निर्णय नं. ८१२५ - नापी दर्ता बदर

निर्णय नं. ८१२५ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
२०६४ सालको दे.पु.नं. ....०७५७
फैसला मितिः २०६६।१।८।३
मुद्दाः नापी दर्ता बदर ।
पुनरावेदकः दोलखा जिल्ला,मार्वु गा.वि.स. वडा न. ९ वस्ने हस्तबहादुर श्रेष्ठ
विरुद्ध
प्रतिवादीः दोलखा जिल्ला खारे गा.वि.स.वडा नं ७ वस्ने रामबहादुर श्रेष्ठ
शुरु फैसला गर्नेः–
मा.न्या श्री नारायणप्रसाद दाहाल
पुनरावेदन फैसला गर्नेः
मा..न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री लक्ष्मणमणि रिसाल
§ लामो समयदेखि अविच्छिन्न भोगचलन उपर कुनै कसैको उजूरवाजुर नभै २०१३ सालदेखि नै भोगचलन गरी तिरो समेत तिरी आएको विवादित घरजग्गामा चीरभोगको सिद्धान्त (Long Time Undisputed Possessory Right) समेतबाट प्रतिवादीकै भोग स्वामित्वको देखिन आउने ।
(प्रकरण नं.४)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री क्षेत्रबहादुर बस्नेत र श्री शेरबहादुर रोकाया
प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामजी प्रधान
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
फैसला
न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत पाटनको मिति २०६२।५।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत मुद्दा दोहोर्याई पाऊँ भनी वादीको तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट दो.पा. निस्सा प्रदान भई पुनरावदेनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : –
यसमा विपक्षी रामबहादुर विपक्षीको बुबा रत्नबहादुर, विपक्षकै दाजु गणेशबहादुर विपक्षीकै साहिला दाजु इन्द्रबहादुरसमेत भिन्न नभई एकैसगोलमा बस्दाकै अवस्था विपक्षकै दाजु इन्द्रबहादुरले एक वर्षको लागि रु ११००१।५ वुझाउने नपुगेको घैघरानबाट वुझाउने गरी तातोपानी भन्सारमा रुपैया तिर्न नसकी भन्सार गोश्वाराबाट निजको जेथा पूर्व २ नं गोश्वारामार्फत तायदाती भै आएबमोजिमका घरजग्गाहरूको भन्सार गोश्वाराबाट मिति २०१२।५।६ मा लिलाम बढीबढाउ हुँदा सबैभन्दा बढी रु १२०१।५ मा आशाकाजी तुलाधरको नाममा डाकबोली खतम भै निज आशाकाजी तुलाधरले तातोपानी भन्सार गोश्वारामा रुपैया बुझाई निज आशाकाजी तुलाधरलाई उक्त भन्सारबाट मिति २०१२ साल आश्विन ९ गते रोज १ मा वहाली पूर्जी दिई निजको हकभोग भई निज आशाकाजी तुलाधरबाट मैले रु २७२६।५ मा मिति २०१२।८।६ मा रजिष्ट्रेशन पारित राजीनामा गरी लिई तिरोभरोसमेतबाट मेरो हकभोग भई २०२३ सालमा ७ नं फारामसमेत मेरो नाममा भरी हकभोग पक्का भएको दो.जि.खोर गा.वि.स.वडा नं ७ मा पर्ने साविक टोल ४ किल्ला पूर्व फुर्वा भोटेको घर तेर्सो बाटो पश्चिम पदमबहादुरको वारी साँध उत्तर वीरबहादुरको साँध दक्षिण टिम्पुरेवारी साध यति ४ किल्लाभित्रको छरुवा मकैको विऊँ पाथी १० को विजन पाथी ।२।४ माना जाने खोर ठूलो घरवारी जग्गामा बनेको ढुंगामाटोको गाह्रो फल्याकको छानो भएको २ तले पूर्व मोहडा भएको ११।१७ को घर मतानसमेतको वारी कित्ता १ जग्गा मेरो सम्पत्ति हो, म गाउँघरमा नवस्ने मेरो काठमाडौंमा पनि घर भएको हुँदा काठमाडौं घरमा बस्ने भएको र मेरो खास बसोबास गर्ने घर मार्वु गा.वि.स वडा न. ९ हुँदा हेरविचार रेखदेख गर्न विपक्षीलाई जिम्मा दिई एउटा कुरुवा हेरालुको रूपमा जिम्मा दिएकोमा उक्त जग्गा नापी हुँदा घर मतान विपक्षको नाममा नापी गराई सकेछ घर मतान कटाई मेरो नाममा कि.नं २०३ मा नापी गराएको रहेछ । २०५४ साल माघ २० गते गाउँ घरमा आई बालीहरू के कति छ लेउभन्दा अव तपाईको जग्गा हेरविचार गर्न सक्तिन भन्दा घर मतान मेरो हो यो बाटो मुनिको जग्गा जति तलाई दिन्न भनेपछि नापी शाखा दोलखामा गै नक्सा ट्रेस र फिल्डवुक सारी वुझ्दा विपक्षीको नाममा कि.नं. २३६ घर वारी कित्ता १ भनी नापी गरी जग्गाधनी प्रमाणपूर्जा समेत विपक्षीले लिईसकेको हुँदा हकै नपुग्ने व्यक्तिले मेरो हकभोगको जग्गा नापी दर्ता गराएको हुँदा कि.नं २३६ को जग्गा बदर गरी मेरो नाउमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद दावी ।
दोलखा जिल्ला खारे गा.वि.स.वडा न. ७ स्थित पूर्व पदमबहादुरको बारी पश्चिम विपक्षीको जग्गा तेर्सो बाटो दक्षिण कैलासको वारी उत्तर टिम्मुरवारी यति ४ किल्ला भित्रको विजन पाथी ।२।४ को ठूलो घरवारी जग्गा मेरो बाबा रत्नबहादुर श्रेष्ठको नाममा २०१३ सालमा पाखा विजन दर्ता भै तिरो भरो गरी बाबाले नै भोगी आउनु भएको र पछि २०१४ सालमा उक्त विजनमध्ये विजन पाथी । १ को घरजग्गा मैले घरसारमा बाबाबाट मौखिक अंश पाई तिरोभरो गरी अद्यावधिक भोगचलन गरी आएको हुँदा मेरो नाममा कि.न. २३६ कायम भई जग्गा दर्ता हुन वाँकी भई मैले ज.ध.प्र.पू.प्राप्त गरी सकेको छैन । हालतक मैले भोगचलन गरिआएको छु । विपक्षको घर जग्गामा कुरुवा बसेको नभै म आफ्नै घर जग्गा भोगचलन गरिबसेको हो, विपक्षीको दावी काल्पनिक हो विवादित कि.न. २३६ मैले मेरो नाममा नापी दर्ता गराएको कुरा विपक्षीले २०५०।९।११ मा नै थाहा पाइसकेको कथन फिराद प्रकरण नं २ मा व्यक्त गरिसकेको कारण प्रस्तुत फिराद गर्ने हदम्याद ज.प.को १७ न. बमोजिम समाप्त भै सकेको हुँदा फिराद खारेज गरिपाऊँ । विपक्षीले आफ्नो चार किल्लाको जग्गा कतातर्फ मैले कि.का गरी नापी गरे सो भन्न सकेको छैन, विपक्षले आफ्नो राजीनामाबमोजिमको कुन स्थानको जग्गा खरिद गरेको भनी स्पष्ट पार्न सक्नु नभएको कारण फिराद हचुवाको भरमा दावा गरेको प्रष्ट छ । विपक्षको झुठ्ठा फिराद अ.व. १८० नं बमोजिम खारेज गरी विवादित कि.नं २३६ को जग्गा मेरो नाममा दर्ता कायम गरी फिराद दावीबाट अलग भई बस्न पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
विपक्षीबाट पेश भएको लिखत विवादित जग्गासंग मिल्न भिड्न नआउने भएको हुँदा नामाकरण गर्नु नपर्ने भन्ने समेत व्यहोराको प्र.वा. कृष्णप्रसाद सुवेदीले अ.व. ७८ नं बमोजिम गरेको वयान ।
विपक्षीबाट पेश भएको दर्ता सम्बन्धमा मलाई थाहा छैन । केही बोली रहन आवश्यक नभएको तिरो बुझाएको रसिद जालसाजी हो भन्ने समेत व्यहोराको वादीका वा. नारायणलाल श्रेष्ठले गरेको बयान ।
प्रतिवादीबाट पेश भएको रसिद सद्दे हो, रत्नबहादुर श्रेष्ठको २०१३ सालको विजन मोठमा दर्ता भएको ठूलो घरवारीमध्येको हाल विवादित कि.न. २३६ को जग्गाको तिरो वुझी रसिद गरी दिएको हो भन्ने समेत व्यहोराको कमातेन्जी शेर्पाको वा रामबहादुर सुवेदीले गरेको वयान ।
वादी वा नारायणलाल श्रेष्ठ र प्र. वा कृष्णप्रसाद सुवेदीले मिति २०५७।१।२९ मा गरेको कागज ।
मिति २०५७।३।३ गते भै आएको सर्जमिन मुचुल्का ।
अदालतबाट मिति २०५७।३।२८ मा भएको डिसमिस फैसला ।
पुनरावेदन अदालत पाटन ललितपुरबाट वेरीतको डिसमिस फैसला बदर गरिदिएको छ भन्ने समेतको मिति २०५९।३।३१ को फैसला ।
यसमा इन्द्रबहादुरले तातोपानी भन्सार ल्याएको लिलाम हुँदा २०१२ सालमा आशाकाजी तुलाधरले हकसफा गरी हस्तबहादुर श्रेष्ठलाई बिक्री गरेको राजीनामा प्रमाण सवै अड्डामा पेश गरेका छन । हस्तबहादुरले २३६ नं को जग्गा अहिलेसम्म भोगचलन गरी रहनु भएको छ दुई वटा घर छ, नापनक्सा गरेको सत्य छैन, भूmठ्ठा हो, बदर गरिपाऊँ रामबहादुरको हैन भन्ने समेत व्यहोराको वादीका साक्षी हिरण्यबहादुर श्रेष्ठको वकपत्र ।
रत्नबहादुरको छोरा रामबहादुरले २३६ को जग्गा घर हालसम्म नै भोग गरिरहेको मैले देखेको हो, मैले देखेको चाहिँ रामबहादुरको जग्गा हो भनेर सुनेको हो, वाली एकलौटी रामबहादुरले खाएको देखेको हुँ बाँडी खाएको छैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी श्यामबहादुर श्रेष्ठले गरेको वकपत्र ।
आशाकाजी तुलाधरबाट हस्तबहादुरले किनेको भनेको सुनेको हो, घर पहिलादेखि नै त्यही थियो कसले बनायो थाहा भएन, कि.नं २३६ को घर मतान भएको जग्गा हस्तबहादुरकै हो भन्ने सुनेको एउटै कित्ता जग्गालाई दुई कित्ता पारी नापी गरेको हो भन्ने समेत व्यहोराको वादीका साक्षी छोटे शेर्पाले गरेको बकपत्र ।
अहिलेसम्म रामबहादुरले २३६ नं कित्ता चाहिँ भोगिरहेको देखेको हो, दर्ता ७ नं फाराम रसिद रामबहादुरको नाउँमा छ, लिलाम भएको नभएको मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी नारायणबहादुर श्रेष्ठको वकपत्र ।
घर र मतान भएको मलाई थाहा छ, जग्गा लिलाम भएको थाहा छ, लिलाम भएको जग्गा आशाकाजीले थामी हस्तबहादुरले नगद पैसा हाली भोगचलन गरेको सुनेको हो, घर र मतान बनाएको मैले देखेको होइन । २०५० सालसम्म हस्तबहादुरले भोगचलन गरेको हो हाल रामबहादुरले भोगचलन गरेका ेछ, कि.नं २३६ को जग्गा हस्तबहादुरकै हो रामबहादुरको जग्गा २३६ मा नै पर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी रामबहादुर तामाङ्गको बकपत्र ।
अदालतबाट भएको आदेशानुसार भै आएको नक्सा मुचुल्का ।
प्रस्तुत फिराद अधिकारक्षेत्रको अभावमा अ.व. १८० नं बमोजिम खारेज हुने ठहर्छ भन्ने दोलखा जिल्ला अदालतका न्यायाधीश श्री नारायणप्रसाद दाहालबाट मिति २०६१।२।२४ मा भएको फैसला ।
नापीको काम सम्पन्न भइसकेपछि वादीको घरजग्गा प्रतिवादीका नाउँमा नापी दर्ता भएको दर्ता बदर गराउने कार्य अदालतकै अधिकारक्षेत्र भएकोमा फिराद अधिकारक्षेत्रभित्र छैन भनी खारेज गरेको शुरु फैसला कानून तथा प्रतिपादित सिद्धान्त समेत प्रतिकूल भई बदरभागी छ भन्ने वादीको पुनरावेदन जिकीर ।
यसमा जग्गाको हकवेहकको प्रश्न समेत समावेश भएको भए पनि वादी दावी खारेज हुने ठहराएको शुरु दोलखा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा अ.व. २०२ नं बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।
वादी दावी पुग्न नसक्ने भनी इन्साफ गर्नुपर्नेमा फिराद नै खारेज गरेको त्रुटि देखिन आएतापनि शुरु दोलखा जिल्ला अदालतको मिति २०६१।२।२४ को फैसलामा परिर्वतन गर्न नपरी वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६२।५।१३ को फैसला ।
पुनरावदेन अदालत पाटनको फैसलामा फिरादीलाई हराई फैसला गर्दा मेराविरुद्धमा लगाइएका फैसला बुँदाहरू कुनै मिलेका छैनन् । सिर्फ पूर्वाग्रही भई तर्पेm जारी बनी कुनै आधार प्रमाण कानून प्रतिकूलका तर्क लगाई अन्यायमा पारी हराएको प्रष्ट देखिन आइरहेको छ । फैसलामा देखाइए अनुसारको बुँदा राजीनामा र नक्सामा जनिई आएअनुसारको अहिले विवाद परेको न.नं २३६ पूर्वतर्फ फुर्वा भोटेको घर र तेश्रो बाटो देखिदैन । वादीले नापी दर्ता गराएको कि.नं २०३ को पूर्वतर्फ तेर्सो बाटो सरजमिनमा र नं.नं १५ मा देखिईरहेको छ भन्ने वूदा सत्य तथ्यको बुँदा होइन । वादीको कि.नं २०३ दर्ता गर्दा सो किल्ला ठुलो वारी ।२।४ नै देखाई दर्ता गरेको भन्ने कुरा सो जग्गाको फिल्डवुक उतारबाट स्पष्ट देखिइरहेको छ । एउटा कित्तामा पुरै भिडिरहेको लगत अर्कोमा पुनः भिडाउन मिल्दैन भन्ने फैसला तर्फ बुँदा सरासर तर्फेदारी भई लेखेको कानूनको गलत अर्थ र नजीरको प्रतिकूलको भन्ने स्वतः सिद्धान्त विवादित जग्गामा बनेको साविक देखिको पुरानो घर भन्ने जनिई विवादित घरको सरजमिनहरूले मूल्याङ्कन मुचुल्कामा खुलाई दिएकोले म फिरादीबाट अदालतले थप कोर्ट फी लिने आदेश भई थपकोर्ट फी रु. १७७०।५ दाखिल गरेकै थिएँ भने अर्कोतिर विवादित जग्गा कित्ता लिलाम वढावढ हुँदा विपक्षीका वावु रत्नबहादुरकै पालामा बनेका दुई वटा घर सो ठुलो वारी जग्गा समेत लिलाम बिक्रि वहाली पुर्जी राजीनामा हक हस्तान्तरण भएकै प्रष्ट ती लिखत प्रमाणबाट देखिन आउने नै र सालसालको तिरो समेत म बाट चलाएकै हुँदा समेत कुरुवा राखेको लिखत पेश हुन नसकेको भन्ने केवल अत्तो थापेको मात्र फैसला तर्क बुँदा हो । २०५० सालको सर्भे नापी र फिल्डवुक नक्सा ट्रेश नलेखिएको भएतापनि थाहा पाउनासाथ म निवेदक वादीले नापी शाखामा गई विरोध जनाएकै र उजूरी निवेदन दिएको कारण समेतले गर्दा सो विपक्षीको नाउँमा हक–बेहकमा अदालतमा उजूर गर्न जानु भनी नसुनाएको सो कानुन समेतमा क्रियाशिल गरी नदिएको कारणले मात्र केही ढिलाई हुन गएको । २०५४ सालमा मात्र फिराद पर्न गएको कुरा मिसिल कागजातबाटै देखिन आएकै छ । शुरु मिसिल झिकाई मिसिल संलग्न कागजप्रमाणहरू सवै हेरी यथार्थ हक न्याय इन्साफ गरी पाउनका लागि मुद्दा दोहोर्याई हेर्ने आदेश भई सोको निस्सा प्रदान गरी न्याय हक इन्साफ गरीपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन पत्र ।
यसमा वादीको मिति २०१२।६।९।१ को चलानी पूर्जीमा उल्लिखित चारकिल्लासंग विवादित न.नं. १६ को कि.नं २३६ को जग्गाको किल्ला मिलेको नक्सामुचुल्काबाट देखिएको स्थितिमा त्यस्तो प्रमाणको विवेचना नै नगरी विजन । २।४ को जग्गा केवल कि.नं २०३ मा मात्र नापी भएको आधारमा वादी दावी पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला अ.व. १८४(क) प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) खण्ड(क) बमोजिम दोहोर्याउने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६३।११।२ को आदेश ।
नियमबमोजिम इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता क्षेत्रबहादुर वस्नेत र शेरबहादुर रोकायाले खोर गा.वि.स.वडा न. ७ मा पर्ने साविक पूर्व फूर्वा भोटेको घर तेस्रो बाटो पश्चिम पदमबहादुरको साथै उत्तर बीरबहादुरको साँध दक्षिण टिम्मुरेवारी यति चार किल्लाभित्रको विजन पाथी । २।४ माना जाने खोर ठूलो घरवारी वादीले आशाकाजी तुृलाधरबाट २०१२। ८।६ मा रजिष्ट्रेशन पारित गरिलिएको घर जग्गा हो । वादीको स्थायी बसोबास मार्वुं गा.वि.स. मा भएको र काठमाडौं पनि घर भएकोले वादी उक्त ठाउँमा नबस्ने भएकोले उक्त जग्गाको हेरचाह गर्ने गरी कुरुवाको रूपमा प्रतिवादीलाई जिम्मासम्म दिएको हो । प्रतिवादीले वदनियत चिताई उक्त जग्गामा बनेको घरसमेत कि.नं २३६ मा आफ्ना नाममा दर्ता गराई बाँकी जग्गा वादीका नाममा कि.नं २०३ मा दर्ता गराएकोले नापी दर्ता बदर गरी वादीको नाउँमा दर्ता गर्न गरी फैसला गर्नुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहरी भएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थीको तर्फबाट विद्वान अधिवक्ता श्यामजी प्रधानले वादीले फिराद पत्रमा उल्लेख गरेको चार किल्ला विवादित कि.न. २३६ संग मिले भिडेको अवस्था छैन । वादीले २०१२ सालमा आशाकाजी तुलाधरबाट रजिष्ट्रेशन पारित गरिलिएको भनेको जग्गा कि.न. २०३ मा नापी गराएको छ । आफ्नो जग्गा एउटा कित्तामा नापी दर्ता गराई सकेपछि पुनः अर्काको जग्गामा दावी गर्न वादीलाई हक पुग्ने हैन । आफ्नो घर जग्गाको हेरचाह गर्न प्रतिवादीलाई कुरुवा राखेको भन्ने वादी लेख कुनै पनि प्रमाणबाट पुष्टि गर्न सकेको अवस्था छैन । यस स्थितिमा पुनरावेदन अदालतबाट भएको फैसलामा अन्यथा गर्नुपर्ने छैन कायम रहनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
मिसिल कागजात अध्ययन गरी दुवैतर्फका विद्वान अधिवक्ताहरूको बहससमेत सुनी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ सोही विषयमा निर्णय दिनु परेको छ ।
२. निर्णयतर्फ विचार गर्दा फिरादीले २०१२।८।६ मा आशाकाजी तुलाधरबाट रजिष्ट्रेशन पारित गरिलिएको राजीनामामा दोखला जिल्ला खोर गा.वि.स. वडा नं ७ मा पर्ने पूर्व फुर्वा भोटेको घर तेर्सोबाटो, पश्चिम पदमबहादुरको बारी उत्तर वीरबहादुरको साँध र दक्षिण टिम्मुरेवारी यति चार किल्ला भित्रको ठूलो घरबारी जग्गा समेत कि.न. २३६ मा प्रतिवादीले आफ्ना नाममा नापी दर्ता गराएको हुँदा बदर गरी फिरादीका नाममा दर्ता गरिपाऊँ भन्ने फिराद दावी रहेकोमा वादी दावी खारेज हुने शुरुको फैसला उपर वादीको पुनरावेदन परी पुनरावेदन अदालतबाट खारेज गरेको सम्म त्रुटि देखिए तापनि शुरुको फैसलामा परिर्वतन गर्न नपरी वादी दावी पुग्न नसक्ने ठहर्याई भएको फैसला उपर वादीको तर्फबाट मुद्दा दोहोर्याई पाऊँ भनी परेको निवेदनमा यस अदालतबाट दोहोर्याई हेर्न निस्सा प्रदान भई पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा निर्णयार्थ पेश हुन आएको रहेछ ।
३. यसमा वादीले विवादित कित्ता भित्रको घर जग्गा आफ्नो हो भनी हकको श्रोतको रूपमा आशाकाजी तुलाधरबाट आफूले मिति २०१२।८।६ मा रजिष्ट्रेशन पारित गरिलिएको लिखतलाई उल्लेख गरेको पाइन्छ । उक्त रजिष्ट्रेशन पारित गरिलिंदा खुलाएको चार किल्ला हेर्दा पूर्वतर्फ फुर्वा भोटेको र तेश्रो बाटो पश्चिम पदमबहादुरको बारी उत्तर वीरबहादुरको साँध दक्षिण टिम्मुरेवारी साँध भनीचार किल्ला खुलाएको पाइन्छ । शुरु जिल्ला अदालतबाट २०६०।१२।७ मा भई आएको नक्सा मुचुल्कामा विवादित कि.नं २३६ को घर जग्गालाई न.नं. १६ मा देखाइएको छ भने वादीले साविक आशाकाजी तुलाधरबाट मिति २०१२ सालमा रजिष्ट्रेशन गरीलिएको हाल वादीका नाममा दर्ता रहेको कि.नं २०३ को जग्गा न.नं १४ मा देखाएको छ । विवादित कि.नं २३६ को जग्गाको पुर्वतर्फ फुर्वा भोटेको घर र तेर्सो बाटो दुवै साँध रहेको देखिदैन । त्यस्तै उत्तरतर्फ बीरबहादुरको साध र दक्षिण तर्फ टिम्मुरे वारी साधभनी लेखीएको किल्ला पनि मिल्न भिड्न आएको पाइँदैन । वरु वारीको नाममा नापी दर्ता भएको कि.नं. २०३ को जग्गाको पूर्वतर्फ अदालतबाट भई आएको नक्सा मुचुल्काको र न.न. १५ मा तेर्सो बाटो देखिइरहेको छ । साथै सर्भे नक्सा समेतमा कि.न. २०३ को पूर्वतर्फ तेर्सो बाटो देखिई रहेको छ । यस स्थिति स्मा वादीको २०१२ सालको राजीनामाभित्रको जग्गा न.न. १५ को तेर्सोबाटो भन्दा पश्चिम न.नं १४ को जग्गा हो भन्ने तथ्य पुष्टि भएको छ ।
४. यसरी फिरादीले आफ्नो राजीनामाभित्रको जग्गा आपैmले कि.नं २०३ मा नापी दर्ता गराई सकेपछि पुनः कि.नं २३६ को जग्गा नापी दर्ता गराउन छुटेको भनी अनुमान गर्नसक्ने अवस्था देखिँदैन । विवादित कि.नं २३६ को जग्गा २०१२ सालको राजीनामाभित्रको जग्गा भने तापनि उक्त जग्गामा वादीको भोगचलन रहेको देखिँदैन । उक्त जग्गामा लामो समय अर्थात २०१२ सालदेखि नै प्रतिवादीले भोग गरेको कुरालाई वादी स्वयम्ले स्वीकार गरेको पाइन्छ । वादीले प्रतिवादीलाई उक्त घरजग्गाको रेखदेख गर्न कुरुवाको रूपमा राखेको भने तापनि आफ्नो भनाइलाई कुनै ठोस एवं विश्वासलायक प्रमाणबाट पुष्टि गर्न सकेको पाइँदैन । यसको विपरीत वादीकै भनाइबाट विवादित न.नं १६ को घरजग्गामा प्रवितादीको भोगचलन रहेको पुष्टि हुन्छ अव प्रतिवादीको हकको स्रोतवारे विचार गर्दा प्रतिवादीले विवादित घरजग्गा २०१३ सालमा बाबा रत्नबहादुर श्रेष्ठका नाममा विजन पाथी । २।४ पाखा विजन दर्ता भई बुबाले नै भोगिआउनु भएकोमा उक्त विजनमध्ये विजन पाथी ।१ को घर जग्गा २०१४ सालमा आफूले अंश पाई तिरो भोगचलन गरिआएको भनी जिकीर लिएको पाइन्छ । यसरी प्रतिवादीको लामो समयदेखि अविच्छिन्न भोगचलनउपर कुनै कसैको उजूरवाजुर छैन । २०१३ सालदेखि नै भोगचलन गरि तिरो समेत तिरी आएको विवादित घरजग्गामा चीरभोगको सिद्धान्त Long Time Undisputed Possessory Right समेतबाट प्रतिवादीकै भोग स्वामित्वको देखिन आएको छ । उक्त विवादित कि.न. २३६ को घर जग्गामा लामो समयदेखि प्रतिवादीको भोग कायम रही निजको नाममा नापी भई स्रेस्तामा जनिएको भए तापनि निजको नाममा जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त भई नसकेको भन्ने देखिन्छ । यस्तो अवस्थामा प्रतिवादीको नामको नापी दर्ता बदर गरी वादीको नाममा दर्ता हुनुपर्छ भन्ने वादीको पुनरावेदन जिकीर एवं निजतर्फ का कानून व्यवसायीहरूको बहस बुँदासँग सहमत हुन सकिएन । साथै दोहोर्याई हेर्न निस्सा प्रदान गर्दा लिइएको आधार बुँदासँग पनि यो इजलास सहमत छैन ।
५. तसर्थ माथि विवेचित आधार प्रमाणबाट विवादित कि.नं २३६ को घर जग्गामा वादी दावी पुग्न नसक्ने ठहरी पुनरावेदन अदातल, पाटनबाट मिति २०६२।५।१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति संवत् २०६६ साल वैशाख ८ गते रोज. ३ शुभम्….
इजलास अधिकृत : माधवप्रसाद अधिकारी