस्थामा जाहेरी कथन र अभियोग दावी सत्य साँचो नै देखिने ।
(प्रकरण नं.४)
§ आफ्नो सहकारी संस्थामा राम्रो व्याज दिने भनी आकर्षण देखाई रकम जम्मा गर्न लगाई निजहरूले मागेका वखत रकम फिर्ता नदिई संस्था नै बन्द गरी हिँडेको कार्यलाई वचतकर्ताहरूलाई गलफतमा पारी धोका दिएको होइन भन्न कानूनतः नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन ठगीको १, ४, ७ नं.
§ सहकारी ऐन, २०४८
फैसला
न्या.कृष्णप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनबाट २०६१।८।२१ मा भएको फैसलाउपर चित्त नबुझी प्रतिवादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
हामी जाहेरवालाहरूले पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरमा आफ्नो नाममा खाता खोली रकम जम्मा गर्दै आएकोमा हामीहरूको जम्मा भएको रकम फिर्ता माग्न जाँदा उक्त संस्थाका अध्यक्ष अशोककुमार पाठक, उपाध्यक्ष तुलसीभक्त श्रेष्ठ, सचिव नवीन महर्जन, कोषाध्यक्ष नारायण थापा, सदस्य सानोभाइ खड्का समेतका व्यक्तिहरूले रकम फिर्ता नदिर्ई मिति २०५८।८।१ गते दिनेछौँ भनी २०५८।५।९ को कान्तिपुर पत्रिकामा सूचना प्रकाशन गरी २०५८।६।३० बाट संस्थामा ताला लगाई भागी हामीहरूको रुपैया ठगी गरेकाले यो जाहेरी दिन आएका छौ । उल्लिखित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक पाठकसमेतका सञ्चालकहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी हामीहरूले आफ्नो खातामा जम्मा गरेको रकम रु. ४२,००५५।– दिलाई भराई पाऊँ भन्ने व्यहोराको राजेन्द्र महर्जन समेतका ११ जनाको जाहेरी दर्खास्त ।
हामी जाहेरवालाहरूले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरमा खाता खोली जम्मा गरेको रकम फिर्ता माग्दा नदिई संस्थाका अध्यक्ष अशोककुमार पाठक समेतका पदाधिकारीहरूले वचतकर्ताको रकम मिति २०५८।८।१ गते फिर्ता दिनेछौँ भनी २०५८।६।३० मा कान्तिपुर दैनिक पत्रिकामा सूचना प्रकाशन गरी सोही मितिबाट संस्थाको कार्यालय बन्द गरी भागी लुकी छिपी हिडेकाले यो जाहेरी दिनआएका छौँ । हामीहरूले जम्मा गरेको रु.३,६०,२३९।– विपक्षीहरूबाट दिलाई भराई निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको नेम महर्जन समेतको १६ जनाको जाहेरी दरखास्त ।
म र मेरो श्रीमती जनकुमारी लामा समेतले ललितपुर जिल्ला ललितपुर उप.म.न.पा.वडा.नं.६ स्थित लगनखेलमा रहेको पंचकन्या बचत तथा सहकारी संस्था लिमिटेडमा खाताखोली जम्मा गरेको रुपैया फिर्ता माग्दा नदिर्ई वचतकर्ताहरूको रकम मिति २०५८।८।१ गते फिर्ता गर्ने भनी कान्तिपुर पत्रिकामा मिति २०५८।६।३० मा सूचना प्रकाशित गरी सोही दिनदेखि संस्था बन्द गरी संस्थाका अध्यक्ष अशोककुमार पाठकसमेतका मानिसहरू भागी लुकिछिपी बसेकाले यो जाहेरी दिन आएको छु । विपक्षी संस्थानका अध्यक्ष सहितका कार्याकारिणी समेतलाई पक्राउ गरी कानूनबमोमिज सजाय गरी म र मेरो श्रीमती जन कुमारी लामाको नामबाट जम्मा गरेको रु.१६,८००।– दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको प्रेम लामाको जाहेरी दरखास्त ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लगनखेलमा खाता खोली जम्मा गरेको रकम रु.२,५४०।– फिर्ता माग्दा नदिई २०५८।६।३० देखि संस्था नै बन्द गरी भागी हिडेकाले उक्त संस्थाका अध्यक्षसमेतका पदाधिकारीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरी मेरो रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको राजेन्द्र वानियाको जाहेरी दरखास्त ।
ललितपुर जिल्लाअन्तर्गत लगनखेलमा रहेको पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा खाता खोली जम्मा गरेको रकम रु.४७००।– फिर्ता माग्दा नदिर्ई संस्था नै बन्द गरी भागी संस्थाका अध्यक्ष अशोक पाठक समेतका पाँच जना पदाधिकारीले ठगी खाएकाले पाँच जनालाई नै पक्राउ गरी आवश्यक कारवाही गरी मेरो रु.४७००।– दिलाई पाऊँ भन्ने समेत व्यहोराको गीता श्रेष्ठको जाहेरी दरखास्त ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरअन्तर्गत लगनखेलमा जम्मा गरेको रु ३२४०।– मलाई फिर्ता नदिई संस्था नै बन्द गरी भागेकाले संस्थाका अध्यक्षसहितका पदाधिकारीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरी मेरो रुपैया दिलाई भराई पाऊँ भन्ने सालिकराम परियारको जाहेरी दरखास्त ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडको खातामा जम्मा गरेको रुपैया फिर्ता नदिई कार्यालय बन्द गरी भागेकाले उक्त संस्थाका अध्यक्षसहितका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो रु.३४००।– फिर्ता दिलाई पाऊँ भन्ने समेत व्यहोराको गणेशप्रसाद मिश्रको जाहेरी दरखास्त ।
पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मैले खाता खोली जम्मा गरेको रु.७९०।– फिर्ता नदिई संस्था बन्द गरी भागेकाले संस्थामा अध्यक्षसहितका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी जम्मा भएको रकम फिर्ता दिलाई पाऊँ भन्ने समेत व्यहोराको हरिकृष्ण परियारको जाहेरी दरखास्त ।
ललितपुर जिल्लाअन्तर्गत ललितपुर उ.म.न.पा.वडा.नं. ६ लगनखेल स्थित पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रुपैया नदिर्ई संस्थानको कार्यालयसमेत बन्द गरी भागेकाले यो जाहेरी दिन आएको छु । उक्त संस्थाका अध्यक्षसहितका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो रु ३८००।– दिलाई पाऊँ भन्ने समेत व्यहोराको शारदा परियारको जाहेरी दरखास्त ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेलमा मैले खाता खोली जम्मा गरेको रु.१४,३००।–फिर्ता नदिर्ई कार्यालय नै बन्द गरी भागी फरार भएकाले उक्त संस्थाका अध्यक्ष सहितका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी मेरो रुपैया दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको राजन सुनुवारको जाहेरी दरखास्त ।
जाहेरवाला राजेन्द्र महर्जन, खेम महर्जन समेतका जाहेरवालाहरूले हामीहरूले सञ्चालन गरेको पन्चकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेलमा खाता खोली रुपैया जम्मा गरेको ठीक हो । हामीहरूले ठगी खाने उद्देश्यले रुपैया जम्मा गराएको होइन । हाम्रो संस्थासँगै रहेको भ्यालीटप बहुउद्देश्यीय सहकारी संस्था बन्द भएकोले त्यसको असर हामीलाई परेको हो । वचत कर्ताहरू सवै एकै चोटी आई रुपैया फिर्ता मागेका र हामीहरूकहाँ जम्मा भएको रकम बजारमा ऋण प्रवाह भएको र सो ऋण समयमा नउठ्दा वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि वचतकर्ताहरूले संस्थामा तोडफोड गरेकाले हामीले वाध्य भै मिति २०५८।४।१६ बाट संस्थाको कारोवार बन्द गरेका हाँै । मिति २०५८।८।१ गते सम्म हामीले वचत कर्ताहरूलाई रु.४,००,०००।– चार लाख रकम भुक्तानी गरी सकेका छौ भनी अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी नारायण थापाले गरेको वयान कागज ।
जाहेरवाला राजेन्द्र महर्जन, खेम महर्जन, प्रेम लामा, राजेन्द्र वानिया, गीता श्रेष्ठ, सालिकराम परियार, राजन सुनुवारसमेतका मानिसहरूको जाहेरीअनुसार हामिहरूले सञ्चालन गरिआएको पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा खाता खोली रकम जम्मा गरेकोमा अन्य सहकारी संस्थाहरू बन्द भएकाले खातावालाहरू सवै एकै पटक रुपैया फिर्ता माग्न आएका र हाम्रो संस्थामा जम्मा गरेको रकम बजारमा लगानी भै ऋण उठन बाँकी हुँदा तत्काल रकम भुक्तानी हुन नसक्दा खातावालाहरूले संस्थामा तोडंफोडं समेत गरेकाले हामीले रकम भुक्तानीको कार्यसम्म बन्द गरेको हो । जाहेरवालाको रुपैया ठगी खाने नियतबाट भुक्तान नगरेको होइन छैन भनी प्रतिवादी सानो भाई खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान कागज ।
म अध्यक्ष, उपाध्यक्ष तुलसीभक्त श्रेष्ठ, सचिव नवीन श्रेष्ठ (महर्जन), कोषाध्यक्ष नारायण थापा सदस्य सानोभाई खड्का समेत पाँच जना भई हामीले सञ्चालन गरिआएको पन्चकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जाहेरवाला राजेन्द्र महर्जनसमेतका मानिसहरूले जम्मा गरेको रकम एकै पटक भुक्तानी माग्न आएका र हाम्रो सहकारीको रकम बजारमा लगानी भै तत्काल भुक्तान हुन नसक्दा संस्था तोडफोड गर्ने लगायतका डर धम्की दिएको हुँदा संस्था बन्द गर्नु परेको हो । हामीले ठगी खाने उद्देश्यले खातावालाहरूको जम्मा भएको रकम भुक्तानी दिनलाई रोकेको होइन भन्ने प्रतिवादी अशोक कुमार पाठकले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लि.समेतमा खाता खोली जम्मा गरेको रु.२६,०७७।– मलाई फिर्ता नगरी संस्था बन्द गरी भागी हिँडेकाले उक्त संस्थामा कार्यरत् व्यक्तिहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो रुपैया दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको कुमार खत्रीको जाहेरी ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा खाता खोली जम्मा गरेको रु.३०,०००।– फिर्ता नदिई संस्थाका पदाधिकारीहरू भागेकाले पक्राउ गरी कानूनबमोजिम कारवाही गरी रुपैया समेत दिलाई पाऊँ भन्ने समेत व्यहोराको जानकी मगरको जाहेरी ।
मैले खाता खोली जम्मा गरेको रु.५,६७०।– मलाई भुक्तानी नदिई पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरूले संस्था बन्द गरी भागी हिडेकाले निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी रुपैया दिलाई पाऊँ भन्ने लालबहादुर थापाको जाहेरी दरखास्त ।
मैले खाता खोली जम्मा गरेको रु.६,९५०।– फिर्ता नदिई पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारीहरू भागी संस्थासमेत बन्द गरेकाले उक्त संस्थाका कार्यकारीसमेतलाई पक्राउ गरी कानूनबमोजिम कारवाही चलाई सजाय गरी मेरो रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको रमिता महर्जनको जाहेरी दरखास्त ।
मैले खाता खोली जम्मा गरेको रु.५,३५०।– मलाई फिर्ता नदिई संस्था बन्द गरी भागी हिडेका संस्था पंचकन्या वचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकार प्राप्त मानिसलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मेरो रुपैया दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको रत्नबहादुर महर्जनको जाहेरी दर्खास्त ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.११,५००।– फिर्ता नदिई संस्था नै बन्द गरी भागेकाले उक्त संस्थाका कार्यकारी समेतलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको साइला महर्जनको जाहेरी दरखास्त ।
हामीहरूले जम्मा गरेको रु.९२,६८५।– फिर्ता नदिई पंचकन्या वचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द गरी भागी हिडेकाले उक्त संस्थाका अध्यक्षसहितका कार्यकारी अधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही सजाय गरी हामीहरुको रुपैया दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वालकुमारी महर्जन समेत पाँच जनाले दिएको जाहेरी दरखास्त ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रु.१२,८६५।– भुक्तानी नदिई संस्था बन्द गरी भागी हिडेकाले उक्त सहकारी संस्थाका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी सजायसमेत गरी रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको सोनिया श्रेष्ठको जाहेरी दरखास्त ।
मेरो र श्रीमानको नाउँमा खाता खोली जम्मा गरेको रुपैया रु.१४,७३०।– फिर्ता नदिई पंचकन्या वचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेतका कार्यकारिणी पदाधिकारीहरू भागी फिर्ता रकम ठगी गरेकाले निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी मसमेतको रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको विष्णु महर्जनको जाहेरी दरखास्त ।
पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अफिस बन्द रहेको भन्ने घटनास्थल मुचुल्का ।
मासिंक रु ६,०००।– का दरले भाडा लिई मैले भाडामा दिएको घरमा बसेको पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वचतकर्ताहरूको पैसा फिर्ता गर्न नसक्दा उक्त संस्थाका अध्यक्ष अशोककुमार पाठकसमेतले ताला बन्द गरी गएको कुरा सुनेको हुँ भनी घर धनी राधाकृष्ण श्रेष्ठले गरी दिएको कागज ।
ललितपुर जिल्ला ल.पु.उप.म.न.पा.वडा.नं. ६ लगनखेलस्थित पंचकन्या वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोककुमार पाठक, समेतका पाँच जना सञ्चालक समितिका सदस्यहरूले सर्वसाधारण मानिसहरूलाई उक्त संस्थामा खाता खोली, पैसा जम्मा गर्न लगाई जम्मा गरेको रकम वचत कर्ताहरूलाई फिर्ता नदिई संस्थाको कार्यालय समेत बन्द गरी भागी उक्त संस्थाका अध्यक्ष समेतका कार्यकारी पदाधिकारी समेतले ठगी गरेका कुरा सुनी थाहां पाएको हुँ भनी लेखाएको श्याम प्रजापतिसमेतको घटना आसपास मुचुल्का ।
हामीहरूले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रु.१२,८९३।– भुक्तानी नदिई संस्था नै बन्द गरी भागेकाले यो जाहेरी दिन आएका छौं । उक्त संस्थाका पदाधिकारीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही सजाय गरी मेरो तथा हामीहरूले जम्मा गरेको ठगिएको रु.१२,८९३।– दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको धनमाया महर्जन समेतका १७ जना व्यक्तीहरूको जाहेरी दरखास्त ।
राष्ट्रिय वाणिज्य वैंक ऐनअन्तर्गत नेपाल राष्ट्र वैंकको स्वीकृति नलिई प्रतिवादी अशोक कुमार पाठक, सानोभाई खड्का, नारायण थापा,तुलसीभक्त श्रेष्ठ, नवीन महर्जनसमेतले राम्रो व्याज दिने भनी सर्वसाधारणलाई प्रलोभनमा पारी झुक्याई आफूले सञ्चालन गरिआएको पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा रुपैया जम्मा गर्न लगाई जाहेरवालाहरूले बचत गरेको रुपैया नदिर्ई संस्था बन्द गरी मुलुकी ऐन ठगीको १ नं. विपरीत प्रतिवादीहरूले कसूर गरेको हुँदा ऐ. ऐनको ४ नं. बमोजिम कारवाही र सजाय समेत गरी ऐ. ऐनको ७ नं. बमोजिम जाहेरवालाहरूको बिगो रु.१२,६१,५०६।– प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराई पाऊँ भन्ने अभियोग माग दावी ।
अशोककुमार पाठक, भीमसेनप्रसाद तिमल्सेना, रेवन्तजंग राई र रामहरि नेपाल समेत भै ललितपुर जिल्ला लगनखेलमा सञ्चालन गरिआएको पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडको तत्कालीन उपाध्यक्ष पदमा भै हाल कोषाध्यक्ष भै काम गरिआएको छु । वचतकर्ताहरू एकै पटक भुक्तानी लिन आएका र जम्मा भएको रकम बजारमा लगानी भै रुपैया नउठेकाले तत्काल भुक्तान हुन नसकी ऋण उठेपछि भुक्तानी गर्ने भनेको मात्र हो वचतकर्ताहरूलाई रु ४,००,०००।– भुक्तानी गरिसकेको छ । वचतकर्ताहरूको रुपैया ठगी खाने उद्देश्यले धेरै व्याज दिने भनी रुपैयाँ जम्मा गरेको छैन भन्ने प्रतिवादी नारायण थापाले गरेको वयान ।
मिति २०५५।३।७ देखि पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा मार्केटिङ काम गर्दै आएपछि २०५७।१२।५ देखि सञ्चालन समितिकै सदस्यमा नियुक्ति भै मिति २०५८।१।२ बाट राजीनामा दिई सदस्यता छाडे पनि उक्त संस्थाको ऋण उठाउँदै आइरहेको छु । यसै क्रममा २०५८।४।१६ मा सवै बचतकर्ता आई रुपैया माग्दा बजारमा लगानी भएको कारणबाट तत्काल रुपैया भुक्तानी दिन नसक्दा अध्यक्षसहितलाई धम्की दिएका कारण संस्था बन्द गरेको हो । जाहेरवाला राजेन्द्र महर्जनसमेतका केही वचतकर्ताहरूलाई रु.४,००,०००।– भुक्तानी दिइसकेको छ । हामीले वचत कर्ताहरूलाई ७ प्रतिशत, मुद्दती कर्तालाई रु १३.५ प्रतिशत व्याज दिने गरेको छ । हामीले वढी व्याज दिने भनी प्रलोभनमा पारी रुपैया जम्मा गर्न लगाई ठगी गरी खाएको छैन भन्ने सानोभाइ खड्काले अदालतमा गरेको वयान ।
जिल्ला सहकारी कार्यालय ललितपुरमा मिति २०५५।७।१७ मा दर्ता गरी हामीले पंचकन्या वचत तथा ऋण सहकारी संस्था खोली सञ्चालन गरिआएको कार्यालयमा वचतकर्ताहरूले जम्मा गरेको रुपैया वजारमा लगानी भै रहेको अवस्थामा वचतकर्ताहरूले एकै पटक भुक्तानी माग्न आएकोले रुपैया भुक्तानी दिन नसकेको हुँदा हामी उपर झूठ्ठा अभियोग लागेको मात्र हो । मेरो घर जग्गा धितो राखी रु.१०,००,०००।– लगानी गरेको मानिसले धेरै व्याज दिन्छु भनी प्रलोभन देखाई रुपैया जम्मा गर्न लगाई रुपैया ठगी गरेको छैन भन्ने अशोककुमार पाठकले अदालतमा गरेको वयान ।
प्रतिवादीहरूलाई पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षको लागि थुनामा राखी कार्बाही गर्नु भन्ने शुरुको आदेश ।
प्रतिवादी नवीन महर्जनका नाउँमा २०५९।४।१३ मा तामेल भएको म्यादमा प्रतिवादी उपस्थित नभै म्यादै गुजारी बसेका रहेछन् ।
प्रतिवादी तुलसीभक्त श्रेष्ठका नाउँमा २०५८।१०।१ मा तामेल भएको म्यादमा उपस्थित नभै म्यादै गुजारी बसेका रहेछन ।
वचतकर्ताहरूको रकम वजारमा लगानी भएको र वचतकर्ताहरूले एकै पटक आई रकम भुक्तानी मागेकाले प्रतिवादी अशोक पाठकसमेतले तत्काल भुक्तानी दिन नसकेको मात्र हो । प्रतिवादीहरूले ठगी गरेको होइन भनी अशोक कुमार पाठकको साक्षी सुशीला के.सी.ले गरेको वकपत्र ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु. ३,२४०।– अशोककुमार समेतले ठगी गरेको हो भनी जाहेरवालाका शालिकराम परियारले वकपत्र गरेको रहेछ । मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.१५,०००।– प्रतिवादीहरूले ठगी गरी खाएकाले ठगीको रुपैया दिलाई पाऊँ भन्ने समेत व्यहोराको विष्णु महर्जनको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु ४,९००।– ठगी गरेको हो भनी ज्ञानु महर्जनले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा मिति २०५७।२।७ मा एकमुष्ट रु.२,००,०००।– जम्मा गरेमध्ये संस्था बन्द हुने अवस्थामा रु. १२,०००।–, पछि संस्थाबन्द भएपछि उक्त संस्थामा रहेको फर्निचरहरूको मूल्य रु ५०,०००।– कायम गरी घरधनीलाई रु १७,५००।– बुझाई सामान मैले लगेको छु । मेरो जम्मा गरेको रकम अशोककुमार पाठक, नारायण थापा, तुलसी भक्त श्रेष्ठ, नवीन महर्जन र सानुभाई खड्का मिली रु.१,६३,५००।– उक्त संस्थाका अशोक पाठक, नारायण थापा, सानुभाइ खड्का समेतले ठगी गरेका हुन भनी राजेन्द्र वानियाले गरेको वकपत्र ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा एक पटक रु.३०,०००।– र एक पटक रु ७,०००।– रकम जम्मा गरेको थिए । सो रकम प्रतिवादीहरू अशोक पाठक, नारायण थापा, तुलसी भक्त समेत मिली ठगी गरेका हुन् भनी तुलसा गिरीले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा मैले जम्मा गरेको रु.२२,४००।– उक्त सञ्चालकहरू पाँच जना भई ठगी गरेका हुन भनी ईश्वरबहादुर थापाले गरेको वकपत्र ।
मैले पंचकन्या सहकारी संस्थामा जम्मा गरेको रु.३०,२१३।– अशोक पाठक, सानुभाई खड्का, नवीन महर्जन, नारायण थापा, र संस्थाको उपाध्यक्ष नाम थाहा नभएका व्यक्ति समेत मिली मेरो रुयैया नदिएपछि ठगी गरेको भन्ने थाहा पाए भन्ने बिना महर्जनले गरेको वकपत्र ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.३४००।– उक्त सहकारीमा को–को व्यक्ति सहभागी थिए मलाई थाहा छैन, सानु भाई खड्का एउटा हो । अशोक पाठक, नारायण थापा समेतले ठगी गरेका हुन भन्ने गणेशप्रसाद मिश्रले गरेको वकपत्र ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रु.१९,२१३। ठगी गरेका हुन भनी भीमसेन महर्जनले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा महिनाको ५/५ सयका दरले जम्मा गरेको रु.१६,०००।– प्रतिवादीहरू नारायण र अशोक पाठक मिली ठगी गरेका हुन भन्ने हिरा देवी महर्जनले गरेको वकपत्र ।
मैले पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु ६,९८०।– लिन जाँदा भोलि पर्सि भनी आलटाल गरेपछि अन्य वचत कर्ताहरूलाई पनि रुपैया नदिएकाले उजूर दिएको हो भन्ने सानुलाल महर्जनले गरेको वकपत्र ।
पंचकन्या सहकारी संस्थामा महिनाको रु १०००/१०००।– का दरले जम्मा गरेको रु.३०००।– को कसले कति ठगी गरे मलाई थाहा छैन भन्ने अष्ट महर्जनले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.६०००।गरस्– उक्त संस्थामा को–को व्यक्तिहरू भई ठगी गरे भनी सुनीता महर्जनले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रु.७,१००।– उक्त संस्थाका को–को भै के कति रकम ठगी गरेका हुन मलाई थाहा छैन भन्ने विनीता महर्जनले लेखाएको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पटक पटक गरी जम्मा गरेको रु.२५,०००।– मध्ये झिकी बाँकी रहेको रु ६,२००।– प्रतिवादीहरू अशोककुमार पाठक, नारायण थापा समेत भै ठगी गरेका हुन भन्ने पार्वती जोशीले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थाको कलेक्टर पदमा रही राजीनामा दिईसकेका सानुभाई खड्काले जाहेरवालाहरूको रुपैया ठगी गरेको होइनन् भनी सानुभाई खड्काको साक्षी हरिकृष्ण खड्काले गरेको वकपत्र ।
पंचकन्या सहकारीमा मैले जम्मा गरेको रु.८,६७०।– उक्त फाइनान्समा को को मिली ठगी गरिखाएका हुन् भन्ने रिना महर्जनले गरेको वकपत्र ।
आफ्नो ऋणीहरूलाई रकम लगानी गरी उठाउन नसकेको र आफ्नो घर धितो राखी कान्तिपुर फाइनान्सबाट ऋण लिई उक्त फाइनान्समा प्र.नारायण थापाले लगानी गरेका छन् भन्ने नारायण थापाको साक्षी प्रकाश खड्काले गरेको वकपत्र ।
मैले पचंकन्या सहकारी संस्थामा जम्मा गरेमध्ये भुक्तानी लिई बाँकी रहेको रकम रु.२०३०।– को–को मिली ठगी गरे मेरो रकम ठगी भएको छ भनी मैयां महर्जनले गरेको वकपत्र ।
राजु क्षेत्रीले रु.१६,०००।–, रत्नबहादुर महर्जनले रु.३७,७००।–, मेरो र श्रीमतीको खातामा जम्मा गरेको रु १६,८००।–, प्रेम लामाको पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा अशोककुमार पाठक, नारायण थापा, सानुभाई खड्कासमेतले ठगी गरी खाएका हुन भनी राजु क्षेत्री, रत्नबहादुर, महर्जन, प्रेम लामा समेतले अदालतमा गरेको वकपत्र ।
आफ्नो घर ललितपुर फाइनान्समा धितो राखी रु.१,७५,०००।– लिई पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा लगानी गर्ने उक्त संस्थाका उपाध्यक्ष र कोषाध्यक्ष नारायण थापाले संस्थाको लागि मोटर साइकल किन्ने घर बनाउने जस्ता भौतिक संरचनाहरू जोड्ने थिएनन् । तसर्थ प्रतिवादी नारायण थापाले जाहेरवालाहरूको रुपैया ठगी गरेको छैन भन्ने प्रतिवादी नारायण थापाको साक्षी कल्याण थापाले गरेको वकपत्र ।
रेणु महर्जनले रु.१८,९१०।–, उत्तम नकर्मीले रु.१०,७४०।– पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेको रकम सान्नानी भन्ने समेतका मानिसहरूले ठगी खाएका हुन भन्ने रेणु महर्जन, उत्तम नकर्मी समेतले गरेको वकपत्र ।
मेरो पंचकन्या सहकारीमा रहेको खातामा हजुरआमाले कति रकम जम्मा गरी दिनु भयो थाहां छैन । हजुरआमाले जम्मा गरेको रुपैया ठगी भए सम्बन्धमा हजुरआमाले वकीललाई भनी तयार गरेको जाहेरी हो भनी रेशम मजर्हनले गरेको वकपत्र ।
मैले पंचकन्या सहकारीमा रु.३५००।– जति रकम जम्मा गरेजस्तो लाग्छ उक्त रकम संस्थाका नवीनलगायतका प्रतिवादीहरूले ठगी गरेका हुन भनी धनकपुर महर्जनले गरेको वकपत्र ।
पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा वासुदेव महर्जन र साइला महर्जनले रु.११,५००।–, भरत रेग्मीले रु.१८,३००।–, वाल कुमारी मानन्धरले रु.८०९०।–, रामप्यारी महर्जनले रु.६०००।–, रमिता महर्जनले रु. ६९५०।–, चन्द्रबहादुर महर्जनले रु. २१६००।–, धनमाया महर्जनले रु.१८००।–, सुर्जेमाया महर्जनले रु.१०,०००।–, कुमार खत्रीले रु.२६,०७७।–, आइतमान महर्जनले रु.६६,०००।–, राजकुमार क्षेत्रीले रु ९२,०००।–, नेम महर्जनले रु.१०,०००।–, नानीबाबु महर्जनले रु १६००।– जम्मा गरेको रुपैया फिर्ता नदिई उक्त संस्थाका अशोककुमार पाठक, नारायण थापा सानुभाई खड्कासमेतका प्रतिवादीहरूले ठगी खाएका हुन भनी जाहेरवाला वासुदेव महर्जन, चन्द्रबहादुर महर्जन, भरत रेग्मी, बालकुमारी मानन्धर, रामप्यारी महर्जन, रमिता महर्जन, चन्द्रबहादुर महर्जन, धनमाया महर्जन, सुर्जे माया महर्जन, कुमार खत्री, आइतमान महर्जन, राज कुमार क्षेत्री, नेम महर्जन र नानीबाबु महर्जन समेतले एक आपसमा गरेको छुट्टाछुट्टै वकपत्र ।
प्रतिवादीहरूले धेरै व्याज दिने भनी भ्रम जालमा पारी वचतकर्ताहरूलाई आफूले सञ्चालन गरेको पंचकन्या वचत तथा ऋण सहकारी संस्थामा रुपैया जम्मा गर्न लगाई जाहेरवालासहितका वचतकर्ताहरूलाई फिर्ता नदिई संस्था नै बन्द गरी भागी मुलुकी ऐन ठगीको महलको १ नं. विपरीतको कसूर प्रतिवादीहरूले गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादीहरूलाई जनही कैद वर्ष १ (एक) र जरीवाना रुपैया रु.१,२६१,५०६।– (बाह्र लाख एकसठ्ठी हजार पाँच सय छ रुपैया) जरीवाना कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको मिति २०६०।२।१२।२ को फैसला ।
शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहर्याई सजाय गर्ने गरेको फैसलामा चित्त बुझेन शुरुको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी नारायण थापाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहर्याई सजाय गर्ने गरेको फैसलामा चित्त बुझेन । मेरो प्रमाणको उचित मूल्याङ्कन नगरी सजाय गर्ने गरेको शुरुको फैसला कानूनी त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी अशोककुमार पाठकको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
शुरु जिल्ला अदालतले मलाई कसूरदार ठहर्याई सजाय गर्ने गरेको शुरुको फैसलामा चित्त बुझेन । प्रस्तुत मुद्दा ठगीको परिभाषाभित्र नपरेकोमा वादी दावी नै खारेज गर्नुपर्नेमा मेरो प्रमाणहरूको उचित मूल्याङ्कन नगरी सजाय गर्ने गरेको शुरुको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी सानोभाई खड्काको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
यसमा सहकारी ऐन, २०४८ अन्तर्गत दर्ता भएको संस्थाले गरेको वैङ्किङ कारोवारको विषय मुलुकी ऐन, ठगीको १ नं. को परिभाषाभित्र पर्ने नपर्ने भन्ने कानूनी व्याख्याको प्रश्नमा शुरुको फैसला विचारणीय हुँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
जिल्ला सहकारी कार्यालय ललितपुरमा द.नं. १७।०५५।०५६ मिति २०५५।७।१८ मा दर्ता भएको पन्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जाहेरवालाहरूबाट बचत संकलन गरी, बचतकर्ताले मागेको म्यादभित्रमा वचत रकम फिर्ता नदिई कार्यालय नै बन्द गरेको, जाहेरवालाहरूले ठगी गरे भनी किटानी जाहेरी दिएको, प्रतिवादीहरूले अदालत र अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयानमा जाहेरवालाबाट जम्मा भएको वचत रकम ऋण लगानी गरी नउठेकोले मागेको समयमा भुक्तानी दिन नसकी कार्यालय तोडफोड हुनबाट बचाउन कार्यालय बन्द गरी बसेको हो भनी वयान गरेको, प्रतिवादीहरूले आफ्नो वयानमा निक्षेपकर्ताको निक्षेप फिर्ता दिएको भनी भन्न नसकेको अवस्थामा प्रतिवादीहरूले मुलुकी ऐन ठगीको १ नं. विपरीतको कार्य गरेको हुँदा निजहरूलाई शुरु ललितपुर जिल्ला अदालतबाट भएको फैसलामा प्रतिवादीहरूलाई विगोको दामासाहीले जरीवाना गर्न पर्नेमा बिगोबमोजिम जनही जरीवाना गर्ने गरी गरेको फैसला केही उल्टी हुने ठहराई पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६१।८।२१ को फैसला ।
पुनरावेदन अदालतबाट पूर्ण रूपमा सफाइ नदिने गरी भएको फैसला मिलेको छैन । जाहेरवालालाई संस्थाको कुनै पनि सदस्यले ललाईफकाई जालपरिपंच गरी नभए नगरेको झूठो व्यहोरा देखाई झुक्याई भ्रममा पारी रकम जम्मा गर्न लगाएको होइन, छैन । जाहेरवालाहरूले संस्थाको नीति नियमबमोजिम तोकिएको व्याज पाउने शर्तमा निश्चित अवधिको लागि निक्षेप जम्मा गरी सकेपश्चात् संस्थाले नियमानुसार ऋण प्रवाह गरेको हो । संस्था र मेरा विरोधी व्यक्तिहरूले हाम्रो वदनामी गराउने उद्देश्यले संस्थाका सञ्चालकहरू भाग्न लागे भनी अनावश्यक हल्ला फिजाई दिएको हुँदा शेयर सदस्यहरू एकै पटक आफ्नो सवै निक्षेप फिर्ता लिन आएकोमा सवै रकम एकै पटक फिर्ता दिन सकिएन । रकम फिर्ता नदिएपछि जाहेर वालाहरूले कार्यालय भवनसमेत तोडफोड गर्ने डरले केही समयसम्म कार्यालय बन्दसम्म गरिएको हो । निक्षेपकर्ताहरूको निक्षेप रकम ठग्ने उद्देश्यले भागेको होइन । संस्थाको निक्षेप लिने दिने कार्य देवानी दायित्वअन्तर्गतको भएको हुँदा ठगीको १ नं.को कानूनी व्याख्याको विपरीत हुने गरी गरेको फैसला मिलेको छैन । पन्चकन्या बचत तथा ऋण सहकारी संस्था विशेष ऐनअन्तर्गत स्थापित भएको कानूनी व्यक्ति हो । संस्थामा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठेमा सहकारी ऐन बमोजिम दण्ड जरीवाना गर्ने छुट्टै कानूनी व्यवस्था छ । संस्थाको नाममा देवानी दायित्वअन्तर्गत मुद्दा चली संस्थाको जायजेथाबाट असूलउपर गर्नसक्ने र संस्थाबाट असूलउपर हुन नसकेमा सञ्चालकहरूको अन्य सम्पत्तिबाट असूलउपर गर्न भनी कानूनले व्यवस्था गरेको छ । संस्था एवं सञ्चालकहरूका नाममा देवानी मुद्दा चलाई असूलउपर गर्ने कानूनी मार्ग उपलब्ध हुँदाहुँदै सो कानूनी मार्ग छाडी एकाएक संविधानद्वारा प्रदत्त फौजदारी न्यायसम्बन्धी मौलिक हक हनन् गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरी कथित ठगीको मुद्दा उठान गरी पक्री मुद्दा चलाएको र त्यस्तो कानूनविपरीत दायर भएको माग दावीलाई खारेज गर्नुपर्नेमा खारेज नगरी स्वीकार गरी जरीवानासमेत गर्ने गरिगरेको पुनरावेदन अदालत पाटनको फैसला बुझ्नु पर्ने प्रमाण नबुझी, मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन नै नगरी भएको हुँदा त्यस्तो फैसला उल्टी गरी मलाई अभियोग दाबीबाट सफाइ दिई इन्साफ दिलाई पाऊँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादी नारायण थापाको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीमध्येका सानुभाई खड्काका नाउँको मिति २०६२।१२।७ मा तामेल भएको पुनरावेदन म्यादको तामेली व्यहोरामा निजको घर खोजतलास गर्दा लुभु गा.वि.स.वडा नं. ८ मा सानोभाई खड्का भन्ने व्यक्ति दुई चार जना भएकोले पत्ता लगाउन नसकेको भनी एक प्रति म्याद शंखदेवी मन्दिरमा टांस गरी वेपत्ते तामेल भै अदालतबाट वेरीतको देखिँदा उक्त म्याद बदर गरिदिएको छ । निज प्रतिवादी सानोभाई खड्काले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत रामबहादुरको नाति मीठाराम खड्काको छोरा लुभु गा.वि.स. वडा नं. ८ शंखदेवी चारघरे बस्ने भनी वयान गरेको र निजले पुनरावेदन अदालतमा दिएको पुनरावेदन पत्रमा समेत सोही ठेगाना उल्लेख भएको देखिँदा सानोभाई खड्काको बाबु बाजे समेतको नाउँमा सूचना म्यादमा खुलाई अ.बं. ११० नं. को रीत पुर्याई पुनः पुनरावेदन म्याद तामेल गर्नु भन्ने यस अदालतको २०६४।४।२७ को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नारायण थापाको तर्फबाट वैतनिक अधिवक्ता टेकबहादुर रावलले प्रतिवादी कोषाध्यक्ष रहेको पञ्चकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन, २०४८ बमोजिम जिल्ला सहकारी कार्यालय ललितपुरमा दर्ता भएको कानूनी मान्यता प्राप्त संस्था हो । संस्थाले आफ्नो उद्देश्यबमोजिम सदस्यहरूबाट निक्षेप लिने र ऋण लगानी गर्ने गर्दथ्यो । जाहेरवालासमेतका व्यक्तिहरूले संस्थाको नियमबमोजिम निश्चित समयको लागि पैसा जम्मा गरी सकेपश्चात् संस्थाले आफूसमक्ष प्राप्त हुन आएको रकम ऋण लगानी गरेको समयमा, संस्थाको अहित चिताउने व्यक्तिले संस्थापकहरू पैसा लिई भाग्न लागे भनी गलत हल्ला गरिदिएका कारण सबै शेयरसदस्यहरू आफ्नो जम्मा रकम लिन एकै चोटी आएको हुँदा संस्थाले रकम दिन नसकेको हो । संस्थामा तोडफोड हुने आशंकाले केही समयका लागि बन्दसम्म गरेको हो । संस्था छोडी भागेको होइन, जाहेरवालाहरूले सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता माग्न जाँदा नदिएमा संस्था र सञ्चालकहरूमा रहने दायित्व भनेको देवानी दायित्वमात्र हो । शेयर सदस्यहरूको संस्थामा जम्मा भएको रकम सदस्यले दिन नसकेमा संस्थाको जायजेथाबाट असूलउपर हुन सक्ने र संस्थाको जायजेथाबाट असूलउपर हुन नसके सञ्चालकहरूको अन्य सम्पत्तिबाट असूलउपर हुन सक्ने कानूनी व्यवस्था हुँदाहुँदै संविधानद्वारा प्रदत्त फौजदारी न्यायसम्बन्धी मौलिक हकविरुद्ध व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरेको भन्ने आधारमा ठगी मुद्दा दायर गरी सजाय गर्न मिल्दैन । पुनरावेदन अदालतबाट ठगी गरेको आरोपमा सजाय गर्ने गरी भएको फैसला नमिलेको हुँदा उल्टी गरी अभियोग दावीबाट पूर्ण रूपमा सफाइ पाउनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेका सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल ललितपुरमा खाता खोली रकम जम्मा गर्दै आएकोमा आफ्नो जम्मा भएको रकम फिर्ता माग्न जाँदा उक्त संस्थाका अध्यक्ष अशोककुमार पाठक समेतका सबै सञ्चालकहरू २०५८।८।१ गते सवै शेयर सदस्यहरूको संस्थामा जम्मा हुन आएको रकम भुक्तानी दिन्छौ भनी २०५८।५।९ को कान्तिपुर पत्रिकामा सूचना प्रकाशित गरी २०५८।६।३० बाट संस्थामा तालाबन्दी गरी भागी हामीहरूको रुपैया ठगी गरेकोले निज सञ्चालकहरूलाई पक्राउ गरी हामीहरूले खातामा जम्मा गरेको रुपैया असूलउपर गरी दिलाई दिई कानूनबमोजिम कारवाहीसमेत गरिपाऊँ भनी राजेन्द्र महर्जनसमेतले दिएको जाहेरीको आधारमा आवश्यक अनुसन्धान भै प्रतिवादीहरूले राष्ट्रिय वाणिज्य वैंक ऐनअन्तर्गत नेपाल राष्ट्र वैंकको स्वीकृति नलिई राम्रो व्याज दिने भनी सर्वसाधारणलाई प्रलोभनमा पारी झुक्याई आफूले सञ्चालन गरी आएको पञ्चकन्या वचत तथा ऋण सहकारी संस्थामा निक्षेप जम्मा गर्न लगाई जम्मा भएको निक्षेप रकम सञ्चयकर्ताले फिर्ता माग्दा फिर्ता नदिई संस्था नै बन्द गरी मुलुकी ऐन ठगीको १ नं. विपरीत कसूर गरेको हुँदा सोही ऐनको ४ नं. बमोजिम सजाय गरी ऐ. ऐनको ७ नं. बमोजिम जाहेरवालाहरूको बिगो रु.१२,६१,५०६। प्रतिवादीहरूबाट दिलाइभराई पाऊँ भन्ने अभियोग मागदावी रहेको देखियो । प्रतिवादीहरु अशोककुमार पाठक र सानोभाई खड्का पुनरावेदन अदालत पाटनले गरेको फैसला उपर पुनरावेदन नगरी चित्त बुझाई बसेकोले निजहरुको हकमा केही बोलिरहनु परेन ।
३. पुनरावेदक प्रतिवादी नारायण थापा कोषाध्यक्ष रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था, सहकारी ऐन २०४८ बमोजिम जिल्ला सहकारी कार्यालय ललितपुरमा २०५५।७।१७ मा कानूनबमोजिम दर्ता भई बचत संकलन र ऋण प्रभाव गर्ने कार्यमा संलग्न रहेको भन्ने कुरा मिसिल संलग्न रहेका वचतकर्ताहरूले पेश गरेको पासबुकको प्रतिलिपिबाट देखियो । जाहेरवालाहरूको जाहेरीपश्चात् पुनरावेदकहरूबाट सञ्चालित पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा गई तलासी गर्दा संस्थाको कार्यालय सञ्चालन गरेको कोठाको ढोकामा दुई वटा ताला लगाई बन्द गरेको भन्ने कुरा यिनै प्रतिवादी नारायण थापासमेतको रोहवरमा खडा भएको मिसिल संलग्न घटनास्थल मुचुल्काबाट देखिएको, घटनास्थलमा उपस्थित श्याम प्रजापतिसमेतका सवै व्यक्तिहरूले बचत जम्मा गर्ने वचतकर्ताहरूको रकम फिर्ता नदिई संस्था नै बन्द गरी ठगी गरी भागेका हुन भन्ने हामीहरूले थाहा पाएका हौँ भनी लेखाई दिएको कागजको रोहवरमा यी पुनरावेदक समेत बसी कुनै प्रतिवाद नगरी सहीछाप गरेको देखियो ।
४. पुनरावेदक प्रतिवादी नारायण थापाले अधिकारप्राप्त अधिकारी एवं अदालतसमक्ष उपस्थित भै सहकारी संस्थासमक्ष जम्मा हुन आएको सवै बचत रकम बजारमा लगानी भैरहेको समयमा एकै पटक सय जनाभन्दा वढी बचतकर्ता शेयरसदस्यहरू बचत रकम फिर्ता लिन आई तुरुन्त रकम फिर्ता गर भनी संस्थामा घेराउ गरेकाले बिना सूचना नै संस्था बन्द गरेका हौँ भनी संस्था बन्द गरेको कुरामा साविती भै वयान गरेको, जाहेरीवालाहरुले अदालतमा आई आफ्नो जाहेरीलाई समर्थन हुने गरी वकपत्र गरेका, निश्चित समयपश्चात रकम फिर्ता गर्नुपर्ने दायित्व भएको सञ्चालक समितिले आफ्नो दायित्व पूरा नगरेको र निज प्रतिवादीले अदालत एवं अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा जाहेरीवालहरूको वचत रकम फिर्ता गरिसकिएको छ भनी भन्न नसकेको अवस्थामा जाहेरी कथन र अभियोग दावी सत्य साँचो नै भएको देखियो ।
५. मुलुकी ऐन ठगीको महलको १ न. मा “कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई फकाई वा जाल परिपञ्च गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झूठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गलफतमा पारी ...... लिएमा ठगी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको अवस्थामा पुनरावेदक प्रतिवादी नारायण थापासमेतका प्रतिवादीहरूले जाहेरवालाहरूको रकम आफ्नो सहकारी संस्थामा राम्रो व्याज दिने भनी आकर्षण देखाई रकम जम्मा गर्न लगाई निजहरूले मागेको वखत रकम फिर्ता नदिई संस्था नै बन्द गरी हिडेको कार्यलाई वचत कर्ताहरूलाई गलफतमा पारी धोका दिएको होइन भन्न कानूनतः मिल्ने अवस्था देखिन आएन ।
६. तसर्थ पञ्चकन्या वचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमध्ये नारायण थापा समेतले ठगीको १ नं. विपरीतको कसूर अपराध गरेका प्रमाणित भएकोले जनही एक १ वर्ष कैद र जरीवाना रु.१२,६१५०६ गर्ने गरी भएको फैसला नमिलेकोले केही उल्टी भई पुनरावेदक प्रतिवादीहरूलाई कायम भएको बिगो रु.१२,६१,५०६।– को दामासाहीले जरीवाना हुने ठहराई गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमबमोजिम गरी बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.मीनबहादुर रायमाझी
इजलास अधिकृत (उप–सचिव): मोहनराज भट्टराई
इति संवत् २०६५ साल चैत्र ९ गते रोज १ शुभम्