निर्णय नं. ६४९५ - सरकारी कागजमा दस्तखत कीर्ते ।

निर्णय नं. ६४९५ ने.का.प. २०५५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
संवत् २०५२ सालको फौ.पु. नं.- -१२९६
फैसला मितिः- २०५४।८।२४।३
मुद्दाः- सरकारी कागजमा दस्तखत कीर्ते ।
पुनरावेदक/प्रतिवादीः चितवन जिल्ला पंचकन्या गा.वि.स. वडा नं. ९ घर भै हाल कारागार शाखा चितवनमा थुनामा रहेको राजकुमार अधिकारी ।
विरुद्ध
विपक्षी/वादीः चितवन जिल्ला अदालतका स.ले.पा. रामहरी घरेलको प्रतिवेदनले श्री ५ को सरकार ।
§ जुन जिल्ला न्यायाधीशको दस्तखत नै विवादास्पद भएको हो सोही न्यायाधीशले प्रस्तुत मुद्दा फैसला गरेको देखियो । दस्तखत राज कुमार अधिकारीले कीर्ते गरेको हो भन्ने व्यहोराको कागज गर्ने जिल्ला न्यायाधीश स्वयंबाट फैसला गर्न मुलुकी ऐन अदालती वन्दोवस्तको ३० नं. विपरीत हुने ।
(प्र.नं. १९)
पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री ज्योती वांनिया
प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापति
अवलम्वित नजिरः x
फैसला
न्या. राजेन्द्रराज नाख्वाः यसमा पुनरावेदन अदालत हेटौडाको मिति २०५२।१।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. म चितवन जिल्ला अदालतको सह लेखापाल हुं । उक्त अदालतले राजकुमार अधिकारीलाई सहयोगी फांटवालाको रुपमा राखिएको हुंदा मैले पनि निजबाट लेखाफांटको काममा सहयोग लिदै आएको थिएं । म अदालतमा अनुपस्थित रहेको समयमा मेरो फांटको दराजको चावीहरु निजलाई दिने गरेको थिएं । २०५०।८।१८ गते चावी निज राज कुमारलाई दिई क्या.वि. लिएर घरायसी कामको लागि वरगंज गएको थिएं । २०५० साल मार्ग महिनाको मास्केवारी वनाउने सिलसिलामा बैंकबाट स्टेटमेन्ट झिकाई हेर्दा स.अ. ३३ ख ३ धरौटी खातामा रु. १,८४०३०।१० फरक रा.वा. वैंक भरतपुर शाखामा पत्र लेख्दा उक्त वैंकबाट राजकुमार अधिकारीले रकम झिकी लगेको भन्ने पत्र प्राप्त भएकोले वैंकमा गई हेर्दा मेरो र न्यायाधीश ज्यूको कीर्ते दस्तखतबाट चेक नं. ०३७५४७२ बाट रु. १०७२००। र चेक नं. २५७३०० बाट रु. १८४०३०।१० निज राजकुमार अधिकारीले झिकेको स्पष्ट भएकोले जिल्ला अदालतको छाप लागेको अधकट्टी सहित चेक चोरी गरी कीर्ते गरेर वैंकबाट सरकारी पैसा झिकी फरार रहेकोले कानून वमोजिम कारवाई गरी सरकारी कागज कीर्तेमा सजाय गरी पाउं भन्ने समेतको स.ले.पा. रामहरी घरेलको जाहेरी प्रतिवेदन ।
३. पर्सा जिल्ला अन्तर्गत विरगंजमा नेपाल भारत सिमानामा रहेको अवस्था राजकुमार अधिकारीलाई म समेतका प्रहरी कर्मचारीले पक्राउ गरी दाखेला गरेका छौं । आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको प्र.स.नि. रुद्र बहादुर गोले समेतको प्रतिवेदन ।
४. प्र. राज कुमार अधिकारीको शरीर खान तलासी गर्दा नेपाली रु. ३२,०००। भारतिय रु. ७३,५००। जम्मा ने.रु. १४९६००। वरामद भएको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।
५. म २०४२ साल देखि चितवन जिल्ला अदालतको वहिदार पदमा कार्यरत थिएं । मलेखाफांटको सहयोग कर्मचारी भई काकाज गर्दै आउको थिएं । मेरो आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण मैले उक्त फांटमा काम गर्न शुरु गरे देखि नै अदालतको धरौटी रकम मासी खाने गर्दथे । मैले वैंक दाखिला नगरी मासी खाउको धरौटीको रहक अदालतलाई फिर्ता गर्न नसक्ने अवस्था पुगेपछि अरु पैसा पनि निकाली भारत गई व्यवसाय गरी वस्ने योजना बनाई स.ले.पा. रामहरी घरेल विदा वसेको मौका पारी उक्त अदालतको छाप लागेको नं. ०३७५४७२ को साधारण खाताको चेक थान १ र नं. ०५७३२० को धरौटी खाताको चेक थान १ समेत चेक प्याडबाट अर्धकट्टी समेत निकाली सो सरकारी छाप भएको चेकमा जिल्ला न्यायाधीश श्री फणिन्द्र दत्त शर्मा र स.ले.पा. रामहरी घरेल समेतको दस्तखत कीर्ते गरी ०३७५४७२ को मिति २०५०।८।१८ गतेको चेकबाट ऐ. २० गतेको रु. १०७२०० र नं. ०५७३२०० मिति २०५०।८।२४ गतेको चेकबाट रु. १८४०३०।१० समेत रा.वा.वैंक शाखा कार्यालय भरतपुरबाट निकाली लिएको हुं । उपरोक्त दुवै चेकमा म आफैले दस्तखत कीर्ते गरेको हुं । कीर्तेगरी झिकेको रुपैया मध्ये भा.रु. ७३५००। र नेपाली ३२०००। समेत वरामद गरेको ठिक सांचो हो रकम मैले खाई मासी सकें । म वाहेक अपराधमा अन्य व्यक्तिको संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार अधिकारीको वयान कागज ।
६. मिति २०५०।८।२० र ऐ. २४ गते प्राप्त हुन आएको नं. ०३७५४७२ र नं. ०५७३२०० को चेकमा भएको दस्तखत र रा.वा.वैंक भरतपुर शाखामा रहेको जिल्ला न्यायाधीश श्री फणिन्द्रदत्त शर्माको दस्तखत र स.ले.पा. रामहरी घरेल समेतको नमुना दस्तखत झिडाउंदा चेकमा रहेको दस्तखत नमुना वमोजिम दुरुस्त रहेकोले मैले नै खस्तखत ठिक छ भनी प्रमाणित गरी दिएको हुं । प्रतिवादीसंग मेरो चिनाजानी तथा देखभेट समेत छैन र मेरो संलग्नता पनि छैन भन्ने समेत व्यहोराको चेक जांच गर्न खटिएका रा.वा.वैंक शाखा कार्यालय भरतपुरका व.स. पशुपति शर्मा पराजुलीको कागज ।
७. हाल पक्राउमा परेका प्रतिवादी राजेन्द्र भन्ने राज कुमार अधिकारी चितवन जिल्ला अदालतको लेखाफांटको वहिदार पदमा कार्यरत रहंदा उक्त अदालतको छाप लागेको सरकारी चेकमा जिल्ला न्यायाधीश र स.ले.पा. रामहरी घरेल समेतको दस्तखत कीर्ते गरी उक्त अदालतको रा.वा.वैंक शाखा कार्यालय भरतपुरमा रहेको स.अ. ३३(ख) ३ धरौटी खाताबाट रु. १८४०३०।१० र स.अ. १५(ख) १ साधारण खाताबाट रु. १०७२००। समेत निकाली फरार भएको भन्ने कुरा सुनि थाहा पाएं के हो पछि निज प्रतिवादी पक्राउमा परी तलासी लिंदा भा.रु. ७३५००। ने.रु. ३२०००। समेत वरामद भएको र निजले अपराध गरेकोमा स्वीकारेको हुंदा निजले सव कीर्तेको अपारध गरेको विश्वास लाग्छ भन्ने समेत व्यहोराको मिति २०५०।१०।१८ को मुचुल्का ।
८. राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय भरतपुरबाट झकाइएको नं. ०३७५४७२ र नं. ०५७३२०० को चेकको फोटोकपीमा भएको दस्तखत हामीहरुको सक्कली दस्तखत होइन सो चेकमा भएको दस्तखत प्रतिवादी राजकुमार अधिकारीलेक र्ते गरेको दस्तखत हो भन्ने जिल्ला न्यायाधीश फणिन्द्रदत्त शर्मा समेतले गरी दिनु भएको सनाखत कागज ।
९. प्रतिवादी राजेन्द्र भन्ने राज कुमार अधिकारीले चितवन जिल्ला अदालत भरतपुरको लेखाफांटमा रहेको उक्त अदालतको छाप लागेको साधारण विनियोजन तर्पको नं. ०३७५४७२ र धरौट तर्पको नं. ०५७३२०० को सरकारी चेक झिकी चोरी गरी सो सरकारी चेकमा चितवन जिल्ला अदालतका न्यायाधीश फणिन्द्रदत्त शर्मा र स.ले.पा. रामहरी घरेल समेतको सही (दस्तखत) कीर्ते गरी उक्त अदालतको रा.वा.वैंक भरतपुर शाखामा रहेको स.अ. १५(ख) १ साधारण खाताको नं. ०३७५४७२ र मिति २०५।८।१८ गतेको चेकबाट ऐ. २० गते रु. १०७२००। र स.अ. ३३(ख) ३ धरौटी खाताको नं. ०५७३२०० मिति २०५०।८।२४ गतेको चेकबाट सोही मितिमा रु. १८४०३०।१० झिकी लिई सरकारी सम्पत्ति खाई मासी मुलुकी ऐन कीर्ते कागजको महलको १ नं. को कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी राजेन्द्र भन्ने राजकुमार अधिकारीलाई ऐ. महलको ७ नं. अनुसार निजले कीर्ते गरी लिएको सरकारी सम्पत्ति विगो रु. २८१२३०।१० मध्ये १४९६००। वरामद भइ आएकोले सो रकम कानून वमोजिम चितवन जिल्ला अदालतलाई फिर्ता दिलाई वांकी रु. १४१६३०।१० निज प्रतिवादी सोही अड्डाको कर्मचारी भएकोले ऐ. महलको १, २ नं. वमोजिम थप संजाय समेत हुन माग दावी लिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
१०. म यस चितवन जिल्ला अदालतको वहिदार पदमा रही लेखाफांटमा सहयोगको रुपमा काम गर्दै आएको थिएं । घरको दैनिक समस्या टार्न सारै मुश्किल पर्दथ्यो र मैले वाध्य भएर यसै अदालतबाट विभिन्न मुद्दामा धरौटी राख्न ल्याएको शंकर बहादुर वि.क. भएको चोरी मुद्दामा रु. १४१५५। घर खर्च गरे । सो रकम सोध भर्ना गर्न अनेक प्रयासहरु गरें तर सकिन । विभिन्न मुद्दाबाट धरौटी रकम ४५।४६ हजार सम्म गरी विदेश जाने भनी विदेश लैजाने व्यक्तिको खोजी गरी उक्त रकम दिए उक्त मानिस भाग्यो भन्ने हल्ला सुनें । दिन दिनै मेरो अवस्था विग्रदै गएकोले मिति २०५०।८।१८ गते अफिस आउंदा मैले काम गर्ने शाखाका सह लेखापाल रामहरी घरेल घरायसी ताला चावी सुम्पी जानु भएको समयमा लेखा शाखामा रहेको दराजबाट विनियोजन साधारण खाताको चेक निकाली २०५०।८।१८ गते नै मिति लेखी रु. १०७२००। अंक र अक्षर साथै खाता नम्वर समेत लेखि दस्तखत नगरी आफ्नो पकेटमा राखेको थिए, संगै रहने भएकोले निज स.ले.पा. रामहरी घरेलको दस्तखत मलाई राम्रै याद थियो । श्रीमान जि. न्या.ज्यूको दस्तखत गर्न २० गते सम्म जि.न्या. ज्यू र स.ले.पा. दुवैजना नभएको समयमा दुवै दस्तखत म आफै गरेर उक्त चेक लिएर रा.वा.वैंक भरतपुर शाखामा गई उक्त चेकबाट रु.१०७२००। निकाली सिधै घरमा गएं । उक्त रुपैया घरमा राखी ३.३० वजे पुनः अफिश फर्कें । उक्त २० गते धरौटी साधारण खाताको चेक निकाली फेरी पनि रु. १८४०३०।१० अघिल्लो विनियोजन साधारण खाताको चेकमा दस्तखत गरे जस्तै गरी उक्त रुपैया कुनै काल्पनिक नाम राखी म आफु स्ययम् गई रा.वा.वैंक भरतपुर शाखाबाट रुपैया निकाली भा. रु. ७३५००। ने.रु.३२०००। मैले कीर्ते दस्तखत गरी निकालेको रुपैया नध्येकै रकम हो । मैले उपरोक्त कामहरु आफ्नै मजवुरीले गरेको हुं । उक्त रुपैयाहरु तिर्न वुझाउन तत्काल सकिन, पछि वुझाउने छुं । रकम खाने नियत नराखेको हुंदा काम संजाय हुनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार अधिकारीले अदालतमा गरेको वयान ।
११. एउटै विषय वस्तुमा दुइवटा मुद्दवाट छुट्टैछुट्टै ऐनको संजाय माग गरी एउटै रकम दोहोरो विगोको दावी भएको देखिंदा विगो दाविको हकमा विचार गरी रहन परेन । वादीको सो विगोको दावी र सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसुची भित्र नपर्ने मुद्दालाई सो ऐन वमोजिम दर्ता भएकोलाई मान्न मिलेन । प्रस्तुत मुद्दा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ । प्रतिवादीबाट दाखिल भएको यस अदालतको धरौटीमा रहेको रु. १,४९६००। यसै लगाउको भ्रष्ट्राचार मुद्दामा भएको फैसला वमोजिम गर्नु भन्ने समेतको शुरु चितवन जिल्ला अदालतको मिति २०५१।३।१३ को फैसला ।
१२. प्रचलित कानूनी व्यवस्थाको अर्थलगाई कीर्तेको परिभाषा भित्र नपर्ने तथा सरकारी मुद्दा सम्वन्धि ऐन, २०४९ अनुसुची १ भित्रको मुद्दा नरहेको भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको वेवास्ता गरी खारेज गर्ने ठहर्याएको शुरु चितवन जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी अभियोग माग दावी वमोजिम प्रतिवादीलाई संजाय गरी पाउं भन्ने समेतको श्री ५ को सरकारको पुनरावेदन ।
१३. सरकारी दस्तखत कीर्ते गरेको मुद्दा सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को अनुसूची १ को खण्ड ११ मा परेको देखिएकोले शुरुले उक्त ऐनको अनुसूची भित्र प्रस्तुत मुद्दा नपरेको भनी गरेको खारेजी फैसला मिलेको नदेखिंदा फरक पर्ने भएकोले विपक्षी झिकाउने भन्ने समेतको पुनरावेदन अदालत हेटौडाको मिति २०५१।११।२२।२ को आदेश ।
१४. यसमा शुरु चितवन जिल्ला अदालतले सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ अनुसूची १ भित्र पर्ने देखिन आएन भनी खारेज गर्ने गरेको निर्णय मिलेन । सरकारी दस्तखत कीर्ते गरेको मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची १ को खण्ड ११ मा परेको देखिएकोले र प्रस्तुत मुद्दामा प्रतिवादीले चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश र सहायक लेखापलको सहिछाप कीर्ते गरी वैंकबाट रुपैया निकालेको तथ्य स्थापित भै रहेको अवस्थामा र निजले सरकारी दस्तखत कीर्ते गरेको होइन भन्न न्याय र कानूनको रोहमा मिलेन । तसर्थ मुलुकी ऐन कीर्ते कागजको १ नं. को कसूर प्रतिवादी राज कुमारले गरेको ठहर्छ र मुलुकी ऐन कीर्ते कागजको ७ नं. ले संजाय हुने भै विगोको हकमा भ्रष्ट्राचार मुनामा वोली सकेको हुंदा यसमा वोली रहन परेन । कीर्ते तर्फ मुलुकी ऐन कीर्ते कागजको १२ नं. वमोजिम २ वर्ष कैद समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५२।१।२० को फैसला ।
१५. आफ्नो मुद्दामा आफै न्यायधीश हुनु हुदैन (No one shall be a judge in his own case) भन्ने प्रकाकृतिक न्यायको सिद्धान्तलाई हाम्रो कार्यविधि कानूनमा आधारभुत सिद्धान्तको रुपमा ग्रहण गरिएको छ । तर म पुनरावेदकलाई प्रतिवादी बनाइएको प्रस्तुत मुद्दामा चितवन जिल्ला अदालतका जिल्ला न्यायधीश कार्यालय प्रमुख रहेको पत्र समेतको आधारमा म उपर मुद्दा चलेको छ । तर विभागिय दायित्व भएको उक्त मुद्दा आफैले शुर फैसला गर्न नहुने भै मुलुकी ऐन अ.वं. ३० नं. को देहाय (२) वमोजिम अन्यल अधिकारीले हेर्नु पर्नेमा सो वमोजिम नगरी आफैले आफू समेत पक्ष सरह वनेको मुद्दा हेरी फैसला गर्नु भएको छ । यसरी शुरु जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्न देखि लिएर सो मुद्दामा भए गरेको सम्पूर्ण आदेश फैसला र सो उपरको पुनरावेदन अदालत हेटौंडाको फैसला समेत प्राकृतिक न्यायको सिद्धान्त मु.ऐ. अ.वं. ३० नं. र सम्मानित सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त समेतको प्रतिकूल भएकोले खारेज भागी भएकोले सो फैसला वदर गरी अभियोगबाट सफाई पाउने गरी न्याय निरोपण गरी पाउं भन्ने पुनरावेदक प्रतिवादी राज कुमार अधिकारीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।
१६. यसमा चेकमा रहेको न्यायाधीशको दस्तखतमा विवाद उठाएपछि सोही न्यायाधीशबाट गरिएको फैसला न्यायका मान्य सिद्धान्तका प्रतिकूल देखिंदा सो फैसला सदर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०५२।१।२० को फैसला नमिलेको हुंदा महान्यायाधिवक्ताको कार्यालयलाई अ.वं. २०२ नं. वमोजिम सूचना दिई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।८।१८ को आदेश ।
१७. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुनामा मिसिल अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ज्योती वानीयाले जुन जिल्ला न्यायाधीशको दस्तखत कीर्ते गर्यो भनी मुद्दा चलेको छ, सोही न्यायाधीशले मुद्दा किनारा गर्नु प्राकृतिक न्यायको सिद्धान्त तथा अ.वं. ३० नं. विपरित छ । कीर्ते गरिसएको भनिएको चेकको दस्तखत अधिकार प्राप्त विशेषज्ञद्वारा परीक्षण गरिएको छैन, वैंकको चेक जांच गर्न खटिएका कर्मचारीले सहीछाप दुरुस्त छ भनी प्रमाणित गरी दिएको हुं भनी वयान गरेको र जिल्ला न्यायाधीश र सहलेखापलले हाम्रो सक्कली दस्तखत होइन भनी सनाखत गरी दिएपछि मुख नमिलेको कुरामा विशेषज्ञद्वारा परिक्षण गराउनु पर्थ्यो सो गरिएको छैन । तसर्थ पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी आफ्नो वहस प्रस्तुत गर्नुभयो ।
१८. प्रत्यर्थी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापतिले प्रतिवादी अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत आफुले चेक चोरी गरी जिल्ला न्यायाधीश र सह लेखापालको सहिछाप कीर्ते दस्तखत गरी रुपैया झिकेको कुरामा सावित भई रहेको अवस्था छ, यस्तो सावितिलाई अन्यथा भन्न नमिल्ने हुंदा पुनरावेदनको फैसला सदर हुनु पर्छ भनी आफ्नो वहस प्रस्तुत गर्नु भयो ।
१९. यसमा निर्णय तर्फ विचार गर्दा स.ले.पा. सामहरी घरेलले जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी राजेन्द्र भन्ने राज कुमार अधिकारी भएको चितवन जिल्ला अदालतको छाप भएको सरकारी चेकमा दस्तखत कीर्ते गरी मिति २०५०।८।१८ गते चेक नं. ०३७५४७२ बाट रु. १०७२००। र मिति २०५०।८।२४ गते चेक नं. ०५७३२०० बाट रु. १८४०३०।१० समेत जम्मा रु. २९१२३०।१० रा.वा.वैंक शाखा कार्यालय भरतपुरबाट रुपैया निकाली लिएको कीर्ते मुद्दामा जि.प्र.का. चितवन भरतपुरको च.नं. ३०३३ मिति २०५०।१०।१९ गतेको पत्र साथ प्राप्त चेकको फोटोकपीमा भएको यस अदालतका स.ले.पा. र जिल्ला न्यायाधीश फणिन्द्रदत्त शर्माको दस्तखत हाम्रो होइन र प्र. राजकुमार अधिकारीले नै कीर्ते गरेको भनी सनाखत व्यहोराको कागज जिल्ला न्यायाधीश फणिन्द्रदत्त शर्मा समेतबाट २०५०।१०।२१ मा भएको देखिन्छ । चेक र दस्तखत नमुना कार्ड सक्कल मिसिल संलग्न देखिंदैन । विवादित दस्तखत विशेषज्ञबाट परिक्षण भएको समेत पाइएन । जुन जिल्ला न्यायधीशको दस्तखत नै विवादास्पद भएको हो सोही न्यायाधीशले प्रस्तुत मुद्दा फैसला गरेको देखियो। दस्तखत राज कुमार अधिकारीले कीर्ते गरेको हो भन्ने व्यहोराको कागज गर्ने जिल्ला न्यायाधीश स्वयंबाट फैसला गर्न मुलुकी ऐन अदालती वन्दोवस्तको ३० नं. विपरित हुन्छ तसर्थ शुरु चितवन जिल्ला अदालतबाट भएको मिति २०५१।३।१३ को फैसला र पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।१।२० को फैसला उल्टी हुन्छ । हाल चितवन जिल्ला अदालतमा अर्कै न्यायाधीश वहाल रहेकोले कानून वमोजिम जे जो बुझ्नु पर्ने बुझि प्रस्तुत मुना इन्साफ गर्नु भनी मिसिल शुरु चितवन जिल्ला अदालतमा पठाई दिने ठहर्छ । यस अदालतको रेकर्ड मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदार नाथ उपाध्याय
इति सम्बत् २०५४ साल मार्ग २४ गते रोज ३ शुभम् ----------।