शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१२६ - कर्तव्य ज्यान

भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक:

निर्णय नं. ८१२६    २०६६ साउन,अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त  इजलास

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

संवत् २०६४ सालको  साधक नं ०४४

फैसला मितिः २०६५।११।२२।५

 

मुद्दाः कर्तव्य ज्यान  ।

 

    वादीः जिल्ला सिरहा लक्ष्मीपुर (प्र.म.) गा.वि.स. वडा न. ३ बस्ने कोदे यादवको जाहेरीले   नेपाल सरकार 

विरुद्ध

    प्रतिवादीः जिल्ला सिरहा औरही गा.वि.स. वडा नं. ८ बस्ने लक्ष्मण यादव समेत

   

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री सहदेव बास्तोला .

पुनरावेदनमा फैसला गर्नेः

मा.मु.न्या. श्री बैद्यनाथ उपाध्याय

मा.न्या. श्री शान्तिराज सुवेदी

 

§  आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पूर्जीको म्यादभित्र उपस्थित भई आफ्नो निर्दोषिताको प्रमाण पेश गरी न्यायसम्पादनको कार्यमा चासो राख्न सक्नुपर्ने 

§  घरका लोग्ने, सासू, ससुरासमेत भई मृतकलाई घरबाट लिई जाने र ससुरा घर फर्की आएपनि मृतकको लोग्ने प्रतिवादी लक्ष्मण र सासू बौकीसमेत फरार रही लाश वेवारिसे फालेकोबाट यिनै प्रतिवादीहरूले मृतकलाई कुटपीट गरी मारेको तथ्य पुष्टि हुने 

(प्रकरण नं.५)

वादी तर्फबाटः

प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  अ.बं. १९०

§  ज्यानसम्बन्धी महलको १३(३) नं.

 

फैसला

    न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, राजविराजको मिति २०६३।११।२७ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एंव निर्णय यस प्रकार छ : 

    लखन साहको धान खेतमा दक्षिण टाउकी, उत्तर खुट्टा भएको लाश, पहेलो रंगको पोलिष्टर व्लाउज, वैजनी भूईंमा सेतो, पहेंलो, हरियो बुट्टा भएको साडी लगाएको, मुखबाट रगत निस्किरहेको, च्यापु र दुवै गाला समेतमा कालो दाग, घाँटीमा थिचेको दाग, अनुहार फुलेको भन्ने समेत व्यहोराको घटना तथा लाश प्रकृति मुचुल्का 

    चोट लागेको कारण मृतकको मृत्यु भएको भन्ने समेत पोष्टमार्टम रिपोर्ट 

    घटनास्थलमा फेला परेको लाशले लगाएको साडी, चोलो , काठको बाकस र लाशको  फोटोसमेत हेरी चिनें, मेरो कान्छी छोरी रुनी यादव हुन् भनी सनाखत गरेको कोदे यादवको कागज 

    मेरो छोरी रुनीदेवीको औरही वडा नं ८ वस्ने लक्ष्मण यादवसँग २०४९ सालमा विवाह गरी दिएको र २०५१। २।२२ गते निज छोरीको दुरागमन गराई ज्वाँईले लगेको र पछि मैले आषाढमा आफ्नो घरमा ल्याएको थिएँ । सोही महिनामा म विरामी परी उपचार गराउन दरभंगा गै घर फर्की आई मेरो श्रीमतीलाई छोरी कहाँ छ  भन्दा ज्वाँई लक्ष्मणले कुटपीट गरी घर लगे भनेपछि सोही दिन मेरो भाई समेतलाई पठाउँदा निजहरूले भतिजी रुनी खोई भनी सोद्धा ज्वाईसमेतले तपाँइहरूकै घर गएकी भनेकोले खोजतलाश  गर्दा वेवारेसे लाश फेला परेको, लाशले लगाएको कपडा र फोटो समेत देखाउँदा मेरो छोरीकै रहेछ र कसले मारे भनी बुझ्दा विपक्षी महादेव, लक्ष्मण, भुल्ला, बौकी, सहदेव, कारी र रामचन्द्र यादवसमेतले मेरो छोरीलाई दाइजो कम दिएको भनी मारी गाँगन खोला जाने बाटोको खेतमा फालिदिएका रहेछन् । कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त 

    मृतक वेवारेसे लासको फोटो, साडी, चोली समेत मेरो बहिनी रुनीदेवीको हो भन्ने समेत व्यहोराको वीरेन्द्रकुमार यादवको सनाखत कागज 

    देखाएको फोटो, सारी, चोलोसमेत मेरो छोरी रुनीदेवीको हो । सो साडी, चोलो छोरीको दिन गर्दा हामीले दिएको हो भन्ने समेत व्यहेराको जगतारैनीदेवीको सनाखत कागज 

    मृतक लासको फोटो र कपडासमेत कोदे यादवको छोरी रुनीदेवीको हो भन्ने समेत व्यहोराको बुझिएको देवी साहू, परमेश्वर, रामविलास, कारी साहू समेतको सनाखत कागज 

    मेरी छोरी रुनीदेवीको विवाह औरही वस्ने लक्ष्मण यादवसंग भएको र २०५१ साल श्रावणमा ज्वार्इं आई छोरी रुनीलाई हिंडभन्दा बुवा आएपछि मात्र जान्छु भनी छोरीले भन्दा कुटपीट गरेर लगेका र पछि श्रीमान् आएपछि सबै कुरा सुनाई देवर विहारीलाई ज्वाँईको घर पठाई छोरी खोइभन्दा तिमीहरूकै घर फर्की गइन् भनी निजहरूले जवाफ दिए भनी देवरले भनेकोले  दाइजो ( डाली) कम भयो भनी इवी राखी मेरो पति घरमा नभएको मौका पारी निजहरूले छोरी रुनीलाई कुटपीट गरी मारी फालेका हुनुपर्छ भन्ने समेत मृतककी आमा जगतारैनीदेवी यादव र वीरन्द्रकुमार यादव समेतको एकै मिलानको कागज 

    मृतक रुनी माइतीमा रहेको अवस्थामा २०५१ साल श्रावण ९ गते लक्ष्मण ससुराली गई रुनीलाई आफ्नो घरमा लगेको र कुटपीट गरी जाहेरीमा लेखाएका महादेव यादवसमेतका व्यक्तिहरूले कर्तव्य गरी मारेका हुन् भनी गाउँलेहरूले भनेको सुनेको हुँ  भन्ने समेत व्यहोराको सोनाई यादव,  रामेश्वर साह, अजयकुमार समेतको एकै मिलानको कागज 

    रामु यादवसँंग गफको सिलसिलामा रामचन्द्र यादव आजकल देखिँोस्दैन भनी सोद्धा रुनीदेवी मरेको डरले भागी भारततर्फ गएका छन् भनी सुनाएका थिए । जाहेरवालीको छोरीलाई कसले मारे थाहा छैन भन्ने समेत गौरी दासको कागज 

    जाहेरवालीको छोरी रुनीलाई  ज्वाँई लक्ष्मणले जवर्जस्ती ल्याएको र निज रुनी विरामी परी उपचार गराउन दरभंगा  लगेको र पछि घर नल्याएको भन्ने हल्ला सुनेको हुँ । जाहेरीमा उल्लिखित व्यक्तिहरूले रुनीलाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भनी भागवत दास, कारीदेव यादव समेतले गरेको कागज 

    छोरा लक्ष्मणले गोरुगाडीमा बुहारी रुनीलाई लिई आए । बुहारी घर आएको ५।६ दिनपछि ज्वरो आई उपचार गराउन दरभंगा लान म, लक्ष्मण, श्रीमती वौकी भई बुहारीलाई लिई गई लदनियासम्म पुर्‍याई निजहरूलाई त्यही छोडी म घर आएँ । लक्ष्मण र बौकीदेवी ३।४ दिपछि घर आएका हुन् । बुहारी रुनीको उपचार हुन नसकी मृत्यु भएको भन्यो । बुहारीलाई किन भारततर्फ उपचार गराउन लगे  छोरा लक्ष्मण नै जान् । देखाएको फोटो बुहारीको जस्तो लाग्छ । लाश भारतमै अन्त्येष्टी गरें भन्थे । कसरी लाश आयो  थाहा छैन भन्ने समेत व्यहोराको अभियुक्त महादेव यादवले प्रहरीमा गरेको वयान 

    २०५१।४।९ गते ज्वाई लक्ष्मणले रुनीलाई जवर्जस्ती लगेपछि दाजु उपचारबाट आएपछि छोरी लिन मलाई पठाउँदा तपाईकै घर गई भनेकोले खोजतलास लगाउँदा दाइजो कम दिएको कारणले लक्ष्मणसमेतका जाहेरीमा उल्लिखित मानिसहरूले कुटपीट गरी भतिजी रुनीलाई हत्या गरेकोमा पूर्ण विश्वास लाग्दछ भन्ने समेत विहारीप्रसादको कागज 

    जाहेरीवालाकी छोरी रुनी विरामी परेको भन्ने महादेवले भनेको सुनेको हुँ । विरामी परेको देखिन । विरामी भई भनी महादेव, बौकी, भुल्ला लक्ष्मण समेत भई घरबाट लगेको देखेको हुँ । महादेव सोही दिन फर्की आयो । अरु ३४ दिनपछि आए । रुनीदेवी फर्किइन । लक्ष्मणको भनाइअनुसार रुनीको भारतमा उपचार हुँदाहुदै मृत्यु भएको हो भन्ने समेत थियो । कसले मारेको हो, होइन  थाहा छैन भन्ने समेत रामचन्द्र यादवको वयान कागज 

    मिति थाहा छैन । मेरो बुहारीको मृत्यु भएको ४ दिन भयो । पूजा गरिदिनु भनी महादेवले भनेकोले म आई १० दिनको काजक्रिया गरिदिएको हुँ । काजक्रिया गर्दा महादेवबाहेकका परिवार अरु कोही थिएनन् । मृतक रुनी के भै मरेकी हुन  सो पनि मलाई थाहा छैन भन्ने समेत व्यहोराको षडानन्द झाको कागज 

    यसमा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं द्वारा निषेधित तथा सोही महलको १३(३) नं द्वारा परिभाषित कसूर अपराध गरेको देखिएको हुँदा निज प्रतिवादीहरू महादेव यादव, लक्ष्मण यादव, भुल्ला यादव तथा बौकी यादवनीलाई सोही ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम हदैसम्मको सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दाबी 

    फोटो देखें । बुहारी रुनी यादवको होइन । बुहारी विरामी परी लक्ष्मण यादवले उपचार गराउन दरभंगा लगेको र २०५१।५।३ गते निजको दरभंगामा नै मृत्यु भयो भनी लक्ष्मणले भनेका हुन् । देखाइएको सामानहरू मेरो बुहारीको होइन । मैले निज बुहारीलाई मारेको होइन । झूठ्ठा अभियोगबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी महादेव यादवले शुरु जिल्ला अदालतमा गरेको वयान 

    प्रतिवादी लक्ष्मण यादव, भुल्ला यादव र बौकीले २०५२।५।१ मा तामेल भएको म्यादी पूर्जीको म्याद गुजारी बसेका रहेछन् 

    यसमा प्रतिवादी महादेव यादवको छोराबुहारी मृतक रुनी यादवनी भएकोमा विवाद छैन । दाइजोको कारणबाट बुहारीलाई कुट्ने कार्य समेत हुने र मार्नेसम्म कार्य यी प्रतिवादीले गरेको होइन भन्न सकिने आधार प्रमाण देखिन नआएको र किटानी जाहेरी, घटनास्थल मुचुल्का, लाशजाँच मुचुल्का तथा पोष्टमार्टम रिपोर्टसमेतबाट यी प्रतिवादीसमेतले मारेको कुरा पुष्टि हुन आएकोले निज प्रतिवादी महादेव यादवलाई ज्यानसम्बन्धीको १३(३) नं अनुसार जन्मकैद हुने ठहर्छ । अन्य प्रतिवादीहरू लक्ष्मण यादव, भुल्ला यादव र बौकी यादवनीको हकमा अ.वं. १९० नं बमोजिम मुल्तवीमा राखिदिनु भन्ने समेत सिराहा जिल्ला अदालतबाट मिति २०५४।३।१७ मा भएको फैसला 

    बेवारेसे अवस्थामा फेला परेको सडेको लासलाई रुनीदेवीको ठहर गरी सिराहा जिल्ला अदालतले मलाई जन्मकैद गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी झूठ्ठा अभियोग दाबीबाट फूर्संद गरिपाऊँ भन्ने समेत प्रतिवादी महादेव यादवको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन पत्र 

    प्रतिवादी महादेव यादव आरोपित कसूरमा इन्कार रहेको, कर्तव्य गरेको देख्ने प्रत्यक्षदर्शीको अभाव रहेको र लाश प्रत्यक्ष सनाखत नभई फोटोबाट सनाखत भएको सन्दर्भसमेतबाट शुरु अदालतको फैसला फरक पर्नसक्ने देखिँदा अ.ब.२०२ नं समेत बमोजिम पुनरावेदन सरकारी वकील कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, राजविराजको मिति २०५५।२।१३ को आदेश 

    पोष्टमार्टम रिपोर्टअनुसारको घाउचोट यी पुनरावेदक प्रतिवादी महादेवको कारणबाट भएको भन्ने चश्मदीद गवाह र वस्तुनिष्ठ प्रमाणको अभावमा मृतकको ससुरा भएकै नाताले मात्र केवल अनुमान र शंकाको भरमा प्रतिवादी महादेव यादवलाई दोषी ठहर गर्न मिल्दैन । अन्य परिस्थितिजन्य प्रमाणबाट पनि अभियोगअनुसारको कसूर यी प्रतिवादी महादेवले गरेको पुष्टि नभएकोले दावीअनुसार सजाय गर्ने गरेको शुरु सिराहा जिल्ला अदालतको फैसला मनासिव देखिन आएन । अतः उल्लिखित प्रमाणहरूको आधारमा पुनरावेदक प्रतिवादी महादेव यादवले अभियोग पत्रबमोजिमको कसूर गरेको प्रमाणबाट नदेखिएकोले आरोपित कसूरबाट निजले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०५५।८।२९ को फैसला 

    मिसिल संलग्न प्रमाणबाट स्पष्ट जे दृष्टिगोचर हुन्छ त्यो नै इन्साफको स्रोत हो । त्यसैको आधारमा न्याय निरोपण गरिनु पर्ने हो । तर प्रस्तुत मुद्दामा संकलित सबुद प्रमाणबाट देखिएको कुरालाई एकातर्फ पन्छाई प्रतिवादीलाई सफाइ दिएको हुँदा पुनरावेदन अदालत, राजविराजको फैसला प्रमाणसम्मत नभई त्रुटिपूर्ण समेत भएको हुँदा सो फैसला बदर गरी माग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फबाट सर्वोच्च अदालतमा पर्न आएको पुनरावेदन पत्र 

    शुरु जिल्ला अदालतले प्रतिवादीलाई वादी दाबीबमोजिम कसूरदार ठहराई गरेको फैसला उल्टी गरी प्रतिवादी महादेव यादवलाई सफाइ दिने गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०५५।८।२९ को फैसला मनासिव हुँदा सदर हुने ठहर्छ, वादी श्री ५ को सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०५९।१२।१२ मा सर्वोच्च अदालतबाट भएको फैसला 

    प्रतिवादी लक्ष्मण यादव, प्रतिवादी भूल्ला यादव, प्रतिवादी बौकी यादवनी समेतको हकमा मिति २०५४।३।१७ को फैसलाले अ.वं. १९० नं अनुसार मुलतवी रहेको निजहरू म्यादभित्र पक्राउ परी वा आफैं हाजिर हुन नआएकोले प्रस्तुत मुद्दा मुलतवीबाट जगाउने आदेश गरी दिएको छ । सरकारी फौजदारी दायरीमा दर्ता गरी पेश गर्नु भन्ने समेत मिति २०६३।४।२१ गते मुलतवीबाट जागी दायर भएको 

    फरार प्रतिवादीहरू लक्ष्मण यादव, भुल्ला यादव र बौकी यादवले कसूर नगरेको भए फरार रहनु नपर्ने र आफ्नो पक्ष अदालतमा प्रस्तुत गरी सफाइ लिनु पर्नेमा सो नभएबाट सम्पूर्ण सबूद प्रमाणबाट यी प्रतिवादीहरू निर्दोष हुन् भनी मान्न नमिली दाइजोको कारणबाट मृतकलाई कुटपीट गरी मारेको कुरा लाशप्रकृति मुचुल्का र लाशजाँच रिपोर्टबाट प्रमाणित हुन आएको र यस्तो प्रमाणलाई गौण मानी अदालतमा नआई फरार रहनेलाई सुविधा दिने हो भन्ने फौजदारी न्याय विकृत हुन जाने हुँदा उपर्युक्त आधारमा प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर्छ । प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने सिराहा जिल्ला अदालतबाट मिति २०६३।५।११ मा भएको फैसला 

    साधक जाँचको लागि शुरु जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, राजविराजमा पेश भएको 

    रुनीदेवीलाई निजको लोग्नेले कुटपीट गर्दै लगेको र छोरी फेला नपरेकी र बेवारेसे फालिएको लास र वाकस फेला परी लास वेवारेसे भनी डोमको जिम्मा लागेकोमा प्रमाण नै लोप गरिसकेकोमा लासले लगाएको लुगा, फोटो र वाकसको आधारबाट सनाखत भई बल्लतल्ल छोरीलाई मारेको थाहा पाएको स्थिति छ । लाश छेउमा फेला परेको गम्छा मृतकको लोग्ने लक्ष्मण यादवको भनी वयान गरेको समेतबाट लक्ष्मण यादव कसूरदार होइन भनी मान्न मिल्ने देखिन आएन । लक्ष्मण यादवसमेतले रुनी यादवलाई विहानै लिई गएको र लाश छेउबाट लक्ष्मणको गम्छा वरामद भएको कारण समेतबाट निज समेत भई रुनीदेवीको हत्या गरी अरोपित कसूर गरेको देखिन आयो 

    प्रतिवादी बौकी यादवनी र भुल्ला यादवको हकमा विचार गर्दा दहेजको विषयमा रुनी यादवलाई कुटपीट गर्ने गरेको तथ्यको अलावा रुनी यादवनीलाई लक्ष्मण यादवले विहानै लिएर जाँदा पनि बौकी यादवनी पनि गएको भनी महादेव यादवले अनुसन्धानको सिलसिलामा कागज गर्दा स.ज.३  मा उल्लेख गरिदिएका, त्यस्तै गरी मुद्दा नचलाइएका तर तत्काल अभियुक्तको रूपमा रहेको रामचन्द्र यादवले अनुसन्धानको सिलसिलामा कागज गर्दा स.ज.३ मा महादेव यादव निजको श्रीमती बौकी देवी, भुल्ला यादव र लक्ष्मण यादवले उज्यालो नहुँदै रुनी यादवलाई लगेका भनी लेखाई दिएको देखिन्छ । यसरी प्रतिवादीहरूका घरतर्फका व्यक्तिहरूले पनि रुनी यादवलाई लगेको महादेव यादव उसै दिन फर्के पनि अरु नफर्केको र रुनी हराएको तथ्यहरू लेखाई दिएको अवस्थामा  जारी भएको वारेन्ट र म्यादी पूर्जीको म्यादअनुरूप हाजिर भई प्रतिवाद नगरी फरार रही बसेको, आफ्नो परिवारको बुहारीको हत्या भएको छ घरको मुली महादेव यादव प्रतिवादी गर्न आई इन्कार रहने उसै घरका अन्य प्रतिवादीहरूले मृतकलाई लिई गएको देख्ने भनेकोमा त्यो कुरा होइन भन्न नआई भारतमा मरेको भन्ने प्रमाण बनाउन लाग्ने यावत् कारणहरूबाट यी प्रतिवादी बौकी यादवनी र भुल्ला यादवलाई निर्दोष हुन् भनी मान्न मिलेन । निजहरू समेत मिली रुनीदेवीको हत्या गरेको देखिन आएकोले प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर्‍याई जन्मकैद गरी प्रतिवादीहरू लक्ष्मण यादव, बौकी यादव र भुल्ला यादव समेत जना तीन को हकमा साधक जाहेरीको लागि पेश गरेकोमा शुरु सिराहा जिल्ला अदालतबाट मिति २०६३।५।११।१ मा तीनै जनालाई कसूरदार ठहर्‍याई जन्मकैद गर्ने गरेको फैसला मिलेकै हुँदा साधक सदर हुने  ठहर्छ भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६३।११।२७ को फैसला 

    पुनरावेदन अदालतबाट भएको फैसला साधक जाँचको लागि  यस अदालतमा दर्ता भई पेश भएको 

    नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो 

    २.   निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू लक्ष्मण यादव, भुल्ला यादव र वौकी यादवको नाममा शुरु जिल्ला अदालतबाट जारी भएको वारेन्टसहितको म्यादी पूर्जीको म्यादमा निजहरू हाजिर नभई फरार रहेका कारण निजहरूको हकमा अ.व. १९० नं. बमोजिम मुलतवी रही अर्को प्रतिवादी महादेव यादवको हकमा इन्साफ हुँदा निज प्रतिवादी महादेव यादवलाई शुरुले अभियोग दाबीबमोजिम कसूरदार कायम गरी ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सजाय गर्ने गरेको फैसला उल्टी गरी पुनरावेदन अदालत, राजविराजबाट सफाइ दिने गरी मिति २०५५।८।२९ मा भएको फैसला यस अदालत समेतबाट मिति २०५९।१२।१२ मा सदर भै अन्तिम भइरहेको देखियो  

    ३.   यी प्रतिवादीहरूको हकमा मिति २०६३।४।२१ को आदेशले प्रस्तुत मुद्दा मुलतवीबाट जागी शुरु सिरहा जिल्ला अदालतबाट फैसला हुँदा अभियोग दाबीबमोजिम कसूरदार ठहर गरी प्रतिवादीहरू लक्ष्मण यादव, भुल्ला यादव र वौकी यादव समेतलाई ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सजाय हुने ठहर भएकोमा सो फैसला सदर हुने गरी भएको पुनरावेदन अदालतको फैसला साधक जाँचको लागि पेश भएको अवस्था देखियो 

    ४.   प्रतिवादीहरू लक्ष्मण, भुल्ला र बौकीसमेतले मृतक रुनीदेवीलाई दाइजोको विषयमा कुटपीट गरी मारी फाली दिएको भन्ने जाहेरी दरखास्त रहेको देखिन्छ भने मृतकको पोष्टमार्टम रिपोर्टमा Shock Due To Haemorrage caused by Neck Injury भन्ने उल्लेख भइं मृतकको शरीरभरि र गाला, च्यापू, घाँटीसमेतमा चोट लागेको भन्ने देखिन्छ । दाइजोको कारणबाट मृतक रुनीदेवीलाई सासू, ससुरा र लोग्नेले कुटपीट गर्ने गरेको र वारदातपूर्व पनि ज्वार्इँले कुटपीट गर्दै मृतक छोरी घरतिर लगेको भन्दै जाहेरवाला कोदे यादवले जाहेरी दिई अदालतमा आई किटानी बकपत्र गरेको अवस्था छ । अनुसन्धानका क्रममा बुझिएका वीरेन्द्रकुमार यादव र जगतारैनी देवीले समेत अनुसन्धानको सिलसिलामा लेखाई दिएको व्यहोरालाई समर्थन गर्दै अदालतमा बकपत्र गर्दा यिनै प्रतिवादीहरूलाई पोल गरेको देखिन्छ । यसै अभियोगका अर्का आरोपी तथा मृतकका ससुरा महादेव यादवले आरोपित कसूरबाट सफाइ पाउने गरी यस अदालतसमेतबाट अन्तिम फैसला भइसकेकोमा निज महादेव यादवको अधिकारप्राप्त अधिकारीसमक्षको वयान हेर्दा मृतकको लाश छेउमा बरामद भएको गम्छा प्रतिवादी लक्ष्मण यादवको हो भनी निजले उल्लेख गरिदिएको देखिन्छ । मृतक रुनीदेवीलाई निजको लोग्ने प्रतिवादी लक्ष्मण यादवले कुटपीट गर्दै लगेको र छोरी फेला नपरेकीले खोजतलास गर्दा वेवारेसे अवस्थामा फालिएको लाश र वाकससमेतको आधारमा मृतकको सनाखत गरी यी प्रतिवादीहरू उपर किटानी जाहेरी दिएको यस्तो स्थितिमा मृतकको लाश नजिकबाट बरामद भएको गम्छा प्रतिवादी लक्ष्मण यादवकै भएको भन्ने निजकै बाबु अर्का प्रतिवादी महादेव यादवको वयानसमेतबाट पुष्टि  भइरहेको समेतबाट प्रतिवादीहरू लक्ष्मण यादव, भुल्ला यादव र बौकी यादवको कर्तव्यबाटै रुनादेवीको हत्या भएको देखिन आयो 

    ५.  प्रतिवादीहरू लक्ष्मण यादव, भूल्ला यादव र बौकी यादवले शुरु म्यादै गुजारी फरार रहेको स्थिति छ । यी प्रतिवादीहरूले आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पूर्जीको म्यादभित्र उपस्थित भई आफ्नो निर्दोषिताको प्रमाण पेश गरी न्याय सम्पादनको कार्यमा चासो राख्न सक्नु पर्ने हुन्छ । मृतकको लोग्ने तथा सासूसमेतका नाताका प्रतिवादीहरूले आफ्नो पत्नी तथा बुहारीको कर्तव्य गरी मार्ने कार्यमा संलग्नता नरहेको भए फरार रही वस्नुपर्ने पनि देखिँंदैन । मृतकको लाशसँगैबाट लक्ष्मण यादवको गम्छा बरामद भएको र  घरबाट मृतकलाई लिएर जाँदा लक्ष्मण यादवसँग बौकी यादवसमेत साथै गएको तथ्य महादेव यादवको वयानबाट खुलिरहेको देखिएको छ । त्यस्तै अनुसन्धानकै क्रममा रामचन्द्र यादवले गरेको बयानमा मृतक रुनीदेवीलाई महादेव यादव, लक्ष्मण  यादव, भूल्ला यादव र बौकी  यादव भई घरबाट लिई गएका भनी उल्लेख गरिदिएकोमा निज महादेव यादव उसै दिन घर फर्की आई यी प्रतिवादीहरू लक्ष्मण, भूल्ला र बौकीमात्र फरार रहेको देखिन्छ । मिसिल संलग्न महादेव यादवकै अधिकारप्राप्त अधिकारीसमक्षको र अदालतको वयान हेर्दा मृतक रुनीदेवीलाई भारतको दरभंगामा उपचार गर्न लैजाँदा बाटामै मरेको हो कि भन्न पनि मृतक रुनीदेवी प्रतिवादीहरूसँग घरमा रहेको बखत भारतमै लैजान पर्ने गरी विरामी रहेको भन्ने कहीँबाट खुल्दैन । निजलाई प्रतिवादीहरूले उपचार गर्न भारततर्फ लगेका वखत मृत्यु भएको भए निजको लाश नेपालभित्र ल्याई वेवारिशे अवस्थामा फाली प्रमाण नै लोप हुने स्थिति सिर्जना गर्नुपर्ने पनि देखिँदैन । घरका लोग्ने, सासू, ससुरासमेत भई मृतकलाई घरबाट लिई जाने र ससुरा घर फर्की आए पनि मृतकको लोग्ने प्रतिवादी लक्ष्मण र सासू बौकीसमेत फरार रही लाश वेवारिशे फालेकोबाट यिनै  प्रतिवादीहरूले मृतकलाई कुटपीट गरी मारेको तथ्य पुष्टि हुन  आउँछ 

    ६.   तसर्थ प्रतिवादीहरू लक्ष्मण यादव, भूल्ला यादव र बौकी यादवलाई आरोपित अभियोगमा कसूरदार ठहर्‍याई ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जनही जन्मकैद हुने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६३।११।२७ को फैसला मिलेको देखिँदा साधक सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या. गिरीशचन्द्र लाल

 

इति संवत् २०६५ साल फागुन २२गते रोज ५ शुभम्.

 

इजलास अधिकृत : विदुर कोइराला

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु