शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४९९ - जग्गा खिचोला ।

भाग: ४० साल: २०५५ महिना: बैशाख अंक:

निर्णय नं. ६४९९          ने.का.प. २०५५           अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री टोप बहादुर सिंह

संवत् २०५२ सालको दे.पु. नं.- -३०२८

फैसला मितिः- २०५४।९।७।२

 

मुद्दाः- जग्गा खिचोला  ।

 

पुनरावेदक/प्रतिवादीः   जिल्ला  ताप्लेजुङ थेचम्वु गा .वि . स. वडा नं. ६ बस्ने हिमकला उप्रेती समेत जम्मा ३  ।

विरुद्ध

विपक्षी/वादीः      ज्ञानमोती लिम्वूनी   ।

 

  • कानून वमोजिम पारीत लखित वेगर घरसारको राजिनामा लखितबाट कसैलाई अचल सम्पत्तीको हक स्वामित्व प्राप्‍त हुन नसक्ने स्पष्‍ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौ सम्म आफ्नो भोग कब्जामा लिइराखेको हुन सक्छ वा अर्को अर्थमा लिन सक्ने भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाट उसलाई स्वत सो सम्पत्तिको पूरा हक स्वामित्व नै प्राप्‍त हुन्छ भन्न नमिल्ने । 

(प्र.नं. ९)

पुनरावेदनक तर्फबाटः विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास

विपक्षी तर्फबाटः x

अवलम्वित नजिरः x

फैसला

                न्या. अरविन्दनाथ आचार्यः प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः-

२.             १९५० साल जांचमा याङरुप थेचम्वु मौजाका सुव्वा एकलमान जिम्मा नन्दलाल तिरो रु. ६।५० मा पाखा तर्फको मोठमा दर्ता भएको थेचम्वु गा. वि. स. ६ मा पर्ने खिवुना भन्ने खेत मेरो बाजे वावु ससुराहरुको शेषपछि म फिरादीले भोग गरी कि. नं. ४८५ क्षेत्रफल २४.०.३.३ मा सर्भे नापीमा नाप जांच दर्ता भै म फिरादीको नाउंमा जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत प्राप्‍त गरी भोग गरी आउंदा मिति २०४८।९।२७ गतेका दिन देखि प्रतावदीहरु उक्त जग्गामा प्रवेश गरी खनजोत खिचोला दावी गर्न लाग्नु भएकोले उक्त कि. नं. ४८५ को क्षेत्रफल २४-०-३-३ को खिवुना खेत म फिरादीको नाउंमा नापी दर्ता भए वमोजिम जोतभोग गरी खान हक सदर थामी पाउं भन्‍ने वादी ज्ञानमोती लिम्वुनीको मिति २०४८।१०।२९ को फिराद पत्र ।

३.             विवादित उक्त कि. नं. ४८५ को खुवुना भन्ने खेत यी वादीका छोरा लिला बहादुर समेतले मिति २०३४।१०।१५ गते प्रेमलालबाट रु. ४०,०००। लिनु भै घरायसी राजिनामा गरिदिनु भएको पासमात्र हुन वांकी छ । त्यसै घरायसी राजिनामाले हा सम्म भोग गरी आएको हो । वादी दावी अनुसार जग्गामा खिचोला गरेको होइन । फिरादीको झूठ्ठा पोल पक्राउबाट अलग फार्सा गराई साविक अनुसार भोगी खान हक सदर सकार थामि पाउं भन्ने प्रतिवादीहरु प्रेमलाल उप्रेती, हिमकला उप्रेती, पुण्य प्रसाद उप्रेतीको मिति २०४९।१।१९ गतेको प्रतिउत्तर पत्र ।

४.             यी वादीका छोरा समेतले वाली लुटपीट मुद्दामा प्रतिवाद गर्द खिवुना खेत प्रतिवादीकै घरायसी राजिनामा अनुसार वाली लगाई खाई आएको छ भन्‍ने कुरा लेखि मिति २०४५।७।३० मा डिसमिस भएको छ । यी प्रतिवादीले जग्गा भोगी राखेको छ भन्ने समेत प्रतिवाद देखिंदा जग्गा खिचोला गर्‍यो भन्ने यी वादीले लेख्न सकेको नदेखिंदा र प्रतिवादीको रुपैया बुझाएको सम्बन्धमा समेत केहि उल्लेख भएको नदेखिंदा खिचोला गर्‍यो भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने ताप्लेजुङ जिल्ला अदालतको मिति २०५०।२।३२ को फैसला ।

५.             हक नपुग्ने छोरा लिला बहादुरले विवादको खेत प्रतिवादी प्रेमलाललाई गरिएको घरसारको राजिनामाले कानूनी मान्यता पाउन नसक्नेमा खिचोला गरेको ठहर्दैन भनी गरेको शुरुको फैसला चित्त बुझेन । मेरो हक सदर थामी पाउं भनीवादी ज्ञानमोती लिम्वुनीले पुनरावेदन अदालत इलाममा परेको मिति २०५०।४।५ को पुनरावेदन पत्र ।

६.             मिति २०३४।१०।१५ को घरसारको राजिनामाको लिखतको आधारमा विवादित जग्गा भोग गरेको जिकिर लिएको अवस्थगा हुंदा कानून वमोजिम हकको श्रोत वन्न नसकेको लिखतको आधारमा लुटपीट मुद्दा डिसमिस गराएको कारण आधार दर्शाइ दावी नपुग्ने ठहर गरेको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला मुलुकी ऐन रजिष्‍ट्रेशनको १ तथा ६ नं. को प्रतिकूल देखिंदा जग्गा खिचोला नठहराएको फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने मिति २०५१।८।११ को पुनरावेदन अदालत इलामको फैसला ।

७.             विवादको जग्गा सर्भे नापीको समयमा वादी सुखमाया लिम्वुनी समेत प्रतिवादी यिनै वादी र म समेत भै मुद्दा चलिरहेको हुंदा फिल्डवुकमा झगडा जनिएको र पछि वादीले दुषित दर्ता गराएकोमा दर्ता बदरमा मेरो नालेश जहिले सुकै पनि लाग्ने, २०३४ साल देखि भोगी आएको जग्गामा १५ वर्षपछि परेको फिराद ज. मि. को १८ नं. ले हदम्यादको आधारमा खारेज गर्नु पर्नेमा जग्गा खिचोला ठहर्‍याएको पुनरावेदन अदालत इलामको फैसलामा चित्त बुझेन वादी दावी खारेज गरी पाउं भन्ने समेत प्रेमलाल उप्रेती, हिमकला उप्रेती र पुण्य प्रसाद उप्रेतीले मिति २०५२।८।२९ को पुनरावेदन पत्र ।

८.             वादी सुखमाया प्रतिवादी यिनै वादी ज्ञानमोती समेत भएको २०४२ सालको दे. नं. ७५८, ४७७ को जग्गा खिचोला मुद्दामा प्रतिउत्तर फिराउंदा विवादित जग्गा यस मुद्दाका वादीले नै घरायसी लिखतबाट भोगी आएको भनी स्वीकार गरेको र प्रमाणमा आएको लुटपीट मुद्दामा वादीले दावी कायम गराउन नसकी डिसमिस भएको समेत देखिंदा खिचोला ठहराएको पुनरावेदन अदालत इलामको फैसला नमिली फरक पर्ने देखिंदा अ. वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५४।१।२५ को आदेश ।

९.             नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास तथा विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले गर्नु भएको वहस जिकिर समेत सुनियो । प्रस्तुत मुद्दामा विवादित चेथम्वु गा.वि. स. वडा नं. ६ को कि. नं. ४८५ को २४-०-३-३ को जग्गामा प्रतिवादीबाट खिचोला गरेको ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको इन्साफ मनासिव वेमनासिव के रहेछ भनी निर्णय तर्फ विचार गरी हेर्दा मुख्यतः विवादित जग्गाको २०४३ सालमा नापी हुंदा वादीकै नाममा नापी भै दर्ता कायम रहेको भन्ने देखियो । प्रतिवादीले उक्त जग्गा वादीकै छोरा लिलावहादुरबाट मिति २०३४।१०।१५ मा रु. ४०,०००। घरसारको राजिनामा गराई लिई सोही वेलादेखि अध्यापी भोग गरी आएको भन्ने जिकिर लिएको पाइयो । प्रतिवादी तर्फबाट उल्लेखित घरसारको राजिनामा लिखतको अतिरिक्त यिनै विपक्ष ज्ञानमाया समेत भएको २०४० सालको दे. नं. ७५८।४७७ को जग्गा खिचोला मुद्दामा वादी पक्षबाट विवादित उक्त जग्गा उल्लेखित घरसारको लखतबाट प्रस्तुत मुद्दाका प्रतिवादीबाट भोग गरी आएको भनी स्वीकार गरेको र त्यसका साथै अघि चलेको लुटपिट मुद्दा डिसमिस गराएको भन्ने समेत प्रमाण आधार प्रस्तुत भएको रहेछ । यसका अलावा वहसका सिलसिलामा विद्वान वरिष्‍ठ अधवक्ताले घरायसी राजिनामा लिखतको आधार प्रमाण लिई कसैले कसैको अचल सम्पत्तिमा दावी गर्न नपाउने हो तर कसैले त्यस्तो घरसारको राजिनामा लिखतबाटै त्यस्को आधारमा कुनै अचल सम्पत्तिको अनवरत रुपमा भोग चलन गरी आइरहेको छ भने निजको हकमा हक स्वामित्वका लागि त्यस्तो भोग नै पर्याप्‍त आधार प्रमाण मान्नु पर्छ भन्ने समेत जिकिर गर्नु भएको छ तापनि वस्तुतः कानून वमोजिम पारित लिखत वेगर घरसारको राजिनामा लिखतबाट कसैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्‍त हुन नसक्ने स्पष्‍ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौं सम्म आफ्नो भोग कब्जामा लिई राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सक्ने भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाटै उसलाई स्वतः सो सम्पत्तिको पुरा हक स्वामित्व नै प्राप्‍त हुन्छ भन्न मिल्ने देखिंदैन । कारण हक स्वामित्व र भोग दुई अन्योन्याश्रित अवस्था हो । यसरथ, प्रस्तुत मुद्दामा प्रतिवादी तर्फबाट लिइएको मुख्य आधार प्रमाण भोगलाई मात्र यथेष्‍ठ प्रमाण मान्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा देखिन आएन । अतः २०३४ साल देखि जस्ले विवादित जग्गा भोग गर्दै आइरहेको छ भने उसले २०४८ सालमा कसरी खिचोला गरेको हुन सक्छ यस्तो अवस्थामा वादीको फिराद हक म्यादको आधारमा खारेज नै हुनु पर्ने भन्ने समेतको विद्वान वरिष्‍ठ अधिवक्ताले गर्नु भएको वहस जिकिर तथा यस सम्वन्धमा अ. वं.  २०२ नं. वमोजिम आदेश हुंदा यस अदालत स. ई. बाट लिइएका आधार वुंदाहरुसंग यो इजलास सहमत हुन सकेन । शुरु ताप्लेजुङ जिल्ला अदालत, इलामको इन्साफ मनासिव हुंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादिको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. टोप बहादुर सिंह

 

इति सम्बत् २०५४ साल पौष ७ गते रोज २ शुभम् -------- ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु