निर्णय नं. ९२७० - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।४।२८। ४
०७०-CI-०००६
मुद्दा : अंश चलन ।
पुनरावेदक/वादी: नन्दरामको छोरा, काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी :काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल मूल घर भई हाल ३०४ ह्याकामोर लेन फ्रिमन्ट क्यालिफोर्निया ९४५३९ बस्ने आरती न्यौपाने
०७०-CI-००८८
पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल मूल घर भई हाल ३०४ ह्याकामोर लेन फ्रिमन्ट क्यालिफोर्निया ९४५३९ बस्ने दीपक न्यौपानेसमेत
विरूद्ध
प्रत्यर्थी/वादी : नन्दरामको छोरा, काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने
०७०-CI-०३४६
पुनरावेदक/प्रतिवादी : दण्डपाणिको छोरा, हाल नं. १७०/१७२ सेकेन्ड फ्लोर मेहवनडुला गार्डेन स्ट्रिट क्याङटाडा टाउनसीप यानोद्री म्यानमार बस्ने, वर्ष ७७ को नन्दराम न्यौपानेसमेत
विरूद्ध
प्रत्यर्थी/वादी : नन्दरामको छोरा, काउन्टी क्लब(लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने
०७०-CI-००७९
पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल बस्ने अजय न्यौपानेको मु.स. गर्ने काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने दिपा लोहनी न्यौपाने
विरूद्ध
प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ घर भई हाल काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने
§ सगोलका अंशियारमध्ये एक अंशियारले अर्को अंशियारलाई बकसपत्र गरिदिएको अवस्थामा समेत त्यस्तो सम्पत्ति सगोलकै मान्नुपर्ने अवस्था भएको । खरिद गरेको स्वआर्जन भने तापनि त्यसको तथ्ययुक्त प्रमाण पेस गरी प्रमाणित गर्न सकेको अवस्था नदेखिँदा सगोलमा रहेको अवस्थामा बढे बढाएको सम्पत्ति सगोलकै मानिने र बन्डा लाग्ने प्रकृतिको हुने ।
(प्रकरण नं. ३)
§ बकसपत्र पाउनु वा खरिद गरिलिनुअघि नै बन्डा छुट्टिई अलग भइसकेको भन्ने कुनै प्रमाण पेस हुन सकेको अवस्था नदेखिएको हुँदा पहिले नै छुट्टि भिन्न भै सकेको मान्न नसकिने ।
(प्रकरण नं. ५)
वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता नारायण बल्लभ पन्त तथा विद्वान् अधिवक्ताहरू बद्री पाठक, जगदीशचन्द्र पाण्डे, प्रकाश रेग्मी, विजयप्रसाद मिश्र, पुरूषोत्तमराज खकुरेल र केन्द्र विक्रम शाह
अवलम्बित नजिर :
§ नेकाप २०५४, नि.नं. ६३०३, पृष्ठ १
सम्बद्ध कानून :
§ प्रमाण ऐन, २०३१ को दफा ६(क)
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री एकराज आचार्य
मा.न्या. श्री हरिकुमार पोखरेल
फैसला
न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।९।१९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः
विपक्षीमध्ये नन्दराम तथा कलावती मेरो पिता एवम् माता हुनुहुन्छ र दिपक तथा आरती दाजु भाउजु हुनु भै अन्य विपक्षी अजय, नरी सो भन्ने नाई सो र च्य थु भन्ने थानेश्वरसमेत ३ जना मेरा भाइ हुन् र माता, पिता, दाजु म र ३ भाइसमेत जम्मा ७ अंशियार छौं । हामीहरू कामको सिलसिलामा विभिन्न ठाउँमा रहे पनि कानूनतः आजसम्म सगोलमा छौँ । हामीहरूबीच अंश बन्डा भएको छैन । पिता माताले नेपालको नागरिकता त्यागी विदेश बर्मामा भाइ नरीसो भन्ने नाईसो तथा च्य थु भन्ने थानेश्वर सँग बसी आउनुभएको छ । म पनि कामको सिलसिलामा संयुक्तराज्य अमेरिकामा छु । त्यस्तै दाजु भाउजु पनि हाल अमेरिकातिरै हुनुहुन्छ । काठमाडौंको घर जग्गाहरू दाजु भाउजु र भाइ अजयले रेखदेख गरी आएकोमा सगोलको आर्जनबाट भाउजु तथा भाइ अजयका नाममा रहेको घर जग्गाहरूको आयस्ता उहाँहरूले एकलौटी खाई हाल जग्गा जमिनहरू बेचबिखन गर्न मानिसहरू खोज्दै हिडेकोसमेत सुन्नमा आयो । म पनि संयुक्त राज अमेरिकामा दुःख जिलो गरी आफ्नो परिवार लिई बसेको छु । काठमाडौंमा रहेको घर जग्गाको बहाल आयस्ता आम्दानीबाट इज्जत आमद अनुसार मलाई पनि खान लाउन दिनुपर्छ नत्र अंश दिनुपर्यो भनी विपक्षीहरूसँग विगत केही महिनादेखि कुरा चलाउँदै आएकोमा कुनै वास्ता नराखी हामी बाहाल आयस्ता बाँड्न सक्दैनौं सकेको गर भन्ने जवाफ दिएकाले बाध्य भै अंशबन्डाको ३५ नं. को हदम्यादभित्रै यो फिराद गर्न आएको छु । मुलुकी ऐन, अंशबन्डाको १० नं. मा स्वास्नी छोरालाई इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ अन्यथा अंश दिनुपर्छ भन्ने व्यवस्था भएकोमा विपक्षीहरूले सोबमोजिम गरी दिन इन्कार गरेकाले अंशबन्डा गर्नुपर्ने अंशियारमा हामी ७ जना भै विवाह खर्च छुट्याउनुपर्ने कोही नहुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सात भागको एक भाग अंश दिलाई अड्डैबाट चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।
प्रस्तुत मुद्दामा मलाई प्रतिवादी बनाउनुपर्ने कारण र औचित्यसमेत आफ्नो फिरादमा कहीँकतै उल्लेख गर्न सक्नुभएको छैन । त्यसमा पनि अंश बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्ति विपक्षी वादीकै जिम्मामा हुँदाहुँदै म प्रतिवादीउपर अंश मुद्दा दावी गर्ने हकदैया विपक्षीमा छैन । विपक्षीले अंश नपाएको र पाउनुपर्ने विद्यमान अवस्था हो भने घरको मुख्य व्यक्तिसँग अंश माग गर्नुपर्ने थियो । सम्पूर्ण पैतृक बन्डा गर्नुपर्ने सम्पत्ति विपक्षीकै जिम्मामा रहेको अवस्थामा हामीहरूले विपक्षीउपर अंश मुद्दा दायर गर्नुपर्नेमा उल्टो अंश नदिएको भनी मसमेतलाई प्रतिवादी बनाई अंशको फिराद नालिस गर्ने हकदैया अ.बं. ८२ नं. ले विपक्षीमा हुँदै नभएको र अंश बन्डाको २ नं.समेतको प्रतिकूल छ । यथार्थमा ससुरा नन्दराम न्यौपाने तथा तथा सासु कलावती न्यौपानेबाट जन्मेका ५ भाइ छोराहरूमा जेठो दिपक न्यौपाने जो मेरो पति हुनुहुन्छ, माइलो विपक्षी वादी पदम न्यौपाने, साहिंलो प्रतिवादी अजय न्यौपाने, काहिंलो नरीसो भन्ने नाई सो र कान्छो च्यु थु भन्ने थानेश्वर न्यौपाने रहेकोमा विवाद छैन । मेरा पति दिपक न्यौपानेको पुर्ख्यौली थलो भनेको बर्मा रहेको र बाजेको पालामा मावलीको बाजेले म प्रतिवादीका पतिसमेतका परिवारलाई नेपालमा ल्याई बसोवासको व्यवस्था गरिदिनुभएकोमा समेत विवाद छैन । यसरी नेपाल आई बसोवास गर्ने क्रममा सासु ससुरा तथा मावली बाजेहरूले प्रतिवादी दिपक न्यौपानेसमेत सबै छोरा नातिहरू नाबालक हुँदाकै अवस्थामा अलगअलग राखी परिवारहरूको अलगअलग बसोवाससम्मको व्यवस्था मिलाई दिनुभएको थियो । पैतृक सम्पत्तिको जिम्मा भने कुनै एक जनाले लिने दिने सम्बन्धमा बाबु आमाहरूसमेतको सहमति भई विपक्षी वादीको जिम्मा नै रहन उपयुक्त ठहर्याई निजका नाउँमा विभिन्न घर जग्गा जमिनहरू खरिद गरी बन्डा गर्नुपर्ने सम्पत्ति भने विपक्षीकै जिम्मामा रहेको थियो । अलग भिन्न बसी आएकै अवस्थामा पति दिपक न्यौपानेले आर्जन गरेको तथा मेरो माइती मावलीतर्फबाट दिएको रकमसमेतले प्रतिवादी दिपक न्यौपानेका नाममा विभिन्न घर जग्गाहरू खरिद गरेको र पछि पति दिपक न्यौपानेबाट उल्लिखित सम्पत्ति मलाई बकस गरिदिएको हो । केवल पैतृक सम्पत्तिसम्म बन्डा नगरेको र बन्डा गर्नुपर्ने सम्पत्तिसमेत विपक्षी वादीका जिम्मामा रहेको अवस्थामा विपक्षीलाई हामीले आफूखुस गर्न पाउने सम्पत्तिको आयस्ता दिनुपर्ने र बन्डा गर्नुपर्ने होइन । विपक्षीका नाउँमा रहेको नेपालको हामी अंशियारबीच बन्डा लाग्ने सम्पत्ति बिक्री गरी विदेशमा लगी हाल अमेरिकामा नै घर खरिद गरी बसोवास गरी आउनुभएको छ । विपक्षीलाई कसैले खान लाउन दिनुपर्ने अवस्थासमेत छैन । त्यसमा पनि पैतृक सम्पत्ति आफ्नै ज्ञान सीप र प्रयासबाट आर्जन गरेको आफूखुस गर्न पाउने सम्पत्ति लिन खान पाइन्छ कि भनी प्रस्तुत फिराद दायर गर्नुभएको हो । सासु कलावती तथा ससुरा नन्दराम न्यौपाने तथा देवर थानेश्वर न्यौपानेसमेतले नेपाल आउँदा मेरो निजी आर्जन चल प्रयोग गरेबापत आफ्ना नाउँमा रहेको नेपालको घर जग्गा मलाई हस्तान्तरण गरी दिई आफूहरूले नेपाली नागरिकतासमेत त्यागी हाल बर्मामा नै बसोवास गरी आउनुभएको छ । यसरी सासु ससुरा देवरले मेरो निजी आर्जन सम्पत्ति प्रयोग गरेबापत आफ्ना नाउँमा रहेको सम्पत्ति म प्रतिवादीसमेतका नाउँमा नामसारी गरिदिई नेपालको नागरिकता त्यागी निजहरू बर्मामा नै बसोवास गर्नुभएको अवस्थामा आफ्ना जिम्मामा रहेको पैतृक सम्पत्ति बन्डा गर्नु नपरोस् भन्ने दूषित भावनाबाट अभिप्रेरित भई म प्रतिवादीले आफूखुस गर्न पाउने सम्पत्तिउपर आँखा गाडी प्रस्तुत नालिस दिएको प्रष्ट छ । म प्रतिवादी अलग भिन्न बसी आफ्नो गरी आएको अवस्थामा माइती मावलीबाट दिएको रकम,पति तथा आफ्नोसमेत निजी आर्जनसमेतबाट खरिद गरी लिई पति दिपक न्यौपाने तथा देवर थानेश्वर न्यौपानेसमेतबाट बकस पाएका घर जग्गाहरू यद्यपि मेरो नाउँमा रहेको र उल्लिखित जग्गाहरू मेरो निजी आर्जन भई अंश बन्डाको १८ नं., स्त्री अंशधनको ५ नं.समेतका आधारमा आफूखुस गर्न पाउने सम्पत्ति देहायबमोजिम रहेका छन् :
१. पति तथा आफ्नो स्वआर्जन तथा माइती मावलीसमेतको सहयोगले भेषप्रसाद घिमिरेको नामबाट खरिद गरी लिएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कि.नं. ७३९ को क्षेत्रफल १-१-१-२ को जग्गा र सोमा बनेको घर-------------------१
२. पति तथा आफ्नो स्वआर्जन तथा माइती मावलीसमेतको सहयोगले बसन्तप्रसाद घिमिरेको नाउँबाट खरिद गरी लिएको ऐ.ऐ. कि.नं. ७४० क्षेत्रफल ०-५-१-१ जग्गा र सोमा बनेको घर -------------१
३. पति दिपक न्यौपानेबाट हा.ब.मार्फत प्राप्त गरेको ऐ.ऐ. वडा नं. ३१ को कि.नं. १४७ क्षेत्रफल ०-७-१-३ को जग्गा र सोमा बनेको घर --------------------१
४. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. वडा नं. ९ कि.नं. ५८ क्षेत्रफल २-८-०-० जग्गा कित्ता -------------१
५. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त जिल्ला नवलपरासी, गैडाकोट गाउँ विकास समिति वडा नं. ५(क)को कि.नं. १४७२ को क्षेत्रफल ०-१०-२-३ जग्गा कित्ता -----------------१
६. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. १७१६ क्षेत्रफल ०-१०-२-३ जग्गा कित्ता ----------------१
७. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. २५६१ क्षेत्रफल ३-६-३-२ जग्गा कित्ता -------------------१
८. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. २५१५ क्षेत्रफल ९-११-३-३ जग्गा कित्ता --------------१
९. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. १३६१ क्षेत्रफल २-१४-३-२ जग्गा कित्ता ------------------१
१०.ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. २५१४ क्षेत्रफल ०-६-०-० जग्गा कित्ता -------------१
११.ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. २५१६ क्षेत्रफल ०-४-०-० जग्गा कित्ता ------------१
१२.देवर थानेश्वर न्यौपानेबट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. १६९१ को क्षेत्रफल
२-१-३-३ जग्गा कित्ता --------------१
१३. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. १४७३ क्षेत्रफल ०-१०-२-३ जग्गा कित्ता ---------------१
१४. ऐ.ऐ. बाट हा.ब.मार्फत प्राप्त ऐ.ऐ. कि.नं. १४७४ क्षेत्रफल ०-१०-२-३ जग्गा कित्ता------------------१
मेरो जिम्मामा बन्डा गर्नुपर्ने कुनै श्री सम्पत्ति नभएको तथा बन्डा गर्नपर्ने पैतृक सम्पत्ति विपक्षीकै जिम्मामा रहे भएको हुँदा विपक्षीबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई हामी प्रतिवादीहरूलाई बन्डा छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी आरती (लोहनी) न्यौपानेको अधिकृत वारिस जगदीश लोहनीको प्रतिउत्तरपत्र ।
प्रस्तुत मुद्दामा मलाई प्रतिवादी बनाउनुपर्ने कारण र औचित्यसमेत आफ्नो कहीँकतै उल्लेख गर्न सक्नुभएको छैन । त्यसमा पनि अंश बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्ति विपक्षी वादीकै जिम्मामा हुँदाहुँदै म प्रतिवादीउपर अंश मुद्दा दावी गर्ने हकदैया विपक्षीमा छैन । विपक्षीले अंश नपाएको र पाउनुपर्ने विद्यमान अवस्था हो भने घरको मुख्य व्यक्तिसँग अंश माग गर्नुपर्ने थियो । सम्पूर्ण बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति विपक्षीकै जिम्मामा रहेको अवस्थामा हामीहरूले विपक्षीउपर अंश मुद्दा दायर गर्नुपर्नेमा उल्टो अंश नदिएको भनी मसमेतलाई प्रतिवादी बनाई अंशको फिराद नालिस गर्ने हकदैया विपक्षीमा हुँदै नभएको र अंश बन्डाको २ नं.समेतको प्रतिकूल छ । निम्न सम्पत्ति मेरो एकलौटी भै बन्डा नलाग्ने सम्पत्ति हुन् :
१. दाइ दिपक न्यौपानेले आफ्नो नाउँमा रहेको आफूखुस गर्न पाउने जग्गा मिति २०४१।८।१९ मा पिता नन्दराम न्यौपानेलाई हा.ब. गरी दिएपश्चात पछि सोही जग्गा नै मिति २०५३।१२।२८ मा नन्दराम न्यौपानेले म प्रतिवादी अजय न्यौपानेलाई हा.ब. गरिदिएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कि.नं. ७४१ को क्षेत्रफल १-१-१-१ को कित्ता ----------------१
२. विपक्षी पदम न्यौपानेले आफ्नो नाउँमा कायम रहेको जग्गा सावित्री आचार्यलाई मिति २०५३।२।७ मा राजीनामा गरिदिएपश्चात पछि सोही जग्गा नै म प्रतिवादीले आफ्नो स्वआर्जनबाट मिति २०५३।३।७ मा खरिद गरी लिएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.९ कि.नं. ५९ को क्षेत्रफल २-८-०-० कित्ता --------१
३. सावित्रीदेवीबाट मिति २०३७ सालमा हा.ब.मार्फत खरिद गरेको कि.नं. १३७,१३९ र ३८७ तथा विद्यादेवी आचार्यबाट २०४१ सालमा हा.ब.मार्फत प्राप्त गरेको किन.नं. ५७४समेतका जग्गाहरू नयाँ पुर्जा लिने क्रममा कायम काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ किन.नं. ७१ को क्षेत्रफल ३-३-०-० को जग्गा कित्ता ------------------------१
म प्रतिवादी अजयका नाउँमा रहेको सम्पत्ति नै बैङ्कमा राखी म प्रतिवादीसमेत भई सञ्चालन गरेको मेसिन एपेरल्स प्रा.लि.समेतको आयस्ता तथा अन्य निजी प्रयासबाट आर्जन गरेको सम्पत्तिबाट खरिद गरेको घर जग्गा अन्य सम्पत्तिसमेत बन्डा गर्नुपर्ने अवस्था नभएको । आफ्नो ज्ञान सीप प्रयासबाट आर्जन गरेको सम्पत्ति आफूखुस गर्न पाउने भनी मुलुकी ऐन, अंशबन्डाको १८ नं.समेतमा भएको व्यवस्थाबमोजिम पनि उल्लिखित घर जग्गा बन्डा नलाग्ने हुँदा सो बाहेक म प्रतिवादीसँग बन्डा गर्नुपर्ने अन्य कुनै चल अचल श्रीसम्पत्ति नभएको तथा बन्डा गर्नुपर्ने पैतृक श्रीसम्पत्ति विपक्षीकै जिम्मामा रहे भएको हुँदा विपक्षीबाट श्रीसम्पत्तिको तायदती फाँटवारी लिई हामी प्रतिवादीहरूलाई बन्डा छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अजय न्यौपानेको प्रत्युत्तरपत्र ।
प्रस्तुत मुद्दामा मलाई प्रतिवादी बनाउनुपर्ने कारण र औचित्यसमेत आफ्नो फिरादमा कहीँकतै उल्लेख गर्न सक्नुभएको छैन । त्यसमा पनि अंश बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल श्री सम्पत्ति विपक्षी वादीकै जिम्मामा हुँदाहुँदै म प्रतिवादीउपर अंश मुद्दा दावी गर्ने हकदैया विपक्षीमा छैन । विपक्षीले अंश नपाएको र पाउनुपर्ने विद्यमान अवस्था हो भने घरको मुख्य व्यक्तिसँग अंश माग गर्नुपर्ने थियो । सम्पूर्ण पैतृक सम्पत्ति बन्डा गर्नुपर्ने सम्पत्ति विपक्षीकै जिम्मामा रहेको अवस्थामा हामीहरूले विपक्षीउपर अंश मुद्दा दायर गर्नुपर्नेमा उल्टो अंश नदिएको भनी मसमेतलाई प्रतिवादी बनाई अंशको फिराद नालिस गर्ने हकदैया अ.बं. ८२ नं. ले विपक्षीमा हुँदै नभएको र अंश बन्डाको २ नं.समेतको प्रतिकूल छ । यथार्थमा बाबु नन्दराम न्यौपाने तथा आमा कलावती न्यौपानेबाट जन्मेका ५ भाइ छोराहरूमा जेठो म दिपक न्यौपाने, माहिलो विपक्षी वादी पदम न्यौपाने, साहिँलो प्रतिवादी अजय न्यौपाने, काहिँलो नरीसो भन्ने नाइसो र कान्छो च्यु थु भन्ने थानेश्वर न्यौपाने रहेकोमा विवाद छैन । पैतृक सम्पत्तिको जिम्मा भने कुनै एक जनाले लिने दिने ठहर्याई निजका नाउँमा विभिन्न घर जग्गा जमिनहरू खरिद गरी बन्डा गर्नुपर्ने सम्पत्ति भने विपक्षीकै जिम्मामा रहेको थियो । अलग भिन्न बसी आएकै अवस्थामा म तथा मेरी श्रीमती आरती लोहनीले आर्जन गरेको तथा आरती लोहनीलाई मावलीतर्फबाट दिएको रकमसमेतले प्रतिवादी म दिपक न्यौपानेका नाममा विभिन्न घर जग्गाहरू खरिद गरेको र श्रीमतीले मलाई विभिन्न काममा सहयोग गरेबापत उल्लिखित सम्पत्ति श्रीमती आरती लोहनीलाई बकस गरी दिएको हो । यसरी पहिलादेखि नै आफू अलग भिन्न बसेको कारण आफैले मेहनत परिश्रम गरी आर्जन गरेको सम्पत्ति लगानीसमेत गरी सम्पत्ति जोड्दै गएको हुँदा मेरा नाउँमा रहेको सम्पत्ति आफूखुस गर्न पाउने सम्पत्ति रहेको र त्यसउपर विपक्षीले दावी गर्न सक्ने विद्यमान अवस्था छैन । केवल पैतृक सम्पत्तिसम्म बन्डा नगरेको र विपक्षीका नाउँमा रहेको नेपालको हामी अंशियारबीच बन्डा लाग्ने सम्पत्ति बिक्री गरी विदेशमा लगी हाल अमेरिकामा नै घर खरिद गरी बसोवास गरी आउनुभएको छ । आमा कलावती तथा बाबु नन्दराम न्यौपाने तथा भाइ थानेश्वर न्यौपानेसमेतले नेपाल आउँदा मेरो निजी आर्जन चल प्रयोग गरेबापत आफ्ना नाउँमा रहेको नेपालको घर जग्गा मलाई हस्तान्तरण गरी दिई आफूहरूले नेपाली नागरिकतासमेत त्यागी हाल बर्मामा नै बसोवास गरी आउनुभएको छ । म प्रतिवादी अलग भिन्न बसी आफ्नो गरिआएको अवस्थामा मावलीबाट दिएको रकम आफ्नो निजी आर्जनसमेतबाट खरिद गरी लिई आमा बाबु तथा भाइसमेतबाट बकस पाएका घर जग्गाहरू यद्यपि मेरा नाउँमा रहेको र उल्लिखित जग्गाहरू मेरो निजी आर्जन भई अंश बन्डाको १८ नं.समेतका आधारमा आफूखुस गर्न पाउने सम्पत्ति बाहेक म प्रतिवादीसँग बन्डा गर्नुपर्ने अन्य कुनै चल अचल श्रीसम्पत्ति नभएको तथा बन्डा गर्नुपर्ने पैतृक श्रीसम्पत्ति विपक्षीकै जिम्मामा रहे भएको हुँदा विपक्षी वादीबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई हामी प्रतिवादीहरूलाई बन्डा छुट्याई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक न्यौपानेको प्रतिउत्तर जिकिर ।
विपक्षीले फिरादमा उल्लेख गरेको पुस्तावली, कामको सिलसिलामा विभिन्न ठाउँमा रहे पनि कानूनतः आजसम्म एकासगोलमा छौं । हामीबीच अंश बन्डा भएको छैन । काठमाडौंतर्फको घरजग्गाहरू दाजु, भाउजु र भाइ अजयले रेखदेख गरी आएको भन्नेलगायतको व्यहोरा ठीक साँचो हो । जहाँसम्म हामीहरूबाटसमेत अंश पाउँ भनी विपक्षीले हामीसमेतलाई प्रस्तुत मुद्दामा विपक्षी बनाइएका छन् सो आवश्यक नै थिएन । केवल फिरादपत्रको पेटबोलीमा सम्म यो यति अंशियार छौं भनी उल्लेख गरेको भए नै पर्याप्त हुने थियो । किनकि अंशबन्डा लाग्ने जो भएको चल अचल श्रीसम्पत्ति जायजेथा हामी प्रतिवादी बाहेकका अन्य प्रतिवादीहरू दिपक न्यौपाने, निजको श्रीमती आरती लोहनी न्यौपाने, अजय न्यौपाने र विपक्षीसमेतको जिम्मामा छोडी दिई हामीहरू म्यान्मारमा आई बसोवास गरी जीवन यापन गरी आएको र रहँदा बस्दा म्यानमारकै नागरिकता प्राप्त गरी आएका छौं । न त हामीहरूको जिम्मामा अंशबन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्ति नै छ न त त्यसबाट बढे बढाएको सम्पत्ति नै छ । बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्ति जिम्मा पनि नभएको र विदेशको नागरिकता प्राप्त गरी विदेशमा रहे बसेको हामी प्रतिवादीले विपक्षीलाई अंश दिने भन्ने प्रश्नै आउँदैन । अंशबन्डा लाग्ने जो भएको चल अचल श्रीसम्पत्ति जायजेथा हामी प्रतिवादी बाहेकका अन्य प्रतिवादीहरू दिपक न्यौपाने, निजको श्रीमती आरती लोहनी न्यौपाने, अजय न्यौपाने र विपक्षीसमेतको जिम्मामा रहे भएकाले सो चल अचल श्री सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत सगोलको नै हुने र अंश जस्तो नैसर्गिक हक अधिकारको भोग गर्न पाउने हक हामी प्रतिवादीमा पनि रहे भएकाले कानूनबमोजिम सात भागको तीन भाग अंश हामीले पनि पाउने भएकाले प्रस्तुत मुद्दाबाट नै अंश बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्तिबाट सात भागको तीन भाग अंश हामीले पनि पाउने हुँदा नियमानुसार लाग्ने कोर्टफी लिई सो तीन भाग हामीहरूको कायम गरी अड्डैबाट छुट्याई चलन चलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नन्दराम न्यौपाने, नरीसो भन्ने नाईसो र च्य थु भन्ने थानेश्वर न्यौपानेको संयुक्त प्रतिउत्तर जिकिर ।
काठमाडौ जिल्ला अदालतको आदेशानुसार वादी प्रतिवादीहरूबाट दाखिल भएको तायदाती फाँटवारी तथा सोबमोजिम दर्ता स्रेस्ता उतारहरू मिसिल सामेल रहेका ।
कानूनबमोजिम वादी प्रतिवादीहरूमा अंशबन्डा भएको नदेखिँदा वादी प्रतिवादीहरूबीच बन्डा हुनुपर्ने देखिन आयो । आफ्नो नाउँ दर्तामा रहेका सम्पत्ति आफ्नै निजी आर्जनको र बन्डा गर्नु नपर्ने भनी अंशियारहरूले भनेता पनि उक्त सम्पत्तिहरू निजहरूको निजी आर्जनको हो भन्ने ठोस सबुद प्रमाण पेस गर्न नसकेको हुँदा वादी प्रतिवादीहरूबाट मिति २०६६।७।९ मा पेस भएको तायदाती फाँटवारीको सम्पत्तिहरूबाट वादीले प्रतिवादीहरूबाट सात भागको १ भाग अंश पाउने र चलनसमेत चलाई पाउने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६६।११।१० मा गरेको फैसला ।
नाबालिग अवस्थामा मावली बाजेको संरक्षकत्वमा बस्नुभएका मेरा पति दिपक न्यौपानेले मावलीबाट प्राप्त गरी मलाई बकस गरी दिएको मेरो स्व-आर्जनबाट कमाएको, (हाल क्यालिफोर्निया स्थित VARIAN COMPANY SYSTEM ENGINEER पदमा करिब वार्षिक १,००,००० USD आय आर्जन गर्दछु) श्रीमान् र मेरो दाइजो पेवालगायतको सम्पत्तिबाट खरिद भएको सम्पत्ति अंशबन्डाको १८ नं. बमोजिम आफूखुस गर्न पाउने र स्त्री अंशधनको ५ नं. बमोजिम आफूखुस गर्न पाउने सम्पत्ति हो । मुलुकी ऐन, अंशबन्डाको महलको १ नं. बमोजिमका अंशियार नभएका सासु, देवरलाई म बुहारी, भाउजु नाताकी व्यक्तिले अंश दिनुपर्ने होइन । स्त्री अंशधनको ५ नं. बमोजिम मैले आफूखुस गर्न पाउने सम्पत्तिलाई खाने बद्नियत लिई अंशियार नै नभएको व्यक्तिउपर दायर गरिएको अंश मुद्दाका वादी प्रतिवादीले पेस गरेको तायदातीबमोजिम भनी मेरो नाउँमा रहेको सम्पत्तिसमेत अंशबन्डाको सम्पत्ति ठहर गरी बन्डा गर्ने भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी मेरो सुरू प्रतिउत्तरपत्रबमोजिम वादी दावी नपुग्ने गरी इन्साफ गरिपाउँ भनी प्रतिवादी आरती न्यौपानेको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
सम्पूर्ण पैतृक सम्पत्ति विपक्षी वादी र पितासमेतको जिम्मा रहेकोमा मेरी पत्नी अंशियारा नै नभएकोमा अंशियार कायम गरेको र निजको सम्पत्तिसमेत बन्डा गरेको, स्वआर्जन तथा मावली बाजेसमेतले खरिद गरी दिएको सम्पत्तिसमेत बन्डा गरेको, आफ्नो सीप ज्ञानबाट कमाएको र बढे बढाएको सम्पत्ति बन्डा गरेको, पैतृक सम्पत्ति बन्डा नगरेको, तायदाती नै नमागेको, केही सम्पत्तिमा बोली बाँकी सम्पत्तिमा नबोली काम बाँकी राखी फैसला भएकोसमेतको आधार कारणले सुरू अदालतबाट मेरी पत्नीका नाउँमा भएको सम्पत्तिसमेत बन्डा गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी सुरू प्रतिउत्तर जिकिरबमोजिम मैले पनि पैतृक सम्पत्तिबाट अंश नलिएको हुँदा विपक्षी वादी र पितासमेत जिम्मा रहेको पैतृक सम्पत्तिको तायदाती माग गरी मेरो भागमा पर्ने पैतृक सम्पत्तिबाट अंश दिलाई पाउँ भनी प्रतिवादी दिपक न्यौपानेको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
सुरू काठमाडौं जिल्ला अदालतबाट पुनरावेदकले दान बकसबाट प्राप्त गरेको तथा सगोल गोश्वाराका कुनै पनि सम्पत्ति प्रयोग नगरी निजी कमाई आर्जनको रकमबाट खरिद गरेको कि.नं. ४७१,५९ र ७१ का घरजग्गाहरू बन्डा लाग्ने भनी कुनै आधार कारण नखोली भएको फैसला आत्मनिष्ठपूर्ण, हचुवा र अन्यायपूर्ण हुनुका साथै सम्बद्ध कानूनी तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत रहेकाले उक्त फैसला बदर गरी मेरो प्रतिवाद जिकिरबमोजिम हुने ठहर फैसला गरी इन्साफ गरिपाउँ भनी प्रतिवादी अजय न्यौपानेको मु.स. गर्ने दीपा लोहनी न्यौपानेले पुनरावेदन अदालत, पाटनमा दायर गरेको पुनरावेदनपत्र ।
विवेचित आधार र कारणहरूबाट कि.नं. ७१ को जग्गा मिति २०३४।९।२७ पछि बकसपत्रबाट प्राप्त भएकाले सो जग्गा बन्डा नगर्नुपर्नेमा सो जग्गासमेत बन्डा हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६।११।१० गतेको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ । अन्यमा सुरू सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।९।१९ को फैसला ।
तायदातीमा उल्लिखित सम्पूर्ण श्रीसम्पत्तिमा बन्डा लाग्ने गरी जिल्ला अदालतबाट फैसला भएकोमा हामीहरूलाई बुझ्दै नबुझी प्रतिवादी अजय न्यौपानेको नाउँ दर्ताको कि.नं. ७१ को जग्गा बन्डा नलाग्ने गरी गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी अजयले प्रतिउत्तर फिराउँदा कै अवस्थामा कि.नं. १३७, १३९ र ३८७ को जग्गा सावित्रीदेवीबाट हालैको बकसपत्रमार्फत खरिद गरेको र कि.नं. ५७४ विद्यादेवीबाट २०४१ सालमा हालैको बकसपत्रमार्फत प्राप्त गरेको उक्त जग्गा पछि कि.नं. ७१ कायम हुन आएको हो भनी उल्लेख गरेका छन् । यसरी निजले नै खरिद गरेको भनी स्व.आर्जन लेखाउन नसकेको अवस्थामा र उक्त कि.नं. ७१ लाई बन्डा नलाग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ भन्नेसमेत व्यहोराको प्रतिवादी नन्दराम न्यौपानेसमेत ३ जनाको संयुक्त पुनरावेदनपत्र ।
प्रतिवादी अजय न्यौपानेले बकसपत्रमार्फत पाएको भनिएको कि.नं. ७१ को जग्गा सावित्रीदेवीसमेतबाट बकसपत्र भनी प्राप्त गरेको जग्गा हो । उक्त जग्गा निजको निजी आर्जन नभई बकसपत्रमार्फत खरिद गरेको भनी प्रतिवादी अजय न्यौपानेले प्रतिउत्तर गर्दासमेत उल्लेख गरेको हुँदा सो कुरालाई अनदेखा गर्न मिल्दैन । अतः पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्नेसमेत व्यहोराको वादी पदम न्यौपानेको यस अदालतमा परेको पुनरावेदनपत्र ।
वादीले अंशियार बाहेकको उपअंशियार म आरती न्यौपानेसँग अंश माग्न र अदालतले पनि त्यस्तो सम्पत्तिबाट बन्डा छुट्याउने गरी फैसला गर्न मिल्ने होइन । त्यसै गरी म प्रतिवादी आरती न्यौपानेको नाउँको ७३९ र ७४० समेतका जग्गा मामाले दिनुभएको प्रष्ट छ । हामी आरती र दिपकले निजी रूपमा कमाई गरी सो रकमबाट खरिद गरेको निजी आर्जन तथा बकसपत्रबाट प्राप्त कि.नं. ५८ र १४७ को जग्गा बन्डा गर्नु नपर्नेमा बन्डा गर्ने गरी तथा बन्डा गर्नुपर्ने प्रतिवादी अजयको नाउँको कि.नं. ७१ बन्डा गर्नु नपर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण भएकाले बदरभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक न्यौपाने र आरती न्यौपानेको यस अदालतमा परेको पुनरावेदनपत्र ।
पुनरावेदन अदालतबाट मेरो निजी ज्ञानसीपबाट आर्जन गरेको तथा बकसपत्रबाट पाएकोसमेतका कि.नं. ७४१ र ५९ को जग्गा बन्डा लाग्ने गरी भएको फैसला कानूनी त्रुटिपूर्ण छ । अंशियार भन्दा बाहिरका व्यक्तिबाट पिताले हालैको बकसपत्रमार्फत पाएकोमा त्यसलाई नै मैले हालैको बकसपत्रद्वारा पाएको हुँदा कि.नं. ७४१समेतको जग्गा बन्डा नलाग्नुपर्नेमा बन्डा लाग्ने गरी भएकोसम्म फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको दिपा लोहनी न्यौपानेको यस अदालतमा परेको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी दिपक न्यौपाने र आरती न्यौपानेको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री विजयप्रसाद मिश्र, श्री पुरूषोत्तमराज खकुरेल तथा श्री केन्द्र विक्रम शाहले आरती न्यौपाने वादी पदमको अंशियार होइनन्, दिपक न्यौपानेको स्वआर्जन तथा आरती न्यौपानेको स्वआर्जन तथा बकसपत्रबाट पाएका जग्गाहरूसमेत बन्डा लाग्ने गरी तथा अजय न्यौपानेको नाउँको कि.नं. ७१ बाट बन्डा नलाग्ने गरी गरेको फैसला त्रुटिपूर्ण रहेकाले बदर गरिपाउँ भनी तथा प्रतिवादी नन्दराम न्यौपाने नरि सो भन्ने नाइसो तथा च्य थु भन्ने थानेश्वरको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री बद्री पाठकले प्रतिवादी अजय न्यौपानेले नाबालक हुँदाकै अवस्थामा २०३७ सालमा र २०४१ सालमा निजी आर्जन गरेको भन्ने स्वाभाविक पनि छैन, बकसपत्रबाट खरिद गरेको भनी निजले नै भनेको कि.नं. ७१ को जग्गालाई बन्डा नलाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी तथा प्रतिवादी दिपा लोहनी न्यौपानेको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री नारायण वल्लभ पन्त, विद्वान् अधिवक्ताहरू श्री जगदीशचन्द्र पाण्डे तथा श्री प्रकाश रेग्मीले अजय न्यौपानेले बकसपत्र प्राप्त गरेको कि.नं. ७१ बन्डा नलगाउने गरी भएको हदसम्म पुनरावेदन अदालतबाट भएको फैसला मिलेको भए तापनि कि.नं. ७४१ । ५९ समेत निजी आर्जन भई बन्डा नलग्नेमा बन्डा गर्नुपर्ने भएको फैसला त्रुटिपूर्ण छ भनी गर्नुभएको बहस तथा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम प्र. खरेलले सगोलमा आर्जन गरेका सम्पूर्ण जग्गाहरू बन्डा गर्नपर्नेमा कि.नं.७१को जग्गा बन्डा नगर्ने गरी भएको फैसला मिलेको छैन भनी गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन भनी निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा हामी वादी प्रतिवादीबीच अंश बन्डा भएको छैन । हामी परिवारमध्ये कोही बर्मा तथा कोही अमेरिकामा समेत बसोवास गरिआएको भए तापनि सगोलको सम्पत्ति दाजु भाउजु तथा भाइ अजयको नाउँमा रहेको छ । अंश बन्डा गरिपाउँ भन्ने फिराद दावी भएकोमा बन्डा लगाउनुपर्ने श्री सम्पत्ति हामीसँग केही छैन । आफ्नो निजी आर्जनका घर जग्गाहरू बन्डा लाग्ने होइन । अतः वादीसँगै रहेको सगोलको बन्डा गर्नपर्ने पैतृक सम्पत्ति हामीले पाउनुपर्ने हो । हामीले अंश दिनुपर्ने अवस्था छैन भनी प्रतिवादीहरूले प्रतिउत्तर जिकिर लिएको अवस्था देखियो । सुरू जिल्ला अदालतबाट फैसला हुँदा वादी प्रतिवादीले पेस गरेको तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट वादीले ७ भागको १ भाग बन्डा पाउने ठहर्याएकोमा प्रतिवादीहरू दिपक न्यौपाने, आरती न्यौपाने, प्रतिवादी अजयको मु.स. गर्ने दिपा लोहनी न्यौपानेको छुट्टाछुट्टै पुनरावेदन परी पुनरावेदन अदालतबाट प्रतिवादी अजयको नाउँमा रहेको कि.नं. ७१ को जग्गा बाहेक गरी अन्य सम्पत्ति बन्डा लाउनुपर्ने गरी सुरू अदालतको फैसलामा केही उल्टी गरी फैसला गरेको र सो फैसलामा चित्त नबुझाई सबै वादी प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गरेको पाइयो ।
३. सर्वप्रथम दिपा लोहनी न्यौपानेको प्रतिउत्तरतर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसलासमेतले बन्डा लाग्ने ठहर्याएको कि.नं. ७४१ र कि.नं. ५९ प्रतिवादी अजय न्यौपानेको निजी आर्जन हो कि होइन भनी हेर्दा कि.नं. ७४१ को जग्गा निज अजय न्यौपानेलाई निजका सगोलका बाबु नन्दरामले हालैको बकसपत्र गरिदिएको देखिएको हुँदा सगोलका अंशियारमध्ये एक अंशियारले अर्को अंशियारलाई बकसपत्र गरिदिएको अवस्थामा समेत त्यस्तो सम्पत्ति सगोलकै मान्नुपर्ने अवस्था भएको । त्यस्तै गरी कि.नं. ५९ का हकमा हेर्दा निज अजय न्यौपानेले खरिद गरेको स्वआर्जन भने तापनि त्यसको तथ्ययुक्त प्रमाण पेस गरी प्रमाणित गर्न सकेको अवस्था देखिँदैन । यस्तो अवस्थामा सगोलमा रहेको अवस्थामा बढे बढाएको सम्पत्ति सगोलकै मानिने र बन्डा लाग्ने प्रकृतिको हुने भएकाले सो जग्गाहरूमा समेत बन्डा लाग्ने गरी भएको फैसलालाई अन्यथा भन्न सकिने अवस्था रहेन ।
४. वादी पदम न्यौपाने तथा अर्का प्रतिवादीहरू नन्दराम नरि सो भन्ने नाइसो र च्य थु भन्ने थानेश्वरको पुनरावेदनपत्र सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालतले प्रतिवादी अजय न्यौपानेको नाउँमा रहेको कि.नं. ७१ को जग्गा बन्डा नलाग्ने गरेकोमा निजहरूको पुनरावेदन परेको पाइयो । पुनरावेदन अदालत, पाटनको फैसलामा उक्त कि.नं. ७१ को जग्गा कि.नं. १३७, १३९ र ३८७ तथा कि.नं. ५७४ कै जग्गा भएको र सो जग्गाहरू निज अजय न्यौपानेले सगोलको परिवार भन्दा बाहिरको व्यक्तिबाट बकसपत्र पाएको हुँदा निजी आर्जनको ठहर्याई बन्डा नलाग्ने गरी फैसला भएको देखिन्छ । प्रतिवादी अजय न्यौपानेले उक्त जग्गाहरूमध्ये कि.नं. १३७,१३९ र ३८७ को जग्गा २०३७ सालमा सावित्रीदेवीबाट बकसपत्रको लिखतमार्फत पाएको देखिन्छ भने कि.नं. ५७४ को जग्गा २०४१ सालमा विद्यादेवीबाट बकसपत्रमार्फत प्राप्त गरेको देखिन्छ । निजले प्रतिउत्तरपत्र फिराउदाको अवस्थामा तथा तायदाती फाँटवारी पेस गर्दाको अवस्थामा समेत आफूले सावित्रीदेवी आचार्यबाट हालैको बकसपत्रमार्फत खरिद गरेको कि.नं. १३७,१३९ र ३८७ का जग्गा तथा विद्यादेवी आचार्यबाट हालैको बकसपत्रमार्फत प्राप्त गरेको कि.नं. ५७४ समेतका जग्गाहरू नै पछि कि.नं. ७१ कायम भएको भनी उल्लेख गरेको अवस्था छ । निज प्रतिवादीले उक्त जग्गाहरू आफूले रिझबापत निज व्यक्तिहरूबाट प्राप्त गरेको होसमेत भन्न नसकी खरिद गरेको भन्ने कुरा निजले नै प्रतिउत्तर तथा
तायदातीसमेतमा स्पष्टरूपमा खुलाएको अवस्था एकातर्फ देखिएको तथा अर्कोतर्फ मिसिल संलग्न निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि हेर्दा मिति २०३९।११।३ मा निज अजय न्यौपानेको उमेर १६ वर्ष भन्ने देखिएबाट २०३७ सालमा निजको उमेर १४ वर्ष २०४१ सालमा १७ वर्ष भन्ने देखि आउँछ । सो उमेरमा नै निजले दाताहरूलाई व्यक्तिगतरूपमा रिझाई निजहरूले रिझबापत दिएका होलान् भनेर अदालतले अनुमान गर्ने अवस्थासमेत नरहेको हुँदा बकसपत्र भन्ने हस्तान्तरणको कागजमा उल्लेख भए तापनि प्रतिवादी अजय न्यौपानेले उक्त जग्गा खरिद गरी लिएको भन्ने देखिएको र यसरी एकासगोलमा रहँदाको अवस्थाम जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिलाई सगोलको सम्पत्ति नै मानिने भएको हुँदा उक्त कि.नं. ७१ लाई बन्डा नलाग्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलासँग सहमत हुन सकिने अवस्था रहेन ।
५. अब प्रतिवादी दिपक न्यौपाने र आरती न्यौपानेको पुनरावेदनपत्रतर्फ विचार गर्दा अजय न्यौपानेको नाउँको कि.नं. ७१ लाई बन्डा नलाग्ने गरी गरेको फैसलातर्फ माथिल्लो प्रकरणमा विवेचना गरिएकै हुँदा कि.नं. १४७, ५८, ७३९ र ७४० का जग्गाहरू बन्डा भएतर्फको निजहरूको पुनरावेदन जिकिर हेर्दा प्रतिवादी दिपक न्यौपाने धेरै पहिले नै अलग बस्ने गरेको र निज दिपक न्यौपानेबाट कि.नं. १४७ र ५८ को जग्गा हालैको बकसपत्रमार्फत आरतीले प्राप्त गरेको तथा कि.नं. ७३९ र ७४० को जग्गा निजी आर्जनसमेतबाट प्रतिवादी आरती न्यौपानेको नाउँमा खरिद गरिलिएको हुँदा बन्डा लाग्नु नपर्ने हो भन्ने जिकिर लिएको पाइयो । बकसपत्र पाउनु वा खरिद गरिलिनुअघि नै बन्डा छुट्टिई अलग भइसकेको भन्ने कुनै प्रमाण पेस हुन सकेको अवस्था नदेखिएको हुँदा पहिले नै छुट्टि भिन्न भै सकेको भन्ने भनाई मान्न सकिने अवस्था छैन । त्यसै गरी निज आरतीले बसकपत्रबाट पाएको भनेको कि.नं. १४७ र कि.नं. ५८ को घर जग्गा प्रतिवादीमध्येकै निजको पति दिपक न्यौपानेबाट हालैको बकसपत्रद्वारा प्राप्त गरेको देखिन्छ । यसरी सगोलको अंशियारमध्ये एक अंशियारबाट अर्को अंशियारको नाउँमा बकसपत्र हुँदैमा त्यसलाई स्वआर्जन मानी बन्डा नलाग्ने भनी भन्न मिल्ने नदेखिएको तथा कि.नं. ७३९ र ७४० को जग्गा भेषप्रसाद घिमिरेबाट खरिद गरिलिएको अवस्था देखिएको हुँदा र सगोलको जुनसुकै अंशियारको नाउँमा सम्पति भए तापनि सगोलको सम्पत्ति मानी बन्डा लाग्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) मा कानूनी व्यवस्थासमेत भएको र त्यसैको पृष्ठभूमिमा यस अदालतबाट सगोलको अंशियारमा जसको नाउँमा रहेको सम्पति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नुपर्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुने, (नेकाप २०५४, नि.नं. ६३०३, पृष्ठ १) भनी सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । प्रस्तुत अवस्थामा प्रतिवादी आरतीले अन्यथा प्रमाण पेस गरी बन्डा नलाग्ने भन्ने प्रष्टरूपमा स्थापित गर्न सकेको अवस्था नदेखिएको हुँदा यी चारै कित्ता जग्गाहरूसमेत बन्डा गर्ने गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म मिलेकै देखिन आयो ।
६. अतः सुरू जिल्ला अदालतले तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिमध्ये वादीले ७ भागको १ भाग पाउने ठहरी गरेको फैसलामा केही उल्टी गरी प्रतिवादी अजय न्यौपानेको नाउँमा रहेको कि.नं. ७१ को जग्गा बन्डा नलाग्ने गरी गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।९।१९ को फैसलामा कि.नं. ७१ को जग्गा बन्डा नलाग्ने गरी गरेको सम्मको फैसला सो हदसम्म केही उल्टी गरिदिएको छ । तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट वादीले ७ भागको १ भाग अंश पाउने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. गोपाल पराजुली
इति संवत् २०७१ साल साउन २८ गते रोज ४ शुभम् ।
इजलास अधिकृतः सुमनकुमार न्यौपाने