निर्णय नं. ६५०१ - भ्रष्ट्रा चार ।

निर्णय नं. ६५०१ ने.का.प. २०५५ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
संवत् २०५२ सालको स.फौ.पु. नं.- -११७८
फैसला मितिः- २०५४।१०।२१।३
मुद्दाः- भ्रष्ट्राचार ।
पुनरावेदक/प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ३ बस्ने पंचकन्या साझा संस्था लि. को व्यावस्थापक जलेश्वर निरौला ।
विरुद्ध
प्रत्यर्थी/वादीः विशेष प्रहरी अधिकृतको प्रतिवेदनले श्री ५ को सरकार ।
- भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा ३५ मा भएको व्यवस्था हेर्दा प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सवही वमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट भ्रष्ट्राचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन वमोजिम र सो देखि वाहेककोमा अन्य ऐन आकर्षित हुन सक्ने नै देखिन्छ । प्रतिवादी जलेश्वर निरौला उपर भ्रष्ट्राचार निवारण ऐनको दफा १३ वमोजिमको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो रकम हिनामिना गरेकोमा साझा संस्थाले कानून वमोजिम नालेश गरी असुल उपर गर्नु पर्ने भन्न नमिल्ने ।
(प्र.नं. २२)
पुनरावेदनक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की
प्रत्यर्थी तर्फबाटः x
अवलम्वित नजिरः ने. का. प. २०४८, अंक ९, पृ. ४७२, नि.नं. ४३५३
आदेश
न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०५१।११।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
२. साझा संस्थाका कर्मचारीहरुले रकम हिनामिना भ्रष्टाचार गरेको छानविन एवं लेखा परिक्षणबाट देखिन आएको हुंदा कारवाही गरी पाउं भन्ने कोशी अंचलाधीशको कार्यालय विराटनगरका का. मु क्षेत्रीय साझा विकास अधिकृत जितेन्द्र बहादुर भण्डारीले मिति २०४३।५।२० मा दिएको प्रतिवेदन ।
३. प्र. जलेश्र निरौलालाई पंचकन्या साझा संस्था लिमिटेड छानविन टोली पानमाराले मिति २०४३।३।१२ गते विवरण माग गरेको ।
४. २०३० साल देखि साझा व्यवस्थापक भई काम गर्दै आएको छुं । ०४१।०४२ मा साझा संस्था लि. पञ्च कन्यामा साझा व्यवस्थापक छुं । सो संस्थामा रहंदा गहुं पाटामा ऋण लगानी गर्दा सम्बन्धित व्यक्तिको वा निजलाई मन्जुरनामा दिएका व्यक्तिहरुको जग्गा धितो राखी लगानी गरी आएको थिएं । छत्र कुमारी निरौलालाई रु. १०००। म सरुवा भै आउनु भन्दा अगाडी विक्रेता तेज प्रसाद ढकालले लगानी गरेका हुन । मिति ०४१।०४२ को अडिटले पक्राउ गरेको रु. ३०,०००। मध्ये रु. १७०००। मिति २०४४।४।२५ मा साझा विकास शाखा सुनसरीमा बुझाएको छुं । रु. ३००००। मध्ये रु. ५०००। तत्कालिन विक्रेता शिव नारायण मेहताले बुझाउनु पर्ने हो र म माथि रकम हिनामिना भ्रष्टाचार गर्यो भनी लगाइएको अभियोग वमोजिमको कार्य मैले गरेको छैन । रु. २१,९९,५६१।६१ रकम असूली सम्बन्धी फायल लालपूर्जा कवुलियत फायल कागजहरु समेत चोरी भएको सम्बन्धमा तपाई समेत उपर चोरीमा अदालतमा मुद्दा चलि सकेको छ । ती फायलहरु चोरी गराउनको उद्देश्य के हो भन्ने प्रश्नमा साझा विकास शाखाको फायल चोरी सम्बन्धमा जिल्ला अदालतमा कारवाही भै रहेको छ । उक्त फायलहरु मेरो सम्बन्धित थिएनन् भन्ने समेत अभियुक्त जलेश्वर निरौलाले विशेष प्रहरी अधिकृत समक्ष मिति २०४१।७।३ गते गरेको बयान ।
५. पंचकन्या साझा संस्थाबाट मैले ऋण लिएको छैन । मेरो नाउंमा कसरी तमसुक तयार भएको आश्चर्य मान्छु । वनावटी तमसुकको रकम मैले तिर्नु बुझाउनु पर्ने होइन भन्ने विनोद पोखरेलको वयान ।
६. प्रतिवादी जलेश्वर निरौलाको हकमा जम्म रु. ३७,३८०।७८ आफ्ना जिम्माको रहक आफूलाई लाभ र पंचकन्या साझा संस्थालाई हानी नोक्सानी पुर्याई हिनामिना भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ को दफा १३ को कसूर अपराध गरेकोले सोही दफा अनुसार कैद र जरिवाना समेत माग भएको विशेष प्रहरी अधिकृतको ०४४।९।२६ को प्रहरी प्रतिवेदन ।
७. २०२९ सालमा नियुक्ति पाई ०६३ साल देखि ०४२ साल मार्ग सम्म पंचकन्या साझा संस्थामा काम काज गरेको हुं । तत्पश्चात साझा संस्थामा काम काज गरेको हुं । तत्पश्चात भोजपुरमा सरुवा भएकोमा नगई राजिनामा दिएं । २०४३।३।१२ मा पंचकन्या साझा संस्था छानविन टोली पानमाराले सोधेको स्पष्टिकरण देखाउंदा देखें र सो पत्र मैले पाएको छैन । म समेत उपर साझा विकास शाखाको खातापाता चोरी मुद्दामा अभियोग लगाई कारवाही चलेको हो, सो मुद्दामा धरौटीमा छुटेको छुं । मुद्दा चलिरहेको छ । २०४४।७।३ को विशेष प्रहरी समक्ष भएको वयान पढी सुनाउंदा सुनें । तिर्थ कुमार दाहाल, वाहेकका व्यक्तिलाई साझा संस्थाबाट ऋण लगानी गरिएको हो । प्रहरीमा भएको वयान कागलजको ७ नं. को व्यहोराको हकमा सो रकम मध्ये रु. १५६०। संचालक समितिको नाताले जित बहादुरलाई भरपाई गरी दिएको हुं । सरोज निरौलाले रु. ७१२२।५० उमेश शर्माले ७७००। लिएको सांचो हो । उमेशले तिरी वांकी रहक गएको रु. ६,०००। को विनोद पोखरेलले आफैले रु. ५,०७३। लिई सहिछाप नगरी दिएको हो । किन मेरो सहिछाप होइन भनी लेखाए निज बुझी पाउं । आफूलाई गैह्र कानूनी लाभ र संस्थालाई हानी नोक्सानी पुर्याउने काम गरेको छैन भन्ने प्रतिवादी जलेश्वर निरौलाले तत्कालिन कोशी अंचल अदालतमा मिति २०४४।९।२८ गते गरेको वयान ।
८. जिल्ला कार्यालयले छानविन गरी सकेपछि लगभग ३७ हजार हिनामिना गरेको देखेर अदालतमा मुद्दा दायर गरेको हो । र निज जलेश्वरले उक्त रकम मासेको सम्बन्धमा खातामा जम्मा भएको र ऋण लगानी गरेको समेत नदेखिएकाले निजले भ्रष्टाचार गरी रकम हिनामिना गरेको हो भन्ने जाहेरवाला भवानी प्रसाद दाहालले मिति २०४५।८।३ गते गरेको वकपत्र ।
९. २०४० सालतिर हो उमेश शर्माले साझा संस्थाबाट ऋण लिनु पर्यो भनेकोले धनी पूर्जा मन्जुरनामा दिएकोले निजले रु. ७७००। ऋण लिए जस्तो लाग्छ भन्ने आदेशानुसार बुझिएका तीर्थ कुमार दाहालको र साझा संस्थाबाट मैले कुनै ऋण लिएको छैन र लिए वापत धनिपूर्जा राखेको पनि छैन भन्ने मिति २०४५।१२।१७ मा विनोद पोखरेलको को. अ. अदालतमा गरेको वकपत्र ।
१०. पंचकन्या साझा स्स्थालाई २०४१ साल माघ महिना देखि २०४३ साल मार्ग महिनासम्म मेरो घरमा मासिक रु. ५००। मा बसेको हो र रु. ५००। महिन भएपछि दिने गरेको थियो । घर भाडा लिंदाको अवस्था मैले निवेदन दिने गरेको थिए र साझा संस्थाले मलाई भाडाको रुपैया दिने गर्दथ्यो । निवेदनमा सहीछाप गरे छुटे नछुटेको मलाई याद छैन भन्ने आदेशानुसार बुझिएको वद्री बहादुरकी श्रीमती सत्य कुमारी लिम्वुले मिति २०४५।२।९ मा गरेको वयान ।
११. उक्त साझा संस्थालाई अब मैले कुनै रकम तिर्न बुझाउन वांकी छैन । निज जलेश्वर निरौलाको वयान झूठ्ठा हो भन्ने व्यहोराको मिति २०४६।२।३१ को कमल थापाको वयान ।
१२. विवादित तमसुक देखाउंदा देखें । सो तमसुक मैले लेखी ल्याई जलेश्वरबाट रु. ५०७३। भुक्तानी लिएको होइन । उक्त ऋणको लागी धितो जलेश्वर निरौलाको श्रीमती मन्जु निरौलाले आफ्नो नाउंको जग्गा दिएको देखिन्छ । म मार्फत विनोद पोखरेललाई कुने रकम दिई तमसुक बनाएको छैन भन्ने व्यहोराको आदेशानुसार बुझिएको सेवन्त कोइरालाको मिति २०४६।९।७ को वयान ।
१३. आफ्नो जिम्मामा रहेको नगद मौज्दातबाट कानून अनुरुपको खर्च ऋण लगानी एवं विल भरपाई आदिको यथेष्ट प्रमाण नराखी हिनामिना गरी फर्छ्यौट गरेको प्रष्ट हुन आएबाट वादी दावी वमोजिम प्र. जलेश्वर निरौलाले भ्रष्टाचार निवारण, ऐन, २०१७ को दफा १३ अन्तर्गतको कसुर गरेको ठहर्छ । निजलाई सोही दफा अनुसार कैद वर्ष १ (एक) हुन्छ । विगोको हकमा रु. ३७,३८०,।७० पैसा दावी भए तापनी जोड गरी हेर्दा निजले हिनामिना गरेको जम्मा रु. ३३,२९३।२८ मात्र देखिएकोले उक्त रकम सम्म निजबाट असुल उपर गर्ने ठहर्छ भन्ने समेत तत्कालिन को. अं. अ. को मिति २०४६।१०।५ को फैसला ।
१४. कानूनतः पनि म उपरको दावकी भ्रष्टाचारको परिभाषा भित्र नपर्ने, अष्पष्ट दावी र प्रमाणको आधारबाट पनि भ्रष्टाचार नदेखिने भएको हुंदा मेरो पुनरावेदन जिकिर सुनि कोशी अंचल अदालतबाट बुझ्न वांकी रहेको प्रमाण बुझि पुनः इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर ।
१५. यसमा साझा संस्था ऐनको दफा १३ वमोजिम संस्थाको सम्पत्ति हानी नोक्सानी भएको भए निजबाट सो विगो संस्थाले असुल उपर गर्न सक्ने समेत व्यवस्था भएकोले वादीले दावी गरेको रकम वांकी भए सो वमोजिमको प्रकृया अपनाउन सक्नेमा सो नगरी भ्रष्टाचारको मुद्दा चलाई सजाय गरेको देखिएकोले तत्कालिन को.अं.अ. ले गरेको निर्णय मिलेको नदेखिएकोले अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावलीको नियम ६४ वमोजिम छलफलका निम्ति विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतबाट भएको मिति २०५०।१२।२२ को आदेश ।
१६. को. अं. अ. बाट भएको पूर्व आदेश अनुसार सरोज निरौलाको मिति २०४६।२।८ को तामेली म्याद वदर गरी दिने र सरोज निरौलालाई बुझ्ने गरी म्याद जारी गर्न पुनरावेदन अदालतबाट मिति २०५१।८।१२ मा भएको आदेश ।
१७. उक्त जलेश्वरको वयानमा उल्लेख भए वमोजिमको गहुं र धान ऋण वापत रु. ७,१२२।५० मैले ऋण लिएको हुं । मिति २०३९ साल मंसीर १३ गतेको तमसुकमा लागेको ल्याप्चे मेरो हो र सही समेत मैले गरेको हुं । सो ऋण तिर्न बुझाउन हालसम्म वांकी नै छ । उक्त देखाइएको मिति २०३९।८।१३ को तमसुक वमोजिमको ऋण भन्दा अरु ऋण नलिएकोले अन्य ऋण भएमा छानविन गरी पाउं भन्ने मनसायले मिति २०४२।१०।१५ को निवेदन दिएको हुं । सो निवेदनको सही मेरो हो । दाजु उमेश निरौलाको ऋण सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत वुझिएको व्यक्ति सरोज निरौलाले पुनरावेदन अदालतमा गरेको मिति २०५१।९।१७ को वयान ।
१८. विनोद पोखरेल, तिर्थ कुमार दाहाल, सरोज निरौलालाई दिएको रकमको हकमा तमसुक काजग भई क्रमशः रु. ५०७३। रु. ६०००। रु. ७१२२। समेत रु. १८१९५। ऋण दिएको भन्ने देखिएको र सो ऋण कच्चा ठहरे कानून वमोजिम हुने नै हुनाले त्यस्तो रकमलाई भ्रष्टाचार गरेको भनी विगो कायम गर्न मिलेन । सो रकम वाहेक विल भरपाई समेत नभएका घर भाडा, पालो वापतको रकम विना प्रमाण भौचर उठाई खर्च गरेको रु. १५०९८।२८ हिनामिना गरी मस्यौट गरेको देखिन आएको अवस्थामा त्यस्तो कार्यलाई वदनियत साथ गरेको होइन भन्न मिल्ने देखिदैन । तसर्थ पुनरावेदक जलेश्वर निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ अनुसार १ वर्ष कैद हुने ठहराएको कोशी अंचल अदालतको फैसला सो हदसम्म मनासिव छ । विगोको हकमा रु. ३३,२९३।२८ कायम गरेकोमो रु. १८१९५। कायम हुन नसकी रु. १५,०९८।२८ कायम भएको हुंदा सो हदसम्म कोशी अंचल अदालतको मिति २०४६।१०।५ को फैसला केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०५१।११।१ को फैसला ।
१९. प्रस्तुत विवादमा भ्रष्टाचार निवारण ऐन आकर्षित हुन नसक्ने कुरा साझा संस्था ऐन ०४१ मा स्पष्ट छ । मैले घरभाडा वापतको रकम घरवालालाई बुझाई सकेको भन्ने कुरा घरवालाको वयानबाट पुष्टि भइरहेको र पालो वापतको रकम कार्यालयको पहरा गर्न लगाए वापत दुइजना व्यक्तिलाई दिएको सम्बन्धमा कुनै प्रमाण नै नबुझि रु. १५,०९८।२८ भ्रष्टाचार गरेको भनी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला प्रमाण ऐद्द, २०३१ को दफा ३ र ५४ र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत भएको हुंदा उक्त फैसला उल्टी गरी सफाई पाउं भन्ने प्रतिवादी जलेश्वर निरौलाको मिति २०५२।१।४ मा यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
२०. साझा संस्था ऐन, २०४१ को दफा १३ मा संस्था वा संघको हिनामिना गरेको सम्पत्तिको विगो र सो रकमहरुमा लागेको व्याज समेत महानिर्देशकले लिलाम गरी असुल गर्न सक्ने व्यवस्था देखिएकोले पुनरावेदन अदालत विराटनगरको मिति २०५१।११।१ को फैसला फरक पर्ने हुंदा अ. वं. २०२ नं. र सर्वोच्च अदालत नियमावली, ०४९ वमोजिम श्री महान्यायाधीवक्ताको कार्यालयलाई छलफलको निमित्त झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५४।४।२० को आदेश ।
२१. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले साझा संस्था ऐन, २०४१ को दफा १३ ले संस्थाको हिनामिना गरेको सम्पत्तिको विगो र सो रहकमा लागेको व्याज समेत महानिर्देशकले लिलाम गरी असूल उपर गर्न सक्ने व्यवस्था गरेको हुंदा भ्रष्टाचार निवारण ऐन, २०१७ आकर्षित हुन सक्दैन । त्यस्तो आकर्षित हुन नसक्ने कानूनका आधारमा पेश गरिएको अभियोग खारेज गरी पाउं भनी प्रस्तुत गर्नु भएको वहस समेत सुनियो । पुनरावेदन अदालत विराटनगरले मिति २०५१।११।१ मा गरेको फैसला मिलेको छ, छैन भनी निर्णय तर्फ विचार गर्दा प्रतिवादी जलेश्वर निरौलाले आफू पंचकन्या साझा संस्था लि. को व्यवस्थापक हुंदा साझा संस्थालाई नोक्सानी पुर्याउने र आफूलाई गैर कानूनी रुपले फाइदा हुने गरी रु. ३३,२९३।२८ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ को कसूरमा सोही दफा वमोजिम सजाय गरी पाउं भनी मिति २०४४।९।२६ मा प्रतिवेदन दायर भएकोमा प्रतिवादी जलेश्वर निरौलाले कोशी अंचल अदालतमा मिति २०४४।९।२८ गते वयान गर्दा विनोद पोखरेल समेतलाई रु. १८,१९५। ऋण लगानी भएको हो, अन्य रकम समेत साझा संस्थाको काम कारोवारको निमित्त कानूनको रित पुर्याई खर्च भएको हो । दोहोरो पारी औषधोपचार रकम समेत लिएको होइन भनी इन्कारी वयान गरेको पाइन्छ । निज प्रतिवादीले विभिन्न व्यक्तिहरुलाई ऋण कर्जा प्रवाह गरेको कुरा प्रमाणको रुपमा उक्त साझा संस्थाबाट प्राप्त फाइलमा विनोद पोखरेलले रु. ५०७३। सरोज निरौलाले रु. ७१२२। र तीर्थ कुमार दाहालले रु. ६०००। धितो राखी विभिन्न मितिमा ऋण लिएको तमसुक कागज समेत रहेको पाइन्छ । यसरी कानूनी प्रकृया पुरा गरी कर्जा प्रवाह गरेको रु. १८,१९५। को ऋण रकममा सो ऋण कच्चा ठहरे कानून वमोजिम नै साझा संस्थाले असूल उपर गर्न सक्ने हुंदा उक्त ऋण रकम प्रतिवादीले हिनामिना गरेको भन्न सक्ने अवस्था रहेन । अभियोग दावी वमोजिमको रु. ३३,२९३।२८ मध्ये कर्जा प्रवाह भएको रु. १८,१९५। कट्टा गरी वांकी रहन आउने रु. १५,०९८।२८ भ्रष्टाचार गरेको होइन भनी प्रतिवादीले लिएको जिकिरलाई समर्थन गर्ने आधार प्रमाण मिसिल संलग्न रहे भएको पाइदैन । सो हुंदा प्रतिवादीले रु. १५०९८।२८ साझा संस्थाको सम्पत्ति हिनामिना गरी हानी नोक्सानी गरेको मान्नु पर्ने देखिन्छ ।
२२. मुद्दाका पक्षले कुन उपचारको वाटो अपनाउने भन्ने सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३५ मा भएको व्यवस्था हेर्दा प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही वमोजिम र अरुमा प्रचलित अन्य नेपाल कानून वमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट भ्रष्टाचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन वमोजिम र सो देखि वाहेककोमा अन्य ऐन आकर्षित हुन सक्ने नै देखिन्छ । प्रतिवादी जलेश्र निरौला उपर भ्रष्टाचार निवारण ऐनको दफा १३ वमोजिमको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो रकम हिनामिना गरेकोमा साझा संस्थाले कानून वमोजिम नालेश गरी असूल उपर गर्नु पर्ने भन्न मिल्ने देखिएन । यस सम्बन्धमा सर्वोच्च अदालतबाट ने. का. प. २०४८, अंक ९, पृष्ठ ४७२, नि. नं. ४३५३ मा जि. प्र. का वाग्लुङको प्रतिवेदनले श्री ५ को सरकार वादी र नेपाल खाद्य संस्थान उप शाखा वाग्लुङको लेखा उप सहायक कुल बहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा भ्रष्टाचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन वमोजिम र सो देखि वाहेककोमा अन्य ऐन आकर्षित हुने, प्र. उपर भ्रष्टाचार निवारण ऐनको दफा १३(१) समेतको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएबाट आफ्नो जिन्सी हिनामिना गरेकोमा खाद्य संस्थाले कानून वमोजिम नालिस गरी असूल उपर गर्नु पर्ने भन्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन समेत भएको पाइन्छ । तसर्थ साझा संस्था ऐन, २०४१ को दफा १३ वमोजिम साझा संस्थाले असूर उपर गर्ने वा भ्रष्टाचार मुद्दामा कारवाही गर्ने कुनै उपचारको मार्ग अवलम्वन गर्न सक्ने नै हुंदा यस अदालत संयुक्त इजलासबाट मिति २०५४।४।२० मा भएको छलफलमा विपक्षी झिकाउने रायसंग सहमत हुन नसकिएबाट पुनरावेदन अदालत विराटनगरले प्र. जलेश्वर निरौलाबाट असूल उपर गर्ने ठहर्याएको रु. १५,०९८।२८ को निर्णय मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नन्दराज पाण्डे
इति सम्बत् २०५४ साल माघ २१ गते रोज ३ शुभम् -----