शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१२७ - जवर्जस्ती करणी

भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक:

निर्णय नं. ८१२७   २०६६ साउन,अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६१ सालको स.फौ.पु.नं. ..३७५४

फैसला मितिः २०६६।१।३।५

 

मुद्दा : जवर्जस्ती करणी

 

    पुनरावेदकः ख कुमारी (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार                                                                      

विरुद्ध

    प्रतिवादीः जिल्ला कैलाली टिकापुर न.पा. वार्ड नं. ६ वस्ने वीरबहादुर टमटा

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री नारायणप्रसाद धिताल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री सोमबहादुर कोइराला

मा.न्या. श्री परशुराम झा

 

§  अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान पीडितको मौकाको कागज,  जाहेरी दर्खास्त, चिकित्सकहरूको प्रतिवेदन, घटनास्थल मुचुल्काजस्ता मिसिल संलग्न स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भइरहेको र ती प्रमाणहरू अन्यथा हुन् भनी प्रतिवादीले खण्डन हुने गरी पुष्टि गर्न नसकेको समेतको आधार प्रमाणबाट प्रतिवादीले १४ वर्ष मुनिको पीडित वालिकालाई करणी गरेको ठहर्ने 

(प्रकरण नं.२)

§  करणी गरेको तथ्य शंकारहित तवरबाट पुष्टि नभएको भनी फौजदारी न्यायको शंकाको सुविधा प्रतिवादीले पाउँछ भन्ने सिद्धान्तको गलत व्याख्या एवं प्रयोग गरी आरोपित कसूरबाट सफाइ दिन नमिल्ने 

(प्रकरण नं.३)

 

पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी

प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ र ३ नं.

 

फैसला

    न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, दिपायलको मिति २०६०।९।२२।३ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकारछ :

    ज्ञ कुमार (परिवर्तित नाम) को छोरी वर्ष ८ की क कुमारी (परिवर्तित नाम) लाई तिम्रो दिदी विरामी छ टीकापुर पुर्‍याइ दिन्छु भनी मिति २०५७।६।२ गतेका दिन निजको भिनाजु वीरबहादुर टमटाले घरबाट लगी साझ ८ वजेको समयमा लालवोझीको जंगलमा जवर्जस्ती करणी गरेको कुरा पीडित क कुमारीले भनेकीले वीरबहादुर टमटा माथि कारवाही गरिपाऊँ भन्ने समेत ख कुमारीको २०५७।६।६ को जाहेरी दरखास्त 

    क कुमारीलाई करणी गरेको लक्षण  देखिन्छ । योनी च्यातिएको छैन भन्ने २०५७।६।६ को मेडिकल जाच रिपोर्ट 

    प्रतिवादी वीरबहादुर टमटा मेरो दिदी शर्मीलाको देवर मेरो भिनाजु नाता पर्ने हुँदा मेरो घरमा आउने जाने गर्दथ्यो । यसै क्रममा  २०५७।६।१ गते निज भिनाजु मेरो घरमा आई तिम्रो दिदी विरामी छ, वालवच्चाको हेरचाह गर्न तिमी मेरो साथमा हिड भनी २०५७।६।२ गते टीकापुर जानको लागि बोलाएर ल्यायो । सो दिन टीकापुर नगइ लम्की हुदै जोशीपुर आफ्नो दिदीकहाँ बसौंला भनी भन्न थाल्यो । जोशीपुर पुग्न साझ परिसकेको हुंदा साझ ७।८ वजेको समयमा लालवोझी गा.वि.स. ५ को जङ्लमा पुग्दा साइकल रोकी बाटो भन्दा केही पर जङ्गलभित्र लगी जवर्जस्ती भुईमा पल्टाई रोए कराएमा मारी दिन्छु भनी धम्की दिई जवर्जस्ती करणी गरेपछि म वेहोस भएँ । भोलिपल्ट होस आउदा आफ्नो घर पथरैयामा आएकी हुं । मैले कसैलाई भनेकी थिइन । मिति २०५७।६।५ गते ख कुमारीले वताउ भनी जोर गरेको हुँदा भएको व्यहोरा वताएकी हुँ भन्ने समेत व्यहोराको पीडित क कुमारीले प्रहरीमा गरेको कागज 

    करणी गरिएको भनिएको ठाउमा घास मांडिएका, माटो खोस्रिएको, खुटृाको छाप देखिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का 

    साली क कुमारीलाई तिम्रो दिदी विरामी छ तिमीलाई लिन आएको हुँ भनी २०५७।६।२ गते टीकापुर लैजान भनी साथमा लगी लालवोझी भै जाँदा झमक्क रात परेकोले यताउती घर पनि नभएकोले थकाईले गर्दा जंगलको रुख मुनी वास वस्यौं । सोही राति मैले मैनाको हातमुख च्यापी जवर्जस्ती करणी गरेको हुं भन्ने समेत प्र. बीरबहादुर टमटाले प्रहरीमा गरेको वयान 

    वीरबहादुरले मैनालाई करणी गर्‍यो भन्ने कुरा सुनेको हुं भन्ने समेत केशबहादुर साउद समेतका ३ जनाले गरिदिएको कागज 

    जाहेरी दरखास्त, केशबहादुर साउद समेतका मानिसको कागज, वस्तुस्थिति मुचुल्का जस्ता संकलित सबूद प्रमाणका आधारमा क कुमारीलाई बीरबहादुर टमटाले जवर्जस्ती करणी गरेको देखिँदा मुलुकी.ऐन, जवर्जस्ती करणीको महलको १ नं. को कसूरमा सोही महलको ३ नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम आधा अंश पीडितलाई दिलाइपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र 

    मेरो भाउजु विरामी भएकोले मेरो साली नाता पर्ने क कुमारीलाई तिम्रो दिदी विरामी छ तिमीलाई बोलाएको छ भनी भनेकाले सालीको घरबाट मिति २०५७।६।३ गते मसँग साइकल भएकोले पछाडि राखेर साली क कुमारीलाई ल्याई लालवोझी मेरो दिदी रुखुको घरमा रात वास  बस्यौं । भोलिपल्ट पनि त्यही बस्यौं । त्यहांका गाउलेहरूले लौ यसले केटी भगाएर ल्यायो भनी हल्ला गरेको हुनाले २०५७।६।५ गते भजनी थानाका प्रहरीले समातेका हुन् । मैले क कुमारीलाई करणी गरेको छैन । प्रहरीमा भएको वयान पढेर सुनाएनन् भन्ने समेत व्यहोराको प्रतिवादी बीरबहादुर टमटाले अदालतमा गरेको वयान 

    पीडितको उमेर पनि कलिलो, धाकधम्कीका कारणबाट कसैलाई नभनेकोलाई स्वाभाविकै मान्नु पर्ने, मौकाको जाहेरी, पीडितको कागज, अस्पतालको जाँच, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयानबाट समेत प्रतिवादीले १४ वर्ष मुनिकी वालिकालाई करणी गरेको देखिँदा प्र. वीरबहादुर टमटालाई ६ वर्ष कैद र निजको भागको आधा अंश पीडित क कुमारीले भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको  मिति २०५९।१०।२ को कैलाली जिल्ला अदालतको फैसला 

    जाहेरीदेखि अन्य बुझिएका व्यक्ति र अन्य कागज गर्ने कुनै पनि व्यक्तिले जवर्जस्ती करणी गरेको देखेको छ भन्ने कोही कसैले भन्न लेखाउन सकेको पाईदैन । शंकास्पद कथनलाई प्रमाणमा लिन मिल्ने होइन । क कुमारी ८ वर्षकी मात्र भएकीले र जवर्जस्ती करणी गरेको भए यति सानो क कुमारीको योनी अंग विकसित नभएको वालिकाको यौनाङ्ग च्यातिनुपर्ने घाउ देखिन पर्ने, रगत बगेको वा कपडामा रगत वा वीर्य लागेको देखिनु पर्ने ठोस सबूद प्रमाणको अभावमा कसूरदार ठहर्‍याई गरिएको शुरु फैसला गम्भीर त्रुटिपूर्ण रहेको र प्रमाण ऐन, २०३१ को दफा ३,,२५ को प्रतिवन्धात्मक वाक्यांशसमेतको विपरीत रहे भएकोले बदर उल्टी गरी सफाई दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बीरबहादुर टमटाको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन पत्र 

    जाहेरी दर्खास्तबाहेकका अन्य कुनै पनि व्यक्तिले अदालतमा आई प्रतिवादीले जवर्जस्ती करणी गरेको भनी भन्ने लेखाउन सकेको देखिँदैन । फैजदारी अपराधको कसूर गर्ने कुनै व्यक्तिउपर अपराध गरेको हो भनी दावी पुष्टि गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ ले वादी पक्षलाई भएकोमा ठोस सबुद प्रमाणको अभावमा फौजदारी अभियोगमा प्रतिवादीले शंकाको सुविधा पाउने हुंदा केवल प्रहरीमा गरेको वयानलाई मात्र आधार मानी शुरु कैलाली जिल्ला अदालतले प्रतिवादीलाई कसूरदार ठहर्‍याई गरेको फैसला मिलेको नहुंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत  दिपायलको मिति २०६०।९।२२।३ को फैसला 

    प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादीको प्रहरीसमक्षको वयानलाई अन्यथा भन्न सकिने अवस्था नरहेको,  पीडित र जाहेरवालीको कागज, मेडिकल रिपोर्टसमेतका आधार प्रमाणहरूको विश्लेषण नगरी शुरु इन्साफ उल्टी गरी प्रतिवादीलाई सफाइ दिने गरी पुनरावेदन अदालत दिपायलले गरेको फैसला गम्भीर त्रुटिपूर्ण देखिँदा सो फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

    यसमा पीडित वालिका वर्ष ८ को नावालक भन्नेमा  विवाद भएन । प्रतिवादीले प्रहरीसमक्ष वयान गर्दा कसूरमा सावित भई वयान गरेको देखिन्छ । प्रहरीको सावितीलाई जाहेरी दर्खास्त, पीडित नावालिकाको शारीरिक परीक्षण गर्दा तीन जना डाक्टरहरूको मेडिकल वोर्डले स्पष्टरूपमा पीडितमाथि करणी गरेको भन्ने राय दिएको हुँदा प्रतिवादीको प्रहरीसमक्षको वयानलाई स्वतन्त्र प्रमाणले समर्थन गरेको देखिएकोमा प्रतिवादीलाई सफाई दिने गरेको पुनरावेदन अदालत, दिपालयको फैसला फरक पर्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६३।८।८।६ को आदेश 

    नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले प्रतिवादीको मौकाको कागजमा आंफूले पीडितलाई जवर्जस्ती करणी गरेको स्वीकार गरेको, पीडितको भनाईअनुसार नै प्रतिवादी उपर किटानी जाहेरी परेको, पीडितको शारीरीक परीक्षणको रिपोर्टबाट निजलाई करणी गरेको लक्षण देखिएको भन्ने समेतका सबुद प्रमाणहरू मिसिल संलग्न रहेका छन् । ती प्रमाणहरू अन्य कुनै पनि किसिमबाट खण्डित हुन आएको नदेखिँदा उपरोक्त प्रमाणहरूको विश्लेषण नगरी भएको पुनरावेदन अदालत, दिपायलको फैसला नमिलेकोले उल्टी गरी अभियोग मांग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेतको बहस जिकीर प्रस्तुत गर्नुभयो 

    उपरोक्त बहस जिकीर एवं मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा क कुमारीलाई प्रतिवादी वीरबहादुर टमटाले डरधाक धम्की दिई जवर्जस्ती करणी गरेको कुरा पीडित क कुमारीले भनेकीले प्रतिवादीउपर कानूनी कारवाही गरिपाऊँ भनी परेको जाहेरी दर्खास्तउपर अनुसन्धान कार्यअगाडि वढाउदै लैजाँदा पक्राउ परेका प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको वयानमा आफूले पीडितलाई जवर्जस्ती करणी गरेको भनी स्वीकार गरेको, पीडितको स्वास्थ्य परीक्षणको प्रतिवेदन, पीडितको मौकाको कागज, पीडितको उमेर तथा वस्तुस्थिति मुचुल्काका मानिसको भनाईबाट  पीडित क कुमारीलाई जवर्जस्ती करणी गरेको हुँदा मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं. को कसूरमा सोही महलको ३,१० नं. बमोजिम सजाय गरी प्रतिवादीको आधा अंश पीडितलाई दिलाई भराई पाऊँ भन्ने अभियोग पत्र माग दावीउपर सुनुवाई हुंदा शुरु कैलाली जिल्ला अदालतले प्रतिवादीलाई कसूरदार ठहराई छ वर्ष कैद र निजको भागको आधा अंश पीडितलाई दिलाई भराई दिने ठहर गरेको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, दिपालयको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन आज यस इजलाससमक्ष पेश हुन आएको देखियो 

    यसमा प्रतिवादीलाई जवर्जस्ती करणीको अभियोग दावीबाट सफाई दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन भन्ने विषयमा नै निर्णय दिनुपर्ने देखिन आयो 

    २.   निर्णयतर्फ विचार गर्दा मेरो भतिजी नाता पर्ने पीडित क कुमारीलाई मिति २०५७।६।२ गते साँझ ८:०० वजे लालवोझीको जंगलमा लगी प्रतिवादीले करणी गरेको कुरा पीडितले भनेबाट थाहा भएको हुँदा कारवाही गरिपाऊँ भनी  जाहेरवाली ख कुमारीको किटानी जाहेरी परेको देखिन्छ भने पीडित क कुमारीले गरेको मिति २०५७।६।८ को कागजमा पनि प्रतिवादीले आफूलाई जवर्जस्ती करणी गरेको हो भनी जाहेरी व्यहोरालाई समर्थन गरी मौकाको कागज गरिदिएको अवस्था पाइन्छ । यसै क्रममा पक्राउ परेका प्रतिवादी वीरबहादुर टमटाले मिति २०५७।६।९ मा गरेको वयानको स.ज. ३ मा समेत जाहेरी तथा पीडितको मौकाको कागजलाई समर्थन गरी आफूले पीडितलाई जवर्जस्ती करणी गरेको हो भनी स्वीकार गरेको देखिन्छ   यसै सन्दर्भमा मिति २०५७।६।८ को घटनास्थल मुचुल्कामा उल्लिखित जवर्जस्ती करणी भएको भनिएको ठाउको हरियो घांस मांडिएको, माटो खोस्रिएको ठाउँमा खुटृाको वुढी औंलाको छाप रहेको भन्ने समेतको व्यहोरा उल्लेख हुनाको साथै जिल्ला प्रहरी कार्यालय कैलालीले २०५७।६।९ मा च.नं. ९४९ मार्फत सेती अञ्चल अस्पताल, धनगढीलाई पीडितको शारीरिक जाँच गरी निजलाई करणी गरेको लक्षणहरू छन्, छैनन् भन्ने समेतको विषयमा स्पष्ट पारी प्रतिवेदन पठाइदिनु हुन भनी अनुरोध गरेकोमा सो अस्पतालले पीडितलाई करणी गरेको लक्षण  देखिन्छ । सो करणी तीनदेखि सात दिनभित्र गरेको देखिन्छ भन्ने समेतको तीन जना डाक्टरहरूको प्रतिवेदन मिसिल सामेल रहेको देखिन्छ  । यसैगरी प्रतिवादीले अदालतसमक्षको मिति २०५७।७।१ को वयानको स.ज. ३ मा आफूले पीडित क कुमारीलाई करणी गरेको होइन भनी इन्कार रही वयान गरेको देखिएतापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान पीडितको मौकाको कागज,  जाहेरी दर्खास्त, सेती अञ्चल अस्पतालका तीन जना चिकित्सकहरूको प्रतिवेदन, घटनास्थल मुचुल्का जस्ता मिसिल संलग्न स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भइरहेको, ती प्रमाणहरू अन्यथा हुन भनी प्रतिवादीले खण्डन हुने गरी पुष्टि गर्न नसकेको समेतका आधार प्रमाणबाट प्रतिवादीले १४ वर्ष मुनिकी पीडित वालिकालाई जंगलमा लगी करणी गरेको स्पष्ट रूपमा देखिन आउँछ 

    ३.   तसथर्, उल्लिखित प्रमाणहरूको विश्लेषणबाट प्रतिवादीले पीडित क कुमारीलाई करणी गरेको स्पष्ट हुँदाहुँदै प्रतिवादीले करणी गरेको तथ्य शंकारहित तवरबाट पुष्टि नभएको भनी फौजदारी न्यायको शंकाको सुविधा प्रतिवादीले पाउँछ भन्ने सिद्धान्तको गलत व्याख्या एवं प्रयोग गरी प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत, दिपायलको मिति २०६०।९।२२ को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुने ठहर्छ । प्रतिवादीलाई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं. को कसूरमा सोही महलको ३ नं. बमोजिम ६ वर्ष कैद र १० नं. बमोजिम प्रतिवादीको भागको आधा अंश पीडित क कुमारीलाई भराई दिने ठहर्‍याएको कैलाली जिल्ला अदालतको मिति २०५९।१०।२ को फैसला कायम हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू 

तपसिल

    प्रस्तुत मुद्दामा विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०६४ बमोजिम पीडित, जाहेरवाला तथा पीडितको पिताको नाम गोप्य राखिएकोले सो निर्देशिकाबमोजिम निजहरूको नाम गोप्य राखी कानूनबमोजिम गर्नू ...१    

    माथि उल्लेख भएबमोजिम पुनरावेदन अदालत, दिपायलको फैसला उल्टी भई कैलाली जिल्ला अदालतको प्रतिवादीलाई ६ वर्ष कैद र निजको आधा अंश पीडित क कुमारीलाई भराई दिने फैसला कायम भएकोले पुनरावेदन अदालत, दिपायलको मिति २०६०।९।२२ को फैसलाको तपसिल खण्डको देहाय २ कायम रहन नसक्ने हुंदा सोको सटृा प्रतिवादी बीरबहादुर टमटालाई ६ वर्ष कैद हुने तर निज मिति २०५७।७।६ देखि प्रहरी हिरासतमा र थुनामा बसी आएकोमा पुनरावेदन अदालत, दिपायलको च.नं. ८८८ मिति २०६०।९।२२ को पत्रानुसार २०६०।९।२३ देखि थुनामुक्त भई निज ३ वर्ष २ महिना १७ दिन कारागारमा वसेको देखिँदा वाँकी अवधि २ वर्ष ९ महिना १३ दिनको प्रतिवादी वीरबहादुर टमटाको नामको कैदको लगत वेरुजु हुंदा सो लगत कायम राखी असूल गर्नु भनी कैलाली जिल्ला अदालतमा लेखी पढाई दिनू ............  

    पीडित क कुमारीले प्रतिवादी वीरबहादुर टमटाको भागको आधा अंश जवर्जस्ती करणीको महलको १० नं. बमोजिम वण्डा छुट्याई पाउने ठहरेकाले कानूनका म्यादभित्र निज क कुमारीको दरखास्त परे कानूनबमोजिम वण्डा छुट्याइदिन लगत राख्नु भनी कैलाली जिल्ला अदालतमा लेखिपठाई दिनू .......३

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ........४

 

 

उक्त रायमा म सहमत छु 

 

न्या.मोहनप्रकाश सिटौला

 

इजलास अधिकृत :   कृष्णप्रसाद सुवेदी

 

इति संवत् २०६६ साल वैसाख ३ गते रोज ५ शुभम्...

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु