शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१२३ - उत्प्रेषणयुक्त परमादेश ।

भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक:

निर्णय नं. ८१२३    २०६६ साउन,अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री प्रेम शर्मा

संवत् २०६२ सालको रिट नं......२६६५

फैसला मितिः २०६६।२।११।२

 

विषयः उत्प्रेषणयुक्त परमादेश 

 

      निवेदकः जिल्ला मोरङ्ग मृगौलिया गा.वि.स वडा नं. ९ स्थित भुल्के देवी फर्निचर      उद्योगका प्रो कमलकुमार खवास

विरुद्ध

      विपक्षीः नेपाल विद्युत प्राधिकरण वेलवारी शाखा मोरङ समेत

 

§  विद्युत खपत गरेबापतको विद्युत महसूल बुझाई सकेको छु भनी भन्न नसकी विपक्षी नेपाल विद्युत प्राधिकरण वेलवारीले निवेदकको उद्योगमा जडान भएको लाइन काटेको कार्यलाई कानूनविपरीतको कार्य मान्न नमिल्ने 

(प्रकरण नं.४)

§  निवेदकले विद्युत प्राधिकरणले लाइन काटिदिएको कारणबाट आफूलाई पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति बापतको रकम दिलाई भराई पाऊँ भनी कानूनबमोजिम पुनरावेदन अदालतमा जानुपर्नेमा कानूनले प्रदान गरेको वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी यस अदालतको असाधारण अधिकारक्षेत्रको बाटो अंगाली रिट क्षेत्रबाट प्रवेश गरेको कार्य कानूनसंगत नदेखिने 

(प्रकरण नं.५)

 

निवेदक तर्फबाटः

विपक्षी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा २९, २३, २६

 

फैसला

न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान  २०४७ को धारा २३ एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको टिपोट र आदेश यस प्रकार छः

म निवेदकले अधिकृत पूँजी रु.१,००,०००।–, स्थिर पूँजी रु.५५,०००।र चालू पुँजी रु.४५,०००।राखी साना उद्योग अन्तर्गत भुल्केदेवी फर्निचर उद्योग प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम घरेलु तथा साना उद्योग कार्यालय मोरङ्ग विराटनगरबाट प्रा.फ.नं. घ.मो ३८००।०५३।०५४ मिति २०५३।८।१७।२ मा दर्ता गरिराखेको थिएँ । मिति २०५६।१०।१० मा उद्योग ऐन, नियमबमोजिम पूँजी परिवर्तन गरी चालू पूँजी २,४५,०००।कायम गरी सोही मितिदेखि उद्योग सञ्चालन गरेको थिए । उद्योग सञ्चालन गर्नुपूर्व २०५६।९।५ मा नियमानुसार विद्युत मीटर जडान गर्न लाग्ने धरौटीबापत रु १५००।–, मिति २०५६।९।६ मा मीटरबापत रु ३९२०।सेवा दस्तूरबापत रु २००।र सट्डाउनबापत रु ५००।समेत जम्मा रु ४६२०।दाखिल गरी रसिद प्राप्त गरेपश्चात्  सो रसिद नेपाल विद्युत प्राधिकण वेलवारी शाखामा पेश गरेपछि सोही मितिमा विपक्षीबाट मेरो उद्योग रहेको घरमा विद्युतको मेन मीटर जडान गरी आफ्नो कारखाना सञ्चालन गरी आएकोमा मिति २०६०।१२।२९ गते म कारखानामा नभएको समयमा विपक्षीहरू रोशन अग्रवाल र ईश्वरी ठकुरी मेरो कारखानामा प्रवेश गरी विद्युतको लाइन काटी मीटर फुकाली तार समेत आफ्नो कार्यालयमा लगीराखेको कुरा मैले मेरो उद्योगका कर्मचारीहरूबाट थाहा पाई कार्यालयमा गई के कति कारणले मेरो लाइन काटियो भनी बुझ्दा कार्यालय प्रमुखबाट सो सम्बन्धमा केही बताउन नचाहेपछि मैले विपक्षी नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयमा उजूरी दिएकोमा प्रधान कार्यालयबाट उक्त शाखामा कैफियत प्रतिवेदन माग भएकोमा शाखाले दिएको कैफियत प्रतिवेदनमा मीटरसमेतका संरचनाहरू वेवारेसे अवस्थामा रहेकोले खोली शाखा कार्यालयमा राखिएको छ भन्ने लेखिआएको हुँदा सोही कार्यालयमा गै बुझ्न भनेपश्चात्  के प्रतिवेदन प्राप्त हुन आएको छ सोको नक्कल पाऊँ भन्दा नक्कल पनि दिइएन । यसरी विपक्षीहरूबाट मलाई कुनै सूचना नै नदिई प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुने गरी मेरो कारखानामा जडित लाइन काटी विद्युत मीटरसहितको विद्युतसम्बन्धी सम्पूर्ण संरचनाहरू खोली फुकाली लगेकोले विपक्षीको उक्त कार्य नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २३ एवं नेपाल अधिराज्यको संविधान २०४७ को धारा १७ र १२ (२) को देहाय (ङ) प्रदत्त मौलिक हकमा समेत आघात परेको हुँदा विपक्षीको उक्त काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी विद्युतसम्बन्धी सम्पूर्ण संरचनाहरू कारखानामा जडान गरी दिनु भनी र मिति २०६१।१२।२९ देखि लाइन काटी कारखाना बन्द भएको कारणबाट हुन गएको वास्तविक हानिनोक्सानीको क्षतिपूर्ति समेत निवेदकलाई दिनु भन्ने व्यहोराको परमादेशको आदेश समेत जारी गरिपाऊँ भन्ने व्यहोराको निवेदकको निवेदन 

यस्मा के कसो भएको हो, निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफै वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी विपक्षीहरूलाई सूचना पठाई लिखित जवाफ प्राप्त भएपश्चात्  वा अवधि नाघेपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको आदेश 

निवेदकको निवेदन माग सत्य छैन । निवेदकको कुनै पनि हकअधिकार हामीहरूबाट हनन् भएको छैन । संविधानको धारा १७ ले प्रदान गरेको सम्पत्तिसम्बन्धी हक कानूनले निर्धारण गरे बमोजिम मात्रै उपभोग गर्न पाउने हुँदा त्यसलाई निरपेक्ष हक मान्न नमिल्ने कुरा मिथिलेशकुमार सिंह विरुद्ध नेपाल सरकार भएको मुद्दामा सिद्धान्त प्रतिपादन भै सकेको अवस्थामा विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २३ बमोजिम प्राप्त अधिकार प्रयोग गरी निवेदकउपर भएको कारवाहीले कुनै मौलिक हक हनन् हुन गएको छैन । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २३ बमोजिम कुनै ग्राहकले विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने महसूल, जरीवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क अन्य शुल्क नबुझाएमा वा अनाधिकार रूपमा प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिई राखेको विद्युत लाइन काट्न सक्नेछ भन्ने कानूनी व्यवस्था भएबमोजिम नै निजको विद्युतको लाइन काटिएको हो । नेपाल विद्युत प्राधिकरण र निजको बीचमा करारीय दायित्व भएको अवस्थामा विपक्षी निवेदकले आफ्नो दायित्व पूरा नगरेको हुँदा  कानूनबमोजिम नै निजको नाममा जडान गरिएको विद्युत लाइन काटिएको   हो । कानूनबमोजिम भए गरेका कामको विरुद्धमा रिट जारी हुन नसक्ने भएको हुँदा निवेदन खारेज गरिपाऊँ भन्ने व्यहोराको नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयसमेतका सवै विपक्षीहरूको तर्फबाट प्राप्त हुन आएको लिखित जवाफ 

नियमबमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत निवेदनमा मिसिल सामेल रहेको निवेदन एवं लिखित जवाफसमेतका कागजातहरू अध्ययन गरी निवेदकको निवेदन मागबमोजिमको आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो 

२.    निर्णयतर्फ विचार गर्दा, निवेदक फर्निचर उद्योग प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम घरेलु तथा साना उद्योग कार्यालय मोरङमा २०५३।८।१७ मा दर्ता भै २०५६।९।५ मा विद्युत मीटर जडान गर्न लाग्ने धरौटी रु.१५००।–, २०५६।९।६ मा मीटरबापत रु.३,९२०।–, सेवा दस्तूर बापत रु.२००।र सट्डाउन बापत रु.५००।समेत गरी जम्मा रु ४,६२०।–, जम्मा गरेपश्चात्  सोही मितिमा विपक्षी विद्युत प्राधिकरण वेलवारी शाखाले उद्योग रहेकोे घरमा विद्युतको मेन मीटर जडान गरी दिएपश्चात्  २०५६।१०।१० गतेदेखि उद्योग सञ्चालन भै आएकोमा २०६०।१२।२९ गते विद्युत लाइन काटेको देखियो 

३.    निवेदक भुल्केदेवी फर्निचर उद्योगका प्रो.कमलकुमार खवासले २०५३।८।१७ मा फर्निचर उद्योग दर्ता गरी कानूनबमोजिम लाग्ने दस्तूर समेत बुझाई विद्युतको लाइन जडान गरी मिति २०५६।१०।१० देखि उद्योग संचालन भैसके पश्चात्  विपक्षी विद्युत प्राधिकरण वेलवारी शाखा मोरङबाट २०६०।१२।२९ मा उद्योगमा जडान भएको विद्युतको लाइन काटेको कुरामा दुवै पक्षको असहमति रहेको देखिएन 

४.    नेपाल विद्युत प्राधिकरणले निवेदकको नाममा जडान गरेको विद्युतको लाइन काट्न मिल्ने हो होइन भन्ने सम्बन्धमा भैरहेको कानूनी व्यवस्था हेर्दा, नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २६ मा, “कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनु पर्ने महसूल जरीवाना क्षतिपूर्ति अतिरिक्त शुल्क अन्य शुल्क तथा तिर्न बुझाउनु पर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युतको अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको लाइन काट्न सक्नेछभन्ने कानूनी व्यवस्था भएको अवस्थामा निवेदकले कानूनको पालन नगरेको अवस्थामा विद्युत लाइन काट्न नपाइने भन्ने देखिन आउँदैन । निवेदकले आफ्नो निवेदकमा मैले विद्युत प्राधिकरणलाई विद्युत खपत गरेबापतको विद्युत महसूल बुझाई सकेको  छु भनी भन्न नसकेको अवस्थामा विपक्षी नेपाल विद्युत प्राधिकरण वेलवारी शाखा (मोरङ) ले निवेदकको उद्योगमा जडान भएको लाइन काटेको कार्यलाई कानूनविपरीतको कार्य भन्न र मान्न मिल्ने अवस्था देखिन आउँदैन 

५.    नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३९ का प्राधिकरण वादी वा प्रतिवादी भएको मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार पुनरावेदन अदालतलाई हुनेछभन्ने कानूनी व्यवस्था भएको अवस्थामा यी निवेदकको नाममा जडान भएको विद्युतको लाइन विपक्षी विद्युत प्राधिकरणबाट काटी दिएपश्चात्  निवेदकले लाइन काटिदिएको कारणबाट आफूलाई पर्न गएको हानि नोक्सानिको क्षतिपूर्तिबापतको रकम दिलाई भराई पाऊँ भनी कानूनबमोजिम पुनरावेदन अदालतमा जानुपर्नेमा कानूनले प्रदान गरेको वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी यस अदालतको असाधारण अधिकारक्षेत्रको बाटो अंगाली रिट क्षेत्रबाट प्रवेश गरेको कार्य कानूनसंगत  देखिएन 

६.    तसर्थ निवेदकले आफ्नो नाममा जडान भएको विद्युत लाइन विपक्षीहरूले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा २३ बमोजिम काटी दिएपश्चात्  सोही ऐनको दफा २९ बमोजिम क्षतिपूर्ति समेतको दावी लिई पुनरावेदन अदालतमा जानु पर्नेमा वैकल्पिक उपचारको बाटो प्रयोग नगरी असाधारण अधिकारक्षेत्र प्रयोग गरी यस अदालतमा प्रवेश गरेको कार्य कानूनी रूपमा त्रुटिपूर्ण हुँदा निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनू       

 

उक्त रायमा म सहमत छु  ।

 

न्या.प्रेम शर्मा

 

इति संवत् २०६६ साल जेठ ११ गते रोज २  शुभम्…..

 

इजलास अधिकृतः मोहनराज भट्टराई

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु