शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४९८ - जग्गा खिचोला चलन ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६४९८          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

संवत् २०५१ सालको दे.पु. नं.- -२१७४

फैसला मितिः- २०५४।६।१४।३

 

मुद्दाः- जग्गा खिचोला चलन  ।

पुनरावेदक/वादीः   जिल्ला  कास्की निर्मल पोखरी गा .वि . स. वडा नं. ८ बस्ने दुर्गा प्रसाद उपाध्याय  ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ. ऐ.  बस्ने ठूलो लक्ष्मी प्रसाद पौडेल समेत जना ४  ।

 

  • वादीले दावी लिएको जग्गाको दर्ता श्रेस्ता प्राप्‍त गर्न सकेको देखिदैन । कुनै पनि जग्गाको दर्ता श्रेस्ता प्रमाणित रुपमा सो जग्गाको धनी भनी दावी गर्नेले प्राप्‍त गरेकै हुनुपर्दछ । अन्यथा सो जग्गाको विधिवतः हक स्थापित जग्गाधनी मान्न   नमिल्ने । 

(प्र.नं. १०)

  • मालपोत कार्यालयबाट जग्गा दर्ता गराई विधिवत श्रेस्ता कायम गराए पश्‍चात मात्र त्यस्तो जग्गामा हक स्थापित हुने र अदालतले सो हक प्रचलन गराउने हो, यसमा वादीले दावीको जग्गामा आफ्नु हक पुग्ने प्रमाण लिएर आएपछि मात्र उजुर लाग्ने प्रकृया प्रारम्भ हुन सक्ने हुंदा प्रस्तुत दावी नपुग्ने भै खारेज हुने ठहराएको पुनरावेदन अदालत पोखराको निर्णय मिलेकै देखिदा मनासिव ठहर्ने ।

(प्र.नं. १०)

पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद सापकोटा

प्रत्यर्थी तर्फबाटः x

अवलम्वित नजिरः x

फैसला

न्या. गोविन्द बहादुर श्रेष्‍ठः  पुनरावेदन अदालत पोखराको मिति २०४९।१।२८ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१)  को खण्ड (क) र (ख) अन्तर्गत दोहोर्‍याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः-

२.             पिताजी धर्मदत्त उपाध्यायले मिति २०१९।१०।१० मा दाताराम उपाध्याय पौडेलसंग जि. मु. नन्दराज जिम्मा १९९९ सालका ३ महले मोठमा म दाताराम कै नाउंमा १८।१३।३ खेत दर्ता भए मध्ये पूर्व कूलो, पश्‍चिम सानो लक्ष्मी प्रसाद सांध दक्षिण मोतिलालाको सांध, उत्तर खोला पहरो यति ४ कित्ता १ राजिनामा गरी लिई भोग चलन गर्दै आइरहेको छु । उल्लेखित राजिनामाबाट प्राप्‍त जग्गा दर्तावाला दातारामका २ छोरा मध्ये जेठो छोरा सानो लक्ष्मी प्रसादले आफू छुट्टि भिन्न भै वसेको छोरालाई दिएको अंश मेरा पिता धर्मदत्त पाध्या र म दुर्गा प्रसाद पाध्या समेतले हटक खिचोला गरे भनी २०२६ सालमा स्याङजा जिल्ला अदालतमा फिराद दिंदा मेरा पिताजीले दाताराम संगबाट राजिनामा लिनु भएको जग्गा मात्र खाई भोगी आएका छौं भन्ने प्रतिउत्तर लगाएपछि अंचल अदालत समेत दुवै तहबाट हाम्रा हकमा फैसला भै पूर्व तेस्रो कूलो, पश्‍चिम सानो लक्ष्मी प्रसाद र कुनाका खोलादेखि सोही खेतमा जाने कूला माथिका ३ गरा फोहोटा देखि सोझो मिठापानी खोला तक देखि पूर्व उत्तर खोला दक्षिण मोतिलालको सांध भनेको मिठापानी खोलो समेत ४ किल्ला भित्रको माझको डाँडा भन्ने खेत २०२९।८।५ को अंचल अदालतको फैसला समेतबाट हाम्रो राजिनामा भित्रको जग्गा ठहर्‍याई आफ्नो जानी भोग गर्दै आएको छुं । उल्लेखित फैसला समेतबाट प्राप्‍त ४ किल्ला भित्र मेरो घर गोठ समेत भएको जग्गा म घरदेखि निकै टाढा शिक्षक पेशामा रहेको अवस्थामा हाल नापी भएको र सो नापीमा मेरो नाउंमा नाप जांच हुन छुट हुन गएकोमा नाप जांच दर्ता तर्फ छुट्टै कारवाही गरी भोग चलन गरी आइ रहेकोमा मिति २०४५।३।१२ मा विपक्ष मध्येका ठूलो लक्ष्मी प्रसाद पौडेल समेतले यो जग्गा हाम्रो भाई अंश हो भनी हटक खिचोला गरेकाले फिराद गर्न आएको छुं । यी विपक्षीहरुले आफ्ना अंश भागमा परेको जग्गा सानो लक्ष्मी प्रसादको जग्गा देखि पश्‍चिम किल्ला छुट्टाछुट्टै भोगी आई रहेका छन । अतः तपसलका साक्षी प्रमाण जग्गाको नाम नक्सा समेत जो गर्नु पर्छ गरी मेरा फैसला समेतबाट प्राप्‍त जग्गामा विपक्षीहरुको खिचोला मेटाई चलन समेत चलाई पाउं भन्ने समेत व्यहोराको दुर्गा प्रसाद उपाध्यायको फिराद पत्र ।

३.             विपक्षीले दावी लिएको पूर्व कूलो पश्‍चिम सानो लक्ष्मी प्रसादको सांध उत्रर पहरो र म कृष्ण प्रसादको सांध दक्षिण मोलिलालको सांध यति ४ किल्ला भित्रको जग्गा विपक्षीका वावुले राजिनामा गरी लिएको ३५ हात जग्गा विपक्षीको हो र सो जग्गामा विपक्षीले घर बनाई वसोवास गर्दै आएका छन । त्यसमा हामीहरुको कुनै दावी विरोध छैन । विपक्षीको हात आफ्नो जग्गा देखि दक्षिण तर्फ रहेका हामी मोलिलाल, तुल्सी, सानो रमानाथ, गोविन्द, टिकाराम, ठूलो लक्ष्मी प्रसाद समेतको जग्गा पर्दछ । हामीहरुले भोग चलन गर्दै आएका छौं । यसरी हामीहरुको परापूर्व कालदेखि राजिनामा दर्ता समेतको जग्गा खाने दुरासय लिई आफ्नो जग्गा छुट्टै छंदाछदै यो झूठा फिराद दिएका हुन । विपक्षीले दावी लिएको जग्गा हाल सम्म विपक्षीका नाउंमा कित्ताकाट भएको र दर्ता भएको २०३२ सालमा सर्भे नापी भएको र आज १३ वर्ष सम्म पनि विपक्षीले आफ्ना नाउंमा कित्ता कटाउन सम्म नसकेका र दर्ता समेत नभएको जग्गामा अ. वं. ८२ नं. ले फिराद दायर गर्न पाउने अकाधिकार विपक्षीलाई नभएको र ज. मि. को १८ नं. तथा जग्गा आवाद गर्नेको १४ नं. समेतको प्रतिकूल प्रस्तुत फिरादबाट इन्साफ गर्नुपर्ने कुनै औचित्य नहुंदा अ. वं. १८० नं. वमोजिम खारेज गरी पाउं । उल्लेखित कथनलाई प्रतिकूल असर नपर्ने गरी हेरिएको खण्डमा पनि विपक्षी वादीका वावुले दातारामबाट राजिनामा गरी लिएको र सानो लक्ष्मी प्रसाद संग मुद्दा परी फैसला भएको जग्गामा हामीहरुको कुने कसैको दावी विरोध छैन र सो जग्गा विपक्षले आवाद कमोद गरेका छन । विपक्षीका वावुले राजिनामा लिएको जग्गा र हाम्रो जग्गा तथा विपक्षीको छोरा तिर्थराज समेतको जग्गा पर्दछ । हामीहरु समेत २१ जना अर्थात दातारामका नाउंमा दर्ता भएको खेत मुरी ।१८।१३।३ मध्ये दामाशाहीले खेत पाथी ।१७।६ का दरले २१ भाग लगाई २१ भागको १ भाग मात्र विपक्षीको र वांकी २० भाग हामी चेतभक्त, तुल्सी प्रसाद लक्ष्मी प्रसाद तीर्थराज टिकाराम समेतका २० जनाले दमाशाहीले वरावर भोग चलन गर्दै आएका छौं । विपक्षीको जग्गामा हामीहरु कुनै सकैले पनि खिचोला नगरेको हुंदा विपक्षीको झूठा फिराद दावीबाट अलग फुर्सद गरी पाउं भन्ने  समेत व्यहोराको ठूलो लक्ष्मी प्रसाद पौडेल समेत जना ४ को संयुक्त प्रतिउत्तर   पत्र ।

४.             बुझिएका वादी प्रतिवादी दुवै पक्षका साक्षीहरुबाट भएको वकपत्र तथा विवादित जग्गाको मिति २०४७।८।२७ को नक्सा मुचुल्का समेत मिसिल संलग्न रहेको ।

५.             विवादित जग्गामा वादी प्रतिवादीको हक नै कानूनी रुपमा स्थापित भई सकेको नदेखिंदा वादीको दावी पुग्ने देखिंदैन । वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४७।११।१ को कास्की जिल्ला अदालतको फैसला ।

६.             मेरो राजिनामा र फैसला नै वोली रहेको छंदाछदै न्यायको विन्दु ने नरहने गरी फैसलाबाट जिति पाएको जग्गा लोप हुने गरी गरेको शुरुको इन्साफमा चित्त बुझेन । अतः कास्की जिल्ला अदालतबाट भएको खारेजी फैसला वदर गरी मेरो वादी दावी वमोजिम विवादित जग्गामा विपक्षीहरुको खिचोला मेटाई पाउं भन्ने समेत व्यहोराको वादी दुर्गा प्रसाद उपाध्यायको पुनरावेदन पत्र । 

७.             दर्ता र नाम नक्सा नै नभएको जग्गालाई वादीको यो यहां नीरको जग्गामा हक पुगेको भन्न र वादी दावी वमोजिम खिचोला गरेको भन्न मिल्ने र सकिने स्थिति देखिंदैन । आफ्नु हक दर्ता समेतबाट आफ्नु दावी प्रमाणित गर्ने दायित्व वादीकै हो सो भए गरेको नदेखिएबाट वादी दावी नपुग्ने भई खारेज हुने ठहराएको शुरुको इन्साफ सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०४९।१।२८ को फैसला ।

८.             विवादित जग्गामा २०१९ सालको राजिनामा र मिति २०२९।८।५ को गण्डकी अंचल अदालतको फैसला द्वारा मेरो हक स्थापित भएको जग्गामा मेरो हक नै नपुगेको भनी खिचोला नठहराएको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण हुंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) अन्तर्गत मुद्दा दोहोर्‍याई हेरी उक्त फैसला वदर गरी वादी दावी वमोजिम गरी पाउं भन्ने समेत यस अदालत समक्ष परेको निवेदन पत्र ।

९.             यसमा वादीले विवादित जग्गा गण्डको अंचल अदालतबाट मिति २०२९।८।५ मा जिति पाएको भनी मिति २०४७।८।२० मा भएको नक्सा मुचुल्कामा उल्लेख गरेको किल्ला भित्रै विवादित जग्गा परेको देखिंदा नापी नहुदैमा जग्गाको अस्तित्व लोप हुन नसक्ने हुनाले पुनरावेदन अदालत पोखराको मिति २०४९।१।२८ को फैसलामा अ. वं. ८२ नं. समेतको त्रुटी देखिंदा न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१) को खण्ड (क)(ख) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०५१।६।६ को आदेश ।

१०.          नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी पुनरावेदक पक्षबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद सापकोटाले २०२९ सालमा अदालतबाट जिती पाएको वादीहरुको जग्गा नापीका समय दर्ता गराउन छुट भएपनि २०४६ सालमा जग्गा दर्ताका लागि मालपोत कार्यालय जांदा वन सिमानामा परेको भनी र उहीले जग्गा दर्ता गर्ने नगरिएको भनी जवाफ दिएको जग्गा दर्ता हुन नसकेको मात्र हो, विवादित जग्गामा मेरो पक्षको हक छ समेत भनी गर्नु भएको वहस समेत सुनी पुनरावेदन अदालत पोखराले गरेको फैसला मिले नमिलेको के रहेछ भनी हेरी निर्माण तर्फ विचार गर्दा यसमा माझको डांडा भन्ने खेत गण्डकी अंचल अदालतको मिति २०२९।८।५ को फैसला समेतबाट हाम्रो राजिनामा भित्रको जग्गा ठहरीएकोमा म घर देखि टाढा रहेको अवस्थामा नाप जांच दर्ता छुट भएपनि सो तर्फ छुट्टै कारवाही गरी भोग चलन गरी आई रहेकोमा विपक्षीहरुले खिचोला गरेकोले खिचोला मेटाई चलन समेत चलाई पाउं भन्ने वादी दावी र वादीको कुनै जग्गामा खिचोला गरेको छैन वादी दावीको जग्गा मध्य निजको घर वसोवास भएको जग्गा वादीकै हो र सो देखि दक्षिण तर्फ रहेको जग्गा हाम्रो हुंदा भोग चलन गरी आएका छौं भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ । प्रस्तुत मुद्दामा वादीले दावी लिएको जग्गाको दर्ता श्रेस्ता प्राप्‍त गर्न सकेको देखिंदैन । कुनै पनि जग्गाको दर्ता श्रेस्ता प्रमाणित रुपमा सो जग्गाको धनी भनी दावी गर्नेले प्राप्‍त गरेकै हुनु पर्दछ । अन्यथा सो जग्गाको विधिवत हक स्थापित जग्गाधनी मान्न मिल्दैन । वादीले उक्त जग्गा दावी वमोजिम २०२९ सालमा मुद्दाबाट जितेकै भएपनि जग्गा नाप जांच ऐन, २०१९ वमोजिम नेपाल अधिराज्यका सवै नागरिकले आआफ्ना जिल्लामा नापी हुंदा सो नापीमा गै आफ्नु हकको जग्गा नाप तथा तत्पश्‍चात विधिवत दर्ता गराई तिरो समेत तिरेको हुनु पर्छ । अन्यथा सो जग्गामा निजको हक स्थापित भएको मानिदैन। पिता धर्मदत्तले दातारामबाट ०१९ सालमा लिएको राजिनामा भित्रको जग्गा ठहर गरी गण्डकी अंचल अदालतबाट मिति २०२९।८।५ मा भएको फैसला वमोजिम जिति पाएको जग्गा भन्ने वादी दावी तर्फ हेर्दा उक्त २०१९ सालको राजिनामाको चार किल्ला भित्रै यी वादीको ३५ हात जग्गा र सो जग्गामा घर समेत मुख मिलेको र अदालतबाट मिति २०४७।८।२७ मा भै आएको नक्साको न.नं. ४१, ४२ समेतबाट सो कुरा पुष्‍टी भएको छ । सो वाहेक न. नं. ३२, ३९ र ४० समेतका विवाद परेका जग्गामा यी वादीको हक भोग रहेको भए ०३२ सालमा सर्भे नापी हुंदा आफ्नु नाममा दर्ता गराई हक कायम गराएको हुनु पर्नेमा वादीले त्यस्तो गर्न सकेको मिसिलबाट देखिंदैन । मालपोत ऐन, २०३४ को दफा ७(२) वमोजिम छुट जग्गा दर्ताको लागि निवेदन परेमा मालपोत कार्यालयले जांचवुझ गरी छुट दर्ता गर्नसक्ने देखिन्छ । यसरी कसैको कुनै जग्गा दर्ता छुट भएमा साविक जग्गाधनीले सो छुट भएको जग्गा दर्ता गरी पाउं भनी निवेदन दिएमा सो कुराको जांचवुझ गरी सो दावी सत्य असत्य के रहेछ प्रमाण बुझि निर्णय गर्ने अधिकार विधिकर्ताले मालपोत कार्यालायलाई प्रदान गरेकोमा सो वमोजिम निवेदकले आफ्नु जग्गामा हक स्थापित गराए पश्‍चात हक प्रचलनार्थ अदालतमा आएको देखिएन । अतः मालपोत कार्यालयबाट जग्गा दर्ता गराई विधिवत श्रेस्ता कायम गराए पश्‍चात मात्र त्यस्तो जग्गामा हक स्थापित हुने र अदालतले सो हक प्रचलन गराउने हो, यसमा वादीले दावीको जग्गामा आफ्नु हक पुग्ने प्रमाण लिएर आएपछि मात्र उजुर लाग्ने प्रकृया प्रारम्भ हुन सक्ने हुंदा प्रस्तुत दावी नपुग्ने भै खारेज हुने ठहराएको पुनरावेदन अदालत पोखराको निर्णय मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु ।

 

 उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ आचार्य

 

इति सम्बत् २०५४ साल असोज १४ गते रोज ३ शुभम् ----------- ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु